विश्व बैंकले नेपाललाई १३ अर्ब ९७ कराेड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने

काठमाण्डाै – विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न ९ कराेड ५० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब ९७ कराेड रुपैयाँ बराबरको परियोजना स्वीकृत गरेको छ ।

अमेरिकाकाे वाशिङ्गटन डीसीमा रहेकाे बैंकको प्रधान कार्यालयले आज निकालेकाे विज्ञप्तिमा याे परियोजनाबाट १ लाखभन्दा धेरै साना तथा मझाैला उद्यम लाभान्वित हुने उल्लेख छ । साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन शुरू गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई सुदृढ बनाइने बैंकले जनाएकाे छ ।

माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले याे परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार, एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न सहयोग र निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान पुग्ने बताएका छन् ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डीपीसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो ।

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर – भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।

भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच वटा नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ ।

‘नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ’, जोशीले भने, ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखीकरणसमेत गराइएको छ ।’ उनले कोभिड–१९ को समयमा बनाइएका आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको बताए ।

भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन् ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए ।

महेन्द्रनगरमा रहेकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताए । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उनले बताए ।

 

नेप्सेमा १२.५८ अंकको गिरावट

काठमाडौँ- सेयर कारोबार नेप्से परिसूचक मंगलबार साढे १२ अंकले घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेर बन्द भएको नेप्से मंगलबार १२.५८  अंकले घटेको हो ।

सोमबारको तुलनामा ०.४६ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ६ सय ८३.१५ अंकमा ओर्लेको छ ।

कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्यो, १९० कम्पनीको मूल्य घट्यो । र बाँकी ३ कम्पनीको स्थिर रहयो ।

मंगलबार कुल ९२ हजार ३ सय ३८ पटकको सेयर किनबेचमा १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार सेयर बजारमा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

नेपालमा जलपन्छीको सङ्ख्या घट्दो

कञ्चनपुर । देशभर यस वर्ष गरिएको जलपन्छी गणना (एसियन वाटरबर्ड सेन्सस २०२६) मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङघको संयुक्त प्रयासमा सार्वजनिक गरिएको नतिजाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेखीकरण गरिएको छ ।

गत वर्ष सन् २०२५ को गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए । गत वर्षको तुलनामा यस वर्ष प्रजातिमा पाँच र सङ्ख्यामा पाँच हजार ८७७ ले कमी आएको छ ।

विभागका वरिष्ठ पारिस्थितिकविद् एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार सन् १९८७ देखि ‘वेटल्याण्ड्स इन्टरनेशनल’ को विश्वव्यापी समन्वयमा नेपालमा निरन्तर जलपन्छी गणना हुँदै आएको छ ।

यस वर्षको गणना गत जनवरी ३ देखि १८ (पुस १९ देखि माघ ५ गते) सम्म सञ्चालन गरिएको थियो । जसको नतिजा विश्व सिमसार दिवस (फेब्रुअरी २) को अवसरमा आज सार्वजनिक गरिएको हो ।

यस वर्षको गणनाका लागि देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सोअन्तर्गतका ७८ वटा उप–क्षेत्रहरूमा ४११ स्वयंसेवक गणक, पंक्षीविद् र कर्मचारीहरू परिचालन गरिएका थिए ।

तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र वरपर सबैभन्दा बढी २५ हजार ३५८ जलपन्छी फेला परेका छन्, यद्यपि यो सङ्ख्या गत वर्षको २७ हजार ५६४ भन्दा कम हो ।

दोस्रो स्थानमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चराको सङ्ख्या बढेर २२ हजार ८१७ पुगेको छ । गत वर्ष निकुञ्जका ताल तलैया तथा सिमसार क्षेत्रमा २० हजार ४८६ जलपन्छी देखा परेका थिए । जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ चरा भेटिएका छन् । गत वर्ष १२ हजार ८३२ जलपन्छी देखा परेका थिए ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्यामा भारी गिरावट आएको छ । गत वर्ष १० हजार १८५ चरा भेटिएको उक्त क्षेत्रमा यस वर्ष पाँच हजार ८९० मात्र अभिलेख गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको रारा तालमा यस वर्ष २५३ जलपन्छीको अभिलेख गरिएको छ । सोही तालमा गत वर्ष भने ५०२ जलपन्छी फेला परेका थिए ।

त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पनि चराको सङ्ख्या एक हजार ६७८ बाट घटेर ५३६ मा खुम्चिएको छ । बर्जुतालमा यस वर्ष चार हजार ५२ जलपन्छी देखा परेका छन् भने गत वर्षको गणनामा छ हजार २३८ जलपन्छी देखा परेका थिए ।

अर्कोतर्फ, धनुषाधाम र कमला नदी क्षेत्रमा यस वर्ष दुई हजार ५१, हेटौँडाका ताल तलैया र नदीमा २३७, लुम्बिनी क्षेत्रमा चार हजार २०९, राप्ती नदी (दाङ)मा एक हजार १९४, घोडाघोडी ताल (कैलाली)मा एक हजार १५० नाखोडी ताल कैलालीमा ३१४ र पोखरा उपत्यकाका सिमसारहरूमा तीन हजार ७६४ चरा फेला परेका छन् ।

ती क्षेत्रमा विगतको वर्ष भन्दा चराको सङ्ख्यामा केही सुधार देखिएको नेपाल पन्छीविद् सङघका वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौडयालले बताए । यसैगरी उनका अनुसार पुरैनी र बन्धा ताल बेलौरी कञ्चनपुरमा यस वर्ष दुई हजार ३५२ जलपन्छी फेला परेका छन भने गत वर्षको गणनामा ती दुवै तालमा एक हजार ३४९ जलपन्छी फेला परेका थिए ।

काठमाडौँको मनहराफाँटमा ३७९ चरा भेटिएका छन् भने टौदह र बागमती क्षेत्रमा सङ्ख्या घटेर १६४ पुगेको छ । जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ जलपन्छी भेटिएका छन भने गत वर्ष १२ हजार ८३२ जलपन्छी देखा परेका थिए ।

टौदह र बागमती नदी काठमाडौँमा यस वर्ष १६४ जलपन्छी फेला परेका छन् । सो क्षेत्रमा गत वर्ष २०४ जलपन्छी अभिलेख गरिएका थिए ।

“सिमसारमा आश्रित चराहरूको अवस्था बुझ्न, संरक्षणका लागि जनचेतना जगाउन र नीति निर्माणमा सहयोग पुर्याउन यो गणना गरिएको हो”, वरिष्ठ चरा तथा वन्यजन्तुविद् पौडयालले भने ।

सुदूरपश्चिममा निर्वाचन सुरक्षा : चार जिल्ला संवेदनशील

धनगढी । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा भएका निर्वाचनको समयमा भएका घटनालाई अध्ययन विश्लेषण गरेर यी चार जिल्लालाई संवेदनशीलको सूचीमा राखी सोही बमोजिकको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको जानकारी दिए ।

उनले भने, ‘विगतका निर्वाचनका बेला भएका अवाञ्छित घटनालाई अध्ययन गरेर यी चार जिल्लालाई संवेदनशील जिल्ला देखिएको विश्लेषण गरेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेका छौँ, निर्वाचन बिथोल्न सक्ने तत्वलाई निगरानीमा राखेर सुरक्षाको आवश्यक तयारी पनि गरिरहेका छौँ ।’

हिमाली भेक र भौगोलिक रुपमा विकट क्षेत्रका मतदानस्थलबाट मतपेटिका सदरमुकामसम्म ढुवानी गर्नका लागि हेलिकप्टरको व्यवस्थापन गर्न लागिएको छ । निर्वाचनको दिन हिमाली क्षेत्रमा हुनसक्ने हिमपातको जोखिमलाई मध्यनजर गरेर सम्बन्धित क्षेत्रका मतदाताले मतदान गर्न पाउने व्यवस्थाको विकल्प सोच्ने बारेमा पनि तयारी भइरहेको छ ।

दार्चुलाको उत्तरी क्षेत्र तिङ्कर र छाङरुङका बासिन्दा हिउँदेयाममा गाउँ छाडेर सदरमुकाम नजिकको तिङ्करखेडा भन्ने ठाउँमा बस्ने भएकाले उनीहरुका लागि सदरमुकाममै मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।

बाजुराको हिमाली भोगका तीन पालिकाका कतिपय परिवार हिँउदेयाममा घरमा पालिएका चौपायासहित विभिन्न जिल्लामा बसाइँसराइ गर्ने गरेकाले उनीहरु निर्वाचनको दिनसम्म गाउँमा फर्किने वा नफर्किने भन्नेमा यकिन हुन सकेको छैन ।

प्रहरी प्रवक्ता विष्टले भने, ‘जाडोयाममा केही महिनाका लागि अन्य जिल्लामा पुगेर बस्नेहरु समान्यतया चैतमा मात्रै गाउँ फर्किने गरेको देखिन्छ, यस्तो अवस्थामा मतदानको दिनसम्म गाउँ नफर्किएमा उनीहरुलाई मतदान गर्न पाउने व्यवस्था कसरी गर्ने भन्नेमा छलफल चलिरहेको छ ।’

निर्वाचनको सुरक्षा व्यवस्थापनलाई चुस्त एवं सुदृढ पार्न सवारीसाधन नभएका प्रहरी कार्यालयमा सवारीसाधनसहितको व्यवस्था गर्न लागिएको छ । निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा व्यवस्थापनका अतिरिक्त बाजुरा, अछाम र डोटीलाई हेर्ने गरी वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गर्ने तयारी छ ।

यस्तै वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा दार्चुला, बैतडी र कञ्चनपुरका लागि छुट्टै तथा बझाङ, कैलाली र डडेलधुराका लागि छुट्टै टोली पनि परिचालन गर्ने तयारी गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभरि सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी परिचालन गर्न लागिएको छ । यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ–आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेका छन् ।

निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका ३०२ मतदानस्थललाई समान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ ।

प्रदेशका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन् । विसं २०७८ को जनगणनाअनुसार प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ छ । कुल मतदाता १७ लाख १६ बढी छन् ।

