सेयर बजार स्थिर हुँदा आठ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रह्यो ।
यस दिन नेप्से ०.०४ अंकले घटेर २६६२.०९ विन्दु कायम भएको छ ।
यस दिन ११३ कम्पनीको मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ ।
दुई करोड २२ लाख ८२ हजार कित्ता ८२ हजार पटकमा किनबेच हुँदा आठ अर्ब ६९ कराड २२ ला रुपैयाँभन्दा बढीको कारोबार भयो ।
अघिल्लो दिन आठ अर्ब ६१ करोडभन्दा बढीको कारोबार भएको थियो ।
आज रिदी पावरको मूल्य सर्वाधिक ९.६७ रुपैयाँले बढेको छ । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता ५७ रुपैयाँ घाटा व्यहोरेका छन् ।

आचारसंहिता उल्लङ्घन गर्ने ५१ जनालाई आयोगले स्पष्टीकरण सोध्यो, ३० वटाको मात्र जवाफ प्राप्त

काठमाण्डाै- निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टकीकरण सोधेको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा अहिलेसम्म ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवम् गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिए ।

जिल्लास्तरमा निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगका कानून अधिकृत जोशीले बताए । -रासस 

 

अफगानिस्तान र दक्षिण अफ्रिकाको खेल सुपर ओभरमा

काठमाडौँ- भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल सुपर ओभरमा गएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्दै अफ्रिकाले अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानका फजलहुक फारुकी रनआउट भएसँगै अफगानिस्तानले १८७ रनमा सबै विकेट गुमाएपछि खेल सुपर ओभरमा गएको हो । १९.४ ओभरमा उनी रनआउट हुन पुगे । कागिसो रवाडाले अन्तिम ओभरमा दुई नोबल गरेका थिए ।

५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाण्डाै – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ५० लाखभन्दा धेरै मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङको मतपत्र छपाइ सम्पन्न भएको हो । यस्तै धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही र रोल्पाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

मङ्गलवारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप ६ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उहाँले बताउनुभयो । अहिलेसम्म १३ हजार ३ सय २१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । अहिले दिनमा १ हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।

 

खाना पकाउने ग्यासको कृत्रिम अभाव भएपछि निगम आफैँले बेच्न थाल्यो

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव बढेपछि नेपाल आयल निगम आफैँले बिक्री थालेको छ। निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरू गरिएको हो ।

निगमले हाल नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासको बिक्री सुरू गरेको छ । मागअनुसार थप कम्पनीका ग्यास पनि बिक्रीमा राख्ने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । डिलरमा धेरै समय लाइन बस्दा पनि ग्यास पाउन कठिन भएको गुनासो आएपछि कार्यालय परिसरमा काउन्टर राखेरै अत्यावश्यक परेका उपभोक्तालाई बिक्री गरिएको उनले बताए ।

उनले भने, ‘आज पहिलो दिन नेपाल ग्यासको १६० वटा सिलिन्डर आइसकेको छ । एभरेस्ट ग्यासको ७० सिलिन्डर बिक्री सुरू भएको छ । भने सुगम ग्यास आउने क्रममा छ । आजै ३०० वटासम्म सिलिन्डर पुर्‍याउने हाम्रो तयारी छ ।’

दैनिक बजारको माग हेरेर वितरणको थप योजना बनाउने निगमले जनाएको छ । सामान्य अवस्थामा देशभर दैनिक १ लाख सिलिन्डरको माग हुने गरेको छ । तर, अहिले बजारमा अभाव हुने हल्ला चलेपछि माग बढेर २ लाखभन्दा बढी पुगेको छ ।

अख्तियार प्रमुखसहितलाई धम्क्याउने व्यक्तिलाई काठमाडौं ल्याइयो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याउने व्यक्तिलाई नेपाल ल्याइएको छ । फिलिपिन्समा बसेर इमेलमार्फत भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई आज प्रहरी टोलीले नेपाल ल्याएको हो ।

उनलाई विमानस्थलबाट भद्रकाली लगिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘उनलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रकाली ल्याइँदैछ ।’ ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ का चेयरमेन पाठक अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

नेपालमा चार वटा मुद्दा खेपिरहेका उनले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए । मेलमा लेखिएको छ, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ,त्यसमा तपाईंको नाम पनि छ ।

१० दिनभित्र राजीनामा दिनुहोला, यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नु हुन्छ ।’ उच्च पदस्थहरुलाई धम्क्याउने तीन जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । उनलाई पनि केही समयअगावै पक्राउ गरिएकोमा अहिले नेपाल ल्याइएको हो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले काम गरिरहेका छ: अख्तियार प्रमुख आयुक्त राई

काठ्माण्डौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।

आयोगको ३५ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विगत केही वर्षयता साना प्रशासनिक कामदेखि बजेट निर्माण, योजना छनोट, उच्चस्तरीय नियुक्ति, मन्त्री चयन र सरकार परिवर्तनसम्ममा शक्तिशाली विचौलिया सक्रिय हुन थालेको नागरिकको बुझाइरहेको बताए।

हरेक काममा विचौलिया प्रवृत्तिले राज्य संयन्त्रको स्वायत्तता र सुशासनलाई कमजोर बनाउँदै लगेको उनको भनाइ छ। “विगतमा फ्रन्टलाइनबाट सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा साना खालका काममा सहजीकरणका लागि विचौलियाहरूले काम गर्ने गरेकोमा  ५–१० वर्षदेखि बजेट निर्माण, योजना निर्माण, महत्त्वपूर्ण निकायको नियुक्ति, सरुवा, बढुवा, मन्त्रीहरू नियुक्ति, सरकार परिवर्तनसम्मका कार्यका लागि शक्तिशाली विचौलियाहरूको प्रभाव बढ्दै गएको आम बुझाई छ”, प्रमुख आयुक्त राईले भने, “यिनै विचौलियाले सरकार र सरकारका सबै निकायलाई आफ्नो नियन्त्रणमा लिई तिनकै इसारामा चलाउन थालेको कारण राज्यमा सुशासन कायम हुन नसकेको भन्ने गुनासो आउन थालेको हुँदा राज्य सञ्चालकहरूले सबै क्षेत्रमा विचौलिया निषेध गर्न नसकेमा सुशासन नारामा मात्र सीमित हुने देखिन्छ।”

उनले आयोगले संवैधानिक जिम्मेवारी अनुरूप भ्रष्टाचारजन्य कसुरको वस्तुनिष्ठ अनुसन्धान र विशेष अदालतमा अभियोजनलाई निरन्तरता दिएको स्पष्ट गर्दै अब निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिमा समेत जोड दिइएको समेत बताए।

आयोगले भ्रष्टाचारजन्य कसुरको वस्तुनिष्ठ अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्दै आइरहेको उनले बताए।

साथै सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ मा भएको पछिल्लो संशोधन अनुसार भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्तिको शुद्धीकरण सम्बन्धी कसुरका अनुसन्धान आयोगले गर्ने भन्ने व्यवस्था भएबमोजिम आयोगले सो कसुरको समेत अनुसन्धान र अभियोजन गर्ने कार्य गर्दै आएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले आफ्नो रणनीतिक योजना तर्जुमा गरी उपचारात्मक कार्यका अतिरिक्त निरोधात्मक र प्रवर्द्धनात्मक कार्य समेत गर्दै आएको उनले बताए।

आयोगले ‘भ्रष्टाचारमुक्त र सचादारयुक्त सार्वजनिक क्षेत्र निर्माण’ सहितको दूरदृष्टि राखी पाँचौँ रणनीतिक योजना ९२०८१/८२–२०८५/८६० कार्यान्वयनमा ल्याएको र यसले उपचारात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक विधि अवलम्बनमार्फत भ्रष्टाचार न्यूनीकरण गर्ने लक्ष्य लिएको राईले उल्लेख गरे। अहिले उच्च जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखी अनुसन्धान र अभियोजन प्रभावकारी बनाइएको उनको दाबी छ।

उजुरी व्यवस्थापन प्रणालीमा सुधार, विज्ञ परामर्श, निजी कानुन व्यवसायीबाट बहस पैरवी, सूचना प्रविधिको प्रयोग विस्तार, अनुसन्धानका नवीन विधि र अनुसन्धान अधिकृतको विशिष्टीकृत क्षमता विकासमार्फत अनुसन्धानको गुणस्तर अभिवृद्धि गरिएको पनि प्रमुख आयुक्त राईले बताए।

पाँच वर्षमा आयोगमा एक लाख ४८ हजार ५ सय उजुरी दर्ता भएका छन्। तीमध्ये एक लाख सात हजार ९१५ अर्थात् ७२।८ प्रतिशत फर्स्याेट भएको जनाइएको छ।

सो अवधिमा ७०० भन्दा बढी मुद्दा विशेष अदालतमा दायर गरिएको छ। आव २०८१/८२ मा १३७ र चालु आवमा हालसम्म ९४ मुद्दा दायर भएका छन्। राज्यकोषको हानीनोक्सानी क्षतिपूर्तिका लागि पछिल्लो पाँच वर्षमा वार्षिक औसत चार अर्ब रूपैयाँभन्दा बढी बिगो मागदाबी लिइएको आयोगले जनाएको छ।

आयोगप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रमुख आयुक्त राईले राजनीतिक वा प्रशासनिक जुनसुकै तहका पदाधिकारीविरुद्ध पनि प्रमाणका आधारमा निर्भीकतापूर्वक अभियोजन भइरहेको दाबी गरे।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत आयोगबाट मुद्दा दायर भइरहेका छन्। नेपाल ग्रे–लिष्टबाट बाहिरिनका लागि आवश्यक सुधारात्मक क्रियाकलाप विस्तार गर्ने कार्ययोजनासमेत कार्यान्वयनमा रहेको उनले बताए।

आयोगमा उजुरी सङ्ख्या बढ्दो क्रममा रहे पनि तथ्यपरक र गुणस्तरीय उजुरीको कमी रहेको प्रमुख आयुक्त राईले औंल्याए। छानबिनका क्रममा सम्बन्धित निकायबाट प्रमाण तथा कागजात समयमै र पूर्ण रूपमा नपाउँदा अनुसन्धान लम्बिने समस्या रहेको उनले बताए।

आयोगका अनुसार सार्वजनिक खरिद तथा निर्माण, बजेट विनियोजन, अनुदान वितरण, गैरकानुनी लाभहानि, सार्वजनिक सम्पत्तिको क्षति, घुस–रिसवत, नक्कली शैक्षिक प्रमाणपत्र, राजस्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढी छन्।

बहुवर्षीय आयोजनामा न्यून बजेट, पूर्वसम्भाव्यता अध्ययन बिना विनियोजन, मापदण्ड नपुगेका आयोजनामा स्रोत सुनिश्चितता, अबण्डा रकम राखेर वर्षबीच बाँडफाँट गर्ने प्रवृत्ति वित्तीय अनुशासनविरुद्ध रहेको आयोगको निष्कर्ष छ। आयोजना बैंकमा कानुनी प्रक्रिया पूरा भएका आयोजना मात्र प्रविष्ट गर्ने र सोही आधारमा बजेट विनियोजन गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने राईले बताए।

खरिद योजनाबिना खरिद, प्रतिस्पर्धा सीमित गर्ने, सोझै खरिद, मेडिकल उपकरण र सूचना प्रविधि सामग्री खरिदमा पूर्वाधारबिना ठूलो लगानी, सञ्चालन योजना नबनाई संरचना निर्माण र प्रयोगविहीन सामग्री थन्क्याउने जस्ता गम्भीर विकृति बढ्दै गएको पनि उनले बताए।

त्यस्तै, ठेक्का व्यवस्थापनमा म्याद थप, निर्देशन अभाव र अभिलेख कमजोरीका कारण राज्यले क्षतिपूर्ति दाबीमा ठूलो नोक्सानी बेहोर्नुपरेको औँल्याउँदै सम्बन्धित पदाधिकारीलाई कानुनी जिम्मेवारीमा ल्याउनुपर्ने प्रमुख आयुक्त राईको भनाइ छ। नदीजन्य पदार्थ, खानी तथा खनिज उत्खननमा मापदण्ड उल्लङ्घन, राजस्व नउठाउने प्रवृत्ति बढेको पनि आयोगको निष्कर्ष छ।

त्यस्तै भन्सार मूल्यांकन वास्तविक कारोबार मूल्यमा आधारित नभएको, न्यून विजकीकरण, चोरी पैठारी, अवैध छुटजस्ता कारण राजस्व प्रशासनमा विकृति बढेको राईले बताए।

भूमि प्रशासनमा सरकारी, सार्वजनिक र वन क्षेत्रको जग्गा न्यून मूल्यमा दीर्घकालीन लिज, अतिक्रमण, हदबन्दी कार्यान्वयन नहुने, गैरकानुनी दाखिल–खारेज जस्ता समस्या देखिएको आयोगले जनाएको छ।

यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार र अध्यागमन क्षेत्रमा अझै व्यापक गुनासो रहेको र तीसम्बन्धी उजुरी बढ्दो रहेको आयोगले जनाएको छ।

आयोगले विभिन्न १२ विषयक्षेत्र र २४ मन्त्रालय/ निकायलाई ४२८ सुझाव दिएकोमा ती सुझाव कार्यान्वयन सन्तोषजनक नरहेको र उही प्रकृतिका कसुर दोहोरिइरहेको पनि प्रमुख आयुक्त राईको भनाइ छ।

“आयोगले दिएका सुझावहरूको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको छैन। बर्सेनि उही प्रकृतिको कसुर र विकृतिहरू दोहोरिरहेका देखिएका छन्। आयोगका सुझावहरूले विकास निर्माण र बजेट कार्यान्वयनमा बाधा पुर्‍याएको भनी जिम्मेवार पदाधिकारीबाट सार्वजनिक टिप्पणी हुने गरेको छ तर कार्यसम्पादनका क्रममा भएका कमी कमजोरी सच्याउन कानुनी व्यवस्थाहरू पुनः स्मरण गराउने उद्देश्यले दिइएका सुझावहरूबाट विकासमा बाधा पुग्ने होइन, बरु सुशासन कायम गरी विकासलाई थप नतिजामुखी बनाउन सकिन्छ”, उनले भने, “विधायिकाले निर्माण गरेको कानुनको परिपालना नगर्ने अनि आयोगले सुझाव दिँदा विकासमा बाधा भयो भन्ने भाष्य निर्माण गर्ने प्रवृत्तिको अन्त्य गर्नै पर्दछ। कानुन बनाएपछि त्यसको परिपालना गर्नुपर्छस परिपालना नगर्ने हो भने कानुन नै बनाउनुहुँदैन। यदि कुनै कानुनले विकासमा बाधा पु¥याएको छ भने विधायिकाबाट संशोधन गर्न सकिन्छ।”

रामेछापमा क्षतिपूर्तिको माग गर्दै यातायात अवरुद्ध, शव जिम्मा लिन अस्वीकार

काठमाडौं : मंगलबार रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्ष र स्थानीयले यातायात सञ्चालनमा अवरोध गरेका छन्। काठमाडौंबाट रामेछापको मन्थली-ढाडे हुँदै ओखलढुंगातर्फ जाँदै गरेको प्र-३ ००१-०५ ख ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकैको मोडमा दुर्घटना हुँदा १२ जनाको मृत्यु र ८ जना घाइते भएपछि पीडितले यातायात रोकेका हुन्।

बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने उनीहरूको माग छ।उनीहरूले अरनिको यातायात व्यवसायी समिति सम्पर्कमा आउन, वार्तामा बस्न र मृतकका परिवार, घाइतेलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मन्थलीबाट काठमाडौं र तराईतर्फ जाने-आउने र मन्थली-खिम्ती सडकतर्फ जाने आउने सवारी साधन बन्द गरेका हुन्।

सडक अवरोध भएपछि अरनिको यातायातको बस रोकिएका छन्। १२ जनाको मृत्यु हुने गरि दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरुले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन्। माग पूरा नभएसम्म उनीहरुले मृतकहरूको शव जिम्मा लिन अस्वीकार गरेका छन् ।

दुर्घटनाको विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय, मन्थलीमा सर्वदलीय बैठक बसिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका-४ बिजुलीकोटकी २५ वर्षीया बबि तामाङ, वडा-४ का २८ वर्षीय दीपेश बस्नेत, वडा-४ का दीपेन्द्र बस्नेत, वडा-७ का ३५ वर्षीया सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भिमबहाबहादुर तामाङ, २४ वर्षीया रमिता तामाङ, वडा-३ चित्रेकी १७ वर्षीय सुकृत तामाङ, वडा-६ खिम्तीकी ४५ वर्षीया मन कुमारी बरुवाल, उमाकुण्ड गाउँपालिका- ६ गुप्तेश्वरका ५७ वर्षीय धर्मसिंह सुनुवार, सिन्धुली गोलन्जोर गाउँपालिका वडा-६ का ३४ वर्षीय शिव श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर-८ का ६० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो।

घाइतेको धुलिखेल र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ। बस तामाकोशी नदीमा खसेको थियो। सुरक्षाकर्मी र स्थानीयले बसलाई किनारामा निकालेका छन्।  केही व्यक्ति बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।

कांग्रेस कञ्चनपुरको निर्देशन – अरू दलका उम्मेदवारको पोस्टमा लाइक, कमेन्ट नगर्नू

काठमाडौं- नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।

‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्ताहरूलाई उम्मेदवारको पछि नलागेर आ–आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन पनि अनुरोध गरेको छ । आवश्यकता परेर अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गरएर मात्रै जान पनि भनिएको छ ।

‘आ-आफ्नो टोल वडा छोडेर उम्मेदवारको पछि–पछि लाग्ने परम्पराले स्थानीयबासीसँग छलफल, विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ–आफ्नो वडामा केन्द्रित भै सक्रिय हुन समस्त पार्टीका साथीहरुलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकता परी अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भएमा पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी गरी मात्र जान हुन अनुरोध गरिन्छ ।’

विज्ञप्तिमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो टोल, वडामा सकिय रूपमा परिचालन भएर पार्टीका पक्षमा जनमत सिर्जना गर्न पनि अनुरोध गरिएको छ ।

दार्चुला प्रहरी हबल्दार हत्या घटनामा थप एक पक्राउ

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ । यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ । तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज भट्टका अनुसार पक्राउ पर्ने व्यक्ति राजेन्द्र डडाल हुन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको इन्स्पेक्टर भट्टले जानकारी दिए ।

हबल्दार घर्तीको हत्या आरोपमा  यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

थप पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिष पाल  फरार छन् ।

पक्राउ परेकी दिपीका पाल आशिककी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बियर बारमा दिपीकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको छ ।

भ्रष्टाचार न्यून हुन नसकेकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

काठमाण्डौ- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अख्तियारले राम्रो काम गर्दा गर्दै पनि भ्रष्टाचार न्यून हुन नसकेको बताए । उनले अख्यिारले गर्दै आएका काम र प्रयासको भने प्रसंसा गरेका छन् ।

प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगको भूमिका महत्वपूर्ण रहेको र अझै सक्रिय र निर्भिक रूपमा काम गर्न आग्रह गरेका छन् । कार्यक्रममा अख्तियार दुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन कायम गर्न दिइएका सुझाव सम्बन्धित पक्षले अपेक्षित पालना नगरेको गुनासो गरेका छन् ।

उनले भ्रष्टाचार नियन्त्रण आयोगको मात्रै काम नभएको र राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको बताए । राईले कसुर गर्नेमाथि अख्तियारले दण्डात्मक कारबाही गर्ने तर सुशासनका लागि दण्डात्मक कारबाही आधार हुन नसक्ने बताए ।

अनुसन्धानलाई प्रभावकारी बनाउन नविनतम प्रविधिको प्रयोग गर्नेक्रम बढेको पनि उनको भनाइ छ । आयोगको ३५औँ स्थापना दिवसको पूर्वसन्ध्यामा हिजो ट्रान्सपरेन्सी इन्टरनेसनलबाट सार्वजनिक अध्ययन प्रतिवेदनले भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको स्तरमा सुधार हुन नसकेको देखाएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२५ को सर्वेक्षणअनुसार ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)’ मा नेपालले सयमा ३४ अङ्क पाएको छ, जुन अघिल्लो वर्षको प्रतिवेदनमा पनि ३४ नै थियो । समान अंक भए पनि सन् २०२४ मा सर्वेक्षणमा १ सय ८० देश सहभागी भएकाले नेपाल १०७औं स्थानमा थियो, सन् २०२५ मा भने १०९औं स्थान कायम भएको छ ।

 

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठ्माण्डौ- निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको मंगलबारको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने  निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन  दिइएको छ ।

नेकपाको चुनावी घोषणापत्र सार्वजनिक

काठमाण्डौ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी महत्त्वाकाङ्क्षी योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा हिजो पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा पाँच वर्षभित्र रणनीतिक योजना कार्यान्वयन गरेर विशेष उपलब्धि हासिल गरिने विषय उल्लेख छ । प्रतिबद्धतापत्रमा आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिइएको छ । आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ ।

सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा तीनखम्बे आर्थिक नीति अवलम्बन गरिने उल्लेख छ । उत्पादन र रोजगारी सिर्जनाको विषय पनि समेटिएको छ । प्रतिबद्धतापत्रमा आउँदो ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । यो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने लक्ष्य प्रस्तुत गरिएको छ ।

उत्पादन तथा रोजगारी वृद्धि, समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत आउँदो पाँच वर्षभित्र (दोहोरो अङ्कको) १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिने उल्लेख छ । प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक पाँच लाख रोजगारी सुनिश्चित गरिने, विदेशमा रहेका जनशक्तिको ज्ञान, सीप, अनुभव र पुँजीलाई रोजगारी–स्वरोजगारी तथा लगानीका लागि अनुकूल वातावरण बनाउन रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई उद्यमी बनाइने प्रतिबद्धतापत्रमा समेटिएको छ ।

आयोगले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

काठमाण्डौ- आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मतप्रतिशत घटाउनका लागि आयोगले आउँदो फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । सबै ७ सय ५३ वटै पालिकाको ६ हजार ७ सय ४३ वटा वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाकाबारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले मतदाता शिक्षा कार्यक्रममा आवश्यक सहयोगका लागि सातै प्रदेश सरकार, ७ सय ५३ वटै पालिका, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध पनि गरेको छ ।

 

‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने

काठमाण्डौ – आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तालिम पूरा भएका उनीहरुलाई चुनावी सुरक्षार्थ खटाउन लागिएको हो ।

प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि गएको २१ गतेदेखि नेपाली सेना परिचालन भैसकेको छ ।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ ।

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाण्डौ- सरकारले देशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो ।

चालू आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो ।

गएको आर्थिक वर्षमा भने कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ ।

गएको वर्ष त्यहि अवधिमा कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान छ । बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको बितेका ६ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । अघिल्लो वर्षको त्यहि अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत थियो । -रासस

११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य लगातार उकालो लागेको छ । मङ्गलबारको तुलनामा सुन र चाँदी दुवै मूल्यमा सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर ३ लाख ६ हजार ६ सय कायम भएको छ । यस्तै, चाँदी प्रतितोला ५० रुपैँयाले बढेर ५ हजार २९० कायम भएको छ ।

मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र प्रतितोला चाँदी ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रणय दिवस

‘मुलुकको भ्रष्टाचार ज्युँका त्युँ’

 काठमाडौं । अघिल्लो वर्षको तुलनामा नेपालको भ्रष्टाचार नियन्त्रण हुन नसकेको एक सर्वोक्षणले देखाएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(सीपीआई)–२०२५ मा नेपालले पाएको अंग गतवर्ष झै स्थिर छ ।

तर नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकहरूले गरेको सुधारका कारण नेपालको वरीयता दुई स्थानले खस्केर १०७ बाट १०९ पुगेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले गत भदौको जेनजी आन्दोलनअघिको सर्वेक्षणका आधारमा प्रतिवेदन तयार गरेको हो । सर्वेक्षणका बेलामा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने एमाले–कांग्रेसको गठबन्धन सरकार थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न १३ वटा संस्थाहरुले गर्ने सर्भे नतिजाहरुलाई एकमुष्ट विश्लेषण गरेर भ्रष्टाचार अवधारणा सूचकांक निकाल्ने गर्छ । नेपालका लागि भने छ वटा संस्थाहरुले गरेको सर्वेक्षणलाई आधार मानिएको थियो ।

छ वटा संस्थामध्ये तीनवटाले नेपालको हकमा सन् २०२४ मा झै समान अंक दिएका छन् । एउटा क्षेत्रको सर्वेक्षणमा नेपालको अवस्था एक अंकले खस्केको छ भने दुईवटामा एक/एक अंकले सुधार भएको छ । समग्रमा भने नेपालले गतवर्ष झै यसपाली पनि १०० मा ३४ अंक पाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक आशिष थापा सामान्यतयाः तीन अंक भन्दा कमको सुधारलाई अर्थपूर्ण नमानिने बताउँछन् । त्यसमाथि नेपालको स्थान ३४ मात्रै भएकाले पनि पुरानै अंकको निरन्तरताले भ्रष्टाचारमा सुधार भएको देखिँदैन ।

‘तीन अंक वा त्यो भन्दा बढीले सुधार भएमा मात्रै केही नतिजा देखिएको भन्न सकिन्छ, नत्र त्यो अर्थपूर्ण हुँदैन’ उनी भन्छन्, ‘अझ ५० अंकभन्दा कम पाउने मुलुकहरुका लागि भ्रष्टाचार चुनौतीपूर्ण नै हो, त्यो अर्थमा हेर्दा नेपालले सुधार गरेको मान्न सकिँदैन ।’

अपराधबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्ति नियन्त्रणमा नआएको निष्कर्ष सहित फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले गतवर्ष नेपाललाई जोखिमपूर्ण सूची(ग्रे–लिष्ट)मा राखेको थियो । यसैपनि शासकीय सुधारमा अग्रसर हुन नसकेको नेपालको अन्तर्राष्ट्रिय छवि गत भदौपछि जेनजी आन्दोलनपछि थप धुमिल बनेको छ ।

नेकपाको चुनावी प्रतिबद्धतापत्र : पाँच वर्षमा पाँच लाखलाई रोजगारी

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ चरणको आर्थिक सुधारमार्फत समाजवादउन्मुख अर्थतन्त्रको आधार बनाउने नीतिसहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । निजी, सहकारी र सार्वजनिक क्षेत्रबिच सन्तुलित तथा पूरक विकासको मोडलमार्फत समाजवादउन्मुख अर्थतन्त्रको ठोस आधार तयार पार्ने नेकपाको प्रतिबद्धता छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको संक्षिप्त प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य उल्लेख छ । वर्तमान अर्थतन्त्रको संरचनागत संकट सम्बोधन गर्ने तथा समाजवादका आधार तयार पार्ने काम क्रान्तिकारी कदम हुने उल्लेख छ ।

स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २०.१५ बाट घटाएर पाँच प्रतिशतमा झार्ने उल्लेख छ । राज्य संरक्षित कृषि र औद्योगिकीकरणको नीतिमार्फत कृषि तथा उद्योगलगायत उत्पादनका क्षेत्रहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने, उत्पादनमुखी, निर्यात प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आयात निर्भरता क्रमश: न्यूनीकरण गर्ने प्रतिबद्धता जनाइएको छ ।

स्वदेशी निजी क्षेत्रको लगानी क्षमता अभिवृद्धि गर्दै वैदेशिक लगानीलाई उत्पादन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनासँग जोड्दै वृद्धि गर्ने, कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा उत्पादन तथा रोजगारीमा ठोस वृद्धि हासिल गर्ने नेकपाको प्रतिबद्धतापत्रमा छ । साथै, प्राकृतिक स्रोतको विवेकशील उपयोग गर्दै हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने प्रतिबद्धता नेकपाको छ ।

नेकपाले आफ्नो प्रतिबद्धतापत्रमा आर्थिक सुधारका ६ प्राथमिक क्षेत्र पनि उल्लेख गरेको छ । जसमा कृषि तथा ग्रामीण अर्थतन्त्र रूपान्तरणअन्तर्गत व्यावसायिक तथा सामूहिक खेती, उन्नत प्रविधि, सिँचाइ तथा बजार सुनिश्चितता, खाद्यमा पूर्ण निर्भरता, प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग गर्ने उल्लेख छ ।

यस्तै, ऊर्जा तथा पूर्वाधार विकासमा जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत कोरिडोर निर्माण गर्ने, औद्योगिक तथा उद्यमशीलता प्रवर्द्धनमा स्वदेशी उद्योग, नवप्रवर्तन–स्टार्टअप, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र प्रादेशिक विशिष्ट आर्थिक अभियान चलाउने उल्लेख छ ।

प्रतिबद्धतापत्रमा सार्वजनिक तथा निजी स्वामित्वको बाँझो जमिन, नदी–नाला, वन, खनिज र जैविक स्रोतलाई उत्पादनमूलक रूपमा उपयोग गरी युवा जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराइने उल्लेख छ । जनसांख्यिक लाभको उच्च उपयोग गर्ने गरी प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक पाँच लाख रोजगारी सुनिश्चित गरिने प्रतिबद्धता नेकपाको छ ।

निजी क्षेत्र प्रवर्द्धन र साझेदारी कार्यक्रमअन्तर्गत निजी लगानी प्रवर्द्धन र सुरक्षा सुनिश्चित गर्न विधि, संरचना र प्रक्रिया सरल बनाइने, प्रभावकारी एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराइने प्रतिबद्धता छ । यसबाहेक नेकपाले संघ, प्रदेश र स्थानीय तहले निजी क्षेत्रसँग साझेदारीमा पूर्वाधार निर्माण, उद्योग स्थापना र बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । बजारमा प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सिन्डिकेट हटाउने र समान खेलमैदान सुनिश्चित गर्ने, निजी क्षेत्रको मनोबल उच्च राख्न कानुनी सुधार गर्दै स्वदेशी–वैदेशिक लगानी प्रोत्साहनमार्फत वैदेशिक लगानी बढाइने प्रतिबद्धता नेकपाको छ ।

अर्थतन्त्रको पुनर्संरचनाअन्तर्गत उत्पादन लागत कम गर्ने नीति तथा संरचनात्मक सुधार गर्ने, स्वदेशी उत्पादन मूल्य प्रतिस्पर्धी बनाउने, अर्थतन्त्रलाई डिजिटल बनाउने, पहुँच, गति, पारदर्शिता र लागत दक्षता सुधार्ने, अवैध कारोबार नियन्त्रण गर्दै अनौपचारिक क्षेत्रलाई समावेशी रोजगारी र सामाजिक सुरक्षासँग जोड्ने, कृषि र उद्योग क्षेत्रको विकासबाट उत्पादन र रोजगारी बढाउने एवं आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्ने नेकपाको प्रतिबद्धता छ । यस्तै, खाद्यान्नलगायत रणनीतिक वस्तु तथा सेवामा आत्मनिर्भरता सुनिश्चित गर्ने, व्यापार घाटालाई नियन्त्रणमा ल्याउन प्रतिस्पर्धात्मक लाभका उच्च मूल्यका वस्तुहरूको उत्पादन बढाई निर्यात बढाउने र वैदेशिक व्यापारको देशगत विविधीकरण गर्ने प्रतिबद्धतापत्रमा छ ।

संघीय प्रणालीको प्रभावकारी प्रयोगअन्तर्गत संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने, प्रत्येक प्रदेशमा विशेषतामा आधारित औद्योगिक र कृषि करिडोर निर्माण गर्ने, हालसम्म निर्मित पूर्वाधारको सदुपयोग गर्दै तीनै तहका सरकारको सहकार्यमा उत्पादन, रोजगारी, गुणस्तरीय शिक्षा स्वास्थ्य सेवा र सार्वजनिक सेवा प्रवाह नयाँ स्तरमा पुर्‍याउने नयाँ मोडेल लागू गर्ने प्रतिबद्धता नेकपाको छ ।

धनगढीमा केयरटेकर अस्पताल सञ्चालनमा

धनगढी । धनगढीका बासिन्दाहरूलाई सरकारी अस्पतालभन्दा सस्तो र निजी अस्पतालभन्दा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केयरटेकर अस्पताल सञ्चालन सुरु भएको छ। अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उद्घाटन गरेका हुन् ।

उनले सरकारी अस्पतालमा भीडभाड र निजी अस्पतालमा महँगो उपचारले ग्रस्त नागरिकको समस्या समाधान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएको बताए । “यहाँ उपचार खर्च सरकारी अस्पताल सरह, तर सेवा निजी अस्पताल स्तरको छ,” उनले भने ।

नयाँ सञ्चालनमा आएको अस्पतालमा १०० बेड क्षमता, अत्याधुनिक मोड्युलर अपरेसन थिएटर र २४ घण्टे इमर्जेन्सी सेवा उपलब्ध रहेको उनले बताए । सामान्य चिकित्सा, प्रसूति, हाडजोर्नी, छाला रोग, नाक-कान-घाँटी, दन्तचिकित्सा, फिजियोथेरापी, सामान्य र ल्याप्रोस्कोपिक सर्जरी लगायतका विशेषज्ञ सेवा र डिजिटल एक्स-रे, अल्ट्रासाउन्ड जस्ता परीक्षण सुविधा रहेको छ। अस्पतालमा एयरकन्डिसन, पर्याप्त पार्किङ र हरियाली वातावरणको पनि व्यवस्था गरिएको छ।

अस्पतालले निकट भविष्यमा सिटी स्क्यान सुविधा थप्ने, भेन्टिलेटरयुक्त एम्बुलेन्स ल्याउने र आइभिएफ कार्डियोलोजी र क्यान्सर विभाग सञ्चालन गर्ने योजना बनाएको छ। साथै, नर्सिङ कलेज सुरु गरी स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ। सामाजिक दायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिने छ। शाहीले बिरामीलाई सम्मानपूर्वक सेवा, उपचारमा पारदर्शिता र मानव जीवनलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरे।

निर्वाचन आयोगको निर्देशन- फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्नू

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ । मंगलबार बसेको आयोगको बैठकले आउँदो फागुन २१ गते निर्वाचनका लागि दल तथा उम्मेदवार फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरेर बुझाउन भनेको हो । आयोगका अनुसार राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्न भनिएको छ ।

‘संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, बैठकको निर्णयमा भनिएको छ  ।

प्रदेश र स्थानीय तहलाई २ खर्ब अनुदान हस्तान्तरण

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म प्रदेश र स्थानीय सरकारलाई करिब २ खर्ब अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले चालुु आव सोही अवधिमा प्रदेशको विनियोजित अनुदानको ३९.१४ प्रतिशत र स्थानीय तहको ४७.६० प्रतिशत अनुदान हस्तान्तरण भएको हो ।

अर्थ मन्त्रालयले मंगलबार गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा अनुसार संघीय सरकारले प्रदेश सरकारलाई ३८ अर्ब १८ करोड ७२ लाख र स्थानीय तहमा १ खर्ब ५२ अर्ब ४६ करोड ४ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

संघीय सरकारले चालु आवको बजेट मार्फत प्रदेश र स्थानीय तहका लागि चार वटै अनुदान (समानीकरण, ससर्त, समपूरक र विशेष ) गरी कुल ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख विनियोजन गरेको छ । यो विनियाजन संघीय बजेटको २१.२७ प्रतिशत हो ।

चालु आव पुससम्म संघीय सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक अन्त:शुल्कबाट संकलित राजस्वमध्ये प्रदेश र स्थानीय तहलाई १५/१५ प्रतिशतका दरले पुस मसान्तसम्म कुल ६९ अर्ब १५ करोड ५० लाख उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशको कुल २ खर्ब ८७ अर्ब ७० करोड बजेटमध्ये पुससम्म जम्मा १४.१६ प्रतिशतमात्र खर्च भएको छ । उक्त बजेट खर्चमध्ये पूँजीगत खर्चको अवस्था अत्यन्त न्यून ९.३३ प्रतिशत मात्रै छ ।

तर, स्थानीय तहका लागि हस्तान्तरण गरिएको कुल रकममध्ये ५६.८२ प्रतिशत खर्च भएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट बजेटका आधारमा कुल बजेटको २३.९ प्रतिशत खर्च भएको देखिन्छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ कार्यान्वयन, सुत्र प्रणालीको आधुनिकीकरण र राजस्व बाँडफाँटको नयाँ ढाँचा स्वीकृत हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।

तीनै तहमा एकै प्रकृतिका काम गर्ने संगठन हुँदा कार्यमा दोहोरोपना र अनावश्यक वित्तीय भार थपिएको छ भने बजेट अनुशासन सम्बन्धी कानुन अभावले जवाफदेहिता सुनिश्चित गर्न कठिन भएको मन्त्रालयले स्वीकारेको छ ।

प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको रकम खर्च नभई निष्क्रिय रहने तर संघीय सरकारले नगद अभावका कारण सार्वजनिक ऋण लिनुपर्ने विरोधाभासपूर्ण स्थिति छ ।

प्रदेश र स्थानीय तहका स्थायी कर्मचारीहरूको अवकाशपछिको दायित्व भुक्तानीका लागि स्रोत सुनिश्चित नहुँदा भविष्यमा ठूलो वित्तीय भार पर्ने जोखिम र बढ्दो बेरुजु मुख्य समस्याका रूपमा रहेको मन्त्रालयले जनाएको छ ।

संगठन संरचनाको पुनर्संरचना, एकीकृत रोयल्टी व्यवस्थापन कानुन निर्माण, स्वचालित वित्तीय हस्तान्तरण प्रणाली र योगदानमा आधारित अवकाश कोष अनिवार्य गर्नेजस्ता सुधारका क्षेत्र पहिचान गरिएको समीक्षामा उल्लेख छ ।

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला- दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौरव महतले जानकारी दिए। पक्राउ परेकी दिपिका महाकाली–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए। मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन्।

प्रहरी नायव उपरीक्षक महतका अनुसार घटनामा संलग्न रहेका आशङ्का गरिएका ‘अस्मिता बियर बार’का सञ्चालक आशिक, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल फरार रहेका छन्। घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार घर्ती सोमबार राति मृत फेला परेका थिए। -रासस

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।

सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सीडीओ थापाले बताए ।

सडकबाट खसेको बस नदीमा डुबेको थियो ।

न्युजिल्यान्डविरुद्ध यूएईले टस जितेर ब्याटिङ रोज्यो

काठ्माणडौ- आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत जारी समूह ‘डी’ को ११ औं खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले न्युजिल्यान्डविरुद्ध टस जितेको छ।

चेन्नईस्थित रंगशालामा भइरहेको खेलमा यूएईका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नतिजा स्वरूप टेस्ट राष्ट्र न्युजिल्यान्डले सुरुवाती फिल्डिङको निम्तो पाएको छ।

यूएईले टस जितेर ब्याटिङ रोजे पनि सुरुवातमा नै एक विकेट गुमाइसकेको छ। ताजा अवस्थामा यूएईले १ विकेटको क्षतिमा १३ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा कप्तान मुहम्मद वसिम र अलिशान शराफु ब्याटिङ गरिरहेका छन् भने न्युजिल्यान्डका तर्फबाट ज्याकब डफी र म्याट हेनरीले बलिङ सम्हालिरहेका छन्।

बजेटमा समावेश ७४ मध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै कार्यान्वयन

काठमाण्डाै- चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश ७४ महत्त्वपूर्ण बुँदामध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै पूर्णरूपमा कार्यान्वयन भएका छन् । बाँकी ४५ वटा बुँदामा आंशिक प्रगति भएको छ भने २० वटा बुँदामा कुनै पनि काम शुरू हुन सकेको छैन ।

नेपाल उद्योग परिसङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक गरेको बजेट वाच प्रतिवेदनअनुसार उद्योग क्षेत्रसँग सम्बन्धित २७ मध्ये ५ वटा बुँदा मात्र पूर्णरूपमा कार्यान्वयन भएका छन् । यस्तै १४ वटा बुँदामा आंशिक प्रगति देखिएको छ भने ८ वटा बुँदामा शून्य प्रगति रहेको प्रतिवेदनले देखाएको छ ।

ऊर्जा, पूर्वाधार तथा शहरी विकास क्षेत्रका १४ मध्ये ३ वटा बुँदा मात्र पूर्ण कार्यान्वयन भएका छन् भने ८ वटा बुँदामा आंशिक र ३ वटा बुँदामा कुनै प्रगति छैन । कृषि तथा जडीबुटी क्षेत्रमा भने ७ मध्ये ३ वटा बुँदा पूर्णरूपमा कार्यान्वयन भएका छन् ।

गएको आर्थिक वर्षको यही अवधिसँग तुलना गर्दा यस वर्ष बजेट कार्यान्वयनको अवस्था झन् कमजोर देखिएको छ । गएकाे वर्ष १३ प्रतिशत बुँदा पूर्ण कार्यान्वयन भएकोमा यस वर्ष त्यो घटेर १२ प्रतिशतमा सीमित भएको छ ।

प्रतिवेदनअनुसार बजेटमा घोषणा गरिएका कतिपय रणनीतिक तथा दीर्घकालीन महत्त्वका कार्यक्रमहरू नीतिगत र कानूनी अवरोधका कारण अघि बढ्न सकेका छैनन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बजेट निर्माण गर्दा स्पष्ट रूपमा क्षेत्रगत प्राथमिकता तय गर्न जरुरी रहेको बताए ।

सचिव शर्माकाअनुसार अहिले स्वास्थ्य बीमा, स्वास्थ्य चाैकी, ऊर्जा, सडकजस्ता सबै क्षेत्रलाई समानरूपमा प्राथमिकतामा राख्ने प्रवृत्ति देखिन्छ । त्यसैले अब ५ वर्ष विद्युत् विकास वर्ष, अर्को ५ वर्ष सडक पहुँच वर्ष, त्यसपछि साक्षरता वर्ष जस्ता स्पष्ट र चरणबद्ध प्राथमिकता तय गरेर बजेट निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

-न्यूज एजेन्सी नेपाल

 

‘कलुवापुरको त्यो मण्डप, जहाँ जात हार्‍यो मानवताले जित्यो’

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै दन्त्यकथा नै । त्यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ‘मुनामदन’ का ती अमर पंक्तिहरू चरितार्थ भइरहेका थिए “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।”

हुन त देवकोटाले यी पङ्क्तिहरू भोटको तातो र रातो माटोमा मदनको मुखबाट बोलाएका थिए तर यसको वास्तविक प्रतिध्वनि भने यतिबेला कञ्चनपुरको कलुवापुरमा सुनियो । जब बैतडीको पाटन नगरपालिका–८ खोडपे जसुलिखालीका प्रसिद्ध ज्योतिषाचार्य पण्डित गणेशदत्त पन्तले मुग्लानमा पसिना बगाएर फर्किएका चेतरामको नयाँ पक्की घरको मण्डपमा बसेर शङ्ख फुके, तब सदियौँदेखि जकडिएको जातीय विभेद्को एउटा विशाल पर्खाल गल्र्यामगुर्लुम ढल्यो ।

सार्कीले भारतका गल्लीहरूमा वर्षौँसम्म आफ्नो उमेर र ऊर्जा साटेर केही थान रुपैयाँ जम्मा गरे । त्यही रगत–पसिनाको कमाइले कलुवापुरमा एउटा सुन्दर घर ठडियो तर चेतरामको मनमा एउटा चिसो संशय थियो—के यो मेरो घरमा ‘भगवान्’ पस्लान् ? के कुनै ब्राह्मणले मेरो घरको आँगनमा बसेर वेदका ऋचाहरू वाचन गर्लान् ? तर, जब गृह प्रवेशको दिन आयो, दृश्य विल्कुलै फरक र लोभलाग्दो थियो । घरको आँगनमा सेलरोटी, पुरी र हलुवाको बास्ना मगमगाइरहेको थियो । घरको मूल कोठामा कलात्मक ढङ्गले मण्डप सजिएको थियो ।

मण्डपको अग्रस्थानमा भगवान गणेश र त्यसपछि सत्यनारायण भगवानको मूर्ति राखिएको थियो । मण्डपको बीचमा हवन कुण्ड र त्यसको वरिपरि पूजा सामग्री र फलफूलले भरिभराउ थियो ।

त्यहाँ कुनै सङ्कोच थिएन, न त कुनै आत्मग्लानीनै थियो, थियो त केबल भक्ति, श्रद्धा र सामाजिक सद्भावको एउटा उज्यालो तस्बिर । मण्डपको नजिक बसेर पण्डित पन्तले गम्भीर स्वरमा सत्यनारायणको कथा वाचन गरिरहँदा उपस्थित मानिसहरूका आँखा रसाएका थिए । पहिलो पटक नै ब्राम्हणले पूजा गरेको र मन्त्र उच्चारण गरेको त्यस क्षेत्रमा दलित समुदायले सुनेका र देखेका थिए ।

यो दृश्यले प्रष्ट पार्थ्याे–अब सुदूरपश्चिमको माटोमा ‘जडता’ होइन, गतिशीलता’ को नयाँ बिरुवा उम्रेको छ । चेतरामले कहिल्यै सोचेका थिएनन ब्राम्हणले निम्तो स्वीकार गरेर घरमै आएर हिन्दू रितिरिवाज अनुसार प्राणप्रतिष्ठा गर्लान् र सत्यनारायाणको पूजा विधिअनुसार होला भनेर । समाजको डरले ब्राम्हण आउँदैनन् भन्ने उहाँको मनम चिसो रहेको थियो तर ब्राम्हण पन्तले सार्की परिवारको निम्तो स्वीकार गरी घरमै आएर मन्त्रोच्चारणसहित विधिअनुसार पूजा गरेपछि उनी खुसीले गद्गद् भए ।

चेतरामले भने, “जातीय विभेदका सांङला चुडाल्दै पण्डित पन्तले हिन्दू धर्ममा जातीय विभेद् नरहेको कुरा मात्रै प्रष्टयाउनुभएन, धार्मिक ग्रन्थका बारेमा बेलिविस्तार समेत लगाए । यसबाट पूरै परिवारसहित यस क्षेत्रमा बसोवास गर्ने ६० घर घुरी दलित परिवारले धर्म संस्कृतिबारे जान्ने मौका पायौं, सत्यनारायणका कथा बेलिविस्तार सुन्यौँ ।”

यो परिवर्तनको जगमा पण्डित पन्तको २७ वर्ष लामो सङ्घर्ष लुकेको छ । उनी केबल एक पुरोहित मात्र नभई धार्मिक अन्धविश्वास विरुद्धका एक ‘कुशल सिपाही’ पनि हुन् । अढाई दशकअघि जब उनले दलितका घर–दैलोमा छिरेर वैदिक कर्मकाण्ड सुरु गर्दा आफ्नै समुदायबाट ठुलो तिरस्कार भोग्नुपर्‍याे ।

“मैले दलितको घरमा पूजा गर्न थालेपछि मेरा पुराना यजमानहरूले मलाई छोडे मलाई ‘जात फालेको’ भन्दै सामाजिक सञ्जालमा तुच्छ गाली गरियो ज्यान लिनेसम्मका कुरा गरे,“पन्तले विगतको तीतो अनुभव सुनाउँदै भने, “म विचलित भएको छैन, हिन्दू धर्ममा नाममा हुदै नभएको जातभातको कुराको आडम्बर थोपर्ने कार्यका विरुद्धको मेरो विद्रोह जारी रहन्छ, जबसम्म जातभातको छोइछिटो, छुवाछुतको सांङलो चुडालिदैन ।”

उनले एक हजार चार सय ९९ भन्दा बढी कर्मकाण्ड—सप्ताह, सत्यनारायण कथा, नवाह, शिवपुराण र रुद्राभिषेक—दलित बस्तीमा सम्पन्न गरिसकेका छन् । एक हजार एक सय ११ जना शिल्पी समुदायलाई जनै धारण गराएर उनले प्रमाणित गरिदिएका छन् कि संस्कार र शास्त्र कसैको निजी पेवा होइन । कलुवापुरकै भारतको मुम्बैमा मृत्यु भएका संगम नेपालीको घरमै पुगेर पिपल पूजनको कार्य सम्पन्न गराएका छन् । “दलित समुदायलाई पिपल छुन बर्जित गरिएको छ” उनले भने, “त्यसको सट्टामा बैंसको रुखलाई छुन लगाउने परम्परा छ त्यसलाई तोड्नकै लागि पिपल छुने कार्यक्रम गरेका छौँ ।”

समाजमा एउटा डरलाग्दो मिथक थियो–“दलितको घरमा पूजा गरे देउता रिसाउँछन्, अनिष्ट हुन्छ तर पण्डित पन्त यो मिथकलाई शास्त्रकै आधारमा चुनौती दिनुहुन्छ । उनले भने, “कुनै शास्त्रमा दलितले पूजा गर्दा अनिष्ट हुन्छ भन्ने प्रमाण कसैले ल्याउँछ भने म स–परिवार देहत्याग गर्न तयार छु, हुँदै नभएको कुरालाई धर्म शास्त्रसँग जोड्नु न्यायसङ्गत हुँदैन ।”

उनको तर्क छ कि अथर्ववेद, जसलाई कतिपयले ‘दलितको वेद’ भन्दै उपेक्षा गर्छन्, वास्तवमा त्यही वेदले दिएको शिल्प र प्रविधिको ज्ञानले आज संसार चल्दैछ । “जुन वेदले हवाईजहाज र मोबाइल बनाउने ज्ञान दियो, त्यही ज्ञान बोक्ने शिल्पी (दलित) लाई अछूत मान्नु जत्तिको ठूलो पाप अरु केही हुँदैन”, उनले भने ।

पण्डित पन्तले भने, “वैदिक धर्मले जातका आधारमा विभेद गर्दैन । वैदिक धर्मले “वसुधैव कुटुम्बकम्” अर्थात संसार नै एउटा परिवार हो भन्ने मूल सन्देश दिएको छ ।” कुसंस्कार र रुढीवादी परम्परालाई तिलाञ्जलि दिदै सबै जातजातिलाई समानताको अधिकार स्थापित गर्नु पर्नेमा उनले जोड दिए । “समाजलाई विखण्डन गर्ने धार्मिक ग्रन्थको त्याग गर्नुपर्छ” उनले भने, “त्यस्ता धर्म गन्थ्रहरुलाई समय सुहाउँदो रुपमा धर्मगुरुहरुले विद्धानहरुले संशोधन गर्न अवश्यक छ ।”

निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले चेतरामको घरमा प्रसाद ग्रहण गरेर टिका थाप्दै भने, “कानुन कार्यान्वयन गर्न प्रहरी वा प्रशासन मात्र आएर पुग्दैन, जबसम्म नागरिक र पुरोहित आफैँ सचेत हुँदैनन्, समाज परिवर्तनका लागि नागरिक स्वतःस्फूर्त अगाडि बढ्नुपर्छ, त्यसपछि मात्रै जातीय विभेद्को डोरी चुडालिन्छ ।”

ऐरले देश धर्मनिरपेक्ष भएकाले जात, वर्ग र सम्प्रदायका आधारमा विभेद गर्न नपाइने स्पष्ट पारे । “जातीय विभेद् गर्नेहरूलाई दण्डित गर्न कानुन छ,” उनले भने, “विभेद् गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउनु सचेत नागरिकको कर्तव्य हो ।”

पण्डित पन्तको एउटा स्पष्ट योजना छ– नेपालका प्रत्येक हिन्दू घरमा वेद, शालिग्राम, गाईपालन र तुलसीको मठ हुनुपर्छ । उनी भन्छन्, “हिन्दूत्व जोगाउन पहिला समाजबाट विभेद् हटाउनुपर्छ, हामीले मान्छेलाई मान्छेको रूपमा स्विकार्न सकेनौँ भने हामीले गर्ने पूजा र जपको कुनै अर्थ रहँदैन ।” उनले मनुस्मृति र कतिपय पुराणहरूमा रहेका विभेद्कारी अंशहरूलाई समय सुहाउँदो परिमार्जन र संशोधन गर्नुपर्नेमा जोड दिए । साथै, दलित समुदायभित्रै रहेको ‘पानी–भान्सा नचल्ने’ आपसी विभेद्लाई पनि जरैदेखि उखेल्नुपर्ने उनको ठम्याइ छ ।

चेतरामको नयाँ घरको मण्डपबाट सुरु भएको यो यात्रा केबल एउटा जिल्ला वा प्रदेशमा सिमित रहनु हुँदैन अधिकारकर्मी ईश्वर सुनारले भने, “भगवान् मन्दिरको मूर्तिमा मात्र होइन, मान्छेको मन र सद्भावको मण्डपमा पनि बास गर्नुहुन्छ ।”

दलित अगुवा तथा अभियन्ता शिवी लुहारले “धर्मग्रन्थले होइन, धर्मका ठेकेदारहरूले विभेद फैलाएको बताए । “हिन्दू धर्मका ग्रन्थहरू बेद, गीता, महाभारत, रामायणलगायतमा जातीय विभेद छैन” उनले भने, “विभेद् सह्य छैन, यसको अन्त्य हुनैपर्छ ।”

निवर्तमान सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी जातीय विभेद अन्त्यका लागि राजनीतिक दल, राज्य संयन्त्र, धार्मिक अगुवा र नागरिक समाज सबै एकै ठाउँमा उभिनुपर्ने बताउँछन् । “राजनीतिक भाषणमा मात्र समानताको कुरा गरेर हुँदैन, व्यवहारमै लागू हुनुपर्छ,” उनले भने, “दलित समुदायका घरमा पूजा–पाठ, विवाह, सामाजिक संस्कारमा विभेदरहित सहभागिता हुन थालेका पछिल्ला प्रयासहरूले सकारात्मक संकेत दिएका छन, यस्ता पहललाई राज्यले संरक्षण र प्रोत्साहन गर्नु पर्छ ।”

कानुनमा के छ ?

नेपालको संविधान र प्रचलित कानुनले जातीय भेदभाव तथा छुवाछूतलाई गम्भीर सामाजिक अपराधका रूपमा परिभाषित गर्दै सजाय र क्षतिपूर्तिको व्यवस्था छ । नेपालको संविधानले पनि छुवाछुतको कार्यलाई निषेध गरी सम्मान पूर्वक बाच्न पाउने अधिकारको प्रत्याभूत गरेको छ ।

नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको छ भने संविधनको धारा १८ ले समानताको हक प्रदान गरेको छ । संविधानको धारा २४ मा छुवाछुत विरुद्धको हक, सोही धारा २४ (५)ले छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर जघन्य सामाजिक अपराध र कानुन बमोजिम दण्डनिय अपराधका रुपमा लिएको छ ।

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८’ ले यस्तो कार्यमा संलग्न हुनेलाई कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने स्पष्ट व्यवस्था गरेको छ । प्रचलित कानुनी व्यवस्थाअनुसार जातीय भेदभाव वा छुवाछूतको कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो कसूर गरेमा निजलाई थप ५० प्रतिशत सजाय हुने ऐनमा उल्लेख छ । त्यसैगरी, अदालतले कसूरदार ठहरिएका व्यक्तिबाट पीडितलाई रु २५ हजारदेखि एक लाखसम्म क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको छ । क्षतिपूर्तिका अतिरिक्त पीडितलाई कुनै हानी–नोक्सानी पुगेको भएमा उपचार खर्च वा थप मनासिब रकम समेत भराइने व्यवस्था छ ।

कानुनले सामाजिक बहिष्कार, सार्वजनिक सेवा वा समारोहमा बन्देज, पेशा वा व्यवसायमा रोक र धार्मिक कार्यबाट वञ्चित गर्ने जस्ता कार्यलाई भेद्भावका रूपमा परिभाषित गरेकाले यस्तो कार्य गर्न मद्दत गर्ने वा उक्साउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था रहको अधिकारकर्मी सुनार बताउँछन् ।

जातीय भेदभाव वा छुवाछूत भएको अवस्थामा पीडितले घटना भएको मितिले ९० दिनभित्र नजिकैको प्रहरी कार्यालयमा उजुरी दिएमा प्रहरीले उजुरी दर्ता गर्न नमानेमा जिल्ला सरकारी वकिल कार्यालय वा राष्ट्रिय दलित आयोगमा उजुरी दिन सकिने र मुद्दा दर्ता भएको ९० दिनभित्र अदालतले फैसला गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पीडितले न्याय प्राप्तिका लागि सम्बन्धित जिल्ला कानुनी सहायता समिति वा जिल्ला अदालतमा रहेका वैतनिक कानुन व्यवसायीमार्फत निःशुल्क कानुनी सहायता समेत प्राप्त गर्न सक्ने व्यवस्था रहेको उनले बताए । -रासस

 

खोज्नुहोस