बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते

बैतडी । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक खण्डमा बुधबार साँझ एउटा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ करिब ५ बजेर ४० मिनेटमा दशरथचन्द नगरपालिका–४, साईलकमा अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको हो ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ ।

दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।

बसमा चालकसहित जम्मा १२ जना सवार थिए । घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहे पनि एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते हुनेहरूको विवरण

  • लक्ष्मी ऐरी २७ वर्ष – सामान्य चोट
  • हेम विक्रम जोशी ९८ वर्ष – सामान्य चोट
  • पूर्ण देवी जोशी ६० वर्ष– सामान्य चोट
  • पुजा कार्की २१ वर्ष– हातमा चोट (सामान्य)
  • ललिता लावड २० वर्ष– सामान्य चोट
  • विजय सिंह थापा वर्ष नखुलेको
  • जानकी लावड ३२ वर्ष – टाउकोमा चोट सामान्य
  • लक्ष्मी साउद ३० वर्ष– टाउकोमा चोट सामान्य
  • कर्ण देव भट्ट ५२ वर्ष० – सामान्य चोट
  • कविराज भट्ट ३५ वर्ष – शरीरमा चोट मध्यम

बस चालक बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३७ वर्षीय केशव सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

डोटी। डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले शुक्रबार उक्त वेश उद्घाटन गरेका हुन् ।

डोटीको सदरमुकाम सिलगढीबाट करिब १३५ किलोमिटर पश्चिम दक्षिणी भेकमा स्थापना गरिएको सो व्यासमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

ससँगै सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन बेसको सङ्ख्या १६ पुगेको छ । जसमध्ये बागमतीमा चार, सुदूरपश्चिममा तीन, कोशी, मधेस, गण्डकी र कर्णालीमा दुई–दुई र लुम्बिनी प्रदेशमा एक वटा बेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले गत वैशाख महिनामा चतरा (सुनसरी), भारदह (सप्तरी), भकुण्डेवेशी (काभ्रेपलाञ्चोक), आरुघाट (गोरखा), बालडाँडा (जुम्ला) र डुडेझरी (कैलाली) मा विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो ।

धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा सशस्त्रको विपद् व्यवस्थापन बेस सञ्चालनमा छ ।

सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङ व्यासमा सशस्त्रका गोताखोर तैनाथ छन् भने अन्यमा तालिम प्राप्त टोली रहेको उनले जानकारी दिए । -रासस

पाराग्वे १-० ले विजयी, टर्की विश्वकपको समूह चरणबाटै बाहिरियो

काठ्माण्डौ- फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबार टर्की र पाराग्वेबीचको खेल सम्पन्न भएको छ।

सान फ्रान्सिस्कोमा सम्पन्न उक्त खेलमा पाराग्वेले टर्कीलाई हराएको छ। टर्कीविरद्ध पाराग्वेले १-० को गोलले हराएको हो। लगातार दोस्रो हारपछि टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

खेलको २ मिनेटमै माटियाज गालाजाराले एक गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। टर्कीले प्रयास गर्दा पनि कुनै पनि गोल फर्काउन सकेन।

पाराग्वे खेलाडी मिगेल अल्मिरोनलाई खेलको ४ प्लस ३ मिनेटमा रेड कार्ड दिइएको थियो।

रेड कार्ड पाएपछि अल्मिरोन खेलबाट बाहिरिएका थिए। अर्को टोलीसँग कुरा गर्दा हातले मुख छोपेका कारण उनलाई रेड कार्ड दिइएको हो। यसरी रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन्।

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए ।

प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो ।

बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए । अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए ।

टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

विश्वकपको दोस्रो खेलमा ब्राजिल हाइटीसँग भोलि बिहान भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत आफ्नो अभियानलाई गति दिने लक्ष्यसहित पाँच पटकको विश्व विजेता ब्राजिल भोली बिहान समूह चरणको दोस्रो खेलमा हाइटीसँग भिड्दैछ। अमेरिकाको फिलाडेफियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदैछ ।

पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो । सो खेलमा उनीहरू २१ औँ मिनेटमा इसमाइल साबिरीको गोलबाट पछि परे पनि भिनिसियस जुनियरले उत्कृष्ट बराबरी गोल फर्काएका थिए । त्यस खेलमा ब्राजिलले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । ब्राजिलले विश्वकप इतिहासमा लगातार पहिलो दुई खेल जित्न नसकेको पछिल्लो घटना सन् १९७८ मा देखिएको थियो । त्यतिबेला समूह चरणमै कमजोर प्रदर्शनका कारण टोली अगाडि बढ्न सकेको थिएन । यद्यपि अहिले नयाँ ढाँचामा ४८ टोली सहभागी भएकाले ब्राजिल अझै बलियो स्थितिमा रहेको मानिन्छ ।

अघिल्लो खेलमा ब्राजिलले मोरक्कोभन्दा कम प्रभाव देखाएको तथ्य पनि चिन्ताको विषय बनेको छ । सो खेलमा उनीहरूले विपक्षीभन्दा कम प्रहार गरेका थिए, जुन अवस्था लामो समयपछि पहिलो पटक देखिएको हो । ब्राजिलका लागि भिनिसियस जुनियर मुख्य खेलाडीका रूपमा हेरिएका छन् । पछिल्ला विश्वकप खेलहरूमा उनले राम्रो प्रभाव छाड्दै आएका छन्, गोल र असिस्ट दुवैमा महत्वपूर्ण योगदान दिएका छन् । ब्राजिलले आफ्ना प्रमुख मानिएका खेलाडी नेइमारलाई यस खेलमा पनि गुमाउने छ । इन्जुरिका कारण खेल्न नसकेका नेइमार अबको केहि दिनमा खेल्न सक्ने बताइएको छ ।

उता, हाइटीले ५४ वर्षपछि विश्वकपमा पुनः स्थान बनाएको हो । अन्तिम पटक उनीहरू सन् १९७४ मा विश्वकपमा पुगेका थिए । पहिलो खेलमा स्कटल्यान्डसँग १–० ले पराजित भएपछि उनीहरूको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ । हाइटीको विश्वकप इतिहास पनि कमजोर छ । अहिलेसम्म खेलेका सबै खेलमा उनीहरू पराजित भएका छन् र गोल संख्या पनि निकै कम छ । पहिलो खेलमा पराजय भए पनि हाइटीले प्रहार र आक्रामक खेलमा केही सुधार देखाएको थियो । तर बलियो ब्राजिलविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन उनीहरूलाई कठिन देखिन्छ । यी दुई टोली विश्वकपमा पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि भएका तीन भेटमा भने ब्राजिलले सबै खेल जितेको छ। ती खेलमा ब्राजिलले ठूलो अन्तरले जित हासिल गरेको इतिहास पनि छ ।

सुदूरपश्चिम प्रदेशमा दैनिक औसत सय सवारी साधन कारबाहीमा

धनगढी :  सुदूरपश्चिम प्रदेशमा दैनिक औसतमा एक सय सवारी साधन माथि कारबाही गर्ने गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले जेठ महिनाको सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा ३ हजार १९५ सवारी साधनमाथि कारबाही भएको छ । जुन औसतमा दैनिक एक सय भन्दा बढी हो ।

सो सङ्ख्यामा गरिएको सवारी साधन कारबाहीबाट २७ लाख ७९ हजार राजश्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदम बहादुर विष्टले बताए । उक्त तथ्याङ्क अनुसार प्रदेशमा एक महिनाको अवधिमा १६१ सवारी साधन दुर्घटना भएका छन् । जसमा २३३ सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २७९ जना घाइते भएका छन् ।

१६१ दुर्घटनामा चालकका कारण १५८, मापसे गरेका कारण १ सवारी साधनको कारण १ र चौपायाका कारण १ सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि देखिएको छ । नेकपा एमालेले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा रहेको एमालेको संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले बजेटका विभिन्न पक्षमा छलफल गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ। सरकारद्वारा बजेट प्रस्तुत भएलगत्तै संशोधन दर्ता गर्ने निर्णय गरिएको स्रोतको भनाइ छ ।

संशोधन प्रस्तावलाई अन्तिम रूप दिन एमालेले प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । कार्यदलले बजेटका विवादित तथा संशोधन आवश्यक ठानिएका विषयहरूको अध्ययन गरी प्रस्ताव तयार पार्ने बताइएको छ।

बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट निर्माण प्रक्रियामा पर्याप्त समन्वय नभएको, केही जिल्लालाई प्राथमिकता दिइएको तथा एमालेका प्रदेशसभा सदस्य र मन्त्रीहरूले अघि सारेका कतिपय योजनाहरू समेटिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । बजेटका कार्यक्रम, योजना छनोट तथा स्रोत विनियोजनका विषयमा समेत समीक्षा गरिएको बताइएको छ।

सत्ता साझेदार दलभित्र नै बजेटलाई लिएर मतभेद देखिएको अवस्थामा एमालेको संशोधन प्रस्तावलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। सरकारको नेतृत्व गरिरहेको गठबन्धनभित्र बजेटप्रति असन्तुष्टि सार्वजनिक हुनु अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले मध्यरातमा ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। बजेट सार्वजनिक भएलगत्तै सत्ता पक्षभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो ।

तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद् खड्कबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस् भनेर प्रस्ताव समेत राखेका थिए । यस्तो प्रस्तावलाई सभामुखले सभामा निर्णयार्थ प्रस्तुत गरे । तर स्वीकृत हुन सकेन ।

त्यसपछि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखिन् ।

यसलाई भने सभाले स्वीकृत गरेको छ ।

यो सँगै अब सरकारलाई सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।

सुदूरपश्चिम सरकारको पुँजीगत खर्च गर्ने क्षमता निकै कमजोर, जम्मा २९ प्रतिशत मात्रै

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत अर्थात् विकास बजेट खर्च गर्ने क्षमता यो वर्ष पनि निकै कमजोर देखिएको छ । चालु आर्थिक वर्ष ९२०८२/०८३० को ११ महिनासम्म प्रदेश सरकारले विकास निर्माणका लागि छुट्ट्याइएको कुल बजेटको एक तिहाइ हिस्सा पनि खर्च गर्न सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी लेखा अधिकृत बलदेव कपाडीले दिएको जानकारी अनुसार सुदूरपश्चिम सरकारको विकास खर्चको अवस्था निराशाजनक देखिएको छ ।

तथ्याङ्क अनुसार, प्रदेश सरकारले विकास निर्माण, भौतिक पूर्वाधार र दीर्घकालीन योजनाका लागि विनियोजन गरेको पुँजीगत बजेटतर्फ जेठ मसान्तसम्म जम्मा ५ अर्ब ४३ करोड ६२ लाख २६ हजार ५६२ रुपैयाँ २५ पैसामात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको जम्मा २८

.९७ प्रतिशतमात्रै हो ।

आर्थिक वर्ष सकिन अब एक महिना बाँकी रहँदा ७१ प्रतिशतभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । सरकारको प्रशासनिक र साधारण खर्चको तुलनामा विकास खर्च निकै सुस्त देखिएको छ । जेठ मसान्त सम्ममा चालुतर्फ ६ अर्ब ३३ करोड ९९ लाख ६२ हजार ३९२ रुपैयाँ ३६ पैसा अर्थात् ४५.७५ प्रतिशत खर्च भएको छ । विकासका लागि विनियोजित रकम थन्किएर बस्ने तर प्रशासनिक काम, तलब-भत्ता र कार्यालय सञ्चालनमा भने खर्चको रफ्तार बढी हुनुले सरकारको कार्यशैली र बजेट कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

चालु र पुँजीगत दुवै गरेर सुदूरपश्चिम प्रदेश सरकारले जेठ मसान्तसम्म कुल ११ अर्ब ७७ करोड ६१ लाख ८८ हजार ९५४ रुपैयाँ ६१ पैसा खर्च गरेको छ । यो कुल विनियोजित बजेटको जम्मा ३५.२० प्रतिशत प्रगति हो । ११ महिनामा जम्मा ३५ प्रतिशत बजेट खर्च हुनुले प्रदेश सरकारको कार्यशैली, प्राथमिकता र प्रशासनिक क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ । आर्थिक वर्ष सकिन एक महिनाभन्दा कम समय रहँदा प्रदेश सरकारसँग ६५ प्रतिशत बजेट मौज्दात हुनु गम्भीर विषय भएको सरोकारवाला बताउँछन् ।

सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्चको प्रगति करिब १८.३२ प्रतिशतको हाराहारीमा छ । यस्तै सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च पनि करिब २८।७४ प्रतिशतमात्रै पुगेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खर्च प्रगति २० प्रतिशतकै आसपासमा देखिन्छ ।

‘यो बजेट केही थान नेतालाई मोटाउने दस्तावेज हो, पास हुन दिँदैनौँ’ : खगराज भट्ट

धनगढी :  सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले पत्रकार सम्मेलन गरेको छ। दलका नेता खगराज भट्टले बजेटलाई यथास्थितिमा कुनै पनि हालतमा पारित हुन नदिने अडान दोहोर्याएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले, बजेटले वास्तविक नागरिकका आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए। उनका अनुसार बजेट केही सीमित नेता तथा सरकारका आसेपासेलाई लाभ पुग्ने गरी तयार गरिएको छ।

“यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ,” उनले भने, “जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन।”

भट्टले बजेट निर्माण प्रक्रिया नै पारदर्शी नभएको आरोप लगाउँदै नीतिगत आधारभन्दा पनि ‘सुटकेस बुझेर’ र ‘होटेलका कोठामा योजना हालेर’ बजेट बनाइएको दाबी गरे।

बजेटमा सामान्य कमजोरी मात्र नभई संरचनागत समस्या रहेको उनको भनाइ थियो। “केही सानो छेद भए टालटुल गर्न सकिन्थ्यो। यो त टाल्न नसकिने गरी परेको ठूलो भ्वाङ हो। त्यसैले यो बजेटलाई पुनर्लेखन गर्नुपर्छ,” उनले भने।

उनले बजेटप्रति सत्तापक्षभित्रकै धेरै सांसद असन्तुष्ट रहेको समेत उल्लेख गरे। यद्यपि बजेट विवादकै कारण सरकार परिवर्तन हुन सक्ने विषयमा भने उनले स्पष्ट धारणा राखेनन्। कांग्रेस र एमालेका शीर्ष नेताबीच केन्द्रमा विभिन्न विषयमा छलफल भइरहे पनि सरकार परिवर्तन गर्ने विषयमा कुनै औपचारिक छलफल नभएको उनको भनाइ थियो।

भट्टले आफूहरू सरकारमा जाने अवस्था आए पनि अहिले देखिएको जस्तो असन्तुष्टि दोहोरिन नदिने दाबी गरे। साथै, कुर्सीमा टाँसिएर नबस्ने भन्दै उनले मुख्यमन्त्रीतर्फ व्यङ्ग्यसमेत गरे।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते राति आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो।

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ। समग्रमा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएकामा बोर्डले ४० दिनभित्रै प्रकाशन गरेको हो ।

बोर्डको शुक्रबार बसेको बैठकले परीक्षामा अनियमितता गरेको ठहर भएका ४० परीक्षार्थीमाथि कारबाही गरेको जनाएको छ। तीमध्ये ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ।

परीक्षाफल बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np, नेपाल टेलिकमको वेबसाइट , एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइन आवेदन दिन सक्नेछन्।

राप्रपाको महाधिवेशन मंसिर २६–२८ लाई तय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ। बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णयसहित कार्यतालिका पारित गरेको हो।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन समितिले तयार पारेको नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित स्वीकृत गरिएको जानकारी दिए।

उनका अनुसार कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गरिनेछ। केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको अध्यक्ष लिङ्देनले बताए।

 

सरकारको मुख्य दायित्व भ्रष्टाचार नियन्त्रण र सुशासन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकाले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताएका छन् ।

आफ्ना मन्त्रालयका विनियोजित शिर्षकमाथिका प्रश्नको जवाफ दिने क्रममा उनले अहिलेको सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने रहेको जिकिर गरे ।

‘सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकाले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाइका साथ निर्देशन दिएको छु,’ गृहमन्त्री गुरुङले भने ।

साथै, उनले इन्टिमेन्टेशन एन्ड फलोअप आफ्नो पहिलो प्राथमिकता रहेको जिकिर गरे ।

‘अर्को वर्षमा दुवै प्रहरीतर्फ ७९ वटा भवन निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउँछु । इन्टिमेन्टेशन एन्ड फलोअप मेरो पहिलो प्राथमिकता हो । कुनै सम्झौता नहुने व्यहोरा सदनलाई निवेदन गर्न चाहन्छु,’ गुरुङले भने ।

कानुन निर्माणमा प्राथमिकता खोज्दै मन्त्री गौतम: मन्त्रालयगत छलफल गर्दै

काठ्माण्डौ- कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणमा प्राथमिकता खोज्न थालेकी छन् । उनले मन्त्रालयगत छलफल गर्दै सबै मन्त्रालयका आवश्यकता खोज्दै छलफल गरिरहेकी छन् ।

मन्त्री गौतमले आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग कानुन निर्माणका विषयबारे छलफल गरेकी छन् । मन्त्री यादवसँग कानुन निर्माणका प्राथमिकता र लक्ष्य निर्धारण पूरा हुनेगरी काम गर्नका लागि छलफल गरेकी हुन् ।

यसअघि उनले बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गरेकी थिइन् ।

आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरू तयार गर्न आग्रह गरेकी हुन् ।

बिहीबारको छलफलका क्रममा मन्त्री गौतमले कानून निर्माणको प्राथमिकता र लक्ष्य निर्धारण गर्दा सबै मन्त्रालयबीच समान बुझाइ हुनुपर्ने, लक्ष्य निर्धारण महत्वाकांक्षी मात्र नभई प्राप्त गर्न सकिने र व्यावहारिक हुनुपर्ने लगायतका विषय राखेकी छिन् ।

साथै, कानुन निर्माणको सूची तयार गर्दा समयसीमा यथार्थपरक र कार्यान्वयन योग्य हुनुपर्ने लगायतका विषयबारे जानकारी गराइन् ।

कानून निर्माणसम्बन्धी योजना समयमै सम्पन्न हुनेगरी स्पष्ट र व्यवहारिक हुनुपर्ने मन्त्री गौतमको भनाइ छ ।

शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइने

ललितपुर-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसानमैत्री नीति तथा कार्यक्रम ल्याइने बताएकी छन्।

आज ललितपुरस्थित राष्ट्रिय दुग्ध विकास बोर्डमा दुग्ध व्यवसायीहरुसँग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समयसमयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारबाही गर्ने पक्षमा सरकार रहेको बताएकी हुन् ।

दुग्ध विकास बोर्ड तथा संस्थानमा राजनीति हाबी भएको, विचौलियाको चलखेल हुने गरेको तथा व्यवस्थापनपक्ष कमजोर देखिएको उल्लेख गर्दै उनले विद्युत्लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसानसहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट गरिन् ।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा बालक चौधरीले बोर्डलाई नियमन, प्रवद्र्धन र अनुगमनसहितको अधिकार दिनुपर्नेमा जोड दिँदै खाद्य ऐनले व्यवस्था गरेकोभन्दा कम गुणस्तरको दूध बिक्री वितरण भइरहेको भन्ने सन्दर्भमा यथासक्य चाँडो अनुगमन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले दुग्ध किसान र उद्योगी प्रोत्साहित हुनेगरी किसानमुखी कार्यक्रम ल्याइएको उल्लेख गर्दै गैरव्यावसायिक र असन्तुलित तरिकाबाट उद्योग व्यवसाय सञ्चालन हुँदा किसान मारमा परेको यथार्थलाई सम्बोधन गर्नेगरी संस्थानमा काम भइरहेको जानकारी दिए । -रासस 

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

काठमाण्डाै– यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन भएको छ । प्रि–मनसुन सिजनमा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सन् १९८१ देखि १२६ वटा वर्षामापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ । यसअघि प्रि–मनसुनको समयमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् १९९० मा परेको रेकर्ड गरिएको थियो ।

अहिलेको वर्षाले सन् १९९० को रेकर्डलाई पनि तोडेको छ । यसरी हेर्दा नेपालमा प्रि–मनसुनको विश्लेषण शुरू भएयताकै सबैभन्दा धेरै पानी परेको हो ।

यसअघि सन् २०२१, २०२०, २००० र १९९० मा पनि प्रि–मनसुनमा ३१५ मिलिमिटरभन्दा धेरै पानी परेको थियो ।

 

अख्तियारलाई आरजुको जवाफ: तत्काल उपस्थित हुन सक्दिन

काठ्माण्डौ- ई-पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा अनुसन्धान अघि बढाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आफू विदेशमा उपचाररत रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्।

अख्तियार स्रोतका अनुसार बुधबार आरजु राणाको नामबाट आयोगको आधिकारिक इमेलमा पठाउँदै अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर हाल उपचारका कारण विदेशमा रहेको भन्दै उपस्थितिका लागि समय लाग्ने उल्लेख गरिएको छ।

यसअघि अख्तियारले पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानको दायरा विस्तार गर्दै बूढानीलकण्ठस्थित आरजुको निवासमा म्याद तामेल गराएको थियो। उक्त म्यादमार्फत बाटोको समय बाहेक तीन दिनभित्र उपस्थित भएर बयान दिन भनिएको थियो।

आरजु राणा र उनका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि विदेशमा रहेका बेला अख्तियारले अनुसन्धान प्रक्रिया तीव्र बनाएको हो।

अख्तियारले संकलन गरेका कागजातमा गत वर्षको ई-पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको प्रत्यक्ष लिखित निर्णय वा औपचारिक निर्देशन नदेखिएको बताइएको छ। तर आयोगले प्राप्त उजुरी र प्रारम्भिक अनुसन्धानका आधारमा उनी अनुसन्धानको घेरामा परेकी हुन्।

स्रोतका अनुसार पासपोर्ट खरिद प्रक्रियाको प्रारम्भिक डिजाइन, ठेक्का प्याकेज निर्माण तथा ठेकेदार छनोट मिलाउने क्रममा आरजु राणा मात्रै होइन, उनका छोरा जयवीर देउवाको समेत संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको छ।

अनुसन्धानका क्रममा राहदानी विभागबाट ई-पासपोर्टको ठेक्का अघि जयवीर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका तत्कालीन राजनीतिक सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापा तथा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालबीच पटक-पटक भेटवार्ता भएको सूचना पनि अख्तियार टोलीले संकलन गरेको बताइएको छ।

संसदका विभिन्न समिति र अख्तियारमा दर्ता भएका उजुरीअनुसार टेन्डर प्रक्रियाको प्राविधिक मूल्यांकनमै मापदण्ड मिचिएको आशंका गरिएको छ।

टेन्डर कागजातमा ब्लेड सर्भर अनिवार्य भनिए पनि छनोटमा परेका कम्पनीले र्‍याक सर्भर प्रस्ताव गर्दा समेत त्यसलाई स्वीकृति दिइएको विषयलाई अनुसन्धानको मुख्य आधार बनाइएको स्रोतले जनाएको छ।

प्रभावकारी र परिणाममुखी आर्थिक कूटनीति सञ्चालन गर्नेछौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रभावकारी र परिणाममुखी आर्थिक कूटनीति सञ्चालन गर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“मुलुकको समृद्धि र विकासका लागि संविधानद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्बन्धको ढाँचाभित्र रही दिगो विकासमा योगदान, अति कम विकसित मुलुकबाट स्तरोन्नति, जलवायु परिवर्तन अनुकूलन कार्यमा सहयोग जुटाउने, निर्यात प्रवर्धन, वैदेशिक लगानी, रोजगारी र पर्यटन प्रवर्धनका लागि प्रभावकारी र परिणाममुखी आर्थिक कूटनीति सञ्चालन गर्ने,” परराष्ट्रमन्त्री खनालले बताए ।

विदेशमा बस्ने नेपाली डायस्पोराको हक हितको संरक्षण गर्ने, विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा आबद्ध गर्न समन्वय गर्ने तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रित गर्ने उनले जनाए ।

“नेपालको संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यता प्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाल सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ,” परराष्ट्रमन्त्री खनालले भने ।

संविधानले संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यतालाई नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तको रूपमा स्थापित गरेको उनले स्पष्ट पारे ।

यी सिद्धान्तहरूको आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिँदै आएको उनले जनाए ।

“नेपालको संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई राष्ट्रिय हितको रूपमा परिभाषित गरेको छ,” परराष्ट्रमन्त्री खनालले भने ।

संविधानले राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुने मार्गदर्शन गरेको उनले बताए ।

विगतमा भएका सन्धिहरूको पुनरवलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्न संविधानले नीतिगत मार्गदर्शन गरेको पनि उनले बताए ।

विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले

कञ्चनपुर- वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने, हुरी र विषालु किराको डरैडरमा जीर्ण कच्ची झुपडीमा बस्नुपर्ने जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्ति टोलका मुक्तकमैया परिवारको कष्टकर अवस्था अब फेरिने भएको छ ।

वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कनेक्ट परियोजनाको संयुक्त लगानीमा यस विपन्न बस्तीमा तीव्र रूपमा सुरक्षित पक्की आवास निर्माण सुरु भएसँगै वर्षौंदेखि असुरक्षित बसोबासको सास्ती खेप्दै आएका परिवारहरूको सुरक्षित घरमा बस्ने सपना साकार हुन थालेको हो ।

“वर्षौंदेखि कच्ची घरमा दुःख गरेर बस्यौँ, बर्सातका बेला छाना चुहिन्थ्यो, रातभर पानी थाप्दै अनिदै बस्नुपथ्र्यो”, मुक्ति टोलकी गुजेश्वरी वडायकले विगतको पीडा सम्झँदै भनिन्, “सर्प, बिच्छी र अन्य विषालु किराको डर सधैँ हुन्थ्यो ।आगलागीको त्रास उत्तिकै थियो, गाउँका धेरैजसोका पक्की घर बने, तर गरिबीका कारण हामीले घर बनाउन सकेनौँ, मजदुरी गरेर परिवार पाल्दै आएका हामीलाई सुरक्षित आवासको कुरा सपनाजस्तै लाग्थ्यो, अहिले त्यो सपना विस्तारै पूरा हुँदै गएको छ ।”

स्थानीय कल्पना चौधरीले पनि कच्ची घरमा बस्दाको सकस सुनाइन्। “सानो र जीर्ण घरमा परिवारसँग बस्न निकै कठिन थियो, पानी पर्दा घरभित्रै पानी पस्ने, हावाहुरी चल्दा रातभर डराएर बस्नुपर्ने अवस्था थियो, अहिले सुरक्षित पक्की घर बन्न थालेपछि अब ढुक्क भएर बस्न पाइने आशा जागेको छ”, उनले भनिन् ।

मुक्तकमैया समुदायको बाहुल्यता रहेको मुक्ति टोलमा करिब तीन सय परिवारको बसोबास छ । वर्षौंदेखि विपन्नता र असुरक्षित बसोबासको समस्या झेल्दै आएका ती परिवारका लागि १५ वटा पक्की सुरक्षित आवास निर्माण भइरहेका छन् । एउटै डिजाइनमा बनिरहेका यी प्रत्येक घरमा दुई कोठा, भान्सा तथा शौचालयको व्यवस्था गरिएको छ । भवन निर्माणको कार्य ८० प्रतिशत पूरा भएको छ ।

वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कनेक्ट परियोजना तथा उपभोक्ताको संयुक्त लगानीमा घर निर्माण भइरहेको शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार वित्तीय साझेदारीअन्तर्गत वडा कार्यालयको रु एक लाख ४५ हजार, प्रदेश सरकारको रु तीन लाख पाँच हजार, कनेक्ट परियोजनाको रु एक लाख २० हजार तथा उपभोक्ताको रु एक लाख ६२ हजार गरी एक घर रु सात लाख ३२ हजारको लागतमा निर्माण भइरहेको छ । हालसम्म आवास निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर भट्टले बताए ।

मुक्ति टोललाई व्यवस्थित र नमूना गाउँका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको वडा अध्यक्ष लालबहादुर ऐरले बताए । “वर्षौंदेखि जोखिमपूर्ण कच्ची घरमा बस्दै आएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, वडाध्यक्ष ऐरले भने, “हरेक वर्ष बजेट व्यवस्थापन गर्दै क्रमशः बाँकी रहेका सबै परिवारका लागि पक्की घर निर्माण गर्दै जाने नीति लिएका छौँ ।” -रासस

सेयर बजार २७ सय विन्दुमा झर्‍यो

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक २७०० विन्दुमा झरेको छ । बजार बिहीबार ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको हो ।

बजार घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यसदिन तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । ७७ लाख ४३ हजार ३० कित्ता सेयर ४१ हजार १०४ पटकमा किनबेच भएको छ ।

एपोलो हाइड्रो, सोपान फर्माटिकल्स, आत्मनिर्भर लघुवित्त, बुंगल हाइड्रो, भुजुङ हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, म्युअचल फन्ड र व्यापार समूह बढेका छन् । अन्य समूह घटेका छन् ।

अख्तियारले आरजुलाई भन्यो- ३ दिन भित्र आएर बयान दिनू

काठमाडौं- राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।

आयोगको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ स्थित राणाको निवासमा पुगेर बयानका लागि उपस्थित हुने म्याद (सूचना) तामेल गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १४ सँग सम्बन्धित रहेर जारी गरिएको उक्त सूचनामा डा. राणालाई सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र टंगालस्थित आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

राणा हाल उपचारका सिलसिलामा विदेशमा रहेकाले आयोगले स्थानीय जनप्रतिनिधिको रोहबरमा उनको घरमा म्याद टाँसेको हो।

अख्तियारका अनुसार राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता भएको दाबीसहित परेको उजुरीका आधारमा तत्कालीन परराष्ट्रमन्त्री राणासँग बयान लिन लागिएको हो।

उक्त प्रकरणमा आयोगले यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिइसकेको छ।

उनीहरूविरुद्ध विशेष अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिई विस्तृत छानबिन भइरहेको छ। सोही अनुसन्धानको क्रममा तत्कालीन मन्त्री राणाको समेत संलग्नता हुनसक्ने देखिएपछि आयोगले उनलाई बयानका लागि बोलाएको हो।

आयोगले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईँसँग बयान लिनुपर्ने भएकोले… आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगालमा उपस्थित हुन आउनुहोला। नआए कानुन बमोजिम हुनेछ।’

डा. राणा र उनका पति एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। हाल उनी हङकङमा रहेको बताइएको छ।

आयोगले म्याद तामेल गर्दा देउवा परिवारका कुनै सदस्य उपस्थित नभए पनि वडाका प्रतिनिधिहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरिएको जनाएको छ।

१० खर्ब रुपैयाँ बराबरको ठेक्का खुलाइँदै, सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न ९ वर्ष लाग्ने

काठ्माण्डौ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको ठेक्का (टेन्डर) आह्वान गर्ने बताएका छन्।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहे पनि तीन वर्षको योजनालाई एकैपटक कार्यान्वयन गर्न ठेक्का प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनका अनुसार ठेक्का आह्वान गर्दा चालु आर्थिक वर्षकै दररेटलाई आधार बनाइनेछ भने मूल्यवृद्धिको अवस्थालाई ध्यानमा राख्दै स्वतः मूल्य समायोजनको व्यवस्था गरिनेछ।

मन्त्री लम्सालले चालु वर्षको बजेट अपेक्षाकृत कम देखिनुको मुख्य कारण पहिलो ६ महिना ठेक्का प्रक्रियामै खर्चिनु रहेको बताए। उनका अनुसार सामान्यतया तीन वर्षसम्म लाग्ने ठेक्का प्रक्रिया एकैपटक गर्दा २० देखि २२ महिना लाग्ने काम ६ देखि ७ महिनामै सम्पन्न हुने र यसले कार्यान्वयनको बाँकी समय बचत गर्नेछ।

यस्तै, उनले देशभरका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउन अझै ९ वर्ष लाग्ने बताएका छन्। यसका लागि मन्त्रालयले ‘३–३–३ योजना’ लागू गरेको जानकारी दिँदै उनले सडक पूर्वाधार विस्तारलाई चरणबद्ध रूपमा अघि बढाइने बताए।

उनका अनुसार हालसम्म सडक ट्र्याक नै नखुलेका क्षेत्रमा पहिलो ३ वर्षभित्र ट्र्याक खोलिनेछ। त्यसपछि ट्र्याक खुलेका स्थानमा अर्को ३ वर्षभित्र ग्राभेल सडक निर्माण गरिनेछ भने हाल ग्राभेल भएका सडकलाई थप ३ वर्षभित्र कालोपत्रे गरिनेछ।

यस आधारमा अहिले सडक ट्र्याकसमेत नपुगेका स्थानमा आगामी ९ वर्षभित्र मात्रै कालोपत्रे सडक निर्माण सम्पन्न हुने मन्त्री लम्सालले स्पष्ट पारे।

उनले मन्त्रालयले धेरै जनसंख्याले प्रयोग गर्ने सडक तथा बाटोलाई पहिलो प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेको समेत जानकारी दिए।

पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार बजेट यस वर्ष नबुझ्ने गरी बनाइएको बताएका छन् ।

एकै प्रकृतिको आयोजनाको टेन्डर एकै पटक खोल्दा काम गर्ने समय फरक पर्ने भएकाले त्यस्तो समस्या सल्टाउन खोज्दा थोरैथोरै बजेट, धेरै कार्यक्रममा परेजस्तो देखिएको उनले बताए ।

संसद्मा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले यस वर्ष १० खर्ब बराबरको टेन्डर लाग्ने जानकारी दिए । जसलाई आगामी तीन वर्षसम्म सक्ने गरी यस वर्ष बजेट विनियोजन गरिएको दाबी उनको छ ।

सडक सुरक्षामा यसअघिका सरकारहरूले गर्न नसकेको विनियोजन वर्तमान सरकारले गरेको उनले बताए । अहिलेसम्म पहिचान भएका सबै पहिरोमा बजेट राखिएको समेत उनले जानकारी दिए ।

यस वर्ष बजेट किताबमा कम बजेट देखिए पनि अर्को वर्ष थप हुँदै जाने उनको भनाइ छ । अब बन्ने सडकमा ओभरपास, अन्डरपास र फ्लाइओभर बन्ने उनको भनाइ छ ।

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा हेलिकप्टरको दुरुपयोग नगर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक बस्दै विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा कडा निर्देशन दिएका छन्।

बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ।’

अघिल्ला सरकारहरूका पालामा बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए। गृहमन्त्री गुरुङ आफू नै हेलिकप्टर नचढ्ने घोषणा गरे। उनी भन्छन्, ‘म आफैँ पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन।’

उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले जानकारी दिए।

देशका उच्च बाढी-पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देश गर्दै उनले भने, ‘सबै निकाय एकीकृत टोली (टिम) बनेर काम गर्ने हो भने विपद्मा कसैले पनि ज्यान गुमाउनु पर्दैन। विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्।’

उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।

राज्यलाई कमजोर बनाउने खेल खेलियो : भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल खेलिएको आरोप लगाएका छन् । लोकसेवा आयोगको परीक्षा र प्रशासनिक प्रक्रियाबाट छानिएका कर्मचारीलाई निष्कासन गर्नु आर्थिक कठिनाइ र देशका निम्ति अत्यन्त घातक हुने उनले टिप्पणी गरेका हुन् ।

“यस्तो संवेदनशील विषयमा राजनीतिक दलका नेताहरू, सांसद, स्वयं कर्मचारीहरू र नागरिकहरूको गम्भीर रूपमा ध्यान जानुपर्छ । नेपाल २००७ सालपछिको परिवर्तनका अनेक चरणहरूमा यस्ता प्रकारका षड्यन्त्रहरू र प्रयोगबाट आक्रान्त हुँदै आएको छ । यस्तो स्थितिबाट देशलाई जोगाउनुपर्छ,” रावलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झन्डै दुईतिहाइ बहुमतको सरकारले सहसचिवभन्दा माथिका एवं लामो समय प्रशासनिक सेवा गरेका १० हजार बढी कर्मचारीलाई अवकाश दिने चर्चा रहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

