नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

द एभरेष्ट पोष्ट
२७ माघ २०८२ १३:२८
नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । नेकपा सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेशसभामा दलहरूको हैसियत फेरिएको छ ।

पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो । संसदीय दलका अन्य पदाधिकारी भने निर्वाचनपछि चयन गरिने बताइएको छ ।
नेकपा २१ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको संसदीय दलका नेता भट्टले जानकारी दिए । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकीकरण भएपछि सुदूरपश्चिममा पनि संसदीय दल पुनर्गठन गरिएको हो ।

तत्कालीन माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका तीन (एक जना निलम्बनमा) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य गरी कुल २१ सदस्य पुगेपछि नेकपा पहिलो दल बनेको छ ।

यसअघि सबैभन्दा ठुलो दल रहेको कांग्रेसको हैसियत दोस्रो बनेको छ । प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपा र रास्वपाका एक–एक सांसद छन् ।

भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस