वर्ल्ड स्कलर्स कप २०२६ मा प्रिमियरको ऐतिहासिक सफलता

द एभरेष्ट पोष्ट
३० माघ २०८२ १५:३६
वर्ल्ड स्कलर्स कप २०२६ मा प्रिमियरको ऐतिहासिक सफलता

काठमाडौं- प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ को काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा प्रिमियरले सर्वोच्च व्यक्तिगत पुरस्कार, उत्कृष्ट टोलीको उपाधि तथा कुल ७१८ पदक र १८ ट्रफी जित्दै उल्लेखनीय प्रदर्शन गरेको हो।

प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले प्रतियोगिताकै सर्वोच्च व्यक्तिगत सम्मान प्राप्त गर्दै नयाँ कीर्तिमान बनाएकी छन्। यो उनको लगातार चौथो पटक प्राप्त गरिएको सर्वोच्च व्यक्तिगत पुरस्कार हो। यसअघि उनले काठमाडौं क्षेत्रीय चरण २०२५, बैंककमा सम्पन्न विश्वस्तरीय चरण २०२५ तथा अमेरिकाको येल विश्वविद्यालयमा आयोजना भएको च्याम्पियन अफ च्याम्पियन्स प्रतियोगिता २०२५ मा पनि यही सम्मान हात पारेकी थिइन्। एउटै विद्यार्थीले लगातार चार पटक यस्तो उच्चस्तरीय सम्मान प्राप्त गर्नु वर्ल्ड स्कलर्स कपको इतिहासमै दुर्लभ उपलब्धि मानिन्छ।

टोलीतर्फ पनि प्रिमियरले उत्कृष्ट टोलीको उपाधि जित्न सफल भएको छ। रिशित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्की सम्मिलित टोली प्रतियोगिताको सबैभन्दा बढी अंक ल्याउने टोली बनेको हो। टोली सदस्य रिशित मैनालीले ९ स्वर्ण, ९ रजत पदक र ४ ट्रफी जिते भने दृश्य रत्न शाक्यले ८ स्वर्ण र ८ रजत पदक प्राप्त गरे। नृप्शा कार्कीले १२ स्वर्ण, ३ रजत पदक र १ ट्रफी जित्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिइन्।

श्रुति श्रेष्ठको नेतृत्वमा रहेको अर्को टोली-आरव कृष्ण श्रेष्ठ र रैय्या कोइरालासहित—ले २२ स्वर्ण, १२ रजत पदक र ५ ट्रफी जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारी सम्मिलित टोलीले १७ स्वर्ण, ६ रजत पदक र ३ ट्रफी जित्न सफल भयो।

सम्पूर्ण प्रतियोगितामा प्रिमियरका विद्यार्थीहरूले जम्मा ३१३ स्वर्ण र ३८७ रजत पदकसहित १८ ट्रफी जितेका छन् । यो काठमाडौं क्षेत्रीय प्रतियोगिताको इतिहासमै सबैभन्दा प्रभावशाली प्रदर्शनमध्ये एक मानिएको छ। व्यक्तिगत र टोली दुवै विधामा शीर्ष उपाधि प्रिमियरले जित्नुले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको बौद्धिक क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ।

सन् २०१९ मा नेपालमा पहिलो पटक वर्ल्ड स्कलर्स कप प्रतियोगिता भित्र्याउने तथा काठमाडौं क्षेत्रीय चरणको निरन्तर आयोजक विद्यालयका रूपमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।

यस ऐतिहासिक सफलतापछि प्रिमियरको टोली अब आगामी विश्वस्तरीय चरणको तयारीमा जुटेको छ। विद्यालयले यस उपलब्धिले गहिरो सोच, आत्मविश्वास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम विद्यार्थी उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस