त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी घुससहित पक्राउ

द एभरेष्ट पोष्ट
२० माघ २०८२ १२:१८
त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी घुससहित पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। अख्तियारले उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका अन्य कर्मचारीहरूमा सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखाका नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, न्यौपानेसहित कर्मचारीहरूले सेवाग्राहीबाट घुस लिएका र स्रोत खुलाउन नसकिएको रकम बरामद गरिएको हो।

उजुरीका आधारमा अख्तियारले टोली खटाएको थियो। कार्यालय सहयोगी पुडासैनीको कार्यकक्ष तथा घरबाट करिब १ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ भने नासु रिजालको साथबाट ३८ हजार ८४८ रुपैयाँ बरामद भएको छ। अख्तियारका अनुसार, न्यौपाने, रिजाल र पुडासैनीको मिलेमतोमा घुस लिइएको र बाँडफाँट हुनुअघि नियन्त्रणमा लिइएको हो।

अख्तियारले बरामद गरिएका २३ थान मोबाइल भने विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ। यस घटनाले विमानस्थलमा घुस र भ्रष्टाचार रोकथाम आवश्यक रहेको प्रमाणित गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस