बझाङको लघुणाछा र बैतडीको भौनी गाउँ शोकमा (जन्ती बस दुर्घटना)

द एभरेष्ट पोष्ट
२५ माघ २०८२ ८:०५
बझाङको लघुणाछा र बैतडीको भौनी गाउँ शोकमा (जन्ती बस दुर्घटना)

बैतडी । बझाङको वित्थडचिर गाउँपालिका–७ लघुणाछा र बैतडीको पुर्चाैडी नगरपालिका–७ को भौनी गाउँ यतिबेला शोकमा डुबेका छन् । जन्ती बोकेको बस दुर्घटना भई १३ जनाको ज्यान गएपछि यी दुई गाउँका बासिन्दा विक्षिप्त भएका छन् ।

दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् ।

जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दीपकराज जोशी र ४५ वर्षीय किसनदत्त जोशी छन् ।

यसैगरी बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशीले दुर्घटनामा ज्यान गुमाएका छन् ।

घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना र डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक रायले जानकारी दिए ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ५ जनालाई धनगढी रेफर गरिएको छ । ४ जनाको भने बझाङको देउलेख स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा दाजुभाइ, छोरी–ज्वाइँसहित १३ जना

बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिजा र छोरी ज्वाइसहित १३ जनाको मृत्युु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन् । उनीहरू बेहुलाका सहोदर काका हुन् । नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन् ।

यसैगरी, घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठा छोरा हुन् । वसन्तराज गाउँपालिकामा कृषि प्राविधिक पदमा कार्यरत थिए ।

घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन् ।

अन्य मृतक तथा घाइतेहरू पनि बेहुला र बेहुलीका आफन्त र इष्टमित्र नै परेका छन् । यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन् ।

घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन् । ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ ।

घटनामा ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्र हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस