प्रदेशहरूको कार्यसम्पादन चिन्ताजनक

काठमाडौं ।  कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारहरूको अवस्था चिन्ताजनक देखिएको छ भने स्थानीय तहहरूको अवस्था पनि उत्साहजनक छैन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनले विकासका ‘रोल मोडेल’ मानिने महानगर र उपमहानगरपालिकाको कार्यसम्पादन पनि अपेक्षाअनुसार सन्तोषजनक देखाएको छैन ।

आयोगले तोकिएका विभिन्न सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । प्रदेश सरकारहरूको ११ वटा तथा स्थानीय तहको १७ वटा सूचकका आधारमा मूल्यांकन गरिएको छ । प्राप्त नतिजाअनुसार प्रदेशहरूको औसत अंक ५० भन्दा कम रहेको छ । महानगरपालिकाहरूको औसत अंक ८० भन्दा तल र उपमहानगरपालिकाहरूको ६५ भन्दा कम देखिएको छ ।

आयोगले कार्यविधिबमोजिम विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहहरूको मूल्यांकन गर्छ । वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले कार्यविधि र निर्धारण गरिएका सूचकका आधारमा प्रदेश तथा स्थानीय तहको मूल्यांकन गरिएको छ ।

उनका अनुसार सम्बन्धित तहहरूले पठाएको विवरणकै आधारमा आयोगले मूल्यांकन गरेको छ । ‘यो मूल्यांकनले प्रदेश र स्थानीय तहले कस्तो काम गरिरहेका छन् भन्ने संकेत गर्छ,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘विगतको तुलनामा केही सुधार देखिए पनि अझै व्यापक सुधार आवश्यक देखिन्छ ।’

मूल्यांकनका आधारमा अनुदान घटबढ हुन सक्ने 
प्रदेश र स्थानीय तहहरूले मूल्यांकनबापत प्राप्त गरेको अंकका आधारमा अनुदानमा घटबढ हुन सक्ने आयोगको भनाइ छ । आयोगका कार्यवाहक अध्यक्ष गुरुङले मूल्यांकनको नतिजाले प्रदेश र स्थानीय तहलाई प्रदान हुने अनुदानमा असर पार्ने बताए । ‘राम्रो अंक पाउने पालिकालाई संघ र प्रदेशबाट जाने तथा प्रदेशलाई संघबाट अनुदान बढ्न सक्छ भने कम पाउनेको घट्न सक्छ,’ उनले भने ।

आसन्न निर्वाचन देश ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाई : प्रचण्ड

बागलुङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको निर्वाचन देश जलाएर ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाई भएको बताएका छन् ।

बागलुङको बुत्र्तिबाङमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आसन्न निर्वाचनमा उम्मेदवारहरुबीच मात्र नभई देशलाई विध्वंस गर्ने तत्व, प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र सबैखाले अतिवाद र विध्वंशकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनु पर्छ भन्ने प्रवृत्तिबीच प्रतिष्पर्धा हुने बताए ।

भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको बताउँदै उनले त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर संकटबाट जोगाएको दावी गरे ।

सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्ने मात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेन जस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी थियो  ।

‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेन जस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,’ उनले भने, ‘त्यो सफल भएको भए अझ ठूलो दुर्घटना हुन्थ्यो । त्यसबाट बचाउन हामीले सहजीकरण गर्‍यौँ ।’

उक्त घटनाबाट संविधान केही हदसम्म घाइते भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो। युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे । उनले यो चुनावलाई राष्ट्रको वृहत्तर हित, स्वाधीनता, स्वतन्त्रता र नेपाली नागरिकको आत्मनिर्णयको अधिकार रक्षा गर्ने लडाईंका रुपमा लिन समेत आग्रह गरे ।

‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुर र बङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो ।

घरपालुवा सङ्गुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइनफिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ ।

पशुको शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने गर्दछन् । यसबाट पशुको मृत्युदर उच्च हुने भए पनि पशुबाट मानिसमा भने नसर्ने मन्त्रालय अन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा सञ्जीव पण्डितले बताए ।

उनका अनुसार केन्द्रले सङ्क्रमण फैलिन नदिन किसानलाई आवश्यक सतर्कता अपनाउन सन्देशमूलक सूचना प्रवाह गरेको छ । यस्ता लक्षण भएका सुङ्गर, बङ्गुर तथा त्यसका पाठापाठी वा अन्य पशुको सम्पर्कमा आएमा मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने क्रममा सजिलै सङ्क्रमण फैलिने जोखिम भएकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे।

तीन वर्षअघि नेपालमा पहिलो पटक अफ्रिकन स्वाइनफिभरको सङ्क्रमण फेला परेको केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा दश हजार भन्दाबढी सुङ्गुर तथा बङ्गुरमा सङ्क्रमण फैलिएको जनाइएको छ ।

इटालीविरुद्ध नेपाल १२३ रनमै अलआउट

काठ्माण्डौ- आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटिएको हो।

नेपालको सुरुवात आक्रामक रहे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न नेपाली ब्याटरहरू चुके। ओपनर कुशल भुर्तेल ५ रनमै आउट भए पनि कप्तान रोहित पौडेल र आसिफ शेखले पारी सम्हाल्ने प्रयास गरेका थिए।

कप्तान रोहितले मात्र १४ बलमा २ छक्कासहित २३ रनको विस्फोटक इनिङ्स खेले। त्यस्तै अर्का ओपनर आसिफ शेखले २० रन जोडे।

मध्यक्रममा आरिफ शेखले सर्वाधिक २७ रन जोड्दै नेपाललाई सय रनको आँकडा पार गराए।

दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए। तर, एक समय १३.४ ओभरमा ९३/३ को बलियो स्थितिमा रहेको नेपालले त्यसपछिको ३० रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि सस्तैमा समेटिन पुग्यो। अन्त्यतिर करण केसीले ११ बलमा १८ रन जोड्दै नेपाललाई १२० रनको पार गराउन मद्दत गरे।

लोकेश बम (३), गुलशन झा (३), नन्दन यादव (०) र ललित राजवंशी (०) ले दोहोरो अंकमा रन जोड्न सकेनन् भने सन्दीप लामिछाने ५ रनमा आउट भए।

इटालीका बलरहरूले वानखेडेको पिचमा नेपाली ब्याटरहरूलाई कडा चुनौती दिए। इटालीका लागि क्रिशन कालुगामेगे सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा मात्र १८ रन खर्चेर ३ विकेट लिए।

त्यस्तै, बेन मनेन्टीले अत्यन्तै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट चट्काए। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १-१ विकेट लिए। नेपालका दुई ब्याटर नन्दन यादव र ललित राजवंशी रन आउट हुन पुगेका थिए।

यसअघि पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको नेपाललाई सुपर-८ को दौडमा कायम रहन यो खेल जित्नैपर्ने दबाब छ।

अब केही बेरमा इटालीले १२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।

प्रतिनिधिसभा निर्वाचनः एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ, १२ निर्वाचन क्षेत्रमा पठाइयो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । बुधबारसम्म ५३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो ।

आज थप पाँच जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उनले बताए । हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्पmको मतपत्र छपाइ सुरु भएको हो ।

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाइयो मतपत्र

छपाइ भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । आयोगले आज कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए ।

 

कार्यसम्पादन मूल्याङ्कनमा कुनै पनि प्रदेशले ५० अङ्क ल्याएनन्

काठमाण्डाै- प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार सुदूरपश्चिम प्रदेशले ४५.७० अङ्क प्राप्त गरेर पहिलो भएको हो ।

दोस्रो स्थानमा रहेको काेशीले ४४.२९ अङ्क पाएको छ भने तेस्रो स्थानमा रहेको बागमतीले ४२.४६ अङ्क पाएको छ । सबैभन्दा कमजोर मधेशले २७.२८ अङ्क मात्रै पाएको छ ।

कुनै पनि प्रदेशले ५० अङ्क पनि पुर्‍याउन नसकेका कारण सबै प्रदेशको कार्यसम्पादन कमजोर देखिएको छ ।

यो मूल्याङ्कन आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा लिइने आधारमध्ये एक हो । धेरै अङ्क ल्याउने सरकारले बढी अनुदान पाउने गर्छन् ।

आयोगले प्रदेशमा ११ सूचकका आधारमा मूल्याङ्कन गरेको हो । प्रदेशको पहिलो सूचकमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ । यस्तै कानूनअनुसार सशर्त अनुदान दिए/नदिएको, विनियोजन गरिएको बजेट खर्चको अवस्थालगायतका सूचक छन् ।

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ८.९७  अंकले बढेर २६७१.०७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ मा कारोबार भएको थियो । आज होटल्स, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज मध्य भोटेकोशीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोको ९.८८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कालिन्चोक दर्शनको सबैभन्दा बढी ७.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनगाडीको ७० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ४३ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु

बंगलादेशमा बिहीबार भइरहेको निर्वाचन क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।

खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको झडपमा बिएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए।

स्थानीय बिएनपी नेताहरूले झडप क्रममा धक्का लागेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन्।

घटना बिहीबार बिहानको हो। खुलना महानगर प्रहरी (केएमपी) का आयुक्त मोहम्मद जहीदुल हसनले बिबिसी बांग्लासँग घटनाको पुष्टि गरेका छन्।

उनका अनुसार बिहान दुवै पक्षबीच भनाभन भएको थियो। त्यस क्रममा कोचीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यसैबीच खुलना–२ निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातका पक्षमा प्रचार गर्न थालेका थिए। त्यस क्रममा कोचीले उनलाई रोकेपछि विवाद सुरू भएको थियो।

मोनीका अनुसार विवाद क्रममा कोचीलाई धक्का लागेर उनी रूखमा ठोक्किएका थिए। त्यसपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको हो।

उनलाई खुलना सिटी मेडिकल कलेज अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

प्रहरीले भने बिएनपी नेताको रूखमा ठोक्किएर चोट लागेको थियो वा थिएन भन्नेबारे हालसम्म स्पष्ट रूपमा केही बताएको छैन।

विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा निर्वाचन भएको हो।

देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको बंगलादेशबाट प्रकाशन हुने अनलाइन डेली स्टारले जनाएको छ।

त्यहाँको निर्वाचन आयोगका अनुसार मतदानको समय अपराह्न साढे ४ बजेसम्मका लागि तोकिएको छ।

मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेको र जसमा ६ करोड ४८ लाख पुरूष र ६ करोड २८ लाख महिला छन्।

संसदको प्रतिनिधि छनोटसँगै जुलाई नेसनल चार्टरसम्बन्धी जनमत संग्रहमा पनि मतदान भइरहेको ‍छ। उक्त चार्टरको परिणामले आगामी वर्षहरूमा शासन प्रणालीको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

यसमा संविधान संशोधन, कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन मजबुत बनाउने व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, मानवअधिकार र जबाफदेहिता सुनिश्चित गर्ने प्रावधान र भ्रष्टाचार नियन्त्रण तथा संस्थागत पारदर्शीता अभिवृद्धि गर्ने विषयहरू समावेश छन्।

चुनावी मैदानमा ५० दलका १ हजार ७५५ जना उम्मेदवार छन्। त्यस्तै, २७३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिनिधि सभाका कुल ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन हुन लागेको हो। एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ।

निर्वाचन शान्तिपूर्ण बनाउन देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको पनि डेली स्टारले जनाएको छ।

डेली स्टारका अनुसार १ लाख ३ जना सेना, ५ हजार नौसेना, ३ हजार ७३० वायुसेना, ३७ हजार ४५३ बोर्डर गार्ड बंगलादेश, ३ हजार ५८५ कोस्ट गार्ड, १ लाख ८७ हजार ६०३ प्रहरी, ९ हजार ३४९ र्‍यापिड एक्शन बटालियन, ५ लाख ७६ हजार ४८३ अन्सार तथा भीडीपी, १ हजार ९२२ बीएनसीसी क्याडेट तथा ४५ हजार ८२० चौकीदार परिचालन गरिएका छन्।

यस अतिरिक्त १ हजार ५१ कार्यकारी मजिस्ट्रेटलाई फेब्रुअरी १४ सम्मका लागि मैदानमा खटाइएको छ।

सशस्त्र बललाई ‘इन एड टु सिभिल पावर’ प्रावधानअन्तर्गत नागरिक प्रशासनलाई सहयोग गर्ने गरी परिचालन गरिएको छ।

प्रहरी महानिरीक्षक बहारुल आलमका अनुसार प्रत्येक मतदान केन्द्रमा स्थायी सुरक्षा, बाहिर मोबाइल गस्ती टोली र आवश्यक परे हस्तक्षेप गर्न स्ट्राइकिङ युनिट तयारी अवस्थामा राखिएको छ। प्रहरीका १ लाख ८७ हजार ६०३ जना चुनावी सुरक्षामा संलग्न छन्।

कडा सुरक्षाबीच मतपत्र तथा निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्‍याइएको छ भने मतदान र मतगणनाको निगरानीका लागि हजारौं कर्मचारी परिचालन गरिएका छन्।

यसपालिको निर्वाचनमा मुख्यतः तारिक रहमान नेतृत्वको बिएनपी र जमात–ए–इस्लामी नेतृत्वका दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ।

कम्तिमा १ हजार ४०० जनाको ज्यान जाने गरी भएको दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।

सन् २०२४ को जुलाइमा सुरू‍ भएको आन्दोलन हिंसात्मक बन्दा तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भागेकी थिइन्। उनी अहिले भारतमा छिन्।

मुख्य सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचनको दिनलाई नयाँ बंगलादेशको जन्मदिनका रूपमा मनाउन आह्वान गरेका थिए। उनले मतदाताले नै देशको भविष्यको इतिहास लेख्ने बताएका छन्।-एजेन्सी

वर्ल्ड स्कलर्स कप २०२६ मा प्रिमियरको ऐतिहासिक सफलता

काठमाडौं- प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ को काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा प्रिमियरले सर्वोच्च व्यक्तिगत पुरस्कार, उत्कृष्ट टोलीको उपाधि तथा कुल ७१८ पदक र १८ ट्रफी जित्दै उल्लेखनीय प्रदर्शन गरेको हो।

प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले प्रतियोगिताकै सर्वोच्च व्यक्तिगत सम्मान प्राप्त गर्दै नयाँ कीर्तिमान बनाएकी छन्। यो उनको लगातार चौथो पटक प्राप्त गरिएको सर्वोच्च व्यक्तिगत पुरस्कार हो। यसअघि उनले काठमाडौं क्षेत्रीय चरण २०२५, बैंककमा सम्पन्न विश्वस्तरीय चरण २०२५ तथा अमेरिकाको येल विश्वविद्यालयमा आयोजना भएको च्याम्पियन अफ च्याम्पियन्स प्रतियोगिता २०२५ मा पनि यही सम्मान हात पारेकी थिइन्। एउटै विद्यार्थीले लगातार चार पटक यस्तो उच्चस्तरीय सम्मान प्राप्त गर्नु वर्ल्ड स्कलर्स कपको इतिहासमै दुर्लभ उपलब्धि मानिन्छ।

टोलीतर्फ पनि प्रिमियरले उत्कृष्ट टोलीको उपाधि जित्न सफल भएको छ। रिशित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्की सम्मिलित टोली प्रतियोगिताको सबैभन्दा बढी अंक ल्याउने टोली बनेको हो। टोली सदस्य रिशित मैनालीले ९ स्वर्ण, ९ रजत पदक र ४ ट्रफी जिते भने दृश्य रत्न शाक्यले ८ स्वर्ण र ८ रजत पदक प्राप्त गरे। नृप्शा कार्कीले १२ स्वर्ण, ३ रजत पदक र १ ट्रफी जित्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिइन्।

श्रुति श्रेष्ठको नेतृत्वमा रहेको अर्को टोली-आरव कृष्ण श्रेष्ठ र रैय्या कोइरालासहित—ले २२ स्वर्ण, १२ रजत पदक र ५ ट्रफी जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारी सम्मिलित टोलीले १७ स्वर्ण, ६ रजत पदक र ३ ट्रफी जित्न सफल भयो।

सम्पूर्ण प्रतियोगितामा प्रिमियरका विद्यार्थीहरूले जम्मा ३१३ स्वर्ण र ३८७ रजत पदकसहित १८ ट्रफी जितेका छन् । यो काठमाडौं क्षेत्रीय प्रतियोगिताको इतिहासमै सबैभन्दा प्रभावशाली प्रदर्शनमध्ये एक मानिएको छ। व्यक्तिगत र टोली दुवै विधामा शीर्ष उपाधि प्रिमियरले जित्नुले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको बौद्धिक क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ।

सन् २०१९ मा नेपालमा पहिलो पटक वर्ल्ड स्कलर्स कप प्रतियोगिता भित्र्याउने तथा काठमाडौं क्षेत्रीय चरणको निरन्तर आयोजक विद्यालयका रूपमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।

यस ऐतिहासिक सफलतापछि प्रिमियरको टोली अब आगामी विश्वस्तरीय चरणको तयारीमा जुटेको छ। विद्यालयले यस उपलब्धिले गहिरो सोच, आत्मविश्वास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम विद्यार्थी उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको जनाएको छ।

इटालीले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ- आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीको सामना गर्दैछ ।

मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इटालीले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

आजको खेलमा नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

कञ्चनपुर- प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारले सामाजिक सञ्जाल तथा ‘डिजिटल प्लेटफर्म’ लाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन् ।

छोटो समयमा धेरै मतदातासम्म सन्देश पुर्‍याउन सकिने प्रभावकारी माध्यमका रूपमा टिकटक, फेसबुक, ट्विटर (एक्स) लगायतका प्लेटफर्म प्रयोग गर्दै उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका हुन् । तत्कालीन झलारी गाविसका अध्यक्ष टेकबहादुर हमाल अहिले सामाजिक सञ्जाल नागरिकका लागि अभिव्यक्ति स्वतन्त्रताको प्रयोग, सार्वजनिक बहसमा सहभागिता तथा सरकारलाई जबाफदेही बनाउन दबाब सिर्जना गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताउँछन् ।

“पहिला हाम्रा जमानाका जस्तो माइकिङ गर्ने, भित्तेलेखन गर्ने र पर्चा–पम्पलेट वितरण गर्ने, जताततै टाँस्ने कार्य हुन्थ्यो, यस पटकको निर्वाचनमा खासै पहिलाको जस्तो छैन”, उनले भने, “अधिकांश उम्मेदवारले डिजिटल प्लेटफर्मलाई नै चुनावी प्रचारको प्रमुख माध्यम बनाएका छन् ।”

उम्मेदवार घरदैलोमा प्रत्यक्ष नपुगे पनि सामाजिक सञ्जालमार्फत मतदाताले उनका प्रतिबद्धता र एजेण्डाबारे मोबाइलमै जानकारी पाउन थालेको उनको भनाइ छ । उनका अनुसार सामाजिक सम्बन्ध विस्तारदेखि उद्यमशीलता र डिजिटल अर्थतन्त्रसम्मका गतिविधि सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेका छन् । यही परिवेशलाई आत्मसात गर्दै कञ्चनपुरका उम्मेदवारहरूले पनि आफ्नो चुनावी अभियान डिजिटल माध्यममा केन्द्रित गरेका हुन् । यसले चुनावी प्रचारप्रसार खर्चलाई मितव्ययी बनाउन सहयोग पुगेको उनले बताए ।

जिल्लाका निर्वाचन क्षेत्र नं १, २ र ३ मा उम्मेदवारी दिएका अधिकांश दल तथा स्वतन्त्र उम्मेदवारले दैनिक कार्यक्रम, घरदैलो भेटघाट, कार्यकर्ता भेला, अन्तरक्रिया तथा सभाका गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । पूर्व शिक्षक राजबहादुर साउदका अनुसार समय र स्रोतको सीमितताका कारण सबै उम्मेदवार मतदाताको घरदैलोमा पुग्न नसक्ने भएकाले डिजिटल प्लेटफर्म प्रचार प्रसारको वैकल्पिक र प्रभावकारी साधन बनेको छ ।

उम्मेदवारले घोषणापत्रका मुख्य बुँदा, विकासका एजेण्डा तथा प्राथमिकताका विषयलाई भिडियो, पोस्टर, प्रत्यक्ष प्रसारण (लाइभ) र सन्देशमार्फत सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका छन् । “विशेषगरी युवावर्गलाई लक्षित गरी छोटा भिडियो सामग्री निर्माण गरेर टिकटक र फेसबुक रिल्समार्फत प्रचार गर्ने प्रवृत्ति बढेको छ”, साउदले भने ।

नेपाली कांग्रेसका प्रचारप्रसार समितिका सदस्य तथा प्रदेश (ख)का सहसचिव हबलदार चौधरीका अनुसार सामाजिक सञ्जालमार्फत कम खर्चमा बढी मतदातासम्म पुग्न सकिने भएकाले डिजिटल प्रचारलाई प्राथमिकता दिइएको हो ।

“परम्परागत सभा–जुलुस र घरदैलो कार्यक्रम आवश्यक छन्, तर सबै ठाउँमा एकैपटक थोरै समयमा पुग्न सम्भव हुँदैन”, उनले भने, “सामाजिक सञ्जालमार्फत एकै सामग्री हजारौँ मतदातासम्म तत्कालै पु¥याउन सकिन्छ, त्यही भएर यसको प्रयोगलाई प्रचारप्रसारका कार्यमा जोड दिएका छौँ ।”

सामाजिक सञ्जालले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरेको उनको भनाइ छ । उनले भने, “मतदाताले टिप्पणी, सन्देश वा लाइभ कार्यक्रममा प्रश्न राखेर जिज्ञासा व्यक्त गर्ने गरेका छन् भने उम्मेदवारहरूले त्यसको जवाफ दिँदै आफ्ना योजना स्पष्ट पार्ने गरेका छन् ।” यसले चुनावी बहसलाई थप खुला र सहभागितामूलक बनाएको उनको भनाइ छ ।

सामाजिक सञ्जालको प्रयोगसँगै चुनौती पनि देखिएका छन् । भ्रामक सूचना, अपुष्ट सामग्री र प्रतिस्पर्धीविरुद्ध नकारात्मक प्रचार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्वाचन कार्यालयले आचारसंहिता पालना गर्न सचेत गराउँदै आएको छ । सामाजिक सञ्जाल अहिले मनोरञ्जनको माध्यम मात्र नभई राजनीतिक, सामाजिक तथा आर्थिक गतिविधिको सशक्त प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ ।

विशेषगरी, सहरी क्षेत्रमा बसोबास गर्ने युवा तथा डिजिटल पहुँच भएका मतदातासम्म सन्देश पुर्‍याउन यो प्रभावकारी माध्यम बनेको छ । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये धेरैले आफ्ना आधिकारिक फेसबुक पेज, टिकटक एकाउन्ट र अन्य डिजिटल माध्यम सक्रिय बनाएका छन् । कतिपयले पेशेवर डिजिटल टोली गठन गरी सामग्री निर्माण र प्रचार रणनीति तय गरेका छन् भने केही उम्मेदवारले स्वयं सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद गरिरहेका छन् ।

डिजिटल प्रचारप्रसारको प्रभाव बढ्दै गए पनि ग्रामीण क्षेत्रमा प्रत्यक्ष भेटघाटको महत्व भने कायमै छ । त्यसैले उम्मेदवारहरूले भौतिक कार्यक्रम र डिजिटल प्रचारलाई सन्तुलित रूपमा अघि बढाइरहेका छन् । पारदर्शिता, जिम्मेवारी र आचारसंहिताको पालना गर्दै सामाजिक सञ्जाल प्रयोग गर्न सके यसले लोकतान्त्रिक प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

– रासस

टेस्ट राष्ट्रलाई घरेलु मैदानमा खेलाउने क्यानको योजना

काठमाडौँ। भारतमा जारी आइसिसी टी-ट्वान्टी विश्वकपको पहिलो खेलमा नेपाल दुईपल्टको विश्व विजेता इङ्ल्यान्डसँग मात्र चार रनले पराजित भएको छ। जितको निकै नजिक पुगेर पनि पराजित भएपछि नेपाली टोलीमा ठूला राष्ट्रसँग खेल्ने अनुभवको कमी रहेको चर्चा हुन थालेको छ।

पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले पनि आफूहरूले टेस्ट राष्ट्रहरूसँग खेल्ने पर्याप्त अवसर नपाएको कुरालाई सहजै स्वीकार गरेका छन्। गत विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको नेपालले यसपटक पनि त्यस्तै नियति भोग्नुपरेको छ। कप्तान रोहितले भारत, अस्ट्रेलिया र इङ्ल्यान्डजस्ता बलिया टोलीलाई टियु क्रिकेट मैदानमा स्वागत गर्न नेपाली समर्थकहरू आतुर रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले सन् २०२२ देखि नै टेस्ट राष्ट्रहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन्। उनले श्रीलंका र अफगानिस्तानजस्ता टोलीलाई ल्याउन पहल गरिए पनि व्यस्त कार्यतालिकाका कारण योजना सफल हुन नसकेको बताए।

एसिया कपका क्रममा श्रीलंकाली बोर्ड र एसिसीका पदाधिकारीसँग भएका छलफल सकारात्मक रहेकाले भविष्यमा सहकार्य हुनेमा उनी विश्वस्त छन्। गत वर्ष वेस्ट इन्डिजसँगको शृङ्खलाले खेलाडीको आत्मबल बढाएको उल्लेख गर्दै सिंहले कप्तान रोहितले भनेझैँ ठूला राष्ट्रलाई नेपाल ल्याउन थप पहल गरिने प्रतिबद्धता जनाएका छन्।

मुम्बईको वाङ्खेडे स्टेडियममा नेपाली समर्थकको उत्साहजनक उपस्थिति देखेर आइसिसी र एसिसीका पदाधिकारीहरूले समेत नेपालको क्रिकेट क्रेजको प्रशंसा गरेका छन्।

इङ्ल्यान्डविरुद्ध नेपाली खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले विश्व क्रिकेटको नजर नेपालमा परेको र यसले नेपाली खेलाडीलाई ठूला फ्रेन्चाइज लिगमा अवसर दिलाउन मद्दत पुग्ने सिंहको विश्वास छ। उनले नेपाली टोलीमा क्षमता रहेको र यदि नेपाल सुपर आठमा पुग्न सके नेपाली क्रिकेटले ठूलो फड्को मार्ने दाबी गरे। समूह ‘सी’ मा रहेको नेपालले अब बिहीबार आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

 

रक्ताम्य जुत्ता चुनाव चिह्न बनाएकोमा आयोगले निकोलससँग माग्यो दोस्रोपटक जवाफ

काठमाडौं- नेपाल जनसेवा पार्टीका उम्मेदवारहरूले निर्वाचन आयोगमा दर्ता भएको भन्दा फरक चुनाव चिह्न प्रयोग गरेर चुनाव प्रचार गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

जनसेवा पार्टीको चुनाव चिह्न सेतो र कालो रंगको जुत्ता हो । तर जेनजी आन्दोलनको ‘आइकन’ बनेको रक्ताम्य जुत्ताको प्रयोग गरेर चुनाव प्रचार गरेपछि आयोगको स्पष्टीकरण सोधेको हो ।

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार निकोलस भूसालले गलत चुनाव चिन्ह् प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । त्यसपछि उनीमाथि स्पष्टीकरण सोधेको हो ।

