अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका हुन् । उनले वर्तमान सरकारको दोस्रो र तेस्रो वर्ष सुधारहरूलाई अझै तीव्र पार्ने बताए ।
चौथो र पाँचौँ वर्षको बजेटलाई सुधार मार्फत नभइ आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनको भनाइ छ । वर्तमान सरकारले आगामी पाँच वर्ष मुलुकको आर्थिक क्षेत्रमा रुपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महशुस गर्न सक्ने उनले बताए ।
निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि बढ्न नसक्ने भन्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको बताए । अर्थतन्त्र सुधारका लागि बजेट नै कुर्नु नपर्ने र आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णय हुन सक्ने उनको भनाइ छ ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा त्यसको प्रभाव सबै क्षेत्रमा परेको बताए । बैंकहरूमा लगानीयोग्य पैसा उपलब्ध भए पनि निजी क्षेत्र आकर्षित नहुनुको कारणबारे राज्यले सोच्नुपर्ने उनको भनाइ छ ।
उनले सरकारले एमआरपी लागु गरेपछि व्यापार क्षेत्रमा धेरै असुविधा सिर्जना गरेको गुनासो गरे । हिमालयन टेलिभ्वाइस
