पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो, मुद्दा चलाउने होइन
काठमाडौं: जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकलाई सफाइ दिँदै उनको समाचारबारे खण्डन गरे पुग्ने अदालत आइरहन नपर्ने अवस्था रहेको फैसला गरेको छ।
हिल्टन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको छोरा जयवीरको लगानी रहेको भन्ने समाचार प्रसारण गरेको विषयलाई लिएर दायर भएको साइबर अपराध सम्बन्धी मुद्दामा न्यायाधीश खिमानन्द भुसालको इजलासले चैत १८ गते नै फैसला सुनाएको थियो।
उक्त सफाइ दिँदाको पूर्णपाठ सार्वजनिक भएको छ।
पूर्णपाठमा जयवीरको लगानी छैन भने त्यसलाई प्रमाणसहित खण्डन गरे पुग्ने बताउँदै मुद्दा हाल्न अदालत आउन पर्ने अवस्था नदेखिएको फैसलामा उल्लेख छ।
‘लगानी भएको वा व्यवसाय गरिएको कार्य आफैंमा राम्रो सह्रानिय कार्य हुनेमा लगानी नरहेको भए जाहेरवालाले नै प्रमाणसहित खण्डन गर्दा हुनेमा अन्यथा विकल्प अवलम्बन गरेको देखिन आयो। तसर्थ पेस भएका प्रमाणले अभियोग दाबी पुष्टि हन सकेन। पाठकले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा भनिएको छ।
पाठकले काठमाडौंमा रहेको पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको र भट्ट मार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएको भनेर कार्यक्रम बनाएका थिए। त्यस्तै, जयविर देउवाको दुबई, अष्ट्रेलियामा रियल स्टेट विजनेस रहेको र उक्त विजनेस क्यानडासम्म फैलिएका भनेर समाचार बनाएका थिए।
यसरी समाचार बनाएपछि देउवाले उनीविरूद्ध साइबर ब्युरोमा दिलभुषण पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेका थिए।
उक्त भिडिओमा देउवाको मानमर्दन हुने वा चरित्र हत्या हुने वा आपत्तिजनक शब्द व्यक्त नभएको पनि उल्लेख छ। यस्तै पत्रकारले पनि व्यक्तिको इज्जत प्रतिष्ठाको हेक्का राख्न आवश्यक भएको पनि भनेको छ।
‘प्रतिवादी व्यवसायिक पत्रकार रहेको, पत्रकारले समाजमा रहे भएका घटना समाचार सत्य तथ्यमा आधारित रहि संप्रेषण गर्नु व्यवसायिक कर्तव्य हो। साथै पत्रकारिताको नाममा अन्य व्यक्तिको इज्जत प्रतिष्ठाको हेक्का राख्नु पनि उत्तिकै आवश्यक छ,’ फैसलामा भनिएको छ।
