डीसिएले मुम्बईमा फिनिक्स स्पोर्ट्स क्लबसँग पहिलाे मैत्रीपूर्ण खेल खेल्दै

धनगढी- धनगढी क्रिकेट एकेडेमी (डीसिए) को अन्डर–१६ टोलीले आज भारतको मुम्बईमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। टोलीले मुम्बईको फिनिक्स स्पोर्ट्स क्लबविरुद्ध आज मैदान उत्रिन लागेको हो।

क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ वटा स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।

यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास र आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

 

टी–२० विश्वकप : स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हराएको छ ।

भारतको कोलकातामा रहेको इडेन गार्डेन्समा स्कटल्यान्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इटालीले १६ ओभर ४ बलमा १ सय ३४ रन बनाउँदै सबै विकेट गुमायो । इटालीका बेन मानेन्टीले ५२ रन बनाए । स्कटल्यान्डका माइकल लिस्कले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनायो । स्कटल्यान्डका जर्ज मुन्सेले ८४ रन बनाए । इटालीका अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मुट्सले १/१ विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्ड २ खेलमा २ अङ्कसहित समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड पहिलो खेलमा वेस्ट इन्डिजसँग ३५ रनले पराजित भएको थियो । इटालीको यो पहिलो खेल हो ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

 

सर्वोच्चको ठहर : विचाराधीन मुद्दामा अभिव्यक्ति दिँदैमा अदालतको अवहेलना मानिदैन

काठमाडौं- सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन अवस्थामा रहेका मुद्दामा अभिव्यक्ति दिँदैमा मात्र अदालतको अवहेलना नहुने स्पष्ट व्याख्या गरेको छ। कुनै अभिव्यक्तिले अदालतप्रति नकारात्मक भ्रम सिर्जना गर्ने,अदालतको निष्पक्षता र क्षमतामाथि प्रश्न उठाउने,न्यायपालिकाप्रतिको जनआस्था कमजोर पार्ने वा अदालतको कामकारबाहीलाई प्रभावित गर्ने अवस्था देखिएमा मात्रै त्यस्तो कार्य अदालतको अवहेलना ठहरिने सर्वोच्चको फैसलामा उल्लेख गरिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध चारजना पूर्वप्रधानन्यायाधीशहरूले जारी गरेको संयुक्त वक्तव्यलाई लिएर दायर गरिएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यस्तो व्याख्या गरेको हो। सो मुद्दाको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको हो।

फैसलामा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हकको विस्तृत व्याख्या गरिएको छ। अदालतका अनुसार संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले प्रत्याभूत गरेको आत्मसम्मानपूर्वक बाँच्न पाउने र अन्तस्करणमा रहेको विचार व्यक्त गर्न पाउने अधिकार प्रत्येक नागरिकको मौलिक हक हो। पूर्वप्रधानन्यायाधीशहरू पनि आम नागरिकसरह सार्वजनिक जीवनमा सहभागी हुन,राजनीतिक तथा सार्वजनिक बहसमा आफ्नो धारणा राख्न स्वतन्त्र रहेको फैसलामा उल्लेख छ।

‘संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले दिएको स्वतन्त्रताको उपभोग गर्दै देशको महत्वपूर्ण विषयमा आफ्नो धारणा व्यक्त गरेको कुरालाई लिएर अदालतको अवहेलनामा कारबाही गर्नु अतार्किक,असंगत र अन्यायिक हुन जान्छ,’फैसलामा भनिएको छ।

अदालतले विपक्षीहरूले पेश गरेका लिखित जवाफहरूबाट पूर्वप्रधानन्यायाधीशहरूले न्यायालयप्रति उच्च सम्मान व्यक्त गरेको देखिएको पनि ठहर गरेको छ। उनीहरूको अभिव्यक्तिले अदालतको गरिमा घटाउने वा न्यायिक प्रक्रियामा अवाञ्छित प्रभाव पार्ने उद्देश्य नरहेको निष्कर्ष अदालतले निकालेको हो।

सर्वोच्च अदालतले अदालतको अवहेलनामा कारबाही अत्यन्त संवेदनशील र गम्भीर विषय भएको उल्लेख गर्दै अनुमान,शंका,लहड वा पूर्वाग्रहका आधारमा कसैलाई पनि अवहेलनामा कारबाही गर्न नमिल्ने स्पष्ट पारेको छ। वस्तुगत आधार,ठोस कारण र प्रमाणबाट पुष्टि भएको अवस्थामा मात्र अदालतले अवहेलनाको कारबाही अघि बढाउन सक्ने फैसलामा उल्लेख गरिएको छ।

संसद विघटनजस्तो राष्ट्रिय सरोकारको विषयमा पूर्वप्रधानन्यायाधीशहरूले आफ्नो धारणा व्यक्त गरेको देखिए पनि सो अभिव्यक्तिले अदालतप्रति भ्रम फैलाएको,जनआस्था कमजोर पारेको, अदालतको निष्पक्षता र क्षमतामाथि प्रश्न उठाएको वा अदालतको कामकारबाहीलाई प्रभावित पारेको अवस्था नदेखिएको सर्वोच्चको ठहर छ। न्यायाधीश सपना प्रधान मल्ल र तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तयार पारेको फैसलाको पूर्णपाठमा यस्तो उल्लेख गरिएको छ।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेका थिए। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न रिट निवेदन दायर भएका थिए। सो रिटहरू विचाराधीन रहेकै अवस्थामा २४ पुस २०७७ मा सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी,अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानमन्त्री ओलीको संसद विघटनसम्बन्धी निर्णयमा आपत्ती जनाउँदै संयुक्त वक्तव्य जारी गरेका थिए। उनीहरूले संविधानको आकर्षित नहुने धारा प्रयोग गरेर संसद विघटन गरिएको दाबी गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए।

विचाराधीन मुद्दालाई प्रभावित पार्ने उद्देश्यले संयुक्त वक्तव्य जारी गरेको भन्दै अधिवक्ता लोचक भट्टराईले पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अदालतको अवहेलनाको रिट दायर गरेका थिए। सो मुद्दामा सर्वोच्च अदालतले चारैजना पूर्वप्रधानन्यायाधीश,प्रधानमन्त्री ओली र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ समेत मागेको थियो।

सुनुवाइपछि सर्वोच्च अदालतले रिट निवेदकको माग दाबी नपुग्ने ठहर गर्दै चारैजना पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलनाको अभियोगबाट सफाइ दिएको थियो।

नेपाल र कतारबीच आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं- नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम। ए। अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो ।

भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो ।

छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए । उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गरे ।

कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

उक्त भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कतारी प्रतिनिधि मन्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैंठकका लागि नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा आइतबार नेपाल आएको हो ।

बहुसूचक सर्वेक्षण २०८१/८२ : सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च

काठमाण्डाै- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुले एक वर्ष नपुग्दै ज्यान गुमाउने गरेका छन् ।

प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रहेको छ । सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बाल मुत्यु हुने गरेको छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा १० जना रहेको छ ।

शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा धेरै ३८ र बाग्मतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत सुदूरपश्चिममा ४८ छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।

नेपालको कुल प्रजनन दर प्रतिमहिला १.९ मा झरेको छ । तर १५ देखि १९ वर्षका किशोरीमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाइएको छ । यो तथ्याङ्कले किशोरीमै गर्भधारण चुनौतीका रूपमा रहेको देखिन्छ ।

सर्वेक्षण प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी अर्थात् (लिखुरेपन) को समस्यामा छन् । मधेश प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा धेरै ३३.२ रहेको छ भने सबैभन्दा कम बाग्मतीमा ९.६ प्रतिशत रहेको छ ।

यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन् । आधारभूत विद्यालय कक्षा (१ देखि ५) को कक्षा १ मा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेको छ । ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवामा पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा धेरै ९९.५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८०.८ प्रतिशत रहेको छ । टेलिफोन सेवातर्फ ९५.५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् । १५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन् ।

कार्यक्रममा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको सर्वेक्षणबाट प्राप्त ताजा तथ्याङ्कले दिगो विकास लक्ष्य (एसडीजीएस) को अनुगमन, नीति निर्माण तथा १६औँ योजनाको मध्यावधि समीक्षामा महत्त्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् । उनले १६औँ योजनाको कार्यान्वयन र अनुगमनका क्रममा यस्ता तथ्याङ्क अपरिहार्य रहेको बताए ।

मुख्यसचिव अर्यालले अबका दिनमा नयाँ प्रविधि र विधिहरू प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्न पनि सुझाव दिएका छन् ।


राष्ट्रपति पौडेलसमक्ष गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे ।

उनले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पुर्‍याउँदै आएकोप्रति म धन्यवाद व्यक्त गरे ।

उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबुत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा नेपालीको उपस्थितिले दुई देशबीच रहीआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याइ रहेको उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

उनले पूर्वब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुङ्गोमा पुर्‍याउन उचित हुने आफूलाई लागेको बताए ।

राष्ट्रपति गोर्खा ब्रिग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदन उपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए ।

सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे । ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति  मायाँ र सम्मान प्रकट गर्ने गरेको उल्लेख गरे ।

प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो ।

नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । नेकपा सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेशसभामा दलहरूको हैसियत फेरिएको छ ।

पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो । संसदीय दलका अन्य पदाधिकारी भने निर्वाचनपछि चयन गरिने बताइएको छ ।
नेकपा २१ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको संसदीय दलका नेता भट्टले जानकारी दिए । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकीकरण भएपछि सुदूरपश्चिममा पनि संसदीय दल पुनर्गठन गरिएको हो ।

तत्कालीन माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका तीन (एक जना निलम्बनमा) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य गरी कुल २१ सदस्य पुगेपछि नेकपा पहिलो दल बनेको छ ।

यसअघि सबैभन्दा ठुलो दल रहेको कांग्रेसको हैसियत दोस्रो बनेको छ । प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपा र रास्वपाका एक–एक सांसद छन् ।

भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् ।

स्कटल्याण्डले इटालीलाई दियो २०८ रनको लक्ष्य

काठमाडौँ । स्कटल्याण्डले इटालीलाई २०८ रनको लक्ष्य दिएको छ । जारी टी–२० विश्वकपको समुह सी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको हो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ८४ रन बनाएका थिए भने ब्रान्डन म्याकमुलेनले ४१, माइकल जोन्सले ३७ रन बनाएका थिए ।

त्यसैगरी इटालीका बलर अलि हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मटसले एक एक विकेट लिएका थिए । यस खेलमा इटालीका कप्ताब वाने माडसन घाइते भएका छन् । खेलको चौथो ओभरमा फिल्डिङको क्रममा उनको काँधमा चोट लागेपछि उनी मैदान बाहिर गएका थिए । उनको एक्सरे गर्न अस्पताल लागिएको बताइएको छ ।

नेपाल बहुसूचक सर्वेक्षणको नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

काठमाण्डौ- राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो । सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको १ वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ । नवजात शिशु मृत्युदर हेर्दा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको एक महिनाअघि नै मृत्यु हुने गरेको देखिएको छ ।

प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३८ र बागमती प्रदेशमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको छ ।

प्रतिवेदनअनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पहुँच पुगेको छ । प्रदेशगत रूपमा विद्युत् पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत रहेको छ ।

टेलिफोन सेवातर्फ हेर्दा ९५ दशमलव पाँच प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९७ दशमलव एक प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२ दशमलव ६ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको देखिन्छ । प्रत्येक पाँचमध्ये चार घरपरिवार अर्थात् ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेको पाइएको छ ।

अध्ययन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ७२ दशमलव ७ प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९० दशमलव चार प्रतिशतसँग मोबाइल फोन रहेको र ७८ दशमलव ७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ ।

सर्वेक्षणअघि एक महिनामा १५ देखि ४९ वर्ष उमेर समूहका पाँच दशमलव १ प्रतिशत महिलाहरु र ४१ दशमलव ८ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ । त्यस्तै, १५ वर्षअगाडि नै ७ दशमलव ६ प्रतिशत पुरुष र २ दशमलव १ प्रतिशत महिलाले चुरोट वा बिँडी सेवन शुरू गरेको देखिएको छ ।

कूल प्रजनन दर अनुसार प्रति महिला औसत एक दशमलव नौ जीवित सन्तान जन्मिने गरेको देखिएको छ । १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म भएको छ भने २० देखि २४ वर्ष उमेर समूहका ११ दशमलव २ प्रतिशत महिलाले १८ वर्षभन्दा अगाडि नै सन्तान जन्माएको पाइएको छ ।

हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् ।

सर्वेक्षणभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । त्यस्तै, ९० दशमलव ५ प्रतिशतले स्वास्थ्य संस्थामा, ९१ दशमलव ४ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५ दशमलव ३ प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् ।

पाँच वर्षमुनिका बालबालिकामध्ये २४ दशमलव ३ प्रतिशत तौल कमी (लिखुरे) र ३१ दशमलव ५ प्रतिशत उचाइ कमी (पुड्को) रहेका छन् । ७ दशमलव ६ प्रतिशत ख्याउटे र दुई दशमलव ६ प्रतिशत बढी तौल भएका बालबालिका देखिएका छन् । लिखुरे बालबालिका सबैभन्दा बढी मधेश प्रदेशमा (३३.२ प्रतिशत) र सबैभन्दा कम बागमती प्रदेशमा (९.६ प्रतिशत) रहेका छन् ।

तीन आमामध्ये दुई आमाले अर्थात् ६९ दशमलव ७ प्रतिशतले ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने गरेको पाइएको छ । यो दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ७६ दशमलव ६ प्रतिशत रहेको छ ।

त्यस्तै १२ देखि २३ महिनाका बालबालिकामध्ये ८० दशमलव ७ प्रतिशतले पहिलो वर्षमै सबै खोप पूरा गरेका छन् । सर्वेक्षण भन्दा दुई साता अघि सम्मको अवधिमा ७ दशमलव ८ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको र तीमध्ये २० दशमलव ६ प्रतिशतलाई जिङ्क र पुनर्जलीय झोल खुवाइएको देखिन्छ ।

यो अध्ययन अनुसार ३६ देखि ५९ महिनाका बालबालिकामध्ये ५७ दशमलव ९ प्रतिशत प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भएका छन् । आधारभूत तह (कक्षा १–५) मा ४ दशमलव ५ प्रतिशत, कक्षा ६–८ मा ३ दशमलव ६ प्रतिशत र माध्यमिक तह (९–१२) मा १३ दशमलव २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाका ८५ दशमलव ४ प्रतिशत जन्मदर्ता भएको छ । यो दर कर्णाली प्रदेशमा सबैभन्दा बढी ९५ दशमलव ८ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७८ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपालको ९८ दशमलव दुई प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरेको भए पनि ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । त्यस्तै ९२ दशमलव चार प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६ दशमलव चार प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ ।

स्वास्थ्य बिमातर्फ हेर्दा १५ देखि ४९ वर्ष उमेर समूहका १७ दशमलव आठ प्रतिशत महिला र १९ दशमलव छ प्रतिशत पुरुष बिमामा आबद्ध छन् ।यो बहुसूचक सर्वेक्षणले सङ्घीय तथा प्रदेश तहका योजना तर्जुमा, नीति निर्माण, दिगो विकास लक्ष्यको अनुगमन तथा बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण तथ्याङ्कीय आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

सर्वेक्षणका क्रममा देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० परिवार छानिएका थिए । यसमा महिला, पुरुष, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र खानेपानीको गुणस्तरसम्बन्धी विवरण सङ्कलन गरिएको कार्यालयले जनाएको छ । -रासस

 

८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठ्माण्डौ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आइतबारसम्ममा एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो। यी जिल्लाको मतपत्र छपाइसँगै जिल्ला पठाउन प्याकिङ पनि भइसकेको बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

तेस्रो टीकापुर साहित्य महोत्सव चैत १३ देखि हुने

टीकापुर- टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।

स्थापनाकालदेखि नै ‘साहित्यमार्फत सामाजिक सद्भाव’ को नारा बोकेको टीकापुर साहित्य समाजले पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र समयतालिका सार्वजनिक गरेको हो।

सम्मेलनद्वारा जारी गरिएको विज्ञप्तिअनुसार महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुनेछ। जम्मा २१ बहस सत्रहरू रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन्। हरेक बहस सत्र १/१ घण्टाको हुने छ।

महोत्सव भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ।

नेपालमा विशेषगरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारू समुदायको बाहुल्य छ। ‘थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति  नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्य लिएको टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए।

‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन्’, संयोजक शाहको भनाइ छ।

यसबाहेक महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकासलगायत विधाका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल हुने छन्।

महोत्सवको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव रहने छ। कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार, द्वितियलाई दश हजार र तृतीयलाई पाँच हजार रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र अर्पण गरिने छ। सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने छ। महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको संग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ।

सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानसंग सहकार्य गरिएको तेस्रो संस्करणको मुख्य प्रवर्धक सुदूरपश्चिमप्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका  र जानकी गाउँपालिका यस महोत्सवका प्रवर्धक रहेका छन्। नेपाल पर्यटन बोर्ड यस महोत्सवको सहप्रवर्धक रहने छ। महोत्सवलाई हालसम्म कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंकले प्रायोजन गरेका छन्।

अतिथि आगमनको दिन सहभागीहरूलाई महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’ लाई सार्थकता दिन र टीकापुर भेकको पर्यटन प्रवर्धन गर्न कर्णाली नदीमा जलविहार गराइने छ। त्यहीँ साँझ थारू संस्कृतिको प्रवद्र्धन हेतु ‘थारू सांस्कृतिक साँझ’ आयोजन गरिने छ। महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत हुनेछ।

जापान निर्वाचन: ट्रम्पको समर्थन पाएकी ताकाइची नेतृत्वको दललाई भारी बहुमत

एजेन्सी- जापानकाे प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) अत्यधिक बहुमत सहित विजयी भएकाे छ।

आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको सत्तारुढ एलडीपीले भारी बहुमत हासिल गरेको हाे।

प्रधानमन्त्री ताकाइचीका लागि जनमत संग्रहको रूपमा हेरिएको यस निर्वाचनमा चार सय ६५ सदस्यीय तल्लो सदनमा एलडीपीले तीन सय १६ सिट जितेको छ।

दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एउटा दलले दुई-तिहाइ सिट जितेको यो पहिलो पटक हो।

पार्टीको जितपछि ताकाइचीले भनिन्, ‘मैले जिम्मेवार र सक्रिय वित्तीय नीतिका लागि जनादेश मागेको थिएँ, जसले अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ।’

जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी कट्टरपन्थी अनुदारवादी नेता ताकाइचीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको थियो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै उनको साहस र बुद्धिमानी निर्णयले ठुलो सफलता पाएको बताएका छन्।

ताकाइचीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै अमेरिका-जापान गठबन्धनको सम्भावना “असीमित” रहेको उल्लेख गरेकी छिन्।

सञ्चारमाध्यमहरूले प्रधानमन्त्री सानाए ताकाइचीको शानदार चुनावी विजयलाई ऐतिहासिक भनेसँगै जापानी सेयर बजार उकालाे लागेकाे छ।

गत असोजमा शिगेरु इशिबाको राजीनामापछि सत्तामा आएकी ताकाइचीले आफ्नो पद दाउमा राखेर संसद भंग गरेकी थिइन्।

उनको कार्यशैली, सामाजिक सञ्जालमा सक्रियता र ‘मार्ग्रेट थ्याचर’ बाट प्रेरित राजनीतिक छविका कारण उनी जापानी जनतामाझ निकै लोकप्रिय बनेकी छिन्।

सामाजिक सञ्जालका पपुलिस्टहरु विदेशीले प्रयोग गरेका पात्र हुन् : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै संयोजक प्रचण्डले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको आरोप समेत लगाए । प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको बताएका छन् ।

प्रचण्डले भने, ‘अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दै छन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’संयोजक प्रचण्डले रास्वपाप्रति संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्रहरू भएको टिप्प्णी गरे । उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरे ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठ्माण्डौ- स्थानीय बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो यो ३ लाख ५ सय रुपैयाँ रहेको थियो।

यसरी आज सुनको मूल्य एकै दिन चार हजार १०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ। हिजो चाँदी पाँच हजार १० रुपैयाँ थियो। चाँदीको मूल्य २४० रुपैयाँले बढेको छ।

कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता

कञ्चनपुर- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको विवरण सङ्कलन गरेर शनिबार अन्तिम नामावली प्रकाशित गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३०९ जना अस्थायी मतदाता रहेका छन् । शनिबार उनीहरूको अन्तिम नामावली प्रकाशित गरिएको उनले बताए ।

जिल्लामा रहेका सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दीको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिने कार्यालय प्रमुख जोशीले बताए ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रकाशित नामावली अनुसार जिल्लास्थित ५० सरकारी कार्यालयका ७४५ जना कर्मचारी, संस्थान र बैङ्क गरेर सात कार्यालयबाट १३२ जना, नौ वटै स्थानीय तहबाट एक हजार १७७ जना, प्रावि शिक्षक २८६ जना, ८२६ सुरक्षाकर्मी, १२२ जना निर्वाचन प्रहरी र २१ जना कारागारका कैदी गरेर तीन हजार ३०९ जना अस्थायी मतदाता छन् ।

यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार, अस्थायी मतदाताका लागि कति वटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्नेबारेमा पनि छलफल भइरहेको छ । यद्यपि कारागारका २१ कैदी मतदाताको हकमा कारागारमा र निर्वाचनमा खटिएका सुरक्षाकर्मीले सोही मतदान केन्द्रमा मत खसाल्ने व्यवस्था मिलाइने सूचना अधिकारी महराले बताए ।

सूचना अधिकारी महराले आगामी निर्वाचनका लागि जिल्लामा एक तेस्रो लिङ्गीसहित एक लाख ६० हजार ३१६ महिला र एक लाख ५४ हजार ६८ पुरुष गरेर तीन लाख १४ हजार ३८५ मतदाता पुगेका बताए । कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा १३२ मतदान स्थल र ३६० मतदान केन्द्र तोकिएको उनले बताए ।

जिल्ला सुरक्षा समिति कञ्चनपुरका अनुसार जिल्लाका नौ वटा पालिकामा कायम गरिएका १३२ वटा मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, ४० वटा मतदान स्थललाई संवेदनशील तथा २६ मतदान स्थललाई सामान्य तोकेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदै छ । त्यसै गरेर ३६० मतदान केन्द्रमध्ये १९२ अति संवेदनशील, ११९ संवेदनशील र ४९ सामान्य मतदान केन्द्र तोकिएका छन् ।

बैतडीमा मतदानस्थल निरीक्षण

बैतडी- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ ।

जिल्ला सुरक्षा समितिको तर्फबाट मतदान स्थल निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले बैतडीका एक सय २९ मतदान स्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् । यस्तै, २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा परेका छन् ।

अतिसंवेदनशील मतदान स्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । निरीक्षणका क्रममा मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा लगायतसँग छलफल गर्ने गरिएको उनले जानकारी दिए ।

निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत, खानेपानी लगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको बताइएको छ । कतिपय मतदान स्थल तथा केन्द्रमा सिसीटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

जिल्लामा एक सय २९ मतदान स्थलमा दुई सय १४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ जना मतदाता रहेका छन् ।

टी–२० विश्वकप क्रिकेटमा आज ३ वटा खेल हुँदै

काठमाण्डौ- आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । पहिलो खेल समूह ‘सी’ अन्तर्गत स्कटल्याण्ड र इटलीबीच कोलकाताको ईडेन गार्डेन मैदानमा विहान सवा ११ बजे शुरू हुनेछ ।

दुवै टोलीका लागि आजको खेल अंक तालिकामा मजबुत स्थान बनाउने अवसरका रूपमा हेरिएको छ । दोस्रो खेल आजै समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलम्बोमा रहेको सिन्हालिज स्पोट्स् क्लब मैदानमा जिम्बाब्वे र ओमानबीच दिउँसो सवा ३ बजे हुँदैछ । दुवै टोलीले समूह चरणबाट अगाडि बढ्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

जिम्बाब्वेको तीव्र बलिङ र ओमानको आक्रामक ब्याटिङ यस खेलको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ, । त्यसैगरी, आजको तेस्रो तथा अन्तिम खेल समूह ‘डी’ अन्तर्गत भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा बेलुकी सवा ७ बजे दक्षिण अफ्रिका र क्यानाडाबीच हुनेछ ।

विश्वकपका बलिया टोलीमध्ये एक मानिने दक्षिण अफ्रिकाले क्यानाडाविरुद्ध आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य लिएको छ भने क्यानाडाले ठूला टोलीलाई चुनौती दिने उद्देश्यसहित मैदानमा जानेछ । आजका तीनैवटै खेल सुपर चरणतर्फ पुग्न महत्वपूर्ण छन् ।

 

विश्वकप विजेता इंग्ल्यान्डलाई नेपालको सानदार टक्कर

काठमाडौं ।  आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट सुरुवात गरेको छ । दुईपटकको ‘च्याम्पियन’ इंग्ल्यान्डविरुद्ध आइतबार भएको खेलमा चार रनको झिनो अन्तरले पराजित भए पनि नेपाली टोली संसारको ध्यान तान्न सफल भएको छ । विश्वचर्चित क्रिकेटरहरू र चर्चित भारतीय लिग आइपिएलका टिमहरूले नेपाली टोली र खेलाडीको खुलेर प्रशंसा गरेका छन् ।

विश्वकपको दाबेदार मानिएको इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको थियो । जसलाई सहजै पछ्याउँदै नेपाल जितनजिकै पुगेको थियो । अन्तिम १२ बलमा जितका लागि २४ रन आवश्यक थियो । अन्तिम ओभर बाँकी रहँदा नेपाललाई १० रन चाहिएको थियो । तर, पाँच रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा पनि खेल कसको पोल्टामा जान्छ, टुंगो थिएन । नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । तर, एक रन मात्रै जोड्न सकेपछि इंग्ल्यान्डले बाजी मार्‍यो । खेल हारे पनि नेपाली टोलीले संसारभरिकै क्रिकेटप्रेमीको मन जित्यो ।

 

गौरीफन्टा नाकामा रोकिएन नेपालीसँग पैसा असुली

धनगढी । भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएको छैन । नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले सामान ल्याएकोलगायत बहानामा नेपालीसँग पैसा असुल्ने गरेका छन् । स्वदेश फर्कनेको ठुलो भिड हुने चाडबाडका वेला अवैध असुलीको विषय अरू वेलाभन्दा बढी उठ्ने गरेको छ ।

भारतको नयाँदिल्लीबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका बाँस्कोटाका खेमराज ओझाले भारतीय भन्सार कर्मचारीलाई सय रुपैयाँ बुझाएर आएको बताए । ‘घरपरिवारका लागि लुगाकपडा ल्याएको थिएँ, सामानको पैसा लाग्छ भन्यो,’ त्रिनगर नाकामा भेटिएका उनले भने, ‘हामीसँगै आएका पाँचजना थियौँ, सबैले सय–सय भारु बुझाएर आयौँ ।’ भारतको राजधानी नयाँदिल्लीमा होटेलमा काम गर्ने उनले पारिवारिक कामले आफू घर फर्कन लागेको बताए । भारतीय भन्सार कर्मचारीले सामान ल्याएर फर्कने नेपालीलाई सडकछेउमा सिसा र आल्मुनियमबाट बनाएको अस्थायी संरचनामा बोलाएर पैसा असुल्ने गरेका छन् । उनीहरूले सामानको पोका हेरेर डेढ–दुई सय भारु माग्ने गरेको घर फर्कने नेपालीहरू बताउँछन् ।

कञ्चनपुरको बेलडाँडीका राजेन्द्र रोकाया आफूले ओढ्ने, ओछ्याउने र घरमा छोराछोरीका लागि लुगाफाटो लिएर फर्किंदै थिए । सुटकेस र झोला गरी सामानको तीनवटा पोका ल्याएका उनले भारतीय भन्सार कर्मचारीले सय रुपैयाँ असुलेको गुनासो गरे । ‘लाइनमा अरूसँगै सरासर आउँदै थिएँ, सामान देखेर भित्र बोलायो र पैसा लाग्छ भन्यो,’ शुक्रबार बिहान त्रिनगर नाकामा घर जान सवारी कुरिरहेका खत्रीले भने, ‘पैसा नदिउँ भने सामान राखिदेलान् भन्ने डर ।’

भारतबाट फर्कनेले प्रायः केही न केही सामान ल्याएर आएका हुन्छन् । त्यही सामान ल्याएको बहानामा नाकामा भारतीय भन्सार कर्मचारीले अवैध रूपमा पैसा असुल गर्दै आएका छन् । घर फर्कने कतिपय नेपाली भने पैसा नतिरेरै पनि आउने गरेका छन् । भारत सुदूरपश्चिमेलीका लागि रोजगारीको प्रमुख गन्तव्य हो । सरकारी निकायसँग यकिन तथ्यांक छैन, तर यहाँबाट हजारौँको संख्यामा नेपाली भारतीय रोजगारीमा छन् । सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर र गड्डाचौकीमा चाडबाडका वेला स्वदेश फर्कनेको बढी भिड हुने गरे पनि रोजगारीका लागि भारत जाने र भारतबाट फर्कने दैनिकजसो हुन्छन् ।

भारतको दिल्लीबाटै फर्किएका कञ्चनपुरको बेलौरीका भीमबहादुर खत्रीले नाकामा पैसा बुझाउनुपर्ने बाध्यता अझै उस्तै रहेको बताए । रोजगारीका लागि भारत आवतजावत गरिरहने उनले सोझासाझा नेपालीबाट नाकामा रकम असुल्ने काम भइरहे पनि नेपाली सुरक्षाकर्मीले केही गर्न नसकेको गुनासो गरे । ‘पारि सधैँ त्यस्तै हो, सामान देख्यो कि पैसा माग्छन्,’ दिल्लीमा निजी सवारीचालक रहेका उनले भने, ‘घर आउँदा सबैले लुगाफाटो आदि केही न केही ल्याएकै हुन्छन् । त्यही देखाएर पैसा माग्छन् ।’ भनसुन गर्न सक्नेहरू भने पैसा नदिएर पनि आउने गर्छन् ।

नाकामा वारि सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका हुन्छन् । सशस्त्र प्रहरीको प्रस्तावित त्रिनगर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले भने पारि पैसा असुलेको विषयमा नेपालीबाट कुनै गुनासो नआएको बताए । उनका अनुसार अहिले दैनिक डेढ–दुई सय नेपाली घर फर्किरहेका छन् । ‘विवाह, व्रतबन्धका समय र चुनाव आउन लागेकाले पनि होला अहिले भारतबाट घर फर्कने नेपालीको संख्या बढेको छ,’ कार्कीले भने, ‘पारि पैसा असुलेको गुनासो भने आएको छैन । अप्ठेरो परेकालाई सहजीकरण गरिरहेका हुन्छौँ ।’

विश्वकप क्रिकेट : पावरप्लेमा नेपालका दुवै ओपनर आउट

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डविरुद्ध पावरप्लेमा नेपालका दुवै ओपनर आउट भएका छन् । १८५ रनको लक्ष्य पछ्याएको नेपालले पहिला् विकेट ३७ रन हुँदा आसिफ शेखलाई गुमायो । उनी ९ बलमा ७ रन बनाएर आउट भए ।

दोस्रो विकेटका रूपमा अर्का ओपनर कुशल भुर्तेल १७ बलमा २९ रन बनाएर आउट भए । नेपालले दुवै विकेट स्पिनरको बलमा गुमाएको हो । आसिफ लिएम डावसनको बलमा आउट भए भने भुर्तेल विल ज्याकको बलमा आउट भए । पावरप्लेमा नेपालले २ विकेट गुमाएर ४७ रन बनाएको छ । इंग्ल्यान्डले पावरप्लेमा ५६ रन बनाएको थियो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् ।

इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । समूह सी रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेल जिते नेपालको सुपर एट सम्भावना बलियो हुनेछ ।

रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठ्माण्डौ- नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

चौधरीविरूद्ध सर्वोच्च अदालतमा अन्य मुद्दा पनि विचाराधीन अवस्थामा रहेको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(९) र (१०) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (घ) समेत को व्याख्याको प्रश्न सन्निहित रहेको देखिँदा उक्त संवैधानिक एवं कानूनी व्यवस्थाको व्याख्या प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइको बखत हुने हुँदा सुविधा सन्तुलनको दृष्टिबाट माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ।

प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।

माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरिदिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ।

यसअघि प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश बालकृष्ण ढकालको इनलासले माघ ११ गते विपक्षीका नाममा कारण देखाऊ आदेश र अन्तरिम आदेश सम्बन्धि छलफलमा बोलाएको थियो।

त्यस्तै माघ १५ गते न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको थियो। तर कारण देखाऊ आदेश जारी भए पनि जबाफ पेस नहुँदा अघिल्लो आदेशलाई नै निरन्तरता दिइएको थियो।

निर्वाचन अधिकृत देवराज भारतीले उम्मेदवारी खारेज गर्ने निर्णयमा मुख्यगरी तीन आधार समातिएको सेतोपाटीलाई बताएका थिए।

‘सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखियो। जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार अयोग्यताको कारण बन्छ,’ भारतीले सेतोपाटीले भनेका थिए, ‘त्यसबाहेक राजनीतिक दलको सदस्य हुन समेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि हामीले आधारका रुपमा लिएका छौँ। साथै उहाँले कैद माफी पाएको तर सजाय उस्तै रहेको देखियो।’

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।

२०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए। त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए।

त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। लालवीर अहिले नाउपा नेपालमा छन्।

नेपाललाई इङ्गल्याण्डले दियो १८५ रनको लक्ष्य

काठमाडाैं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्गल्याण्डले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर खडा गरेको छ।

मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्गल्याण्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८४ रन बनाएको हाे ।

इङ्गल्याण्डको सुरुवात केही धर्मराए पनि मध्यक्रमका ब्याटरहरूले पारी सम्हालेका थिए। प्रारम्भिक ब्याटर फिल साल्ट मात्र १ रनमा आउट भए भने कप्तान जोस बटलर २६ रनमा नन्दन यादवको शिकार बने। त्यसपछि ज्याकोब बेथेल र ह्यारी ब्रुकले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। बेथेलले ३५ बलमा ५५ रन बनाए भने कप्तान ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए।

अन्त्यमा विल ज्याक्सले १८ बलमा ३८ रनको अविजित पारी खेल्दै टोलीलाई १८० को आँकडा पार गराए ।

नेपालका लागि डेब्यु खेलाडी नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए। उनले इङ्गल्याण्डका कप्तान जोस बट्लर र ह्यारी ब्रुक जस्ता ठूला विकेट चट्काए। दिपेन्द्र सिंह ऐरीने पनि २ विकेट लिँदा नेपालका लागि शेर मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बलमै फिल साल्टको विकेट लिएर उत्कृष्ट सुरुवात दिलाएका थिए।

सन्दीप लामिछानेले ४ ओभरमा मात्र २५ रन खर्चेर एक विकेट लिए ।

अन्तिम ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गरे पनि विल ज्याक्सले छक्का प्रहार गर्दै स्कोर १८४ पुर्‍याए।

 

बालेनको डेरामा चोरी गर्नेहरू फरार कैदी,बैंकिङ कसुर र जबरजस्ती मुद्दाका आरोपित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरूलाई विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट नक्कली गरगहना तथा अन्य सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं बालाजु हाइट बस्ने ४२ वर्षीय मनिष राजवहाक,सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ पड्कु घर भई हाल काठमाडौंको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङको धुनिबेशी नगरपालिका–७ खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरू यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।

पक्राउ परेकामध्ये मनिष राजवहाक गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा नख्खु कारागारबाट फरार भएका थिए। फरार भएयता उनले काठमाडौंका पाँच स्थानमा चोरी गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ।

यस्तै,खिमबहादुर खड्का बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त हुन् भने संजय श्रेष्ठ जबरजस्ती करणी मुद्दाका आरोपित रहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

‘टिकटकको ‘इन्फिनिट स्क्रोल’ अत्यधिक लत लाग्ने खालको छ’

युरोपेली युनियनका नियामकहरूले सामाजिक सञ्जाल टिकटकको डिजाइन प्रयोगकर्तामा ‘लत’ लगाउने खालको रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन् । जारी अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नियामकहरूले टिकटकको यो स्वरूपले ‘डिजिटल सर्भिस एक्ट’ (डीएसए) को उल्लंघन गरेको आरोप लगाएका छन् ।

विशेष गरी युरोपेली युनियनले टिकटकको इन्फिनिट स्क्रोल (लगातार भिडियो आइरहने), अटो प्ले, पुस नोटिफिकेसन र प्रयोगकर्ताको रुचि अनुसारका भिडियो देखाउने ‘रिकमेन्डर सिस्टम’ माथि प्रश्न उठाएको छ । टिकटकले यस्ता सुविधाहरूबाट प्रयोगकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा पर्न सक्ने असर कम गर्न पर्याप्त सुरक्षा उपायहरू नअपनाएको युनियनको दाबी छ।

नयाँ सामग्रीहरू निरन्तर देखाएर टिकटकले प्रयोगकर्तालाई स्क्रोल गरिरहन उक्साने र त्यसले मस्तिष्कलाई ‘अटोपाइलट मोड’ मा लैजाने युनियनको भनाइ छ । जुन मानसिक स्वास्थ्यको दृष्टिकोणको नजरले डलरलाग्दो भएको युनियनको भनाइ छ ।

यद्यपि टिकटकले भने युनियनको दाबी गलत र आधारहीन भएको बताएको छ । अबको केही समयपछि यो अनुसन्धानको पूर्णनिष्कर्ष आउने छ । यदि यो निष्कर्ष पुष्टि भएमा टिकटकले ठूलो राशिको जरिवाना तिर्नुपर्ने छ । यसका साथै कानुनी पालनाका लागि आफ्नो एपको ‘बेसिक डिजाइन’ नै परिवर्तन गर्नुपर्नेछ ।

बाजुराबाट नेकपा एमालेका उम्मेदवार थापालाई मतृशोक

बाजुराः देशैभर विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलो पुगेर आफूलाई र आफ्नो पार्टीलाई मत मागिरहेका छन् । तर, बाजुरामा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा भने शोकमा छन् । एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको छ ।

बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको थियो । ‘त्यो बेला उम्मेदवारसहित जगन्नाथ गाउँपालिकामा घरदैलोमा थियौँ । घरमा आमाको स्वास्थ्य अवस्था जटिल भएको थाहा पाएपछि उहाँ सबै कार्यक्रम छाडेर आमालाई भेट्न घर पुग्नु भएको थियो,’ घरदैलोमा सँगै रहेका प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओलीले भने, ‘तर, आमाले संसार छोड्नु भयो ।’

उम्मेदवार थापा अहिले घरमा किरियामा छन् । उनलाई भेट्न आउनेहरू सान्त्वना दिन्छन् । निर्वाचनको लागि मत माग्न व्यस्त हुनुपर्ने अवस्थामा बरखीमै रहेका थापाले घरमै आएकाहरूलाई आफ्ना योजनाहरू सुनाउँछन् । २०५४ सालमा जिल्ला विकास समितिको सभापति र २०७४ सालमा प्रतिनिधि सभा सदस्य हुँदा उनले गरेका कामहरूले अहिले पनि बाजुरामा लोकप्रिय छन् ।

थापा घरदैलोमा जान नपाउँदा पनि केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षसहितको टोलीले घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जगन्नाथबाट हिमाली गाउँपालिका पुगेको टोलीले आज धुलाचौरमा अगुवा नेता कार्यकर्तासँगै भेटघाट गर्ने कार्यक्रम छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं- साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा अडिएको छ।

यो समयमा ३३० वटा स्क्रिप्सको २ करोड ६२ लाख  ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार  १४३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १६८ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने घट्यो। दोहोरो अंकले घटेको बजारमा सुपर माइ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिडी पावरको सेयर ९.९८ प्रतिशतले बढ्दा कालिञ्चोक होइड्रोपावरको ९.९७ प्रतिशतले बढ्यो।  हिमालयन हाइड्रोपावरको सेयर ५.३९ प्रतिशतले बढ्दा जोशी हाइड्रोपावरकोको ४.४९ प्रतिशतले बढ्यो।

यसदिन कालिञ्चोक दर्शनका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.९१ प्रतिशतले घट्यो। दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए। इन्भेष्टमेन्ट बैंक र अन्य समूहको उपसूचकबाहेक बाँकी ११ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

राष्ट्रिय टिममा शेर मल्लको डेब्यु

मुम्बई : शेर मल्लले नेपालको राष्टिय टिममा डेब्यु गरेका छन्। एनपीएलमा राम्रो प्रदर्शनपश्चात उनले राष्ट्रि टिममा स्थान बनाएका हुन्।

शेर मल्ल एनपीएल सिजन २ मा इमर्जिङ प्लेअर भएका थिए। एनपीएलमा राम्रो प्रदर्शन गरेपछि मल्ल राष्ट्रिय टिमको बन्दप्रशिक्षणमा परेका थिए। उनी विश्वकप खेल्ने अन्तिम १५ भित्र पनि पर्न सफल भएका थिए ।

नेपालविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड

काठमाडौं- इंग्ल्यान्डले आईसीसी ट्वन्टी–२० क्रिकेट विश्वकप २०२६ मा नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक्सले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । नेपालले विश्वकप छनोटअन्तर्गत एसिया प्यासिफिकमा अपराजित रहँदै विश्वकपको टिकट काटेको थियो ।

इंग्ल्यान्ड सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपको सुपर–८ मा स्थान बनाउने टोली सोझै छनोट हुने प्रावधानबाट यहाँ आइपुगेको हो ।

खोज्नुहोस