लुक्लाका छाडा कुकुरको हेरचाह र आहारका लागि हाईक फर हेल्पले सहयोग गर्ने
लुक्ला, १२ पुस ।
हाईक फर हेल्पले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– २ लुक्लाका छाडा कुकुरको हेरचाह, व्यवस्थापन र दैनिक आहारका लागि सहयोग गर्ने भएको छ ।
छाडा कुकुरका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न थालेपछि हाईक फेर हेल्पले सहयोग गर्ने भएको हो ।
हाईक फर हेल्पका अध्यक्ष लाक्पा शेर्पा र खुम्बु पासाङ ल्हामु गाउँपालिका– २ लुक्लाका वडा अध्यक्ष आङ फुर्वा शेर्पाबीच छाडा कुकुरको व्यवस्थापनका लागि सम्झौता भएको छ ।
सम्झौता अनुसार हाईक फर हेल्पले लुक्लाका ८७ छाडा कुकुरलाई दैनिक रुपमा खाना उपलब्ध गराउने छ ।
छाडा कुकुरका कारण पर्यटकहरुले असुरक्षित महशुस गर्न थालेपछि हाईक फर हेल्पले कुकुरको हेरचाह र दैनिक आहारको जिम्मेवारी लिएको हो ।
लुक्ला क्षेत्रमा विदेशी आरोही लिएर गएका लाक्पा शेर्पाले छाडा कुकुरका कारण पर्यटकहरुले असुरक्षित महशुस गरेको देखेपछि कुकुरको हेरचाह, व्यवस्थापन र दैनिक आहारका लागि सहयोग गर्ने निर्णय गरेका हुन् ।
एकातिर रातभरी कुकुरहरुले भुकेर पर्यटकहरुको निन्द्रा बिथोलेको पाए । अर्कोतिर छाडा कुकुरबाट पर्यटकहरु असुरक्षित पाए, शेर्पाले भने, त्यही कारण हाईक फर हेल्पका तर्फबाट कुकुरहरुको हेरचाह, व्यवस्थापन र आहारका लागि सहयोग गर्ने निर्णय गरे ।
सोलुखुम्बु जन्मिएका शेर्पा अढाई दशकदेखि कोलोराडोमा रेष्टुरेण्ट तथा पर्यटन व्यवसायसंगै शेर्पा समुदायको संस्कृति जगेर्नामा सक्रिय छन् ।

