सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ,  माघ २२  गते ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस

चुनावी तालमेल गर्न एमालेको अपिल

काठमाडौं । नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले आफ्ना मुख्य नेताहरू जोगाउन निश्चित क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति लिएको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् एमालेले चुनावी तालमेलका निम्ति दलहरुसँग सम्वाद भइरहेको जानकारी दिएको हो ।

‘कतिपय निर्वाचन क्षेत्रहरुमा हाम्रो सहकार्य हुन सक्छ र त्यो कुराहरु चलि पनि रहेको छ विभिन्न दलहरुसँग..,’ उपाध्यक्ष रामबहादुर थापा बादलले भने, ‘२१ गते भन्दा अगाडिसम्म सहकार्यका निम्ति सबै पक्षहरुसँग प्रयत्न जारी रहन्छ, र अन्तिम समयमा ती ठाउँहरुमा सहकार्य हुन सक्छ ।’

देश जनाउनेहरुका विरुद्ध दलहरुले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको तर्क उनले गरेका छन् । ‘देश जलाउनेहरुका विरुद्ध जाने राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ,’ बादलले भनेका छन्, ‘..निश्चित क्षेत्रहरुमा वीनवीनको नीति अनुसार सहकार्य हुन सक्छ ।’

उपाध्यक्ष बादललाई एमालेले निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । संयोजककै हैसियतमा चुनावी गतिविधिबारे जानकारी दिँदै बादलले मतदानको अन्तिम समयसम्म तालमेलबारे निर्णय हुन सक्ने बताएका हुन् ।

बादलले जानकारी दिनुअघि नै पार्टीको लेटरप्याडमै वक्तव्य जारी गरेर एमालेले तालमेलको प्रयासबारे जानकारी दिएको थियो ।

‘कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन सकेन,’ प्रचार संयोजक मीनबहादुर शाहीले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग सम्वाद र सहमति भइरहेका छन् ।’

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि यस्तै तर्क गरेका थिए । उनका अनुसार अहिलेसम्म सहमति नजुटे पनि चुनावी तालमेलको सम्भावना टरिसकेको छैन ।

तर कहाँ–कहाँ कुन राजनीतिक दलसँग चुनावी तालमेल हुन्छ भन्ने चाहिँ उनीहरूले भनेका छैनन् ।

गगन थापाको नेतृत्वमा पुनगर्ठित नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने घोषणा गरिसकेको छ । पार्टी सभापति चयन भइरहँदा नै थापाले चुनाव अघि कसैसँग गठबन्धन नगर्ने र देशभरका कांग्रेसले रुख चिन्हमा मतदान गर्न पाउने व्यवस्था मिलाउने सार्वजनिक घोषणा गरेका थिए ।

थापाले कसैसँग कुनै किसिमको तालमेल संभव नरहेको प्रष्ट पारेका छन् । ‘म कांग्रेस सभापतिको हैसियतले स्पष्ट भन्दैछु– नो, नट एट अल ! कुनै पनि तहको नेताले कहिँ कतै त्यस्तो सम्झौता गरेको पाइएमा त्यो कारबाहीको विषय बन्छ । यो पटक १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्छ । कसको क्षेत्रमा के होला भनेर कसैले अलमलिनु पर्दैन,’ थापाले भनेका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम नै थला पर्ने अवस्थामा

काठमाडौं ।  विपन्न नागरिकको उपचारको भरोसा मानिएको स्वास्थ्य बिमा कार्यक्रम नै थला पर्ने अवस्थामा पुगेको छ । सेवा प्रदायकलाई सरकारले तिर्नुपर्र्ने ११ अर्ब केन्द्र सरकारले भुक्तानी नदिएपछि स्वास्थ्य बिमा बोर्ड हात उठाउने अवस्थामा पुगेको हो । हाल उक्त रकम कसरी तिर्ने भनेर बोर्ड र स्वास्थ्य मन्त्रालय अन्योल अवस्थामा छन् ।

बुधबार सिंहदरबारमा स्वास्थ्य बिमाको वर्तमान अवस्था तथा भावी मार्गचित्रसम्बन्धी कार्यक्रममा स्वास्थ्यमन्त्री डा. सुधा शर्माले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पीडा पोखिन् । उनले स्वास्थ्य बिमाको तत्कालको संकट टार्न कम्तीमा १५ अर्ब बजेट यथाशीघ्र उपलब्ध गराउन माग गरिन् ।

‘अब तत्काल १५ अर्ब व्यवस्थापन गर्न नसके स्वास्थ्य बिमा प्रणालीमा आबद्ध रहेका अस्पतालहरूले सेवा बन्द गर्ने भनिरहेका छन्,’ उनले भनिन्, ‘शून्य बजेटमा २४ अर्ब दायित्व बोकेर स्वास्थ्य बिमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ? सञ्चालन हुन सक्दैन, कि त स्पष्ट रूपमा स्वास्थ्य बिमा बन्द गर्न माथिबाटै निर्देशन हुनुपर्‍यो कि आवश्यक रकम जुटाइदिनुपर्‍यो, बजेटविना समाधान निस्किँदैन ।’

स्वास्थ्य बिमामा मात्रै सरकारको वार्षिक २४ अर्ब खर्च हुने गरेको छ । प्रतिमहिना दुई अर्बका दरले खर्च हुँदा सेवा प्रदायकलाई स्वास्थ्य बिमा बोर्डले तिर्नुपर्ने बक्यौता चुलिएको छ । रकम अभावमा बिमा कार्यक्रम नै धरापमा पर्न थालेपछि बिमा बोर्डले ओपिडी सेवा खुम्च्याएर २५ हजारमा झारेको छ । स्वास्थ्य बिमा बोर्डले तीन हजार पाँच सयमा बिमा गरेपछि एक लाखसम्मको नि:शुल्क उपचार सेवा दिन्छ । तर, हालै उक्त बिमामध्ये ओपिडी सेवामा २५ हजार मात्र खर्च गर्न पाइने निर्णय बोर्डले गरेपछि सरकारको उपचार दायित्वमाथि नै प्रश्न उठेको छ भने सर्वसाधारण भौँतारिन थालेका छन् ।

भदौयता पुस मसान्तसम्म बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई ११ अर्ब तिर्न बाँकी छ । त्यस्तै, माघ महिनाको समेत दुई अर्ब थपिँदा १३ अर्ब हाराहारी बक्यौता पुग्छ । उक्त रकमसमेत केन्द्र सरकारबाट बोर्डलाई नआउँदा सेवा प्रदायक स्वास्थ्य संस्थाले बिमा सेवामा सर्वसाधारणलाई सास्ती दिने गरेका छन् ।

स्वास्थ्यमन्त्रीले तत्काल १५ अर्ब माग्दा प्रधानमन्त्री कार्कीले उक्त बजेट स्रोत कसरी प्रदान गर्ने भन्ने सम्बन्धमा केही बोलिनन् । उनले बरु स्रोत जुटाउन र व्यवस्थित गर्न निर्देशन दिइन् । ‘एकातिर जनताले ३५ सय पनि तिरेको छ, अर्कातिर सरकारले वचन दिएको एक लाखसम्मको उपचार गर्ने भन्या पनि छ । अहिले बिमाको रकम नपाएर अस्पतालले सेवा बन्द पनि गरेका छन्, अब यो जिम्मा त हामीजस्तैको टाउकोमा आउने न हो,’ उनले भनिन्, ‘क्याबिनेटले गर्न सकेन, मन्त्रिपरिषद्ले गर्न सकेन भन्ने कुरा हुन्छ । जनताले पनि के सोच्छन् भने ३५ सय त मैले दिएको थिएँ, उपचार किन भएन ? यो विषय र समस्याहरू आउने नै भयो । अब सेवा दिएन भने सेवाग्राहीले प्रश्न उठाउँछन्, ३५ सय सरकारले सित्तैमा खाएजस्तो भयो भनेर । त्यसैले के गर्ने हो सोच्नुपर्‍यो, अर्थमन्त्रीज्यू टुरमा हुनुहुन्छ, उहाँ आएपछि यसो बसेर छलफल गरेर उपाय निकाल्नुस् ।’

स्वास्थ्य बिमाको रकम भुक्तानी र व्यवस्थापन सम्बन्धमा स्वास्थ्यमन्त्री डा. शर्माले बेवास्ता गरेको भन्दै ४ माघमा कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका थिए । त्यसपछि उनको ठाउँमा मन्त्रालयले डा. कृष्णप्रसाद पौडेललाई पठाएको थियो । पौडेलले पनि सेवा प्रदायकले रकम माग गरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयलाई सहजीकरण गर्न अनुरोध गर्दै आइरहेका छन् । तर, मन्त्रालयको बजेटबाट उक्त रकम दिन नसक्ने भन्दै स्वास्थ्य मन्त्रालय पन्छिँदै आइरहेको छ ।

‘बिमामा धेरै समस्या निम्तिएपछि यसलाई कसरी सपार्ने भनेर हामी छलफलमै छौँ । निजी अस्पतालबाट बढी क्लेम आइरहेको छ, त्यसलाई पनि रोक्ने कि भन्ने सोच बनाएका छौँं । प्रिमियमबारे पनि रिभ्यू गर्ने कि भन्ने भइरहेको छ, ओपिडीको सीमितता पनि तोकेका छौँ,’ कार्यकारी निर्देशक डा. पौडेलले भने, ‘बिमितको संख्या हेर्दा अधिकांशले सेवा लिन मात्रै बिमा गरेको देखिन्छ, तर यसरी त भार बढी भयो । घरमा बिरामी सदस्य भएका तथा जोखिम अवस्थामा भएकाले बढी बिमा गर्ने प्रवृत्ति बढिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले धेरैलाई बिमामा कसरी आबद्ध गराउने भन्नेतर्फ छलफल भइरहेको बताए । हाल स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या ६५ लाख १० हजार पुगेको छ । यसमध्ये ३२ लाख ५० हजारहाराहारीले सेवा लिइरहेका छन् । सेवा लिनेको संख्या बढ्दै जाँदा सेवा प्रवाह भने कमजोर भएपछि बिरामीले दु:ख पाउने गरेका छन् । स्वास्थ्य बिमा बोर्डले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यालाई बिमामा आबद्ध गराउने लक्ष्य राखेको छ । बोर्डका अनुसार बिमामा आबद्ध भएका संघीय अस्पतालहरूमा दैनिक एक हजारका दरले बिमामा आबद्ध भएका बिरामीहरू उपचारका लागि आइपुग्छन् । तर, बिरामीअनुसार बिमा सेवा प्रवाह गर्ने जनशक्ति राखिएको छैन । कम जनशक्तिले सेवा दिँदा बिमामा आबद्ध बिरामीहरू सेवा लिँदा निकै झन्झट खेप्ने गरेका छन् । त्यस्तै, बिमा बोर्डले भुक्तानी नगरेको र घाटा भएको भन्दै १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम नै रोकेको छ ।

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदूतको शिष्टाचार भेट

काठ्माण्डौ- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेट भएको छ।

भेटका क्रममा नेपाल र श्रीलंकाबीचको द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत डेल्पिटियालाई बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थमन्त्रालयसँग तत्काल १५ अर्ब बजेट माग

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन् ।

आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

मन्त्री डा. गौतमले विद्यमान समस्या र अवस्थाको समाधान छलफल र सुझावले मात्र सम्भव नहुने भन्दै स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिन् । “शून्य बजेटमा २४ अर्ब दायित्व बोकेर स्वास्थ्य बिमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ?”, मन्त्री गौतमले प्रश्न गरिन्, “कि स्पष्ट रूपमा स्वास्थ्य बिमा बन्द गर्न निर्देश हुनुपर्‍यो कि आवश्यक रकम जुटाइदिनुपर्‍यो ।”

स्वास्थ्यमन्त्री डा. गौतमले अर्थमन्त्री र अर्थसचिवलाई प्रत्यक्ष सम्बोधन गर्दै साउनमा प्रस्तुत बजेट वक्तव्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अतिविपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बीमा सुविधालाई निरन्तरता दिने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको बताइन् ।

सो छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वास्थ्य मन्त्रालयलाई नीतिगत सुधारका लागि सुझाव दिँदै आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताए।

“तत्कालै व्यवस्थापनका लागि स्वास्थ्य बिमाका लागि दिने सहिने रकमको पुर्नप्राथमिकीकरण गरेर स्वास्थ्य मन्त्रालयले ल्याउनुपर्ने देखिन्छ । रकमान्तर गर्ने, स्रोतान्तर गर्ने विषयमा अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्नेछ । त्यसबाहेक पनि अन्य मन्त्रालयमा रहेका चालु खर्चहरूको विवरणअनुसार आवश्यकताका आधारमा स्वास्थ्य मन्त्रालयमा रकमान्तर गर्न तयार छौँ”, सचिव उपाध्यायले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयले सुधारलाई पहिलो एजेण्डा नबनाई स्रोतको खोजी मात्र गरेमा स्वास्थ्य बिमा दिगो रूपमा सञ्चालन हुन नसक्ने उनको भनाइ छ । “स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममा देखिएका समस्या समाधान गर्ने पहिलो एजेण्डा मन्त्रालयले नै बनाउनुपर्छ, अनि मात्र सुधार सम्भव छ”, सचिव उपाध्यायले भने । रासस

निर्वाचन आयोग र टिकटकबीच सहकार्य

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन्।

बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आकलन गरेर पहिचान गरिसकेको बताए।

प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए। नहाले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले गरेको सहयोग सराहनीय रहेको बताए।

निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागीतालाई टेवा पुर्‍याउने आयोगको विश्वास छ। निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिहरूले जनाएका छन्।

जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाएकी छिन् ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाएकी हुन् । साथै, उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन् ।

‘अर्थमन्त्रीजी टुर (भ्रमण) मा हुनुहुन्छ । उहाँ आएपछि यसो बसेर छलफल गरेर ऋणपान गरेर हुन्छ कि, खोजेर हुन्छ कि । मान्छेले अनिकाल भयो भने के हुन्छ ? छोराछोरीको माखामुन्द्रा तानतुन पारेर भएपनि झिटीझाम्टा बेचेर भएपनि काँसमा थाल रहेछन् भने बरु सिलेवरमा खाएर बेचेर पनि गर्छ । त्यसैले केही उपाय त गर्नुपर्छ । नगरी त हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

गरिव वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि सो कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘स्वास्थ्य बीमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ । १६ लाखको दु:खी, गरिब असहाय सबैलाई सडकमा बसेका गरिब विपन्न वर्ग, त्यसपछि अल्पसंख्यकहरू, अब त्यस्तोलाई दिने हो भने त्यो हिसावबाट एकद्वारबाट जानुपर्‍यो,’ प्रधानमन्त्री कार्कीले अघि भनिन्, ‘पैसा पनि गइराखेको छ, उपचार पनि पाइराखेको छैन । कहाँ के भएको हो ? अब त्यो त ठिक भएन,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक  बजेटको व्यवस्था गर्ने पनि बताएकी छिन् ।

‘यसरी लथालिंग कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छे चाँही केही नपाउने गरेर त्यो गरेर हामीले यसलाई छाडा रुपमा चाँही राख्नु हुँदैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘त्यसलाई एउटा नियमपूर्वक दिनुपर्छ भन्ने मलाई लाग्दछ । आजको कार्यक्रम यही कुराको सुचित होस सम्भवत हामी ढिलो गर्दैनौ होला । मिटिङ गरेर, जे गरेर हुन्छ । अर्थमन्त्री बाहिर भएको हुनाले हामी बसेर छलफल गरेर यसलाई हामी सुधार्नेमा जान्छौं । जसरी पनि यो समस्या समाधान गर्नेतिर जान्छौं ।’

चुनावमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाण्डाै – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आउँदाे प्रतिनिधिसभा सदस्य चुनावमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्ने चिन्ता व्यक्त गरेका छन ।

चुनावमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताए ।

उनले भने, ‘आउँदाे चुनावमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले चुनावलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, चुनावको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुन्छ । विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र चुनावसँग छ ।’

निर्वाचन आयोगले आउँदाे चुनावमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यस सन्दर्भमा टिकटकजस्ता प्लेटफर्महरूबाट प्राप्त प्रतिबद्धता तथा सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ ।

 

नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा ल्याएको हो । यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो । जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ । विशेष गरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नविन र ग्राहकमैत्री बीमा योजनाहरू निरन्तर रूपमा पस्किँदै आएको छ । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यस योजनाले परिवारको आर्थिक स्थायित्व सुनिश्चित गर्नुका साथै दीर्घकालीन वित्तीय योजना बनाउन नागरिकलाई प्रेरित गर्नेछ ।

यो एक वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैंयाँबाट सुरु हुनेछ र बिमितले पाँच लाखदेखि २० लाखसम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्ने छन् र १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो बिमा योजना लिन सक्ने छन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ ।

यस योजनाले अकस्मात हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार, तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिने छन् र पोलेसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए ।  सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यका साथ यो योजना सार्वजनिक गरिएको बताए । जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने जानकारी दिए ।

नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो ।

साथै उक्त कार्यक्रममा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

झिनो अंकले घट्यो नेप्से

काठमाडौँ- सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले घटेर बन्द भएको छ । मंगलबार १२.५८ अंकले घटेर बन्द भएको नेप्से बुधबार १.६४ अंकले घटेको हो ।

मंगलबारको तुलनामा ०.०६ प्रतिशतले घटेपछि बुधबार समग्र नेप्से २ हजार ६ सय ८१.५० अंकमा ओर्लेको छ । सो दिन कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १३४ कम्पनीको मूल्य घट्यो । र बाँकी १३ कम्पनीको स्थिर रहयो ।

बुधबार कुल ८० हजार ४ सय २२ पटकको सेयर किनबेचमा १ करोड ६६ लाख ६२ हजार ६ सय २६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार सेयर बजारमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।

कैलाली–५ मा एमालेद्वारा २१ वटै वडा सम्पर्क कार्यालय उद्घाटन

कैलाली नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २१ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समिति प्रचार–प्रसार संयोजक विष्णु चन्दले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सबै वडामा सम्पर्क कार्यालय खोल्ने काम सम्पन्न गरिएको उनले बताए । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज ढुङ्गानालाई विजयी गराउन पार्टी पंक्ति पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेको चन्दको भनाइ छ ।

वडा सम्पर्क कार्यालय सञ्चालन कार्यक्रममा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर नारदमुनी राना, पार्टी केन्द्रीय सदस्य एवं कैलाली संयोजक लिला भण्डारी, प्रदेश सचिव रणबहादुर चन्द लगायतका नेताहरूको सहभागिता रहेको थियो । कैलाली–५ मा पार्टीप्रति जनलहर बढ्दै गएको दाबी गर्दै संयोजक चन्दले यसपटक एमालेको जित सुनिश्चित रहेको बताए । उम्मेदवार यज्ञराज ढुङ्गानाले कैलाली–५ को समग्र विकास, विद्यमान भ्रष्टाचार र बेथितीको अन्त्य तथा रोजगारी समस्याको समाधानलाई प्राथमिकता दिएर आफ्नो उम्मेदवारी अघि बढाइएको बताए ।

राजनीति जनसेवाको माध्यम भएको उल्लेख गर्दै ढुङ्गानाले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कैलाली–५ मा चुनावी माहोल एमालेको पक्षमा बनेको दाबी गर्दै आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

नेप्सेमा रणनीतिक साझेदार ल्याउन अध्ययन प्रतिवेदनको सुझाव

काठमाण्डाै- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी प्रतिवेदन २०८२ ले नेप्सेको पूँजी र स्वामित्व संरचनामा महत्त्वपूर्ण सुधार गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि पूँजी वृद्धि तथा रणनीतिक साझेदारको प्रवेशलाई जोड दिएको हो ।

गएको मङ्सिरमा मन्त्रिपरिषद्ले चार्टर्ड एकाउन्टेन्ट प्रकाशजङ्ग थापाको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदन सरकारले हिजो सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेप्सेको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी लगानीकर्ताले अपेक्षा गरेबमोजिमको आधुनिक सेवा सुविधा विस्तार गर्न रणनीतिक साझेदार आवश्यक रहेको उल्लेख छ ।

रणनीतिक साझेदार छनोट गर्दा विश्वका शीर्ष २० स्टक एक्सचेन्जमध्येको एक हुनुपर्ने, कम्तीमा २० वर्षको अनुभव भएको र विश्व स्टक एक्सचेन्ज फेडेरेशनको पूर्णकालीन सदस्य भएको जस्ता योग्यता तोकिएको छ । रणनीतिक साझेदार भित्राउन नेपाल सरकारबाहेकका अन्य शेयरधनीहरूले आफ्नो स्वामित्वको शेयर बिक्री गर्ने विकल्प सहज हुने प्रतिवेदनको सुझाव छ ।

