प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि राजदूत श्रीवास्तवलाई धन्यवाद दिइन्।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन्।

भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएका थिए। निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ।

नेपालमा भ्रष्टाचार नियन्त्रणमा प्रगति हुन सकेन

काठमाण्डाै- नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा प्रगति हुन नसकेको तथ्याङ्कले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालले यस वर्ष पनि गएको वर्षकै जस्तै ३४ अङ्क मात्र प्राप्त गरेको छ ।

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको अङ्क निर्धारण गरेका हुन् । लामो समयदेखि नेपाल ३५ भन्दा कम अङ्कमै सीमित रहँदै आएको भन्दै उहाँले यसले सरकारहरू भ्रष्टाचारविरुद्ध प्रभावकारी हुन नसकेका देखाएको बताए ।

सूचकाङ्कले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन र त्यसबाट भएको जनधन क्षतिको पृष्ठभूमिमा बढ्दो भ्रष्टाचार प्रमुख कारणमध्ये एक रहेको दाबीलाई थप पुष्टि गरेको उनको भनाइ छ ।

सन् २०२५ मा नेपालसहित मडागास्कर, फिलिपिन्स र इन्डाेनेशिया जस्ता देशहरूमा नवयुवा पुस्ताले नेतृत्वको शक्ति दुरुपयोग, सार्वजनिक सेवामा पहुँचको अभाव र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको भन्दै सडक आन्दोलन गरेका छन् ।

अध्यक्ष शर्माले भ्रष्टाचार राजनीतिको अपरिहार्य अङ्ग होइन भन्ने सन्देश सूचकाङ्कले दिएको उल्लेख गर्दै आउँदाे चुनावबाट स्वच्छ, इमानदार र प्रतिबद्ध नेतृत्व चयन हुनुपर्नेमा जोड दिए । यस्ता नेतृत्व चयन हुन सके मात्र दशकौँदेखि जकडिएको भ्रष्टाचार नियन्त्रणमा सुधार सम्भव हुने उनको भनाइ छ ।

विश्वव्यापी रूपमा पनि भ्रष्टाचार नियन्त्रणमा प्रगति कमजोर देखिएको टीआईले जनाएको छ । सन् २०२५ मा विश्वको औसत अङ्क ४२ कायम भएको छ । दक्षिण एशियामा भूटानले ७१ अङ्कसहित राम्रो स्थिति देखाएको छ भने नेपालसहित धेरैजसाे देश कमजोर अवस्थामा रहेका छन् ।

 

नेप्सेमा १०.२५ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार पनि नेप्से २६.०५ अंकले घटेको थियो । यस्तै, आइतबार पनि नेप्सेमा १०.२४ अंकको गिरावट आएको थियो ।

मंगलबार नेप्सेमा कुल ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा १० अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

टी-२० विश्वकप: नेदरल्यान्ड्ससँग नामिबिया पराजित

काठ्माणडौ- आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह ‘ए’ को हालै सम्पन्न खेलमा नामिबिया नेदरल्यान्डससँग ७ विकेटले पराजित भएको छ।

मगंलबार नामिबियाले दिएको १५७ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्सले १८औँ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

नेदरल्यान्ड्सका लागि बास डे लीडे अर्धशतकीय पारी खेले। उनी ७२ रन बनाउँदै नटआउट रहे। ४८ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। नामिबियाका लागि जान निकोल लोफ्टी–इटन १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएकाे थियाे। नामिबियाका लागि जान निकोल लोफ्टी–इटनले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ छक्का र १ चौका प्रहार गरे।

नेदरल्यान्ड्सका लागि बास डे लीडेले २ विकेट लिए।

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला- दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका–४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लिगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिए । -रासस

निखिल र वर्षाको मुख्य भूमिका रहने ‘कस्तुरी’को छायांकन सुरु

काठमाडौं । निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘कस्तुरी’को छायांकन सुरु भएको छ । आज शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु भएको हो ।
ऋत बोहोराले निर्देशन गर्ने चलचित्र काठमाडौं र आसपासका क्षेत्रमा छायांकन हुनेछ ।
रहस्य, सस्पेन्स र अपराधलाई चलचित्र समेट्ने उनले बताए ।  निखिल र वर्षाको यो पहिलो सहकार्य हो । निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहनेछ ।
चलचित्रको कथा ऋत बोहोराले नै लेखेका छन् ।

विश्व बैंकले स्वीकृत गर्‍यो नेपाललाई साढे ६ अर्ब लागतको डिजिटल रूपान्तरण परियोजना

काठमाडौं- विश्व बैंकले नेपालका लागि ५ करोड अमेरिकी डलर (करिव ६ अर्ब ६५ करोड रुपैयाँ) बराबरको डिजिटल रूपान्तरण परियोजना स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले यो रकम बराबर सहायता स्वीकृत गरेको हो । यो परियोजनाको लक्ष्य एकीकृत नागरिक सेवा पोर्टल र सामाजिक रजिस्ट्री सुदृढ बनाउनु रहेको छ । जसले गर्दा आमनागरिक सेवा अनलाइन मार्फत प्रदान गर्न सक्ने लक्ष्य छ ।

यसबाहेक डिजिटल लकर, अहिले म्यानुअल भइरहेका सेवा क्रमश: डिजिटलमा रूपान्तरण गर्ने लक्ष्य छ । डाटा पूर्वाधारको क्षेत्रमा निजी लगानी भित्र्याउन कानुनी र नियामक ढाँचामा सुधार गर्ने लक्ष्य परियोजनाको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनले यस परियोजनाबाट सेवा प्रवाह थप समावेशी, पारदर्शी र प्रभावकारी हुने तथा सुशासनमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

विश्व बैंकका अनुसार यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) को संयुक्त सहवित्तीय व्यवस्था अन्तर्गत सञ्चालन हुँदैछ । विश्व बैंक मुख्य ऋणदाता हो । यस परियोजनामा एडीबीले थप ४ करोड डलर योगदान गर्ने छ ।

विश्व बैंकका अनुसार एडीबीले समेत आगामी महिना यस्तो सहायता रकम स्वीकृत गर्ने अपेक्षा छ । परियोजना कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गर्नेछन् ।

टी-२० विश्वकप: नामिबियाले नेदरल्याण्डसलाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । नामिबियाले टी-२० विश्वकप अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई १५७ रनको लक्ष्य दिएको छ ।

भारतको दिल्लीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको हो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ४२ रन बनाए भने जान फ्राइलिंकले ३० र जेजे स्मिटले २२ रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्डसका बलर बास डी लीड र लोगान भान बीकले २-२ विकेट लिए भनेआर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट लिएका थिए ।

एक करोड ३७ लाख ९१ हजार मतपत्र छपाइ सकियाे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् ।

निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगाको मतपत्र छपाइ सकिएको छ ।

यस्तै सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिएका हुन् ।

दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।

रामेछापमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस आज बिहान त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाले नदीबाट १३ जनाको उद्धार गरिएको र मृत्युको आधिकारिक घोषणा भने हुन बाँकी रहेको बताए।

उनले भने, ‘ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको हो। बस तामाकोशी नदीमा खसेको छ। उद्धार जारी राखेका छौं, शवको पहिचान भने हुन बाँकी रहेको छ।’

प्रहरी र स्थानीयले ४ जनाको जीवित उद्धार गरेका छन्। बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको यकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ।

अरनिको यातायात समितिका अनुसार जडिबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी ३ गरी जम्मा ११ जना सवार थिए।

सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन- निर्वाचन सुरक्षामा कुनै चुक नहोस्

काठमाडौं- रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावको सुरक्षामा अलिकति पनि कमी हुन नदिन निर्देशन दिएकी छन्।

मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा जस्तो सुरक्षा संयन्त्रबिच समन्वयमा त्रुटि नदोहोर्‍याउन सचेत गराएकी हुन्।

सेनालाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्।’

उनले अगाडि भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्।’

यस्तै प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधि पनि बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि अन्य निकायसँग सहकार्य गर्न पनि सेनालाई निर्देशन दिएकी छन्।

उनले भनिन्, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपाईंहरूलाई निर्देशन दिन्छु।’

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।

भाइ एन्ड्रयूमाथि अनुसन्धानमा प्रहरीलाई सघाउन राजा चार्ल्स तयार

लन्डन  । बेलायतका राजा चार्ल्स तृतीयले आफ्ना भाइ एन्ड्रयू माउन्टब्याटन–विन्डसरविरुद्ध उठेका आरोपको मूल्याङ्कन गरिरहेका बेलायती प्रहरीलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी न्याय मन्त्रालयले हालै सार्वजनिक गरेको दिवङ्गत यौन दुराचारी जेफ्री एपस्टिनसम्बन्धी नयाँ कागजातहरूमा पूर्वराजकुमार एन्ड्रयूले सन् २०१० मा गोप्य सरकारी सामग्री एपस्टिनलाई पठाएको दाबी गरिएको छ । यसपछि उनीमाथि फेरि गम्भीर छानबिन सुरु भएको छ ।

बेलायती राजतन्त्रविरोधी संस्था रिपब्लिकका प्रमुख ग्राहम स्मिथले सोमबार एन्ड्रयूमाथि सार्वजनिक पदमा दुराचार र आधिकारिक गोप्यताको उल्लङ्घन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए । ‘हामीले उजुरी प्राप्त गरेका छौँ र स्थापित प्रक्रियाअनुसार त्यसको मूल्याङ्कन गर्दैछौँ ।’ थेम्स भ्याली प्रहरीले सीएनएनलाई भनेको छ ।

‘माउन्टब्याटन–विन्डसरको आचरणबारे लगातार बाहिर आइरहेका आरोपप्रति राजा चाल्र्स गहिरो चिन्तित छन् । यदि प्रहरीले औपचारिक रूपमा सहयोग मागेमा हामी पूर्ण रूपमा सहकार्य गर्नेछौँ ।’ यसै दिन बकिङ्घम प्यालेसका प्रवक्ताले भनेका छन् ।

एन्ड्रयूले यसअघि एपस्टिनसँगको सम्बन्धमा कुनै गलत काम नगरेको बताएका थिए । तर नयाँ आरोपबारे उनले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यसबिच बेलायतमा एपस्टिनसँग जोडिएका अन्य उच्च पदस्थ व्यक्तिहरू पनि दबाबमा परेका छन् । पूर्वअमेरिकी राजदूत पिटर म्यान्डेल्सनले गत साता हाउस अफ लड्र्स छोडेका थिए, र प्रहरीले शुक्रबार उनीसँग जोडिएका दुई सम्पत्तिमा छापा मारेको छ । एपस्टिन प्रकरणले फेरि बेलायती राजतन्त्र र राजनीतिक वृत्तलाई विवादमा तानेको छ।

दार्जुलामा एक प्रहरी हवल्दार मृत फेला

दार्चुला-  दार्चुला सदरमुकामस्थित बंगाबगर बजारमा एक जना प्रहरी हवल्दार मृत भेटिएका छन् ।

मंगलबार बिहान महाकाली नगरपालिका–४ बंगाबगरमा प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

प्रहरीका अनुसार उक्त शव सडकभन्दामाथि घरहरुको पछाडी फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको र लगत्तै घटनास्थलमा प्रहरी खटिएको थियो ।

घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं– मंगलबार सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलाको ९ सय रूपैयाँले वृद्धि भएको छ ।

हिजो सोमबार तोलाको ३ लाख ४ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तोलाको १० रूपैयाँले घटेर चाँदीको भाउ ५ हजार २४० रुपैयाँमा झरेको छ ।

 

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै

कञ्चनपुर।  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई  एचपिभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइँदैछ । गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने उनले जानकारी दिए ।

“प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ”, अधिकृत कुँवरले भने, “विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

खोप अभियान सञ्चालनका लागि जिल्लाका नौवटै स्थानीय तहमा विद्यालय र स्वास्थ्य संस्था गरी जम्मा ४६५ खोप केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३६२ वटा विद्यालय र १०३ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको छ । भीमदत्त नगरपालिकामा सबैभन्दा बढी एक हजार ३९०, कृष्णपुर नगरपालिकामा ८४३, पुनर्वास नगरपालिकामा ७४३, बेदकोट नगरपालिकामा ६०६, शुक्लाफाँटा नगरपालिकामा ५४७ जना किशोरीलाई खोप लगाउने कार्यक्रम छ ।

त्यसैगरी, बेलौरी नगरपालिकामा ५६१, दोधारा चाँदनी नगरपालिकामा ५१०, लालझाडी गाउँपालिकामा २५० र बेलडाँडी गाउँपालिकामा २२८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको अधिकृत कुँवरले जनाकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो । नेपालमा पनि महिलामा देखिने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ ९एचपिभी० रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामै एचपिभी खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । प्रारम्भिक चरणमा लक्षण नदेखिने भएकाले ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

खोप अभियान सञ्चालनका लागि प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई परिचालन गरिएको छ । सबै खोप केन्द्रमा खोपसहित आवश्यक सामग्री पुर्याइसकिएको कोल्डचेन अधिकृत कुँवरले जानकारी दिए । खोप लगाउने लक्षित समूह कोही पनि नछुटुन् भनेर विशेष सावधानी अपनाइएको उनको भनाइ छ । सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत देशभर किशोरीलक्षित एचपिभी खोप अभियान सञ्चालन गर्दै आएको छ । -रासस

बाजुराका १० मतदान स्थल अझै यातायातको पहुँचभन्दा बाहिर

बाजुरा- बाजुराका १० मतदान स्थल अझै पनि यातायातको पहुँचभन्दा बाहिर रहेका छन्। जिल्लामा रहेका ७७ मतदान स्थलमध्ये १० स्थानमा अझै सडक नपुगेकाले ती मतदान स्थल यातायातको पहुँचभन्दा बाहिर रहेका हुन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा गएको सुरक्षा निकाय तथा निर्वाचनसम्बन्धी सरोकारवाला निकायको टोलीले अनुगमन गर्दा उक्त तथ्य पत्ता लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

जिल्लाको पूर्व–उत्तरी क्षेत्रका हिमाली गाउँपालिकामा ५, स्वामिकार्तिक खापर गाउँपालिकामा २, गौमुल गाउँपालिकामा १, जगन्नाथ गाउँपालिकामा १ र त्रिवेणी नगरपालिकामा १ गरी जम्मा १० मतदान स्थल यातायातको पहुँचभन्दा बाहिर रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

उनका अनुसार त्रिवेणी नगरपालिका–५ स्थित रामेश्वरी मावि किन्नी, गौमुल गाउँपालिका–१ स्थित अम्लिस मावि अम्लिस, जगन्नाथ गाउँपालिका–४ स्थित मालिका मावि बागापानी, स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित मण्डाली मावि खोलीकोट र बिन्द्रासैन मावि फ्यालगाउँ, हिमाली गाउँपालिका–१ स्थित विच्छ्या मावि विच्छ्या, वडा नं. २ स्थित दुलाकोट आवि दुलाकोट, वडा नं. ३ स्थित सुन्तेडा मावि बाम, गंगा आवि बौडी तथा रिमालभट्टी आवि गुम्बा रहेका छन्।

सबैभन्दा टाढा रहेको मतदान स्थल हिमाली गाउँपालिका–३ स्थित रिमालभट्टी आवि गुम्बा हो, जहाँ पुग्न अझै दुई–चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ। यी केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई गरी कुल ८७ हजार ८६१ मतदाता रहेका छन्। यसका लागि जिल्लामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले जानकारी दिए।

ग्यासको अभावपछि निरीक्षण तीव्र : समस्या भए हटलाइन नम्बरमा फोन गर्न निगमको आग्रह

काठमाण्डौ- बजारमा खाना पकाउने ग्यासको अभाव तथा खानेतेल, दाल, चामललगायतको भाउ बढेको जस्ता समस्या देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र बनाएको छ ।

अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या र अभावको उपभोक्ताबाट गुनासा बढेपछि उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा निरन्तर रुपमा संयुक्तः बजार अनुमगन अगाडि बढाएको विभागले जनाएको छ ।

आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन् । मागभन्दा कम ग्यास आपूर्ति हुँदा अभाव भएको विभागको निष्कर्ष छ । तर निगमले खाना पकाउने ग्यासको अभाव भए सिधै सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

निगमले ग्यासको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी टिपाउन भनेको छ । साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न निगमको आग्रह छ ।

विज्ञप्ति नै निकालेर निगमले चुनावलाई समेत ध्यानमा राखेर ग्यासको आयात बढाएको जनाएको छ । फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । अहिले दैनिक औसत ११० बुलेटमा ग्यास नियमित रूपमा आयात भइरहेको उनको भनाइ छ ।

चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता : उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ ।

पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ ।

भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक आउँदो फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेल [email protected] मा पठाउनुपर्नेछ । एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ ।

