धमाधम विभिन्न कम्पनीका आइपिओ आउँदै
बोर्डमै ३४ कम्पनीको प्रस्ताव पाइपलाइनमा
काठमाडौं । पुँजी बजारमा सार्वजनिक सेयर निष्कासन (आइपिओ) आउनेक्रम बढेको छ । पुसयता मात्रै १० कम्पनीले आइपिओ जारी गरिसकेका छन् भने थप तीन कम्पनीले ४६ करोड ६० लाख रुपैयाँको आइपिओ जारी गर्ने अनुमति पाइसकेका छन् ।
धितोपत्र बोर्डका अनुसार चालू आर्थिक वर्ष ०८१/८२ मा १९ कम्पनीले आठ अर्ब सात करोड ३२ लाख ४० हजारबराबरको आइपिओ बिक्री गरेका छन् । यीमध्ये गत आवमै बोर्डबाट अनुमति लिएका दरमखोला जलविद्युत्, माविलुङ जलविद्युत्, स्वस्तिक लघुवित्त, बुंगल हाइड्रो, बन्दीपुर केबलकार, झापा इनर्जी र रिलायन्स स्पिनिङ मिल्सले अहिले आइपिओ जारी गरेका हुन् ।
चालू आर्थिक वर्ष ०८२/८३ मा स्वीकृति लिएकामध्ये १२ ले पनि आइपिओ जारी गरिसकेका छन् । यसमध्ये सुपर खुदी हाइड्रो पावर र रिड्गेलाइन जलविद्युत्ले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मात्रै आइपिओ बिक्री गरेका छन् । सर्वसाधारणका लागि रिड्गेलाइनले २८ माघदेखि र सुपर खुदीले ४ फागुनदेखि बिक्री खुला गर्न अनुमति पाइसकेका छन् । बोर्डमा स्वीकृति लिएर आइपिओ जारी गर्न बाँकी रहेकाहरूमा स्नोब रिभर्स हाइड्रो पावरले १८ करोड ७५ लाख रुपैयाँ, कालिञ्चोक हाइड्रोपावरले १३ करोड ७५ लाख रुपैयाँ र अपोलो हाइड्रोपावरले १४ करोड १० लाख रुपैयाँबराबरको आइपिओ ल्याउँदै छन् ।
धितोपत्र बोर्डको नियामकीय क्षमतामा प्रश्न उठेपछि करिब एक वर्षसम्म आइपिओ स्वीकृति रोकिएको थियो । खासगरी आइपिओ स्वीकृति दिन बोर्डले अतिरिक्त लाभका लागि व्यवसायीलाई दबाब दिएको सार्वजनिक भएपछि छानबिनसमेत अघि बढेको थियो । छानबिन अवधिभर रोकिएको आइपिओ अहिले धमाधम स्वीकृति भइरहेको हो । विगतमा जलविद्युत् कम्पनीकै आइपिओ रोकिएका कारण अहिले बोर्डबाट स्वीकृति लिनेहरूको संख्यामा जलविद्युत् कम्पनी नै बढी छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले आइपिओ निष्कासन प्रक्रिया अझै द्रुत बनाउनुपर्ने बताए । ‘पछिल्लो समय जलविद्युत्लाई आइपिओ निष्कासनको अनुमति दिएको जस्तो देखिन्छ । तर, यो अझै पर्याप्त छैन । बोर्डमै ३४ कम्पनीको प्रस्ताव पाइपलाइनमा छ । योबाहेक कैयौँ कम्पनीको प्रस्ताव पेस गर्न बाँकी छ,’ उनले भने, ‘यो गतिमा स्वीकृति पाउँदा पनि समय लाग्छ । तसर्थ, यसलाई अझै द्रुत गतिमा अघि बढाउन आवश्यक छ ।’