थपिएका मतदातासहित कैलालीमा सबैभन्दा बढी पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ र अछाममा एक लाख ६५ हजार ३३७ मतदाता पुगेका छन् । प्रतिनिधिसभाका कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई निर्वाचन क्षेत्र छन् ।

एक निर्वाचन क्षेत्र रहेको डडेलधुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरमा ८७ हजार ८६१ मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

तीन वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस आठ, तत्कालीन नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा (एमाले) दुई, तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन निर्वाचन क्षेत्रमा विजयी भएको थियो । जेनजी आन्दोलनपछिको नयाँ राजनैतिक परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन विसंं २०८२ फागुन २१ गते हुन लागेको छ ।

नेपालमा पहिलोपटक चितवनमा सालक सम्मेलन हुने

काठमाण्डौ- नेपालमा पहिलोपटक चितवनको माडीमा सालक सम्मेलन हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा आउँदो माघ २६ गते माडी नगरपालिका–६ मा सम्मेलन हुन लागेको हो ।

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा बागमती प्रदेशभित्रका १३ वटा डिभिजन वन कार्यालयका प्रमुखहरुको सहभागिता हुनेछ । यसबाहेक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि, विज्ञलगायत संरक्षणकर्मीको उपस्थिति रहनेछ ।

प्रायः जमिनमुनि बस्ने सालक सङ्कटमा परेको छ । किसानको साथीका रूपमा रहेको सालकले धमिरा र कमिलाबाहेक अरू नखाने हुँदा अन्नबालीमा नोक्सान गर्दैन । माटो खोस्रेर नरम बनाउँछ । त्यसैले सालकको संरक्षण गर्नुपर्छ भनेर सन्देश फैलाउन सालक सम्मेलन आयोजना गरिएको आचार्यले बताए ।

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिनेछ । छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गरी सम्मेलन सम्पन्न हुनेछ ।

 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाण्डौ- मौसम आंशिक बदली भएको छ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज मध्यम हिमपात र छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिएका छन ।

लुम्बिनी, बागमती र कोशी प्रदेशका पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ  । सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन उनको आग्रह छ । साथै बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ ।

आज दिउँसो पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आजराति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराइका क्षेत्रमा मौसम सफा रहने अनुमान छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मध्यम हिमपात र हल्का वर्षाको सम्भावना छ । चिसो बढ्न सक्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई सेवामा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसअघि माघ ९ र १० तथा १३ र १४ गते पनि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिमपात र छिटपुट वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको थियो ।

 

जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक

काठमाण्डौ- नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक गरिएको छ । कृषि क्षेत्र, विगतको मौसम र यससँग सम्बन्धित तथ्याङ्कलाई समेटेर तयार पारिएको डिजिटल नक्सा सार्वजनिक गरिएको हो ।

काठमाण्डौमा हिजो भएको कार्यक्रममा नक्सा सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो डिजिटल नक्सा नेपालको कृषि क्षेत्रका लागि उपयोगि हुने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्ष देखिएको जलवायु परिवर्तन, यसको प्रभाव तथा जोखिमबाट कृषि क्षेत्रलाई जोगाउन अवलम्बन गर्न सकिने उपायहरुबारे नक्सा उपयोगी हुने बताए।

कार्यक्रममा बोर्लाग इन्स्टिट्यूट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तन र जोखिम विश्वव्यापी समस्या रहेको र वर्तमान अवस्थामा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काका वैज्ञानिकको सक्रियतामा तयार गरिएको डिजिटल नक्सा एक नयाँ प्रयास भएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले नेपालका लागि डिजिटल नक्सा कृषि बाली र पशुपन्छीको क्षेत्रमा अबका दिनमा आवश्यक नीति निर्माणमा सहयोग गर्ने र जलवायु मैत्री प्रविधि अपनाउन महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।

कार्यक्रम आयोजक राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलले नक्साले जलवायु अनुकूलनका योजना तर्जुमा, वित्तीय संस्थाहरूमार्फत् जोखिम विश्लेषणमा आधारित ऋण प्रवाह, शिक्षा क्षेत्रमा अध्ययन र संस्थाहरूले मुख्य लाभ लिन सक्ने बताए ।

नक्साको सञ्चालन र उपयोगबारे नार्कका वैज्ञानिक डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले प्रस्तुति दिएका थिए । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार यो नक्सा डिजिटल नेपालको राष्ट्रिय उद्देश्य पूरा गर्न महत्त्वपूर्ण कदम रहेको र माटोको डिजिटल नक्सापछि नार्कले यो क्षेत्रमा गरेको अर्को उपलब्धिका रूपमा रहेको छ ।

कार्यक्रममा विभिन्न संघीय, प्रादेशिक र पालिकाका कृषि र पशु कार्यालयका प्रमुखसहित विज्ञ तथा वैज्ञानिकहरूको उपस्थिति थियो । नक्साले मुख्य ८ वटा कृषि बाली र ५ वटा पशुपन्छीलाई समेटेको छ । यसले ठाउँ विशेष र समय अनुसारको उपयुक्त प्रविधि अपनाउन सहयोग पुग्ने अपेक्षा छ । नक्साबारे थप जानकारी लिन https://aana.narc.gov.np/ मा क्लिक गर्न सकिन्छ ।

 

टी–२० विश्वकप : आज नेपाली राष्ट्रिय टोली र युएईबीचको अभ्यास खेल हुने

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेलमा युएईसँग खेल्दैछ । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ ।

यस्तै नेपालले अर्को अभ्यास खेलमा पर्सि बिहिवार क्यानडासँग खेल्नेछ । विश्वकपका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

यसअघि नेपालले श्रीलङ्कमा श्रीलङ्क ‘ए’ र भारतमा एमसीए प्रेसिडेन्ट–इलाभेनसँग समान ३ वटा अभ्यास खेल खेलेको थियो । नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल रहेको समूह ‘सी’मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् ।

नेपालले यही माघ २५ गते आइतवार इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ । टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ ।

 

कञ्चनपुरबाट चार जेनजी उम्मेदवार मैदानमा

कञ्चनपुर- प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट जेनजी उमेर समूहका चार जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि जेनजी समूहबाट दुई स्वतन्त्र तथा दुई जना पार्टीबाट उम्मेदवार बनेका छन् ।

तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरको क्षेत्र नम्बर १ बाट मात्रै जेनजी उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन क्षेत्र–१ का निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार, चार जना जेनजीले उम्मेदवारी दिएका हुन् ।

जसमध्ये मितेरी पार्टी नेपालबाट २७ वर्षीय सियाराम राना उम्मेदवार छन् । लालझाँडी गाउँपालिका–३ का राना जेनजी समूहबाट आगामी निर्वाचनमा होमिएका हुन् । जेनजी युवाहरू पछाडि परेको र उनीहरूको मागलाई संसदमा उठाउन आफुले उम्मेदवारी दिएको उनले बताए । जेनजी युवाहरूको साथ र सहयोगले आगामी निर्वाचनमा होमिएको उनी बताउछन्  ।

त्यसैगरी, संयुक्त नागरिक पार्टीबाट २७ वर्षीय दानियल विश्वकर्मा उम्मेदवार बनेका छन् । कैलालीको गोदावरी नगरपालिका ३ घर भएका जेनजी समूहका विश्वकर्मा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् ।

त्यसैगरी, पूनर्वास नगरपालिका–१ का २७ वर्षीय यादव सिंह आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार छन् । जेनजी समूहका उनी पहिलो पटक निर्वाचनमा होमिएका हुन् । जेनजी उम्मेदवार सिह विगत एक सातादेखि पैदल यात्रा गरिरहेका छन् ।

यहाँका जनताका समस्याहरू झोलामा बोकेर पूनर्वास, बेलौरी हुँदै बेलडाँडी सम्मको हुलाकी सडकमा पैदल यात्रा गरेको उनले बताए । क्षेत्र–१ का जनताको आगामी भविष्य निर्धारण गर्ने सङ्कल्पका साथ चुनावमा होमिएको बताउँदै उनले यस क्षेत्रका मतदाताको सकारात्मक प्रतिक्रियाका कारण मनोबल बढ्दै गएको उनी बताउछन् ।

त्यस्तै, शुक्लाफाँटा नगरपालिका–४ असैनाका २७ वर्षीय अनिल राना पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । जेनजी समूहका उम्मेदवार रानाले जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेको बताए।

राना थारुको बाहुल्य समुदायको क्षेत्र भएकाले यहाँको सीमा विवाद, लागुऔषधको रोकथाम, जेनजीको सुशासन र पार्दशीता कायम गराउन, शिक्षा स्वास्थ्यमा आमूल परिवर्तन लगायत, युवाहरूको स्वरोजगारका विषयलाई प्राथमिकता लगायतका एजेन्डा बोकेर उहाँ चुनावी मैदानमा होमिएका छन् ।

तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा ६० वर्ष माथिका भने सात जना चुनावी मैदानमा होमिएका छन् । कञ्चनपुर क्षेत्र–१ मा नेपाल किसान मजदुर पार्टीबाट ६५ वर्षीय कटक बहादुर साही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६४ वर्षीय दिल्ली बहादुर साही उम्मेदवार छन् ।

क्षेत्र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७१ वर्षीय तीर्थ राज चटौत र नेपाल मजदुर किसान पार्टीबाट ६० वर्षीय सिताराम राना उम्मेदवार बनेका छन् । त्यसैगरी, क्षेत्र ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट ७० वर्षीय मानबहादुर सुनार, श्रम संस्कृति पार्टीबाट ६७ वर्षीय गङ्गादत्त जोशी र नेपाल मजदुर किसान पार्टीबाट ६४ वर्षीय मीनु गिरी उम्मेदवार छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा जेनजी समूहका तथा ६० वर्षमाथिका उम्मेदवारहरू चुनावी मैदानमा होमिएपछि कञ्चनपुरमा रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।  तीन वटै निर्वाचन क्षेत्रमा तीन जना प्रतिनिधि सभा सदस्यका लागि ५५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ मतदाता छन् ।

बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा ।  पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध बाजुराका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार  ७८१ र विद्यालय बाहिर रहेका २५ गरी एक हजार ८०६ जना किशोरीलाई उक्त खोप दिइने जानकारी दिनुभयो । विद्यालय बाहिर  बुढीगङ्गामा १६, बडीमालिकामा छ र त्रिवेणी नगरपालिकामा एक गरी २५ किशोरी रहेका छन् ।

गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो । यो वर्ष नियमित खोपअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी र विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिने छभने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ । खोप अभियान गौमुल गाउँपालिका तथा बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा माघ २७ गते, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा माघ २८ देखि तथा हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि सञ्चालन हुने निमित्त प्रमुख खड्काले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको हो । गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले पाठेघरको क्यान्सरविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  रासस

 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको छ ।

सोमबार एक तोला छापावाल सुन रु दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी रु पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साफ यू-१९ महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

काठमाण्डौ- साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई हराएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो ।

पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बङ्गलादेशसँग १२ गोलको फराकिलो अन्तरले हारेको थियो । आज भएको पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हराएको हो ।

यस्तै प्रतियोगितामा बङ्गलादेशले लगातार दुई खेल जितेको छ । सबै टोलीले २ खेल खेलेका छन् । लगातार दुई खेलमा जीत निकालेको बङ्गलादेश ६ अङ्कसहित शीर्ष, समान खेलमा ३ अङ्कसहित नेपाल दोश्रो, ३ अङ्कसहित भारत दोश्रो र अङ्कविहिन हुँदै भूटान अङ्क तालिकाको पुछारमा छ ।

अब नेपालले समूह चरणको आफ्नो अन्तिम तथा तेश्रो खेलमा पर्सि बुधवार बङ्गलादेशसँग खेल्दैछ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

 

अयोगले बालेन लाई फेरि सोध्यो स्पष्टीकरण

काठमाण्डौ- निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । अस्ति शनिवारसम्म २१ वटा स्पष्टीकरण सोधेको आयोगले हिजो र आज थप नौ वटा स्पष्टीकरण माग गरेको हो ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापाको निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

शाहको चुनाव प्रचारप्रसारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

यस्तै आयोगले बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापा, सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटा लगायतलाई स्पष्टीरण सोधेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको छ ।

 

लोकतन्त्र स्थायित्वका लागि निर्वाचन र सहभागिता कार्यक्रम

यशोदा शर्मा ।
कैलाली । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भन्ने मूल उद्देश्यका साथ सुदूरपश्चिममा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र  नेपाल मानव अधिकार सङ्गठनको संयुक्त आयोजनामा धनगढीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नागरिक तहबाट परिवेक्षण भइरहेकोे इन्सेकका सूचना अधिकृत कृष्ण गौतम बताए । कार्यक्रममा निर्वाचन आचारसंहिताबारे जानकारी दिँदै प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले मताधिकार प्रयोग गरी प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न आग्रह गरे ।
निर्वाचनका लागि प्रदेश भरी १५ हजार जनशक्ति खटाउने तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडाहरूमा स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरूले निर्वाचन आयोगले लागू गरेको आचारसंहिता पालना गर्न आफूहरू प्रतिबद्ध रहेको भट्टको भनाइ छ ।
यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनका लागि अपनाउनुपर्ने शान्ति सुरक्षाको पूर्ण तयारी भइसकेका जनाए । उनले शान्ति सुरक्षा र आचारसंहिताको पालनाका लागि दलहरूले लिखित प्रतिवेदनमा हस्ताक्षर गर्नुपर्ने बताए । ‘निर्वाचन आचारसंहिताको पालनाका विषयमा दलहरूले मौखिक प्रतिबद्धता गरेर मात्र भएन  । यससम्बन्धी लिखत प्रतिवेदन मै सबै दलहरूले हस्ताक्षर गरे निर्वाचन भयरहित र स्वच्छ वातावरणमा हुन्छ,’ उनले भने ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले निर्वाचन सम्पन्न गर्न आचारसंहिता अनिवार्य रहेको र मतदाता शिक्षालाई बढी जोड दिनु पर्ने बताए ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं- सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेको हो। यसदिन ३३० स्क्रिप्सको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ३२९ स्क्रिप्सको २ करोड २० लाख ६० हजार  ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख  ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेच, हिमस्टार ऊर्जा, बन्दिपुर र सानभी ईनर्जीको सेयर सकिर्ट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४१ करोड ४९ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो।

५ वटा समूहको उपसूचक बढ्दा ८ वटा समूहको भने घटेको छ।

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

काठमाडाैँ- राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् ।

सभाको सोमबारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

महेन्द्रनगर: पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि शुक्रबार बिहान बेदकोट नगरपालिका–८ मा रहेको आफ्नो पुर्खौली घर पुगे।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले उनको पुर्खौली घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका नेपाली कांग्रेसका नेता लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए।

काठमाडौँको नैकापमा रहेको घर र बेदकोट–८ स्थित पुर्खौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। हाल महेन्द्रनगरस्थित बजार क्षेत्रमा रहेको घर मर्मत गरी उनी त्यहीँ बसोबास गरिरहेका छन्।

पुर्खौली घर पुगेपछि लेखकले पहिलो पटक स्थानीयवासीसँग भेटघाट गरे। भेटघाटका क्रममा स्थानीयले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका विषयमा जानकारी गराए। कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट २०७९ सालको निर्वाचन जितेर गृहमन्त्री बनेका लेखक यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छैनन्।

नेपाली कांग्रेसले यसपटक डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट नदिएपछि पार्टीले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ। सोही कारण नेता लेखकले पार्टी उम्मेदवारको पक्षमा चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।

सर्वोच्चको आदेशपछि शरद ओझा बीमा प्राधिकरणमा फर्किन नपाउने

धनगढी: बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा तत्काल प्राधिकरणमा फर्किन नपाउने भएका छन्। तत्कालीन सरकारले गरेको बर्खास्ती निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका ओझाको पक्षमा फैसला नआएसँगै उनको पुनर्बहालीको बाटो बन्द भएको हो।

आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यसअघि जारी गरिएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ। यससँगै ओझाको प्राधिकरणमा पुनः फर्किने सम्भावना समाप्त भएको छ। सर्वोच्चले भदौ २३ गते बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको थियो।

अदालतले सरकारले बीमा ऐनअनुसार छानबिन समिति गठन गरेको र उक्त समितिले निवेदक ओझालाई सुनुवाइको अवसरसमेत प्रदान गरेको अवस्थामा बर्खास्ती प्रक्रिया कानुनी रहेको ठहर गरेको छ। यही आधारमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको हो।

यस निर्णयसँगै बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। यद्यपि निर्वाचन आचारसंहिता लागू भइसकेकाले तत्काल नयाँ अध्यक्ष नियुक्ति हुने अवस्था भने देखिँदैन।

यसैबीच सरकारले केही दिनअघि अर्को सूचना जारी नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई तोकेको छ।

यसअघि सर्वोच्चबाट अन्तरकालीन आदेश प्राप्त भएपछि ओझा प्राधिकरणमा हाजिर हुन पुगेका थिए। तर अर्थ मन्त्रालयको निर्देशनपछि उनलाई पुनः जिम्मेवारी सम्हाल्न दिइएको थिएन।

कुलमान, महावीर, जगदीश र बब्लुलाई मन्त्रिपरिषद्मा ल्याउन जेन-जीको दबाब थियो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीबाट राजीनामा गरेर निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मन्त्री बनाउनका लागि जेन-जीका अगुवाहरूले दबाब दिएको बताएकी छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार गठनका बेला जेन-जीका अगुवाहरूले केही व्यक्तिलाई मन्त्री बनाउनैपर्ने भनी दबाब दिएको र नियुक्ति गर्नुपर्ने अवस्था आएको बताएकी हुन् । ‘यहाँहरूलाई थाहा होला कि भदौ २७ गते शपथग्रहण गरेपछि मन्त्रिपरिषद् गठन भएन । हामी राजनीतिक दलको मान्छे होइन । हामीले बाहिरबाट खोज्नुपर्ने अवस्था आयो अन्तरिम सरकारको लागि । हामीलाई जेन-जीको ठूलो प्रेसर थियो । जेनजीको मान्छेहरू ल्याउ मन्त्रीमा भनेर आयो । त्यसमा महावीर पुन, कुलमान घिसिङको नाम आयो । हामीले मान्नुपर्ने अवस्था थियो । धेरैको नाम आयो । त्यसमध्येको केहीलाई मन्त्रिपरिषद्मा ल्यायौं,’ कार्कीले भनिन्, ‘तत् तत् व्यक्तिहरूले आउन मान्नुभएको थिएन मन्त्रिपरिषद्मा । जेनजीको प्रेसर के थियो भने यिनीहरूले तिमीहरूले लिनैपर्छ । कुलमानलाई लिनैपर्छ, पुनलाई लिनैपर्छ सञ्चारमन्त्री तिनीहरूलाई पनि लिनैपर्छ भन्ने थियो ।’

आफूले हातै जोडेर उनीहरूलाई सरकारमा ल्याएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । बब्लु गुप्तालाई पनि सरकारमा ल्याउनका लागि जेनजीले दबाब दिएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘पुनलाई अंगालो हालेर सुधन गुरुङले किताब बेच्दाबेच्दै सडकबाट ल्याएर आयो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सरकारमा सहभागी गराउने बेला नै कुलमान घिसिङलगायतलाई चुनावमा जान दिने भनेकी पनि प्रधानमन्त्रीले स्मरण गरिन् । ‘जेन-जीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भन्ने,’ उनले भनिन् ।

शिक्षामन्त्रीबाट राजीनामा दिएका पुन रिसाएर हिँडेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । ‘पुन त रिसाएर हिँड्नुभएको हो । दुई-चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर हामीले यो छोटो समयमा कानुन बनाएर सहयोग गर्न उहाँलाई सकेनौं । मुलुककै लागि थियो तर उहाँलाई सहयोग गर्न सकेनौं अनेक परिस्थिति हुन्छ,’ उनले भनिन् ।

छोरी जन्माउने अभिभावकलाई बेल्डाँडी गाउँपालिकाको तीन हजार प्रोत्साहन भत्ता

कञ्चनपुर- बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ ।

गाउँपालिकाले लैंगिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई तीन हजार रुपैयाँका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।

गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पछिल्लो समय लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन्। ‘आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे हो,’ उपाध्यक्ष नाथले भनिन्, ‘हालसम्म ३५३ आमाले छोरी जन्माएवापत प्रोत्साहन भत्ता पाएका छन् ।’

उनका अनुसार चालु आर्थिक वर्षमा ४० आमालाई छोरी जन्माएवाफत प्रतिव्यक्ति तीन हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ ।

प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ । त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप ५ सय रुपैयाँ दिँदै आएको थियो । ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमबाट पालिकामा गर्भपतिलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने जिल्ला सदरमुकाम वा बाहिर रेफर हुँदा एम्बुलेन्समा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

उनले ३५ वर्ष नाघेका अविवाहित महिलालाई एकल महिला स्वरह मासिक २ हजार ५०० भत्ता दिने गरेको बताइन् । ‘पालिकाभित्र रहेका तेस्रो लिंगीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘टुहुरा बालबालिकालाई पोसाक भत्ता दिने कार्यविधि बनाएर कार्यान्वयन चरणमा छ ।’  -रासस

डडेल्धुरामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य

डडेल्धुरा- यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य छ ।

जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा १३ जना उम्मेदवार पुरुष मात्र छन् । जिल्लामा दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार अघि सारेका छैनन् । कांग्रेसले समानुपातिक तर्फ एक जनालाई सूचीमा समेटे पनि प्रत्यक्षमा कुनै दलले उम्मेदवार बनाएका छैनन् । महिला तर्फ कांग्रेसले हरिना कामीलाई समानुपातिक तर्फ उम्मेदवार बनाएको छ ।

महिलालाई प्रत्यक्ष तर्फ प्रतिस्पर्धामाअघि सार्न दलहरू अझै हिच्किचाइरहेको महिला अधिकारकर्मी पद्मा गुरुङले बताइन् । उनका अनुसार राजनीतिक दलभित्र महिलालाई नेतृत्वको रुपमा हेर्ने दृष्टिकोण कमजोर छ । ‘महिलाहरु नेतृत्व गर्न सक्दैनन् भन्ने राजनीतिक दलमा मान्यता छ, दलहरुले महिला नेतृत्व स्वीकार्न सकेका छैनन्,’ उनले भनिन्, ‘जसले गर्दाखेरी राजनीतिक रुपमा अगाडि बढ्न सकेका छैनन् ।’

महिला अधिकारकर्मी अञ्जु गैरे दलले संवैधानिक व्यवस्थालाई कागजी औपचारिकतामा सीमित गरेको गुनासो गरिन् । ‘संविधानले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत महिला प्रतिनिधित्व सुनिश्चित गर्न भनेको छ,’ उनले भनिन्, ‘तर दलहरु सजिलो बाटो रोज्दै महिलालाई समानुपातिक तर्फको सूचीमा राख्दैमा दायित्व पूरा गरेको ठान्छन् ।’ महिलालाई राजनीतिक दलले विश्वास नै नगरेको उनले आरोप लगाइन् । उनका अनुसार चुनावी प्रचारमा माक्रै महिला खटिएका देखिन्छन् ।

अधिवत्ता आरती जोशीले महिलालाई प्रत्यक्ष निर्वाचनमा ‘कम जित्ने उम्मेदवार’ का रूपमा हेर्ने पितृसत्तात्मक मानसिकताका कारण टिकट पाउन नसकिरहेको बताइन् । राजनीतिमा निर्णय गर्ने तहमा पुरुष हाबी हुँदा महिलाको क्षमता र नेतृत्वमाथि विश्वास नगरिएको उनको भनाइ छ । महिलाहरु आफै पनि सशक्त भएको महशुष नगर्ने भएकाले मुख्य प्रतिस्पर्धाबाट बाहिर रहनुपरेको उनले बताइन् ।

जिल्लामा कांग्रेसबाट नैनसिंह महर, एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मानसिंह माल, रास्वपाबाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, जय मातृभुमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगर, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्र उम्मेदवारहरु सुरेन्द्र रावल, गोरखबहादुर ऐर र तीर्थराज उप्रेती चुनावी मैदानमा रहेका छन् ।

राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज र त्रिभुवन आर्मी विजयी

काठमाण्डाै- राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले काँक्रेबिहारलाई ३–० गोलले हरायो । प्लानिङ ब्वाइजका सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरे ।

यो जीतसँगै प्लानिङ ब्वाइज ५ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । लगातार ५ हार बेहोरको काँक्रेबिहानर पुछारमा छ ।

यस्तै काठमाण्डौको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले श्रीभगवती युवा क्लबलाई ३–१ गोलले हरायो । आर्मीका नवयुग श्रेष्ठले २ र जिलेस्पीजङ्ग कार्कीले १ गोल गरे । श्रीभगवतीका अजित लामाले गोल गरे ।

यो जीतसँगै आर्मी ५ खेलमा ११ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको श्रीभगवती ५ खेलमा ४ अङ्कसहित ११औँ स्थानमा छ ।

सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश

काठमाण्डाै- सर्वोच्च अदालतले सङ्घ, प्रदेश र पालिकामा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ गते भएको फैसलाको सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो ।

पूर्णपाठमा भनिएको छ, ‘सङ्घ, प्रदेश तथा पालिका र तीन वटै तहअन्तर्गतका निकायबाट नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हकको व्यवस्था, मर्म र भावनालाई पूर्णरूपमा व्यवहारमा रूपान्तरण गर्नका लागि नियमित र निरन्तर सक्रियता र क्रियाशीलता अपनाउनू ।’

रौतहटकाे फतुवा विजयपुर नगरपालिकाका खजान्ती महतो नुनियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई सामाजिक न्यायको हक कार्यान्वयन गराउन आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४२ को सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, आपाङ्ता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ भनिएको छ ।

यस्तै आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनी व्यवस्था गरिएको छ । अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने र अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ ।

‘प्रत्येक किसानलाई कानूनबमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउबिजन र कृषि प्रजातिको छनोट र संरक्षणको हक हुनेछ’, धारा ४२ को उपधारामा भनिएको छ, ‘नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवम् उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानूनबमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ ।’

प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ः१५ बजे उनले बैठकलाई सम्बोधान गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन जेनजी आन्दोलनकोक्रममा भदौ २४ गते जलेपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्दै आएको छ ।

त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी घुससहित पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। अख्तियारले उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका अन्य कर्मचारीहरूमा सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखाका नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, न्यौपानेसहित कर्मचारीहरूले सेवाग्राहीबाट घुस लिएका र स्रोत खुलाउन नसकिएको रकम बरामद गरिएको हो।

उजुरीका आधारमा अख्तियारले टोली खटाएको थियो। कार्यालय सहयोगी पुडासैनीको कार्यकक्ष तथा घरबाट करिब १ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ भने नासु रिजालको साथबाट ३८ हजार ८४८ रुपैयाँ बरामद भएको छ। अख्तियारका अनुसार, न्यौपाने, रिजाल र पुडासैनीको मिलेमतोमा घुस लिइएको र बाँडफाँट हुनुअघि नियन्त्रणमा लिइएको हो।

अख्तियारले बरामद गरिएका २३ थान मोबाइल भने विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ। यस घटनाले विमानस्थलमा घुस र भ्रष्टाचार रोकथाम आवश्यक रहेको प्रमाणित गरेको छ।

 

सुदूरपश्चिममा चुनावका लागि जनशक्ति व्यवस्थापनको तयारी

धनगढीः आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि अन्य व्यवस्थापनका साथै जनशक्ति व्यवस्थापनको काम पनि आफूहरूले अगाडि बढाएको बताए। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि प्रदेशभरि १५ हजार ३९३ जनशक्ति खटाइने छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा ८८२, क्षेत्र नं. २ मा ८६८, क्षेत्र नं. ३ मा ८८९, क्षेत्र नं. ४ मा ९५२ र क्षेत्र नं. ५ मा ८९६ जना कर्मचारी आवश्यक पर्ने जनाइएको छ। यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ८५४, क्षेत्र नं. २ मा ८६१ र क्षेत्र नं. ३ मा ८०५ अछामको क्षेत्र नं. १ मा ७३५, क्षेत्र नं. २ मा ७५६ जना कर्मचारी आवश्यक पर्ने भट्टले जानकारी दिए। यसै गरी डोटीमा एक हजार २६०, बाजुरामा ८२६, बझाङमा एक हजार ३२३, बैतडीमा एक हजार ४९८, दार्चुलामा एक हजार एक र डडेलधुरामा ९८७ जनशक्ति आवश्यक पर्ने जनाइएको छ। निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना छनोट कार्य पूरा भइसकेको छ।

निर्वाचन प्रहरीको तालिम पनि सुरु गरिएको छ। निकट भविष्यमै मतदाता शिक्षा कार्यक्रम पनि अगाडि बढाउने उनले बताए। मतदान स्थल व्यवस्थापन र मतदान केन्द्रको तयारी भने पछि हुुने जनाइएको छ। सुदूरपश्चिम प्रदेशभरि एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन्। कैलालीमा २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ। कञ्चनपुरमा १२२ मतदान स्थल र ३६० वटा मतदान केन्द्र रहेका छन्।

यस्तै अछाममा १३० मतदान स्थल र २१३ मतदान केन्द्र निर्धारण गरिएको छ। यसै गरी डोटीमा ११८ मतदान स्थल र १८० मतदान केन्द्र, बाजुरामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र, बझाङमा १३७ मतदान स्थल र १८९ मतदान केन्द्र निर्धारण गरिएको छ।

बैतडीमा १२९ मतदान स्थल र २१४ मतदान केन्द्र, दार्चुलामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र र डडेलधुरामा १०४ मतदान स्थल तथा १४१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशभरि आठ लाख ५२ हजार २१९ पुरुष र आठ लाख ६४ हजार ४२३ महिला गरी कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।

तीन दिनमा ५२ हजार ७०० रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला १३ हजार चार सय रूपैयाँ घटेको हो।

सोमबार सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।

 

यस्तै, सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आइतबार तोलामा पाँच हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खोज्नुहोस