आज महाशिवरात्रि

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमापूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्नेधार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपतिका चार ढोका खुला

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी बताए। तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए।

महाशिवरात्रिका अवसरमा आज बिहान २ः०० बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुँदैछ ।

समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो।

दोस्रो खेलमा भने नेपाल कमजोर प्रदर्शन गर्दै इटालीसँग १० विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले बनाएको १२३ रन इटालीले बिना विकेटको क्षतिमा भेट्टाएको हो । आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ।

विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो। समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

विश्वकपमा नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

समूह सीमा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ । नेपालले फागुन ५ गते स्कटल्यान्डसँग अन्तिम खेल खेल्ने छ।

वेस्ट इन्डिजसँगको खेलअघि कप्तान पौडेल बिरामी

मुम्बई : नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेललाई स्वास्थ्य समस्या देखिएको छ।

आइसीसी टी२० विश्वकप २०२६ को दुई खेल सकिएपछि रोहितलाई ज्वरोसँगै पेटमा समस्या भइरहेको प्रशिक्षक लले वेस्ट इन्डिजसँगको प्रि म्याच प्रेस कन्फ्रेन्समा बताए। ‘रोहितलाई ज्वरो आएको छ। उनलाई पेटमा पनि केही समस्या देखिएको छ। तर भोलिको खेलमा उनी ठीक हुने आशा गरिएको छ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो खेल अगाडी वानखेडे स्टेडियममा गरेको अभ्यासमा रोहित टिममा देखिएनन्। त्यसैलाई लिएर पत्रकारले गरेको प्रश्नमा प्रशिक्षक लले बिरामी भएको जानकारी गराएका हुन्।

मदुरोलाई पक्राउ गर्दा अमेरिकाले क्लाउड एआई प्रयोग गरेको खुलासा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने अमेरिकी सैन्य अपरेसनमा क्लाउड एआई प्रयोग गरिएको खुलासा भएको छ । वाल स्ट्रिट जर्नल र रोयटर्समा आज प्रकाशित समाचार अनुसार एन्थ्रोपिक कम्पनीको क्लाउड एआई प्रयोग भएको हो ।

गएको जनवरीमा भएको अपरेसनका क्रममा अमेरिकाले भूउपग्रह तस्वीर, जासूसी सञ्चार सामग्री र अन्य गोप्य तथ्याङ्क विश्लेषण गर्न क्लाउड एआई प्रयोग गरेको थियो । एआईले मदुरोको गतिविधि, दैनिक जीवनको ढाँचा र सम्भावित ठाउँ पहिचान गर्न विशाल मात्रामा गुप्तचर सूचनाको विश्लेषण गरेको रिपोर्टमा उल्लेख छ ।

यसले परम्परागत विधिभन्दा छिटो सूचना प्रशोधन गर्न सहयोग गरेको बताइएको छ । तर यो खुलासापछि विवाद शुरु भएको छ । एन्थ्रोपिकले आफ्नो एआई हिंसा, हतियार विकास वा निगरानीमा प्रयोग नगर्ने नीति सार्वजनिक रूपमा राखेको छ ।

कम्पनीले आफ्ना प्रणाली प्रत्यक्ष युद्ध नियन्त्रणभन्दा विश्लेषण र सारांश तयार पार्ने कार्यका लागि डिजाइन गरिएको बताएको छ । विवादपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एन्थ्रोपिकसँगको २० करोड अमेरिकी डलरको सम्झौता रद्द गर्ने तयारी गरेको छ ।

एन्थ्रोपिकले भने आफ्नो एआई कुनै विशेष अपरेसनमा प्रयोग भयो कि भएन भनेर टिप्पणी गर्न नसक्ने बताएको छ । यो घटनाले कृत्रिम बौद्धिकता प्रविधिको सैन्य प्रयोगलाई लिएर नयाँ बहस शुरु गरेको छ । विशेषज्ञहरूले एआई कम्पनीहरूले आफ्ना उत्पादनको प्रयोग कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न उठाएका छन् ।

 

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

काठमाण्ण्डौ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो प्रकाशित गरेको छ । पात्रो अनुसार वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रवार गौतम बुद्ध जयन्ती मनाइनेछ ।

साउन १३ गते बुधवार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी र २९ गते सोमवार हरितालिका तीज परेको छ । मुख्य पर्व दशैं  असोज २५ गते आइतवारदेखि घटस्थापना सँगै सुरु हुनेछ भने कात्तिक ४ गते बुधवार विजयादशमी अर्थात् टीका लगाइनेछ ।

त्यस्तै कात्तिक २० गते शुक्रवारदेखि तिहार शुरु हुनेछ र २५ गते बुधवार भाइटीका लगाइनेछ । कात्तिक २९ गते आइतवार छठ पर्व मनाइनेछ । माघ २४ गते आइतवार सोनाम ल्होसार, २८ गते बिहीवार बसन्त पञ्चमी, फाल्गुन २२ गते शनिवार महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार र चैत्र ७ गते पहाडी क्षेत्रमा तथा ८ गते तराईमा होली मनाइनेछ ।

 

दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

दार्चुला- नौगाड गाउँपालिका वडा नम्बर १ नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने आफ्नो निर्णय यथावत रहने बताएका छन् । स्थानीयबासीलाई फकाउन माघ २४ गते नागु पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली पनि रित्तै फर्किएको छ ।

सरकारी टोलीले नागुमा नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य र पशु उपचार सेवा लगायतका कार्यक्रम सञ्चालन गरेर दुई दिनसम्म स्थानीयबासीसँग छलफल गरेपनि सार्थकता पाउन सकेन । स्थानीयबासीले विकास निर्माणको लागि लिखित प्रतिबद्धता मागेका यो कुरा आफ्नो तर्फबाट सम्भव नभएका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालले दल्लेख–नागु सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा आफूहरू पुगेको बताए । चुनाव बहिष्कारको घोषणापछि सरकारले नागु क्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरेको छ । तर स्थानयबासी भने दल्लेख–नागु सडक निर्माणको लिखित प्रतिवद्धता खोजिरहेका छन् ।

 

टी–२० विश्वकप : आयरल्यान्डसँग ओमान पराजित

काठ्माण्डौ- आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो हारसँगै ओमान विश्वकपबाट बाहिरिएको छ ।

कोलम्बोमा शनिबार भएको खेलमा जितका लागि दुई सय ३६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३५ रनको ठूलो योगफल खडा गरेको थियो ।

आयरल्यान्डका लागि कप्तान लोर्कान टुकरले अविजित ९४ र ग्यारेथ डेलानीले ५६ रन बनाए । तीन खेलमा पहिलो जितसँगै दुई अङ्क बनाएको आयरल्यान्ड चौथो स्थानमा छ ।

तेस्रो हार खेपेको ओमान अङ्कबिहीन बन्दै अन्तिममा छ । शीर्षस्थानमा रहेको श्रीलङ्का र जिम्बाबेले दुई खेलबाट चार चार अङ्क बनाएको छ । अष्ट्रेलिया दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

राप्रपाको संकल्प- बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाउने सङ्कल्प गरेको छ।

आज अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचार सम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागु गरिने उल्लेख छ।

नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्ट्राचार तथा अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन स्वार्थको द्वन्द्वसम्बन्धी कानुन जारी गरिने, अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने, राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने उल्लेख छ।

न्यायपालिकामा देखिएको विकृति र विसङ्गति अन्त्य गर्न गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकामा पुनर्संरचना/पुनर्नियुक्तिको व्यवस्था गरिन पनि समेटेको छ।

राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको एजेन्डा पनि अघि सारेको छ।

​ महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहले जानकारी दिए ।
शाहले भने , “फागुन ३ गते बिहान ४ बजे मन्दिरका चारै ढोका खुला गरी विधिवत् पूजा प्रारम्भ गरिनेछ । बिहान ८ः३० बजेदेखि बेलुकी ४ः३० बजेसम्म पूर्णआहुती सहित तिलक तथा प्रसाद वितरण गरिने कार्यक्रमसँगै बेलुका ४ बजे ५१ लाख बत्ती प्रज्वलन गरिने छ ।”

बेहडाबाबा मन्दिरमा नेपाली मात्र नभएर भारतीय तीर्थालुहरू ठुलो सङ्ख्यामा भारतबाट पैदल यात्रा गरेर पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन् । धार्मीक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्धनसँग जोड्न पनि शिवरात्री मेलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ ।

लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन

काठमाडौं- चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। सरकारको खर्च गर्ने आम्दानीको स्रोतका रूपमा राजस्व संकलनलाई लिइन्छ। समीक्षा अवधिमा राजस्व संकलनको लक्ष्य ८ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

साउनदेखि माघसम्मको लक्ष्यको तुलनामा भने ८२.२६ प्रतिशत राजस्व संकलन भएको छ। अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक नुसार समीक्षा महिनामा वार्षिक लक्ष्यको तुलनामा ४५.२२ प्रतिशत राजस्व संकलन भएको हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा राजस्व वृद्धिदर २.८३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष माघसम्म ६ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। सरकारको चालु आर्थिक वर्षको राजस्व संकलनको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ छ।

समीक्षा अवधिमा शिक्षासेवा शुल्क र अन्यबाट लक्ष्यको १२५.७२ प्रतिशत अर्थात् ३ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको छ। यस शीर्षकबाट राजस्व संकलनको लक्ष्य २ अर्ब ७४ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा वृद्धिदर ६१.०७ प्रतिशत रहेको छ।

यस्तै, अन्तशुल्कबाट समीक्षा अवधिमा लक्ष्यको ९०.९० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ संकलन भएको छ। यस शीर्षकमा राजस्व उठाउने लक्ष्य १ खर्ब १५ अर्ब थियो। मूल्य अभिवृद्धिकरबाट पनि लक्ष्यको ९०.४४ प्र्रतिशत अर्थात् १ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व उठेको छ। अघिल्लो वर्षको तुलनामा

७.५८ प्रतिशत बढिले यस शीर्षकबाट राजस्व 
उठेको छ। समीक्षा अवधिमा भन्सारबाट १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व उठेको छ। जबकि यस अवधिमा संकलन लक्ष्य १ खर्ब ७० अर्ब रुपैयाँ थियो।
चालु आर्थिक वर्षको ७ महिनामा आयकरबाट १ खर्ब ५८ अर्ब रुपैयाँ (लक्ष्यको ७२.१० प्रतिशत) राजस्व उठेको छ। सरकारको लक्ष्य भने २ खर्ब २० अर्ब संकलन गर्ने थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयकर संकलन भने ०.८१ प्रतिशतले घटेको अर्थको तथ्यांक छ। गैरकर राजस्वमा पनि अघिल्लो वर्षको यसै अवधिको तुलनामा १४.८९ प्रतिशतले घटेको छ।

विभागगत परिचालनका आधारमा पनि राजस्व संकलनको लक्ष्य प्राप्ति भएको देखिँदैन। भन्सार विभागले माघ मसान्तसम्म आफ्नो लक्ष्यको ८३.८४ प्रतिशत अर्थात् २ खर्ब ७८ अर्ब रुपैयाँ संकलन गरेको छ। आन्तरिक राजस्व विभागले सोही अवधिसम्मको लक्ष्यको ८१.३६ प्रतिशत अर्थात् ३ खर्ब २० अर्ब रुपैयाँ राजस्व उठाएको छ। समग्रमा, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार सरकारले माघ महिनासम्मको कुल लक्ष्यको ८१.७४ प्रतिशत प्रगति हासिल गरेको छ। अघिल्लो वर्षको यसै अवधिसँग तुलना गर्दा विभागीय रूपमा राजस्व संकलन ३.४५ प्रतिशतले वृद्धि देखिन्छ।

चुनावका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाण्डौ – चुनावी खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले चुनावको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम शुरू भएको छ ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले अहिलेसम्म ४ सय ५४ उम्मेदवार र चार दलले त्यसरी बेग्लै बैंक खाताको विषयमा जानकारी गराएका बताए । आउँदो २१ गते हुने चुनावका लागि राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।

चुनावका लागि बेग्लै खाता खोलिएपछि साविकका दल र उम्मेदवारका खाता यसै खातामा सार्नुपर्ने व्यवस्था गरिएको सहसचिव भट्टराईले जानकारी दिए । चुनाव प्रचारप्रसारको खर्चको विवरण तयार भएको ३५ दिनभित्र आयोगद्वारा त्यो खाता बन्द गराउन लगाइने उनले बताए ।

आयोगले उम्मेदवारले खर्च गर्ने हद (सीमा) पनि निर्धारण गर्दै आएको छ । यसपटकको चुनावका लागि भौगोलिकताका आधारमा क्षेत्रगत रूपमा २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म चुनावको खर्चको सीमा तोकिएको छ ।

आयोगले चुनावी खर्चको अनुगमनका लागि जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको छ ।

बंगलादेशको निर्वाचन खारेज गर्न शेख हसिनाको माग

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले निर्वाचन सम्पन्न भएलगत्तै वक्तव्य जारी गर्दै हिजो सम्पन्न निर्वाचनलाई मतदाताविहीन, अवैध र असंवैधानिक भन्दै खारेज गर्न माग गरेकी छिन् ।
सन् २०२४ को जनआन्दोलनबाट हसिना सरकार ढलेपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन भएको हो । हालै सम्पन्न निर्वाचनलाई छलपूर्ण संज्ञा दिँदै हसिनाले आफ्नो पार्टी—अवामी लिग र मतदाताहरूको अनुपस्थितिमा यो चुनाव गराइएको बताइन् ।
“यस्तो परिस्थितिमा हामी यो मतदाताविहीन, अवैध र असंवैधानिक निर्वाचनको खारेजी र युनुसको राजीनामा माग गर्दछौँ,” उनले भनेकी छन् ।
उनले राजनीतिक बन्दीका साथै शिक्षक, पत्रकार, बुद्धिजीवी र पेसाकर्मीहरूको रिहाइ, उनीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन पनि माग गरेकी छिन् ।
अवामी लिगका गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाउन र निष्पक्ष कामचलाउ सरकारको मातहतमा स्वतन्त्र, निष्पक्ष र समावेशी निर्वाचनमार्फत जनताको मताधिकार पुनस्र्थापना गर्न जोड दिएकी छन् ।
हसिनाले मतदानमा जनताको सहभागिता अत्यन्त न्यून रहेको र ढाकालगायत देशका अन्य भागका मतदान केन्द्रहरू मतदाताविहीन तथा पूर्णरूपमा खाली रहेको दाबी गरिन् ।
उनले भनिन्, “निर्वाचन आयोगको ब्रिफिङ अनुसार बिहान ११ बजेसम्म (साढे तीन घण्टामा) जम्मा १४.९६ प्रतिशत मात्र मतदान भएको छ । मतदानको मुख्य समयमा देखिएको यो न्यून सहभागिताले जनताले अवामी लिगबिनाको यो निर्वाचनलाई बहिष्कार र अस्वीकार गरेको पुष्टि गर्छ ।”
“फेब्रुअरी ११ को साँझदेखि नै मतदान केन्द्र कब्जा गर्ने, गोली प्रहार गर्ने, भोट किन्न पैसाको व्यापक प्रयोग गर्ने, मतपत्रमा छाप लगाउने र नतिजा सिटमा एजेन्टहरूलाई जबर्जस्ती हस्ताक्षर गराउनेजस्ता प्रहसनहरू सुरु भएका थिए,” उनले दाबी गरिन् ।
हसिनाले पछिल्ला दिनहरूमा अवामी लिगका समर्थक र अल्पसंख्यक समुदायलाई जबर्जस्ती मतदान केन्द्रसम्म लैजान आक्रमण, गिरफ्तारी र त्रासको वातावरण सिर्जना गरिएको बताइन् ।
हाल बंगलादेश नेसनलिस्ट पार्टीका तारिक रहमान अर्को सरकार बनाउने मुख्य दाबेदारका रूपमा देखिएका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान १७ वर्षको लन्डन निर्वासनपछि गत डिसेम्बरमा बंगलादेश फर्किएका थिए ।
रहमानले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन स्थापना र संकटग्रस्त अर्थतन्त्रको पुनरुत्थान गर्ने वाचा गरेका छन् । एनडीटीभी

विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएका छन् ।

संसारकै सबैभन्दा ठूलो भनिएको युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएको उनले शुक्रबार पुष्टि गरेका छन् ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएका छन् ।

संसारकै सबैभन्दा ठूलो भनिएको युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएको उनले शुक्रबार पुष्टि गरेका छन् ।

‘विमानवाहक पोत चाँडै मध्यपूवका लागि रवाना हुनेछ । यदि, इरानका साथ सम्झौता भएन भने यूएसएस गेराल्ड आर फोर्डको आवश्यकता पर्नेछ,’ ट्रम्पलाई उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

बीबीसी फारसी सेवाका अनुसार त्यसअघि एसोसिएटेड प्रेसले संसारकै सबैभन्दा ठूलो विमानवाहक पोतलाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिइएको समाचार प्रकाशन गरेको थियो ।

ट्रम्पले इरानमा सत्ता परिवर्तनलाई लिएर पनि बयान दिएका छन् । एक पत्रकारको जिज्ञासामा उनले भने, ‘सत्ता परिवर्तन सबैभन्दा राम्रो कुरा हुने छ, जो हुन सक्छ ।’

ट्रम्पको आदेशपछि अमेरिकी नौसेनाको सबैभन्दा आधुनिक विमानवाहक पोत यूएसएस जेराल्ड आर फोर्ड, अब्राहम लिंकन विमानवाहक पोत र उसको टास्क फोर्समा सामेल हुने छ ।

अब्राहम लिंकन विमानवाहक पोत गत महिनाको अन्त्यतिर मध्यपूर्व पुगेको थियो । बीबीसीका अनुसार ‘जेराल्ड आर फोर्ड’ एक परमाणु ‘रिएक्टर’ हो । यो एफए–१८ सुपर हर्नेट लडाकू विमान र ए–२ हकआई विमानसहित ७५ भन्दा बढी लडाकू विमानहरू लैजान सक्छ ।

परमाणु ‘रिएक्टर’ भनेको एक विशेष प्रकारको यन्त्र हो । जसले परमाणु विखण्डन प्रक्रियालाई नियन्त्रित रूपमा चलाएर ठूलो मात्रामा ऊर्जा उत्पादन गर्छ । यो ऊर्जालाई प्रयोग गरेर बिजुली बनाइन्छ ।

बङ्गलादेशमा नयाँ सरकार गठन अर्को हप्ता : बीएनपीका अध्यक्ष रहमान प्रधानमन्त्री बन्ने निश्चित

बङ्गलादेशमा सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ जनादेशसहित ऐतिहासिक सफलता हासिल गरेको छ ।

डेढ वर्षअघि नागरिक विद्रोहले शेख हसिना नेतृत्वको सरकार ढालेपछि भएको यो पहिलो संसदीय चुनाव हो । बीएनपीको निर्णायक विजयसँगै अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । त्यहाँ अर्को हप्ता नयाँ सरकार गठनको तयारी छ । प्रधानमन्त्रीका रुपमा ६० वर्षीय रहमानले देशको नेतृत्व सम्हाल्नुहुनेछ ।

राजनीतिमा शुरूदेखि नै प्रभावशाली रहँदै आएको जिया–रहमान परिवारका उहाँ सदस्य हुनुहुन्छ । उहाँका बुवा र आमा दुवै बङ्गलादेशको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बुवा जियाउर रहमान राष्ट्रपति हुनुहुन्थ्यो भने उहाँको हत्यापछि राजनीतिमा आएकी आमा बेगम खालेदा जिया पछि देशकै प्रथम महिला प्रधानमन्त्री बन्नुभयो ।

बङ्गलादेशको निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावको पछिल्लो नतिजा अनुसार बीएनपीले घोषणा गरिएको २ सय ९७ मध्ये २ सय ९ सिट जितेको छ । त्यस्तै हसिना सरकारले प्रतिबन्ध लगाएको जमात–ए–इस्लामीले ६८ सिट जितेको छ । आन्दोलनबाट उदाएको राजनीतिक दल राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ६ सिटसहित तेस्रो स्थानमा छ ।

अन्य दलहरूले सात सिट र बाँकी रहेका सात सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । ढाका ट्रिब्युनका अनुसार कूल ३ सय सिटमध्ये चटगाँउ–२ र चटगाँउ–४ को नतिजा कानुनी जटिलताका कारण रोकिएको छ । शेरपुर–३ मा एक उम्मेदवारको निधन भएका कारण त्यहाँ मतदान स्थगित भएको छ । -एजेन्सी

१४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

काठमाण्डौ- मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।

जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य चुनावका लागि ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भैसकेको छ ।

एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । अहिलेसम्म १५ हजार ३ सय ७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।

दैनिक एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ ।

 

उम्मेदवार नपुग्ने बाजुराको गुम्बा गाउँ

बाजुरा- बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने गुम्बा गाउँ उम्मेदवार नपुग्ने गाउँका रूपमा परिचित रहेको छ। जिल्ला सदरमुकाम मार्तडीबाट निकै दुर्गम तथा आवतजावत असहज हुने भएकाले गुम्बा गाउँमा उम्मेदवारहरू पुग्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन्। मार्तडीबाट झण्डै दुई सय किलोमिटर तथा पालिका केन्द्रबाट करिब १५० किलोमिटर दूरीमा रहेको यस गाउँमा पैदलै दुई–चार दिन हिँडेर पुग्नुपर्छ। गाउँ अत्यन्त दुर्गम भएकाले पुस्तौँदेखि अहिलेसम्म यहाँ धेरैजसो उम्मेदवारहरू पुगेका छैनन्।

गाउँमा करिब ६५ घरपरिवार जनजाति समुदायको बसोबास छ भने मतदाताको सङ्ख्या पनि करिब त्यही हाराहारीमा रहेको छ। सडक सुविधा नहुँदा जिल्लाकै दुर्गम बस्तीमध्ये एक मानिने यस गाउँमा उम्मेदवारहरू मत माग्न प्रायः नआउने गरेका छन्।

सडक त के, पहिले घोडेटो बाटोसमेत नभएकाले ज्यान जोखिममा राखेर भिरालो बाटो हुँदै आवतजावत गर्नुपर्ने अवस्था थियो। २०७६ सालमा पालिकाले स्थानीयलाई केही सहज हुने गरी घोडेटो बाटो निर्माण गरिदिएपछि आवतजावतमा केही सुधार आएको छ, तर अझै पनि अधिकांश उम्मेदवारहरूले गाउँ पुगेर मत मागेका छैनन्।

हिमाली गाउँपालिका–३ का स्थानीय जसबहादुर भण्डारीका अनुसार गाउँ अत्यन्त दुर्गम भएकाले यहाँ उम्मेदवार मात्र होइन, अन्य व्यक्तिहरू पनि कमै पुग्ने गरेका थिए। गाउँमा मुख्यतः भोटे जनजातिको बसोबास रहेको छ र उनीहरू भेडा, बाख्रा, घोडा तथा चौँरी पालनमा निर्भर छन्।

स्थानीय नरी रोकायाका अनुसार सडक नहुँदा गाउँबाट पालिका केन्द्रसम्म आउजाउ गर्न निकै कठिनाइ हुने गरेको छ। पहिला घोडेटो बाटोसमेत नहुँदा स्थानीयले डोरीको सहारामा भिर पार गर्दै आवतजावत गर्नुपर्ने अवस्था थियो। गत वर्ष पालिकाले घोडेटो बाटो निर्माण गरेपछि अहिले आवतजावतमा केही सहजता आएको छ, तर निर्वाचनका बेला उम्मेदवारहरू भने अझै पनि गाउँ नपुग्ने गरेको उनले बताए।

गुम्बा गाउँ जिल्लाकै एक दुर्गम बस्ती भएकाले यहाँ राजनीतिक कार्यक्रम तथा नेताहरूको उपस्थिति पनि न्यून रहेको वडा अध्यक्ष मङ्गल बुढाले जानकारी दिए। उनका अनुसार गाउँमा हालसम्म सडक सञ्जाल विस्तार हुन नसकेकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न पनि कठिनाइ भइरहेको छ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले भने २०७९ सालको निर्वाचनका क्रममा आफू गाउँ पुगेको बताउनुभयो। उहाँका अनुसार प्रदेश तथा सङ्घीय तहका उम्मेदवारहरू भने अझै पनि त्यहाँ पुगेका छैनन्।

गाउँका मतदाताहरू उम्मेदवारको प्रत्यक्ष भेटको प्रतीक्षामा भए पनि धेरैजसो अवस्थामा आफूले चिनेकै व्यक्तिलाई मतदान गर्ने गरेका छन्। यस वर्ष पनि अहिलेसम्म कुनै उम्मेदवार गाउँ नपुगेको स्थानीयले बताएका छन्। गाउँस्थित हिमालभक्ति माध्यमिक विद्यालयमा मतदान केन्द्र रहेको छ। -गोरखापत्रबाट

बंगलादेशमा जेन जी आन्दोलनपछि भएको निर्वाचनमा बीएनपीलाई दुईतिहाइ बहुमत

बंगलादेशमा सम्पन्न निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हात पारेको छ।

तर प्रतिद्वन्द्वी दल जमात-ए-इस्लामीले मतपरिणामबारे प्रश्न उठाएको छ। उसले “अनौपचारिक परिणाम घोषणा हुँदा एकरूपता कायम नभएको र बढाइचढाइ भएको पटकपटक देखिएको” दाबी गरेको छ।

संसद्‌का ३०० सीटका लागि भएको मतदानमा बीएनपीले कम्तीमा २०९ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।

“मतपरिणामसँग सम्बन्धित प्रक्रियाप्रति हामी असन्तुष्ट छौँ,” उक्त दलले एउटा विज्ञप्तिमा भनेको समाचारसंस्था एएफपीले जनाएको छ।

यद्यपि बंगलादेशको निर्वाचन आयोगले मतपरिणाम “निष्पक्ष र विश्वसनीय” भएको दाबी गरेको छ। “समग्रमा सबैको सहकार्यमा हामी स्वीकार्य निर्वाचन गराउन सफल भयौँ,” सबै मतदाता, नेता र सञ्चारकर्मीहरूलाई धन्यवादज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त नासिर उद्दिनले भने।

निर्वाचन आयोगका अनुसार बिहीवार भएको चुनावमा ५९.४४ प्रतिशत मतदाता सहभागी भएका थिए।

बीएनपीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई “विजय जुलुस” ननिकाल्न बरु “शान्ति, स्थिरता र बाङ्ग्लादेशको भविष्यको मार्गदर्शनका लागि” प्रार्थना गर्न आह्वान गरेको छ।

सन् २०२४ मा बाङ्ग्लादेशमा तात्कालिक प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुने गरी भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले अहिले निर्वाचनमा गराएको हो। यो निर्वाचनमा सहभागी हुने १७ वर्ष निर्वासनमा बसेका तारिक रहमान स्वदेश फर्किएका थिए।

अहिलेको मतपरिणामबाट जमात पहिलो पटक संसद्‌मा दोस्रो दलका रूपमा उदाएको छ।

बिहीवार रातिसम्म जमातले आफ्नो पक्षमा बहुमत आउने दाबी गर्दै आएको थियो। तर आफूले सोचे जस्तो परिणाम नआएपछि जमात-ए-इस्लामीले आफ्ना समर्थकहरूलाई धैर्य राख्न आह्वान गरेको छ।

मतगणाको अन्तिम परिणाम शुक्रवार अबेरसम्म आइपुग्ने अपेक्षा गरिएको छ।

हसिनाको अवामी लीग पार्टीलाई भने चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। उक्त दलले निर्वाचन बहिष्कार गर्न आह्वान गरेको थियो।

जमात-ए-इस्लामीका प्रमुख शपिकुर रहमान

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,जमात-ए-इस्लामी अहिलेसम्मकै निर्वाचनमा पहिलो पटक दोस्रो स्थानमा आउन सकेको हो

भारत र चीनको सन्देश

बाङ्ग्लादेशमा भएको निर्वाचनको मतगणना गरिँदै

तस्बिर स्रोत,Getty Images

बीएनपी बहुमततिर उन्मुख भएको देखिने गरी परिणाम आएपछि छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको बहुआयामिक सम्बन्ध सुदृढ पार्न र विकासका साझा लक्ष्यहरू अगाडि बढाउन आफू आफू तारिक रहमानसँग सहयकार्य गर्न तयार भएको सन्देश दिएका छन्।

चीनले पनि “निर्बाध र सफल” निर्वाचन भएकोमा बाङ्ग्लादेशलाई र अग्रस्थानमा रहेकोमा बीएनपीलाई बधाई दिएको छ।

“लोकतान्त्रिक, प्रगतिशील र समावेशी बाङ्ग्लादेशको समर्थनको पक्षमा भारतले निरन्तर रहन्छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले “[बीएनपीको] विजयले बाङ्ग्लादेशी जनताको विश्वास पार्टी नेता तारिक रहमानको नेतृत्वमा रहेको देखाएको उल्लेख गरेका छन्।

ढाकास्थित चिनियाँ दूतावासले बाङ्ग्लादेश सहकार्य गर्न र दुई देशको सम्बन्धमा “नयाँ अध्याय” थप्न चीनले चाहेको फेसबुकमा लेखेको छ।

केही वर्षदेखि भारत र बाङ्ग्लादेशबीचको सम्बन्ध चिसिँदै गएको थियो। हसिनाले भारतमा शरण लिएपछि दुई देशबीच कूटनीतिक तनाव चुलिएको थियो।

बीएनपीका वरिष्ठ नेता अमिर खस्रु महमुदले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले “पारस्परिक सम्मान, पारस्परिक हित अनि हस्तक्षेपरहित रणनीतिक स्वायत्तताका आधारमा अरू देशसँग सम्बन्ध राख्ने बताएका छन्।

बाङ्ग्लादेशा धेरै मानिस शेख हसिनाको तानाशाही शासनलाई भारतले सहयोग गरेको ठान्छन्।

जनमतसङ्ग्रह पनि

बाङ्ग्लादेशमा मतदान गर्दै एक महिला

तस्बिर स्रोत,Reuters

बीबीसी बाङ्ग्लाका अनुसार जनमतसङ्ग्रहतर्फ ६५ प्रतिशत मतदाता ‘जुलाई बडापत्र’ अपनाउने पक्षमा उभिएको देखिएको छ।

जुलाई बडापत्रमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले सुझाएको ८४ वटा सुधारको प्रस्ताव समावेश छ जसले बाङ्ग्लादेशमा कसरी शासन गरिने छ भन्ने ढाँचा प्रस्तुत गर्छ।

पूर्ण रूपमा बिथोलिएको राजनीतिक प्रणालीलाई ठिक गर्न अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनको बारेमा जनमत सङ्ग्रहमा पनि मतदाताहरू सहभागी भएका थिए।

सरकारी स्वामित्वको बीएसएस समाचारसंस्थाका अनुसार जनमतसङ्ग्रहतर्फ शुक्रवार बिहानसम्मको गणनामा अधिकांश मतदाताले उक्त प्रस्तावको पक्षमा मतदान गरेको देखिएको छ।

जनमतसङ्ग्रहको केन्द्रमा समानुपातिक प्रतिनिधित्वमार्फत् निर्वाचित १०० सदस्यीय माथिल्लो सदनको निर्माण गर्नु रहेको छ।

तारिक रहमानको तस्बिर बोकेका बीएनपीका एक समर्थक

तस्बिर स्रोत,Getty Images

तारिक रहमान को हुन्

रहमान प्रभावशाली जिया परिवारका वरिष्ठ सदस्य हुन्। अहिले उनी ६० वर्षका भए।

सन् २००८ यता लन्डनमा बस्दै आएका रहमान यो निर्वाचनअघि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।

शेख हसिनाको अवामी लीग पार्टी सत्तामा हुँदा उनीमाथि विभिन्न अपराध गरेको अभियोगमा अनुसन्धान गरिएको थियो।

तर हसिनाको शासन पतन भएपछि सबै अभियोगहरू फिर्ता गरिएको छ।

जेन जी विद्रोहको छाया

सन् २०२४ मा भएका युवा नेतृत्वका प्रदर्शनले हसिना नेतृत्वमा १५ वर्षदेखि बढ्दो रूपमा अधिनायकवादी बनिरहेको शासनको अन्त्य गराएको पृष्ठभूमिमा अहिले निर्वाचन भएको भएको हो।

उक्त विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरूको मृत्यु भएको थियो।

जेन जी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,जेन जी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए

आन्दोलन चर्किएपछि भारत पलायन भएकी शेख हसिनामाथि प्रदर्शनकारीहरूलाई दमन गर्न सोझै आदेश दिएको आरोप लागेको थियो।

तर उनले त्यो अस्वीकार गर्दै आएकी छन्।

गत नोभेम्बरमा बाङ्ग्लादेशको एउटा अदालतले मानवताविरुद्धको अपराध भएको ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिना देश छाडेर भागेदेखि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बाङ्ग्लादेशको नेतृत्व गर्दै आएको छ।

बिहीवारको निर्वाचनले बाङ्ग्लादेशका लागि प्रतिनिधि शासनको नयाँ युगको आरम्भ गर्ने धेरैको आशा छ।

बीबीसीबाट ।

नयाँ पार्टीमा मत दिने चाहना भएकालाई कांग्रेस छ : गगन थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको बताए ।

‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो,’ सभापति थापाले भने, ‘किन कि कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’

देश युवाको काँधमा रहेको र धनकौलमा युवा सहभागिता देखेपछि खुशी लागेको भन्दै उनले युवाले नैे देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । ‘सधैं अरूले भन्ने गर्थे, खै युवाहरू कहाँ छन् रु तर, आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुशी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’

सभापति थापाले अहिले मधेशको जग बलियो बनाउन शिक्षा जरूरी रहेकोमा जोड दिए । तर, त्यसअघि भोटमार्फत् कांग्रेसलाई जिताउनु पर्ने बताए । ‘अहिले सर्लाहीलगायतका मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ,’ उनले भने, ‘त्यसका लागि युवाहरूले कांग्रेसको बारेमा एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ । मैले मेरो टिमसँग पनि यही भनेको छु ।’

सभापति थापाले कांग्रेस पार्टीलाई देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै नभएर देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे । ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ,’ उनले भने, ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौं । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ ।’

बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर उदाएको पार्टी ६ सिटमा सीमित

काठमाडौं । बंगलादेशमा बिहीबार भएको मतदानमा नेसनल सिटिजन पार्टी (एनसीपी) ले अपेक्षाकृत नतिजा निकाल्न सकेन । उता, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेको देखिएको छ ।

२०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि गठन भएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले जारी संसदीय निर्वाचनमा केवल ६ सिट जितेको निर्वाचन अधिकारीहरूलाई उद्धृत गर्दै बंगलादेशी मिडियाले रिपोर्ट गरेका छन् ।

अनलाइन पत्रिका द डेली स्टार ले मतगणना जारी रहेका ६ निर्वाचन क्षेत्रमा एनसीपीले निश्चित रूपमा विजय हासिल गर्ने भएको रिपोर्ट गरेको छ । यो नतिजा विद्यार्थीहरूले स्थापना गरेको पार्टीका लागि ठूलो झट्का मानिएको छ ।

एनसीपी नेता नाहिद इस्लाम ढाका–११ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । पार्टीका अन्य केही उमेदवारहरूले अन्यत्र पनि जित निकालेको पुष्टि गरेको रिपोर्ट गरिएको छ ।

मतदान सुरु हुनुअघि नाहिद इस्लामले एनसीपीसहितको गठबन्धनले अर्को सरकार गठन गर्ने दाबी गरेका थिए । तर, प्रारम्भिक परिणामहरूले पार्टी सरकार गठनबाट धेरै टाढा रहने संकेत गरेका छन् ।

विद्यार्थी विद्रोह र राजनीतिक संक्रमण
राष्ट्रिय नागरिक पार्टी २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलनपछि उदय भएको हो, जसले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनाएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षा फौजद्वारा गरिएको दमनमा करिब १४ सय प्रदर्शनकारीहरू मारिएका थिए ।

शेख हसिना बंगलादेश छोडेपछि, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बेलायतबाट बोलाएर अन्तरिम सरकारको नेतृत्व सुम्पिएको थियो । विरोध आन्दोलनसँग सम्बन्धित केही नेताहरू संक्रमणकालीन प्रशासनमा सामेल भएका थिए ।

पछि नाहिद इस्लाम र अन्य विरोध नेताहरूले औपचारिक रूपमा राष्ट्रिय नागरिक पार्टी गठन गरी संसदीय निर्वाचनमा भाग लिएका थिए । जनआन्दोलनबाट उदय भए पनि पार्टीको निर्वाचन प्रदर्शन भने बिर्सनलायक भएको छ ।

यसको विपरित, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको गठबन्धन अर्को सरकार गठन गर्न तयार देखिएको छ । बंगलादेशकाी मिडियाका अनुसार, बीएनपी गठबन्धनले संसदीय बहुमत हासिल गरेको छ र मतगणना जारी रहँदा दुई तिहाइ बहुमततर्फ अघि बढिरहेको छ ।

हालको प्रवृत्ति कायम रहेमा, तारिक रहमान प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् । उनी सन् २००७ मा पक्राउ परेपछि उपचारका लागि संयुक्त अधिराज्य गएका थिए र सन् २००८ देखि त्यहाँ बस्दै आएका थिए । उनी हालै बंगलादेश फर्किएका छन् ।

जमात–ए–इस्लामीले पनि एनसीपीसँगै विपक्षमा बस्ने अपेक्षा गरिएको छ । ढाका ट्रिब्यूनका अनुसार, यो पार्टीले ६० सिटसम्म जित्न सक्ने देखिएको छ । बंगलादेशको ३०० सदस्यीय संसदमा सरकार गठनका लागि १५१ सिट आवश्यक पर्छ ।

कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैं

धनगढी  । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो । यहाँ १२६ वटा वडा कार्यालयहरु रहेका छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयम् सेवक खट्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चोधरीले जानकारी दिनुभयो ।

मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयम् सेविका, सामाजिक परिचालक लगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ । छनोट भएका स्वमय् सेवकले लक्ष्य निर्धारण गरेर आ–आफ्नो वडामा मतदाता शिक्षा दिने जनाइएको छ । उनीहरुले मत सदर हुने, बदर हुने अवस्थाका बारेमा जानकारी दिनुकासाथै सहि तरिकाले मतदान गर्नका लागि मतदातालाई सिकाउने सूचना अधिकारी चौधरीले बताउनुभयो ।

मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमूना मतपत्र लिएर कार्यस्थलमा खट्ने जनाइएको छ । फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिम्बाबेसँग अस्ट्रेलिया स्तब्ध

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ मा शुक्रबार अस्ट्रेलियालाई २३ रनले स्तब्ध पारेको छ । जिम्बाबेको यो लगातार दोस्रो जित हो । अस्ट्रेलिया भने पहिलो हारबाट गुज्रेको हो ।

समूह सी को कोलम्बोमा भएको खेलमा जिम्बाबेले पहिले ब्याटिङ गर्दै प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्यसामु अस्ट्रेलिया १९.३ ओभरमा १ सय ४६ रन बनाएर अलआउट भयो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ३१ रन बनाए  । म्याट रेनसले ४४ बलमा ६५ रन बनाए । अरु ब्याटरले खासै योगदान गर्न सकेनन् । जिम्बाबेली बलरमध्ये ब्लेसिङ मुजरबानीले ४ र ब्राड इभान्सले ३ विकेट लिए ।

 

त्यस अगाडि टस हारेर ब्याटिङको लागि ओर्लेको जिम्बाबेले २ विकेट गुमाएर १ सय ६९ रन बनाएको हो । त्यसमा ओपनर ब्रायन बेनेटले ५६ बलमा ६४ रन बनाए । उनले ७ चौका प्रहार गरे ।

यस्तै, अर्का ओपनर टाडिवानासे मारुमनीले ३५ रनको योगदान गरे । रायन ब्रलले पनि ३५ रन जोडे । अर्का नटआउट ब्याटर सिकन्दर राजाले २५ रन बनाए । अस्ट्रेलियालाई बलरमध्ये मार्कस स्टोइनस र क्यामरुन ग्रिनले एक एक विकेट लिए।

सुदूरपश्चिममा ७ महिनामा ७ सय अख्तियार दुरुपयोगका उजुरी

धनगढी । सुदूरपश्चिम प्रदेशमा ७ महिनामा मात्रै करिब ७ सय वटा अख्तियार दुरुपयोग सम्बन्धी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ २६ सम्म सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ६ सय ८६ उजुरी परेका हुन् ।

गत आर्थिक वर्षबाट सरेर आएका ४ सय ६२ र चालु आर्थिक वर्षमा हालसम्म परेका ६ सय ८६ मध्ये ६ सय १० वटा उजुरीको फर्स्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालय प्रमुख वेदप्रसाद भण्डारीले बताए । बाँकी रहेका ५ सय ३८ उजुरीमाथि अनुसन्धान चलिरहेको उनले बताए । ‘विगतको तुलनामा उजुरी फर्ने क्रम बढेको छ, नागरिकमा सचेतना बढेकै कारण यो अवस्था आएको हो,’ अख्तियारको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यात्रममा कार्यालय प्रमुख भण्डारीले भने, ‘प्रविधिको विकाससँगै अख्तियार दुरुपयोगका घटना पनि त्यही अनुसार बढिरहेका कारण चुनौती पनि थपिएको छ ।’

भण्डारीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ११ वटा उजुरीमाथि अनुसन्धान गरेर अदालतमा अभियोजन गरिएको छ । १ मुद्दामा रंगेहात पक्राउ पनि गरिएको छ । सुदूरपश्चिममा १२ वर्षमा ११ हजार २ सय ६६ नयाँ उजुरी परेका छन् । जिम्मेवारी सरेर आएकासहित उजुरीको संख्या १२ हजार ५९ पुगेको हो । जसमध्ये १० हजार ७९९ मुद्दा फर्स्यौट गरिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा माघ महिनामा खैरो हेरोइनसहित ४९ जना पक्राउ

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माघ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार माघ महिनाभरि ५५.१७९ ग्राम खैरो हेरोइन, ५० पिस एम्पुल, २० थान क्याप्सुल र २९ थान ट्याब्लेट बरामद गरिएको छ। लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा १ महिला र ४८ पुरुष गरी कुल ४९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसै अवधिमा अवैध भन्सार छलीको क्रममा अन्दाजी मूल्य रु ३६,३५,३४३ बराबरका विभिन्न सामान बरामद गरिएको छ। उक्त प्रकरणमा भने कुनै पनि व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।

त्यसैगरी २५ लिटर अवैध मदिरा समेत नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार लागूऔषध, भन्सार छली तथा अवैध मदिरा नियन्त्रणका लागि विशेष निगरानी र नियमित चेकजाँच अभियान सञ्चालन गरिएको थियो। साथै अपराध न्युनीकरणका लागि बिभिन्न संचेतनामुलक कार्यक्रमहरु पनि  संचालन गरिएको थियो।

बस्ती जोगाउन सक्ने उम्मेदवारलाई भोट

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र–१ का मतदाताले जङ्गली जनावरका कारण घर, बालीनाली असुरक्षित रहेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासको बस्ती उचित योजनासहित हात्तीबाट जोगाउन सक्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।

क्षेत्र नम्बर १ स्थित लालझाडी गाउँपालिका–६, ढक्का चानदेवका रुवससिङ नायकले १५ कट्ठा जमिनमा गहुँ लगाउनुभएको छ तर जङ्गली जनावर हात्तीले सबै गहुँ खाएर, कुल्चेर नष्ट गरिदिएको उनले दुखेसो पोखे । जनावरबाट अन्नबाली जोगाउन रातभर जाग्राम बस्ने गरेको बताउदैँ उनले हात्तीबाट भने बालीनाली जोगाउन नसकिने गुनासो गरे । निर्वाचनमा उम्मेदवारहरू मत माग्नका लागि आउने गरेका बताउँदै उनले हात्तीबाट बस्ती जोगाउने उम्मेदवारलाई मात्रै मत खसाल्ने बताए । उनले भने, “अरू जनावरबाट बाली जोगाउन विभिन्न तरिका प्रयोग गर्दै आएका छौँ । हात्ती आएका बेला भने ज्यान जोगाउन भाग्नुपर्ने अवस्था छ ।” हात्तीबाट सुरक्षा प्रदान गर्न उचित नीति बनाउन सक्ने उम्मेदवारलाई आगामी निर्वाचनमा भोट दिइने उनि बताउँछन् ।

सोही ठाउँका ६८ वर्षीय वासुदेवी दमाईंले जनावरबाट गहुँबारी जोगाउन रातभर जाग्राम बस्नु परेको गुनासो गरे । हात्तीले दुई पटक घर भत्काएको दुःखेसो पोख्दै उनले हात्तीबाट सुरक्षा प्रदान गर्न आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई आग्रह गरे । विगतमा कैयौँ पटक मत खसालेको तर व्यवस्थापन नभएको बताउदैँ उनले अबको चुनावमा भने केही गर्न सक्ने व्यक्तिलाई भोट दिने बताए।

१० देखि १५ दिनको अन्तरालमा आउने हात्तीका कारण बालीनाली जोगाउन मुस्किल भएको चानदेवका स्थानीय केशव दमाईंले बताउनुभयो । हात्तीले जङ्गली हात्तीले १० कट्ठा जमिनमा लगाएको गहुँबाली नष्ट गरिदिएको उनले दुःखेसो पोखे । मजदुरी गरेर परिवार पाल्दै आएका उनि हात्तीले खेतीपाती नष्ट गरिदिएपछि खाद्यान्नसमेत किन्नुपर्ने बाध्यता रहेको गुनासो गरे । लालझाडी गाउँपालिका–६, खरगढीयाका स्थानीय भागरती विकले एक बिघा जमिनमा झन्डै ३० हजार रुपियाँ खर्च गरेर लगाएको गहुँ जङ्गली जनावर हात्ती, चित्तल, बँदेलले सबै नष्ट गरिदिएको दुःखेसो पोखे । उनले भने, “तर बर्सौंदेखि जङ्गली जनावरले बालीनाली नष्ट गर्दै आएकाले आगामी निर्वाचनमा भने उचित व्यवस्था मिलाउन सक्नेलाई मत खसाल्छु ।”

जङ्गली हात्तीले दुई महिनाको अवधिमा यहाँको बेलडाँडी गाउँपालिकाका तीन दर्जनभन्दा बढी घरमा पूर्ण रूपले क्षति पुगेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले बेलडाँडीको झिलमिला, इमिलियालगायत क्षेत्रमा तीन दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीय बताउँछन् । बेलडाँडी गाउँपालिका–५, झिलमिलाका स्थानीय कमल गिरीले राति आउने हात्तीका कारण बालीनाली जोगाउन मुस्किल परेको दुस्खेसो पोखे।

हात्तीले १० कट्ठामा लगाएको उखु पूर्ण रूपमा सखाप पारेको बेलडाँडीका स्थानीय शेरबहादुर थापाले दुःखेसो पोखे । नेताहरूले झुटा वाचा गरेर विगतमा मत पाए पनि आगामी निर्वाचनमा भने उचित व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई मात्रै मत खसाल्ने उनले बताए ।

चुनावी चहलपहलले बढायो आर्थिक गतिविधि

धनगढी। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ । चुनावको कारण चिया पसलदेखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको देखिएको हो ।

चियाको चुस्की लिदैँ चुनावी छलफलदेखि लिएर होटलमा खाजा, खाना खानेहरूको सङ्ख्या बढेका छ । यसैगरी, उम्मेदवार र दलका कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा जुटेपछि इन्धनको उपभोग बढेको छ ।

आसन्न चुनावले व्यापार, व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझाले बताए । उनले विभिन्न परिस्थिति, आन्दोलनका कारण शिथिल बनेको व्यापार, व्यवसाय यो चुनावको बेला गतिशील बनेको उल्लेख गरे ।

“यसले समग्र अर्थतन्त्र चलायमान बनेको छ” उनले भने, “अहिले व्यापार, व्यवसाय बढिरहेको छ ।” कोरोना महामारीले देशकै अर्थतन्त्र तहसनहस भएको थियो । कोरोना समस्या हटेलगत्तै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणका लागि भएको तोडफोड र त्यसपछि निर्माणाधीन अवस्थाका कारण व्यापार, व्यवसाय थला परेको थियो । चुुनावी सरगर्मीले धेरै हदसम्म व्यापार व्यवसाय बढाएको अध्यक्ष ओझाको भनाइ छ ।

यसैगरी, धनगढीमा होटल व्यवसाय गरिरहनुभएका दहिटान घरका सञ्चालक विरेन्द्र चौधरीले पनि यो बेला व्यापार बढेको बताउनुभयो । “चुनाव वा के कारणले हो त्यो त थाहा भएन, तर अहिले व्यापार बढेको छ” उनले भने ।

चुनावका बेला राजनीतिक दल र विशेषगरी उम्मेदवारले खर्च गर्ने गरेको स्थानीयको भनाइ छ । यसैबिच प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दैगएको बेला मतदाताले पनि चुनावी चर्चा गर्न थालेका छन् ।

बिहान–साँझ चिया पसल, होटलमा जमघट भएर उनीहरु पनि चुनावी चर्चा गर्न थालेका हुन् । चियाको चुस्कीसँगै मतदाताबाट जितहारको आँकलन मात्रै सुरु भएको छैन, राजनीतिक दलहरूले विगतमा गरेका बाँचा पनि उनीहरूले सम्झन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ जुनसुकै चुनावको बेला चर्चामा रहँदै आएको छ । यसपटक सबै दलहरुले नयाँ अनुहारको उम्मेदवार बनाएपछि चिया पसल, होटलमा जघमघट हुने र जितहारको विषयमा अडकलबाजी हुनेगरेको छ ।

धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँका भवानीदत्त भट्टले दलहरुले विगतमा गरेका प्रतिबद्धता कतिपय पूरा भए पनि जनताको अपेक्षानुसार काम नभएको बताए । उनले यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी र स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाबिच मुख्य प्रतिस्पर्धा हुने बताए ।  “जित्ने नजित्ने पछिको कुरा हो, तर स्वतन्त्र उम्मेदवार राना पनि बलियो उम्मेदवार छन्” उनले भने, “मलाई लाग्छ, उहाँसहित चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ ।”

नेपाली कांग्रेसबाट नरनारायण शाह मनु, एमालेबाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेमबहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार छन् । सबै उम्मेदवार जनतामाझ लोकप्रिय देखिएकाले कसले बाजी मार्ने भन्ने सवालमा अहिले केही भन्न नसकिने स्थानीय सन्तराम रानाले बताए ।

स्थानीय नेतासमेत रहनुभएका शिवराज रानाको अनुमान भने कांग्रेसका शाह र स्वतन्त्र उम्मेदवार रानाबिच कुनै समुदाय विशेषको मत भागवण्डा भएमा फाइदा एमालेका ढुङ्गानालाई हुने बताए ।

कैलाली–१ का नागरिकले उम्मेदवारसमक्ष राखे ९ बुँदे माग

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं. १ का नागरिक, युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू समक्ष ९ बुँदे माग राखेका छन् । उनीहरूले निर्वाचनलाई केवल सत्ता परिवर्तनको प्रक्रिया नभई क्षेत्रको दीर्घकालीन भविष्य निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै आफ्ना मागहरू निर्वाचन प्रतिबद्धता पत्रमा स्पष्ट रूपमा समावेश गर्न आग्रह गरेका छन् ।

मागपत्रअनुसार पहिलो बुँदामा युवा सशक्तीकरण र रोजगारीलाई प्राथमिकता दिइएको छ । युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्रविधिमैत्री तालिम, कृषि उद्यम, स्टार्टअप प्रवर्द्धन तथा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

साथै बाढी, नदी कटान तथा जलवायु जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययनमा आधारित दीर्घकालीन र दिगो योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । जनउत्तरदायी प्रतिनिधित्वको विषय उठाउँदै निर्वाचित जनप्रतिनिधिले महिनामा कम्तीमा एक पटक सार्वजनिक सुनुवाइ, जनसंवाद तथा सुझाव संकलन कार्यक्रम गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, सूचना प्रविधि (आईटी) हबको विकासका लागि तालिम, आधुनिक पूर्वाधार, इन्टरनेट पहुँच र लगानीमैत्री नीति अवलम्बन गरी कैलाली–१ लाई आईटी हबका रूपमा विकास गर्न पहल गर्नुपर्ने उल्लेख गरिएको छ । लागुऔषध नियन्त्रण र शिक्षा सुधारलाई प्राथमिकता दिँदै कडा कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन तथा विद्यालय–समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

छैटौं बुँदामा टीकापुरलाई शैक्षिक नगरीका रूपमा पुनर्स्थापना गर्ने लक्ष्यसहित उच्च शिक्षा, प्राविधिक शिक्षालय तथा अनुसन्धान केन्द्र विस्तारमा जोड दिइएको छ । सातौं बुँदामा विज्ञान र अनुसन्धान प्रवर्द्धनका लागि प्रयोगशाला, अनुसन्धान परियोजना तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरी नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै, स्थानीय उत्पादन र बजारको जोड बलियो बनाउन कृषि, उद्योग र सेवा क्षेत्रका उत्पादनलाई मूल्य श्रृंखलामा जोडेर बजार विस्तार गर्नुपर्ने माग राखिएको छ । नवौं बुँदामा सुशासन, पारदर्शिता र अनियमितताको रोकथामका लागि कडा निगरानी संयन्त्र र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

मागपत्रमा उल्लेखित ९ वटै बुँदालाई उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमा स्पष्ट रूपमा समेटी कार्यान्वयनका लागि सार्वजनिक प्रतिबद्धता जनाउन नागरिकहरूले आह्वान गरेका छन् ।

महिला एसिया कप राइजिङ स्टार्स : नेपाल पहिलो खेलमै पराजित

काठमाडौं । महिला एसिया कप राइजिङ स्टार्स अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ।

शुक्रबार थाइल्यान्डमा सुरु भएको सो प्रतियोगितामा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।

नेपालको लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन्। त्यस्तै, पाकिस्तानको लागि अनोशा नासिरले ३ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। पाकिस्तानको लागि कप्तान हफ्सा खालिद ४० रन बनाउँदै नटआउट रहिन्।

नेपालको लागि कविता कुँवरले २ विकेट लिइन्।

३ हजारले घट्यो सुनको भाउ

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ३ हजार रुपैयाँ घटेर प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार प्रतितोला सुनको मूल्य ३ लाख ६ हजार ५०० पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदी ३४० रुपैयाँले घटेर प्रतितोला ५ हजारमा झरेको छ। बिहीबार एक तोला चाँदी ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

खोज्नुहोस