बाजुराका १० मतदान स्थल अझै यातायातको पहुँचभन्दा बाहिर

द एभरेष्ट पोष्ट
२८ माघ २०८२ ११:०७
बाजुराका १० मतदान स्थल अझै यातायातको पहुँचभन्दा बाहिर

बाजुरा- बाजुराका १० मतदान स्थल अझै पनि यातायातको पहुँचभन्दा बाहिर रहेका छन्। जिल्लामा रहेका ७७ मतदान स्थलमध्ये १० स्थानमा अझै सडक नपुगेकाले ती मतदान स्थल यातायातको पहुँचभन्दा बाहिर रहेका हुन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा गएको सुरक्षा निकाय तथा निर्वाचनसम्बन्धी सरोकारवाला निकायको टोलीले अनुगमन गर्दा उक्त तथ्य पत्ता लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

जिल्लाको पूर्व–उत्तरी क्षेत्रका हिमाली गाउँपालिकामा ५, स्वामिकार्तिक खापर गाउँपालिकामा २, गौमुल गाउँपालिकामा १, जगन्नाथ गाउँपालिकामा १ र त्रिवेणी नगरपालिकामा १ गरी जम्मा १० मतदान स्थल यातायातको पहुँचभन्दा बाहिर रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

उनका अनुसार त्रिवेणी नगरपालिका–५ स्थित रामेश्वरी मावि किन्नी, गौमुल गाउँपालिका–१ स्थित अम्लिस मावि अम्लिस, जगन्नाथ गाउँपालिका–४ स्थित मालिका मावि बागापानी, स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित मण्डाली मावि खोलीकोट र बिन्द्रासैन मावि फ्यालगाउँ, हिमाली गाउँपालिका–१ स्थित विच्छ्या मावि विच्छ्या, वडा नं. २ स्थित दुलाकोट आवि दुलाकोट, वडा नं. ३ स्थित सुन्तेडा मावि बाम, गंगा आवि बौडी तथा रिमालभट्टी आवि गुम्बा रहेका छन्।

सबैभन्दा टाढा रहेको मतदान स्थल हिमाली गाउँपालिका–३ स्थित रिमालभट्टी आवि गुम्बा हो, जहाँ पुग्न अझै दुई–चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ। यी केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई गरी कुल ८७ हजार ८६१ मतदाता रहेका छन्। यसका लागि जिल्लामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस