नेप्सेमा १२.५८ अंकको गिरावट
काठमाडौँ- सेयर कारोबार नेप्से परिसूचक मंगलबार साढे १२ अंकले घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेर बन्द भएको नेप्से मंगलबार १२.५८ अंकले घटेको हो ।
सोमबारको तुलनामा ०.४६ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ६ सय ८३.१५ अंकमा ओर्लेको छ ।
कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्यो, १९० कम्पनीको मूल्य घट्यो । र बाँकी ३ कम्पनीको स्थिर रहयो ।
मंगलबार कुल ९२ हजार ३ सय ३८ पटकको सेयर किनबेचमा १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार सेयर बजारमा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
