विश्वकप फुटबलमा न्यूजिल्यान्डलाई हराउँदै इजिप्टको ऐतिहासिक जित

एजेन्सी- न्यूजील्याण्डलाई ३–१ ले  हराउँदै इजिप्ट विश्वकप फुटबल २०२६ अन्तर्गत समुह जी को शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।

खेलको सुरुवातदेखि नै न्यूजिल्यान्डले दबाब बनाएको थियो र पहिलो हाफमा फिन सम्र्यानको हेडर गोलमार्फत १–० को अग्रता लिएको थियो। इजिप्ट भने पहिलो हाफमा लय समात्न संघर्षरत देखिएको थियो । तर दोस्रो हाफमा खेलको सम्पूर्ण तस्वीर बदलियो ।

इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारे । इजिप्टका लागि मोस्ताफा जिकोले बराबरी गोल गर्दै पुनरागमनको सुरुवात गरे । त्यसपछि स्टार खेलाडी मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

खेलको अन्त्यतिर ट्रेजेग्यूटले ८२औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गरे । अन्तिममा न्यूजिल्यान्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलकिपरको उत्कृष्ट बचाउले उनीहरूलाई रोक्यो ।

यो जितसँगै इजिप्ट समूह जी को शीर्ष स्थानमा पुगेको छ । इजिप्टका लागि यो जित विशेष ऐतिहासिक मानिएको छ, किनकि लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात परेको हो ।

 

रास्वपा महाधिवेशनको बन्द सत्र अझै सुरु भएन

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत बन्द सत्रका कार्यक्रम केही ढिला हुने भएको छ। बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम बिहान ११ः४५ बजेसम्म सुरु हुन सकेको छैन ।

अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लाइनमा छन्। उनीहरू महाधिवेशन प्रतिनिधि परिचय पत्र देखाउँदै हलमा प्रवेश गरिरहेका छन्। महाधिवेशन प्रतिनिधिका लागि ठूलो संख्यमा दाबी विरोध परेको छ। त्यसमा रूजु गर्ने काम पनि भइरहेको छ। कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उनीहरूले पनि दाबी विरोधको फाराम भरेका छन्।

त्यसमा अन्तिम टुंगो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गरिनेछ। महाधिवेशनको कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्र निर्धारित समयभन्दा केही घण्टा ढिला हुने बताए।

कञ्चनपुरमा लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित एकजना वडासदस्यलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीले आज जारी गरेको विवरणअनुसार जैरूको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद भएको हो।

उनको साथबाट प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।

वडाध्यक्षमाथि सार्वजनिक स्थलमा हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको छ।

आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुँवरबिच भनाभन भएपछि कुँवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

घटनालगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गराएका छन्। हाल कुँवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र उनीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे पत्रकार कुँवरले भने फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि सुरुमा दुर्व्यवहार गरेकाले प्रतिकार गरेको दाबी गरेकी छिन्। नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाकी सदस्य रहेकी कुँवर संलग्न यस घटनापछि धेरै पत्रकारहरूले यो विषयमा चासो राखेका छन्।

धेरैजसो पत्रकारहरूले यो घटनामा पत्रकार कुँवरले आफ्नो पेसाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस घटनाले पत्रकारिता पेसामा आबद्ध भएका सम्पूर्ण पत्रकारहरूलाई समेत लज्जित बनाएको धेरैको भनाइ छ।

डेनमार्कको हिमालयन स्पोर्ट्स क्लब: युरोपमा नेपाली खेलकुदको साझा मञ्च बन्दै

कृष्ण धानुक ।

कोपेनहेगनमा रहेका नेपाली खेलप्रेमी तथा समुदायका लागि आउँदो जुलाई महिना विशेष बन्ने भएको छ। डेनमार्कमा नेपालीहरूमाझ स्थापित खेलकुद संस्था हिमालयन स्पोर्ट्स क्लब ले यसै वर्षको जुलाई २०२६ मा दुईवटा वृहत् खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने घोषणा गरेको छ।

क्लबले आगामी जुलाई ४ का दिन प्रथम युरोपेली ७-ए-साइड फुटबल प्रतियोगिता  तथा जुलाई १८ र १९ का दिन सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको भव्य आयोजना गर्ने भएको छ। हाल डेनमार्कमा १० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेको अनुमान छ।  जसले गर्दा यो प्रतियोगितामा यहाँको नेपाली समुदायको बाक्लो उपस्थिति हुने आशा गरिएको छ।

डेनमार्क सहित सम्पूर्ण युरोपमा जुलाई महिनालाई सामान्यतया गर्मीयामको लामो बिदाको रूपमा लिइन्छ। यो समयमा स्कुल, कलेज र धेरैजसो कार्यक्षेत्रहरू बन्द हुने वा फुर्सदिला हुने गर्दछन्। लामो र चिसो महिना पछि आउने न्यानो मौसममा मानिसहरू घुमघाम र मनोरञ्जनका लागि विशेष समय निकाल्ने गर्छन्।

यसै फुर्सदको समयलाई सही र रचनात्मक तरिकाले सदुपयोग गर्दै हिमालयन स्पोर्ट्स क्लबले खेलकुदको माध्यमबाट समुदायलाई जोड्ने प्रयास गरेको छ। बिदाको समयमा खेलहरू सञ्चालन हुने भएकाले यस प्रतियोगितामा डेनमार्क बाहेक युरोपका अन्य देशहरू जस्तै: नर्वे, फिनल्याण्ड र बेलायतबाट पनि नेपाली टोली र खेलप्रेमीहरूको उपस्थिति रहने अनुमान गरिएको छ।

फुटबल विश्वकप चलिरहेको हुनाले जुलाई ४ को फुटबल प्रतियोगिता र जुलाई १८-१९ को सातौँ सुपर सिक्स क्रिकेट क्रेजले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिनेछ। समर बिदाको माहोलमा परिवार र साथीभाइहरू मिलेर खेल हेर्न र रमाइलो गर्न यो एउटा उत्कृष्ट अवसर हुनेछ।

हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष दीपेन्द्र विष्टका अनुसार यी दुवै प्रतियोगिता सम्पन्न गर्नका लागि कुल लागत एक लाख डेनिस क्रोनर जति लाग्ने अनुमान गरिएको छ। विभिन्न व्यापारिक प्रतिष्ठानहरूको प्रायोजन, टिम दर्ता शुल्क, क्राउड फन्डिङ (सामुदायिक सहयोग) र विभिन्न फूड स्टलहरूबाट संकलन हुने रकमको सहयोगबाट यो प्रतियोगिता पूर्ण रूपमा सफल हुनेमा अध्यक्ष विष्ट निकै आशावादी हुनुहुन्छ।

यस ऐतिहासिक खेलकुद महोत्सवको मुख्य प्रायोजकहरूमा स्थानीय नेपाली व्यवसायहरू नेपाली भान्छा, सनसाइन बेकरी, फ्रेया सर्भिस एपिएस, एभरेष्ट नेपलिज स्ट्रिट फूड  रहेका छन्।

यसका साथै मैदानमा खेलको मज्जा लिँदै दर्शक र खेलाडीहरूले स्वादिलो नेपाली परिकारहरूको स्वाद लिन पाउनेछन्। प्रतियोगिता अवधिभर रहने फूड स्टलहरूमा आमा किचन, एभरेष्ट नेपलिज स्ट्रिट फूड, हिमालयन रुरीज फूड टेक अवे हरूको सहभागिता रहनेछ।

डायस्पोरामा रहेर एउटा नेपाली स्पोर्ट्स क्लबले यति ठूलो स्तरको प्रतियोगिता आयोजना गर्न सक्नु सम्पूर्ण प्रवासी नेपालीहरूका लागि निकै खुसी र गर्वको कुरा हो। तर यो क्लब एकै दिनमा आजको यो प्रतिष्ठित स्थितिमा आइपुगेको पक्कै पनि होइन। यसको पछाडि थुप्रै साथीहरूको अथक मिहिनेत, त्याग र अमूल्य योगदान रहेको छ। हिमालयन स्पोर्ट्स क्लबको इतिहासको पाना पल्टाएर हेर्ने हो भने निकै रोचक तथ्यहरू फेला पर्दछन्।

शुरुवाती दिनहरूमा सीमित स्रोत-साधनका बीच डेनमार्कका विभिन्न खुल्ला मैदानबाट शुरु भएको यो यात्राले आज युरोपेली स्तरकै वृहत् प्रतियोगिता आयोजना गर्ने सामर्थ्य राख्नु आफैँमा प्रेरणादायी छ। क्लबलाई यो उचाइसम्म पुर्‍याउन प्रत्येक कालखण्डमा जोडिएका पुराना खेलाडी, सल्लाहकार र खेलप्रेमी साथीहरूको अथक मिहिनेत र समर्पण नै यसको बलियो जग हो।

सन् २००७ मा डेनमार्कमा अध्ययनका लागि आएका विवेक राना, दिपेन्द्र चुडाल, शुभाशीष ओझा, नबिन पौडेल लगायत केही साथीहरूको सानो समूहबाट हिमालयन स्पोर्ट्स क्लबको सुरुवात भएको थियो। सुरुमा यो पूर्ण रूपमा अनौपचारिक रूपमा गठन गरिएको थियो। विदेशमा अध्ययन गर्दै गर्दा पढाइसँगै काम र फुर्सदको समयलाई सकारात्मक र उपयोगी बनाउने उद्देश्य यस क्लबको मुख्य आधार थियो।

समयसँगै खेलकुद र सामाजिक गतिविधिमा रुचि राख्ने अन्य नेपाली विद्यार्थी तथा युवाहरू पनि यस समूहमा जोडिन थाले। आपसी सहकार्य, मित्रता र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने माध्यमका रूपमा क्लब विस्तार हुँदै गयो। नेपालको मूल परिचय नै हिमाल भएकाले सुरुआती दिनहरूमा अनौपचारिक रूपमा यसलाई ‘हिमालयन क्लब’ भन्न थालिएको थियो। पछि सन् २००९ मा आएर डेनमार्कको स्थानीय निकाय कोपेनहेगन कम्युनमा विवेक रानाको अध्यक्षतामा यस क्लबलाई आधिकारिक रूपमा दर्ता गरिएको थियो।

यससँगै क्लबले औपचारिक संरचना पायो र आफ्ना गतिविधिहरूलाई अझ व्यवस्थित रूपमा अघि बढाउन थाल्यो। दर्तापछि नयाँ सदस्यहरूको सहभागिता पनि बढ्दै गयो।  जसले क्लबलाई अझ सशक्त र सक्रिय बनायो।

त्यही समयमा अर्कोतर्फ कृष्ण चन्द, दिपेन्द्र बिष्ट, कुशलराज अधिकारी, शुभाशीष ओझा, विप्लव अग्रहरी, नीरज पौडेल, सुवास क्षेत्री, अनिल कँडेल, भरत जि.सी. लगायतका साथीहरू फुर्सदको समय सदुपयोग गर्दै क्रिकेट खेल्ने गर्दथे। त्यो बेलाको क्रिकेट टिमको क्रिकेटप्रतिको उत्साह निकै उच्च थियो। उनीहरूको टिम बलियो मानिन्थ्यो र विभिन्न समुदायका टोलीहरू जस्तै बंगाली, भारतीय र पाकिस्तानी समूहसँग मैत्रीपूर्ण तर प्रतिस्पर्धात्मक खेलहरू खेल्दै राम्रो प्रदर्शन गरिरहेका थिए।

त्यसै अनुभव र उत्साहले उनीहरूलाई थप अगाडि बढ्न प्रेरित गर्‍यो। पछि डेनमार्क क्रिकेट एसोसिएसनमा टिम दर्ता गर्ने विषयमा छलफल हुँदा नेपाली टिमलाई एक औपचारिक प्रतियोगितामा सहभागी हुन सुझाव दिइयो। साथै, राम्रो प्रदर्शन गर्न सकेमा डिभिजन ३ मा खेल्ने अवसर पाउन सकिने जानकारी पनि दिइयो।

त्यसपछि नेपाली टिमले उक्त प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गर्‍यो। कडा प्रतिस्पर्धाका बीच उनीहरूले दोस्रो स्थान हासिल गर्न सफल भए। सो प्रतियोगितामा कृष्ण चन्दले उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘म्यान अफ द सिरिज’को उपाधि प्राप्त गरेका थिए।

त्यसपछि समयसँगै नेपाली टोलीले आफ्नो स्तर अझै माथि उठायो। प्राप्त सफलताले उत्साहित बनेका खेलाडीहरूले डेनमार्क क्रिकेट एसोसिएसन अन्तर्गत डिभिजन ३ क्रिकेट लिग खेल्ने अवसर प्राप्त गरेको थियो। त्यसपछि क्रिकेट टोलीको नामकरणका विषयमा व्यापक छलफलहरू भए। अन्ततः पहिले नै कोपेनहेगन कम्युनमा दर्ता भइसकेको ‘हिमालयन स्पोर्ट्स क्लब’ अन्तर्गत नै क्रिकेट विधालाई पनि समावेश गरी अघि बढ्नु सबैभन्दा उपयुक्त हुने निष्कर्षमा सम्पूर्ण साथीहरू एकमत भए। यही सर्वसम्मत निर्णयसँगै क्लबमा क्रिकेट टिमदर्ताको ऐतिहासिक प्रक्रिया सफलतापूर्वक अगाडि बढेको थियो।  सन् २०१३ मा नेपाली क्रिकेट टिमलाई आधिकारिक रूपमा “हिमालयन स्पोर्ट्स क्लब” नामबाट डेनमार्क क्रिकेट एसोसिएसन (डीसीएफ)मा दर्ता गरियो। यसै यात्राको फलस्वरूप, हिमालयन स्पोर्ट्स क्लबको क्रिकेट टिमले सन् २०१४ देखि नै आधिकारिक रूपमा डेनिस क्रिकेट लिगको डिभिजन २ र डिभिजन ४ मा समेत व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्न थालेको थियो।

डेनमार्कमा क्रिकेट खेलका लागि सरकारी स्तरबाट खासै ठूलो लगानी वा विशेष सहयोग उपलब्ध भएको देखिँदैन। यस्तो अवस्थामा लिगमा टोली दर्ता गर्ने शुल्कदेखि लिएर खेलाडीहरूको जर्सी  र खेलमा प्रयोग हुने क्रिकेट बल जस्ता आधारभूत सामग्रीहरूको खर्च समेत खेलाडी र क्लब आफैँले व्यक्तिगत रूपमा जोहो गर्दै आउनुपरेको यथार्थ छ।

सन् २०१५ तिर नेपालीहरू बिस्तारै कोपनहेगनमा आफ्नो अवस्थालाई अझ मजबुत बनाउँदै गएका थिए। त्यसै क्रममा उनीहरूबीच आपसी सम्बन्ध र सामाजिक गतिविधिहरू पनि झन् सक्रिय हुँदै गयो। फुर्सदको समयमा फुटबल, क्रिकेट, भलिबल र ब्याडमिन्टन जस्ता खेलहरू नियमित रूपमा खेलिन थालिएको थियो। यी खेलहरूले नेपाली समुदायभित्र एकता, स्वास्थ्य र मनोरञ्जनलाई बढावा दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। विशेष गरी खेलकुदमार्फत आपसी सम्बन्ध अझ मजबुत बन्दै गयो र समुदायमा सक्रिय जीवनशैली विकास हुँदै गयो।

सन् २०१७ मा शिव कार्की हिमालयन स्पोर्ट्स क्लबको अध्यक्षको रूपमा चयन हुनुभयो। शिव कार्कीको नेतृत्वमा क्लबले अझ संगठित रूपमा खेलकुद गतिविधिहरू विस्तार गर्न थाल्यो। सन् २०१८ मा कुशलराज अधिकारी, विप्लव अग्रहरी, अनिल कँडेल र कृष्ण चन्दको व्यक्तिगत पहलमा कोपनहेगनमा पहिलो पटक सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सुरु गरिएको थियो। टेनिस बल प्रयोग गरी खेलिएको यो प्रतियोगिता क्रिकेट प्रेमी नेपाली समुदायमा निकै लोकप्रिय बनेको थियो।

तत्पश्चात्, तत्कालीन अध्यक्ष शिव कार्कीको पहलमा सन् २०१९ मा सुपर सिक्स क्रिकेटको दोस्रो संस्करणलाई हिमालयन स्पोर्ट्स क्लबको छातामुनि सञ्चालन गर्ने गरी सबैलाई समेटिएको थियो। यस टुर्नामेन्टको मुख्य उद्देश्य केवल प्रतियोगिता गराउनु मात्र नभई हिमालयन स्पोर्ट्स क्लबको डिभिजन २ तथा ४ का लागि नयाँ खेलाडीहरू स्काउटिङ गर्ने पनि थियो। यस पहलले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एक उत्कृष्ट प्लेटफर्म प्रदान गरेको थियो।

डेनमार्क क्रिकेट एसोसिएसनले सन् २०१६ मा आमागरमा हिमालयन स्पोर्ट्स क्लबका लागि क्रिकेट मैदान उपलब्ध गराएको थियो।  जुन सन् २०१८ सम्म पूर्ण रूपमा निःशुल्क थियो। तर, सन् २०१९ देखि एसोसिएसनले मैदान प्रयोग गरेबापत शुल्क लिन थालेको थियो। त्यससमयमा मैदानको शुल्क लाग्ने जानकारी स्पष्ट रूपमा प्राप्त नहुँदा हिमालयन स्पोर्ट्स क्लबले डेनमार्क क्रिकेट एसोसिएसनबाट जरिवाना समेत बेहोर्नुपरेको थियो।

कुनै पनि क्लब स्वतःस्फूर्त रूपमा सञ्चालन हुनका लागि त्यसको आम्दानी नियमित हुनु आवश्यक हुन्छ।  तर हिमालयन स्पोर्ट्स क्लबको आम्दानीको कुनै स्रोत थिएन। खेलाडी तथा शुभचिन्तकहरूबाट सङ्कलित सहयोग र आवश्यक परेको अवस्थामा क्लबका तत्कालीन पदाधिकारीहरूले आफ्नो व्यक्तिगत खर्चबाट क्लब सञ्चालन गर्दै आएका थिए र यो क्रम अझै पनि जारी नै छ।

क्रिकेटमा मात्र नभई फुटबलमा पनि हिमालयन स्पोर्ट्स क्लबले डेनमार्कमा आफूलाई सधैँ एउटा बलियो टिमको रूपमा स्थापित गर्दै आएको छ। क्लबको फुटबल टिमले डेनमार्क भित्र आयोजना हुने विभिन्न आन्तरिक प्रतियोगिताहरूमा मात्र नभएर छिमेकी देशहरू स्वीडेन र नर्वेमा हुने युरोपेली स्तरका प्रतिष्ठित टूर्नामेन्टहरूमा समेत सधैँ अब्बल प्रदर्शन गर्दै आफ्नो श्रेष्ठता प्रमाणित गर्दै आएको छ।

क्लबको नेतृत्व यात्राकै क्रममा, सन् २०२२ मा तत्कालीन अध्यक्ष शिव कार्कीले आफ्नो कार्यकाल पूरा गरी जिम्मेवारीबाट विश्राम लिएसँगै शुभाशीष ओझाले क्लबको नयाँ अध्यक्षका रूपमा कार्यभार सम्हाल्नुभएको थियो। त्यसैगरी, सन् २०२४ देखि भने दीपेन्द्र विष्टले क्लबको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ र उहाँकै नेतृत्वमा हाल क्लबका गतिविधिहरू अगाडि बढिरहेका छन्। अहिले क्रिकेट कोअर्डिनेटरको रूपमा कृष्ण चन्द र फुटबल कोअर्डिनेटरको रूपमा शिव कार्कीले जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।

क्रिकेट कोअर्डिनेटर चन्दका अनुसार क्लबले बालबालिकाहरूका लागि क्रिकेट प्रशिक्षण सञ्चालन गरिरहेको छ। साथै, आगामी वर्ष किड्स क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने योजना समेत रहेको जानकारी गराउनुभएको छ।

 

 

 

 

 

 

 

 

सीके राउत भन्छन्- हाम्रा प्रधानमन्त्री अलग हि लेभलका बन्दा हे

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यक्तित्वको खुलेर प्रशंसा गरेका छन्।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहलाई ‘अलग लेभलका बन्दा’ (बेग्लै स्तरको मान्छे) बताएका हुन्।

डा. राउतले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै भने, ‘हाम्रा प्रधानमन्त्री स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस हुनुहुन्छ। उहाँ युवा हुनुहुन्छ र सबैको लोकप्रिय हुनुहुन्छ।’

उनले विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री शाहले पुरानो सोचभन्दा माथि उठेर समस्याको समाधान खोज्ने क्षमता राखेको बताए।

रास्वपाको महाधिवेशनलाई उनले क्रान्तिको महोत्सव भने। डा. राउतले सभापति रवि लामिछानेको त्याग र तपस्याको मुक्तकण्ठले प्रशंसा गरे।

उनले सभापति लामिछानेसँगको पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘रविजीसँग मेरो चिनजान २०७४ सालमा सप्तरीको बाढीका बेला भएको हो। उहाँ जनतासँग सिधा कुरा गर्ने र म जनताको सेवा गर्ने मान्छेका रूपमा त्यहीँ भेटिएका थियौं। उनको त्यागका लागि एकपटक जोडले ताली बजाइदिनुस्।’

डा. राउतले आफू पनि ३३ वर्षको उमेरमा अमेरिकाको सबै सुख छाडेर देश बनाउने सपना लिएर फर्किएको बताए। पुल्चोक क्याम्पसदेखि क्याम्ब्रिज विश्वविद्यालयसम्मको अध्ययनका क्रममा आफूले सधैँ देशकै लागि सोचेको बताउँदै उनले रास्वपाले पाएको जनविश्वासलाई सही ढंगले सदुपयोग गर्न आग्रह गरे।

उनले भने, ‘हामीले किसान आन्दोलन गर्‍यौं, राइट टु रिकल र नो भोटको एजेन्डा ल्यायौं, तर त्यो सौभाग्य आज तपाईंहरूले पाउनुभएको छ।’

नेपालको समस्या स्रोतको अभाव होइन, गलत प्रोत्साहन संरचना हो: वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रेहको बताएका छन्।

चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिमा इमानदार मानिसलाई प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बनेको टिप्पणी गरे।

उनले भने, ‘हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो। व्यवसायमा नवप्रवर्तन गर्न कठिन छ, तर शक्ति केन्द्रको निकट हुनेलाई सबै कुरा सहज हुने व्यवस्थाले मुलुक पछाडि परेको छ।’

राज्य संयन्त्रले सिर्जना भन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनु भन्दा नियन्त्रण गर्ने र अवसर विस्तारको साटो पहुँचको संरक्षण गर्ने संस्कार विकास गरेको उनको तर्क थियो।

रास्वपाको राजनीतिक उद्देश्य केवल सरकार फेर्नु मात्र नभई समग्र राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको उनले सुनाए।

उपसभापति वाग्लेले रास्वपाले भागबन्डाको राजनीति अन्त्य गरी ‘मेरिटोक्रेसी’ मा आधारित शासन व्यवस्था स्थापना गर्न चाहेको बताए।

‘हामी विवेक, विधि र नियममा आधारित शासनतर्फ जान चाहन्छौं,’ उनले भने, ‘नागरिक केन्द्रित लोकतन्त्र नै हाम्रो गन्तव्य हो।’

रास्वपा अब आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइरहेको उनले बताए। नयाँ पुस्ताले प्रश्न मात्र सोध्ने नभई उत्तर पनि दिन सक्ने, विरोध मात्र नगरी शासन पनि चलाउन सक्ने र सपना मात्र नदेखाई परिणाम पनि दिन सक्ने उनको दाबी थियो।

राहदानी छपाइ प्रकरण : अख्तियारले लियो नारायणकाजी श्रेष्ठसँग बयान

विद्युतीय राहदानी छपाइ अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग बयान लिएको छ।

आयोगका अनुसन्धान अधिकृतहरूले राहदानी खरिद तथा ठेक्का प्रक्रियासम्बन्धी विषयमा श्रेष्ठसँग सोधपुछ गरेका हुन्। श्रेष्ठ २०८० फागुनदेखि पुष्पकमल दाहाल तृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए। उनी यसअघि पनि २०६८ सालमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

यसै प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई पनि बयानका लागि तीन दिनको म्याद दिएको थियो। आयोगले असार २ गते उनको बुढानीलकण्ठस्थित निवासमा म्याद टाँस गरेको भए पनि उनी उपस्थित नभएको जनाइएको छ।

राहदानी विभागले २०८१ मंसिरमा पाँच वर्षका लागि ६४ लाख थान विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। त्यसका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ फागुन ९ गते विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्यांकन समिति गठन गरेकी थिइन्।

सोही दिन सूचना प्रविधि निर्देशक सुनील केसीको नेतृत्वमा प्राविधिक उपसमिति पनि गठन गरिएको थियो।

रास्वपा महाधिवेशन : गगन थापादेखि बाबुराम भट्टराईसम्म उपस्थित

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरेका छन् । लामिछाने र शाहले घण्टी बजाएर महाधिवशेनको औपचारिक शुभारम्भ गरेका हुन् ।

महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन कुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता बर्षमान पुन, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत अन्य दलका नेताहरु सहभागी भएका छन् । महाधिवेशन अन्तर्गत बन्द सत्रमा राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन प्रस्तुत हुने रास्वपाले जनाएको छ ।

महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन् । रास्वपाले सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चयन गरेको हो । प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि रास्वपाले चुनावको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

बालेन र रविसँगै गगनले पनि बजाए घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।

शनिबार प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा आमन्त्रित नेपाली कांग्रेसका समापति गगन थापाले समेत घण्टी बजाएर रास्वपाको महाधिवेशनमा ऐक्यबद्धता जनाएका थिए।

भरतपुरमा आयोजित उद्घाटन समारोहमा मुसलधारे वर्षाका बीच पनि उत्साहपूर्ण वातावरण देखिएको छ।

रास्वपाको निर्वाचन तालिका सार्बजनिक

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।

तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ। यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ। उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ।

यही असार ९ गते मङ्लबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ। जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने बताए। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ।

यस्तै, पार्टी पदाधिकारीका लागि रु ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ। महाधिवेशनमा ४,२११ जना प्रतिनिधि छन् ।

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका छन्।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पी एस गुरुङ र महासचिव शङ्कर पोखरेल सहभागी सुझाव संकलनका लागी शनिबार आयोजित कार्यक्रममा निर्धक्कसँग जिल्लाका, प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।

पहिलो पटक यसरी आफ्नो धारणा निर्धक्कसँग राख्न पाएको सहभागी एक नेताले बताए। ‘अधिकांश सहभागीले पार्टी पुनर्गठन हुनुपर्ने आवाज सशक्त रूपमा उठाएका छन्,’उनले भने,‘ पार्टीमा यसरी आफ्नो धारणा निर्धक्क सँग राख्न पाएको यो पहिलो पटक हो, यसलाई पनि उपलब्धि नै मान्नुपर्छ’।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको सुझाव संकलन कार्यक्रम शनिवार करिब १३ घण्टा चलेको थियो।

कार्यक्रमको सुरुमै अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा सम्बोधन गरेका थिए। अध्यक्ष ओलीले सुझाव संकलनका नाममा कार्यकर्तालाई तलसम्म विभाजन गर्ने अभियान थालिएको बताएका थिए। पार्टी एकता कमजोर हुने कार्यक्रम नगर भन्दा पनि विभिन्न खालका मानसिकता भएकाले आफूलाई हटाउन राष्ट्रिय अभियान चलाएको उनले भनेका थिए।