 

पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने

मुम्बई । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ ।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।

पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए ।

बीसीबीका औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले समाधानका लागि पाकिस्तानको नेतृत्व अपेक्षा गरेको पत्राचारसमेत सरकारले समीक्षा गरेको जनाएको छ ।

यसैबीच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ र बंगलादेशसँग सदैव साथ रहने प्रतिबद्धता दोहोर्‍याएको छ ।

पछिल्लो पहलअन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा श्रीलंकाली राष्ट्रपतिले वर्तमान गतिरोध समाधानका लागि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए ।

यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको थियो ।

मतदातालाई पढाउन स्वयंसेवक खटाउँदै आयोग

काठमाडौं ।  मतदाता सहभागिता बढाउने तथा बदर मत कम गर्ने उद्देश्यसहित निर्वाचन आयोगले मतदान शिक्षा विशेष कार्यक्रम सुरु गर्ने भएको छ । आमनागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन विशेष कार्यक्रम तयार पारी लागू गरिएको आयोगले जनाएको छ ।

निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिकाबमोजिम आयोगले कार्यक्रम बनाएको प्रवक्ता नारायण भट्टराईले बताए । ‘मतदाता शिक्षालाई सुदृढ बनाई प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत गरी लागू गरिएको छ,’ उनले भने ।

कार्यक्रममार्फत आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गरिने उनले बताए । ‘आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न खोजिएको छ,’ आयोग प्रवक्ता भट्टराईले भने, ‘यससँगै मतदानको कार्यमा आममतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको उद्देश्य छ ।’

भट्टराईका अनुसार मतदाता शिक्षाका लागि आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गरिनेछ । देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६,७४३ वडामा ३–१७ फागुनसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उनले बताए ।

‘कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्नेछन्,’ उनले भने, ‘योसँगै आमसञ्चारमाध्यम तथा आमपहुँचका कार्यक्रमबाट पनि मतदाता शिक्षा र निर्वाचन प्रचार–प्रसार व्यापक र प्रभावकारी बनाइनेछ ।’

स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नतामार्फत सञ्चालन हुने यो कार्यक्रमले समावेशी सिद्धान्तबमोजिम प्रभावकारी मतदाता शिक्षा प्रवद्र्धन हुने भट्टराईको भनाइ छ ।

मतदाता शिक्षाका लागि आयोगले आवश्यक तयारी गरिसकेको छ । मतदाता शिक्षाका लागि २५ करोड बजेट विनियोजन गरिएको छ । मतदाता शिक्षा तथा तालिम सामग्रीको तयारी र उत्पादन १६ माघमा भइसकेको छ । मतदाता शिक्षासम्बन्धी मुख्य प्रशिक्षकलाई प्रशिक्षण १७ र १८ माघमा भइसकेको छ ।

मतदाता शिक्षा तालिम प्रदेशस्तरमा २० र २१ गते भइसकेको छ । मतदाता शिक्षा सामग्री निर्वाचन कार्यालयमा ढुवानी २६ माघमा भइसकेको छ । अब जिल्लास्तरीय मतदाता शिक्षा कार्यकर्ताको नियुक्ति २८ गते, जिल्लास्तरीय मतदाता शिक्षा कार्यकर्ता तालिम २९ गते र मतदाता शिक्षा कार्यक्रम सञ्चालन (निर्वाचन शिक्षा कार्यकर्ता परिचालन) ३ देखि १७ फागुनसम्म गर्ने कार्यतालिका छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय

काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न तीन वटा मुख्य निर्ण सुनाएका हुन् ।

उनका अनुसार, राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत भएको छ ।

त्यस्तै, जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि पनि थपिएको छ ।

यी हुन् तीन निर्णय :

१. राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने ।

२. नेपाल सरकारको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने ।

३. नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने ।

शुक्लाफाँटा निकुञ्जमा हराएका ३ किशोरीको उद्धार

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ ।

निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना आएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको थियो ।

सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको सेनाले बताएको छ ।

जिम्बावेविरुद्ध ओमान १०३ रनमै अलआउट

काठमाडौं- आईसीसी टी-२० विश्वकपको समूह चरणअन्तर्गत जारी खेलमा ओमानले जिम्बावेलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । आज एसएससी क्रिकेट मैदानमा टस जितेर जिम्बावेले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले १९.५ ओभरमा सवै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो।

ओमानको सुरुवात निकै खराब रह्यो। सुरुवाती ६.६ ओभरमा मात्र २७ रन जोड्दा ओमानले आफ्ना शीर्ष ५ ब्याट्सम्यानलाई गुमाइसकेको थियो। मध्यक्रममा विनायक शुक्लाले २१ बलमा २८ रन र सुफयान महमुदले ३९ बलमा २५ रन बनाएर टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।

अन्त्यतिर नदीम खानले २० रनको अविजित योगदान दिए पनि ओमानले ठूलो योगफल खडा गर्न सकेन।

ओमानलाई सस्तैमा समेट्न जिम्बावेका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। रिचर्ड नगारावा र ब्लेसिङ मुजरबानीले समान ३-३ विकेट लिए। नगारावाले ४ ओभरमा १७ रन खर्चिए भने मुजरबानीले ४ ओभरमा मात्र १६ रन दिए। त्यस्तै, ब्राड इभान्सले २ र सिकन्दर राजाले १ विकेट हात पारे।

 

कञ्चनपुर ३ मा सुक्खा बन्दरगाह र महाकाली कटान साझा एजेण्डा

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसबाट प्रायजसो रमेश लेखक नै उम्मेदवार हुने गरेका थिए । २०५६ देखि संसदीय यात्रामा रहेका लेखक त्यसयता पहिलो संविधानसभाबाहेकका सबै निर्वाचन यस क्षेत्रबाट लडेका थिए। त्यतिबेला कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा यस क्षेत्रबाट उठेका थिए भने लेखक समानुपातिकबाट निर्वाचित भएका थिए । यस पटक भने क्षेत्र नम्बर ३ मा कांग्रेसबाट लेखक उम्मेदवार छैनन् ।

उनको सट्टामा कांग्रेसले हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ । पूर्वजिल्ला सभापति समेत रहेका बोहोरा पहिलो पटक निर्वाचनमा होमिएका हुन् । एमालेबाट यो क्षेत्रमा डा. दिपकप्रकाश भट्ट उम्मेदवार छन् । एमालेमा नेता भट्ट २०७४ को निर्वाचनमा कांग्रेसका लेखकलाई पराजित गरेर पहिलो पटक सांसद भएका थिए । २०७९ मा एमालेले निरुदेवी पाललाई उम्मेद्वार बनाएको थियो ।  उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री समेत रहेका सुनार २०७४ मा क्षेत्र नम्बर ३ ९२० बाट प्रदेशसभामा निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नम्बर ३ मा महाकाली पारीको दोधारा चाँदनी नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका वडा ८ पर्दछ । यहाँ ५० हजार ४८७ पुरुष र ५२ हजार ६ सय महिला गरी जम्मा १ लाख ३ हजार ८७ मतदाता रहेका छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेस नेता लेखक ३० हजार ५७५ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेकी निरुदेवी पालले १८ हजार ४८५ मत पाएकी थिइन् । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा लेखक एमालेका दिपकप्रकाश भट्टसँग झिनो मतले पराजित भए । भट्टले २६ हजार ३६४ मत प्राप्त गरेका थिए भने लेखकले २६ हजार १ सय ६ मत पाएका थिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अवस्था फेरिएको छ । प्रायस् कांग्रेस र एमालेकै उम्मेदवार विजयी भएको यस क्षेत्रबाट यसपटक कसले बाजी मार्ला भन्ने धेरैको जिज्ञासा छ । विगतमा गरेका काम र दलको उपस्थितिका आधारमा सबैले आ–आफ्नो जीतको दाबी प्रस्तुत गरिरहेका छन् । कांग्रेस उम्मेदवार बोहराले विगतमा कांग्रेसले यस क्षेत्रमा गरेको विकास निर्माणका आधारमा मतदाताले आफूलाई रुचाउने दाबी गरे । ‘हामीले यस क्षेत्रमा थुप्रै काम गरेका छौं, अझ पनि त्यसलाई अगाडि बढाइनेछ,’ बोहराले भने, ‘यस क्षेत्रलाई औद्योगिक सँगै पर्यटकीय हिसाबले पनि विकास गरिनेछ ।’

उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि चुरे फेदमा रहेका तालतलैया र धार्मिक स्थलहरुलाई जोडेर पर्यटन क्षेत्रको विकास गरिने बताए । यसैगरी दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलले यस क्षेत्रमा औद्योगिक विकासका लागि समेत आफुले पहल गर्ने बताए । ‘विगतमा मन्त्री हुँदा र प्रदेससभा सदस्य भएका बेला मैले धेरै काम गरेको छु, त्यही भएर मतदाताले मलाई रुचाउछन्,’ नेकपाका उम्मेदवार सुनारले भने, ‘विगतमा पनि मैले जनप्रतिनिधि हुँदा आफ्नै लगानीमा विद्यालय, स्वास्थ्य चौकीलगायत बनाएको छु ।’ उनले साविकको दोधारा गाविसको अध्यक्ष भएका बेला आफ्नै लगानीमा हृयुमपाइप हाल्नेदेखि विद्यालय भवन बनाउनेलगायतका काम गरेको बताए ।

दोधारा चाँदनीमा वर्सेनि डुबान र कटानको समस्या भइरहन्छ । महाकाली र जोगबुडा नदीको बाढीले वर्षेनी सयौं परिवार विस्थापित हुने गरेका छन् । भीमदत्त नगरपालिकामा रहेको मझगाउँ विमानस्थल पुनर्निर्माण सुचारु गर्नेदेखि महाकाली करिडोरका लागि पर्याप्त बजेट विनियोजनका लागि आफुले सक्दो पहल गरेका कारण यस क्षेत्रका बासिन्दाले जिताउने एमाले उम्मेदवार भट्ट बताउँछन् । ‘तीनै तहका सरकारको लगानीमा विमानस्थल सञ्चालनका लागि निर्माण कार्य भइरहेको छ, दोधारा चाँदनीमा रहेको हेल्थपोष्टको सुधार भएर शल्यक्रियाको सेवा उपलब्ध भएको छ,’ भट्टले भने, ‘दोधारा चाँदनीलाई त्रिदेशीय नाका बनाउने योजना अनुसार काम भइरहेको छ, यसका लागि मेरो कार्यकालमा महत्वपूर्ण काम भएका छन् ।’

नेकपाका उम्मेदवार सुनार यसअघि प्रदेशसभा सदस्य हुँदै सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री समेत भइसकेका व्यक्ति हुन् । एमालेका भट्ट एक पटक सांसद भइसकेका हुन् । कांग्रेसका बोहरा र रास्वपाका महता भने नयाँ अनुहार हुन् । अहिले सबै उम्मेदवारहरु चुनावी प्रचारका लागि हरेक वडामा सम्पर्क कार्यालय खोल्नेदेखि मतदाता भेट्ने काममा व्यस्त छन् । क्षेत्र नम्बर ३ का लागि निर्णयक मानिने दोधारा चाँदनी क्षेत्रमा सबै उम्मेदवारको ध्यान बढी केन्द्रीत देखिन्छ । यस पटक मुख्य दलमध्येबाट एक जना सोही क्षेत्रबाट उम्मेदवार भएका कारण पनि उक्त क्षेत्रमा उम्मेदवार बढी केन्द्रीत देखिन्छन् ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छ । मुख्य दलहरुले अहिले त्यही मुख्य एजेण्डा बनाएका छन् । यसबाहेक महाकालीमा निर्मित चार लेनको पक्की पुल पनि चुनावी एजेण्डा बनेको छ । महाकाली र जोगबुडा नदीको बाढी र कटान रोक्नका लागि सदाझैं यसपटक पनि उम्मेदवारहरुले तटबन्ध निर्माणको विषयलाई उठाएका छन् ।कान्तिपुरबाट

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठ्माण्डौ – राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ।

राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए।

यसैगरी, बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो।

राष्ट्रियसभाको अर्काे बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ।

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।

सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका हुन् ।

सो सभाको २०८२ भदौ १३ गते बसेको बैठकले राष्ट्रिय सभाबाट उक्त विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिका पठाएको थियो । समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए।

समितिका सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते उक्त विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।

 

नेप्से परिसूचक २६ अंकले घट्यो

काठ्माण्डौ-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।

सोमबार विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । दुई सय १२ कम्पनीको शेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ ।

खोज्नुहोस