आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने विश्वास व्यक्त गरेका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसंगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बन्दै गएकाले निर्वाचनपश्चात जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।

यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पूरा गर्न नसकिएको उनको भनाई छ। उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाए।

कालिका– ३ मा स्थानीयहरुले सुकुम्वासी समस्या समाधानका लागि पटक-पटक आश्वासन पाएपनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभा निर्वाचन : डोटीमा त्रिपक्षीय प्रतिस्पर्धा

डोटी- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोटीमा तीनदलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन नजिकिदै गर्दा स्पष्टरुपमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रतिनिधि सभा सदस्यको एक मात्र क्षेत्र रहेको डोटी जिल्लामा ९ वटा दलले आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा पठाएका छन्। तर मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य भरतबहादुर खड्का उम्मेदवार बनेका छन् । खड्का २०७० सालमा संबिधान सभा सदस्य हुन्, भने २०७४ मा प्रदेश क्षेत्र नम्बर ‘१’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य सात वटा स्थानीय तहका प्रमुख उपप्रमुख तथा एउटाको उपप्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेकाले पनि कांग्रेस जित्नेमा ढुक्क देखिन्छ ।

तर बिगतका निर्वाचनमा कांग्रेस भित्रनै अन्तरघातको गन्ध देखिन थालेपछि यसपटकको निर्वाचनमा पनि दोहोरिन्छ कि भन्ने डर कांग्रेसमा देखिएको छ । बिगतका निर्वाचनमा गठबन्धनका कारण कांग्रेस आफ्नै चुनाव चिन्हमा छाप लाउन नपाएकाले धेरै बर्षपछि यसपालिको निर्वाचनमा एकढीक्का भएर रुख चिन्हमा छाप लगाउनेमा आफु ढुक्क भएको खड्का बताउँछन् ।

नेपाली कांग्रेसले आफ्ना कोर भोटरलाई मात्रै सुरक्षित राख्न सक्ने हो भने पनि कांग्रेस सजिलै जित्न सक्ने कतिपय व्यक्तिको बुझाइ छ । यसै बिच डोटीमा नेपाली कांग्रेसको पुरानो बिरासत फर्काउन जसरी पनि लाग्नुपर्ने नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष रघु कठायत बताउँछन्। उनका अनुसार कांग्रेसका लागि यो पुरानो बिरासत फर्काउने उपयुक्त समय र मौका पनि हो। तर उता एउटै क्षेत्र (भेग) तथा पारिवारिक हिसाबले पनि नजिकका रास्वपाका उम्मेदवार नरेन्द्र बहादुर खड्काले कांग्रेसका मत प्रभावित गर्ने आँकलन गरिएको छ ।

रास्वपाका उम्मेदवार खड्का कांग्रेस पृष्ठभुमिबाट भएकाले उनले कांग्रेसकै भोट प्रभावित पार्ने अनुमान गरिएको छ । यद्यपि डोटीमा रास्वपाको क्रेज खासै नरहेपनि यदि ठुलो संख्यामा रास्वपाले भोट पाएको खण्डमा नेपाली कांग्रेसका उम्मेदवारलाई मार्का पर्ने देखिएको छ ।

नेकपा एमाले डोटीले युवा नेता दिपक धामीलाई उम्मेदवार बनाएको छ । धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् । धामी स्थानीय जनता माँझ खासै नभिजेका भएपनि युवा भएकाले युवाहरुको सहानुभुतिक मत तान्न सक्ने देखिन्छ ।

जिल्ला पार्टी अध्यक्ष मञ्जु मलासी तथा प्रदेश सभा सांसद एवं केन्द्रीय सदस्य चक्र बहादुर मल्ल लगायतका सिनियर नेताहरुलाई उछिन्दै प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट ल्याएका धामी भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात देशमा अनुभवी, बुढा नेताभन्दा नयाँ पुस्ताका युवा नेताहरुले जनता माँझ बढीनै महत्व पाइरहेकाले पनि आफू विजयी हुनेमा ढुक्क देखिन्छन् । त्यसैगरी नेकपाको तर्फबाट उम्मेदवार बनेका त्रिलोचन भट्टको पनि  जिल्लामा राम्रो माहोल बन्दै गईरहेको छ । नेकपाको केन्द्रीय सदस्य समेत रहेका भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट डोटी प्रदेश क्षेत्र ‘२’ बाट निर्वाचन भइ लगातार पाँच बर्षसम्म सुदुरपश्चिम  प्रदेशको मुख्यमन्त्री भएका थिए ।

जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेको जस्तो संगठन बलियो नरहेपनि मुख्यमन्त्री भएका बेला जिल्लामा गरेका विकास निर्माणका कार्यले जिल्लाबासीले आफुलाई मत दिएर सम्झिने भट्टको विश्वास छ ।

जिल्लामा कमजोर संगठन रहेको राष्ट्रिय जनमोर्चाबाट मनोज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खडग अग्रवाल, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेकपा (माओवादी)बाट प्रकाश कठायत तथा मितेरी पार्टी नेपालबाट सरस्वती मल्ल पालले प्रतिनिधि सभासदस्यको उम्मेदवारी दिएका छन् ।  -अन्नपूर्णबाट

आजदेखि दुई आईपीओको कारोबार सुरु

काठमाडौँ । सेयर बजारमा दुई चर्चित आईपीओको कारोबार आजदेखि सुरु भएको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिलको सेयर आजदेखि कारोबार सुरु भएको हो ।

नेप्सेको नयाँ व्यवस्था अनुसार दुवै आईपीओ सुरुवाती कारोबार मूल्य अधिकतम ३०० रुपैयाँ तोकिएको थियो । दुवै सेयर अधिकतम मूल्यमै कारोबार सुरु भएको थियो ।

तर, सालपा विकास बैंकले भने पहिलो सातवटा कारोबारमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म उक्त बैंकको १४ वटा कारोबार भएको छ । यसको आईपीओ प्रतिकित्ता १०० रुपैयाँमा बिक्री भएको थियो ।

रिलायन्सको भने अहिलेसम्म ७ वटा कारोबार भएको छ । यो कम्पनीको मूल्य सुरुवाती कारोबार भन्दा २ प्रतिशत बढेर ३०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँमा बिक्री भएको थियो ।

सरकारले १६ वटा युरोपेली देशहरुसँग श्रम सम्झौताका लागि प्रस्ताव पठायो

काठमाण्डौ- नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली देशहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तयारी गरेकोे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएशिया, माल्टालगायत १६ वटा युरोपेली देशसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको छ । श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेका अनुसार राम्रो वातावरण भएका देशहरुमा नेपालीहरुलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताए। उनका अनुसार १६ देशसँग प्रस्ताव पठाइएको छ ।

परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दूतावासहरूले पनि यी देशहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उहाँले छिट्टै परिणाममुखी सम्झौता हुने बताए । परराष्ट्र मन्त्रालय र नेपाली दूतावासहरुले पहल समेत गरिरहेका छन । क्रोएशिया, माल्टासहितका १६ ओटा युरोपेली देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ ।

जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरु गएका पनि छन् । ती देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ । अहिले क्रोएशिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।

पछिल्ला वर्षहरूमा युरोपेली देशहरु विशेष गरी रोमानिया, क्रोएशिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल नेपालीका लागि वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् ।

यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य देशहरूका लागि उदाहरण मानिएको छ ।

नेकपा उम्मेदवार नन्दबहादुर साउद को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

कैलाली- कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कैलाली २ को शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, पूर्वाधार तथा भौतिक विकासलगायत समग्र विकासको योजना समेटिएका छन् । उनले लैङ्गिक जातीय सबै प्रकारका विभेद अन्त्य गर्दै सबै जातजाति, भाषा, धर्म, समुदाय भएको आफ्नो क्षेत्रको पूर्वाधार विकास, युवा पलायन, जीवन उकास्ने, दिगो विकास, सामाजिक न्यायलाई जोड दिँदै आफूले पाँचबर्से योजनालाई जनताका माझ प्रतिबद्धता पत्रका रूपमा लैजाँदै गरेको बताए ।

उनले प्रस्तुत गरेको प्रतिबद्धतापत्रमा विकासका योजनासहित युवादेखि वृद्धसम्मका कुरालाई समेटिएको छ । सिपवान युवा, समृद्ध समाज, स्वदेशमै रोजगारी, युवाको सुरक्षित भविष्य, श्रमको सम्मान, श्रमिकको सुरक्षा, एक वडा, एक सिपमूलक तालिम केन्द्रको स्थापनालगायत युवालक्षित रोजगारीका कार्यक्रम लागु गरिने प्रतिबद्धतापत्रमा जनाइएको छ ।

त्यसै गरी नयाँ उद्यम, व्यवसाय गर्ने युवाका लागि बिनाधितो ऋण दिने व्यवस्था मिलाइने, परम्परागत सिपलाई उद्योगमा विकास गर्ने, आधुनिक कृषि, समृद्ध किसान योजनामार्फत किसानका सबै समस्या समाधानमा पहल गर्ने, प्रत्येक वडामा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रमा थारू संस्कृति संरक्षणका लागि थारू सङ्ग्रहालय, कृषि उद्यमका लागि विभिन्न खेतीमा प्रोत्साहन कार्यक्रम, विभिन्न आन्दोलनमा सहिद परिवारलाई प्रत्येक वर्ष सम्मान तथा सहिदगेट निर्माण, लम्कीचुहामा निर्माणाधीन अस्पताललाई पूर्णता दिने उनले प्रतिबद्धता जनाएका छन् । त्यसै गरी सेती लोकमार्गको निर्माण कार्यलाई यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल, डुडेझारी औद्योगिक क्षेत्र स्थापनाका लागि विशेष पहल, चिसापानी कुँइने हुँदै अछाम जोड्ने मार्ग द्रुत गतिमा अगाडि बढाइने, लम्की –राजकाँडा, डुडेझारी–टीकापुर, बौनिया–खिमडी सडक निर्माणकार्य पूरा गर्ने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

सबै शैक्षिक क्षेत्रका समस्यालाई मध्यनजर गर्दै गुणस्तर शिक्षा र दिगो व्यवस्थापनमा पहल गरिने, लैङ्गिक हिंसा, जातीय विभेद अन्त्यका लागि विशेष पहल गरिने, भ्रष्टाचारविरुद्ध आवाज उठाउने, शैक्षिक संस्थामा पढ्दै कमाउँदै योजना ल्याउने, श्रमको सम्मान र उचित ज्याला र सामाजिक सुरक्षाका विषयमा प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

त्यसै गरी लम्की, भल्का, चुहा, बौनिया, मुडा, चिसापानी, बल्यौर, कटासे व्यापारिक केन्द्र बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने, भूमिहीन दलित, सुकुमवासीलाई लालपुर्जा दिन पहल गरिने छ । अपाङ्गमैत्री भौतिक निर्माण, समावेशी शिक्षा, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउन भूमिका खेल्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

२०७४ सालको चुनावमा सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा निर्वाचित भएका साउद प्रतिनिधि सभा निर्वाचनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। यसअघि प्रतिनिधि सभा निर्वाचन लडेका कुनै पनि उम्मेदवार अहिलेको चुनावी प्रतिस्पर्धामा छैनन्।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट विजयबहादुर स्वाँर, एमालेबाट सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल र नागरिक उन्मुक्ति पार्टी नेपालबाट पतिराम चौधरी उम्मेदवार बनेका छन्। २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरीले चुनाव जितेको थिए । कैलाली क्षेत्र नम्बर २ मा अन्य दलसमेत चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

घरजग्गा कारोबारबाट माघ महिनामा ५ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।

पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको हो । मालपोतको राजस्व सङ्कलनल लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

विभागका अनुसार गएको माघ महिनामा कूल ५० हजार ८ सय ३७ लिखत पारित भएको छ । गएको वर्षको तुलनामा यसवर्षको माघमा लिखत पारितको सङ्ख्या केही बढेको छ ।

विभागका अनुसार गएको माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४ सय ८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५ सय ३२ रुपैयाँ सङ्कलन भएको थियो ।

त्यसैगरी पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २ सय ६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

 

प्रतिनिधिसभा चुनावको मतपत्र छपाइ अन्तिम चरणमा

काठमाण्डौ- प्रतिनिधिसभा चुनावको मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेको ५ लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै बेलुकीसम्म सम्पन्न हने बताए । उनले प्रत्यक्ष तर्फका २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको ५ लाख मतपत्र छपाइ आज दिनभरमा सक्ने बताए ।

भोलिसम्ममा सबै मतपत्र प्याकिङ सके बाँकी जिल्लामा ढुवानी हुने पौडेलले बताए । दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ, भने २ करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

 

सुन-चाँदीको भाउ घट्यो

काठमाडौं- नेपाली बजारमा सोमवार सुन-चाँदीको मूल्यमा गिरावट देखिएको छ। अघिल्लो दिन अर्थात् आइतवार उल्लेखनीय रूपमा बढेको सुनको भाउ आज भने घटेर कारोबार भइरहेको छ।

आइतवार प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको सुन सोमवार भने तोलामा तीन हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतवार भने यही सुन तीन लाख पाँच हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि सोमवार ओरालो लागेको छ। आइतवार प्रतितोला चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार आठ सय ६० रुपैयाँमा झरेको छ। यसअनुसार चाँदीमा प्रतितोला एक सय २५ रुपैयाँको कमी आएको हो।

कञ्चनपुरमा अनुगमनकर्तालाई तालिम

कञ्चनपुरः जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षाका लागि अनुगमनकर्तालाई तालिम प्रदान गरिएको जनाएको छ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नौ जना मतदाता शिक्षा अनुगमनकर्तालाई प्रशिक्षण दिइएको सो कार्यालयले जनाएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले तीन निर्वाचन क्षेत्र रहेका जिल्लाका नौ वटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालनका लागि अनुगमनकर्तालाई प्रशिक्षण दिइएको जानकारी दिए।

मतदान प्रक्रियालाई सरल, सहज बनाउन तथा बदर हुने मतलाई घटाउने अपेक्षासहित अनुगमनकर्तालाई प्रशिक्षण प्रदान गरिएको उनले बताए। अनुगमनकर्ताले पालिका स्तरमा छनौट भएका स्वंयमसेवकलाई मत बदर हुन नदिन तालिम प्रदान गर्ने उनले बताए।   कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा अत्यधिक मत बदर हुँदैआएको छ । वि.सं २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कुल खसेको मतको ६.५ प्रतिशत मत बदर भएको थियो ।

सूचना अधिकारी महराका अनुसार निर्वाचन क्षेत्र १ मा ९९ हजार ११० मतदातामध्ये ६३ हजार ७७० मत खसेकोमा ६० हजार १४० मत सदर भएको थियो भने तीन हजार ६३० मत बदर भएको थियो । त्यसैगरी, क्षेत्र–२ मा चार हजार ८५३ मत बदर भएको थियो । क्षेत्र–३ मा तीन हजार ६२१ मत बदर भएको थियो ।  गत निर्वाचनमा अत्यधिक मत बदर भएकाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन मतदाता शिक्षा अनुगमकर्तालाई आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागि तालिम प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।

जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, पुनर्वास नगरपालिका तथा बेलडाँडी र लालझाँडी गाउँपालिकाका ९२ वटै वडामा एक–एक जना अनुभवीलाई स्वयंसेवक नियुक्त गरिएको छ । यस जिल्लामा १३२ वटा मतदानस्थलमा कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घर बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारेमा मतदातालाई जानकारी गराउने छन् । आगामी निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिसचन्द्र जोशीले बताए।

धुलाचौर बन्दै हिमाली गाउँपालिकाको मुख्य बजार

बाजुराः बाजुराको पूर्वीउत्तर क्षेत्र हिमाली गाउँपालिका–६ मा पर्ने धुलाचौर अहिले स्थानीयको रोजाइमा रहेको छ । पहिला चौरका रूपमा रहँदै आएको धुलाचौर पछिल्लो समय पालिकाले प्रशासकीय भवन यसैमा निर्माण गरेसँगै धुलाचौर स्थानीयको रोजाइमा पर्ने गरेको हो ।

हिमाली गाउँपालिका–६, बोल्डिकका रामबहादुर रावतले भने, ‘मेरो घर बोल्डिक हो । म पहिला त्यहीँ बस्ने गर्थें । केही वर्षयता त्यो घर पहिरोको जोखिममा परेका कारण अहिले यहाँ आएर व्यापार गर्न थालेको बताउनुभयो ।’
उनका अनुसार पहिला यहाँ केही थिएन । खाली ढुङ्गा मात्र थिए । पछि केहीले यहाँ दुई/चार टिनका टहरा लगाए । अहिले यहाँ पालिकाको भवन निर्माण भएसँगै यो धुलाचौर बजारका रूपमा स्थापना भएको छ ।

अहिले यहाँ ठुलो बजार छ । यहाँ हुम्ला, जुम्ला, मुगुलगायतका व्यापारी व्यापार गर्न आउँछन् । यी जिल्लामा प्रायः यही बजारदेखि दैनिक खाद्यान्न सामग्री जाने गर्छ । अहिले यो ठाउँ यहाँको मुख्य बजारका रूपमा चिनिने गरेको छ । अहिले कुनै पनि सेवा सुविधा लिनसमेत निकै सहज भएकाले स्थानीयको रोजाइमा धुलाचौर पर्ने गरेको रावतले बताए।
धुलाचौर अहिले हिमाली गाउँपालिकाको मुख्य बजारका रूपमा रहेको छ । यहाँका छ वटै वडामा यही ठाउँदेखि दैनिक खाद्यान्न सामग्री जाने गर्छ । त्यति मात्र होइन छिमेकी हुम्ला, जुम्ला र मुगुलगायतका जिल्लामा समेत यहीँदेखि खाद्यान्न सामग्री जाने गर्छ ।

पहिला पहिरोले उजाड बनेको यो ठाउँ अहिले हजारौँ टिनका टहराले भरिभराउ भएको छ । लामबद्ध रूपमा रहेका यी टहराले अहिले धुलाचौरको समेत निकै महिमा बढाएको छ । यो क्षेत्र सरकारी जमिनमा पर्छ । केही वर्ष पहिलादेखि यहाँका अधिकांश स्थानीय बाढीपहिरोको जोखिममा परेकाले उनीहरू अहिले यहाँ आएर बस्ने गरेका छन् । हिमाली गाउँपालिकाका सबै वडाका स्थानीयलाई यो ठाउँ उपयुक्त भएकाले सबैको रोहबरमा पालिकाको प्रशासकीय भवन पनि यसैमा निर्माण गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।

उनले भने, ‘यहाँका स्थानीयको सुरक्षाका लागि अहिले अस्थायी प्रहरी चौकीसमेत धुलाचौरमा स्थापना गरिएको छ । यहाँका स्थानीयलाई स्वास्थ्य सेवा दिनसमेत सहज हुने गरेर अहिले यहाँ प्राथमिक स्वास्थ्य चौकी पनि सञ्चालनमा रहेको छ । धुलाचौरको सबै जमिन ऐलानी भएकाले त्यसलाई पालिकाको नाममा गर्न समस्या भएको छ ।’  त्यसका लागि अहिले सम्बन्धित ठाउँमा पहलकदमी गर्दै आएको अध्यक्ष मल्लले बताएका छन्। (गाेरखापत्र)  

रास्वपाको दाबी : प्रतिव्यक्ति आय ३ हजार डलर, जीडीपी १ सय अर्ब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ फागुनमा नागरिक करारको नाममा घोषणापत्र जारी गर्ने भएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि रास्वपाले मुख्य गरी सुशासनलाई प्राथमिकता दिँदै चुनावमा नागरिक करार ल्याउन लागेको हो ।

उपसभापति स्वर्णिम वाग्लेले नागरिक करारका संक्षिप्त विषयवस्तु सार्वजनिक गर्दै सुशासन सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, काम, काम, कनेक्टिभिटीजस्ता विषयलाई प्राथमिकताम राखेको जनाएका छन् ।

‘भ्रष्टाचारविरोधी महाअभियान’मार्फत विश्वसनीय, सदाचारी राज्य निर्माण गर्दै, सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलिभरीसहित भ्रष्टाचार सूचकांकमा भारी सुधार गर्ने प्रतिबद्धता छ । दलीयकरणको अन्त्य र २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन गर्न प्रस्ताव गरिएको छ ।

औसत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डलर नघाउन कुल गार्हस्थ्य उत्पादनको आकार १०० अर्ब डलर (प्रचलित मूल्यमा) पुर्‍याउने घोष्णा रास्वपाको छ ।

शतप्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा दिने उसको प्रतिबद्धता छ । सार्वजनिक शिक्षाको आमूल सुधार गर्ने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’को ग्यारेन्टी गर्ने भनिएको छ ।

आधुनिक बैंकिङसहित वित्तीय सेवाहरूमा सबै नागरिकको पहुँचलगायत सख्त नियमनभित्रको सहकारी र लघु वित्त, मिटर ब्याज शोषणको अन्त्य गरिने रास्वपाको छ । रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । रोजगारीको लागि आईटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारलाई माध्यम बनाउने उसको घोषणा छ ।

कनेक्टिभिटीतर्फ अपर्याप्त एवं असुरक्षित सडकको कमजोरीको विकल्पमा ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने रास्वपाको प्रतिबद्धता छ ।

प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सडक र हवाई सञ्जाल आवश्यक भएको रास्वपाको भनाइ छ । भरोसायोग्य उजी ग्रीड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट विस्तारको वाचा रास्वपाको घोषणापत्रमा आउँदै छ । १५ हजार मेगावाट विद्युत् जडित क्षमता, ३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने प्रतिबद्धता रास्ववपवाको आउँदै छ ।

विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण, मर्यादित वैदेशिक रोजगारीको नारा रास्वपाको करारपत्रमा उल्लेख छन् ।

‘तपाईंहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करारबमोजिमका सर्तहरू डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करार अनुसार हाम्रो ‘राजनैतिक नैतिकता र पद’बाट अर्कोपटकको निर्वाचनमा सजाय दिई असुलउपर गरी लिनुहोला,’ वाग्लेले शेयर गरेको करारपत्रको संक्षिप्त अंशमा उल्लेख छ, ‘यसमा हाम्रो पार्टीको सम्पूर्ण सदस्यहरूको मञ्जुरी छ । यो करारमा उल्लेख गरेको व्यहोरा साँचो हो, झुटा ठहरे सहुँला बुझाऊँला । काबुबाहिरको परिस्थितिबाहेक हामी पूरा गर्न नसकिने वाचा बाँड्दैनौँ, बरु तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौं ।’

क्रिकेट महासंग्राम आज: भारत र पाकिस्तान भिड्दै

काठ्माण्डौ- आइसीसी टि-२० विश्वकप अन्तर्गत आइतबार क्रिकेट जगतकै सबैभन्दा प्रतीक्षित मानिने भारत र पाकिस्तानबीचको भिडन्त हुँदैछ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

खेलको टस साँझ ६:४५ बजेका लागि तय गरिएको छ। हाल कोलम्बोमा भइरहेको वर्षाले खेल बिथोल्न सक्ने आशङ्का समेत गरिएको छ। यद्यपि, खेल सुरु हुने समयमा वर्षाको सम्भावना १० प्रतिशत मात्र रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

सन् २००७ को पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई नै हराएर उपाधि जितेको भारतले सन् २०२४ मा पनि विश्वकपको उपाधि उचालिसकेको छ। पाकिस्तान सन् २००९ को च्याम्पियन हो भने २००७ र २०२२ मा उपविजेता बनेको थियो।

विश्वकपको इतिहास हेर्दा यी दुई टोलीबीच भएका ८ खेलमध्ये भारतले ७ खेल जितेको छ भने पाकिस्तानले मात्र १ खेलमा जित निकालेको छ। समग्र टि-२० अन्तर्राष्ट्रियमा पनि १६ खेलमध्ये भारत १३ र पाकिस्तान ३ खेलमा विजयी भएका छन्।

भारतीय टोलीका लागि युवा अलराउन्डर अभिषेक शर्मा पूर्ण रूपमा फिट भई टोलीमा फर्किएका छन्। पेटमा संक्रमणका कारण अघिल्लो खेल गुमाएका उनी आजको प्लेइङ-११ मा पर्ने सम्भावना प्रबल छ।

भारतीय ब्याटरहरूका लागि पाकिस्तानी स्पिनर उस्मान तारिकको रिएक्सन बलिङ र स्पीड भेरिएसन मुख्य चुनौती बन्न सक्छ।

कोलम्बोको पिच दोस्रो इनिङ्समा केही खस्रो हुने र बल टर्न हुने प्रकृतिको छ। यहाँ टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना बढी छ।

किनकि, पछिल्ला तीन खेलमा पहिले ब्याटिङ गर्ने टोली नै विजयी भएका छन्। कोलम्बोमा शीत नपर्ने भएकाले दोस्रो इनिङ्समा ब्याटिङ गर्न कठिन हुनसक्छ।

यदि वर्षाका कारण खेल हुन नसकेमा दुवै टोलीले १-१ अङ्क बाँड्नेछन्। यस खेलका लागि कुनै ‘रिजर्भ डे’ राखिएको छैन।

कुलमानको चुनावी प्रतिबद्धता: सांसदको संख्या घटाउनेदेखि ५० लाख पर्यटक भित्राउने योजना

काठमाडौँ । उज्यालो नेपाल पार्टीले फागुन २१ मा हुने चुनावका लागि चुनावी प्रतिबद्धता सार्बजनिक गरेको छ । आइतबार सार्बजनिक गरिएको प्रतिबद्धतामा प्रतिनिधि सभाको संख्या २७५ बाट घटाएर २०१ गर्नेदेखि प्रदेश सभालाई ५५० बाट ३३० बनाउने बताएको छ । उज्यालो नेपाल पार्टीले केन्द्रमा १५ र प्रदेशमा ५ देखि ७ जना सम्मको मन्त्रालय राख्ने तथा राज्यमन्त्री र सहायक मन्त्री राख्न नपाउने प्रस्ताव गरेको छ ।

प्रतिबद्धतामा भनिएको छ- ‘शासन खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा ५५० बाट ३३० मा कटौती गर्ने, सङ्घीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गर्ने र राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने प्रस्ताव गरिएको छ । प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणासमेत समेटिएको छ । साथै सरकार गठन भएपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।’

उज्यालो नेपाल पार्टीले प्रतिबद्धता पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता कायम गरिने उल्लेख गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ । त्यस्तै सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारिएको छ ।

उज्यालोले समृद्धितर्फ स्वदेशी पूँजी परिचालन गर्दै निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गर्ने, र आवश्यक प्राथमिकता क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिएको उल्लेख गरेको छ ।  त्यस्तै २०३० सम्म कुल गार्हस्थ उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब अमेरिकी डलर पुर्याउने, २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने, निर्यातलाई २०३० मा १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने, तथा प्रतिवर्ष करिब १० लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

साथै ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ ।

कृषि उत्पादन प्रवर्द्धन र निर्यातका लागि नियमनलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता बढाउने, तथा पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा र उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाई वार्षिक १० अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य राखिएको छ । रोजगारी सिर्जनाका लागि देशभर युवा स्व-रोजगारी अभियान, न्यून ब्याजमा ऋण, र ५ लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने प्रतिवद्धता गरिएको छ । सेवा सुधारका लागि डिजिटल इकोसिस्टम, कानूनी सहजता, एकद्वार प्रणाली र विपद् जोखिम न्यूनीकरणलाई जोड दिँदै राज्य सञ्चालनलाई परिणाममुखी बनाउने प्रस्ताव राखिएको छ ।

उज्यालोले २०२३० सम्म २० लाख र २०३५ सम्म ५० लाख विदेशी पर्यटक भित्राउने दाबी गरिएको छ भने २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र विद्युत निर्यातबाट बार्षिक ५ अर्ब डलर आम्दानी गर्ने बताइएको छ ।

पार्टीले यो प्रतिबद्धता पत्र सम्बन्धित क्षेत्रका विज्ञ, अभ्यासकर्ता लगायत सरोकारवालासँग घनिभूत छलफल गरी, विभिन्न गुणस्तरीय स्रोत सामग्रीका तथ्य तथा तथ्यांकलाई विस्तृत अध्ययन गरेर तयार पारिएको बताएको छ ।  प्रतिबद्धतामा जसरी नेपालमा कुशल व्यवस्थापनमार्फत केही महिनामै १८ घण्टाको लोडसेडिङ स्थायी रूपमा अन्त्य गरियो, त्यसैगरी देशमा विद्यमान अन्य अँध्याराहरू पनि योजनाबद्ध ढंगले छिटो अन्त्य गर्दै आम सर्वसाधारणको जीवनमा उज्यालो ल्याउने दृढ संकल्पसहित यो कार्यान्वयनयोग्य प्रतिबद्धता पत्र जारी गरिएको उल्लेख छ ।

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत गरिएको घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ । त्यस्तै, राज्यको खर्च कटौती गर्न सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने तथा मन्त्रालयको सङ्ख्यासमेत भारी कटौती गर्ने प्रस्ताव गरेको छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर प्रतिबद्धता जनाएको छ । साथै, मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’ को विकल्प दिने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

आर्थिक र सामाजिक क्षेत्रतर्फ पार्टीले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।

त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा र तोकिएको स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क गर्ने, विद्यार्थीलाई ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।

रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा

काठमाडौं । अभिनेतृ एवं निर्देशक रेखा थापाले नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेको यस्तो होला’को घोषणा गरेकी छिन् ।आइतबार शिवरात्रीको अवसरमा निर्देशक थापाले एक समारोहकाबीच आफ्नो नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र निमार्णको घोषणा गरेकी हुन् ।