करिब १ घण्टा लामो सम्बाेधन गरेका अध्यक्ष ओलीले सुझाव संकलनका नाममा आएकालाई धेरै महत्त्व नदिई आफ्ना कुरा निर्धक्क सँग राख्न भनेका थिए। यो डोरी धेरै तन्काएमा टुट्न सक्ने भन्दै उनले पार्टी एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका थिए। पार्टीलाई चौतर्फी घेराबन्दी भएको उल्लेख गर्दै अहिले आफूले अध्यक्ष नछोड्ने उनले भनेको सहभागीले बताएका छन्।

अध्यक्ष ओलीको सम्बोधन पछि सहभागीले सुझाव प्रस्तुत गरेका थिए। जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्य गरेर कार्यक्रममा ४६ जना सहभागीले सुझाव प्रस्तुत गरेका थिए।

अध्यक्ष ओलीको कुरा सुनेका अधिकांश सहभागीले उनको भनाई विपरीत पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका थिए। केही सहभागी भने ओलीको समर्थनमा बोलेका थिए।

कैलाली अध्यक्ष यज्ञराज ढुङ्गाना र डोटीका अध्यक्ष मञ्जु मलासीले ओलीको समर्थनमा धारणा राखेका थिए। कैलाली र डोटी जिल्लाका अन्य पदाधिकारीले भने पुनर्गठन हुनुपर्ने राय व्यक्त गरेका थिए।

बाजुराका अध्यक्ष लालबहादुर ओलीले अध्यक्ष ओली मात्र नभई सबै पदाधिकारीले बिदा हुनुपर्ने धारणा राखेका थिए। अछाम, डडेलधुरा र बाजुराले पुनर्गठन हुनुपर्ने भनेर लिखित प्रतिवेदन नै बुझाएका छन्।

अध्यक्ष ओलीले मात्र नभई पदाधिकारी सबैले पार्टीको यो अवस्था पुग्नुको दोषको जिम्मा लिनुपर्ने आवाज पनि बलियो रूपमा कार्यक्रममा उठेको सहभागीले बताएका छन्। ‘अध्यक्ष मात्र नभई सवैका गल्ती छन्, सबैले आफ्नो गल्तीको महसुस गर्नु पर्छ र पार्टी पुनर्गठन तलदेखि माथि सम्म हुनुपर्छ भन्ने सहभागीको राय थियो’। सहभागी प्रदेशका एक नेताले भने,‘नयाँ ढङ्गले अघि जानुपर्छ, पार्टी एकताको विकल्प छैन, पार्टी विभाजन गर्नु हुदैन’।

वडा तह सम्म पार्टी पुनर्गठन हुनुपर्ने आवाज पनि उठेको छ। कार्यक्रममा केही सहभागीले नेपाली काँग्रेससँग मिलेर सरकारमा जानु गलत भएको पनि बताएका थिए। लोकतन्त्रमा संसदमा सबैभन्दा ठुलो दल र दोस्रो दल मिलेर सरकार बनाउनु उचित हुँदैन, सरकारमा जाने निर्णय गलत भएको आवाज पनि सहभागीले उठाएका थिए।

प्रदेश अध्यक्ष कृष्णराज जैशी, सचिव, उपसचिवले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका थिए। केन्द्रको हस्तक्षेप धेरै भएको आवाज पनि अध्यक्ष जैशीले उठाएका थिए।

अधिकांश केन्द्रीय सदस्य पुनर्गठनको पक्षमा

नेता कर्ण बहादुर थापा, सुदूरपश्चिम प्रदेशका इन्चार्ज दामोदर भण्डारी, केन्द्रिय सदस्यहरू सन्तोष शर्मा थापा, कमला ओली र गौरीशङ्कर चौधरी, कृपा राना र कमला बोहराले ले पार्टी पुनर्गठन हुनुपर्ने धारणा राखेका थिए। भने नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले भने संस्थागत निर्णयको पक्षमा रहेको धारणा राखेका थिए।

यसै गरी केन्द्रीय सदस्य नरेश रोकाय र गोविन्द गिरीले पुनर्गठनको विकल्प नभएको भन्दै सिङ्गो पार्टी कमिटी नै पुनर्गठन हुनुपर्ने आवाज उठाएका थिए। ओलीलाई मात्र दोष थुपारेर तपाईँहरू उम्किन पाउनु हुन्न भनेर पदाधिकारीलाई प्रति पनि उनीहरूले आक्रोश पोखेका थिए। टिकट वितरण समेत गलत भएको सहभागीले आवाज उठाएका थिए।

केन्द्रीय सदस्य चक्र मल्लले दोषी ओली मात्र नभएको उल्लेख गर्दै राजीनामा दिएमा ओली मात्र नभई सबै पदाधिकारीले दिनुपर्ने धारणा राखे।

कार्य विभाजनको विरोध

यसै गरी नेकपा एमालेले गरेको कार्य विभाजनको पनि कार्यक्रममा विरोध भएको छ।  केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाले जनताको वरिपरि रहनेलाई नभई नेताको वरिपरि रहनेलाई जिम्मेवारी र अवसर दिइएको बताएका थिए। नेताको वरिपरि र जनताको वरिपरि हुने बिचको फरक छुट्टाउनु पर्ने उनको भनाई थियो । पार्टी विभाजन हुनु नहुने उनले धारणा राखेका थिए।

कार्यदलका संयोजक थापा लगायतका सुझाव संकलन गर्न आएका नेताहरूले शनिबार सहभागीका कुरा सुने पनि आफ्ना धारणा राखेनन्।sa

एकै मञ्‍चमा देखिँदै बालेन-रवि र गगन

काठ्माण्डौ- आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेर अघि मात्र चितवन पुगेका छन् भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन्।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन्।

यसैबिच, आज माहधिवेशनको उद्घाटन समारोहको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछाने र गगन थापा एकै मञ्चमा देखिने छन्। गगनले नेपाली कांग्रेसको तर्फबाट शुभकामना मन्तव्य राख्ने छन्।

गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा सङ्गठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।’

थापाले थप भनेका छन्– ‘यो महाधिवेशन रास्वपाका लागि विचार, सङ्गठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो। यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जबाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।’

बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

धनगढी । बाजुरामा बस दुर्घटना भएको छ । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए ।

उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । बसमा ३५ जना सवार रहेको कार्कीले बताए ।

बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

४ वर्षमा हामीले आम नागरिकको मन जित्यौं : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्र र संविधानको मजबुतीका लागि आफूहरू नचुक्ने बताएका छन्।

चितवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान बलियो बनाउनका लागि आफूहरू होसियारीका साथ लागि परेको बताए। उनले विगतमा मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग र बलिदानको सम्मान गर्नुपर्ने समेत बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, संविधान, मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग, बलिदान, संघर्षको सम्मानको जगमा हामीहरू उभिएका छौँ,’ केन्द्रीय समितिलाई सम्बोधन गर्दै लामिछानेले भने ‘हिजोको त्याग र बलिदानीको उजाइको काँधमा उभिएको हुँदा लोकतन्त्रको मूल्य र  मान्यताबाट लोकतन्त्रको प्रतिबद्धताबाट कहिल्यै विमुख हुने छैनौं।’

उनले महाधिवेशनमा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन संस्थापक सभापतिको हैसियतमा आफूले गरेको भूमिकाको आम पार्टी कार्यकर्ताले मूल्यांकन गर्ने विषय रहेको बताए। उनले निष्ठा र आन्तरिक लोकतन्त्रमा कहिल्यै सम्झौता नगरेको समेत स्पष्ट पारे।

उनले होसियारीका साथ नयाँ कदम चाल्नुपर्ने बताउँदै आम नागरिकको चाहना अनुसार अघि बढ्नुपर्ने बताए। ‘हामी होसियारीका साथ कदम चाल्नुपर्ने हुन्छ। अबको हाम्रो जिम्मेवारी हिजोको भन्दा फरक छ। हाम्रै  आँखाबाट हाम्रै हुटहुटीबाट अभिव्यक्तिबाट देशले एउटा सपना देख्न सुरु गरेको छ,’ उनले भने  ‘एउटा युग पर्खेर  हाम्रा माध्यमबाट देशले समृद्धि , सुशासन र सामाजिक न्यायको सपना देखेको छ। यो सपना पुरा गर्नका लागि हामी महाधिवेशनपछि जुन भूमिकामा रहे तापनि जिम्मेवार नागरिकका रूपमा रहन आग्रह गर्छु।‘

सभापति लामिछानेले पार्टी दर्ता गराउन जाँदा निर्वाचन आयोगमा २१, २२ वटा नागरिकता बोकेर गएको सम्झना समेत गरे।  ‘मेरो कार्यकक्षमै हस्ताक्षर भए यही कोठामा भित्र कयौँ निर्णय भए। पार्टीको महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर भए। यही मलाई गिरफ्तार गर्न प्रहरी भित्र छिरे,’ उनले भने  ‘यहाँसम्म आइपुग्दा अनेक भोगाइहरू जीवनमा जस्तै पार्टीमा पनि व्यहोर्न पर्यो।’

उनले मान्छेको जीवन र पार्टीको जिवनमा उतारचढाबहरू हुने बताउँदै उतारचढाबको बीचमा चार वर्षको समय बिताएको बताए। रविले भावुक हुँदै भने ‘यो चार वर्षमा हामीले आम नागरिकको मन जित्यौँ। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन बन्यो।’

सरकारको १०० दिने समीक्षा कांग्रेसले गर्ने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको १०० दिनको कार्यसम्पादनको औपचारिक समीक्षा गर्ने भएको छ।

शनिबार सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारका प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे गहन विश्लेषण गरी आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको उक्त बैठकले सरकार गठन भएको १०० दिन पुग्दै गर्दा यस अवधिमा भएका कामकारबाही र उपलब्धिहरूको वस्तुगत समीक्षा गर्ने निष्कर्ष निकालेको छ।

बैठकपछि महामन्त्री प्रदीप पौडेलले सरकारका वाचाहरू र यथार्थबीचको खाडलका विषयमा संसदीय दलले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने जानकारी दिए।

बैठकले संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसद्मा कांग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।

महामन्त्री पौडेलका अनुसार राष्ट्रिय महत्त्वका विषय र जनजीविकाका सरोकारलाई सदनमा सशक्त ढंगले प्रस्तुत गर्न सांसदहरूलाई आवश्यक सहजीकरण गरिनेछ।

‘संसदीय दललाई कसरी प्रभावकारी बनाउने र पार्टीसँगको समन्वयलाई कसरी सहज बनाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ,’ उनले भने, ‘जनताको आवाजलाई संसद्सम्म पुर्‍याउन पार्टीले संसदीय दललाई थप सहयोग गर्नेछ।’

प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएको भनी भइरहेका टिप्पणीहरूको महामन्त्री पौडेलले खण्डन गरे। कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको जिकिर गर्दै उनले सदनमा संसदीय दलका नेता र सांसदहरूले सक्रियताका साथ आवाज उठाइरहेको दाबी गरे।

सरकारले प्रतिपक्षको आवाजलाई नजरअन्दाज गरे त्यसको अन्तिम मूल्यांकन जनताले गर्ने उनको तर्क थियो। पार्टीको आन्तरिक व्यवस्थापन र देखिएका असन्तुष्टिका सन्दर्भमा महामन्त्री पौडेलले कांग्रेसजस्तो लामो इतिहास बोकेको ठुलो दलमा व्यक्ति व्यवस्थापनको चुनौती रहनु स्वाभाविक भएको स्वीकार गरे।

सरकारको अनधिकृत कार्यकारी भूमिका घातक : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको अनियमित र अनधिकृत ढङ्गको कार्यकारी भूमिकाको अभ्यास घातक रहेको बताएको छ ।
राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शनिबार एक विज्ञप्ती जारी गर्दै सरकारको अनधिकृत ढंगको कार्यकारी भूमिकाको अभ्यासका कारण निजामती कर्मचारी संयन्त्र,  स्वतन्त्र संवैधानिक निकायहरू समेत डर, त्रास र धम्कीको त्रासमा रहनु परेको र यस्ता समाचारहरू दिनहुँजसो सार्वजनिक भइरहेको बताएका छन् ।

पार्टीले सामान्य जस्तो लागे पनि यो प्रवृत्ति घातक र अनुचित छ ठहर गरेको उनले जनाएका छन् । राप्रपाले सरकारका गतिविधिहरुको आलोचना गर्दै विभिन्न सात बुँदे माग समेत अगाडि सारेको छ ।  यस्तै राप्रपाले बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरूलाई परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिका पारित गरिएको छ ।

जसअनुसार–
क) आगामी भाद्र मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
ख) आगामी असोज १५ देखि असोज २८ गतेसम्म सात वटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने ।
ग) सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भाद्र मसान्तसम्म अभियानका रूपमा सञ्चालन गर्ने ।
घ) आगामी कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्म क्षेत्रीय निर्वाचन समितिहरूले केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने ।
ङ) प्रदेशसभामा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने ।

यी हुन् सरकारसँग राप्रपाका सात माग
१) नेपाल सरकारले ल्याएको २०८३/८४ को बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता नागरिकका आधारभूत विषयमा समेत लगाइएको अनुचित कर फिर्ता लिन सरकारसँग राप्रपा माग गर्दछ ।

२) दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको आकासिएको मूल्यवृद्धिबाट आम जनताको जीवनयापन दिनानु दिन कठिनतम बन्दै गएको वर्तमान अवस्थालाई ध्यान दिई जनताको जीवनयापन सहज बनाउन तत्काल मूल्यवृद्धि नियन्त्रण एवं बजारको प्रभावकारी अनुगमन गर्न राप्रपा सरकारसँग जोडदार माग गर्दछ ।

