क्रिस्टियानो रोनाल्डो छैंटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले छैंटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्। २०२६ को विश्वकपमा आज बिहान भएको समूह जे अन्तर्गतको खेलमा कङ्गोविरुद्ध खेल्दै रोनाल्डोले छैटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका हुन्।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छैंटौं विश्वकप खेल्ने पहिलो खेलाडी हुन्।

कंगोसँग बराबरी खेल्दै पोर्चुगलले अंक बाँड्यो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को पहिलो खेलमा पोर्चुगल र डिआर कंगोले १-१ बराबरी खेलेका छन्। ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगल र डिआर कंगोले बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

पहिलो हाफको सुरुवाती समयमै पोर्चुगलले अग्रता बनाएको थियो। खेलको छैटौं मिनेटमा नै पोर्चुगलले गोल गरेको थियो। पोर्चुगलका लागि जोआओ नेभेसले पेड्रो नेटोको क्रसमा हेडर मार्फत कल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

खेलको पहिलो हाफमा थप गरिएको पाँचौं मिनेटमा  कंगोले बराबरी गोल फर्कायो। कंगोको लागि योआन विस्साले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

दोस्रो हाफको खेलमा दुवै टोलीले केही मौकाहरू बनाए पनि सदुपयोग पनि गर्न सकेनन्। जसको फल स्वरूप पोर्चुगलले कंगोसँग अंक बाँडेको हो।

‘म यस्तो होइन दाइ,पिरतिले जोगी बनायो’ भन्दै संसदमा महावीर पुनले सुनाए गीत

काठमाडौं : मन्त्री महावीर पुनले प्रतिनिधिस भामा गीत सुनाएका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो चर्चित गीत सम्झँदै सुनाएका हुन्।

उनले भने,’गीतको सम्झना आयो। नयाँ युवा साथीहरूले सायद सुन्नुभएको छैन होला। पुराना साथीहरूले भने सुन्नुभएको छ होला। मैले पनि सुनेको थिएँ, ‘म यस्तो होइन दाइ,पिरतिले जोगी बनायो।’

उनले उक्त गीत पहिला निकै लोकप्रिय रहेको स्मरण गर्दै आफू सांसद वा मन्त्री बन्ने व्यक्ति नभए पनि देशप्रतिको पिरतिले आफू मन्त्री बनेको स्पष्ट पारे। ‘म पनि सांसद हुने र मन्त्री हुने मान्छे होइन। तर, मलाई पनि पिरतिले मन्त्री र सांसद बनाएको हो,’उनले भने।

तर आफ्नो ‘पिरति’ कुनै व्यक्तिसँग नभई देशसँग रहेको उनको भनाइ छ। ‘मेरो पिरति देशसँग बसेको हो। तर सुरुमा एकैचोटि देशसँग बसेको होइन,गाउँसँग बसेको हो। अमेरिकाबाट आएपछि गाउँमा बसें। गाउँमा बस्दै जाँदा देशसँग पिरति बस्यो। त्यसैले जोगी भएँ। व्यवहारिक रूपमा पनि म जोगी नै हुँ,’उनले भने।

मन्त्री पुनले विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ नभई पुरानै मन्त्रालयको पुनर्संरचित स्वरूप भएको पनि बताए।’यो मन्त्रालय नयाँ बनेको होइन। यो पुरानै मन्त्रालय हो। यो मन्त्रालयले पुनर्जन्म पाएको हो। यो सातौँ पटक पुनर्जन्म भएको हो,’उनले भने।

फिफा विश्वकपमा कोलम्बिया विजयी

काठमाण्डौ – फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी शुरुआत गरेको छ । मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।

कोलम्बियाको जीतमा खेलको ४०औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै अग्रता बनायो । पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लाएभको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

तर त्यो खुशी लामो समय टिक्न सकेन । ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए । दोस्रो हाफमा उज्बेकिस्तानले दबाब सिर्जना गरे पनि बराबरी गोल निकाल्न सकेन । इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल थपेपछि कोलम्बियाले ३–१ गोलको जीत सुनिश्चित गर्‍यो।

कोलम्बियाले समूह ‘के’ मा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ भने यसै समूहको अघिल्लो खेलमा गए राति पोर्चुगल र  कङ्गोले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

 

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ आज १०० रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।  चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० रुपैयाँ थियो ।

आज बजेट पारित गरिँदै, प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची

काठमाण्डौ – प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

कैलाली ५ बाट निर्वाचित सांसद चन्दले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिदैँ

धनगढी ४ असार /   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा आनन्द चन्दले उम्मेदवारी दिने भएका छन् । आगामी आइतबार देखि मंगलबारसम्म (असार ७ देखि ९ गतेसम्म) चितवनमा हुने प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने चन्दले बताएका छन् । चन्द कैलाली–५ बाट गत निर्वाचनमा रास्वपाबाट निर्वाचित भएका थिए ।

चन्द जनस्वास्थ्यको क्षेत्रमा पनि कार्य गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष प्राध्यपान गरेका थिए । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी गरेका छन् ।

रास्वपाको विधान अनुसार ९९ जना निर्वाचित हुने व्यवस्था छ । हरेक प्रदेशबाट खुलातर्फ समावेशीताका आधारमा अनिवार्य पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने विधानको व्यवस्था छ । महाधिवेशनबाट नयाँ नेतृत्व मतदानबाट वा सहमतिबाट टुंगाउन्ुपर्नेमा पार्टीभित्र दुई थरी धारणाहरु व्यक्त हुँदै आएका छन् ।

लाम्पाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकोप्टरबाट पठाइयो

धनगढी,४ असार /  बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकोप्टरबाट पठाइएको छ । सुर्खेतबाट श्री एयरलाइन्सको हेलिकोप्टरबाट बन्दोबस्तीको सामान लाम्पाटा लगिएको सशस्त्र प्रहरीका सह प्रवक्ता ९डीएसपी० शैलेन्द्र थापाले जानकारी दिए।

बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएसम्म सो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय सँगै लाम्पाटामा बेस स्थापना गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार सशस्त्रका इन्स्पेक्टर नेतृत्वको टिम त्यहाँ परिचालन गरिएको छ। नेपाल प्रहरीको टिम पनि लाम्पाटामा परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले पठाएको बन्दोबस्तीको सामान बुधबार पुगेको हो। बुधबार सशस्त्रको नम्बर–७ बैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी दिगबिजय सुवेदी पनि लाम्पाटा पुगेका छन्। सुवेदीले त्यहाँ कार्यरत सुरक्षाकर्मीहरूको काम कारबाहीको जानकारी लिएर आवश्यक निर्देशन दिएका छन्।

शुक्लाफाँटाका विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि…

कञ्चनपुरः वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने, हुरी र विषालु किराको डरैडरमा जीर्ण कच्ची झुपडीमा बस्नुपर्ने जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्ति टोलका मुक्तकमैया परिवारको कष्टकर अवस्था अब फेरिने भएको छ।

वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कनेक्ट परियोजनाको संयुक्त लगानीमा यस विपन्न बस्तीमा तीव्र रूपमा सुरक्षित पक्की आवास निर्माण सुरु भएसँगै वर्षौंदेखि असुरक्षित बसोबासको सास्ती खेप्दै आएका परिवारहरूको सुरक्षित घरमा बस्ने सपना साकार हुन थालेको हो।

“वर्षौंदेखि कच्ची घरमा दुःख गरेर बस्यौँ, बर्सातका बेला छाना चुहिन्थ्यो, रातभर पानी थाप्दै अनिदै बस्नुपथ्र्यो”, मुक्ति टोलकी गुजेश्वरी वडायकले विगतको पीडा सम्झँदै भनिन्, “सर्प, बिच्छी र अन्य विषालु किराको डर सधैँ हुन्थ्यो।” उनी भन्छिन्, “आगलागीको त्रास उत्तिकै थियो, गाउँका धेरैजसोका पक्की घर बने, तर गरिबीका कारण हामीले घर बनाउन सकेनौँ, मजदुरी गरेर परिवार पाल्दै आएका हामीलाई सुरक्षित आवासको कुरा सपनाजस्तै लाग्थ्यो, अहिले त्यो सपना विस्तारै पूरा हुँदै गएको छ।”

स्थानीय कल्पना चौधरीले पनि कच्ची घरमा बस्दाको सकस सुनाइन्। “सानो र जीर्ण घरमा परिवारसँग बस्न निकै कठिन थियो, पानी पर्दा घरभित्रै पानी पस्ने, हावाहुरी चल्दा रातभर डराएर बस्नुपर्ने अवस्था थियो, अहिले सुरक्षित पक्की घर बन्न थालेपछि अब ढुक्क भएर बस्न पाइने आशा जागेको छ”, उनले भनिन्।

मुक्तकमैया समुदायको बाहुल्यता रहेको मुक्ति टोलमा करिब तीन सय परिवारको बसोबास छ। वर्षौंदेखि विपन्नता र असुरक्षित बसोबासको समस्या झेल्दै आएका ती परिवारका लागि १५ वटा पक्की सुरक्षित आवास निर्माण भइरहेका छन्। एउटै डिजाइनमा बनिरहेका यी प्रत्येक घरमा दुई कोठा, भान्सा तथा शौचालयको व्यवस्था गरिएको छ। भवन निर्माणको कार्य ८० प्रतिशत पूरा भएको छ।
वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कनेक्ट परियोजना तथा उपभोक्ताको संयुक्त लगानीमा घर निर्माण भइरहेको शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार वित्तीय साझेदारीअन्तर्गत वडा कार्यालयको एक लाख ४५ हजार, प्रदेश सरकारको तीन लाख पाँच हजार, कनेक्ट परियोजनाको एक लाख २० हजार तथा उपभोक्ताको एक लाख ६२ हजार गरी एक घर सात लाख ३२ हजारको लागतमा निर्माण भइरहेको छ।

हालसम्म आवास निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर भट्टले बताए। मुक्ति टोललाई व्यवस्थित र नमूना गाउँका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको वडा अध्यक्ष लालबहादुर ऐरले बताए। “वर्षौंदेखि जोखिमपूर्ण कच्ची घरमा बस्दै आएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, वडाध्यक्ष ऐरले भने, “हरेक वर्ष बजेट व्यवस्थापन गर्दै क्रमशः बाँकी रहेका सबै परिवारका लागि पक्की घर निर्माण गर्दै जाने नीति लिएका छौँ।”

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरः कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा खेल संरचना निर्माण भइरहेको बताए। जसका लागि क्रिकेट मैदानको माटो भरानका लागि ५० लाख, चार सय मिटर ट्रयाकका लागि २५ लाख र हक्की खेल मैदान निर्माणका लागि १५ लाख विनियोजन भएको छ। त्यस्तै बक्सिङ्ग प्रशिक्षण केन्द्रको जिर्णोद्धारमा समेत प्रदेश सरकारले काम गरिरहेको छ।

आगामी आर्थिक बर्ष २०८३र८४ का लागि केन्द्र सरकारबाट यहाँ क्रिकेट मैदान निर्माणका लागि रु तीन करोड बजेट बिनियोजन भएको छ। जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले क्रिकेट मैदानका लागि बजेट आइसकेको बताउँदै त्यसको छरितो कार्यान्वयन हुनुपर्नेमा जोड दिए। “महेन्द्रनगर क्रिकेट खेलाडीको उत्पादनको भूमि हो भन्ने कुरा राष्ट्रिय स्तरमा यहाँका खेलाडीहरुको उपस्थितीबाट पनि प्रमाणित हुन्छ”, अध्यक्ष चन्दले भने, “अब क्रिकेट मैदान बने थप प्रतिभावान खेलाडी उत्पादन हुनेमा सहज हुनेछ।”

उनले हाल प्रदेश सरकारबाट बिनियोजित रकम ५० लाखले मैदानमा माटो भरानको काम भइरहेको बताए। “यसअघि केन्द्र र प्रदेश सरकारबाट बिनियोजित रु २ करोड रकम माटो भरानमै सकियो”, उनले भने, “अब आउने बजेटमा मैदान निर्माण, जेन्जिङ्ग रुम र मिडिया हाउसलगायतका संरचना बनाउने योजना छ।” महेन्द्रनगरमा हाल १२÷१३ खेलको नियमित प्रशिक्षण हुदै आएको छ।

यहाँ कवड्डी, सितोरियो कराँते, तेक्वान्दो, भलिबल, बक्सिङलगायतका खेलका आफ्नै भौतिक पूर्वाधार निर्माण भइसकेका छन्। हालै प्रदेश सरकारकै सहयोगमा कुस्ती खेलको पनि प्रशिक्षण हल निर्माण अन्तिम चरणमा छ।कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले खेलकुदको विकास विस्तार एवं पुर्वाधार निर्माणका लागि प्रदेश सरकारसित बजेट माग गरिएको बताए। “यसपाली खेल पूर्वाधार निर्माणमा ट्रयाक आधुनिक स्तरको बनाउन थप तीन करोड बजेट माग गरेका थियौ,” अध्यक्ष सिंहले भने। उनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारसँग रु साढे ६ करोड माग गरेको बताए। अध्यक्ष सिंहले कञ्चनपुरका स्थानीय तहसँग पनि खेलकुदको विकासका लागि सहकार्य गर्ने गरी प्रस्ताव लगिने बताए।

अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका हुन् । उनले वर्तमान सरकारको दोस्रो र तेस्रो वर्ष सुधारहरूलाई अझै तीव्र पार्ने बताए ।

चौथो र पाँचौँ वर्षको बजेटलाई सुधार मार्फत नभइ आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनको भनाइ छ । वर्तमान सरकारले आगामी पाँच वर्ष मुलुकको आर्थिक क्षेत्रमा रुपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महशुस गर्न सक्ने उनले बताए ।

निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि बढ्न नसक्ने भन्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको बताए । अर्थतन्त्र सुधारका लागि बजेट नै कुर्नु नपर्ने र आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्‌बाट पनि नीतिगत निर्णय हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा त्यसको प्रभाव सबै क्षेत्रमा परेको बताए । बैंकहरूमा लगानीयोग्य पैसा उपलब्ध भए पनि निजी क्षेत्र आकर्षित नहुनुको कारणबारे राज्यले सोच्नुपर्ने उनको भनाइ छ ।

उनले सरकारले एमआरपी लागु गरेपछि व्यापार क्षेत्रमा धेरै असुविधा सिर्जना गरेको गुनासो गरे । हिमालयन टेलिभ्वाइस

सुदूरपश्चिमले दिपेन्द्र सहित सात खेलाडीलाई गर्‍यो ‘रिटेन’

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात सात जना खेलाडीलाई रिटेन गरेको छ । तेस्रो सिजनको लागि सुदूरपश्चिमले मार्की खेलाडी दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हिक्मत महरा र हेमन्त धामीलाई रिटेन गरेको हो ।

बुधबार सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम रोयल्सले आफ्नो रिटेन लिस्ट सार्वजनिक गरेको हो । सात खेलाडीलाई रिटेन गर्दा सुदूरपश्चिमले ५ खेलाडीलाई रिलिज गरेको छ । नरेन साउद, दिपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरालाई रिलिज गरेको हो । तेस्रो सिजनको एनपीएलको अक्सन नजिकिँदै गर्दा छवटा टोलीहरूले आफ्नो रिटेनले सार्वजनिक गरिसकेका छन् । अब साविक विजेता रहेको लुम्बिनी लायन्सको रिटेन लिस्ट सार्वजनिक हुन बाँकी रहेको छ ।

स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मुलुकको स्वास्थ्य क्षेत्रको समग्र सुधारबाटै सु–सम्पन्न समाज र राष्ट्र निर्माण सम्भव रहेको बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन हुनुपर्ने भएपनि हाल ४.८ प्रतिशत मात्र विनियोजन गर्न सकिएको जानकारी पनि दिइन् ।

मन्त्रालयलाई प्राप्त कूल बजेटमध्ये ६ प्रतिशत प्रदेश र ३६ प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा हस्तान्तरण गरिएको उनले स्पष्ट पारिन् ।

यस्तै, ७९ औँ विश्व स्वास्थ्य सङ्गठनको महासभामा नेपालले कम स्रोत भएका मुलुकका लागि प्राविधिक सहयोग र मानवीय सहायताको विषयलाई प्रभावकारी रूपमा उठाएको उनले बताइन् ।

अस्पतालहरूमा रेबिज विरुद्धको खोप अभावबारे प्रष्टीकरण दिँदै मन्त्री मेहताले बोलपत्र प्रक्रियामा भएको ढिलाइले केही समस्या देखिए पनि हाल देशभर १४ हजार ४७४ भायल मौज्दात रहेको पनि बताइन् ।

त्यसैगरी, क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव सम्बोधन गर्न स्वचालित मूल्य प्रणाली (अटोमेटिक प्राइसिङ सिस्टम) लागू गर्ने तयारी भइरहेको उनले उल्लेख गरिन् ।

