प्रणय दिवस
टीका पौडेल ।
फागुनको मधुर बिहान, हावामा प्रेमको बास,
हृदय–हृदय जोड्ने दिन, भावनाको विशेष आस।
गुलाबका पातझैँ कोमल, मुस्कानले भरिएको,
प्रणय दिवस आज आयो, माया झन् गहिरिएको।
आँखा आँखामा हराउँदा, शब्द मौन हुन्छन्,
मनका अनकन्टार बाटा, प्रेमले खोलिदिन्छन्।
न त धन चाहिन्छ यहाँ, न त ठूलो उपहार,
साँचो मनको भावना नै, प्रेमको हो आधार।
साथ तिम्रो पाएपछि, एक्लोपन हरायो,
जीवनको प्रत्येक पाइलामा, विश्वास पलायो।
हिजोका ती दुःखहरू, आज हाँसो बने,
मायाले छोएपछि, काँडाहरू पनि फुले।
प्रणय दिवस भन्छ—प्रेम सस्तो नठान,
समयको परीक्षा पार गर्दै, सम्बन्ध देऊ सम्मान।
क्षणिक आकर्षण होइन, आत्माको मिलन हो,
दुई मनको गहिरो संवाद, यही प्रेमको चिन्ह हो।
आज हात समातेर कसम, सधैं साथ दिने,
हर्ष होस् या पीडा, कहिल्यै नछाडिने।
समय बद्लिएला, उमेर पनि ढल्केला,
तर प्रेमको उज्यालो दीप, सधैं बल्केला।
प्रणय दिवस एक दिन, प्रेम त हरेक पल,
मनमनमा बगिरहोस्, मायाको अविरल जल।
आज प्रेम बोलोस् खुला, नलुकाऔं भावना,
किनकि प्रेम बिना जीवन, अधुरो छ कहानी।
