डडेल्धुरामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य

द एभरेष्ट पोष्ट
२० माघ २०८२ १३:५१
डडेल्धुरामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य

डडेल्धुरा- यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य छ ।

जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा १३ जना उम्मेदवार पुरुष मात्र छन् । जिल्लामा दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार अघि सारेका छैनन् । कांग्रेसले समानुपातिक तर्फ एक जनालाई सूचीमा समेटे पनि प्रत्यक्षमा कुनै दलले उम्मेदवार बनाएका छैनन् । महिला तर्फ कांग्रेसले हरिना कामीलाई समानुपातिक तर्फ उम्मेदवार बनाएको छ ।

महिलालाई प्रत्यक्ष तर्फ प्रतिस्पर्धामाअघि सार्न दलहरू अझै हिच्किचाइरहेको महिला अधिकारकर्मी पद्मा गुरुङले बताइन् । उनका अनुसार राजनीतिक दलभित्र महिलालाई नेतृत्वको रुपमा हेर्ने दृष्टिकोण कमजोर छ । ‘महिलाहरु नेतृत्व गर्न सक्दैनन् भन्ने राजनीतिक दलमा मान्यता छ, दलहरुले महिला नेतृत्व स्वीकार्न सकेका छैनन्,’ उनले भनिन्, ‘जसले गर्दाखेरी राजनीतिक रुपमा अगाडि बढ्न सकेका छैनन् ।’

महिला अधिकारकर्मी अञ्जु गैरे दलले संवैधानिक व्यवस्थालाई कागजी औपचारिकतामा सीमित गरेको गुनासो गरिन् । ‘संविधानले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत महिला प्रतिनिधित्व सुनिश्चित गर्न भनेको छ,’ उनले भनिन्, ‘तर दलहरु सजिलो बाटो रोज्दै महिलालाई समानुपातिक तर्फको सूचीमा राख्दैमा दायित्व पूरा गरेको ठान्छन् ।’ महिलालाई राजनीतिक दलले विश्वास नै नगरेको उनले आरोप लगाइन् । उनका अनुसार चुनावी प्रचारमा माक्रै महिला खटिएका देखिन्छन् ।

अधिवत्ता आरती जोशीले महिलालाई प्रत्यक्ष निर्वाचनमा ‘कम जित्ने उम्मेदवार’ का रूपमा हेर्ने पितृसत्तात्मक मानसिकताका कारण टिकट पाउन नसकिरहेको बताइन् । राजनीतिमा निर्णय गर्ने तहमा पुरुष हाबी हुँदा महिलाको क्षमता र नेतृत्वमाथि विश्वास नगरिएको उनको भनाइ छ । महिलाहरु आफै पनि सशक्त भएको महशुष नगर्ने भएकाले मुख्य प्रतिस्पर्धाबाट बाहिर रहनुपरेको उनले बताइन् ।

जिल्लामा कांग्रेसबाट नैनसिंह महर, एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मानसिंह माल, रास्वपाबाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, जय मातृभुमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगर, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्र उम्मेदवारहरु सुरेन्द्र रावल, गोरखबहादुर ऐर र तीर्थराज उप्रेती चुनावी मैदानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस