सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बैतडी- सरकारले सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमा बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । यस्तै ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

बैतडीको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । प्रशासन स्थापनाले तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतालगायत अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

तल्लोस्वराड क्षेत्रमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका पर्छन् । यो क्षेत्रबाट सदरमुकाम जान २ हजार ५ सय रुपैयाँ भाडा तिर्नु पर्छ । सरकारले जनशक्ति व्यवस्थापन गरेर चाँडो कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयनमा लैजानु पर्ने शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

योसँगै बैतडीमा दुई इलाका प्रशासन कार्यालय हुने छन् । यसअघि पुर्चौंडी नगरपालिकाको हाटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेको छ ।

कैलाली ३ नम्बर क्षेत्रबाट प्रकाश मिश्रसहित ७ जनाको नाम सिफारिस

कैलाली । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाले कैलाली क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा प्रकाश मिश्रसहित ,विरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य, कमल प्रसाद चौधरी रहेका छन् । त्यस्तै महिलातर्फबाट विनीता चौधरी र युवातर्फबाट वीरेन्द्र डिसीको नाम सिफारिस गरिएको छ ।

कृष्ण राज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले एक महिला नव युवासहितका आकाङ्क्षीहरूको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

आज प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छिन्  ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चुनावको तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न  लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन् ।

चुनावको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले हिजो देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेकी थिइन् । तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने बताए थिए ।

लुक्लाका छाडा कुकुरको हेरचाह र आहारका लागि हाईक फर हेल्पले सहयोग गर्ने

लुक्ला, १२ पुस ।
हाईक फर हेल्पले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– २ लुक्लाका छाडा कुकुरको हेरचाह, व्यवस्थापन र दैनिक आहारका लागि सहयोग गर्ने भएको छ ।

छाडा कुकुरका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न थालेपछि हाईक फेर हेल्पले सहयोग गर्ने भएको हो ।

हाईक फर हेल्पका अध्यक्ष लाक्पा शेर्पा र खुम्बु पासाङ ल्हामु गाउँपालिका– २ लुक्लाका वडा अध्यक्ष आङ फुर्वा शेर्पाबीच छाडा कुकुरको व्यवस्थापनका लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार हाईक फर हेल्पले लुक्लाका ८७ छाडा कुकुरलाई दैनिक रुपमा खाना उपलब्ध गराउने छ ।

छाडा कुकुरका कारण पर्यटकहरुले असुरक्षित महशुस गर्न थालेपछि हाईक फर हेल्पले कुकुरको हेरचाह र दैनिक आहारको जिम्मेवारी लिएको हो ।

लुक्ला क्षेत्रमा विदेशी आरोही लिएर गएका लाक्पा शेर्पाले छाडा कुकुरका कारण पर्यटकहरुले असुरक्षित महशुस गरेको देखेपछि कुकुरको हेरचाह, व्यवस्थापन र दैनिक आहारका लागि सहयोग गर्ने निर्णय गरेका हुन् ।

एकातिर रातभरी कुकुरहरुले भुकेर पर्यटकहरुको निन्द्रा बिथोलेको पाए । अर्कोतिर छाडा कुकुरबाट पर्यटकहरु असुरक्षित पाए, शेर्पाले भने, त्यही कारण हाईक फर हेल्पका तर्फबाट कुकुरहरुको हेरचाह, व्यवस्थापन र आहारका लागि सहयोग गर्ने निर्णय गरे ।

सोलुखुम्बु जन्मिएका शेर्पा अढाई दशकदेखि कोलोराडोमा रेष्टुरेण्ट तथा पर्यटन व्यवसायसंगै शेर्पा समुदायको संस्कृति जगेर्नामा सक्रिय छन् ।

काममा धेरै छिटो आएको भन्दै कर्मचारी बर्खास्त

बारम्बार कार्यालय समयको पालना नगर्दा अर्थात् कार्यस्थलमा ढिलो आउँदा कारबाही हुनु तथा पटक पटकको चेतावनीपछि जागिर नै गुम्नुलाई आश्चर्य मानिँदैन । तर स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ ।

त्यसरी तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्नुलाई स्पेनको स्थानीय अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।

स्पेनको अलिकान्तेमा एक डेलिभरी कम्पनीमा कार्यरत एक महिला कर्मचारी धेरै पटक तोकिएको समय भन्दा अगाडि नै कार्यालय आउन थालिन् । लगातार चेतावनी दिँदा पनि तोकिएको समयभन्दा पहिले कार्यस्थलमा आउने गरेको भन्दै कम्पनीले बर्खास्त गरेको थियो।

आफूलाई बर्खास्त गर्ने कम्पनीको निर्णयविरुद्ध ती महिलाले अदालत पुगिन् । अदालतले भने उनलाई बर्खास्त गर्ने कम्पनीको निर्णय सदर गरिदियो ।

समाचार अनुसार बर्खास्तीमा परेकी ती महिलाको करार सम्झौता अनुसार काम गर्दै आएकी थिइन् । सम्झौताअनुसार उनले काम सुरु गर्ने आधिकारिक समय बिहान ७:३० बजे थियो । तर उनी हरेक दिन बिहान ६:४५ देखि ७:०० बजेभित्रै कार्यस्थलमा उपस्थित हुन्थिन्।

व्यवस्थापन पक्षले सन् २०२३ मा नै उनलाई त्यति चाँडो अफिस आउने बानी सुधार गर्न लिखित रूपमा चेतावनी दिएको थियो । व्यवस्थापनको तर्क थियो कि- निर्धारित समयभन्दा धेरै छिटो आउनुपर्ने कुनै काम नै नभएको र त्यसले कम्पनीलाई कुनै योगदान नगरेको कारण उनको त्यो कार्य अनुचित थियो । ती कर्मचारीले व्यवस्थापनको आदेशलाई लगातार बेवास्ता गरेपछि कम्पनीले यस वर्षको सुरुमा उनलाई अविश्वसनीयता, विश्वासको उल्लंघन र अवज्ञाको आरोप लगाउँदै बर्खास्त गरेको थियो।

कम्पनीको निर्णयविरुद्ध उनले अलिकान्तेको सामाजिक अदालतमा दायर गरेको मुद्दामा अदालतले अनपेक्षित रूपमा रोजगारदाताको पक्षमा फैसला गर्‍यो । अदालतले आफ्नो फैसलामा कर्मचारीको बानीलाई ‘खराब आचरण’ मान्नुपर्ने बलियो कारणहरू प्रस्तुत गर्‍यो ।

अदालतले भनेको छ- कर्मचारीको आचरणले कम्पनी र व्यवस्थापनबीचको विश्वास र वफादारीको सम्बन्धमा गम्भीर असर पारेको छ । कम्पनीको पटक-पटकको चेतावनीका बावजुद ती कर्मचारी निर्धारित समयभन्दा चाँडो अफिस प्रवेश गर्ने कुरामा जिद्दी गरिन् । उनको यस्तो व्यवहार आज्ञा पलना नगर्नु र विश्वास भंग गर्ने व्यवहार हो, जसले रोजगार सम्बन्ध समाप्त गर्न जायज ठहर्‍याउँछ । एजेन्सी

चुनाव बहिष्कार गर्ने सूचनासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइँदै

काठ्माण्डौ- नागरिक बचाउ दलको अगुवाइमा विभिन्न राजनीतिक दलले निर्वाचन बहिष्कारको चेतावनीसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

नागरिक बचाउ दलका केन्द्रीय अध्यक्ष माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको कल्पितले बताए ।

उनले भने, ‘हामीले सरकारसँग राखेका विभिन्न जनतालक्षित माग थिए । ती माग पूरा भएका छैनन् । त्यसैले हामी निर्वाचनमा जानसक्ने अवस्था रहेन यही जानकारी गराउँदै अहिले सवा तीन बजे हामी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछौँ ।’

निर्वाचनले जनताको भावना अनुसारको नतिजा ल्याउने गरी सरकारले गर्नपर्ने काम गर्न नसकेको निष्कर्ष आफूहरूले निकाले कल्पितले बताए । उनले भने, ‘जेन–जी आन्दोलनपछि गठन भएको सरकारले तोकेको निर्वाचनबारे हामी विभिन्न राजनीतिक दल, स्वतन्त्र राजनीतिक विश्लेषक तथा नागरिक समाजका अभियन्ताको गम्भीर ध्यानाकर्षण भएको छ । जेन–जी आन्दोलनको मूल उद्देश्य निर्वाचन नभई शान्ति, सुशासन र भ्रष्टाचारको अन्त्य थियो। तर आन्दोलनबाट उठाइएका माग तथा उद्देश्यहरू हालसम्म प्रभावकारी रूपमा सम्बोधन तथा कार्यान्वयन भएनन् । यो अवस्थामा हुने निर्वाचनले देश र जनताको चाहना तथा भावनाअनुसारको परिणाम आउन सक्ने वातावरण बनेको छैन ।’

उनले निर्वाचन केवल प्रक्रियागत औपचारिकता नभई दिगो शान्ति, सुरक्षा, सु–व्यवस्था र सुशासनको स्थापनाको माध्यम हुनुपर्छ भन्ने आफूहरूको धारणा रहेको बताए । कल्पितले संविधानभित्र रहेका केही त्रुटिपूर्ण तथा विवादित प्रावधानमा आवश्यक संशोधन, परिमार्जन वा न्यूनतम राजनीतिक समझदारी कायम नगरी निर्वाचनमा जानु उपयुक्त नहुने निष्कर्षसहित आफूहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको बताए ।

उनले भने, ‘सर्वसाधारण नागरिकहरूमाझ अझै पनि भय, त्रास र असुरक्षाको वातावरण विद्यमान छ । जेन–जी आन्दोलनका क्रममा खोसिएका तथा लुटिएका हातहतियारहरू र ठूलो संख्यामा रहेका कैदीबन्दी अझै सरकारको नियन्त्रणमा आएका छैनन् । यस्तो अवस्थामा कसरी निर्वाचन हुनसक्छ ।’

आम मतदाता तथा सर्वसाधारण नागरिकबी त्रासको वातावरण कायमै रहँदा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्भव नहुने भएकाले सरकारबाट आवश्यक सुरक्षा, विश्वास र अनुकूल वातावरण सुनिश्चित नभएसम्म हामी तपसिलमा उल्लिखित दलहरू निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने जानकारी गराउन प्रधानमन्त्रीलाई भेट्न हिँडेको कल्पितले बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि देशमा दिगो शान्ति, सुशासन र जनविश्वास कायम हुने वातावरण निर्माणका लागि सरकार गम्भीर र जिम्मेवार ढंगले अघि बढ्नेछ भन्ने विश्वास लिएको उनले बताएका छन् ।

परराष्ट्रमन्त्री शर्माले लिए शपथ

काठमाडौँ– परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।

आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए ।

उनले आजै पदभार ग्रहण गर्दै छन्।

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

 काठ्माण्डौ- सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले जाँचबुझ आयोगका पदाधिकारीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गर्ने आदेश दिएको हो।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्व अभिव्यक्तिका कारण उनको निष्पक्षतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। जसमा पूर्व एआइजी विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी पनि सदस्य छन्।

तर, इजलासले केही निर्देशनात्मक आदेश पनि दिँदै रिट खारेज गरेको सर्वोच्च स्रोतले बतायो। यसअघि कात्तिक ९ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

प्रचण्ड र मन्त्री खरेलबिच भेटवार्ता

 काठ्माण्डौ- निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ।

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उनको निवास खुमल्टारमा भेटवार्ता गरेका छन‍्।

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए।

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ।

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न आग्रह गरेको हो ।

“ज्येष्ठ नागरिकको सम्मानमा जोड दिन आयोग तीनै तहका सरकारलाई निर्देशन गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले भने, “ज्येष्ठ नागरिकको हकअधिकारको सुनिश्चितता र सम्मानका लागि आफ्नो कर्तव्य निर्वाह गर्नसमेत आयोग परिवारका सदस्य र नागरिक समाजलाई अनुरोध गर्दछ ।”

नेपालको संविधानको धारा ४१ मा व्यवस्था गरिएको ज्येष्ठ नागरिकको हक तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनका क्रममा ज्येष्ठ नागरिक आफ्नो अधिकारकाबारेमा जानकार नहुनुका साथै उनीहरुले राज्यले प्रदान गर्ने सेवासुविधाको प्रभावकारिताको अनुभूति गर्न नपाएको देखिएको छ ।

“राज्यबाट प्रदान गरिएका स्वास्थ्य र यातायात सेवामा प्राथमिकतालगायत सुविधाबाट ज्येष्ठ नागरिकहरु वञ्चित हुनुका साथै पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको छ”, आयोगका प्रवक्ता पोखरेलले भने, “कतिपय ज्येष्ठ नागरिकले पारिवारिक विखण्डन, परिवारवाट हेला एवं त्याग्नेकाम र वृद्धाश्रममा लगेर राख्ने क्रमलाई संस्थागतीकरण गर्नेजस्ता प्रवृत्तिलगायतले परिवारका सदस्यसँगै नहुँदा एक्लो महसुस गर्नु परेको र उनीहरुको सम्मान, हेरचाह र मायामा कमी आउँदा ज्येष्ठ नागरिक अधिकारको उपभोगबाट बञ्चित हुनुपरेको देखिन्छ ।”

हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार ३१८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत रहेको छ । जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर ० दशमलव ९२ प्रतिशत रहेकामा ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत हुनुले अन्यको तुलनामा ज्येष्ठ नागरिकहरुको वृद्धि प्रतिशत बढी देखिन्छ ।

ज्येष्ठ नागरिकको सङ्ख्या अझ बढ्ने आकलन गर्न सकिने औसत आयुवृद्धि, मृत्युदरमा कमी र स्वास्थ्यप्रति सचेतनाका कारण ज नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको देखिएको छ ।

समाजको पुँजीको रुपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गरी देश र समाज लाभान्वित हुन तीनै तहका सरकारले ठोस कदम चाल्नु आवश्यक छ ।

आज नेपालमा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ मनाइँदै छ । ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारको सुनिश्चिततामा टेवा पुगोस् भन्ने उद्देश्यले विसं २०७८ देखि नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । रासस

सञ्चारमन्त्री खरेल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौ – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गर्नुभएको हो । भेटमा उनीहरूबीच आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको छ । एमालेले चुनावका लागि सहभागी हुने वातावरण बनेको खण्डमा भाग लिने बताएको छ ।

सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरि चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउने प्रयास गरेको छ ।

यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहान भेटवार्ता गरेका थिए । मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गर्ने तयारी छ ।

 

रमेश लेखक जाँचबुझ आयाेगमा बयान दिन जाने

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले आउँदाे साेमवार आयोगमा उपस्थित भएर बयान दिने बताएका हुन् । भदाै २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको उनले बताए ।

उनले भने, ‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु ।’

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।

 

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ ।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ । “तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”

रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।

कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी)ले सङ्कलन गरेको नमूना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए ।

यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुुख्य कारण उखुखेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु रहेको छ ।

“उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ”, भट्ट भन्छन्, “बासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्रगतिमा फैलिएको छ ।”

पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नु पर्दछ ।

असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ रहेको छ । रासस

दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।c

मुद्दा बुधबार न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो । प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।

दुना टपरी बेचेर आत्मनिर्भर बन्दै महिलाहरू

यशोदा शर्मा ।
कैलाली । धनगढीको मुख्य बजार एलएनचोक भित्र त्रिनगर कृषि उपज हाटबजार छ । साताको आइतबार, मंगलबार र शुक्रबार लाग्ने यो हाटबजारमा ग्रहाकहरुको भिड उत्तिकै देखिन्छ । कृषकहरु आफुले उत्पादन गरेका साग,तरकारी, गेडागुडी, फलफुल र अन्नपात बेच्नमा व्यस्त हुँन्छन् । जसमा महिलाको संख्या बढी देखिन्छ ।
हाटबजारमा उनीहरु तरकारी मात्रै बेचिरहेका हुँदैनन् । ग्राहक आएको बेला सामान बेचिरहेका महिला फुर्सद पाउने बित्तिकै दुना टपरी बुन्न थाल्छन् । तरकारी सँगसँगै दुना टपरी बेचेर उनीहरु दोहोर आम्दानी गरिरहेका छन् ।
गत मंगलबार हाटबजारमा धनगढी–६ जाली बिजुलियाकी फागुना देवी चौधरी दुना टपरी बुन्नमा व्यस्त थिइन् । ग्राहक आएको बेला तरकारी पनि बेच्थिइन् । उनी विगत दुई वर्षदेखि हाट बजारमा तरकारी सँगै दुना टपरी बेच्दै आइरहेकी छन् । दुना टपरी र सालका पातहरू मात्रै बेचेर दिनको एक हजार सम्म कमाई हुने गरेको फागुना बताउँछिन् ।
पहिला हिँडेरै तरकारी बेच्ने उनी हाटबजार सुरु भएदेखि  हिड्नु पर्ने बाध्यता हराएको बताउँछिन् । उनले आफ्नै बारीमा उत्पादन गरेर सिजन अनुसारका तरकारी र दुना टपरी बेचेर हाटबजारबाट दोहोरो आम्दानी गरिरहेकी छन् । अहिले उनको जीविकोपार्जनको स्रोत हाटबजार नै बनेको छ । ‘सुरुदेखि नै तरकारी बेचिरहेको छौ । खेतीको बेला खेती गर्छौं खेतिसकेपछि बेच्न आउँछ,’ उनी भन्छिन्, ‘घर खर्च यसैबाट चलिरहेको छ ।’

जङ्गलबाट सालका पातहरू ल्याएर दुना टपरी बेच्ने फागुना मात्रै होइनन् । उनी जस्ता अन्य थुप्रै महिला यसरी दोहोरो आम्दानी गरिरहेका छन् । सालको पातमा लगानी लगाउन नपर्ने भएकाले राम्रो आम्दानी हुने महिलाहरु सुनाउँछन् । यसले महिलाहरूलाई घरदन्दा चलाउन निकै सहज हुने गरेको छ ।
दुना टपरीहरू पूजाआजा तथा विशेषगरी धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ । एउटा सानो पार्चँ रुपैयाँको ३ वटा र ठूलो टपरीको १० मूल्य पर्छ । यसमा मेहनत बढी लाग्ने तर कम मूल्यमा बिक्री हुने भएकाले यसको मूल्य अझै केही बढाउनुपर्ने माग फागुनाको छ । जङ्गलबाट पातहरू ल्याउन समस्या हुने तर मान्छेहरूले यसको त मूल्य नै पर्दैन मेहनत मात्रै हो भनेर हेप्ने गरेको उनले गुनासो गरिन् ।

धनगढीकै ४० वर्षीय सुक्नी चौधरीले पनि तरकारी सँगसँगै दुना टपरी बनाएर बेच्दै आइरहेकी छन् । उनी करिब १० कठ्ठा जमिनमा आलु, गोभी, खुर्सानी, टमाटर लगायतका तरकारीहरूको खेती गर्छिन् । तरकारी सँगसँगै दुना टपरी बेचेर दिनमा दुई देखि ३ हजार  सम्म कमाई हुने गरेको उनी बताउँछिन् ।
सुक्नीको पनि घरधन्दा हाटबजारबाटै चलिइरहेको छ । भन्छिन्, ‘मजदुरी गर्न जान्न मजदुरी भनेकै यही हाटबजार हो मेरो । बजार भएको दिन यहाँ आएर बेच्छु खाली भएको दिन तरकारीमा मलजल हाल्छु गोडमेल गर्छु ।’ जीविकोपार्जनको आयस्रोत तरकारी र दुना टप्परी नै हुँदा यसैमा सन्तुष्ट रहेको उनी बताउँछिन् ।

धनगढी–६ कै सरिता चौधरीले पनि हाटबजारमा दुना टपरीहरु बेच्दै आइरहेकी छन् । उनले तरकारी भए तरकारी नत्र दुना टपरी मात्रै बेच्ने गरेको बताइन् । ‘घरमा बिना काम बसिरहनु भन्दा लगानी नलाग्ने दुनाटपरीले थोरै भएपनि घर खर्च चलाउन सहज भएको छ,’ उनले भनिन् ।

फागुना सुक्नी र सरिता त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै अन्य थुप्रै महिला पनि दुना टपरी बेचेरै आत्मनिर्भर भएका छन् । सर्वसाधारण महिलाहरूलाई दुना टपरी परिवारको आवश्यकता पूरा गर्ने माध्यम बनेको छ । दुनाटपरीको उचित मूल्य निर्धारण गरी महिलाहरूलाई प्रोत्साहन गर्न सके उनीहरूको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने देखिन्छ । साथै स्थानीय प्राकृतिक स्रोतको पनि उचित व्यवस्थापन हुन्छ ।

अमेरिकामा विरामीलाई पुनर्जीवन दिईरहेकी डा. शारदा 

भनिन्छ, सपना होईन्, रणनीति बदल्ने मान्छेहरु लक्ष्य प्राप्त गर्छन् । त्यसको उदाहरण हुन्, डा.शारदा काफ्ले त्रिपाठी । सपना डाक्टर बन्ने । पढिन्, नर्सिङ । तर छोडिनन्, डाक्टर बन्ने अठोट । उनले सपना होईन्, रणनीति बदलिन् । र बनाईन्, नर्सिङलाई लक्ष्य प्राप्तीको बाटो । बनिन्, डाक्टर । बनाईन्, पृथक पहिचान ।

उनी चितवनको भरतपुर –१८ गुञ्जनगरमा जन्मिईन् । बुवा किसान । आमा गृहणी । काफ्ले दम्पत्तीका दुई छोरा । तीन छोरी । चौथो उनी । ८ कक्षाभन्दा माथि पढ्न नपाएकी आमाभित्र छोरीलाई धेरै पढाउने ईच्छा थियो । बुवाले प्रवासमा पढाईको महत्व बुझेका थिए । बुवाआमाको त्यही चेतले पाँचैले स्कुल जान पाए ।

उनी पढाईमा अब्बल थिईन् । अतिरिक्त क्रियाकलापमा पनि उनलाई कसले उछिनोस । वादविवाद होस वा कविता । हाजिरी जवाफ वा निबन्ध लेखन । उनले भाग लिएर नजितेको, त्यस्तो कुनै प्रतियोगिता थिएन् । विद्यालयबाट घर फर्किदा, कहिलेकाही त उनीसंग कितावभन्दा बढि पुरस्कार हुन्थे । १५ वर्ष नपुग्दै २०५७ सालमा गुञ्जनगर माविबाट एसएलसी टप गरिन् ।

त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पसमा आईएस्सीमा भर्ना भईन् । प्रथम वर्षको परीक्षा दिईन् । त्यहीबेला चितवनमा कलेज अफ मेडिकल साईन्स सञ्चालनमा आयो । नर्सिङमा आवेदन भरिन् । ४० जनाको कोटा । उनी उत्कृष्ट पाँचमा छानिईन् । जागीरे दाईले पढाईको खर्च बेहोरे ।

२००५ मा उनले नर्सिङको परीक्षा दिईन् । दोस्रो भईन् । नतिजा आउनुअघि  मेडिकल कलेजमा जागीर पाईसकेकी थिईन् । पछि लिईन, नर्सिङको लाईसेन्स ।

पढ्न । जागीर खान । निर्वाध हिड्डुल गर्न । उनी स्वतन्त्र थिईन् । कुरा काट्नेले भन्थे, काफ्ले कान्छाले छोरीहरुलाई टाउकोमा टेकाएको छ । बुवालाई छु मतलव ।

अष्ट्रेलिया र अमेरिकामा नर्सिङको पढाईपछि डाक्टर बन्न पाउने सुन्थिन् । सोच्थिन्, त्यहाँ जान पाए त डाक्टर बन्थे । ‘डाक्टर र अमेरिका’ यी शब्द उनको दिमागमा जरो गाढेर बसे ।

२००६ मा डीभी भर्ने समय आयो । दाईले डीभी भर्न सय रुपैया दिए । उनले मःम खाईन् । विश्वास थिएन् । डीभी भरिनन् ।

उनकी साथी थिईन्, कविता । डीभी भर्न कर गरिन् । कविताका दाई नारायणगढमा साईवर चलाउथे । उनी कवितासंगै डीभी भर्न गईन् । दाईले फोटो र जानकारी मागे । निशुल्क भरिदिए । २००७ मा डीभीको नतिजा आयो । डीभी प¥यो । उनी दंग ।

नर्सिङको पढाई सकेर काम गरिरहेकी थिईन् । २००६ अक्टोबरमा उनलाई एउटा ईमेल आयो । अपरिचित व्यक्तिको त्यो ईमेल उनलाई भूलबश आएको थियो । पठाउने व्यक्ति थिए, विकाश त्रिपाठी । त्यो एउटा साधारण तर सभ्य धन्यवादको इमेल थियो । सुरुमा उनी अलि हिचकिचाईन्, तर केही इमेल आदान–प्रदानपछि त्यो ‘अपरिचितबाट आएको राम्रो इमेल’ बिस्तारै मित्रतामा परिणत भयो । त्यतिबेला इमेल र याहु च्याट नै सम्पर्कका मुख्य माध्यम थिए । समयसँगै उनीहरुको मित्रता गहिरिँदै गयो । र, अन्ततः प्रेममा बदलियो । रोचक कुरा के भने, प्रत्यक्ष भेटघाट नहुदै उनीहरुले विवाह गर्ने निर्णय गरिसकेका थिए ।

उनीहरुलाई जोड्ने त्यो ईमेल

फेब्रुअरी २००५ मा उनको व्याँच ईलाम टुरबाट बसमा फर्किदै थियो । हेटौडाको जंगलमा झरेको बेला अर्को बसले मेट्रोन कमला शर्मालाई कुल्चियो । संगै रहेकी उनलाई शर्माले धकेलेर जोगाईन् । होश खुल्दा उनी अस्पतालमा थिईन् ।

त्यसको तीन वर्षअघि, २००२ को एक विहान विकाश कलेज जादै थिए । विहान ५ः३० बजे सुकेधारा नजिक उनलाई बसलाई कुल्चियो । बसले व्याक गरेर फेरि कुल्चिन खोज्यो । मोटरसाईकल अवरोध बन्यो । चालक बस छोडेर भागे । त्यो बाटोओहोर दोहोर गर्नेहरुले मृत्यु भईसकेको ठानेर उनलाई उद्दार गरेनन् । एकजना ट्याक्सी चालक अडिए । उनको छाती छामे । सास फेरिरहेका उनलाई जोगाउन सकिने ठाने । र, त्यहाँबाट सोझै शिक्षण अस्पताल लगेर गए । अस्पतालले उनको उपचार थाल्यो । र, उनीसंग भेटिएको परिचय पत्र र नोटबुकका आधारमा अस्पतालले सबैतिर सूचना प्रसारण ग¥यो । त्यही सूचनापछि आफन्तहरु अस्पताल आए । प्रहरीले उनलाई कुल्चेको आरोपमा उल्टै चालकलाई थुनामा राख्यो । धन्न बसका चालकले प्रहरीमा आत्मसमर्पण गरेपछि ट्याक्स चालक छुटे । ट्याक्सी चालक साँझ फेरि अस्पताल पुगे उनी जीवित रहेको थाह पाएपछि खुशी भए । परिवारजन सहयोग गर्न खोेजे । सहयोग लिन नमानेर फर्किए ।

२१ दिन कोमामा रहेका विकाशलाई होश खुलेपछि अस्पतालले डिस्चार्ज ग¥यो । उनका दुबै खुट्टा कच्याककुचुक थिए । मल्टीपल ईञ्जुरी थियो । डाक्टरले तीन महिनासम्म पनि जोगाउन असंभव ठानेको थियो । टाउकोमा गम्भीर चोट लागेको थियो । मुस्किलले नौ महिनापछि उनले बेडबाट भुईमा एउटा खुट्टा राखे । उनी त्यतिबेलासम्म स्ट्रेचरमै थिए । त्यसपछि विस्तारै हिड्न थाले ।

जब उनी हिड्डुल गर्नसक्ने भए । उनले आफूलाई बचाउने ट्याक्सी चालकलाई निकै खोजे । भेटेर धन्यवाद भन्न मन थियो । रेडियोमा सूचना हाले । ट्याक्सी चालकहरुलाई सोधे । तर उनी ट्याक्सी चालकलाई भेटाउन सकेनन् ।

त्योबीचमा सहयोग गर्ने उनलाई सबैलाई धन्यवाद दिए । भेट्न सक्ने जतिलाई भेटेर । कतिपयलाई ईमेल मार्फत । उनले पठाएको एउटा धन्यवाद मेल गल्तीबश शारदालाई गयो ।

उनीहरुलाई जोड्ने त्यही मेल थियो । भनिन्छ, जोडिन भाग्यमा लेखेकाहरुलाई जोड्ने कही न कही ‘ईनभिजिवल स्ट्रिङ’ (अदृष्य धागो) हुन्छ । त्यो ईमेल ‘ईनभिजिवल स्ट्रिङ’ थियो ।

दुबै गम्भीर दुर्घटनामा पर्नु । मृत्युको मुखबाट बाँच्नु । त्यो मिराकल थियो । संयोग मात्र थिएन । चितवनकी शारदा । काभ्रेका विकाश । ‘सोलमेट’ थिए । सायदै त्यसैले उनीहरुलाई जोड्यो । रील लाईफमा देखिने यो दृष्य उनको जीवनमा रीयलमा छायांकन भयो । उनीहरुले भोगेको दुर्घटना, उनीहरुले बाँचेको जीवन र उनीहरुको प्रेम र सहयात्राको कथा कुनै फिल्मको दृष्य झै लाग्छ । सेक्सपियर सायद उनीहरुको युगमा जन्मिएका भए, बियोगान्त नाटक मात्र लेख्दैनथे होलान् । जीवन बियोग, पीडा र बिछोडको श्रृंखला मात्र होईन्, शुरुवात दुःखद हुन सक्छ, जीवन  सुखद संयोगहरुको सिलसिला पनि त हो । उनीहरुले बाँचेको जीवनले मान्छेलाई आशावादी बनाउछ । बाँच्न सिकाउछ ।

उनीहरुको कथा यही सकिदैन् ।

काठमाण्डौंमा जागीरे विकास । जर्मनी जाने तयारीमा थिए । उनी नर्सिङको पढाई अघि बढाउन चाहन्थिन् ।

दुबैले आ–आफ्ना योजना ‘प्याकअप’ गरे । अमेरिका जाने निधो गरे । र, २५ नोभेम्बर २००७  मा काठमाण्डौंमा विवाह गरे । त्यसपछि डीभीको प्रकृया पुरा गरे ।

र, २२ अगष्ट २००८ मा विकाशसंगै अमेरिका उडिन् । गन्तव्य थियो, कोलोराडो । त्यहाँ स्पोन्सर दाईभाउजु थिए ।

अमेरिका टेक्दा उनीहरुका साथमा थिए, केही थान सुटकेश । धेरै सपना । थोरै पैसा । र थियो, काकाले नेपालबाट उड्दा दिएको १४ हजार डलर । त्यो रकम केही दिनमै मागेर लगे । बाँकी रह्यो, पाँच सय ।

दाईको घरमा डेढ महिना बस्दा जागीर खोजे । उनले फाष्टफुडमा । विकाशले ग्याँस स्टेशनमा । रिसेप्सनको जागीर । उनको अंग्रेजी राम्रो थियो । उनी ड्राईभ थ्रुको अर्डर लिन्थिन् । पारिश्रमिक ७.२५ डलर ।

त्यसवर्ष कोलोराडोमा निकै हिउँ प¥यो । उनीहरुले हिउँमा वैवाहिक वर्ष गाँठ मनाए । नेपालमा विकाश हरेक महिना विवाहोत्सव मनाउँथे ।

त्यतिबेलासम्म ती आफन्त, जोबाट सहयोगको आस थियो, टाढा भईसकेका थिए । उनीहरु एक्लो थिए । नयाँ ठाउँ । जानकारीको अभाव । भाषागत समस्या । अपार्टमेण्टको बास । भुईको सुताई । दुई वटा ब्ल्यांकेट । ओढ्यो । बिछ्यायो ।

कहाँ जाने ? के गर्ने ? अलमल र अन्यौल । सहयोग गर्ने कम । निरुत्साहित गर्ने बढि । परिवारकै अग्रजबाट बारम्बार भएको निरुत्साहन । अपमान । तिनले ठाडै भन्थे–कमाई धमाई छैन्, नर्सिङका कुरा । कस्ता कस्ताले सकेन् । तेरो श्रीमतीले सक्छ ?

काँडाले झै घोच्ने । आफन्तका शब्दवाण । उनी निराश हुन्थिन् । विकाश भन्थे, म छु नि । विकाशको दरो साथ । ‘तिमी सक्छौ’–विकास हौसला भर्थे ।

नारायणी किनारमा हुर्किएकी उनले रोकिन जानेकी थिईनन् । बगिरहन । नरोकिन् । उनले नारायणीबाट सिकेकी थिईन् ।

जिन्दगीले हरघडी परीक्षा लिईरह्यो । हार्न उनले जानेकी थिईनन् । उनको जीनमा सहने सामथ्र्य आमाबाट । कमजोर नहुने गुण बुवाबाट ट्रान्सफर भएको थियो । ‘ब्याकबोन’ विकास थिए । उनी कमजोर किन हुन्थिन् ?

साथमा नर्सिङको लाईसेन्स । हातमा सीप । लाईसेन्सको मूल्यांकनको बिधि र बाटो थाह थिएन् । एक वर्ष खेर गयो । जब थाह पाईन्, दिईन् रजिष्टर्ड नर्सको परीक्षा । छ घण्टा लामो परीक्षा । एक घण्टामै पुरा गरिन् । दुई दिन सुत्न सकिनन् । नतिजा आयो । उनी पास भईन् । त्यो खुशीको पल, कसरी बिर्सिन सक्छन् ?

लगत्तै नर्सिङ होममा काम पाईन् । पारिश्रमिक थियो, २८ डलर प्रति घण्टा । त्यहाँको वातावरण व्यवहार ठिक लागेन् । असह्य भयो । डेढ महिनामै जागीर छोडिन् ।

नजिकैको अर्को नर्सिङ होममा काम पाईन् । पारिश्रमिक ३३ डलर पुग्यो । पद थियो, सुपरभाईजर । त्यहाँ दुई वर्ष काम गरिन् ।

उनले २०११ देखि चेरी क्रिक एक्युट रिह्याव, जुलिया टेम्पल र मानोर केयरमा रजिष्टर्ड नर्सका रुपमा काम गरिन् । सुपरभाईजरको जिम्मेवारी ।

२०११ देखि २०१४ को अवधिमा उनले मेट्रो र अरोरा युनिभर्सिटीबाट एशोसियट डिग्री पुरा गरिन् । २०११ मा उनले पहिलो सन्तान जन्म दिईन् । छोराको स्याहार । पढाई । जागीर । सबै जिम्मेवारी एकसाथ पुरा गरिन् ।

२०१३ देखि २०१७ सम्म क्रिटिकल केयर रजिष्टर्ड नर्सका रुपमा पार्कर एडभेनष्टि हस्पिटलमा काम गरिन् । २०१४ मा दोस्रो छोरा जन्मियो । त्यहीबेला शुरु गरेको बीएससी र बीएसएनको पढाई पाँच वर्षमा सकिन् ।

२०१७ देखि २०२१ सम्म रजिष्टर्ड नर्सका रुपमा डेनभर हेल्थ हस्पिटलमा काम गरिन् । त्यहीबीचमा एमएसएन, एफएनपी र डीएनपीको पढाई पुरा गरिन् ।

२०२२ मा तेस्रो सन्तान विआंशालाई जन्म दिईन् । अमेरिका आएको १२ वर्षमा उनका हातमा उच्च शिक्षाका तीन डिग्री थिए । र थिए, तीन सन्तान ।

डेनभर हेल्थमा काम गर्दा गर्दै उनले एफएनपीको पढाई पुरा गरिन् । एफएनपीको पढाईले डाक्टर सरह काम त गर्न पाउथिन् । तर डाक्टर लेख्न पाउथिनन् ।

त्यसपछि उनले डाक्टर अफ नर्सिङ प्राक्टिस (डीएनपी) का लागि युनिभर्सिटी अफ कोलोराडोमा आवेदन दिईन । २१ जनाको कोटा । ६६८ को आवेदन । सयजनाको अन्तर्वार्ता । आठ घण्टा लामो अन्तर्वार्ता । हरेक प्रश्नको प्रष्ट जवाफ दिईन् । उनलाई अन्तर्वार्तामा सोधिएको प्रश्न थियो, आगामि पाँच वर्षमा तिम्रो के गर्ने योजना छ । उनले निसंकोच भनिन्, आफ्नै क्लिनिक खोल्ने योजना छ ।

अन्तर्वार्ता लिनेहरु प्रभावित भए । उनी छानिईन् । अन्तर्वार्ता लिने व्यक्तिले भने, तिमी भाग्यमानी भएर छानिएकी होईनौ । तिम्रो क्षमताले यो अवसर पाएकी हौ ।

२०२२ मा उनले डाक्टर अफ नर्सिङ प्राक्टिस्नरको पढाई पुरा गरिन् । र, बन्यो नयाँ परिचय । नामका अगाडि थपियो,डा. । बनिन्, डा. शारदा त्रिपाठी ।

बुवा र आमा अभावमा बाँचे । तर उनमाथि अभावको छाया पर्न दिएनन् । उनले जे चाह्यो त्यही पाईन् । उनले कहिल्यै डिमाण्ड गरिनन्, त्यो त उनले माग्नुभन्दा पहिल्यै पाईन् । बुवा त्यो अजंगको पहाड झै । जसले आँधी झेले । वर्षा झेले । तर कहिल्यै ऐया भनेनन् । सन्तानका खातिर सबै चिज चुपचाप सहे । आँखा आमाका । सपना उनका । हो, आमाले उनलाई हुर्काईन् । संगै आफ्ना सपना । धेरै पढ्ने सपना । उनी डाक्टर भएको दिन, आमाको सपना पुरा भयो ।

बुवाले सधै सोध्थे, डाक्टर भईस । उनीसंग जवाफ हुन्थेन । भन्थिन्, पढ्दैछु । डाक्टर हुदा बुवा संसारमा थिएनन् । एक मनले सोच्छिन्, म त भाग्यमानी । जे सोचे, त्यो भए । बुवाको ईच्छा पुरा गरे । सम्झिदा पीडा हुन्छ, बुवाले डाक्टर बनेको देख्न पाएनन् ।

अक्टोबर २०१५ मा बुवाको मृत्यु भयो । बुवाको मृत्यु । र, जागीर गुमाएको पल । उनले बिर्सिन नसकिने पल हुन् ।

सेप्टेम्बर २०२३ मा उनको जागीर गयो । नसोचेको भयो । त्यही घट्नाले उनको जीवनलाई नयाँ मोड दियो । सोचिन्, जागीर यस्तै हो । जसको भर हुदैन् । गरिन्, जागीर नखाने प्रण । विकाशलाई सुनाईन्, आफ्नै क्लिनिक खोल्छु ।

उता एकहप्ता नबित्दै अस्पतालबाट कल आयो, तिमी काममा फर्किन चाहन्छौ ? हामी तिमीलाई फुल टाईम काम दिन्छौ ।

यसको के भर ? उनी क्लिनिक खोल्ने निर्णयमा अडिग रहिन् । २३ अक्टोबर २०२३ मा रिभाईभ मेडिकल वेलनेस दर्ता गरिन् । २ फेब्रुअरीमा २०२४ मा कोलोराडोको नर्थग्लेनमा क्लिनिक शुरु गरिन् । कोलोराडोमा नेपाली डाक्टरले खोलेको यो पहिलो वेलनेस हो ।

बुवा भारतीय सेनामा कार्यरत थिए । विवाहपछि भारत फर्किएनन् । कृषि क्याम्पस रामपुरमा सुरक्षा गार्ड भए । ड्युटीमा थिए ।  ब्रेन स्ट्रोक भयो । तत्काल अस्पताल पुर्याईए । मिराकल भयो । केही समयको उपचारपछि डिस्चार्ज भए । रिकभर हुदै थिए । केही महिनापछि ब्रेन ह्यामरेज भयो । अस्पताल लगिए । भेन्टिलेटरमा राखेर उपचार शुरु भयो । तिन सातापछि कोमामै बुवाको मृत्यु भयो । प्रार्थना र औषधी दुबैले काम गरेन् । असमयमै जीवन गुमाए । बुवाको मृत्युमा रुन नपाउने त्यो अभागी छोरी थिईन, उनी । जसले अन्तिम समयमा बुवाको मुख हेर्न पाईनन् ।

पछुतो र पीडा मुटुभरी थियो । समयमै स्वास्थ्य परीक्षण गरेको भए ? बुवा बाँच्थे होलान् । गतिलो अस्पताल घरछेउमै भएको भए,उपचार हुन्थ्यो होला । सोचिन् । अरुले यस्तो पीडा नखेपुन् । रिभाईभ मेडिकल वेलनेस खोल्नुको प्रमुख कारण यही सोच थियो ।

शुरुवाती दिनहरु सुखद थिएनन् । उनी दिनभरी कुर्थिन् । विरामी आउदैनथे । छ महिना अत्यन्त निराशाजनक रह्यो । कतिपय हप्ता त विरामी नै देख्न पाईनन् । हार्न उनले जानेकी थिईनन् । हिम्मत र आँट भर्ने विकाश थिए । जति विरामी आए । मिठो व्यवहार गरिन् । ध्यान दिएर सुनिन् । उर्जा भरिन् । औषधीसंगै बिरामीलाई आशा दिईन् । त्यही व्यवहारले विज्ञापनको काम ग¥यो । उनले प्रचारका लागि कही जानै परेन् । जति विरामी आए । तिनै प्रचारक बने । तिनैले विरामी पठाउन थाले । केही महिनापछि क्लिनिकमा विरामीको घुईचो लाग्यो ।

२०२५ को नोभेम्बरमा उनले ५०० विरामीको उपचार गरिन् । क्लिनिक स्थापना भएयताकै यो सर्वाधिक संख्या हो । योबीचमा सेवा, सुविधा र उपकरण थपिन् । ४० हजार डलरबाट शुरु गरेको वेलनेसमा उनले एक मिलियन बढि लगानी पु¥याईन् ।

जब निको भएर फर्किदै गरेका विरामीको अनुहारमा खुशी देख्छिन् । उनी त्यसै खुशी हुन्छिन् । बिरामीको धन्यवाद, उनका लागि आशिष हो ।

हुन् पनि उनीकहाँ कुनै विरामीले निराश भएर फर्किनु परेको छैन् । क्रोनिक व्याकपेन । जोर्नीको दुःखाई । चायाँपोतो, चाउरीपन । यी सबैको नेचुरल उपचार गर्छिन् । चीरफार बिनै । बोटोक्स प्रविधिद्धारा अनुहारको चाउरीपना हटाईदिन्छन् । यो एउटा साधारण शल्यक्रिया रहित प्रक्रिया हो । जटिल शल्यक्रिया, ट्युमर र क्यान्सरका विरामी बाहेक अरुलाई रेफर गरेको अनुभव छैन् । उनका ९० प्रतिशत सेवाग्राही विदेशी हुन् ।

डाक्टर अफ नर्स प्राक्टिस्नर त्रिपाठी रिजेनेरेटीभ एण्ड एष्थेटिक मेडिसिन विशेषज्ञ हुन् । उनले अमेरिकीहरुमा सौन्दर्यप्रति गहिरो चासो र सम्पूर्ण स्वास्थ्यप्रति चिन्ता पाईन् । सवै समस्या स्वास्थ्य समस्याको समाधान गर्ने विश्वसनीय ठाँउ खोजिरहेकाहरुका लागि उपर्युक्त बिकल्प बनाईन्, रिभाईभ मेडिकल वेलनेस ।

चिकित्सक त्यो व्यक्ति हो, जसले औषधी मात्र होईन्, आशा पनि दिन्छ । उनी बिरामीलाई औषधीसंगै आशा दिन्छिन् । त्यही आशाले बिरामीमा आत्मविश्वास जगाउछ । आत्मविश्वासले पुनर्जीवन ।

उनले कति कमाईन् ? त्यो महत्वपूर्ण होईन् । विरामीको सेवाबाट आर्जेको विश्वास र प्रतिष्ठा उनको पूँजी हो । उनको सन्तुष्टिको आधार त्यही हो ।

त्यस्ता केही आफन्त हुन जरुरी छ । जसले जीवनमा संघर्ष गर्न दवावमा पार्छन् । चुनौती दिन्छन् । कमजोर आँक्छन् । सुत्न दिदैनन् । उनी त्यस्ता आफन्तलाई धन्यवाद दिन्छिन् । अवरोधहरु नभए कहाँ थाह हुन्छ, आफूभित्रको प्रतिरोध क्षमता ?

विकाश उनका लागि पति मात्र होईनन् । दुःखाईमा मल्हम हुन् । सुरक्षा हुन् । भरोसा हुन् । आँट हुन् । उनलाई टुट्न नदिने तागत हुन् ।

उनी अन्तर्वार्ताका लागि भित्र पस्थिन् । विकाश उनलाई बाहिर घण्टौं कुर्थे । धैर्यता कोही विकाशबाट सिकोस । जसले आफ्ना रहरहरु उनीमाथि न्यौछावर गरिदिए । उनको खुशीमा खुशी भए । उनको पीडामा दुःखी ।

हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ भनिन्छ । महिलाको सफलतामा नि ? प्रश्न झर्न नपाउदै भनिन्, आज म जेछु, त्यो विकाशको योगदान हो । मेरा सबै उपलब्धी । सफलता । नाम । पहिचान । विकाश बिना सबै अधुरो छ ।

बच्चा कसरी हुर्किए ? उनले थाहै पाईनन् । उनी पढाई र काममा यति व्यस्त हुन्थिन् । विकासले बच्चाहरुलाई आमाले हुर्काए । विकास असल पति मात्र होईनन् । असल पिता पनि हुन् । र, उनका साथी पनि । बच्चाको रेखदेख र हुकाईमा उनकी आमा र सासु आमाको पनि योगदान रह्यो ।

उनले हिडेको बाटो । उनले गरेको संघर्ष । उनले प्राप्त गरेको सफलता । हरेक मान्छेका लागि प्रेरणादायी छ । लक्ष्य प्राप्तिमा अडिग रहे, बाटो जस्तो सुकै कठिन भएपनि, ढिलोचाँडोको कुरा हो, मान्छे लक्ष्य भेटाउछ । त्यसको उदाहरण उनी हुन् ।

मान्छेले भन्दा धेरै पानी पिउँदै एआई, वार्षिक ७ खर्ब लिटर

मोबाइलको स्क्रिनमा औँलाहरू चल्छन्, एउटा प्रश्न टाइप हुन्छ र केही सेकेन्डमै जवाफ स्क्रिनमा देखिन्छ । आजको समयमा आर्टिफिसियल इन्टेलिजेन्स हाम्रो जीवनको यति अभिन्न हिस्सा बनिसकेको छ कि हामी यसका नकारात्मक पक्ष पनि छन् कि भन्नेबारे सोच्न समेत छोडिसकेका छौँ । तर जसलाई हामी स्मार्ट, छिटो र भविष्यको प्रविधि ठानिरहेका छौँ, त्यही एआईले चुपचाप पृथ्वीको पानी रित्याइरहेको छ ।

एआईले पिइरहेको पानी यति ठूलो मात्रामा छ कि यसका जोखिमहरू देखिन थालिसकेका छन् । अनि एआईले गर्ने जलविनास र त्यसको नियन्त्रणको विकल्पका विषयमा बल्ल गम्भीर बहस चल्न थालेको छ।

हालैको एक अनुसन्धानले देखाए अनुसार विश्वमा एक वर्षमा मानिसले खपत गर्ने बोतलबन्द पानीभन्दा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमहरू बढी पानी खपत गर्दछन् ।

मानिसले भन्दा धेरै पानी पिउँदै एआई

वास्तवमा एआई प्रविधि कुनै हावामा चल्ने जादु होइन । यसका पछाडि ठूला–ठूला डेटा सेन्टरहरू छन् जहाँ हजारौँ सर्भरहरू दिन रात चलिरहन्छन् । यी सर्भरहरू सञ्चालन हुँदा स्वभाविक रूपमा धेरै तात्ने गर्छन् । अनि उक्त ताप नियन्त्रण गर्न अर्थात् सर्भर चिस्याउनका लागि ठूलो मात्रामा पानी प्रयोग गरिन्छ।

त्यही पानी नै वास्तवमा एआई सञ्चालनका लागि चाहिने इन्धन हो । तर यसबारे आम प्रयोगकर्तालाई प्रायः जानकारी हुँदैन । एक अनुसन्धान अनुसार हाल एआई सम्बन्धित सिस्टमहरूले एक वर्षमा ३०० देखि ७०० अर्ब लिटर पानी खपत गर्छन् । यो मात्रा संसारभर एक वर्षमा विक्री हुने बोतलबन्द पानीभन्दा पनि बढी हो । अर्थात् मानिसहरूले किनेर पिउने पानीभन्दा बढी पानी एआईका मेसिनहरूले चुपचापरूपमा रित्याइरहेका हुन्छन् ।

पानी मात्र होइन, बिजुली पनि

एआई डेटा सेन्टरहरूले व्यापक रूपमा पानी मात्र खपत गर्दैनन् ती चलाउनका लागि ठूलो मात्रामा बिजुली चाहिन्छ । यसरी धेरै उर्जा खपत हुनुको अर्थ हो अधिक कार्बन उत्सर्जन ।

एक प्रक्षेपण अनुसार भविष्यमा एआईबाट उत्पन्न हुने कार्बन फुटप्रिन्ट धेरै ठूला शहरहरूको वार्षिक प्रदूषण बराबर हुन सक्छ । तर यसबारे खुला रूपमा कमै चर्चा हुन्छ किनकि अधिकांश ठूला प्रविधि कम्पनीहरूले आफ्ना डेटा सेन्टरहरूको वास्तविक पानी र बिजुली खपत सार्वजनिक गर्दैनन् ।

