नेसनल टी च्याम्पियन २०८३ मा सिल्भर निडल विधातर्फ प्रस्तुति टी उत्कृष्ट

द एभरेष्ट पोष्ट
१६ वैशाख २०८३ २:४८
नेसनल टी च्याम्पियन २०८३ मा सिल्भर निडल विधातर्फ प्रस्तुति टी उत्कृष्ट

इलामको सुम्बेकस्थित प्रस्तुति उद्योग प्रालिको उत्पादन ‘प्रस्तुति टी’ ले  नेसनल टी च्याम्पियन २०८३ मा ‘सिल्भर निडल’ विधातर्फ उत्कृष्ट घोषित भएको छ।

३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा आयोजित नेसनल टी च्याम्पियन २०८३ मा ‘सिल्भर निडल’ विधातर्फ ‘प्रस्तुति टी’ उत्कृष्ट घोषित भएको हो ।

प्रस्तुति टीले उच्च गुणस्तर र उत्कृष्ट प्रशोधनका कारण यो उपलब्धि हात पारेको हो । यो उपलब्धिलाई कम्पनीले निरन्तर मेहनत, गुणस्तरप्रतिको अटल प्रतिबद्धता र सम्पूर्ण टिमको समर्पणको परिणामको रूपमा लिएको छ।

उपाधि जितेपछि प्रस्तुति उद्योगका सञ्चालक जीवन नेउपानेले खुसी व्यक्त गर्दै भने, ‘यो सम्मान केवल एउटा पुरस्कार होइन, यो हाम्रो टिमको निरन्तर प्रयास, किसानहरूको मेहनत र गुणस्तरीय चिया उत्पादनप्रतिको प्रतिबद्धताको प्रमाण हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट प्राप्त यो प्रमाणपत्रले हामीलाई थप उच्च लक्ष्य हासिल गर्न प्रेरणा दिएको छ।’

इलाम–२, सिमाना चोक, सुम्बेकमा अवस्थित प्रस्तुति उद्योगले इलामको प्रसिद्ध चिया बगानबाट प्राप्त उच्च गुणस्तरीय पत्तीबाट परम्परागत तरिकाले प्रशोधन गरिएको प्रिमियम अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ। सिल्भर निडलजस्तो प्रतिस्पर्धात्मक विधामा प्राप्त यो सफलताले इलामको चिया क्षेत्रको समग्र गरिमा बढाएको छ।

नेउपानेले यस सफलतामा योगदान दिने सम्पूर्ण टिम सदस्यहरू, चिया किसानहरू, सहयोगी साझेदारहरू तथा चिया प्रेमीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

राष्ट्रिय चिया दिवसको मुख्य नारा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ रहेको यस वर्षको कार्यक्रम इलामको फिक्कलमा भव्य रूपमा मनाइएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस