कैलाली–१ का नागरिकले उम्मेदवारसमक्ष राखे ९ बुँदे माग
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं. १ का नागरिक, युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू समक्ष ९ बुँदे माग राखेका छन् । उनीहरूले निर्वाचनलाई केवल सत्ता परिवर्तनको प्रक्रिया नभई क्षेत्रको दीर्घकालीन भविष्य निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै आफ्ना मागहरू निर्वाचन प्रतिबद्धता पत्रमा स्पष्ट रूपमा समावेश गर्न आग्रह गरेका छन् ।
मागपत्रअनुसार पहिलो बुँदामा युवा सशक्तीकरण र रोजगारीलाई प्राथमिकता दिइएको छ । युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्रविधिमैत्री तालिम, कृषि उद्यम, स्टार्टअप प्रवर्द्धन तथा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
साथै बाढी, नदी कटान तथा जलवायु जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययनमा आधारित दीर्घकालीन र दिगो योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । जनउत्तरदायी प्रतिनिधित्वको विषय उठाउँदै निर्वाचित जनप्रतिनिधिले महिनामा कम्तीमा एक पटक सार्वजनिक सुनुवाइ, जनसंवाद तथा सुझाव संकलन कार्यक्रम गर्नुपर्ने माग गरिएको छ ।
यस्तै, सूचना प्रविधि (आईटी) हबको विकासका लागि तालिम, आधुनिक पूर्वाधार, इन्टरनेट पहुँच र लगानीमैत्री नीति अवलम्बन गरी कैलाली–१ लाई आईटी हबका रूपमा विकास गर्न पहल गर्नुपर्ने उल्लेख गरिएको छ । लागुऔषध नियन्त्रण र शिक्षा सुधारलाई प्राथमिकता दिँदै कडा कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन तथा विद्यालय–समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।
छैटौं बुँदामा टीकापुरलाई शैक्षिक नगरीका रूपमा पुनर्स्थापना गर्ने लक्ष्यसहित उच्च शिक्षा, प्राविधिक शिक्षालय तथा अनुसन्धान केन्द्र विस्तारमा जोड दिइएको छ । सातौं बुँदामा विज्ञान र अनुसन्धान प्रवर्द्धनका लागि प्रयोगशाला, अनुसन्धान परियोजना तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरी नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिएको छ ।
साथै, स्थानीय उत्पादन र बजारको जोड बलियो बनाउन कृषि, उद्योग र सेवा क्षेत्रका उत्पादनलाई मूल्य श्रृंखलामा जोडेर बजार विस्तार गर्नुपर्ने माग राखिएको छ । नवौं बुँदामा सुशासन, पारदर्शिता र अनियमितताको रोकथामका लागि कडा निगरानी संयन्त्र र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
मागपत्रमा उल्लेखित ९ वटै बुँदालाई उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमा स्पष्ट रूपमा समेटी कार्यान्वयनका लागि सार्वजनिक प्रतिबद्धता जनाउन नागरिकहरूले आह्वान गरेका छन् ।