‘आयोगमा दर्ता भएको भन्दा फरक चुनाव चिह्नको प्रयोग गरेर प्रचार गरेपछि दुई पटक स्पष्टीकरण सोधेको छ । पहिलो पटक सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि दोस्रो पटक स्पष्टीकरण सोधेका छौं,’ आयोगका एक अधिकारीले भने ।

पहिलो स्पष्टीकरणको जवाफमा भूसालले जेनजी आन्दोलनको प्रतिक बनेकाले सहमतिमा नै जुत्ताको प्रयोग गरेको भनेका छन् । ‘रक्ताम्य जुत्ता वास्तविक तस्वीर हो । जुन मानिसको भावनासँग जोडिएको छ । यसरी प्रयोग गर्न मिल्दैन,’ आयोगका ती अधिकारीले भने, ‘दोस्रो स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएमा आयोगले कारबाही गर्छ ।’

आयोगले रक्ताम्य जुत्ताको फोटोलाई चुनाव चिह्न राखेर प्रचार प्रसार गर्नमा रोक लगाउन सक्ने छ ।

जेनजी आन्दोलनको घाइते प्रकाश बोहराले उम्मेदवारहरूले गलत ढंगले जेनजी आन्दोलनको प्रतिक बनेको जुत्ताको फोटो प्रयोग गरेको भन्दै आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

त्यसो त रक्ताम्य जुत्ताको तस्वीर भूसालले मात्र होइन भक्तपुर–२ बाट उम्मेदवारी दिएकी जानुका पाठक (शोभा)ले पनि प्रयोग गरेकी छिन् । आयोगका अनुसार दर्ता भएको र आयोगले दिएको चुनाव चिह्नबाहेक अर्को चुनाव चिह्न राखेर प्रचार प्रसार गर्न मिल्दैन । अनलाइनखबरबाट

 

वित्त आयोगको मुल्यांकनमा सुदूरपश्चिम र कोशी सरकार उत्कृष्ट

काठमाडौं- प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न ११ वटा सूचकका आधारमा गरेको अध्ययन तथा प्राप्त विवरणले यो वर्ष कार्य सम्पादनमा सुदूरपश्चिम सरकार पहिलो र कोशी दोस्रो नम्बरमा पर्न सफल भएका छन् ।

सुदूरपश्चिमले ४५ दशमलब ७० नम्बर पाएर पहिलो हुँदा कोशीले ४४ दशमलब २९ प्रतिशत नम्बर पाएको छ । त्यस्तै तेस्रो नम्बरमा वागमतीले ४२ दशमलब २६ अंक पाएको छ ।

गण्डकीले ३७ दशमलब ९१, लुम्बिनीले ३४ दशमबल ७१, कर्णालीले ३२ दशमलब २६ र मधेशले २७ दशमलब २८ अंक पाएका छन् ।

आयोगका अध्यक्ष जुद्ध गुरुङका अनुसार लेखापरीक्षणले औंल्याएको बेरुजु, सशर्त अनुदान, कर बाँडफाँट, राजश्व परिचालनलगायत विभिन्न ११ वटा सूचकका आधारमा कार्य सम्पादन अंक प्रदान गरिएको हो ।

नेपालकी सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त

काठमाडौं- एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ ।

श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो ।

श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । एडीबीमा हालसम्म उच्च नेतृत्वमा पुग्ने थोरै नेपाली कर्मचारीमध्ये उनी एक हुन् । उनले उपमहानिर्देशक पद ३ अप्रिल २०२५ देखि सम्हालेकी थिइन् ।

यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिव लगायत वरिष्ठ पदमा काम गरेकी थिइन् ।

त्यसअघि दक्षिण–पूर्व एसियाली क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापार सम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा पनि काम गरिसकेकी छिन् ।

‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु,’ श्रेष्ठले भनिन्, ‘समावेशी र दिगो विकासमा सहयोग पुर्‍याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।’

श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको कार्य अनुभव छ । अर्थशास्त्र विषयमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेकी श्रेष्ठले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।

श्रेष्ठले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये एडीबीमै २३ बिताएकी छिन् । एडीबीमा उनले मध्य र पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा कार्य सञ्चालन सम्बन्धी अनुभव हासिल गरेकी छिन् ।

एडीबी एसिया र प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो वृद्धिलाई समर्थन गर्ने एक प्रमुख बहुपक्षीय विकास बैंक हो । सदस्य राष्ट्रहरू र साझेदारहरूसँग मिलेर जटिल चुनौती समाधान गर्दै, एडीबीले जीवनस्तर उकास्न, गुणस्तरीय पूर्वाधार निर्माण गर्न र हाम्रो ग्रहको रक्षा गर्न नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारी उपयोग गर्दछ ।

सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका हुन् ।

टी–२० विश्वकपः श्रीलंकाले ओमानलाई दियो २२६ रनको विशाल लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’का श्रीलंका र ओमानबीचको खेल जारी छ ।

घरेलु टोलि श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ । पल्लेकेले मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ५ विकेटको क्षतिमा २२५ रन जोड्यो । तीन खेलाडीले अर्धशतक बनाउँदै श्रीलंकाको विशाल योगफल खडा गरे ।

कुशल मेन्डिसले ६१, पवन रत्नायकेले ६० तथा दाशुन शनाकाले ५० रन जोडे । यस्तै, कमिन्दु मेन्डिस १९ रनमा अविजित रहँदा पथुम निसान्काले १३ रन जोडे ।

बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई तथा सुफ्यान मेहमुद र जय ओडेराले एक–एक विकेट लिए ।

कडा सुरक्षाकाबीच बंगलादेशमा संसदीय चुनाव चल्दै, मुख्य दलका नेताहरूले मतदान गरे

२०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा आज संसदीय र संवैधानिक जनमतसंग्रह एकैसाथ भइरहेको छ । झन्डै १२ करोड मतदाताले नयाँ सरकार चयन गर्न मतदान गरिरहेका छन् ।

बिहान शुरू भएको मतदान बेलुका साढे ४ बजेसम्म चल्ने बीबीसीले जनाएको छ । मतगणना भोलिदेखि शुरू हुने खबरमा उल्लेख छ । मुख्य प्रतिस्पर्धी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी र जमात–ए–इस्लामीका शीर्ष नेताहरूले ढाकामा मतदान गरेका छन् । बीएनपी अध्यक्ष तथा सम्भावित प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमानले मतदान गरेका छन् ।

युवा केन्द्रित नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले पनि मतदान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग भने प्रतिबन्धका कारण चुनावमा सहभागी छैन ।

सन् २०२४ को आन्दोलनपछि अन्तरिम सरकार गठन भई नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा निर्वाचन भइरहेको हो । देशभर सुरक्षा व्यवस्था कडा पारिएको र झन्डै १० लाख सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ । -एजेन्सी

 

राष्ट्रपतिले गरे राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

af-1770876877.jpg

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध

काठमाण्डौ- बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ ।

अभियानले बालअधिकारको रक्षासँग सम्बन्धित विषयलाई घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षण गराउँदै राजनीतिक दलका प्रतिनिधिलाई २५ बुँदे सुझाव हस्तान्तरण गरेको छ ।

सबै पालिका, प्रदेश र सङ्घमा बालअधिकार सुनिश्चितताका निम्ति नेपालको संविधान, बालअधिकारसम्बन्धी महासन्धि, १९८९, बालबालिकासम्बन्धी ऐन, २०७५, स्थानीय सरकार  सञ्चालन ऐन, २०७४, राष्ट्रिय बालबालिका नीतिको पालनामा अभियानले जोड दिएको छ ।

यसैगरी, बालमैत्री स्थानीय शासन, बालविवाहमुक्त पालिका, बालश्रममुक्त पालिका, पोषणयुक्त पालिका, वातावरणमैत्री पालिका, बाल हिंसामुक्त पालिका, सडक बालबालिकामुक्त पालिका निर्माणका साथै  बालबालिकाको हकहित र अधिकारको सुनिश्चितता गर्ने विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरिएको छ ।

 

चुनावमा नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री तयार

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ ।

लोकतन्त्र, चुनाव, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । मतदानको महत्त्व, निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल सम्बन्धी विषय सामग्रीमा समेटिएका छन् ।

आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवद्र्धन गर्न सक्नेछन् ।

भोलिदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ ।

 

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

दल र उम्मेदवार आचारसंहिता उल्लंघन गर्दै

काठमाडौं ।  दल, उम्मेदवार र सार्वजनिक पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग प्रक्रियामै अल्झिएको छ । आयोगकै अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता दल, उम्मेदवार र सार्वजनिक पदाधिकारीहरूबाट उल्लंघन भएका छन् ।

निर्वाचन आयोगले ४ माघ रातिदेखि लागू गरेको आचारसंहिता, २०८२ लागू भइसकेको २३ दिन बितिसक्दा पनि कसैलाई कारबाही गरेको छैन । आयोगले ४ माघ रातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । जबकि यसअघि आयोगले आचारसंहिता उल्लंघनमा कठोर र सजायमुखी हुने दाबी गरेको थियो ।

ऐनअनुसार दल र उम्मेदवारले आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र राष्ट्रसेवक कर्मचारीले उल्लंघन गरेमा विभागीय कारबाही हुने व्यवस्था छ । यदि उल्लंघनले निर्वाचनको विश्वसनीयतामा असर पुर्‍याए ६ वर्षसम्म चुनावमा रोक वा उम्मेदवारी रद्द गर्न सकिने व्यवस्था निर्वाचन कसुर तथा सजाय ऐनमा छ ।

आयोगले प्रक्रियामै समय खर्चेको भन्दै पदाधिकारी तहमै असन्तुष्टि छ । ‘आयोगले यसपटक आचारसंहितामा कडाइ गर्ने, उल्लंघन गर्नेविरुद्ध सजायमुखी हुने भन्यो । तर, जवाफ माग्ने र थन्क्याउनेमै सीमित भयो,’ आयोगका एक पदाधिकारी भन्छन् । उनका अनुसार आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने र जवाफ प्राप्त भएपछि आयोगले चित्त बुझे सफाइ दिने र उल्लंघन पुष्टि भएमा कारबाहीको निर्णय गर्नुपर्छ । तर, अहिले जवाफ माग्ने र छोडिदिने गरिएको छ ।

आचारसंहिता लागू भएपछि दल, उम्मेदवार र पदाधिकारीहरूलाई ५४ वटा स्पष्टीकरण सोधिएको छ । तीमध्ये ३० वटा जवाफ प्राप्त भइसकेका छन् । केहीलाई दोहोर्‍याएर सोधिएको छ ।

आयोगले विभिन्न दल र उम्मेदवार, सार्वजनिक संस्था र पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ । यसमा प्रमुख दलका उम्मेदवार, शिक्षक, विश्वविद्यालय, स्थानीय निकायका पदाधिकारी, एनजिओ र अन्य संस्था समावेश छन् ।

कानुन महाशाखाका अनुसार आचारसंहिता उल्लंघनका घटना विभिन्न प्रकारका छन् । उजुरीको ट्रेन्ड हेर्दा मनोनयनको दिन बाजागाजा बजाएर र बढी संख्यामा जुलुस लिएर गएको, शिक्षकहरू दल र उम्मेदवारको प्रचारमा लागेको, स्थानीय तहको जनप्रतिनिधि कार्यस्थलमै प्रचारमा हिँडेको, जिन्सी वितरण गरेको, द्वेषपूर्ण अभिव्यक्ति दिएको, बालबालिकाको प्रयोग गरेको, टिसर्ट प्रयोगलगायत छन् ।

आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले प्राप्त जवाफहरू छानबिनकै क्रममा रहेको र त्यसपछि थप कारबाही हुने बताए । ‘५५ वटा स्पष्टीकरण सोधिएको छ । केहीको जवाफ प्राप्त भएको छ, अन्य हुने क्रममै छ,’ उनले भने, ‘जवाफहरू छानबिनको क्रममा छन्, त्यसपछि प्रमाणको आधारमा कारबाही हुनेछ ।’

प्रमुख भट्टराईले प्राप्त जवाफहरूमा दल तथा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको कुरा स्वीकार नगरेको पाइएको बताए । ‘कतिपयले जुलुस र आमसभामा बोलाएको भन्दा आफँै स्वस्फूत आएको भनेका छन् । अब त्यस्तो हुने छैन, गम्भीरतापूर्वक पालना गर्छाैँ भन्ने छ । स्विकारेको भन्दा पनि इन्कार गरेकै छन्,’ भट्टराईले भने, ‘उजुरीहरू खासै आएको छैन । पत्रपत्रिकामा आएको कुरालाई पनि नोटिसमा लिएका हुन्छौँ । कतिपय विषय अनुगमन अधिकृतबाट सोधिएको हुन्छ ।’

आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिबाट अनुगमन गरिरहेको छ । सहायक सिडिओलाई अनुगमन अधिकृत तोकेको छ । यसैगरी, कोलेनिका प्रमुखलाई उम्मेदवारको खर्च हेर्ने जिम्मेवारी तोकिएको छ । संघमा आचारसंहिता अनुगमन केन्द्रीय समिति छ । अन्य महाशाखाले पनि हेरिरहेका छन् । अर्काे आइआइपियू (इन्फर्मेसन इन्ट्रिगिटी युनिट) छ । जसले सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघन अनुगमन गर्छ । यसैगरी सूचना सम्प्रेषण युनिटले छापाको अनुगमन गर्दै आएको छ ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोगले प्रक्रिया पुर्‍याएर कारबाही गर्ने बताए ।

टी-२० विश्वकप : नेपाल इटलीसँग खेल्दै

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ ।

समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ ।

नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन् । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो ।

बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी-२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ ।

नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।

नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन् ।

बंगलादेशमा संसदीय चुनाव र जनमतसंग्रह एकसाथ, ‘हो’ले जिते के हुन्छ ?

काठमाडौं । बंगलादेशमा बिहीबार अर्थात् १२ फेब्रुअरीमा संसदीय चुनावसँगै संवैधानिक जनमतसंग्रह पनि हुँदै छ । यो मतदान ‘जुलाई नेशनल चार्टर’ लाई अपनाउने पक्षमा ‘हो’ वा ‘होइन’ मा केन्द्रित हुनेछ ।

जुलाई चार्टरभित्र बंगलादेशको शासकीय स्वरुपलगायतमा परिवर्तन गर्नका लागि उल्लेख गरिएका विषयहरू समावेश छन् ।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले शेख हसिनालाई सत्ताच्युत गरेको थियो । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सत्तामा आएको छ । यो अन्तरिम सरकारले ‘जुलाई नेशनल चार्टर’मार्फत संविधानमा ठूला परिवर्तन ल्याउन खोजेको छ । यसमा ८४ वटा सुधार प्रस्ताव छन्, जसमध्ये ४७ वटा संवैधानिक संशोधन र बाँकी कानुन वा कार्यकारी आदेश हुन् ।

‘हो’ले जितेमा के हुन्छ ?
जनमतसंग्रहमा ‘हो’ ले बहुमत प्राप्त गरेमा देशको राजनीतिक संरचनामा मूलभूत परिवर्तन आउने बताइएको छ । यसमा प्रधानमन्त्रीको शक्तिलाई सीमित गर्ने अर्थात् अधिकतम दुई कार्यकाल वा १० वर्ष गर्ने, राष्ट्रपतिको भूमिका बलियो बनाउने, दुई सदनयुक्त संसद स्थापना गर्ने जसमा १०० सदस्यीय माथिल्लो सदनको व्यवस्था गर्ने, महिलाका लागि आरक्षित सिट ५० बाट बढाएर १०० बनाउने, इन्टरनेट पहुँचलाई मौलिक अधिकार बनाउने, व्यक्तिगत जानकारीको सुरक्षा र ‘बंगाली’को सट्टा ‘बंगलादेशी’ पहिचानलाई जोड दिनेजस्ता प्रमुख परिवर्तन समावेश छन् ।

संवैधानिक सिद्धान्तहरू पनि परिवर्तन हुनेछन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र धर्मनिरपेक्षताको सट्टा समानता, मानव मर्यादा, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता र सद्भावमा जोड दिइने बताइएको छ ।

बंगालदेशका मुख्य सल्लाहकार मुहम्मद युनुसले आफ्ना वरिष्ठ सचिवहरूसँग भनेका छन्, “यदि ‘हो’ले जित्यो भने बंगलादेशको भविष्य अझ सकारात्मक बन्नेछ । मूलभूत परिवर्तन आउनेछ र कूप्रशासन फर्किने छैन ।”

उनले यसलाई ‘अभूतपूर्व परिवर्तन’ भनेका छन् । बीएनपीका अध्यक्ष तारिक रहमान र एनसीपी, जमात–ए–इस्लामी जस्ता दलहरूले पनि ‘हो’ को समर्थन गरेका छन् ।

जनमतसंग्रहबारे जनताको बुझाइ
तर, सडकमा वास्तविकता फरक छ । ढाकाको गुलशन, करवान बजारलगायतका क्षेत्रमा धेरै मतदातालाई जनमतसँग्रहबारे जानकारी नभएको समाचारहरूमा उल्लेख छ ।

२३ वर्षीय चिया पसले मोहम्मद इमरान खानले भने, “मैले जनमतसंग्रह बुझिनँ । मैले पढेको छैन । फेसबुक रिल हेर्दा देशका लागि राम्रो हुन्छ जस्तो लाग्छ ।”

एक कफीसपका कर्मचारी लिंकन स्टिफन सराओले भने, “मैले सबै सुधार पढेँ । सबैका लागि एउटै ‘हो’ मा मत हाल्नुपर्छ भनिएको छ ।”

करवान बजारका एक पसलदार अहमद अलीले सोधे, “मलाई ‘हो’ हाल्नुपर्छ भन्ने थाहा छ, तर यो के हो ? मत त दलहरूबीच हुनुपर्ने होइन र ?”

संवैधानिक विशेषज्ञ रजाउर रहमान लेनिन अन्तरिम सरकारलाई संविधान बदल्ने अधिकार नभएको बताउँछन् । उनीहरूले विद्यमान संविधानअनुसार शपथ लिएको उनको तर्क छ । “जनताले एउटा सुधार चाहन सक्छन्, अर्कोको विरोध गर्न सक्छन् । बन्डल्ड मतबाट छनोटपूर्ण समर्थन हुन सक्दैन,” उनले भनेका छन् ।

यो सन् १९९१ पछिको पहिलो जनमतसंग्रह हो । १९७७ र १९८५ मा सैन्य शासकहरूले जनमतसंग्रहबाट आफ्नो सत्ता वैधानिक बनाएका थिए । अहिले अवामी लिगजस्ता विपक्षी दलहरूलाई बाहिर राखिएको छ, जसले वैधानिकतामाथि प्रश्न उठाएको छ । आलोचकहरूका अनुसार राष्ट्रपतिको शक्ति बढ्दा सैन्य हस्तक्षेपको जोखिम बढ्न सक्छ भने प्रधानमन्त्री कमजोर हुँदा अस्थिरता निम्तिन सक्छ ।

अवामी लिगबिना यो चुनाव कति वैधानिक र सार्थक ?
यो चुनाव अवामी लिगमाथि प्रतिबन्ध लगाएपछि भइरहेको छ । अन्तरिम सरकारले मे २०२५ मा ‘एन्टी–टेररिज्म एक्ट’अन्तर्गत अवामी लिगका सबै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि निर्वाचन आयोगले पार्टीको दर्ता निलम्बन गरेको थियो ।

यो प्रतिबन्ध २०२४ को विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा भएको दमकारी कारबाहीको आरोपका कारण लगाइएको हो । त्यसबेला १४०० भन्दा बढी मानिसहरू मारिएका आरोप लगाइएको छ ।

बंगलादेशको अदालत (अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल) ले शेख हसिनालाई उनको अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ । सत्ताचयूतपछि हसिना भारतमा निर्वासित छिन् । उनले त्यहाँबाट पार्टी समर्थकहरूलाई सम्बोधन गरिरहेकी छन् ।

बंगलादेशमा फरार वा प्रतिबन्धित दलहरूले चुनावमा भाग लिन नपाउने निर्णय भएको छ । यस्तो अवस्थामा हुन लागेको चुनावको वैधानिकतामा कतिपयले वैधानिकताको प्रश्न उठाएका छन् । अवामी लिगका समर्थकहरूले अवैध भन्दै चुनाव बहिष्कारको अपिल गरेका छन् ।

आलोचकहरूका अनुसार, यस्तो ठूलो संवैधानिक परिवर्तनको विषयमा मतदान हुँदै गर्दा पुरानो र ठूलो समर्थन भएको पार्टीलाई सहभागी हुन नदिनुले लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता कमजोर बनाउँछ । यद्यपि, अन्तरिम सरकार र समर्थक दलहरू (जस्तै बीएनपी) ले यसलाई ऐतिहासिक र स्वतन्त्र तथा निष्पक्ष चुनाव मानेका छन् ।

१२ फेब्रुअरीमा १२ करोडभन्दा बढी मतदाताले मतदानको अधिकार उपयोग गर्न सक्नेछन् । उनीहरूले‍ दुई मतपत्र पाउनेछन् । यसले आगामी सरकार मात्र होइन, बंगलादेशको संवैधानिक संरचनाको विषयमा पनि महत्त्वपूर्ण निर्णय लिनेछ ।

चलचित्र विकास बोर्ड र पर्यटन बोर्डबिच चार बुँदे समझदारी

चलचित्रमार्फत नेपालको पर्यटनमा सुधार गर्ने उद्धेश्यका साथ पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चार बुँदे समभदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी बुधबार पर्यटन बोर्डमा भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पयर्टनको बोर्डका अधिकृत दीपकराज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । त्यस्तै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको  छ।

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले यो सहकार्यलाई “लामो यात्राको सुरुवात” भएको बताएका छन् ।

पर्यटन बोर्डका अधिकृत जोशीले नेपाललाई “ल्याण्ड अफ मेमोरेबल स्टोरिज्” का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।

समझदारी पत्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।

रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसक्यो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले तत्कालीन विशेष परिस्थितिमा कम प्राथमिकतामा परेका र केही खुद्रे टुक्रे आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकतामा अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरू सुरू हुने क्रममा रहेको बताए।

आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरूको दायित्व सिर्जना भएर भुक्तानी गर्न नसकिएको उनले बताए।

उनले आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय अनुसार तयारी नभएका, खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरूको रकम स्थगनमात्रै गरिएको जानकारी दिए।

अहिले डिजाइन सकेर टेन्टरमा जाने क्रममा रहेका वा गइसकेका, उपभोक्ता समितिसँग सम्झौता भएर काम प्रारम्भ हुने क्रममा रहेका लगायतका केही महत्वपूर्ण आयोजनाहरूको रकम फुकुवा गरिएको उनको भनाइ छ।

सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने

कैलाली । सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३० हजार ७८६ जना बालिकालाई उक्त खोप लगाइने भएको छ ।

स्वास्थ्य निर्देशानलय दिपायलका जनस्वास्थ्य निर्देशक मिनराज जोशीले यकैलालीमा १० हजार ३४३, कञ्चनपुरमा पाँचहजार ५५३, डोटीमा दुई हजार ५८३, बाजुरामा एक हजार ८०६, बझाङमा दुई हजार ४९६, अछाममा दुईहजार ५७८, डडेल्धुरामा एकहजार ५१६, दार्चुलामा एक हजार ४५८ र बैतडीमा दुईहजार ४५३ जना बालिकालाई खोप लगाइने जानकारी दिए ।

निर्देशक जोशीका अनुसार सुदूरपश्चिम भरिका विद्यालयमा गएर लगाइने खोप कार्यक्रम माघ २७ गते देखि फागुन २ गतेसम्म रहेपनि फागुन १५ गतेसम्म छुटेका बालिकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउन सकिने छ ।

एचपिभीका विभिन्न प्रकारमध्ये १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहसँगको समन्वयमा यो खोप सेवा प्रदान गरेको हो ।

यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई दिइने छ । उनले गत वर्ष अभियानको रुपमा चलाइएको खोप कार्यक्रममा प्रदेशभरी एकलाख ४६ हजार ६१२ जना बालिकाहरुले खोप लगाएको उल्लेख गरे ।

निर्देशक जोशीले भने, “गत वर्ष ६ देखि १० कक्षासम्म पढ्ने बालिका र विद्यालय बाहिर रहेका ११ बर्षदेखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप अभियानमा जोडिएको हो । यस वर्ष लक्षित समूह कक्षा ६ मा पढ्ने बालिका र विद्यालय नजाने १० वर्षसम्मका बालिकालाइ खोप लगाइने छ ।”

यस्तै, गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले पनि यो खोप पाउने व्यवस्था मिलाइएको छ।

यस वर्ष सरकारले देशभर करिब चार लाख छात्रालाई खोप दिने लक्ष्य राखेको छ । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन खोप, स्क्रिनिङ र उपचार गरी तीन चरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ । यी हरेक चरणमा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको योजना छ ।

निर्देशक जोशीका अनुसार १० देखि १४ वर्षसम्मका किशोरीले एचपिभी खोप लगाउनु रोकथामको पहिलो उपाय हो । दोस्रो उपायका रूपमा ३० वर्षभन्दा माथिका महिलाले नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्छ भने तेस्रो चरणमा रोग पहिचान भएका महिलाको उचित उपचार हुनुपर्छ ।

नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार महिलाको मृत्यु हुने गरेको छ।

यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणबाट हुन्छ । संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने यो भाइरसको सङ्क्रमण २० वर्षसम्म रहिरहेमा क्यान्सरको रूप लिन सक्छ ।

टी-२० विश्वकपः अफगानिस्तानमाथि साउथ अफ्रिकाको जित

आइसिसी टी-२० विश्वकप क्रिकेटको बुधबारको खेलमा साउथ अफ्रिकाले अफगानिस्तानमाथि कठिन जित निकालेको छ । निर्धारित २० ओभर र पहिलो सुपर ओभरमा बराबरी भएपछिको दोस्रो सुपर ओभरमा साउथ अफ्रिकाले अफगानिस्तानलाई हराएको हो ।

दोस्रो सुपर ओभरमा साउथ अफ्रिकाले दिएको २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १९ रनमात्र बनाउन सक्यो । पहिलो सुपर ओभरमा दुवैले १७ रन बनाएका थिए ।

त्यसअघि साउथ अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्ताले १९्.४ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

अफगानिस्तानका लागि रहमुल्लाह गुर्वाजले ४२ बलमा सर्वाधिक ८४ रन बनाए। इब्राहिम जड्रान १२, नुर अहमद अजमुतुल्लाह ओमारजाइले २२ र कप्तान रासिद खानले २० रन बनाए ।

लुंगी एनगिडिले ३ विकेट लिए। मार्को जानसेन, कागिसो रवडा, जर्ज लिन्डे, केशव महाजनको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । साउथ अफ्रिकाका लागि रायन रिकेल्टोनले सर्वाधिक ६१, क्वीन्टन डि ककले ५९, डेवालड ब्रिभिसले २३ र डेविट मिलरले २० रन बनाए ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले ३ विकेट लिए। रासिद खानले २ र फजल्हक फारुकीले एक विकेट आफ्नो नाममा गरे।

जितसँगै समुह डी मा रहेको साउथ अफ्रिकाको ४ अंक भएको छ भने अफगानिस्तानले लगातार दुई खेलमा हार व्यहोरेको छ।

खोज्नुहोस