भनिन्छ, सपना होईन्, रणनीति बदल्ने मान्छेहरु लक्ष्य प्राप्त गर्छन् । त्यसको उदाहरण हुन्, डा.शारदा काफ्ले त्रिपाठी । सपना डाक्टर बन्ने । पढिन्, नर्सिङ । तर छोडिनन्, डाक्टर बन्ने अठोट । उनले सपना होईन्, रणनीति बदलिन् । र बनाईन्, नर्सिङलाई लक्ष्य प्राप्तीको बाटो । बनिन्, डाक्टर । बनाईन्, पृथक पहिचान ।
उनी चितवनको भरतपुर –१८ गुञ्जनगरमा जन्मिईन् । बुवा किसान । आमा गृहणी । काफ्ले दम्पत्तीका दुई छोरा । तीन छोरी । चौथो उनी । ८ कक्षाभन्दा माथि पढ्न नपाएकी आमाभित्र छोरीलाई धेरै पढाउने ईच्छा थियो । बुवाले प्रवासमा पढाईको महत्व बुझेका थिए । बुवाआमाको त्यही चेतले पाँचैले स्कुल जान पाए ।
उनी पढाईमा अब्बल थिईन् । अतिरिक्त क्रियाकलापमा पनि उनलाई कसले उछिनोस । वादविवाद होस वा कविता । हाजिरी जवाफ वा निबन्ध लेखन । उनले भाग लिएर नजितेको, त्यस्तो कुनै प्रतियोगिता थिएन् । विद्यालयबाट घर फर्किदा, कहिलेकाही त उनीसंग कितावभन्दा बढि पुरस्कार हुन्थे । १५ वर्ष नपुग्दै २०५७ सालमा गुञ्जनगर माविबाट एसएलसी टप गरिन् ।
त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पसमा आईएस्सीमा भर्ना भईन् । प्रथम वर्षको परीक्षा दिईन् । त्यहीबेला चितवनमा कलेज अफ मेडिकल साईन्स सञ्चालनमा आयो । नर्सिङमा आवेदन भरिन् । ४० जनाको कोटा । उनी उत्कृष्ट पाँचमा छानिईन् । जागीरे दाईले पढाईको खर्च बेहोरे ।
२००५ मा उनले नर्सिङको परीक्षा दिईन् । दोस्रो भईन् । नतिजा आउनुअघि मेडिकल कलेजमा जागीर पाईसकेकी थिईन् । पछि लिईन, नर्सिङको लाईसेन्स ।
पढ्न । जागीर खान । निर्वाध हिड्डुल गर्न । उनी स्वतन्त्र थिईन् । कुरा काट्नेले भन्थे, काफ्ले कान्छाले छोरीहरुलाई टाउकोमा टेकाएको छ । बुवालाई छु मतलव ।
अष्ट्रेलिया र अमेरिकामा नर्सिङको पढाईपछि डाक्टर बन्न पाउने सुन्थिन् । सोच्थिन्, त्यहाँ जान पाए त डाक्टर बन्थे । ‘डाक्टर र अमेरिका’ यी शब्द उनको दिमागमा जरो गाढेर बसे ।
२००६ मा डीभी भर्ने समय आयो । दाईले डीभी भर्न सय रुपैया दिए । उनले मःम खाईन् । विश्वास थिएन् । डीभी भरिनन् ।
उनकी साथी थिईन्, कविता । डीभी भर्न कर गरिन् । कविताका दाई नारायणगढमा साईवर चलाउथे । उनी कवितासंगै डीभी भर्न गईन् । दाईले फोटो र जानकारी मागे । निशुल्क भरिदिए । २००७ मा डीभीको नतिजा आयो । डीभी प¥यो । उनी दंग ।
नर्सिङको पढाई सकेर काम गरिरहेकी थिईन् । २००६ अक्टोबरमा उनलाई एउटा ईमेल आयो । अपरिचित व्यक्तिको त्यो ईमेल उनलाई भूलबश आएको थियो । पठाउने व्यक्ति थिए, विकाश त्रिपाठी । त्यो एउटा साधारण तर सभ्य धन्यवादको इमेल थियो । सुरुमा उनी अलि हिचकिचाईन्, तर केही इमेल आदान–प्रदानपछि त्यो ‘अपरिचितबाट आएको राम्रो इमेल’ बिस्तारै मित्रतामा परिणत भयो । त्यतिबेला इमेल र याहु च्याट नै सम्पर्कका मुख्य माध्यम थिए । समयसँगै उनीहरुको मित्रता गहिरिँदै गयो । र, अन्ततः प्रेममा बदलियो । रोचक कुरा के भने, प्रत्यक्ष भेटघाट नहुदै उनीहरुले विवाह गर्ने निर्णय गरिसकेका थिए ।
उनीहरुलाई जोड्ने त्यो ईमेल
फेब्रुअरी २००५ मा उनको व्याँच ईलाम टुरबाट बसमा फर्किदै थियो । हेटौडाको जंगलमा झरेको बेला अर्को बसले मेट्रोन कमला शर्मालाई कुल्चियो । संगै रहेकी उनलाई शर्माले धकेलेर जोगाईन् । होश खुल्दा उनी अस्पतालमा थिईन् ।
त्यसको तीन वर्षअघि, २००२ को एक विहान विकाश कलेज जादै थिए । विहान ५ः३० बजे सुकेधारा नजिक उनलाई बसलाई कुल्चियो । बसले व्याक गरेर फेरि कुल्चिन खोज्यो । मोटरसाईकल अवरोध बन्यो । चालक बस छोडेर भागे । त्यो बाटोओहोर दोहोर गर्नेहरुले मृत्यु भईसकेको ठानेर उनलाई उद्दार गरेनन् । एकजना ट्याक्सी चालक अडिए । उनको छाती छामे । सास फेरिरहेका उनलाई जोगाउन सकिने ठाने । र, त्यहाँबाट सोझै शिक्षण अस्पताल लगेर गए । अस्पतालले उनको उपचार थाल्यो । र, उनीसंग भेटिएको परिचय पत्र र नोटबुकका आधारमा अस्पतालले सबैतिर सूचना प्रसारण ग¥यो । त्यही सूचनापछि आफन्तहरु अस्पताल आए । प्रहरीले उनलाई कुल्चेको आरोपमा उल्टै चालकलाई थुनामा राख्यो । धन्न बसका चालकले प्रहरीमा आत्मसमर्पण गरेपछि ट्याक्स चालक छुटे । ट्याक्सी चालक साँझ फेरि अस्पताल पुगे उनी जीवित रहेको थाह पाएपछि खुशी भए । परिवारजन सहयोग गर्न खोेजे । सहयोग लिन नमानेर फर्किए ।
२१ दिन कोमामा रहेका विकाशलाई होश खुलेपछि अस्पतालले डिस्चार्ज ग¥यो । उनका दुबै खुट्टा कच्याककुचुक थिए । मल्टीपल ईञ्जुरी थियो । डाक्टरले तीन महिनासम्म पनि जोगाउन असंभव ठानेको थियो । टाउकोमा गम्भीर चोट लागेको थियो । मुस्किलले नौ महिनापछि उनले बेडबाट भुईमा एउटा खुट्टा राखे । उनी त्यतिबेलासम्म स्ट्रेचरमै थिए । त्यसपछि विस्तारै हिड्न थाले ।
जब उनी हिड्डुल गर्नसक्ने भए । उनले आफूलाई बचाउने ट्याक्सी चालकलाई निकै खोजे । भेटेर धन्यवाद भन्न मन थियो । रेडियोमा सूचना हाले । ट्याक्सी चालकहरुलाई सोधे । तर उनी ट्याक्सी चालकलाई भेटाउन सकेनन् ।
त्योबीचमा सहयोग गर्ने उनलाई सबैलाई धन्यवाद दिए । भेट्न सक्ने जतिलाई भेटेर । कतिपयलाई ईमेल मार्फत । उनले पठाएको एउटा धन्यवाद मेल गल्तीबश शारदालाई गयो ।
उनीहरुलाई जोड्ने त्यही मेल थियो । भनिन्छ, जोडिन भाग्यमा लेखेकाहरुलाई जोड्ने कही न कही ‘ईनभिजिवल स्ट्रिङ’ (अदृष्य धागो) हुन्छ । त्यो ईमेल ‘ईनभिजिवल स्ट्रिङ’ थियो ।
दुबै गम्भीर दुर्घटनामा पर्नु । मृत्युको मुखबाट बाँच्नु । त्यो मिराकल थियो । संयोग मात्र थिएन । चितवनकी शारदा । काभ्रेका विकाश । ‘सोलमेट’ थिए । सायदै त्यसैले उनीहरुलाई जोड्यो । रील लाईफमा देखिने यो दृष्य उनको जीवनमा रीयलमा छायांकन भयो । उनीहरुले भोगेको दुर्घटना, उनीहरुले बाँचेको जीवन र उनीहरुको प्रेम र सहयात्राको कथा कुनै फिल्मको दृष्य झै लाग्छ । सेक्सपियर सायद उनीहरुको युगमा जन्मिएका भए, बियोगान्त नाटक मात्र लेख्दैनथे होलान् । जीवन बियोग, पीडा र बिछोडको श्रृंखला मात्र होईन्, शुरुवात दुःखद हुन सक्छ, जीवन सुखद संयोगहरुको सिलसिला पनि त हो । उनीहरुले बाँचेको जीवनले मान्छेलाई आशावादी बनाउछ । बाँच्न सिकाउछ ।
उनीहरुको कथा यही सकिदैन् ।
काठमाण्डौंमा जागीरे विकास । जर्मनी जाने तयारीमा थिए । उनी नर्सिङको पढाई अघि बढाउन चाहन्थिन् ।
दुबैले आ–आफ्ना योजना ‘प्याकअप’ गरे । अमेरिका जाने निधो गरे । र, २५ नोभेम्बर २००७ मा काठमाण्डौंमा विवाह गरे । त्यसपछि डीभीको प्रकृया पुरा गरे ।

र, २२ अगष्ट २००८ मा विकाशसंगै अमेरिका उडिन् । गन्तव्य थियो, कोलोराडो । त्यहाँ स्पोन्सर दाईभाउजु थिए ।
अमेरिका टेक्दा उनीहरुका साथमा थिए, केही थान सुटकेश । धेरै सपना । थोरै पैसा । र थियो, काकाले नेपालबाट उड्दा दिएको १४ हजार डलर । त्यो रकम केही दिनमै मागेर लगे । बाँकी रह्यो, पाँच सय ।
दाईको घरमा डेढ महिना बस्दा जागीर खोजे । उनले फाष्टफुडमा । विकाशले ग्याँस स्टेशनमा । रिसेप्सनको जागीर । उनको अंग्रेजी राम्रो थियो । उनी ड्राईभ थ्रुको अर्डर लिन्थिन् । पारिश्रमिक ७.२५ डलर ।
त्यसवर्ष कोलोराडोमा निकै हिउँ प¥यो । उनीहरुले हिउँमा वैवाहिक वर्ष गाँठ मनाए । नेपालमा विकाश हरेक महिना विवाहोत्सव मनाउँथे ।
त्यतिबेलासम्म ती आफन्त, जोबाट सहयोगको आस थियो, टाढा भईसकेका थिए । उनीहरु एक्लो थिए । नयाँ ठाउँ । जानकारीको अभाव । भाषागत समस्या । अपार्टमेण्टको बास । भुईको सुताई । दुई वटा ब्ल्यांकेट । ओढ्यो । बिछ्यायो ।
कहाँ जाने ? के गर्ने ? अलमल र अन्यौल । सहयोग गर्ने कम । निरुत्साहित गर्ने बढि । परिवारकै अग्रजबाट बारम्बार भएको निरुत्साहन । अपमान । तिनले ठाडै भन्थे–कमाई धमाई छैन्, नर्सिङका कुरा । कस्ता कस्ताले सकेन् । तेरो श्रीमतीले सक्छ ?
काँडाले झै घोच्ने । आफन्तका शब्दवाण । उनी निराश हुन्थिन् । विकाश भन्थे, म छु नि । विकाशको दरो साथ । ‘तिमी सक्छौ’–विकास हौसला भर्थे ।
नारायणी किनारमा हुर्किएकी उनले रोकिन जानेकी थिईनन् । बगिरहन । नरोकिन् । उनले नारायणीबाट सिकेकी थिईन् ।
जिन्दगीले हरघडी परीक्षा लिईरह्यो । हार्न उनले जानेकी थिईनन् । उनको जीनमा सहने सामथ्र्य आमाबाट । कमजोर नहुने गुण बुवाबाट ट्रान्सफर भएको थियो । ‘ब्याकबोन’ विकास थिए । उनी कमजोर किन हुन्थिन् ?
.jpg)
साथमा नर्सिङको लाईसेन्स । हातमा सीप । लाईसेन्सको मूल्यांकनको बिधि र बाटो थाह थिएन् । एक वर्ष खेर गयो । जब थाह पाईन्, दिईन् रजिष्टर्ड नर्सको परीक्षा । छ घण्टा लामो परीक्षा । एक घण्टामै पुरा गरिन् । दुई दिन सुत्न सकिनन् । नतिजा आयो । उनी पास भईन् । त्यो खुशीको पल, कसरी बिर्सिन सक्छन् ?
लगत्तै नर्सिङ होममा काम पाईन् । पारिश्रमिक थियो, २८ डलर प्रति घण्टा । त्यहाँको वातावरण व्यवहार ठिक लागेन् । असह्य भयो । डेढ महिनामै जागीर छोडिन् ।
नजिकैको अर्को नर्सिङ होममा काम पाईन् । पारिश्रमिक ३३ डलर पुग्यो । पद थियो, सुपरभाईजर । त्यहाँ दुई वर्ष काम गरिन् ।
उनले २०११ देखि चेरी क्रिक एक्युट रिह्याव, जुलिया टेम्पल र मानोर केयरमा रजिष्टर्ड नर्सका रुपमा काम गरिन् । सुपरभाईजरको जिम्मेवारी ।
२०११ देखि २०१४ को अवधिमा उनले मेट्रो र अरोरा युनिभर्सिटीबाट एशोसियट डिग्री पुरा गरिन् । २०११ मा उनले पहिलो सन्तान जन्म दिईन् । छोराको स्याहार । पढाई । जागीर । सबै जिम्मेवारी एकसाथ पुरा गरिन् ।
२०१३ देखि २०१७ सम्म क्रिटिकल केयर रजिष्टर्ड नर्सका रुपमा पार्कर एडभेनष्टि हस्पिटलमा काम गरिन् । २०१४ मा दोस्रो छोरा जन्मियो । त्यहीबेला शुरु गरेको बीएससी र बीएसएनको पढाई पाँच वर्षमा सकिन् ।
२०१७ देखि २०२१ सम्म रजिष्टर्ड नर्सका रुपमा डेनभर हेल्थ हस्पिटलमा काम गरिन् । त्यहीबीचमा एमएसएन, एफएनपी र डीएनपीको पढाई पुरा गरिन् ।
२०२२ मा तेस्रो सन्तान विआंशालाई जन्म दिईन् । अमेरिका आएको १२ वर्षमा उनका हातमा उच्च शिक्षाका तीन डिग्री थिए । र थिए, तीन सन्तान ।
.jpg)
डेनभर हेल्थमा काम गर्दा गर्दै उनले एफएनपीको पढाई पुरा गरिन् । एफएनपीको पढाईले डाक्टर सरह काम त गर्न पाउथिन् । तर डाक्टर लेख्न पाउथिनन् ।
त्यसपछि उनले डाक्टर अफ नर्सिङ प्राक्टिस (डीएनपी) का लागि युनिभर्सिटी अफ कोलोराडोमा आवेदन दिईन । २१ जनाको कोटा । ६६८ को आवेदन । सयजनाको अन्तर्वार्ता । आठ घण्टा लामो अन्तर्वार्ता । हरेक प्रश्नको प्रष्ट जवाफ दिईन् । उनलाई अन्तर्वार्तामा सोधिएको प्रश्न थियो, आगामि पाँच वर्षमा तिम्रो के गर्ने योजना छ । उनले निसंकोच भनिन्, आफ्नै क्लिनिक खोल्ने योजना छ ।
अन्तर्वार्ता लिनेहरु प्रभावित भए । उनी छानिईन् । अन्तर्वार्ता लिने व्यक्तिले भने, तिमी भाग्यमानी भएर छानिएकी होईनौ । तिम्रो क्षमताले यो अवसर पाएकी हौ ।

२०२२ मा उनले डाक्टर अफ नर्सिङ प्राक्टिस्नरको पढाई पुरा गरिन् । र, बन्यो नयाँ परिचय । नामका अगाडि थपियो,डा. । बनिन्, डा. शारदा त्रिपाठी ।
बुवा र आमा अभावमा बाँचे । तर उनमाथि अभावको छाया पर्न दिएनन् । उनले जे चाह्यो त्यही पाईन् । उनले कहिल्यै डिमाण्ड गरिनन्, त्यो त उनले माग्नुभन्दा पहिल्यै पाईन् । बुवा त्यो अजंगको पहाड झै । जसले आँधी झेले । वर्षा झेले । तर कहिल्यै ऐया भनेनन् । सन्तानका खातिर सबै चिज चुपचाप सहे । आँखा आमाका । सपना उनका । हो, आमाले उनलाई हुर्काईन् । संगै आफ्ना सपना । धेरै पढ्ने सपना । उनी डाक्टर भएको दिन, आमाको सपना पुरा भयो ।
बुवाले सधै सोध्थे, डाक्टर भईस । उनीसंग जवाफ हुन्थेन । भन्थिन्, पढ्दैछु । डाक्टर हुदा बुवा संसारमा थिएनन् । एक मनले सोच्छिन्, म त भाग्यमानी । जे सोचे, त्यो भए । बुवाको ईच्छा पुरा गरे । सम्झिदा पीडा हुन्छ, बुवाले डाक्टर बनेको देख्न पाएनन् ।
अक्टोबर २०१५ मा बुवाको मृत्यु भयो । बुवाको मृत्यु । र, जागीर गुमाएको पल । उनले बिर्सिन नसकिने पल हुन् ।
सेप्टेम्बर २०२३ मा उनको जागीर गयो । नसोचेको भयो । त्यही घट्नाले उनको जीवनलाई नयाँ मोड दियो । सोचिन्, जागीर यस्तै हो । जसको भर हुदैन् । गरिन्, जागीर नखाने प्रण । विकाशलाई सुनाईन्, आफ्नै क्लिनिक खोल्छु ।
उता एकहप्ता नबित्दै अस्पतालबाट कल आयो, तिमी काममा फर्किन चाहन्छौ ? हामी तिमीलाई फुल टाईम काम दिन्छौ ।
यसको के भर ? उनी क्लिनिक खोल्ने निर्णयमा अडिग रहिन् । २३ अक्टोबर २०२३ मा रिभाईभ मेडिकल वेलनेस दर्ता गरिन् । २ फेब्रुअरीमा २०२४ मा कोलोराडोको नर्थग्लेनमा क्लिनिक शुरु गरिन् । कोलोराडोमा नेपाली डाक्टरले खोलेको यो पहिलो वेलनेस हो ।
बुवा भारतीय सेनामा कार्यरत थिए । विवाहपछि भारत फर्किएनन् । कृषि क्याम्पस रामपुरमा सुरक्षा गार्ड भए । ड्युटीमा थिए । ब्रेन स्ट्रोक भयो । तत्काल अस्पताल पुर्याईए । मिराकल भयो । केही समयको उपचारपछि डिस्चार्ज भए । रिकभर हुदै थिए । केही महिनापछि ब्रेन ह्यामरेज भयो । अस्पताल लगिए । भेन्टिलेटरमा राखेर उपचार शुरु भयो । तिन सातापछि कोमामै बुवाको मृत्यु भयो । प्रार्थना र औषधी दुबैले काम गरेन् । असमयमै जीवन गुमाए । बुवाको मृत्युमा रुन नपाउने त्यो अभागी छोरी थिईन, उनी । जसले अन्तिम समयमा बुवाको मुख हेर्न पाईनन् ।
पछुतो र पीडा मुटुभरी थियो । समयमै स्वास्थ्य परीक्षण गरेको भए ? बुवा बाँच्थे होलान् । गतिलो अस्पताल घरछेउमै भएको भए,उपचार हुन्थ्यो होला । सोचिन् । अरुले यस्तो पीडा नखेपुन् । रिभाईभ मेडिकल वेलनेस खोल्नुको प्रमुख कारण यही सोच थियो ।
शुरुवाती दिनहरु सुखद थिएनन् । उनी दिनभरी कुर्थिन् । विरामी आउदैनथे । छ महिना अत्यन्त निराशाजनक रह्यो । कतिपय हप्ता त विरामी नै देख्न पाईनन् । हार्न उनले जानेकी थिईनन् । हिम्मत र आँट भर्ने विकाश थिए । जति विरामी आए । मिठो व्यवहार गरिन् । ध्यान दिएर सुनिन् । उर्जा भरिन् । औषधीसंगै बिरामीलाई आशा दिईन् । त्यही व्यवहारले विज्ञापनको काम ग¥यो । उनले प्रचारका लागि कही जानै परेन् । जति विरामी आए । तिनै प्रचारक बने । तिनैले विरामी पठाउन थाले । केही महिनापछि क्लिनिकमा विरामीको घुईचो लाग्यो ।
२०२५ को नोभेम्बरमा उनले ५०० विरामीको उपचार गरिन् । क्लिनिक स्थापना भएयताकै यो सर्वाधिक संख्या हो । योबीचमा सेवा, सुविधा र उपकरण थपिन् । ४० हजार डलरबाट शुरु गरेको वेलनेसमा उनले एक मिलियन बढि लगानी पु¥याईन् ।
जब निको भएर फर्किदै गरेका विरामीको अनुहारमा खुशी देख्छिन् । उनी त्यसै खुशी हुन्छिन् । बिरामीको धन्यवाद, उनका लागि आशिष हो ।
हुन् पनि उनीकहाँ कुनै विरामीले निराश भएर फर्किनु परेको छैन् । क्रोनिक व्याकपेन । जोर्नीको दुःखाई । चायाँपोतो, चाउरीपन । यी सबैको नेचुरल उपचार गर्छिन् । चीरफार बिनै । बोटोक्स प्रविधिद्धारा अनुहारको चाउरीपना हटाईदिन्छन् । यो एउटा साधारण शल्यक्रिया रहित प्रक्रिया हो । जटिल शल्यक्रिया, ट्युमर र क्यान्सरका विरामी बाहेक अरुलाई रेफर गरेको अनुभव छैन् । उनका ९० प्रतिशत सेवाग्राही विदेशी हुन् ।
डाक्टर अफ नर्स प्राक्टिस्नर त्रिपाठी रिजेनेरेटीभ एण्ड एष्थेटिक मेडिसिन विशेषज्ञ हुन् । उनले अमेरिकीहरुमा सौन्दर्यप्रति गहिरो चासो र सम्पूर्ण स्वास्थ्यप्रति चिन्ता पाईन् । सवै समस्या स्वास्थ्य समस्याको समाधान गर्ने विश्वसनीय ठाँउ खोजिरहेकाहरुका लागि उपर्युक्त बिकल्प बनाईन्, रिभाईभ मेडिकल वेलनेस ।
चिकित्सक त्यो व्यक्ति हो, जसले औषधी मात्र होईन्, आशा पनि दिन्छ । उनी बिरामीलाई औषधीसंगै आशा दिन्छिन् । त्यही आशाले बिरामीमा आत्मविश्वास जगाउछ । आत्मविश्वासले पुनर्जीवन ।
उनले कति कमाईन् ? त्यो महत्वपूर्ण होईन् । विरामीको सेवाबाट आर्जेको विश्वास र प्रतिष्ठा उनको पूँजी हो । उनको सन्तुष्टिको आधार त्यही हो ।
त्यस्ता केही आफन्त हुन जरुरी छ । जसले जीवनमा संघर्ष गर्न दवावमा पार्छन् । चुनौती दिन्छन् । कमजोर आँक्छन् । सुत्न दिदैनन् । उनी त्यस्ता आफन्तलाई धन्यवाद दिन्छिन् । अवरोधहरु नभए कहाँ थाह हुन्छ, आफूभित्रको प्रतिरोध क्षमता ?
विकाश उनका लागि पति मात्र होईनन् । दुःखाईमा मल्हम हुन् । सुरक्षा हुन् । भरोसा हुन् । आँट हुन् । उनलाई टुट्न नदिने तागत हुन् ।
उनी अन्तर्वार्ताका लागि भित्र पस्थिन् । विकाश उनलाई बाहिर घण्टौं कुर्थे । धैर्यता कोही विकाशबाट सिकोस । जसले आफ्ना रहरहरु उनीमाथि न्यौछावर गरिदिए । उनको खुशीमा खुशी भए । उनको पीडामा दुःखी ।
हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ भनिन्छ । महिलाको सफलतामा नि ? प्रश्न झर्न नपाउदै भनिन्, आज म जेछु, त्यो विकाशको योगदान हो । मेरा सबै उपलब्धी । सफलता । नाम । पहिचान । विकाश बिना सबै अधुरो छ ।
बच्चा कसरी हुर्किए ? उनले थाहै पाईनन् । उनी पढाई र काममा यति व्यस्त हुन्थिन् । विकासले बच्चाहरुलाई आमाले हुर्काए । विकास असल पति मात्र होईनन् । असल पिता पनि हुन् । र, उनका साथी पनि । बच्चाको रेखदेख र हुकाईमा उनकी आमा र सासु आमाको पनि योगदान रह्यो ।
उनले हिडेको बाटो । उनले गरेको संघर्ष । उनले प्राप्त गरेको सफलता । हरेक मान्छेका लागि प्रेरणादायी छ । लक्ष्य प्राप्तिमा अडिग रहे, बाटो जस्तो सुकै कठिन भएपनि, ढिलोचाँडोको कुरा हो, मान्छे लक्ष्य भेटाउछ । त्यसको उदाहरण उनी हुन् ।

