चुनावी चहलपहलले बढायो आर्थिक गतिविधि
धनगढी। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ । चुनावको कारण चिया पसलदेखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको देखिएको हो ।
चियाको चुस्की लिदैँ चुनावी छलफलदेखि लिएर होटलमा खाजा, खाना खानेहरूको सङ्ख्या बढेका छ । यसैगरी, उम्मेदवार र दलका कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा जुटेपछि इन्धनको उपभोग बढेको छ ।
आसन्न चुनावले व्यापार, व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझाले बताए । उनले विभिन्न परिस्थिति, आन्दोलनका कारण शिथिल बनेको व्यापार, व्यवसाय यो चुनावको बेला गतिशील बनेको उल्लेख गरे ।
“यसले समग्र अर्थतन्त्र चलायमान बनेको छ” उनले भने, “अहिले व्यापार, व्यवसाय बढिरहेको छ ।” कोरोना महामारीले देशकै अर्थतन्त्र तहसनहस भएको थियो । कोरोना समस्या हटेलगत्तै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणका लागि भएको तोडफोड र त्यसपछि निर्माणाधीन अवस्थाका कारण व्यापार, व्यवसाय थला परेको थियो । चुुनावी सरगर्मीले धेरै हदसम्म व्यापार व्यवसाय बढाएको अध्यक्ष ओझाको भनाइ छ ।
यसैगरी, धनगढीमा होटल व्यवसाय गरिरहनुभएका दहिटान घरका सञ्चालक विरेन्द्र चौधरीले पनि यो बेला व्यापार बढेको बताउनुभयो । “चुनाव वा के कारणले हो त्यो त थाहा भएन, तर अहिले व्यापार बढेको छ” उनले भने ।
चुनावका बेला राजनीतिक दल र विशेषगरी उम्मेदवारले खर्च गर्ने गरेको स्थानीयको भनाइ छ । यसैबिच प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दैगएको बेला मतदाताले पनि चुनावी चर्चा गर्न थालेका छन् ।
बिहान–साँझ चिया पसल, होटलमा जमघट भएर उनीहरु पनि चुनावी चर्चा गर्न थालेका हुन् । चियाको चुस्कीसँगै मतदाताबाट जितहारको आँकलन मात्रै सुरु भएको छैन, राजनीतिक दलहरूले विगतमा गरेका बाँचा पनि उनीहरूले सम्झन थालेका छन् ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ जुनसुकै चुनावको बेला चर्चामा रहँदै आएको छ । यसपटक सबै दलहरुले नयाँ अनुहारको उम्मेदवार बनाएपछि चिया पसल, होटलमा जघमघट हुने र जितहारको विषयमा अडकलबाजी हुनेगरेको छ ।
धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँका भवानीदत्त भट्टले दलहरुले विगतमा गरेका प्रतिबद्धता कतिपय पूरा भए पनि जनताको अपेक्षानुसार काम नभएको बताए । उनले यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी र स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाबिच मुख्य प्रतिस्पर्धा हुने बताए । “जित्ने नजित्ने पछिको कुरा हो, तर स्वतन्त्र उम्मेदवार राना पनि बलियो उम्मेदवार छन्” उनले भने, “मलाई लाग्छ, उहाँसहित चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ ।”
नेपाली कांग्रेसबाट नरनारायण शाह मनु, एमालेबाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेमबहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार छन् । सबै उम्मेदवार जनतामाझ लोकप्रिय देखिएकाले कसले बाजी मार्ने भन्ने सवालमा अहिले केही भन्न नसकिने स्थानीय सन्तराम रानाले बताए ।
स्थानीय नेतासमेत रहनुभएका शिवराज रानाको अनुमान भने कांग्रेसका शाह र स्वतन्त्र उम्मेदवार रानाबिच कुनै समुदाय विशेषको मत भागवण्डा भएमा फाइदा एमालेका ढुङ्गानालाई हुने बताए ।