रोचक त के भने हामीलाई आफूले एआई च्याटबोटमा गर्ने एउटा प्रश्न सानो लाग्न सक्छ । तर यसको यसर भने थुप्रिँदै जान्छ । जब करोडौँ मानिसहरूले दैनिक रूपमा यसैगरी एआई टुलहरू प्रयोग गर्छन् तब पानी खपतको स–सानो हिस्सा जोडिँदै अरबौँ लिटरमा पुग्छ । त्यसैले यदि कुनै व्यवस्थित योजनाबिना नै एआईको विस्तार यसैगरी अघि बढिरह्यो भने त्यसबाट भविष्यमा पानीको अभाव झन् गहिरिने चेतावनी विज्ञहरूले दिन थालेका छन् ।

विश्व धेरै अघिदेखि नै जल संकटसँग जुधिरहेको छ । विश्वका धेरै शहर तथा गाउँहरूमा पानीको अभाव छ र सीमित आपूर्ति छ । भूमिगत जलस्तर घट्दै गएको छ र जलवायु परिवर्तनले अवस्थालाई थप जर्जर बनाइरहेको छ । यस्तो अवस्थामा एआईको बढ्दो पानी खपतले नयाँ र गम्भीर प्रश्न खडा गरेको छ । विज्ञहरू भन्छन्- हामीले भविष्यका पुस्ताको पानीबाट एआई प्रविधिको मूल्य चुकाइरहेका छौँ ।

एआईका यस्ता गम्भीर वातावरणीय जोखिम हुँदाहुँदै पनि यसलाई रोक्न सम्भव छैन । एआई प्रविधिलाई रोक्न आवश्यक पनि हुँदैन । तर यसमा जिम्मेवारी जवाफदेहिता र संवेदनशीलता भने अपरिहार्य बनिसकेको छ ।

अब एआईको स्मार्ट फिचर र तीव्र जवाफबाट खुसी भएर मात्र पुग्दैन । एआइले कति पानी प्रयोग गरिरहेको छ, कहाँबाट लिइरहेको छ र यसको जिम्मेवारी कसले लिने ? भन्ने विषयमा विश्वमा एउटा नयाँ नियम बन्नु आवश्यक छ ।

हुनत कतिपय एआई कम्पनीहरूले पानी र बिजुली खपत घटाउने उपायहरूमा काम गरिरहेका छन् । अब चाहिँ यस विषयमा पारदर्शीता र जिम्मेवारी झनै आवश्यक भइसकेको छ ।

(एजेन्सी)

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री

काठमाण्डाै- प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

‘देशको उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएकाले यसलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्क छ’, प्रधानमन्त्री कार्कीले भने, ‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’

कुलपति कार्कीले विश्वविद्यालय जीवनको एक अत्यन्त महत्त्वपूर्ण मोडमा उभिएको र एउटा शैक्षिक यात्रालाई औपचारिक पूर्णता प्रदान गरेको बताउँदै उनले दीक्षान्त आफैँमा गन्तव्य होइन, यो त कक्षाकोठा वा अनुसन्धानशालामा प्राप्त ज्ञानलाई मानव विकासका लागि उपयोग गर्ने नयाँ यात्राको आरम्भ हो भने ।

‘प्रविधिको तीव्र परिवर्तन, रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता, नैतिक द्विविधा तथा विश्वव्यापी अनिश्चितताजस्ता विषयसँग सम्बन्धित चुनौतीको सामना गर्नुपर्ने छ । त्रिभुवन विश्वविद्यालयबाट दीक्षित तपाईंहरू यस्ता चुनौती सामना गर्दै मानव विकास र विश्व बन्धुत्वका लागि अर्थपूर्ण योगदान गर्न समर्थ हुनुहुनेछ भन्नेमा म विश्वस्त छु’, प्रधानमन्त्री कार्कीले भने, ‘तर ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित गर्दैन । प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन जरुरी भएको देख्दछु ।’

नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने उनको आग्रह थियो ।

एनआईसी एसिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई बुधबारदेखि नै लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै सफलताको उचाइ लिने विश्वास गरिएको छ ।

यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले पुस ६ गते स्वीकृत गरेको थियो ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

काठमाडौँ– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगमा नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेता टोलीलाई पाँच लाख नगद प्रदान गरिनेछ। त्यसैगरी उपविजेता टोलीले  दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेलाई एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई ५० हजार नगदसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ। विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए। प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख नगद लाग्ने आयोजकले जनाएको छ।

बालेनसँगको वार्तापछि रविको प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।

सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’

उनले भेटबारे सञ्चारकर्मीसँग यतिमात्रै भने । प्राय मिडियासँग खुला कुराकानी गर्ने लामिछानेले यो भेटबारे भने केही बताएनन् ।

सकियो रवि लामिछाने र मेयर बालेनबीचको वार्ता

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्ता सकिएको छ ।

ललितपुरको ज्वागलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वान टु वान वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदनले लगाइदिए गेटमा ताला !

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ।

छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहेका छन् । उनले आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताए ।

यतिमात्रै होइन उनले आफैँले सामाजिक सञ्जालमार्फत छलफलका लागि दबाब दिन आफूले घरको गेटमा ताला लगाइदिएको बताए । सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने उनको भनाइ छ ।

उनले एक भिडियो समेत जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं !’

उनले भिडियोमा भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’

त्रिविको दीक्षान्त ५१औं समारोहमा १६ हजार जना विद्यार्थी दीक्षित

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् ।

आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्शालामा चलिरहेकाे समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि छन् । कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए ।

सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवालाई साथमा लिएर सडक संघर्ष गर्छौं : विप्लव

काठमाडौं : नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन सडक संघर्ष गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विप्लवले वर्तमान सरकारले जेनजीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवाहरूलाई समेत साथमा लिएर सडक संघर्ष गर्ने बताएका हुन्।

उनले वर्तमान सरकार भंग गरि सर्वपक्षीय सरकार गठन गर्नका लागि राष्ट्रपति समक्ष १० दिने अल्टिमेटमसहितको माग पत्र समेत बुझाइएको जानकारी दिए।

आफूहरूको मागमा आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्ने, समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने, जेनजी आन्दोलनमा भएका सबै घटनाको छानबिन गर्नुपर्ने लगायत रहेको उनले बताए । विप्लवले जेनजी आन्दोलनपछि बनेको सरकारप्रति कोहि पनि सन्तुष्ट नरहेको र देशलाई निकास दिने अवस्था समेत नदेखिएको जिकिर गरे।

उनले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको बताए। भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्ने र उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्ने उनको भनाइ छ ।

आज क्रिसमस दिवस मनाइदै

काठमाण्डौ – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज यस धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवका रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा २०६३ सालदेखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ सालदेखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । २०७८ सालदेखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेष गरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । क्रिसमस दिवसको पूर्वसन्ध्यामा गएराति काठमाण्डौ, ललितपुर सहितका शहरहरुका सपिङ मलहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

 

आयोगले सार्वजनिक गर्यो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाण्डौ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।

चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।

आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही हुने

काठमाण्डौ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्ने बताए । मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ ।

प्रवक्ता डा बूढाथोकीले निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो आएको बताए । उएले मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने जानकारी दिए ।

 

खोज्नुहोस