यस्तै प्रतिवेदनले सबैजसो सञ्चालक नेपाल सरकार वा सरकारअन्तर्गतका निकायबाट प्रतिनिधित्व हुँदा त्यसका नकारात्मक पक्ष धेरै रहेको भन्दै स्वतन्त्र विज्ञ सञ्चालकको बाहुल्य रहने गरी सञ्चालक समितिको पुनर्संरचना गर्न पनि सुझाव दिएको छ ।

– न्यूज एजेन्सी नेपाल

 

जय ट्रफी क्रिकेट फागुन ८ देखि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी मेन्स इलिट कप क्रिकेट प्रतियोगिता फागुन ८ देखि १९ गतेसम्म हुने भएको छ ।

क्यानले बुधबार विज्ञप्ती जारी गर्दै खेलतालिका सार्वजनिक गरेको छ ।

जय ट्रफीमा गत वर्षको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेक नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार प्रतियोगिताको लिग चरणका खेलहरु सिंगल राउण्ड रोविनको आधारमा हुनेछ ।

पहिलो खेल फागुन ८-९ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यही समयमा एपीएफ र बागमती प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ ।

यस्तै फागुन ११-१२ गते त्रिवि अन्तर्राष्ट्रिय मैदानमा एपीएफ र पुलिसबीच तथा मुलपानी मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

त्यसैगरी फागुन १४–१५ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल पुलिस र बागमती प्रदेश तथा मूलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।

लिग चरणपछि शीर्ष दुई फाइनल प्रवेश गर्नेछन् । फाइनल खेल तिनदिवसिय हुनेछ । फाइनल खेल फागुन १७ देखि १९ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

०८३ को पात्रो फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । वि.सं. २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि वि.सं. २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो ।
वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक संघ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
छलफलपछि वि.सं. ०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने निर्णय समितिले गरेको छ । प्रकाशनका लागि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग गरी १८ वटा पुराना पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको समितिले जनाएको छ ।
वि.सं. ०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएकामा २०८२ मा चार नयाँ पात्रोले प्रकाशनको स्वीकृति पाएका थिए । यस वर्षदेखि स्वीकृति दिइएका चार पात्रोलाई दुई वर्षे परीक्षण काल राखेर स्वीकृति दिइएको उनले बताए । वि.सं. ०८३ देखि प्रकाशन हुने गरी नयाँ अर्को एउटा पात्रोले पनि स्वीकृति मागेको छ ।
नयाँ पात्रोलाई भने स्वीकृति दिन बाँकी रहेको जनाइएको छ । विगत वर्षमा माघ तेस्रो साता नै अर्को वर्षको पात्रो बजारमा आउने गरेको थियो । यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेका कारण पात्रो प्रकाशनका लागि स्वीकृति दिन पनि करिब १० दिन ढिलाइ भएको हो ।
मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम गठन आदेश ०७७ ले दिएको छ । सरकारले ०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो । धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने गरी समितिको छुट्टै विधेयक नै मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ । तर, यो माग अझै पूरा हुन सकेको छैन । रासस

आजदेखि खाना पकाउने एलपी ग्यास सहज हुने निगमको दाबी

काठमाण्डौ- नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो ।

माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन भन्दै फर्काउने गरेको र डिपोहरूले समेत अभावले आपूर्तिमा समस्या रहेको बताएका छन् । जाडोमा ग्यासको खपत केही बढ्ने र समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेको छ । नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमले अहिले देशभर रहेका ६० वटा उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराएको छ ।

निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ । साथै चुनावका लागि लक्षित गरी थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी भैरहेको प्रवक्ता ठाकुरले बताए ।

 

यू-१९ साफ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग भिड्दै

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः०० बजे बङ्गलादेशको सामना गर्दैछ । त्यसअघि अपरान्ह १२ः०० बजे भारत र भुटान आमनेसामने हुँदैछन् ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने लिगचरणको अन्तिम खेलमा नेपाल दवावमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन । बङ्गलादेश प्रतियोगिताको अङ्क तालिकामा ६ अङ्क सहित शीर्ष स्थानमा छ ।

बङ्गलादेशले आफ्नो दुई खेल जित्दै फाइनलको नजिक पुगेको छ । नेपाल र भारतले समान एक/एक खेल जितेर तीन अङ्क बनाएका छन् । भुटानले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन र अङ्क विहिन छ ।

भुटानले लिगचरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ । भारतले भुटानलाई हराएको खण्डमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । यदी भारत भुटानसँग पराजित भएको खण्डमा भने घरेलु टोली नेपाललाई बङ्गलादेशसँगको खेलमा बराबरी गरे मात्र समेत फाइनल पुग्ने पर्याप्त हुनेछ ।

नेपाल पहिलो खेलमा भारतसँग १-० गोलले पराजित हुँदा दोस्रो खेलमा भने भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२-० ले र भारतलाई २-० ले हराएको थियो ।

प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ ।

सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पाँच हजार सशस्त्र प्रहरी तैनाथ

कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका अनुसार माघ २१ गतेदेखि प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिने छ । ती सुरक्षा बेसमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षा फौज तैनाथ गरिने व्यवस्था मिलाइएको छ ।

निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले सञ्चारकर्मीसँगको अन्तर्क्रियामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन व्यापक सुरक्षा तयारी गरिएको जानकारी दिए । उनका अनुसार फागुन ६ गतेदेखि छुट्टाछुट्टै मोबाइल टोली परिचालन गरिने छ । यस्तै डिएसपीको कमान्डमा बाहिनीस्तरीय रिजर्भ टोलीसमेत तयारी अवस्थामा रहने उनको भनाइ छ ।

निर्वाचनविरोधी गतिविधि रोक्न अनुगमन टोली परिचालन गरिने र सूचनाको प्राप्ति तथा विश्लेषणलाई निरन्तरता दिइने सुवेदीले बताउनुभयो । निर्वाचन सुरक्षामा करिब पाँच हजार एक सय सशस्त्र प्रहरी परिचालन गरिने उनको भनाइ छ ।

सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उनको भनाइ छ । सवारीसाधनको अभाव भएका स्थानमा आवश्यक सवारीसाधन भाडामा लिने व्यवस्था गरिएको छ ।

पहाडी क्षेत्रमा सञ्चार तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन रिपिटर टावर निर्माण गरिएको, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचना नियन्त्रणका लागि सूक्ष्म निगरानी राखिएको जानकारी दिइएको छ ।  सम्भावित विपत् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी पूरा गरिएको र समग्र सुरक्षा रणनीति बनाएर सशस्त्र प्रहरी बल सक्रिय रूपमा परिचालन भइरहेकोसमेत सशस्त्र प्रहरीका बाहिनीपति सुवेदीको भनाइ छ ।

उतारचढाव छिचोल्दै किन अचाक्ली महँगियो सुन ?

