चुनावी तालमेल गर्न एमालेको अपिल
काठमाडौं । नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले आफ्ना मुख्य नेताहरू जोगाउन निश्चित क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति लिएको छ ।
केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् एमालेले चुनावी तालमेलका निम्ति दलहरुसँग सम्वाद भइरहेको जानकारी दिएको हो ।
‘कतिपय निर्वाचन क्षेत्रहरुमा हाम्रो सहकार्य हुन सक्छ र त्यो कुराहरु चलि पनि रहेको छ विभिन्न दलहरुसँग..,’ उपाध्यक्ष रामबहादुर थापा बादलले भने, ‘२१ गते भन्दा अगाडिसम्म सहकार्यका निम्ति सबै पक्षहरुसँग प्रयत्न जारी रहन्छ, र अन्तिम समयमा ती ठाउँहरुमा सहकार्य हुन सक्छ ।’
देश जनाउनेहरुका विरुद्ध दलहरुले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको तर्क उनले गरेका छन् । ‘देश जलाउनेहरुका विरुद्ध जाने राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ,’ बादलले भनेका छन्, ‘..निश्चित क्षेत्रहरुमा वीनवीनको नीति अनुसार सहकार्य हुन सक्छ ।’
उपाध्यक्ष बादललाई एमालेले निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । संयोजककै हैसियतमा चुनावी गतिविधिबारे जानकारी दिँदै बादलले मतदानको अन्तिम समयसम्म तालमेलबारे निर्णय हुन सक्ने बताएका हुन् ।
बादलले जानकारी दिनुअघि नै पार्टीको लेटरप्याडमै वक्तव्य जारी गरेर एमालेले तालमेलको प्रयासबारे जानकारी दिएको थियो ।
‘कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन सकेन,’ प्रचार संयोजक मीनबहादुर शाहीले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग सम्वाद र सहमति भइरहेका छन् ।’
अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि यस्तै तर्क गरेका थिए । उनका अनुसार अहिलेसम्म सहमति नजुटे पनि चुनावी तालमेलको सम्भावना टरिसकेको छैन ।
तर कहाँ–कहाँ कुन राजनीतिक दलसँग चुनावी तालमेल हुन्छ भन्ने चाहिँ उनीहरूले भनेका छैनन् ।
गगन थापाको नेतृत्वमा पुनगर्ठित नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने घोषणा गरिसकेको छ । पार्टी सभापति चयन भइरहँदा नै थापाले चुनाव अघि कसैसँग गठबन्धन नगर्ने र देशभरका कांग्रेसले रुख चिन्हमा मतदान गर्न पाउने व्यवस्था मिलाउने सार्वजनिक घोषणा गरेका थिए ।
थापाले कसैसँग कुनै किसिमको तालमेल संभव नरहेको प्रष्ट पारेका छन् । ‘म कांग्रेस सभापतिको हैसियतले स्पष्ट भन्दैछु– नो, नट एट अल ! कुनै पनि तहको नेताले कहिँ कतै त्यस्तो सम्झौता गरेको पाइएमा त्यो कारबाहीको विषय बन्छ । यो पटक १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्छ । कसको क्षेत्रमा के होला भनेर कसैले अलमलिनु पर्दैन,’ थापाले भनेका छन् ।