३) वैकल्पिक आवास, पुनर्स्थापनाको योजना र समयमा उचित सूचना नदिई काठमाडौंका नदी किनाराका भूमिहीनहरूको बस्तीमा डोजर प्रयोग गरी हटाइएको छ । वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी महिला र बालबालिकाको न्यूनतम मानव अधिकारको पनि ख्याल गरिएको छैन । विस्थापित वास्तविक भूमिहीनहरूलाई यथाशीघ्र व्यवस्थित पुनर्वासको व्यवस्था गर्न राप्रपा सरकारसँग माग गर्दछ ।

४) पहिले अनुसन्धान र अनुसन्धानका आधारमा नियन्त्रण गर्नुपर्ने मान्यता विपरीत सरकारले उद्योगी व्यवसायीमाथि लहडका आधारमा जथाभावी धरपकड गर्दा निजी क्षेत्रलाई प्रोत्साहन होइन, बरु आतंकित र निरुत्साहित तुल्याउँछ भन्ने राप्रपाको धारणा छ । कानुनसम्मत प्रभावकारी नियमन गरी निजी क्षेत्रलाई भय र त्रासबाट मुक्त तुल्याउन राप्रपा सरकारको ध्यानाकर्षण गराउँछ ।

५) राप्रपा चिया क्षेत्रमा देखिएको समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछ । त्यसै गरी धान रोपाइँको मुख्य सिजन सुरु भइसक्दा पनि देशभरका किसानले सहज र पर्याप्त रासायनिक मल नपाएको अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै मलको सहज आपूर्तिको व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँछ ।

६) राप्रपाको केन्द्रीय महाधिवेशन २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

७) केन्द्रीय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।

रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् ।

रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।

५ हजारका दरले प्रतिनिधिहरूबाट मात्रै १ करोड ९९ लाख ५० हजार रकम उठेको छ ।

उक्त तथ्यांक निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेको पनि उनले बताएकी छिन् ।

रास्वपाको महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ ।

गर्मी छ, टन्न पानी पिउनुहोला : तोसिमा

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

महाधिवेशन स्वास्थ्य व्यवस्था उप-समिति संयोजक डा. तोशिमा कार्कीले अत्यधिक गर्मीका कारण स्वास्थ्य जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेकी हुन्।

चितवनको बढ्दो तापक्रमलाई मध्यनजर गर्दै संयोजक डा. कार्कीले महाधिवेशन स्थलमा रहेका सबैलाई पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्न सुझाव दिइन्। ‘गर्मी निकै बढेको छ, त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्दै टन्न पानी पिउनुहोला,’ डा. कार्कीले भनिन्।

महाधिवेशन अवधिभर सहभागीहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन पार्टीले तीन फरक स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ। डा. कार्कीका अनुसार महाधिवेशनको उद्घाटन सत्र र बन्दसत्र हुने मुख्य स्थानहरूमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।

कुनै पनि सहभागीलाई स्वास्थ्यमा समस्या देखिएमा वा असहज महसुस भएमा तत्काल नजिकैको हेल्थ डेस्कमा सम्पर्क गर्न उप-समितिले आग्रह गरेको छ। महाधिवेशनमा देशभरबाट हजारौंको संख्यामा उपस्थिति रहने भएकाले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको रास्वपाले जनाएको छ।

कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण छ : शिक्षामन्त्री

काठ्माण्डौ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका छन्।

शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका हुन्।

कृषिमा लगानी गर्नुपर्नेमा पटक पटक जोड दिए पनि त्यसअनुसार लगानी गर्न नसकेकाले अव नयाँ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए।

उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन अन्य विश्वविद्यालयसँगको समन्वयमा आफूले ध्यान दिने धारणा राखे।

समारोहमा विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका थिए। जसमध्ये स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन्।

आन्तरिक लोकतन्त्र र विधिमा सम्झौता हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्।

प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

बैठकलाई सम्बोधन गर्ने क्रममा केही भावुक देखिएका लामिछानेले पार्टी स्थापनादेखि अहिलेसम्मको यात्रा चुनौतीपूर्ण रहेको स्मरण गरे। निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदाका सुरुवाती दिन र समावेशितालाई ध्यान दिँदै आवश्यक २१ जना सदस्य जुटाउन गरिएको संघर्षले आफूलाई आज गौरवान्वित तुल्याएको उनको भनाइ थियो।

‘पार्टी स्थापनाको समयमा हामीले जुन जगबाट यात्रा सुरु गरेका थियौं, आज यहाँसम्म आइपुग्दा यो सफलता सबैको सामूहिक प्रयासको प्रतिफल हो,’ उनले भने।

सभापति लामिछानेले महाधिवेशनले पार्टीलाई वैधानिकता र संस्थागत सुदृढिकरणतर्फ लैजाने महत्त्वपूर्ण खुड्किलो भएको उल्लेख गरे। केही समयअगावै महाधिवेशन सम्पन्न गर्ने तयारी भए पनि विभिन्न राजनीतिक र कानुनी आरोह–अवरोहका कारण ढिलाइ भएको उनले स्वीकार गरे।

उनले भने, ‘हामीले महाधिवेशन केही अगाडि नै गर्नुपर्ने थियो, तर विभिन्न घटनाक्रमले यसलाई पछाडि धकेल्यो। अब थोरै अनुकूलता मिल्नेबित्तिकै हामी महाधिवेशनको प्रक्रियामा प्रवेश गरेका छौं।’

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा उनले जोड दिए। संस्थापक सभापतिका रूपमा आफूले पार्टीका साथीहरूको अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता जनाउँदै उनले भने, ‘आन्तरिक लोकतन्त्र र निष्ठा मेरो लागि सम्झौता गर्ने विषय होइनन्। पार्टीका साथीहरूको अधिकार कुण्ठित भयो भने त्यसले ढिलो-चाँडो दुर्घटना निम्त्याउँछ। त्यसैले हामी होसियारी र सुझबुझका साथ अघि बढ्नुपर्छ।’

उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको मर्मलाई आत्मसात्  गर्दै अघि बढ्ने बताए। देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा लैजान रास्वपाले एउटा स्पष्ट सपना देखेको र उक्त सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा उनको आग्रह थियो।

विगतका त्याग र बलिदानको जगमा उभिएर नै आजको परिवर्तन सम्भव भएको भन्दै उनले ती उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे।

सम्बोधनका क्रममा सभापति लामिछानेले अप्ठ्यारो र संकटको समयमा साथ दिने केन्द्रीय सदस्य तथा नेता–कार्यकर्ताप्रति आभार प्रकट गरे। आफूमाथि लागेका विभिन्न आरोप र कानुनी प्रक्रियाका बेला पार्टी परिवारले देखाएको ऐक्यबद्धताले थप ऊर्जा मिलेको उनको भनाइ थियो। ‘मलाई हतकडी लगाउन प्रहरी कार्यालय छिर्दादेखि अप्ठ्यारो पर्दाका हरेक क्षणमा तपाईंहरूले जुन विश्वास देखाउनुभयो, त्यसले मलाई थप जिम्मेवार बनाएको छ,’ उनले भने।

आगामी नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन आह्वान गर्दै उनले महाधिवेशनले सक्षम नेतृत्व छनोट गर्ने विश्वास व्यक्त गरे। रास्वपाले परम्परागत राजनीतिभन्दा फरक र जनताको हितमा केन्द्रित रहेर कार्य गर्ने भएकाले यस महाधिवेशनमा सबैको चासो रहेको उनले बताए।

केन्द्रीय समितिको यो अन्तिम बैठकले महाधिवेशनका लागि प्रस्तुत गरिने विधान संशोधन र अन्य प्रतिवेदनहरूलाई अन्तिम रूप दिँदैछ।

रास्वपा केन्द्रीय समिति बैठक भरतपुरमा सुरु

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनमा सुरु भएको छ । शनिबार (असार ६) दिउँसो भरतपुरमा बैठक बसेको हो ।

पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा विभिन्न विषयमा छलफल गरिनेछ । “प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भरतपुर, चितवनमा सुरु भएको छ,” रास्वपाका प्रवक्ता मनिष झाले भनेका छन् ।

बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, विधान संशोधनलगायत विषयमा छलफल गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

१२ को नतिजाबारे शिक्षामन्त्री- प्रक्रिया मिचिएको छैन, ढिलासुस्ती मात्र हटाएका हौं

काठ्माण्डौ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि कानुनी वा प्राविधिक प्रक्रिया नमिचिएको बताएका छन्।

नतिजा असामान्य रूपमा छिटो सार्वजनिक गरिएको भन्दै विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेपछि मन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।

मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएका आवश्यक प्रक्रियाहरूलाई यथावत् राखेरै नतिजा छिटो ल्याउन सफल भएको दाबी गरे। उनका अनुसार नतिजा छिटो निकाल्नका लागि कुनै पनि विधिमा सम्झौता गरिएको छैन, बरु पुराना झन्झटिला प्रक्रियामा सुधार गरिएको छ।

‘नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया हटाइएको छैन,’ मन्त्री पोखरेलले भनेका छन्, ‘हामीले त केवल विगतको अनावश्यक ढिलासुस्तीलाई अन्त्य गरेर उचित समयमा नतिजा सार्वजनिक गरेका हौं।’

विशेष गरी उत्तरपुस्तिकाको क्रस-चेकिङको प्रक्रियामा ल्याइएको सुधारका कारण नतिजा चाँडो आएको उनको भनाइ छ।

विगतका वर्षहरूमा सबै उत्तरपुस्तिकाहरू परीक्षणपश्चात् समपरीक्षणका लागि अनिवार्य रूपमा काठमाडौं ल्याउनुपर्ने व्यवस्था थियो। यसपटक भने मन्त्रालयले उक्त व्यवस्थामा परिवर्तन गर्दै सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने गरी विकेन्द्रित नीति अवलम्बन गरेको छ। यसले गर्दा उत्तरपुस्तिका ओसारपसारमा लाग्ने ठुलो समय बचत भएको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।

नतिजा छिटो आउँदा परीक्षणको गुणस्तरमा प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै मन्त्री पोखरेलले उत्तरपुस्तिका जाँचमा कुनै हतार नगरिएको स्पष्ट पारे। उनका अनुसार यसपटक परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतको तुलनामा उल्लेख्य संख्यामा जनशक्ति परिचालन गरिएको थियो।

‘उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने प्रवृत्तिलाई हामीले नियन्त्रण गरेका हौं,’ उनले लेखेका छन्, ‘परीक्षण प्रक्रिया समयमै सुरु गरिएको हो, तर कसैलाई हतारहतार परीक्षण गर्न लगाइएको छैन। प्रशासनिक र प्रक्रियागत ढिलासुस्ती हटाउनुलाई हतारको रूपमा बुझ्नु गलत हुनेछ।’

यसैगरी, पुनर्योग शुल्क वृद्धिका सम्बन्धमा समेत मन्त्री पोखरेलले सरकारको बचाउ गरे। उक्त शुल्क वृद्धि वर्तमान सरकारको निर्णय नभई गत वर्षकै पूरक परीक्षादेखि नै लागू भइसकेको उनले जानकारी दिए।

यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन्।

मन्त्री पोखरेलले यस वर्षको नतिजा उत्साहजनक रहेको तथ्य पनि स्मरण गराए। विगतका वर्षहरूको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशतमा उल्लेख्य सुधार आएको छ। ‘गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको छ,’ मन्त्री पोखरेलले भने।

मन्त्री पोखरेलले नतिजा प्रकाशनको यो गतिलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

शिक्षा क्षेत्रमा सुधार भइरहेको छ: शिक्षामन्त्री

काठ्माण्डौ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षाको नतिजा प्रकाशनमा उठेका प्रश्नमा जवाफ दिँदै शिक्षा क्षेत्रमा सुधारका काम गरिएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताएका हुन्।

उनका अनुसार विगतमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था विगतमा भएपनि सम्बन्धित स्थानमै  समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौं ल्याउनुपर्ने बाध्यता हटेको बताए।

मन्त्री पोखरेलले उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने अवस्थालाई सुधार गरी परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताए। उनले यसलाई हतारमा गरिएको परीक्षणका रूपमा बुझ्न नहुने भन्दै आवश्यक जनशक्ति थप परिचालन गरी गुणस्तरीय रूपमा काम सम्पन्न गरिएको बताए।

उनले परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको पनि जानकारी दिए।

परीक्षा शुल्क वृद्धि सम्बन्धमा पनि उनले उक्त निर्णय वर्तमान सरकारले नगरेको भन्दै शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको र उक्त विषयमा वर्तमान सरकारले कुनै नयाँ निर्णय नगरेको बताए।

मन्त्री पोखरेलले यस वर्षको नतिजा ‘असामान्य रूपमा छिटो’ आएको नभई विगतमा देखिएको अनावश्यक ढिलाइको अवस्था सुधारिएको बताए। ‘हामीले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरेका मात्र हौँ,’  उनले लेखेका छन्।

उनले पुनः उत्तरपुस्तिका जाँचमा कुनै हतार नगरिएको स्पष्ट पार्दै समपरीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता हटाइएको, उत्तरपुस्तिका लामो समय रोक्ने अभ्यास अन्त्य गरिएको र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताए।

मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्यले पनि सुधारको संकेत गरेको बताए।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक एक घण्टा सरेको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बस्नेछ ।

भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ ।

प्रतिनिधिहरुलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक एक घण्टा सरेको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बस्नेछ ।

भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ ।

प्रतिनिधिहरुलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ ।

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

काठ्माण्डौ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक)  परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो।

बोर्डका अनुसार कक्षा १२ को मौका परीक्षा दुई दिन सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार परीक्षा साउन २ र ३ गते सञ्चालन गरिनेछ।

बोर्डले एक विषयमा मात्र अनुत्तीर्ण भई मौका परीक्षामा सहभागी हुने परीक्षार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन अर्थात् साउन २ गते परीक्षा दिनुपर्ने जनाएको छ।

कक्षा १२ को नियमित परीक्षामा न्यूनतम उत्तीर्णाङ्क हासिल गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी बोर्डले मौका परीक्षा सञ्चालन गर्न लागेको हो।

खोज्नुहोस