हाल ११ वटा स्वास्थ्य संस्थामा क्यान्सरका औषधि उपलब्ध रहेको र बिरामीको सहजताका लागि सम्पर्क व्यक्ति तोकिएको मन्त्री मेहताको भनाइ थियो ।

देशभरका ६५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार हालसम्म १०९ वटाको निर्माण सम्पन्न भएको र ३३६ वटा निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

जलन (बर्न) उपचारलाई प्राथमिकतामा राख्दै सरकारले आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँको जलन कोष स्थापना गर्ने घोषणा गरेको छ । साथै, कीर्तिपुर बर्न अस्पताल र वीर अस्पताललाई थप बजेट व्यवस्था गरिएको र आगामी वर्ष जलन सम्बन्धी विधेयक सदनमा पेस गरिने उनले बताइन् ।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन टेलिमेडिसिन र छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूको परिचालनलाई तीव्रता दिइएको छ । मन्त्री मेहताकाअनुसार हाल करिब २ हजार स्वास्थ्यकर्मी दुर्गममा कार्यरत छन् ।

आगामी वर्ष मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर तथा काठमाडौँमा राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापनाका लागि जग्गा प्राप्ति र डीपिआरको काम सम्पन्न गरिने योजना छ । सर्पदंश उपचारका लागि १०३ केन्द्रमा पर्याप्त ’एन्टी स्नेक भेनम’ मौज्दात रहेको उनले स्पष्ट पारिन् ।

मानसिक स्वास्थ्य नीति तर्जुमाको कार्य शुरु भएको र ७५३ वटै स्थानीय तहमा यससम्बन्धी कार्यक्रमका लागि बजेट पठाइएको मन्त्री मेहताले जानकारी दिइन् ।

आत्महत्या रोकथामका लागि ११६६ हेल्पलाइनलाई थप विस्तार गर्ने र ७७ वटै जिल्लाका ९७ अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा प्रदान भइरहेको उनले बताइन् ।

स्वास्थ्य बीमालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री मेहताले यस वर्ष १५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न ऐन संशोधन गर्ने, सङ्गठित क्षेत्रलाई अनिवार्य आबद्ध गर्ने र आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने जस्ता दीर्घकालीन सुधारका योजनाहरू अगाडि बढाइएको उनले उल्लेख गरिन् ।

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

काठमाडौं । यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन् ? भनेर सोधेका थिए । काठमाडौंका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । होल्डिङ सेन्टरमा व्यवस्थापन समेत राम्रो नभएको भनेर प्रश्न उठिरहेको छ ।

यदि व्यवस्थापन गर्न नसक्ने भए पहिले बसेकै ठाउँमा व्यवस्थापन गर्न सकिने पनि साम्पाङको आग्रह थियो ।

जवाफमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने जानकारी दिएकी हुन् ।

‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’

विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

झलनाथको ३६ बुँदे असन्तुष्टि : प्रचण्ड-माधवबाट पार्टी चल्दैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् ।

संयोजक दाहालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खनालले पठाएको पत्रका वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् ।

खनालका अनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएका छन्। उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेज भएको टिप्पणी गरेका छन् ।

उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाएका छन् ।

खनालले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । ‘तपाईं आफैंमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ,’ भन्दै उनले दाहाललाई प्रत्यक्ष प्रश्न गरेका छन् ।

यही कारणले पार्टी निर्माणभन्दा विघटनतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै खनालले प्रचण्ड र माधव नेपाललाई नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन् । उनले संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्ने वातावरण बनाउन सुझाव दिएका छन् ।

खनालले पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।

दाहाल स्वयंले यस्तो प्रस्ताव अघि सारेमा त्यो कम्युनिष्ट आन्दोलनका लागि ठूलो योगदान हुने र नेतृत्व हस्तान्तरणको सकारात्मक उदाहरण स्थापित हुने उनको भनाइ छ ।

‘उचित समयमा उचित निर्णय गर्न सके पार्टी र क्रान्तिलाई नयाँ मोड दिन सकिन्छ,’ भन्दै खनालले नेतृत्व परिवर्तनले पार्टीमा नयाँ रक्तसञ्चार, उत्साह र पुनर्गठनको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

आजदेखि ५०० रुपैयाँकाे नयाँ नोट चलनचल्तीमा

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । नोटको आकार, रङ्ग तथा डिजाइन साविककै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ ।

नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीछाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्शमार्फत दर पहिचान गर्न सक्ने दुई वटा काला थोप्ला राखिएका छन् ।

साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ । नोटमा राखेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ । नोटको पृष्ठभागमा पाटेबाघको चित्र रहेको छ ।

नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

पाठ्यक्रम सुधारका निम्ति पूर्वाधार र बजेट व्यवस्था गर्न सरकार प्रतिबद्ध : शिक्षामन्त्री

सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक तथा रोजगारमुखी बनाउन सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् ।

बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पाठ्यक्रम सुधारका लागि आवश्यक बजेट, पूर्वाधार तथा विशेषज्ञ जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “त्यसका लागि हामीले आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपुर प्रयास गर्नेछौँ ।”

विश्वविद्यालयले स्थानीय आवश्यकता पहिचान गरी कर्णाली प्रदेशमा प्रशस्त मात्रामा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदासम्बन्धी अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पोखरेलले उच्च शैक्षिक मापदण्ड कायम गर्न, डिजिटल शिक्षाको विस्तार गर्न तथा रोजगारमुखी कार्यक्रम सञ्चालनका लागि आफ्नो मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने बताए । “म सरकार तथा मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगारउन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध छु,” उनले भने ।

मध्यपश्चिम विश्वविद्यालयलाई कर्णाली प्रदेशकै गौरवको शैक्षिक संस्थाका रूपमा उल्लेख गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा विश्वविद्यालयले उदाहरणीय योगदान पुर्‍याएको बताए । स्थापना भएको करिब दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल शैक्षिक प्रविधि तथा नवीनतम प्रविधिको प्रयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको उनको भनाइ थियो ।

दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्राप्त शिक्षा व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही समाज र राष्ट्र निर्माणको महत्वपूर्ण माध्यम भएको बताए । उनले गुणस्तरीय शिक्षाले देशले भोगिरहेका अभाव, गरिबी, बेरोजगारी, स्वास्थ्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधतासम्बन्धी समस्याको समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

७७ वटै सदरमुकाममा एफटीटीएच सेवा पुर्‍याइएको छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको आधुनिकीकरण र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन चालिएका कदमबारे जानकारी गराए ।

मन्त्री तिमिल्सिनाका अनुसार ७७ वटै जिल्ला सदरमुकाममा ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवा पुर्‍याइसकिएको छ । अब यस सेवालाई सबै नगरपालिका तथा गाउँपालिकाका वडाहरूसम्म विस्तार गर्ने कार्य शुरु भइसकेको छ ।

यस्तै, मध्य पहाडी लोकमार्ग लगायतका प्रमुख सडक खण्डहरूमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तिब्रता दिइएको छ । मन्त्री तिमिल्सिनाले हालसम्म विभिन्न ७६३ स्थानमा मोबाइल नेटवर्कका पूर्वाधार सञ्चालनमा आएको र आगामी आर्थिक वर्षमा थप १५९७ वटा बिटिएस तथा ई–नोड–बी खरिद प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

हुलाक सेवा पुरानै शैलीमा सीमित भएको भन्ने सांसदहरूको गुनासो सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यसलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन सरकार लागिपरेको बताए ।

आगामी आर्थिक वर्षमा थप ५० वटा स्थानीय तहका हुलाक कार्यालयहरूमा सूचना प्रविधि पूर्वाधार निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट (एनडीटीपी) मार्फत हुलाकको आधुनिकीकरण गरिने उनले स्पष्ट पारे ।

हाल ६२ जिल्लामा हुलाकमार्फत नागरिकका राहदानी, लाइसेन्स र लालपुर्जा जस्ता महत्वपूर्ण कागजात घरदैलोमै पुर्‍याउने कार्य भइरहेको छ ।

चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले नीतिगत परिवर्तन र पूर्वाधार निर्माणमा जोड दिएको मन्त्रीको भनाइ छ । चलचित्र सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेको उल्लेख गर्दै उहाँले चलचित्रलाई उद्योगका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

काभ्रेको बनेपामा निर्माणाधीन अत्याधुनिक छायाङ्कन स्टुडियो आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

सुरक्षण मुद्रणका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै उल्लेखनीय सुधार गरिएको दाबी मन्त्रीले गर्नुभयो । २९ लाखमध्ये १८ लाख बाँकी रहेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ भइसकेको र यसै आर्थिक वर्षभित्र सम्पूर्ण ब्याकलक सक्ने तयारी छ ।

आगामी आर्थिक वर्षदेखि माग हुने बित्तिकै तत्काल लाइसेन्स उपलब्ध गराउन सकिने गरी सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित बनाइएको छ । केन्द्रका लागि आगामी वर्ष ३२ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सांसदहरूले उठाएको बजेट अभाव र पारदर्शिताको प्रश्नमा मन्त्री तिमिल्सिनाले सीमित स्रोतका बाबजुद एआई, साइबर सुरक्षा र डेटा अर्थतन्त्र जस्ता डिजिटल पूर्वाधारमा पर्याप्त बजेट छुट्याइएको बताए ।

रासायनिक मल खरिद प्रक्रिया अघि बढेको छ : कृषिमन्त्री चौधरी

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई प्राविधिक र क्षेत्रगत रूपमा समावेशी र समान बनाउनको प्रयास गरिएको बताएकी छिन् ।

बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले प्रायः सबै जिल्ला र स्थानीय तहका कार्यक्षेत्रमा समावेशी र समान बनाउने गरी बजेट विनियोजन गरिएको बताएकी हुन् । सीमित स्रोतका कारण कृषि अनुसन्धान कार्यक्रम र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमतर्फ केही कम बजेट प्रस्ताव भए पनि अपेक्षित लक्ष्य उपलब्धि हासिल गर्नेगरी कार्यक्रम क्रियाकलाप प्रस्ताव गरिएको उनले बताइन् । मन्त्री चौधरीले रासायनिक मलमाथिको पर निर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवद्र्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको बताइन् ।

उनले किसानहरुलाई आवश्यक मल खरिदको प्रक्रिया अघि बढेको र रकम अभाव भए अर्थ मन्त्रालयबाट प्राप्त हुने प्रतिवद्धता आएको जानकारी दिइन् । प्राङ्गारिक मलमा अनुदानका लागि संघमा ३५ करोड र प्रदेशमा सशर्त अनुदान ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको उनको भनाइ छ । उनले चिया निर्यातमा देखिएको अवरोध समाधानका लागि मन्त्रालयले गम्भीर पहल गरेको र कूटनीतिक छलफल सकारात्मक दिशातिर उन्मुख रहेको दावी गरिन् ।

मन्त्री चौधरीले मानव वन्यजन्तु द्वन्द्व रोकथाम, न्यूनीकरण र यसबाट पीडित समुदायलाई सक्दो छिटो राहत रकम उपलव्ध गराइरहेको बताइन् । आगामी आर्थिक वर्षका लागि छुट्टै मानव वन्यजन्तु सहअस्तित्व बजेट उपशीर्षक कायम गरी सोही दिशातर्फ लक्षित कार्यक्रमहरूको प्रवद्र्धन गरिएको उनले बताइन् ।

सेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा अडिएको छ।

यसअघि मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगेको थियो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको थियो।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ। यसदिन ३५२ वटा स्क्रिप्सको ८३ लाख ७५ हजार  ४७१ कित्ता सेयर ३ अर्ब ६३ करोड ७५ लाख  ८९ हजार १० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ करोड ७८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोपान फर्मास्कूटिकल्स र अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले २१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सले १८ करोडको सेयर कारोबार गर्दा बुंगल हाइड्रो पावरले १७ करोड ,सेन्ट्रल फाइनान्सले १६ करोड र आँखु खोला जलविद्युतले १५ करोड बराबरको कारोबार गरे।

कारोबारमा आएका स्टक्समध्ये १२६ वटाको मूल्य बढ्दा १३१ वटाको घट्यो।  बाँकी १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको घट्यो।

डेभलपमेन्ट बैंक,फाइनान्स,हाइड्रोपावर,इन्भेस्टमेन्ट र मुन एण्ड प्रो समूहबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

विश्वकप २०२६ : पोर्चुगल र कङ्गाे पहिलाे पटक आमनेसामने हुँदै

काठमाण्डाै– फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कङ्गो खेल्दैछन् । समूह ‘के’ को यो खेल पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।

विश्वकपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । फिफा वरीयतामा पोर्चुगल पाँचौँ र डीआर कङ्गो ४५औँ स्थानमा छ ।

पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाजजस्ता खेलाडी छन् । ४१ वर्षीय रोनाल्डोले छैटौँ पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । पोर्चुगलले पछिल्ला ५ खेलमा ४ मा जीत र १ मा बराबरीको नतिजा निकालेको छ ।

यस्तै कङ्गो ५२ वर्षपछि विश्वकपमा फर्किएको हो । यसअघि कङ्गोले सन् १९७४ मा विश्वकप खेलेको थियो । त्यतिबेला कङ्गोको नाम जायर थियो ।

कङ्गोमा योआन विसा, चान्सल म्बेम्बा, स्यामुएल मुतुसामी जस्ता खेलाडी छन् । यद्दपि कङ्गोको विश्वकप तयारी राम्रो छैन । इबोला भाइरसको सङ्क्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ । कङ्गोले पछिल्ला ५ खेलमा २ मा जीत, २ मा हार र १ मा बराबरी खेलेको छ ।

आजै राति पौने २ बजे अमेरिकाको डालास रङ्गशालामा समूह ‘एल’ का इङ्ग्ल्यान्ड र क्रोएशिया खेल्दैछन् ।

यस्तै बिहान पौने ५ बजे क्यानडाको टोरन्टो रङ्गशालामा समूह ‘एल’ का घाना र पनामा खेल्दैछन् ।

यस्तै बिहान पौने ८ बजे मेक्सिको सिटी स्टेडियममा समूह ‘के’ का उज्वेकिस्तान र कोलम्बिया खेल्दैछन् ।

 

वेलमा श्रम संस्कृतिको विरोध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीको विरोध जारी रहेपछि बैठक स्थगित भएको हो ।

संसदीय दलका नेता हर्क साम्पाङले सोधेको प्रश्नको जवाफ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नदिएको भन्दै श्रम संस्कृति वेलमा पुगेको थियो ।

सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसन ग्रहणका लागि आग्रह गरे । नियमावलीअनुसार नै सदन सञ्चालन भइरहेको जानकारी गराए । र, बैठक १५ मिनेटका लागि स्थगित गरे ।

सुदूरपश्चिमको बजेटमा खेलाँची किन ?

धनगढी :  राजनीतिक खिचातानीका कारण आर्थिक वर्ष ०८१र८२ मा तीन महिना बजेट शून्यता ९‘बजेट होलिडे’० व्यहोरेको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३र८४ को बजेटमा पुनः ‘गम्भीर खेलाँची’ गरेको छ।

विपक्षी दलका सांसदहरूको बहिष्कारकाबीच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री  विक्रमसिंह धामीले सोमबार मध्यरात आगामी आर्थिक वर्ष ०८३र८४ का लागि ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरे । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाको उल्लंघनबाट जोगिन सरकारले मध्यरात, त्यो पनि हतार हतारमा प्रदेश सभामा बजेट प्रस्तुत गरेको भए पनि आर्थिक मामिला मन्त्रालयले बजेट हिसाबमा मिलान गर्नै नसकेर अपुरो बजेट ल्याएको हो।

मंगलबार दिनभर गुपचुपमा बजेट मिलानको कार्य भइरहेको स्रोतले बतायो । मंगलबार साँझ ७ बजेमात्रै बजेट वक्तव्य पुस्तिका सार्वजनिक गरियो । प्रदेश संरचना गठन भएयता सुदूरपश्चिम सरकारले ल्याएको यो दशौँ बजेट हो। सरकारले बजेट अनुशासन कायम गर्न नसक्दा कैयौँ अमिल्दा तथ्यहरू खुल्न आएका छन्।

पहिलो पटक विपक्षी सांसदहरूको बेन्च रित्तै भएको अवस्थामा आर्थिक मामिलामन्त्री सिंहले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। त्यति मात्रै होइन, बजेट भागबन्डालाई लिएर सत्तारुढ दलभित्रकै रस्साकस्सीबीच मन्त्री  धामीले प्रस्तुत गरेको ३७ अर्ब ७० करोडको बजेटमा कुल अंक बाहेक चालु, पुँजीगत, मन्त्रालयगत तथा क्षेत्रगत बजेट विनियोजन बजेट वक्तव्यमा उल्लेख गरिएन। उनले कुल बजेट र बजेटको स्रोत मात्र उल्लेख गरेर वक्तव्य वाचन गरेका हुन्।

सांसदहरूलाई मंगलबारसम्म बजेट वक्तव्य पुस्तिकासमेत उपलब्ध गराइएको थिएन । प्रदेश सभामा वक्तव्य वाचन सकिएलगत्तै आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गर्ने प्रचलन थियो। ‘मंगलबार ६ बजेसम्म वक्तव्य पुस्तिका दिइएन,’ नेकपाका सांसद ओमविक्रम भाटले भने। आर्थिक मामिला मन्त्री धामी र मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालसँग सम्पर्क हुन सकेन। आर्थिक मामिला मन्त्रालयका उपसचिव धनबहादुर रोकाया भन्छन्, ‘त्यो बेला किन सार्वजनिक भएन, म जानकार छैन।’

यस्तै, प्रदेश सभा बैठकमा बजेट वक्तव्य प्रस्तुतिपछि बजेट वक्तव्य, विनियोजन ऐन, आर्थिक ऐन, व्यय अनुमान तथा मध्यमकालीन खर्च संरचनाका लिखित पुस्तिका दर्ता गर्ने प्रचलन छ। तर सरकारले प्रदेश सभा सचिवालयमा समेत पेस नगरेको बुझिएको छ। प्रदेश सभाका सचिव देवबहादुर बोगटी भन्छन्, ‘सरकारले अपुरो बजेट सभामा प्रस्तुत गर्‍यो ।’

बजेट आयोजना छनोट कार्यमा संलग्न एक पदाधिकारीका अनुसार बजेटको हिसाबै नमिलेर बजेटका अनुसूचीहरू तयार गर्न नसकिएको हो। बजेट आयोजनामा आ–आफ्नो भागबन्डाका लागि सत्तारुढ दलका सांसदहरूको रस्साकस्सी, आर्थिक मामिला मन्त्रालयका कर्मचारीमाथिको दबाबका कारण पूरा दस्ताबेजसहितको बजेट पेस गर्न नसकिएको हो। चालु र पुँजीगत बजेट नै यकिन नगरी प्रस्तुत गरिएको बजेट वक्तव्यसहित समग्र हिसाब मिलान गर्न बजेट प्रस्तुतिपछि मंगलबार दिनभर पनि कर्मचारीहरू व्यस्त रहेको स्रोत बताउँछ ।

सत्तारुढ दलका एक सांसदका अनुसार सोमबार राति साढे १० बजेसम्म बजेटमा आयोजना र रकम इन्ट्री गर्ने कार्य जारी थियो। ‘त्यही बेला सीमा नाघ्यो, हिसाबै मिलेन भनेर मलाई बोलाएर तपाईँको सिफारिसका आयोजना घटाउनुपर्ने भयो, छाँटकाँट गरेर दिनुस् भने,’ ती सांसदले भने, ‘एक मन्त्रीले सरकार ढल्दै छ, सहयोग गर्नुस् भने। बजेट भद्रगोल छ, हिसाब नै मिलेको छैन। मंगलबार दिनभर पनि हिसाब मिलाउनका लागि काँटछाँट गरिरहेका थिए ।’

आर्थिक मामिला मन्त्रालयको बजेट निर्माण टोलीसहित मन्त्रीहरू गोप्य स्थानमा बसेर मंगलबार दिनभर काम गरिरहेको उनले बताए। ‘सुदूरपश्चिम सरकारले वित्तीय विशृङ्खला निम्त्याइरहेको छ,’ प्रतिपक्षी दलका सांसद भाटले भने।

सोमबारका घटनाक्रमले कैयौँ प्रश्नहरू उब्जाएको जानकारहरू बताउँछन्। आर्थिक मामिला मन्त्रालयले अपुरो बजेट किन बनायोरु क्याबिनेटमा कसरी लगियोरु क्याबिनेटले अपुरो बजेट कसरी पास गर्‍योरु आर्थिक मामिला मन्त्रीले आफ्नो थैलीको आकार यकिन नगरी राजनीतिक दबाबमा आयोजनाहरू मात्र थप्न किन उद्धत भएरु आर्थिक मामिला मन्त्रालयको बजेट तर्जुमा समितिले के हेरेर बस्योरु भन्ने लगायतका अनेक प्रश्नहरू उब्जिएका छन्।

‘सभामा पेस भइसकेको बजेट हेरफेर गर्नु झन् ठूलो गल्ती हो,’ पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेका सांसद नरेशकुमार शाहीले भने।

यसैबीच बजेट वक्तव्य बहिष्कार गरेको नेकपाले मंगलबार बजेट वक्तव्य पुस्तिका माग गर्दै आर्थिक मामिला मन्त्रालय र सभामुखलाई पत्र दिएको थियो । दलका उपनेता प्रकाश रावलले प्रदेश सभामा पेस गरेको निवेदनमा बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयकहरू उपलब्ध गराउन माग गरिएको बताए ।

सत्तारुढ दलहरूबीच बजेट भागबन्डामा लामो रस्साकस्सीबीच सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गरेको हो। अपराह्न ५ बजेका लागि निर्धारित कार्यसूचीअनुसारको समयमा बैठक बस्न नसकेपछि ९ बजेका लागि सारिएको थियो। तर ९ बजेसम्म मन्त्रिपरिषद्को बैठकसमेत बस्न नसकेपछि बजेट मध्यरातमा धकेलिएको थियो।

प्रदेश नीति तथा योजना आयोगले तोकेको बजेट सिलिङलाई भागबन्डाकै कारण बढाउने निर्णय गरिएको थियो। आयोगले सुरुमा २४ अर्बको पूर्वनिर्धारित बजेट सिलिङ दिएको थियो। सत्ता साझेदार दल एमाले र आफ्नै दलका सांसदहरूको मागअनुसार भागबन्डा नपुग्ने भएपछि मुख्यमन्त्री कमलबहादुर शाह आकार बढाउन बाध्य भएको बजेट निर्माणमा संलग्न एक पदाधिकारीले बताए। दबाबकै कारण बजेटको आकार हालसम्मकै सबैभन्दा ठूलो ३७ अर्ब ७० करोड पुर्‍याइएको हो। आकार वृद्धिको मुख्य आधार चालु बजेटबाट हुने बचतलाई लिइएको छ। चालु बजेटबाट ९ अर्बभन्दा बढी बचत हुने सरकारको अनुमान छ।

आइतबारदेखि दुई दलबीच भएको रस्साकस्सीका क्रममा एमालेले सरकार छाड्नेसम्मको धम्की मुख्यमन्त्रीलाई दिएको एक कांग्रेस सांसदले बताए। त्यसपछि मुख्यमन्त्री थप दबाबमा परेका थिए। त्यसबीच एमालेले सरकार छाड्ने तयारी गरेको चर्चा समेत एमाले सांसदहरूले चलाएका थिए। धेरैले उक्त चर्चालाई बजेटमा बार्गेनिङ रणनीति भएको अर्थ्याएका थिए।

बजेटको आकार बढ्नु र समयमा बजेट तयारी हुन नसक्नुमा सरकारले आगामी वर्षका लागि सुरुमा प्रत्यक्षतर्फका सांसदलाई ५ करोड र समानुपातिकतर्फका लागि ३ करोड बजेट दिने तयारी गरेको थियो। तर सांसदहरूले नमानेपछि अन्तिम समयमा प्रत्यक्षतर्फका सांसदका लागि ७ करोड र समानुपातिकतर्फकालाई ५ करोडको एकमुष्ट भाग हिस्सा बजेट दिएको थियो। त्यसबाट सांसदहरूलाई उनीहरूका रोजाइका आयोजना सिफारिस गर्न भनिएको हो।

वैदेशिक रोजगारीका क्रममा दैनिक चारजनाभन्दा बढीको मृत्यु !

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार ४३८ नेपालीको मृत्यु भएको छ ।

२०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बोर्डका अनुसार, गत जेठ महिनामा मात्र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा १४४ नेपालीको मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता वैदेशिक रोजगारीका क्रममा प्रत्येक महिना औसतमा १३० जनाभन्दा बढी र प्रत्येक दिन चारजनाभन्दा बढी नेपालीको मृत्यु भएको बोर्डको तथ्यांकले देखाउँछ ।

बोडको विवरणअनुसार पछिल्लो १० वर्ष ११ महिनामा वैदेशिक रोजगारीका सिलसिलामा १२ हजार १३२ नेपालीको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना, २०७३/७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जना नेपालीले ज्यान गुमाएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जना, २०७८/७९ मा एक हजार ३९५ जना, २०७९/८० मा एक हजार २०८ जना, २०८०/८१ मा एक हजार ४५८ जना, २०८१/८२ मा एक हजार ५८३ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो ११ महिनामा एक हजार ४३८ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको बोर्डको तथ्यांकले देखाउँछ ।

६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कुवेतमा

काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कुवेतमा काम गरिरहेको जनाएका छन् ।

मन्त्रालयगत बजेट छलफलको जवाफ दिने क्रममा बुधबार प्रतिनिधिसभाको बैठकमा उनले उक्त जानकारी दिएका हुन् ।

“कुवेतमै मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत रहेको अवस्था छ,” श्रममन्त्री यादवले भने, “उहाँहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुन्छ, किनभने बोर्डमार्फत प्रदान गरिने सेवा–सुविधाका लागि श्रम स्वीकृति अनिवार्य हुन्छ ।”

यस्ता समस्याहरू मानवीयताको आधारमा सकेसम्म समाधान गरिएको उनले सुनाए । घरेलुले श्रमिकको विषयमा अहिले आफूहरू ‘पोलिसी ट्रयाप’मा फसेको उनले बताए ।

“संसदीय समितिको निर्देशनअनुसार सातवटा क्राइटेरिया राखेर यो क्षेत्रमा श्रम स्वीकृति दिइएको छैन । यथार्थ के हो भने, श्रम स्वीकृति नदिइए पनि इरेगुलर बाटो हुँदै घरेलु कामका लागि मानिसहरू विदेश गइरहेका छन्,” मन्त्री यादवले भने ।

सभामुख अर्याल र बङ्गलादेशका राजदूतबिच भेटवार्ता

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज शिष्टाचार भेट गरेका छन्।

सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए।

सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे।

नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको प्रसङग उल्लेख गर्दै उनले दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बङ्गलादेशका असल अभ्यास उपयोगी हुन सक्ने धारणा राखे। उनले भने, ‘नेपाल र बङ्गलादेशबीचको सहकार्यले दुवै देशका जनताको सुख, समृद्धि र कल्याणमा महत्वपूर्ण योगदान पुग्नेछ।’

खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले पनि दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक ल्याएको उल्लेख गर्दै सभामुख अर्यालले फुटबल, क्रिकेट, भलिबललगायत खेलमार्फत युवा पुस्ताबीच मित्रता, सम्पर्क र आपसी समझदारी अभिवृद्धि भएको बताए।

उनीहरुबीच शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।

राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा नेपाल र बङ्गलादेशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको बताए।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई  प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाण्डौ – नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी थिए भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रास्मुस अबिल्डगार्ड क्रिस्टेन्सेन तथा नयाँ दिल्लीस्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी थिए ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् १९६७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्कबीच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका छन् । दुवै पक्षले सन् २०२७ मा नेपाल–डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउने सहमति समेत जनाएका छन् ।

सुशासन, पारदर्शिता, दिगो विकास तथा लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धताका आधारमा सहकार्य अघि बढाइनेमा दुवै पक्षले जोड दिएका छन् ।

सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाण्डौ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक÷कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।

सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।  त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट अहिलेसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ ।

विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तरराष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ ।

त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

खोज्नुहोस