यसबारेमा उनले इतिहास पनि स्मरण गरेका छन् । उनले भनेका छन्, “२०४६/४७ सालको आन्दोलनपछि बहुमत प्राप्त नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकातिर प्रतिजासुसी संगठन खारेज गरी राष्ट्रको सुरक्षा प्रणाली कमजोर तुल्याए भने अर्कोतिर राज्यले धेरै ठूलो लगानी गरेर उत्पादन गरेको जनशक्तिलाई ठूलो संख्यामा हटाई प्रशासनयन्त्रलाई कमजोर बनाए ।”

मन्त्री पुनले ‘लिस्ट’ नै पढेर मागे कानुन बनाउन सहयोग

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन बनाउन सांसदहरूसँग सहयोग मागेका छन् । बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा उनले बजेट खर्चका निम्ति पहिले काुनन चाहिने बताएका हुन् ।

“माननीयज्यूहरू सबैको सहयोग चाहियो, अब कानुन बनाउनुपर्‍यो । जिरोबाट सुरु गर्नुपर्‍यो, एउटा पनि कानुन छैन,” उनले भने ।

आउँदो आर्थिक वर्षलाई आफ्नो मन्त्रालयका निम्ति छुट्ट्याइएको बजेट बढी भएको भन्ने लागेको उनले उल्लेख गरे । “यो वर्षलाई अलिक बढी भयो कि भनेको छु । चार अर्ब पैसा छुट्ट्यायो, साढे तीन अर्ब अबन्डामा छ । त्यो पैसालाई खर्च गर्न ऐन, कानुन, नियमावली केके बन्नुपर्छ,” उनले भने, “त्यो संयन्त्र बनेकै छैन, जिरोबाट । भोलि त्यतिकै खर्च गर्‍यो भने हामीलाई अख्तियारले पक्रिहाल्छ, फलानो मन्त्रीले हिनामिना गर्‍यो भनेर ।”

बैठकमा उनले आफ्नो मन्त्रालयका निम्ति चाहिने ऐनको लिस्ट पढे । सबैभन्दा सुरुमा विज्ञान, प्रविधि तथा नवप्रर्वतन ऐन चाहिने उनले सुनाए ।

यस्ता छन् उनले माग गरेका ऐन
– विज्ञान, प्रविधि तथा नवप्रर्वतन ऐन
– राष्ट्रिय अनुुसन्धान तथा विकास ऐन
– आणविक ऊ र्जा ऐन
– जैविक सुरक्षा तथा प्रविधि नियमन ऐन
– रासायनिक पदार्थ व्यवस्थापन ऐन
– वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन
– विज्ञान तथा प्रविधि तथ्यांक ऐन
– ओजन संरक्षण तथा सौर्य बिकिरण मापन ऐन
– नवप्रवर्तन तथा स्टार्टअप प्रवद्र्धन ऐन
– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन
– अन्तरराष्ट्रिय सहकार्यसम्बन्धी ऐन
– राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान ऐन (राष्ट्रियसभामा छ ।)

प्रधानमन्त्रीको तर्फबाट संसद्‍मा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं। प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेकाछन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो ।

तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।

यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो ।

यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् । यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।

अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ पनि आजै दिने कार्यसूची छ ।

यसअघि प्रधानमन्त्रीको तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अर्थमन्त्री वाग्लेले नै सुनेका थिए । वाग्लेले नै जवाफ दिएका थिए ।

बजेटको हकमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मा अर्थमन्त्री वाग्लेलाई दिएका हुन् । -अनलाइनखबरबाट

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार

काठमाडौं : शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको जानकारी दिए ।

प्रारूप कार्यान्वयनमा आएपछि परिवर्तित सन्दर्भ अनुरूप विद्यालय शिक्षामा सुधार हुने कुरामा सरकार विश्वस्त रहेको उनले बताए । उनले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयहरू भौगोलिक दूरी र अन्य विभिन्न आधारमा गाभ्ने वा तह घटाउने जस्ता विषय आगामी आर्थिक वर्षका लागि प्रस्तावित विद्यालय नक्सांकन, पुनर्संरचनालगायत विषयमा आवश्यक कदम चालिने उल्लेख गरे । न्यून विद्यार्थी भएकै आधारमा विद्यालय गाभेर एक जना विद्यार्थीको मात्र पनि शिक्षा पाउने अधिकार सरकारले कुण्ठित नगर्ने उनले स्पष्ट पारे ।

उनले आगामी वर्ष सबै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार लगायतका सम्पूर्ण पक्षमा विस्तृत सर्वेक्षण गरी प्रतिवेदन तयार पारिने र सो प्रतिवेदनको आधारमा विद्यालयको भौतिक पूर्वाधार विकास लगायत कार्यमा बजेट व्यवस्थापन गर्दै लगिने धारणा राखे । विद्यालय शिक्षासम्बन्धी नयाँ ऐन तथा नियमावली शिक्षक विद्यार्थी अनुपातको मापदण्ड तय गरिने समेत उनले जानकारी दिए ।

मन्त्री पोखरेलले विगतमा आवश्यकता अनुसार शिक्षक तथा कर्मचारीको दरबन्दी व्यवस्थापन नगरी काम चलाउ र तत्कालको समस्या समाधानका लागि मात्रै निर्णय हुने गरेकोले अहिले समस्या देखिएको बताए । मन्त्री पोखरेलले एशियाली खेलमा स्वर्ण पदक प्राप्त खेलाडीहरूलाई नेपाल सरकारबाट मासिक रूपमा आजीवन भत्ताको व्यवस्था गरिएको समेत जानकारी दिए ।

खोज्नुहोस