विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको सहज जित, दक्षिण अफ्रिका पराजित

द एभरेष्ट पोष्ट
२९ जेठ २०८३ ४:१४
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको सहज जित, दक्षिण अफ्रिका पराजित

मेक्सिको,
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० गोल अन्तरले पराजित गरेको छ ।

मेक्सिकोको एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले मेक्सिकोका लागि एक–एक गोल गरे ।

तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा घरेलु मैदानमा समूह एमा रहेको मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेर तीन जोडेको छ ।

खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए । विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो ।

६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेस रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाके कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

समूह एमा रहेको मेक्सिकोलाई यो जितले नकआउट चरणमा पुग्न बाटो केही सहज बनाएको छ । ए समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस