इस्लामावाद– पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रवारको नमाजका क्रममा शिया मस्जिद (इमामबाडा) मा आत्मघाती आक्रमण भएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार, उक्त हमलामा २४ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगिसकेका छन् र राहत तथा उद्धार कार्य प्रारम्भ गरिएको छ
अस्पतालहरूलाई अलर्टमा राखिएको छ र घाइतेहरूलाई उपचारका लागि त्यहाँ पुर्याइँदै छ । इस्लामाबादका प्रहरी प्रमुखले सहरभर आपतकाल घोषणा गरेका छन् । अधिकारीहरूले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् ।
यसैबीच, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले विस्फोटमा ज्यान गुमाएका व्यक्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले निर्दोष मानिसहरूलाई निशाना बनाउनु मानवताविरुद्धको कार्य भएको बताएका छन् । जरदारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अधिकारीहरूलाई घाइतेहरूलाई सम्भव भएसम्म उत्तम उपचार सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
पाकिस्तान संसदीय मामिलामन्त्री डा. तारिक फजल चौधरीले सामाजिक सञ्जालमार्फत इस्लामाबादमा भएको विस्फोटको कडा निन्दा गरेका छन् । उनले घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै यस्ता आतंकी घटनाले देश र जनताको मनोबल तोड्न नसक्ने बताएका छन् ।
उनले शान्तिका लागि सबै एकजुट हुन र कानुन व्यवस्था कायम गर्ने निकायहरूसँग मजबुत रूपमा उभिन आवश्यक रहेको उल्लेख गरेका छन् ।
यसअघि ११ नोभेम्बर २०२५ मा इस्लामाबादको जिल्ला तथा सत्र अदालत बाहिर आत्मघाती विस्फोट भएको थियो । उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए । ग्लोबल टेरोरिज्म इन्डेक्स २०२५ का अनुसार, बुर्किना फासोपछि पाकिस्तान विश्वकै दोस्रो सबैभन्दा आतंक प्रभावित देश बनेको छ, जबकि २०२४ मा यो चौथो स्थानमा थियो ।
इस्लामिक स्टेट–खुरासानले अहिले पाकिस्तानी सहरहरूलाई पनि निशाना बनाउन थालेको छ । रिपोर्टअनुसार खैबर पख्तूनख्वा र बलूचिस्तान सबैभन्दा बढी आतंक प्रभावित क्षेत्र हुन्, जहाँ देशभरका कुल आतंकी घटनामध्ये ९० प्रतिशत घटना भएका छन् ।
रिपोर्टमा तहरीक–ए–तालिबान पाकिस्तानलाई लगातार दोस्रो वर्ष पनि पाकिस्तानको सबैभन्दा खतरनाक आतंकवादी संगठनका रूपमा उल्लेख गरिएको छ । २०२४ मा यस समूहले ४८२ आक्रमण गरेको थियो, जसका कारण ५५८ जनाको मृत्यु भएको थियो, जुन २०२३ को तुलनामा ९१ प्रतिशत बढी हो ।
