टी–२० विश्व च्याम्पियन इंग्ल्यान्डसँग भिड्दै नेपाल
काठमाडौं । टी–२० विश्वकपमा नेपालको तेस्रो सहभागिता हुँदै छ । र तेस्रोपटकको यात्राको पहिलो सामना नै दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्डसँग गर्दै छ । अझ नेपाल र इंग्ल्यान्डले अहिलेसम्म कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गरेका छैनन् । समूह ‘सी’को यो खेल मुम्बईस्थित वानखेडे रंगशालामा आइतबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे हुनेछ ।
नेपाल र इंग्ल्यान्डको प्रतिस्पर्धालाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबिचको लडाइँका रूपमा हेरिएको छ । हाल टी–२० वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा छ । नेपाल १६औँ स्थानमा छ । इंग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो । नेपाल भने समूह चरणबाट माथि बढ्न सकेन । त्यसयता नेपाली टोलीले टी–२० आईमा एकनासको प्रदर्शन गर्दै आएको छ । त्यसैले पनि नेपाली टिमलाई प्रतिद्वन्द्वी इंग्ल्यान्ड सबैभन्दा ठुलो चुनौती हुनेछ । उसले सन् २००७ देखि नै लगातार विश्वकप खेल्दै आएको छ ।
इंग्ल्यान्डका खेलाडीले पछिल्लो समय तीनै फम्र्याटको क्रिकेटमा एकरूपको प्रदर्शन गर्दै आएका छन् । उनीहरूसँग विश्वका चर्चित आइपिएललगायत फ्रेन्चाइज लिग खेलेको अनुभव छ । प्रत्येक खेलाडी व्यक्तिगत रूपमै टोलीलाई जिताउन सक्ने क्षमता राख्छन् । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक नेपालको खेलमा केन्द्रित हुने बताउँछन् । ‘पहिलो खेल नेपालसँग छ । हामी वर्तमानमा रहनेछौँ । जो विपक्षी भए पनि उनीहरूलाई सम्मान गर्दै खेल्नेछौँ,’ उनले भने ।
स्पिनर विल ज्याक्सले नेपालले पछिल्लो समय निकै सफलता हासिल गरेको बताए । उनले नेपालको खेल अनुसन्धान गरेर खेल्ने प्रतिक्रिया दिए । ‘नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । चर्चा धेरै भएको देख्छु,’ उनले भने, ‘नेपालको खेलाडी हाम्रा लागि नयाँ हुनेछन्, उनीहरूबारे अनुसन्धान गरेर खेल्नेछौँ ।’यता, मूलतः घरेलु प्रतियोगितामै सीमित नेपाली टिमका खेलाडीसँग पनि अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव भने नभएको होइन । स्पिनर सन्दीप लामिछानेसँग भारतको आइपिएल र अस्ट्रेलियाको बिगबास लिगसहित विभिन्न फेन्चाइज लिगको अनुभव छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी, तेस्रोपटक विश्वकप खेल्दै गरेका अलराउन्डर सोमपाल कामीलगायतसँग एसोसिएट राष्ट्रकै फ्रेन्चाइज लिगको अनुभव छ ।
कप्तान रोहितकुमार पौडेलसँगै गुल्सन झा, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, ललितनारायण राजवंशी भने घरेलु लिगमै सीमित बन्दै आएका छन् । अझ नेपाली टोलीका पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् । यस्तो अवस्थामा प्रशिक्षक स्टुआर्ट ललाई इंग्ल्यान्डविरुद्धको खेल निकै चुनौतीपूर्ण हुनेछ । नेपालका कप्तान रोहितले टेस्ट राष्ट्रविरुद्ध उच्च मनोबलले खेल्ने र सुपर–८ मा पुग्न खेल्ने बताएका छन् ।
यद्यपि, नेपाली क्रिकेटले पछिल्लो समय निकालेको उपलब्धिका कारण इंग्ल्यान्डले केही सतर्क हुने संकेत दिएको छ । वानखेडे रंगशालामा पछिल्लो समय धेरै रन बन्ने अनुमान गरिएको छ । छोटो बाउन्ड्रीका कारण पनि यो खेलमा इंग्ल्यान्डका ब्याटर हाबी हुन सक्छन् । तर, पछिल्लो समय भारत, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध गरेको प्रदर्शनका कारण पनि नेपाली खेलाडीमा आत्मविश्वास बढेको छ ।
गत सेप्टेम्बरमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको शृंखलामा नेपाल ऐतिहासिक जित निकाल्न सफल भएको थियो । त्यसअघि दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित भए पनि नेपाली खेलाडीले त्यो खेलबाट निकै पाठ सिकेका छन् । त्यसपछि पाकिस्तान र भारतविरुद्ध पनि नेपाली खेलाडीले स्मरणीय प्रदर्शन गरे । त्यसैले ठुला राष्ट्रसँग खेल्न नेपाली खेलाडीले साहस देखाउँदै आएका छन् । कप्तान रोहितले भने, ‘हामीले पछिल्लो समय टेस्ट राष्ट्रविरुद्ध नियमित रूपमा खेल्दै आएका छौँ । त्यसैले विश्वकपमा टेस्ट राष्ट्रसँग राम्रो प्रतिस्पर्धा गर्ने योजना छ । दुवै टेस्ट राष्ट्रलाई हराउन खेल्छौँ ।’