काठमाडौं । पछिल्लो एक वर्षयता सुनको मूल्य घट्नेभन्दा प्रायः बढ्ने प्रवृत्ति छ । तर, दुई सातायता (माघ १५ र १६) दिनमै साढे २० हजार रुपैयाँले बढ्ने र घट्ने हुँदा सुनको मूल्य अस्थिर रह्यो ।

माघ १५ गते एकैदिन तोलामा साढे २० हजारले बढेर सुनको मूल्य हालसम्मकै उच्च तीन लाख ३९ हजार ३०० रुपैयाँ पुग्यो । तर, त्यसको भोलिपल्ट शुक्रबार (माघ १६) तोलामा साढे २० हजारले नै घटेर तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भयो ।

आइतबार (माघ १८) सुनको मूल्य तोलामा १८ हजार ८०० ले घटेर तीन लाख रुपैयाँमा ओर्लियो । सोमबार (माघ १९) पनि सुनको मूल्य घटेर तोलाको दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच गरियो । मंगलबार (माघ २०) सुनको मूल्य तोलामा तीन हजार ७०० ले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भयो । त्यस्तै बुधबार (माघ २१) मा पनि तोलामा १४ हजार ४०० रुपैयाँले बढेर तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको छ ।

तुलनात्मक रूपमा नेपाली बजारमा सुनको मूल्य आन्तरिक नभई अन्तर्राष्ट्रिय कारणले बढेको व्यवसायी बताउँछन् । सुनको मूल्य दैनिक ठूलो आकारमा वृद्धि हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय आर्थिक गतिविधि र विश्वका धनाढ्यले यसमा लगानी गर्नु रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको भनाइ छ ।

रसाइलीका अनुसार, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर अझै घटाउने संकेत गरेका कारण विश्वबजारमा सुनको मूल्यमा प्रत्यक्ष प्रभाव परेको हो । “विश्वभरका धनाढ्य व्यक्तिहरूले क्रिप्टोकरेन्सीजस्ता विदेशी मुद्राहरूको सट्टा सुन किनेर स्टक (भण्डारण) गर्ने योजना बनाएकाले पनि मूल्यमा अचानक वृद्धि आएको हो,” अध्यक्ष रसाइलीले भने, “विश्वका ठूला लगानीकर्ता र धनाढ्यहरूले सुरक्षित लगानीका रूपमा सुनलाई रोज्दै ठूलो परिमाणमा खरिद गर्न थालेकाले बजारमा यसको माग र मूल्य दुवै बढेको हो ।”

हाल उच्च मूल्यवृद्धिका कारण देशमा सुनको माग घटेर बजार सुस्त भएको नेपाल सुनचाँदी व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् । यति बेला किन्नेभन्दा पनि आफूसँग भएको सुन बेच्न चाहने ग्राहकको संख्या बढी रहेको उनले उल्लेख गरे । “धेरैजसो उपभोक्ताहरू पुराना बिलहरू लिएर आफ्नो सामानको कति पैसा आउँछ भनी सोधपुछ गर्न आउने गरेका छन्,” उनले भने ।

मूल्य बढ्यो, तर नेपाली बजार सुस्तायो

पछिल्लो समय सुनको मूल्यवृद्धिसँगै नेपाली बजारमा यसको कारोबारमा प्रत्यक्ष असर परेको छ । मूल्य बढेका कारण सुनको माग र कारोबारमा पहिलेको तुलनामा मन्दी आएको व्यवसायी बताउँछन् ।

सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई हुन्छ । हाल दैनिक २५ किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था छ । सुन व्यवसायीको छाता संगठनको सिफारिसमा व्यापारीले खरिद गर्छन् । यसको सहजीकरण वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गर्छ ।

मूल्य हालसम्मकै उच्च भएको दिन (माघ १५) देशभित्रको ‘बैंकिङ प्रणाली’मा ६७ किलो सुन रहेको संघका अध्यक्ष अनिल शर्माले जानकारी दिए । त्यसको अघिल्लो साता प्रणालीमा १२० किलो सुन थियो ।

व्यवसायीका अनुसार, हाल समग्र सुन कारोबार सुस्त छ । सुनको व्यापार हुने खासै सिजन नभएकाले पनि कारोबारमा कमी आएको व्यवसायी बताउँछन् ।

चाँदीमा बढ्यो आकर्षण

माघ १५ गते चाँदीको मूल्य तोलामा २०५ ले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन अर्थात् माघ १४ गते चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । माघ २० गते चाँदीको मूल्य तोलाको पाँच हजार ३३५ रुपैयाँ कायम भयो ।

सुनको मूल्य अत्यधिक बढेपछि चाँदी किन्न ग्राहक आकर्षित देखिए । सुनको मूल्य अकासिएसँगै ग्राहक चाँदीतर्फ आकर्षित भएका व्यवसायीसमेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन् ।

उनका अनुसार, गत वर्षको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भइरहेको छ । नेपालीहरूको क्रयशक्तिभित्रै पर्ने भएकाले फाइदाका लागि चाँदीमा लगानी गर्नेको संख्या बढेको शाक्यको भनाइ छ ।

सुनको तुलनामा चाँदीको माग उच्च रहेको सुन व्यवसायीसमेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य स्वीकार्छन् । तर, यसैबीच चाँदीमा ‘कृत्रिम अभाव’ भएको गुनासो पनि सुनिन थालेको छ ।

व्यवसायीले आफूसँग भएको सामान लुकाएर अभाव सिर्जना नगरेको शाक्यको दाबी छ । उनले आपूर्ति सहज नहुँदा माग धान्न कठिन भएको चाहिँ स्पष्ट पारे । यो कृत्रिम अभाव नभई आयातमा देखिएको समस्या रहेको उनको तर्क छ । उनका अनुसार नेपालले चाँदी आयात गर्ने मुख्य स्थान दुबई हो । यद्यपि, त्यहाँका आपूर्तिकर्ताले पहिलो प्राथमिकता भारतीय व्यापारीलाई दिने गरेका छन् ।

“भारतको अर्डर ठूलो हुने र नेपालको अर्डर थोरै हुने भएकाले नेपाली व्यवसायीले सहजै चाँदी पाउन नसकेको बुझिएको छ,” शाक्यले बाह्रखरीसँग भने, “चाँदीको माग बढ्नुको मुख्य कारण यसलाई लगानी र सम्पत्तिका रूपमा राख्ने प्रवृत्ति नै हो ।”

सुन आयातमा निश्चित प्रणाली र कोटा तोकिए पनि चाँदीको हकमा बैंक र व्यवसायी (फर्म) दुवैले तोकिएको सीमाभित्र रही आयात गर्न पाउने व्यवस्था छ । “सुनको तुलनामा अहिले चाँदीको माग बढी छ । कारोबारमा पनि केही वृद्धि देखिएको छ । चाँदीको माग बढ्दा बजारमा केही संकट देखिएको हुन सक्छ । तैपनि, बैंक र व्यवसायी दुवैलाई आयात अनुमति भएकाले आपूर्ति व्यवस्थापन गर्न सकिने अवस्था छ,” एक व्यवसायीले बताए ।

६ महिनामा साढे १९ अर्बको आयात

भन्सार विभागको तथ्यांकअनुसार चालु आ.व. ०८२/८३ को ६ महिनासम्म नेपालमा १९ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको सुन आयात भएको छ । यो गत आ.व.को सोही अवधिको तुलनामा १९३.१३ प्रतिशतले बढी हो । गत आ.व.को ६ महिनामा ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँको सुन आयात भएको थियो ।

नेपालको कुल आयातमा सुनको हिस्सा २.१ प्रतिशत छ । पछिल्लो प्रवृत्ति हेर्दा सुन आयात परिमाणमा भन्दा रकममा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले महँगोमा खरिद गर्दा आयातको रकम बढी देखिएको व्यवसायीहरू बताउँछन् ।

कुन देशसँग कति छ सुन सञ्चिति ?

अन्तर्राष्ट्रिय बजारमा सुन सञ्चिति (गोल्ड रिजर्भ)को आकार पनि बढ्दै छ । सन् २०२५ सेप्टेम्बरसम्म विश्वका विभिन्न देशले आफ्नो आर्थिक स्थिरताका लागि सुन भण्डारणलाई प्राथमिकता दिन थालेका छन् ।

अधिकांश विकसित राष्ट्रहरूले सुन भण्डारलाई स्थिर राखेका छन् भने चीन र टर्कीजस्ता अर्थतन्त्रले आफ्नो भण्डारमा थप लगानी पनि गरिरहेकै छन् । विश्वव्यापी आर्थिक अनिश्चितताबीच सुन अझै पनि सुरक्षित सम्पत्तिका रूपमा पहिलो रोजाइमा पर्दै आइरहेको देखिन्छ ।

‘ग्लोबल सोभरेन गोल्ड रिजर्भ्स’को रिपोर्ट अनुसार शीर्ष १० राष्ट्रहरूको सूचीमा अमेरिकाले सबैभन्दा बढी सुन राखेको छ । यस्तै, केही एसियाली मुलुकले पनि आफ्नो भण्डारमा सुन थपेका छन् ।

ट्रेडिङ इकोनोमिक्सको तथ्यांकलाई हेर्दा पनि सबैभन्दा बढी सुन खरीद गरेर भण्डारण अर्थात् सञ्चिति गर्ने मुलुक अमेरिका रहेको देखिन्छ । तथ्यांकअनुसार अमेरिकासँग अहिले आठ हजार १३३ टन सुन भण्डारण छ ।

यसैगरी, युरोपेली अर्थतन्त्रहरूमा जर्मनले तीन हजार ३५० टन, इटालीले दुई हजार ४५२ टन र फ्रान्सले दुई हजार ४३७ टन सुन भण्डारण गरेका छन् । पाँचौँ नम्बरमा रहेको रुससँग दुई हजार ३३० टन सुनर सञ्चिति रहेको ट्रेडिङ इकोनोमिक्सको तथ्यांकमा उल्लेख छ ।

एसियामा चीनले आफ्नो सुनको भण्डारलाई आक्रामक रूपमा बढाउँदै लगेको देखिन्छ । चीनको भण्डार २ हजार २९९ टनबाट बढेर २ हजार ३०४ टन पुगेको छ । त्यसैगरी टर्कीले पनि आफ्नो सञ्चिति ६३५ टनबाट बढाएर ६४१ टन पुर्‍याएको छ । दक्षिण एसियाली मुलुक भारत भने ८८० टनको स्थिर भण्डारका साथ यस सूचीको अग्रस्थानमा रहेको छ ।

यता केही साना र उदीयमान अर्थतन्त्रहरूले पनि आफ्नो सुनको भण्डारमा उल्लेखनीय वृद्धि गरेको देखिन्छ । जसमा काजाकिस्तानले आफ्नो भण्डार ३०६ टनबाट बढाएर ३२४ टन पुर्‍याएको छ । यस्तै, ब्राजिलको सञ्चिति १३० टनबाट बढेर १४५ टन पुगेको छ । चेक गणतन्त्रले पनि ६१.९५ टनबाट ६६.८४ टनमा वृद्धि गरेको छ । अफ्रिकी मुलुक घानाले आफ्नो भण्डार ३२.९९ टनबाट बढाएर ३७.०६ टन पुर्‍याएको छ ।

यद्यपि, सबै राष्ट्रहरूले सुन थपेका भने छैनन् । उज्बेकिस्तानको भण्डार ३६५ टनबाट घटेर ३६१ टनमा खुम्चिएको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पनि ७४.६ टनबाट झरेर ७४.४ टन कायम भएको छ । त्यस्तै, बोलिभियाको सुन भण्डारमा पनि सामान्य कमी आएको छ ।

ट्रेडिङ इकोनोमिक्सको सूचीमा नेपालले सन् २०२४ सम्ममा करिब ८ टन सुन भण्डारण गरेको उल्लेख छ । यस्तै छिमेकी राष्ट्र चीन (२३०६ टन) र भारतको (८८० टन) ठूलो भण्डारले क्षेत्रीय आर्थिक सन्तुलनमा सुनको महत्त्व बढेको अनुमान गर्न सकिन्छ । पाकिस्तान ६४.७६ टन र बंगलादेश १४.२८ टनको भण्डारका साथ स्थिर देखिएका छन् ।

समग्रमा, विश्वका प्रमुख अर्थतन्त्रहरूले मुद्रास्फीति र आर्थिक अनिश्चितताका बीच पनि सुनलाई एक भरपर्दो सम्पत्तिको रूपमा सञ्चित गरिरहेको सरोकारवालाहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गतिमा उतारचढाव भएको देखिन्छ । ०८२ माघ १५ (जनवरी २९) मा अन्तर्राष्ट्रिय बजारमा सुनको औसत मूल्य प्रति औंस ५ हजार ५ सय अमेरीकि डलर रहेको यूएसए गोल्डको तथ्यांकमा उल्लेख छ ।

जबकी करिब ३१ वर्षअघि सन् १९९५ मा सुनको औसत मूल्य प्रतिऔंस ३८७ डलर रहेको यूएसए गोल्डले जनाएको छ । त्यसपछि केही वर्ष लगातार घट्दै २००१ मा २७१.०४ डलरमा झर्‍यो । यो ५–६ वर्षको अन्तरमा सुनको मूल्य करिब ३० प्रतिशत कमी रह्यो ।

सन् १९९५ देखि २०२४ सम्म सुन र चाँदी दुवैको मूल्यले दीर्घकालीन उकालो लिएको देखिन्छ । सुनको मूल्य करिब ६ गुणा बढ्दा र चाँदीको मूल्य करिब ५ गुणा बढेको देखिन्छ । मूल्यवृद्धिको प्रमुख चरणहरू सन् २००६–२०११ र सन् २०२०–२०२४ मा देखिन्छ । विश्व आर्थिक अनिश्चितता र सुरक्षित सम्पत्तिप्रतिको आकर्षणले सुनमा लगानी बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

सन् २००२ पछि सुनको मूल्य निरन्तर वृद्धि हुँदै २०११ सम्मको अवधिमा प्रतिऔंस १,५७२.३५ डलर पुग्यो । यो इतिहासकै उच्च वृद्धिदर (+२८.४%) मध्ये एक थियो । यसपछि सन् २०१३ देखि २०१५ सम्म पुनः घट्ने क्रममा सुनको मूल्य प्रतिऔंस १,१६० डलरसम्म घट्यो ।

तर, सन् २०१६ पछि सुन पुनः स्थिर रूपमा बढ्दै सन् २०२० मा विश्वव्यापी महामारी र आर्थिक अनिश्चितताका कारण प्रतिऔंस १,७७१.९६ (+२७.२%) डलर पुग्यो । यसपछि सन् २०२४ मा सुनको मूल्य प्रतिऔंस २,४०८.०८ डलर पुगेको छ । यो सन् २०२३ को तुलनामा २३.९% बढी हो । यसरी ३० वर्षको अवधिमा सुनको औसत मूल्य करिब ६ गुणा बढेको देखिन्छ ।

यता चाँदीको मूल्य सन् १९९५मा प्रतिऔंस ५.२० डलर थियो । १९९७–२००१ बीच घट्दै प्रतिऔंस ४.३७ (-११.७%) डलरसम्म पुगेको देखिन्छ । २००४ देखि तीव्र वृद्धि सुरु भई २०११ मा चाँदीको मूल्य प्रतिऔंस ३५.१२ डलर (+७३.९%) पुग्यो, जुन इतिहासकै उच्च दर थियो ।

यस्तै, सन् २०१२ देखि २०१५ सम्म पुनः तीव्र गिरावट भएर प्रतिऔंस १५.६८ डलरमा झर्‍यो (लगभग ५०% घट्यो) । तर, सन् २०२० मा महामारीपछि चाँदीको मूल्य पुनः बढ्दै २०२१ मा प्रतिऔंस २५.१४ डलर (+२२.४%), र २०२४ मा प्रतिऔंस २८.८७ डलर (+२१.६%) पुगेको थियो ।

चुनावी सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाण्डौ– प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि नेपाली सेना परिचालन हुँदैछ ।

सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । फागुन २१ गते हुने चुनावलाई केन्द्रित गरी नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा परिचालन हुन लागेका हुन् ।

एकीकृत सुरक्षा योजना अनुसार भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि खटिनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ ।

निर्वाचन प्रयोजनका लागि नेपाली सेना १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएको मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए ।

निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । सेनाले त्यसका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुसार मतदानको एक महिना अघिदेखि फिल्डमा सेना परिचालन हुन लागेको हो । उसले मुख्य जिम्मेवारीअनुसार मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

सुन तोलामा १४ हजार ४ सय बढ्यो

काठमाडौं- नेपाली बजारमा आज (बुधवार) पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । मंगलवार प्रतितोला तीन हजार सात सय रुपैयाँले बढेको सुनको भाउ आज थप १४ हजार चार सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलवार सुन दुई लाख ९० हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलवार तोलामा पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार पाँच हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला दुई सय ६५ रुपैयाँले महँगिएको हो ।

प्रतिनिधिसभा विघटन र कांग्रेस विवाद : दुवै मुद्दाको सुनुवाइ अब निर्वाचनपछि

काठमाडौं । प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी दुई फरक मुद्दा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने निश्चितजस्तै भएको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको मुद्दा २८ माघका लागि साधारण तारिख तोकेको छ ।  कांग्रेसको आधिकारिकता विवादमा त विपक्षीहरुलाई म्याद तामेलसमेत भएको छैन ।

सर्वोच्च अदालतले मुद्दा व्यवस्थापन सम्बन्धी केही कामहरु बाँकी रहेको भन्दै प्रतिनिधिसभा विघटनको मुद्दामा २८ माघमा सामान्य तारिख दिएको हो ।

त्यो दिन सबै काम सम्पन्न भएमा छिटोमा दुई/तीन सातापछि पेशी तोकिनसक्छ । अर्थात, कम्तीमा पनि २० फागुनअघि प्रतिनिधिसभा विघटनको मुद्दाले सुनुवाइको पालो पाउने देखिँदैन ।

नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयमा शेरबहादुर देउवालगायतका नेताहरुले दायर गरेको रिट निवेदन पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

६ माघमा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले शुरुमै एउटा दलभित्रको विवादको कारण निर्वाचन प्रक्रिया नै रोक्न मिल्ने हो कि होइन भनी प्रश्न गरेको थियो ।

सर्वोच्च अदालतले कारण देखाउ आदेशमा भनेको थियो, ‘कुनै एक राजनीतिक दल (नेपाली कांग्रेस) को पदाधिकारिको आधिकारिकताको विवादका कारणले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रारम्भ भइसकेको निर्वाचन सम्बन्धी प्रकृयाहरु रोक्नका लागि आदेश जारी गर्न मिल्ने हो होइन ?’

म्याद तामेल भएपछि मुद्दामा विपक्षी बनाइएका निर्वाचन आयोगदेखि कांग्रस सभापति गगन थापा र उपाध्यक्ष विश्वप्रकाश शर्माले लिखित जवाफ पेश गर्न १५ दिनको समय पाउँछन् । त्यसबाहेक उनीहरुलाई म्याद थाम्ने सुविधासमेत हुन्छ ।

निर्वाचन आयोगको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार भने दिएको छ ।

कारण देखाउ आदेशमै मुद्दामा ‘गम्भीर कानूनी तथा संवैधानिक प्रश्नहरु’ समावेश भएको भन्दै रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउनुपर्ने बाटो खोलिएको छ । सर्वोच्च अदालतका कर्मचारीहरु, म्याद तामेल भएर लिखित जवाफ पेश हुन बाँकी रहेकाले अबको करिव एक महिना मुद्दाको सुनुवाइ अघि बढ्ने सम्भावना नरहेको बताउँछन् ।

कांग्रेस, एमाले र नेकपालाई रविको चुनौती : सुनामी रोकेर देखाऊ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूले जस्तोसुकै गठबन्धन बनाए पनि त्यससँग लड्न आफू र आफ्नो पार्टी तयार रहेको बताएका छन् । मंगलबार एक सन्देश जारी गर्दै सभापति लामिछानेले पुरानो संसद् फर्काउने चलखेल, दबाब र धम्की नस्विकार्ने स्पष्ट पारेका छन् ।

पछिल्ला दिनमा कांग्रेस, एमालेका नेताहरूले संसद् विघटन बदर गर्न दायर गरेको मुद्दा अगाडि बढाउन सर्वाेच्च अदालतलाई दबाब दिइरहेका वेला सभापति लामिछानेले जस्तोसुकै गठबन्धन बनाए पनि चुनावमा लड्ने, तर संसद् पुनस्र्थापना गर्ने षड्यन्त्र स्वीकार्य नहुने बताएका हुन् । ‘मेरो खुला आग्रह छ– अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मतपरिणाम स्विकार्छौँ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्विकार्दैनौँ ।’

लामिछानेले २१ फागुन कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने पनि बताए । गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा रहेको उनको भनाइ छ । ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन,’ उनले भनेका छन्, ‘यत्तिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही थान बिचौलियाहरूको मुट्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ ।’

खुट्टामा चोट लागेर आराममा रहेका लामिछाने मंगलबारबाट सार्वजनिक जीवनमा फर्किएका छन् । उनले अब नेपाली जनताले परिवर्तनको इतिहास सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने पनि उल्लेख गरेका छन् । ‘अपदस्त दुईतिहाइको सरकारले जबर्जस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरिका अदालतहरू धाउँदा–धाउँदा थाहा छैन, म देशका कति ठाउँमा पुग्न सक्छु, तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दै छु घण्टीमा भोट,’ उनले भनेका छन् ।

लामिछानेले दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न मत मागेको पनि उल्लेख गरेका छन् । ‘एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन । कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रस्ट म्यान्डेटविना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौँअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठुलो वृक्ष बनेको छ । यसपटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन,’ उनले भनेका छन् ।

धनगढीमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु, तीन महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । ‘सिटी अफ क्रिकेट’ को उपमा पाएको धनगढीमा नयाँ सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित फाप्ला मैदान नजिकै करिब ५ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त मैदानको सोमबार विधिवत् शिलान्यास गरिएको हो।

मैदानका सञ्चालक सुवास शाही र मोहन साउँदले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। ‘धनगढी ओभल’ नाम दिइएको यस मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ वटा पिच रहनेछन्। मैदानको बाउन्ड्री न्यूनतम ६५ मिटरदेखि अधिकतम ७५ मिटरसम्म रहने सञ्चालक सुवास शाहीले जानकारी दिए।

मैदान सम्याउने तथा पर्खाल निर्माणको काम सम्पन्न भइसकेको र सोमबारदेखि पिच निर्माण सुरु गरिएको छ। आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम तीव्र रूपमा अघि बढिरहेको छ। पिच निर्माणदेखि अन्य प्राविधिक काम रुपन्देहीस्थित एष्ट्रोटेक ओभल क्रिकेट मैदान निर्माण गरिसकेका अन्तर्राष्ट्रिय पिच क्युरेटर माधव पाठकको प्राविधिक नेतृत्वमा भइरहेको छ।

शिलान्यासपछि बोल्दै सुवास शाहीले धनगढीमा क्रिकेट गतिविधि अझ चलायमान बनाउन यो मैदानले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले ठूलो लगानीमा निर्माण हुन लागेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पनि इआइए स्वीकृतिसहित अघि बढिसकेको उल्लेख गर्दै त्यसको निर्माण नहुने भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। फाप्ला मैदानमा ठूला प्रतियोगिता आयोजना गर्दा सहायक मैदानको आवश्यकता पर्ने भएकाले निजी लगानीमा यो मैदान निर्माण गरिएको शाहीको भनाइ छ।

मैदान निर्माण तीन चरणमा गरिनेछ। पहिलो चरणमा पिच निर्माण, सिँचाइ तथा ड्रेनेज प्रणाली जडान गरिनेछ। दोस्रो चरणमा पेभेलियन, चेन्जिङ रुम तथा नेट अभ्यासस्थल निर्माण हुनेछ भने तेस्रो चरणमा प्यारापिट निर्माण, फ्लडलाइट जडान र मैदान बाहिरी क्षेत्रमा फुड कर्नरसहित विभिन्न व्यावसायिक स्टलहरू स्थापना गरिनेछन्।

पूर्व खेलाडीसमेत रहेका सुवास शाही विगत डेढ दशकदेखि निरन्तर क्रिकेट गतिविधिमा सक्रिय छन्। एसपिए कपमार्फत व्यावसायिक क्रिकेट यात्रा सुरु गरेका शाहीले नेपालमै पहिलोपटक अक्सन प्रणालीमा आधारित धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेका थिए। पछिल्लो समय उनले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दै आएका छन्।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण तथा खेलग्राम विकास समितिका अध्यक्षसमेत रहेका शाही यस क्षेत्रकै अग्रणी शैक्षिक संस्था एसपीए कलेजका प्रबन्ध निर्देशक हुन्।

एसपीए कलेजले क्रिकेटर शेर मल्ल, कविता कुँवर र नारायण जोशीलाई ब्रान्ड एम्बासडर बनाएको छ भने एसपिए कलेजकै स्वामित्वमा रहेको ब्रेड बक्स क्याफेले सिनियर क्रिकेटर विनोद भण्डारीलाई ब्रान्ड एम्बासडर बनाएको छ।

करणले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो ‘वार्म अप म्याच’ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गरिरहेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा जारी खेलमा करण केसीले विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

उनले पहिलो ओभरको पाँचौ बलमा यूएईका कप्तान मुहम्मद वसिमलाई आउट पारे । वसिम ४ बलमा ६ रन जोडेर पभेलियन फर्किए ।

राप्रपाले दियो साइबर ब्युरो र निर्वाचन आयोगमा निवेदन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साइबर ब्युरो र निर्वाचन आयोगमा निवेदन दिएको छ।

भ्रम सिर्जना गर्ने तथा जातीय सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि गरेको पाइएको भन्दै कारबाही मागसहित राप्रपाले साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी दिएको हो।

राप्रपा महामन्त्री राजेन्द्र गुरूङले साइबर ब्युरोमा दिएको निवेदनमा ‘हाम्रो पार्टी नेपाल मधेस, दलित भ्वाइसेस, नन्दु बिसी, लोकेन्द्र विसीको फेसबुकबाट अध्यक्ष राजेन्द्र लिङ्देनविरूद्ध भ्रम सिर्जना गरेको उल्लेख छ।

अध्यक्ष लिङ्देनको फोटो र गाईको तस्बिर प्रयोग गरेर भ्रम सिर्जना गर्ने पोस्टहरू ती आइडीबाट भएको भन्दै आवश्यक कारबाही माग गर्दै राप्रपाले साइबर ब्युरोमा निवेदन दिएको हो।

साथै नेपाली टाइम्सले रूपन्देही २, झापा र अन्य क्षेत्रमा एमाले र राप्रपाको समझदारी भन्दै प्रचार गरेको र उक्त कुरा भ्रामक रहेको भन्दै राप्रपाले निर्वाचन आयोगलाई आचारसंहिताअनुसार आवश्यक कारबाही माग गर्दै निवेदन दिएको छ।

निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाएको छ ।

कोशीमा संग्रौलासँगै निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ ।

कोशीका संखुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेताहरु अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी खटिएका छन् ।

यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन् ।

यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ ।

यस्तै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ ।

भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएका छन् ।

यस्तै गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन ।

यस्तै स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल खटिएका छन् । यस्तै गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएका छन् ।

लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् ।

यस्तै कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य रहेका छन् ।

दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको कन्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना खटिएका छन् ।

कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा रणबहादुर रावल र नृपबहादुर वड खटिएका छन् ।

डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।

संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख

काठमाडौं- सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा माघ २८ गतेलाई साधारण तारेख तोकेको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो। तर,सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो।

यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको थियो। तर,सबै सम्बन्धित निकायबाट लिखित जवाफ आइनपुगेकाले सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जनभन्दा बढी रिट निवेदन दर्ता भएका छन्। अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश यसअघि नै जारी गरिसकेको छ। सो आदेशअनुसार अब संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुने भएको हो।

सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको माग गर्दै १७ वटा रिट निवेदन दर्ता छन्। रिटहरूमा संसद् विघटनको निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ। संसद् विघटनविरुद्ध प्रमुख राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस तथा  कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

खोज्नुहोस