नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिकाबारे अन्तर संवाद

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ २०:०४
नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिकाबारे अन्तर संवाद

अमेरिका ।  प्रविधियुक्त पत्रकारिताको विकाससँगै नेपाली पत्रकारिताको अभ्यास र  प्रभावलाई नेपालको भौगोलिक सीमाको दायराभित्र सीमित हुने अवस्था विस्तारै अन्त्य हुँदै गएको नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा औँल्याइएको छ ।

कोलोराडोको वेष्ट मिनिस्टरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा नेजाको संयोजनमा आइतबार भएको नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका विषयक अन्तर संवादमा सहभागी वक्ताहरूले सो कुरा औँल्याएका हुन् ।

नेपालको सीमाबाहिर पनि ठूलो संख्यामा नेपाली र नेपालीभाषीको उपस्थिति र बसोबास भैरहेको अवस्थामा त्यहाँ भैरहेको पत्रकारिता र प्रविधिले पत्रकारितालाई विश्वव्यापीकरण गराएको उल्लेख गरेका छन् । अब नेपालभित्र र नेपालबाहिरको पत्रकारिताको अभ्यासलाई दुई कोणबाट हेर्नुपर्ने अवस्था अन्त्यतर्फ अघि बढिरहेको बताए ।

विश्वका धेरै देशहरूमा नेपालीको उपस्थिति रहेको तथा त्यहाँ नेपाली भाषा र अन्य भाषामा समेत पत्रकारिता गर्ने नेपाली पत्रकारहरूको संख्या उल्लेख्य रहेकोमा सहभागीले जोड दिए ।

सहभागी वक्ताहरूले नेपालबाहिर पनि ठूलो संख्यामा सञ्चारमाध्यमहरू सञ्चालन भैरहेको र तिनीहरूले नेपाली पत्रकारिताको विकासमा महत्त्वपूर्ण योगदान दिइरहेकोमा सहभागी वक्ताहरूको जोड रह्यो ।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रर्वद्धन र विस्तारमा पत्रकारिताको भूमिका अहम् रहेको औँल्याउँदै सहभागी वक्ताहरूले प्रविधिको उच्चतम सदुपयोग गर्दै दायरा अझ व्यापक  बनाउनुपर्ने आवश्यकता औँल्याए ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेल, वरिष्ठ पत्रकार सुधिर शर्मा, अनलाइन खबरका प्रधान सम्पादक बसन्त बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, मदन पुरस्कार विजेता साहित्यकार डा. निलम कार्की निहारिका, राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त तथा नेजा कार्यसमिति सदस्य यशोदा तिम्सिना,  वरिष्ठ पत्रकार नारायण श्रेष्ठ लगायतले सहभागी वक्ताको रूपमा धारणा राख्दै संख्यात्मकसँगै गुणात्मक पत्रकारिताको विकासमा समेत जोड दिए ।

संघका कार्यसमिति सदस्य दिपेन्द्र खड्काको सञ्चालन, क्षेत्रीय संयोजक ओम आचार्यको धन्यवाद ज्ञापन र वरिष्ठ पत्रकार दिनेश कार्कीको सहजीकरणमा कार्यक्रममा सम्पन्न भएको हो ।

अन्तर संवादमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाल अमेरिका पत्रकार संघ र अनेसासका बीचमा भाषा साहित्यको प्रवर्द्धनका लागि सहकार्यको सुरुआत भएको बताउँदै आगामी दिनमा अझ यसलाई विस्तार गर्दै लगिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस