दुना टपरी बेचेर आत्मनिर्भर बन्दै महिलाहरू
यशोदा शर्मा ।
कैलाली । धनगढीको मुख्य बजार एलएनचोक भित्र त्रिनगर कृषि उपज हाटबजार छ । साताको आइतबार, मंगलबार र शुक्रबार लाग्ने यो हाटबजारमा ग्रहाकहरुको भिड उत्तिकै देखिन्छ । कृषकहरु आफुले उत्पादन गरेका साग,तरकारी, गेडागुडी, फलफुल र अन्नपात बेच्नमा व्यस्त हुँन्छन् । जसमा महिलाको संख्या बढी देखिन्छ ।
हाटबजारमा उनीहरु तरकारी मात्रै बेचिरहेका हुँदैनन् । ग्राहक आएको बेला सामान बेचिरहेका महिला फुर्सद पाउने बित्तिकै दुना टपरी बुन्न थाल्छन् । तरकारी सँगसँगै दुना टपरी बेचेर उनीहरु दोहोर आम्दानी गरिरहेका छन् ।
गत मंगलबार हाटबजारमा धनगढी–६ जाली बिजुलियाकी फागुना देवी चौधरी दुना टपरी बुन्नमा व्यस्त थिइन् । ग्राहक आएको बेला तरकारी पनि बेच्थिइन् । उनी विगत दुई वर्षदेखि हाट बजारमा तरकारी सँगै दुना टपरी बेच्दै आइरहेकी छन् । दुना टपरी र सालका पातहरू मात्रै बेचेर दिनको एक हजार सम्म कमाई हुने गरेको फागुना बताउँछिन् ।
पहिला हिँडेरै तरकारी बेच्ने उनी हाटबजार सुरु भएदेखि हिड्नु पर्ने बाध्यता हराएको बताउँछिन् । उनले आफ्नै बारीमा उत्पादन गरेर सिजन अनुसारका तरकारी र दुना टपरी बेचेर हाटबजारबाट दोहोरो आम्दानी गरिरहेकी छन् । अहिले उनको जीविकोपार्जनको स्रोत हाटबजार नै बनेको छ । ‘सुरुदेखि नै तरकारी बेचिरहेको छौ । खेतीको बेला खेती गर्छौं खेतिसकेपछि बेच्न आउँछ,’ उनी भन्छिन्, ‘घर खर्च यसैबाट चलिरहेको छ ।’
जङ्गलबाट सालका पातहरू ल्याएर दुना टपरी बेच्ने फागुना मात्रै होइनन् । उनी जस्ता अन्य थुप्रै महिला यसरी दोहोरो आम्दानी गरिरहेका छन् । सालको पातमा लगानी लगाउन नपर्ने भएकाले राम्रो आम्दानी हुने महिलाहरु सुनाउँछन् । यसले महिलाहरूलाई घरदन्दा चलाउन निकै सहज हुने गरेको छ ।
दुना टपरीहरू पूजाआजा तथा विशेषगरी धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ । एउटा सानो पार्चँ रुपैयाँको ३ वटा र ठूलो टपरीको १० मूल्य पर्छ । यसमा मेहनत बढी लाग्ने तर कम मूल्यमा बिक्री हुने भएकाले यसको मूल्य अझै केही बढाउनुपर्ने माग फागुनाको छ । जङ्गलबाट पातहरू ल्याउन समस्या हुने तर मान्छेहरूले यसको त मूल्य नै पर्दैन मेहनत मात्रै हो भनेर हेप्ने गरेको उनले गुनासो गरिन् ।
धनगढीकै ४० वर्षीय सुक्नी चौधरीले पनि तरकारी सँगसँगै दुना टपरी बनाएर बेच्दै आइरहेकी छन् । उनी करिब १० कठ्ठा जमिनमा आलु, गोभी, खुर्सानी, टमाटर लगायतका तरकारीहरूको खेती गर्छिन् । तरकारी सँगसँगै दुना टपरी बेचेर दिनमा दुई देखि ३ हजार सम्म कमाई हुने गरेको उनी बताउँछिन् ।
सुक्नीको पनि घरधन्दा हाटबजारबाटै चलिइरहेको छ । भन्छिन्, ‘मजदुरी गर्न जान्न मजदुरी भनेकै यही हाटबजार हो मेरो । बजार भएको दिन यहाँ आएर बेच्छु खाली भएको दिन तरकारीमा मलजल हाल्छु गोडमेल गर्छु ।’ जीविकोपार्जनको आयस्रोत तरकारी र दुना टप्परी नै हुँदा यसैमा सन्तुष्ट रहेको उनी बताउँछिन् ।
धनगढी–६ कै सरिता चौधरीले पनि हाटबजारमा दुना टपरीहरु बेच्दै आइरहेकी छन् । उनले तरकारी भए तरकारी नत्र दुना टपरी मात्रै बेच्ने गरेको बताइन् । ‘घरमा बिना काम बसिरहनु भन्दा लगानी नलाग्ने दुनाटपरीले थोरै भएपनि घर खर्च चलाउन सहज भएको छ,’ उनले भनिन् ।
फागुना सुक्नी र सरिता त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै अन्य थुप्रै महिला पनि दुना टपरी बेचेरै आत्मनिर्भर भएका छन् । सर्वसाधारण महिलाहरूलाई दुना टपरी परिवारको आवश्यकता पूरा गर्ने माध्यम बनेको छ । दुनाटपरीको उचित मूल्य निर्धारण गरी महिलाहरूलाई प्रोत्साहन गर्न सके उनीहरूको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने देखिन्छ । साथै स्थानीय प्राकृतिक स्रोतको पनि उचित व्यवस्थापन हुन्छ ।
