बैतडी बस दुर्घटना : सात मृतकको एकै आगनबाट उठाइयो शव
धनगढी। बझाङमा बैतडीको बस दुर्घटनमा मृत्यु भएकाहरूको एक आगनबाट दाहसंस्कारका लागि शव उठाइएको छ ।
एक परिवारका रहेका बझाङको बित्थडचिर–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको शनिबार बिहान एकै ठाउँमा अन्त्येष्टिका लागि शव उठाइएको हो ।
जन्ती सवार बस दुर्घटनामा ज्यान गुमाएका केटा पक्षका सातजनाको अन्त्येष्टिको लागि एकै आँगनबाट पार्थिव शरीर उठाइएको बित्थडचिर–७ वडा अध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।
नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु–भाइ हुन् । दाजु नरेन्द्र बित्थडचिर–७ का वडा सचिव हुन् भने भाइ विष्णु स्थानीय महादेव माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक हुन् । दुर्घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्र र विष्णुदत्तका भतिजा हुन् ।
घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन् । घटनामा ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी बाबु–छोरा हुन् ।
केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो । सोही घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन् ।
उनीहरू दुवैको डडेलधुरा ल्याउने क्रममा बाटैमा ज्यान गएको थियो । उक्त घटनामा निधन भएका सातैजनाको बझाङको कालंगा गाडमा अन्त्येष्टि गरिरहेको बित्थडचिर–७ वडा अध्यक्ष अधिकारीले बताए ।
