कांग्रेस, एमाले र नेकपालाई रविको चुनौती : सुनामी रोकेर देखाऊ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूले जस्तोसुकै गठबन्धन बनाए पनि त्यससँग लड्न आफू र आफ्नो पार्टी तयार रहेको बताएका छन् । मंगलबार एक सन्देश जारी गर्दै सभापति लामिछानेले पुरानो संसद् फर्काउने चलखेल, दबाब र धम्की नस्विकार्ने स्पष्ट पारेका छन् ।
पछिल्ला दिनमा कांग्रेस, एमालेका नेताहरूले संसद् विघटन बदर गर्न दायर गरेको मुद्दा अगाडि बढाउन सर्वाेच्च अदालतलाई दबाब दिइरहेका वेला सभापति लामिछानेले जस्तोसुकै गठबन्धन बनाए पनि चुनावमा लड्ने, तर संसद् पुनस्र्थापना गर्ने षड्यन्त्र स्वीकार्य नहुने बताएका हुन् । ‘मेरो खुला आग्रह छ– अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मतपरिणाम स्विकार्छौँ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्विकार्दैनौँ ।’
लामिछानेले २१ फागुन कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने पनि बताए । गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा रहेको उनको भनाइ छ । ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन,’ उनले भनेका छन्, ‘यत्तिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही थान बिचौलियाहरूको मुट्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ ।’
खुट्टामा चोट लागेर आराममा रहेका लामिछाने मंगलबारबाट सार्वजनिक जीवनमा फर्किएका छन् । उनले अब नेपाली जनताले परिवर्तनको इतिहास सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने पनि उल्लेख गरेका छन् । ‘अपदस्त दुईतिहाइको सरकारले जबर्जस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरिका अदालतहरू धाउँदा–धाउँदा थाहा छैन, म देशका कति ठाउँमा पुग्न सक्छु, तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दै छु घण्टीमा भोट,’ उनले भनेका छन् ।
लामिछानेले दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न मत मागेको पनि उल्लेख गरेका छन् । ‘एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन । कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रस्ट म्यान्डेटविना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौँअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठुलो वृक्ष बनेको छ । यसपटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन,’ उनले भनेका छन् ।