थापाको तेस्रो निर्देशकीय फिल्र्म माया भनेको यस्तो होला’ को लेखक ध्रुव लम्साल हुन् भने फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् । फिल्म दिया एन्ड अमुको प्रस्तुतीमा बन्न लागेको हो । फिल्मा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्देशक एवं अभिनेतृ थापाले नेपाली समाजकै घटना र विषयबस्तुमा चलचित्र बन्न लागेको भन्दै चलचित्र हरेक पुरुष र महिलाले आफ्नो कथा भएको अनुभव गर्ने बताइन् ।

‘यो चलचित्र हाम्रै समाजमा घटेका घटका तपाई हाम्रै जीवनमा घटेको घटना र हरेकले अनुभुति गरेका विषयलाई नै उठाएको छु । मलाई नारीवादी मात्र चलचित्र बनाउछे भन्ने ट्याग छ तर पुरुषलाई पनि पिडा हुन्छ,’उनले भनिन्र्, न्याय र अन्याय छुट्याउदा पुरुष र नारी भनेर हेर्दिन । यो चलचित्र हरेक पुरुषले हरेक महिलाले रिलेटेट् गर्नुहुन्छ । तपाईहरले सोचेभन्ना भिन्न प्रकारको र सबैलाई मन पर्ने चलचित्र बन्नेछ ।’

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनबहादुर श्रेष्ठले जिन्दगीभर टेलिफिल्म र हास्य कला क्षेत्रमा व्यस्त रहेको भन्दै नयाँ संसारमा छिरे जस्तो अनुभव गरिरहेको बताए ।

‘आज म रेखा थापा बहिनीको निर्देशनमा बन्न लागेको माया त यस्तै होलामा खेल्दैछु । नयाँ संसारमा छिरे जस्तो लागेको छ । जिन्दगीभर टेलिफिल्म र हास्य टेलिफिल्ममा व्यस्त भए । फिल्म क्षेत्रका धेरैलाई चिनेकै छैन नयाँ संसारमा भए जस्तो भएको छ,’ उनले भने ।

यस्तै कलाकार सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकसामु जान आतेर रहेको बताइन् ।

‘हामी सुन्दर चलचित्र लिएर आउँदैछौ । यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित छु र यो चलचित्र लिएर दर्शकसामु जान पनि उत्साहित छौ,’ उनले भनिन् ।

 

पाताल भुवनेश्वर धाममा भक्तजनको घुइँचो

बैतडी- महाशिवरात्रिका अवसरमा बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा श्रद्धालु भक्तजनको ठुलो भीड लागेको छ । वृद्धदेखि बालकसम्मका भक्तजन बिहानैदेखि धाम पुगेर भगवान् शिवको दर्शन तथा पूजाअर्चनामा व्यस्त देखिन्छन् ।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण मानिने यस धाममा जिल्लाका विभिन्न स्थानीय तहका साथै छिमेकी जिल्ला तथा सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आएका छन् । महाशिवरात्रिका दिन यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएकाले बर्सेनि ठुलो सङ्ख्यामा श्रद्धालु उपस्थित हुने गरेका छन् ।

महाशिवरात्रिलाई लक्षित गरी विशेष पूजा, रुद्राभिषेक, भजनकीर्तन तथा दीप प्रज्वलन कार्यक्रम सञ्चालन गरिएको छ । दर्शनलाई सहज बनाउन स्वयंसेवक परिचालन गरिएको र सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ । प्राकृतिक रूपमा बनेको गुफाभित्र अवस्थित शिवलिङ्ग, विभिन्न देवीदेवताका आकृतिजस्ता देखिने शिलारचना तथा कहिल्यै नसुक्ने तालका कारण पाताल भुवनेश्वर धामलाई विशेष धार्मिक स्थलका रूपमा लिइन्छ ।

स्थानीय किंवदन्ती तथा पुराणमा समेत उल्लेख पाइने यस धामले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको छ । महाशिवरात्रिका अवसरमा धाम परिसरमा मेलासमेत लागेको छ । स्थानीयवासीले अस्थायी पसल सञ्चालन गरी प्रसाद, पूजा सामग्री तथा स्थानीय उत्पादन बिक्रीवितरण गरिरहेका छन् । यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुगेको छ ।

श्रद्धालुको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाले सरसफाइ, खानेपानी तथा यातायात व्यवस्थापनमा ध्यान दिएको सुर्नया गाउँपालिका–२ का वडा अध्यक्ष गणेशबहादुर विष्टले जानकारी दिए । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा रहेको पाताल भुवनेश्वर धाममा महाशिवरात्रिका दिन विशेष चहलपहल देखिएको छ ।

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर एट’ मा

मुम्बई: नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ मा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले मुम्बईको वानखडे रंगशालामा १५.२ ओभरमै पूरा गरेको थियो ।

वेस्ट इन्डिजका ओपनर ब्याटर ब्रान्डन किंग २२ रन बनाई आउट भए । नन्दन यादवको बलमा कुशल भुर्तेलले मिडअनमा उनको क्याच लिएका थिए । किंग र कप्तान साई होपले ६ ओभरभित्र पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि होप र हेटमायरले ४१ बलमा अर्धशतकीय साझेदारी पूरा गरेका थिए, जसमा हेटमायरको योगदान ३७ रनको थियो । त्यसपछि भने होप आक्रामक बनेका थिए ।

यी दुई ब्याटरले दोस्रो विकेटमा कुल ५९ बल खेली ९१ रनको साझेदारी गरे । होप ६१ र हेटमायर ४६ रन बनाई अविजित रहे । होपले ४४ बल खेलि ५ चौका र ३ छक्का तथा हेटमायरले ३२ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।

वेस्ट इन्डिजले लगातार तेस्रो खेल जित्दै अर्को चरणमा स्थान पक्का गरेको हो । नेपालले भने लगातार तेस्रो खेलमा पराजय भोगेको हो । नेपालले मंगलबार स्कटल्यान्डसँग समूहचरणको अन्तिम खेल खेल्ने छ ।

 

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीको ५८ रन बनाएपछि मात्र नेपालले हेर्नलायक स्कोर बनाएको हो । नेपाली खेलाडीको ट्वान्टी–२० विश्वकपमा यो केवल दोस्रो अर्धशतक हो र उच्च स्कोर पनि हो ।सुवास खकुरेलले २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध यसअघि ५६ रन बनाएका थिए ।

नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । अकेल हुसैनले कुशल भुर्तेललाई पाँचौँ बलमा बोल्ड गरेका थिए ।

कप्तान रोहित पौडेल ७ बलमा ५ रनमात्र बनाई म्याथ्यु फोर्डको बलमा एलबीडब्लू आउट भए । त्यसपछि जेसन होल्डरले शेख दाजुभाइ आसिफ र आरिफलाई आउट गरे ।

दुई चौका प्रहार गरी १० बलमा ११ रन बनाएका आसिफ फाइनललेगमा क्याच दिन पुगे । आरिफ पनि २ रनमा मिडविकेटमा क्याच भए । नेपालले पावर प्लेको पहिलो ६ ओभरमा २२ रनमात्र बनाउन सकेको थियो र ३ विकेट गुमाएको थियो । त्यसपछिको ४ ओभरमा नेपालले २० रन जोडेको थियो ।

लोकेश बमले १३ रन बनाए । १५ बल खेली २ चौका प्रहार गरेका उनी सामर जोसेफको लेग साइडमा गएको बलमा विकेटकिपरलाई क्याच दिन पुगे । दीपेन्द्र र गुलशन झाले छैटौं विकेटमा २६ बलमा २७ रनको साझेदारी गरे । एक छक्का प्रहार गरेका गुलशनलाई रोस्टन चेजले बोल्ड गरिदिए ।

दीपेन्द्र र सोमपाल कामीले सातौं विकेटमा २६ बलमा ५४ रनको साझेदारी गरे । नेपाली इनिङ्सको यो सबैभन्दा ठूलो साझेदारी थियो । होल्डरले फालेको १८ औं ओभरमा नेपालले १६ रन जोडेको थियो । त्यसमा सोमपालले होल्डरलाई लगातार ३ चौका प्रहार गरे । दीपेन्द्रले २ छक्का प्रहार गरेपछि नेपालले १९ ओभरमा कुल १८ रन जोडेको थियो ।

दीपेन्द्र अन्तिम ओभरमा होल्डरको बलमा लङअफमा क्याच दिन पुगे । उनले ४७ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । सोमपाल १५ बलमा २६ रन बनाई अविजित रहे । उनले ४ चौका प्रहार गरे । करण केसी १ रन बनाई अन्तिम बलमा आउट भए ।

वेस्ट इन्डिजबाट होल्डरले ४ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चे । फोर्डले ४ ओभरमा १ मेडन राख्दै १० रनमात्र खर्चेर १ विकेट लिए । फोर्डसँगै हुसैन, जोसेफ र चेजले १–१ विकेट लिएका हुन् ।

सोमपाल प्रतियोगितामा पहिलो खेल खेल्दै तेस्रो पटक विश्वकपमा खेल्ने नेपालको पहिलो खेलाडी बने । नेपालले यसअघि २०१४ र २०१६ को विश्वकपमा पनि सोमपालले खेलेका थिए ।

नेपालले सेप्टेम्बरमा यूएईको शारजहाँमा वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला एतिहासिक रुपमा २–१ ले जितेको थियो । त्यो टोलीका केवल दुई खेलाडी हुसेन र होल्डरमात्र अहिलेको वेस्ट इन्डिजको टोलीमा रहेका छन् । वेस्ट इन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसेनले शारजहाँमा क्यारेबियन टोलीको नेतृत्व गरेका थिए ।

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने जिकिर गरेका छन्।

आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन्। बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो। चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए।

चुनावी अभियानका लागि उनी काठमाडौँबाट आइतबार झापा फर्किएका हुन्। उनी झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन्।  केही दिन काठमाडौँ बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताए। अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ।

ओलीले अब चुनाव हुने आशा बढेको बताए। ‘चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौँ,’ ओलीले थपे, ‘चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी।’  चुनाव भएमा आफ्नो पार्टी सहभागी हुने उनको भनाइ थियो। ‘चुनाव हुने भए हामी भाग लिन्छौँ,’ ओलीले भने।

नेपालको निर्वाचन परिणाम पनि बंगलादेशको जस्तै हुन्छ : ओली

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताएका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिए ।

काठमाडौंबाट आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने बताए । सामाजिक सञ्जालमा पपुलर व्यक्तिहरू पराजित भएको र आन्दोलनपछि उदायको दल कम सीटमा खुम्चिएको बारे पत्रकारले जिज्ञासा राखेका थिए ।

ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको दोहोर्‍याए । पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनिनसकेको उनको भनाइ थियो ।

यसअघि अध्यक्ष ओलीले झापा-५ का कमल, गौरादह तथा गौरीगञ्जमा मतदातासँग भेटेका थिए । यसपटक दमक केन्द्रित हुने बताइएको छ । अधिकांश मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उनले सुनाए ।

महिला एसिया कप : नेपालको लगातार दोस्रो हार

काठमाडौँ- थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग १८ रनले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको थियो ।

जितका लागि एक सय ९० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७१ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो ।

राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा युएई रहेको छ । समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड रहेको छ ।

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतकमा नेपालले वेस्ट इन्डिजले १३४ रनको सामान्य लक्ष्य दिएको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो ।

ऐरीले ४७ बलमा ५८ रन जोड्न ३ चौका र ३ छक्का प्रहार गरे । ३ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमेपछि क्रिजमा आएका ऐरीले खेलको अन्तिमसम्म टिकेर इनिङ उकासे । नेपालबाट सर्वाधिक रन जोड्ने उनी नै हुन् ।

नेपालका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा वेस्ट इन्डिजले सामान्य लक्ष्य पाएको हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट भए । भुर्तेलले १ र आसिफले ११ रन मात्रै जोडे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका कप्तान रोहित पौडेल ५ रन जोडेर आउट भए ।

खेल ६ ओभरको तेस्रो बलमा पुग्दा नेपालले आरिफ शेखलाई गुमायो । आरिफले ८ बल खर्चेर २ रन जोडे  । यसबेला नेपाल ४ विकेटको क्षतिमा २३ रनको कमजोर अवस्थामा थियो ।

लोकस बम पनि आजको खेलमा चल्न सकेनन् । उनले १५ बल सामान गर्दा १३ रन जोडे । गुल्सनलले ११ रन मात्रै जोडे ।

सोमपालले भने इनिङ उकास्न ऐरीलाई साथ दिए । उनले अविजीत २६ रन जोडे । उनले ४ चौका प्रहार गरे ।  दीपेन्द्र र सोमपालको साझेदारीले नेपालको इनिङ केही हदसम्म उकासियो ।

टी २० विश्वकपमा ऐरीको अर्धशतक

मुम्बई : आइसीसी टी २० विश्वकप २०२६ को तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा दिपेन्द्र सिंह ऐरीले १८.४ ओभरमा दिपेन्द्र सिंह ऐरीले ४४ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले टी २० अन्तर्राष्ट्रियमा ११ औं अर्धशतक प्रहार गरेका हुन्।

कैलालीमा माघ महिनामा लागुऔषधसहित ३९ जना पक्राउ

कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा सम्पन्न गरेका गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार उक्त अवधिमा लागुऔषध सम्बन्धी ३२ वटा मुद्दा दर्ता गरिएको छ।

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ३९ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १ महिला र ३८ पुरुष रहेका छन्। प्रहरीका अनुसार ४९ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन तथा ९३३ थान विभिन्न किसिमका लागुऔषध ट्याब्लेट बरामद गरिएको छ।

यसैगरी, मदिरा नियन्त्रण अभियानअन्तर्गत १०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि माघ महिनाभर ५२ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

कैलालीमा माघ महिनामा ५९ दुर्घटना: ८ जनाको मृत्यु

कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा सवारी दुर्घटना र राजस्व संकलन सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, सो महिनामा कुल ५९ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ७० वटा सवारी साधन संलग्न रहेको र दुर्घटनामा ८ जनाको मृत्यु तथा ६९ जना घाइते भएका छन्। सवारी दुर्घटनामा चालकको गल्तीका कारण ४२ वटा दुर्घटना भएका छन् भने यात्रुको कारणले ९ वटा दुर्घटना भएका छन्।

सवारी नियम उल्लङ्घन गर्ने १३७९ वटा सवारी साधनमा कारवाही गरिएको छ भने राजस्व संकलन रकम ११,५२,५०० रुपैयाँ पुगेको छ।

सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी जनचेतना बढाउन माघ महिनामा ३९ वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

प्रधानमन्त्री सुशिला कार्कीद्वारा शिवरात्रिको शुभकामना

काठ्माण्डौ- प्रधानमन्त्री सुशिला कार्कीले महाशिवरात्रिको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन्। आज परेको महाशिवरात्रिका अवसरमा शुभकामना दिदैं उनले आदियोगी भगवान् शिवको आराधनामा समर्पित रहने दिनका रूपमा बयान गरेकी छन्।

‘शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्, शिव र शक्ति तथा प्रकृतिको अद्वैत सम्बन्धले मानवलाई प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्छ।’ उनले लेखेकी छन्।

प्रधानमन्त्री कार्कीले महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बन्ने विश्वास समेत गरेकी छन्।

महाशिवरात्रि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो। यसलाई ‘शिवको महान् रात्रि’ पनि भनिन्छ।

पौराणिक मान्यता अनुसार आजको दिन भगवान् शिव    निराकारबाट साकार रूपमा अवतरित भएका थिए भन्ने मान्यता राखिदैं आएको छ। साथै  शिव–पार्वतीको विवाह पनि यही रात सम्पन्न भएको विश्वास हिन्दू धर्ममा गरिँदै आएको छ।

धार्मिक विश्वासका आधारमा आजको दिन व्रत बस्ने, रातभर जाग्राम गर्ने र शिवलिङ्गमा पूजा–अर्चना तथा दुग्ध अभिषेक गर्ने प्रचलन  छ।  शिवतत्वसँग सम्बन्धित यस पर्वले अज्ञानताको अन्धकारबाट मुक्ति, सुखशान्ति र समृद्धि प्राप्त हुने जनविश्वास  छ।

टी-२० विश्वकपमा सोमपालको इतिहास : नेपालका तीनै संस्करण खेल्ने एक्लो खेलाडी

मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामी नेपालबाट तेस्रोपटकको टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बनेका छन् ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार भइरहेको वेस्ट इन्डिजसँगको खेलमा सोमपाल प्लेइङ ११ मा परेसँगै उनी तेस्रोपटक विश्वकपमा खेल्ने एकमात्र खेलाडी बनेका हुन् ।

समूह सी मा रहेको नेपालले यसअघि इंग्ल्यान्ड र इटलीसँग खेल्दा सोमपाल बेन्चमा थिए । वेष्ट इन्डिज विरुद्ध उनी पहिलो रोजाइमा पर्दै इतिहास रचेका हुन् ।

सोमपाल पहिलो रोजाइमा समावेश भएपछि नेपाली टोली सोमपाल करण केसी र नन्दन यादव गरी तीन पेस बलर समावेश छन् । सन्दीप लामिछाने स्पीनरका रुपमा छन् । यस्तै दीपेन्द्र सिंह ऐरी स्पीन अलराउण्डरको रुपमा छन् । पेस बलिङ अलराउण्ड र गुल्सन झा पहिलो रोजाईँमा खेल्दै आएपनि उनले बलिङ भने गरेका छैनन् ।

नेपालले सन् २०१४ को टी-२० विश्वकपमा डेब्यु गर्दा सोमपाल कान्छा सदस्य थिए । उक्त विश्वकपमा खेलेको एकमात्र खेलाडीका रूपमा सोमपाल हालसम्म पनि राष्ट्रिय टिममै सक्रिय छन् ।

सोमपालले पछिल्लो पटक सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमा पनि खेलेका थिए । सन् २०२६ को संस्करणमा आज पहिलो खेल खेल्न लागेका हुन् ।

सोमपालले सन् २०१४ मा ३ अनि सन् २०१४ मा ३ गरेर हालसम्म ६ वटा विश्वकप खेल खेलेका छन् । उनको यो सातौं विश्वकप खेल हो ।

वेस्ट इन्डिजविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।

नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

सुनको मूल्य बढ्यो

काठमाडौं- आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

खोज्नुहोस