निर्वाचनको सम्मुखमा नेकपाका केन्द्रीय सदस्य दीपक शर्माले गरे पार्टी परित्याग

द एभरेष्ट पोष्ट
२६ माघ २०८२ १२:१५
निर्वाचनको सम्मुखमा नेकपाका केन्द्रीय सदस्य दीपक शर्माले गरे पार्टी परित्याग

काभ्रे : निर्वाचनको सम्मुखमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक जंगम शर्माले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र गुटबन्दी, अपारदर्शी निर्णय प्रक्रिया र विधि–विधान विपरीत गतिविधि बढ्दै गएको भन्दै उनले पार्टीको केन्द्रीय सदस्यसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका हुन्।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाललाई सम्बोधन गरी दिएको पत्रमा शर्माले समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूलाई अन्याय गरिएको उल्लेख गरेका छन्। निर्वाचन आयोगबाट प्रकाशित समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो नाम समावेश नहुनु पार्टी केन्द्रको गलत निर्णय भएको उनको आरोप छ।

शर्माले पार्टी जनताको भावना, मूल्य, मान्यता र सिद्धान्तबाट विचलित हुँदै गएको तथा गुट–उपगुटका कारण संगठन कमजोर बन्दै गएको बताएका छन्। पार्टीभित्र रहँदा आत्मसम्मान र राजनीतिक नैतिकता जोगाउन कठिन भएको भन्दै उनले यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे।

उनले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौं अन्तर्गत न्याय, कानुन तथा मानवअधिकार विभागमा केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। उक्त पत्र बागमती प्रदेश कमिटी, समानुपातिक उम्मेदवार सिफारिस समिति तथा सम्बन्धित जिल्ला पार्टी कमिटीलाई समेत बोधार्थ पठाइएको जनाइएको छ। शर्मा काभ्रे जिल्लाबाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस