रास्वपा केन्द्रीय सदस्यका निम्ति ३८४ उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । बुधबार दिउँसो निर्वाचन आयोगले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

९९ केन्द्रीय सदस्यका निम्ति ३८४ जनाको उमेदवारी परेको छ । नामावली सार्वजनिकसँगै दाबीविरोध, उमेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । त्यसपछि मतदान हुने जनाइएको छ ।

Umedar-list-1782296552.jpg

भोट पाउन प्रचारमा व्यस्त रास्वपाका नेता

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ ।

रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।

अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित सांसद तथा नेतागणसमेत प्रचारप्रसारमा व्यस्त हुँदा चुनावी माहोल तातेको छ ।

पार्टीसम्बद्ध केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गरी नसकेकाले कति जना मन्त्री उम्मेदवार छन् भन्ने स्पष्ट नभए पनि केही मन्त्रीहरुलाई भ्याइनभ्याइ मत मागिरहेका छन् ।

बिहानैदेखि महाधिवेशन परिसरमा उम्मेदवारी घोषणा गरेका मन्त्री र सांसदका  शुभेच्छुक तथा कार्यकर्ता प्रचारप्रसारका  सामग्री  बाँडी मत मागिरहेको देखिन्छ । उम्मेदवारको सङ्ख्या धेरै भएको र सबैलाई चिन्न नसक्ने भएकाले मत माग्नुपरेको उनको भनाइ छ ।

महत्वपूर्ण पदमा रहेकालाई पराजित हुने डर भएकाले दुईदिन अघिदेखि नै मत माग्न थालेको बताउँदै पार्टीका केन्द्रीय सदस्य राजन गौतमले भने, “मन्त्री, सांसद र नेताहरुले निरन्तर फोन गर्दै भोट मागिरहनुभएको छ, निर्वाचनका क्रममा यसलाई स्वभाविक रुपमै लिनुपर्दछ ।”

नेता गौतमले पर्चा, पम्प्लेट, गीत, झाँकी, समाचार र सामाजिक सञ्जालको प्रयोग गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको अवस्थामा उद्योग सङघको परिसरभित्र पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री निषेध गरिएको बताए ।

रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दास्रो चरणमा हुने निर्वाचनमा उम्मेदवार पाउने व्यवस्था रहेकाले सदस्यको निर्वाचनले प्राथमिकता पाएको  रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेल बताउँछन्।

उनले महाधिवेशनमा चार हजार बढी प्रतिनिधिले मताधिकार प्रयोग गर्ने चितवन महाधिवेशनमा ९९ सदस्य पदका लागि हुने निर्वाचनमा चार सयभन्दा बढीको उम्मेदवारी पर्ने देखिएको अवस्थामा अहिले व्यापक रुपमा प्रचारप्रसार हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

राजनीतिक विश्लेषकका अनुसार रास्वपाको यसअघि प्रदेशहरुमा सम्पन्न निर्वाचनमा पार्टीका संस्थापक नेता एवं सांसदहरु समेत अप्रत्यासित रुपमा पराजित भएकाले पनि पदमा रहेकाहरु चुनाव प्रचारप्रसारमा खटिन बाध्य हुनुपरेको हो ।

पार्टीको ९९ निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान प्रक्रियामार्फत हुने निर्वाचनमा ४०० भन्दा  बढीको उम्मेदवारी परेको छ । खुलातर्फको भन्दा पनि क्लस्टरबाट धेरै सदस्य निर्वाचित हुने प्रावधान भएकाले निर्वाचन थप पेचिलो बनेको देखिन्छ ।

विष्णु पौडेलको थुनामुक्तिका लागि बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

पौडेलपत्नीले दायर गरेकाे रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको दाबीसहित थुनामुक्तिको माग गरिएको छ । बिनाप्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनलाई विशेष अदालतबाट मंगलबार सात दिनको थुना म्याद थप भएको थियो । उक्त रिटमा बिहीबार सुनुवाइको पेसी तय भएको छ ।

सेयर बजार घट्यो

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार बुधबारको कारोबारमा पनि घटेको छ । बजार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ । यस घट्दा ६२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको स्थिर रह्यो ।

चार अर्ब ४१ करोड ८६ लाख सात हजार ४८६ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड सात लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटकमा किनबेच भएको थियो ।

टक्सार पिखुवा खोला, याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । झुजुङ हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स लगायतले उच्च कमाएका छन् ।

समूहगत सूचकतर्फ फाइनान्स र ट्रेड्रिङ बढ्दा बाँकी समूह घटेका छन् ।

भोलि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठ्माण्डौ- स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन्।

उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए।

आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको उनले बताए।

स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असार ४ गतेको राष्ट्रिय सभाको राष्ट्रिय समावेशीकरणको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो।

निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचन घोषणा, समयमा आवश्यक बजेट उपलब्ध गराउने, आयोग तथा मातहतका निकायका रिक्त पद पूर्ति , मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति, आधुनिक उपकरणबाट मतपत्र छाप्ने तथा गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी संयन्त्र विकास विषयमा सुझावहरू प्रस्तुत भएका थिए।

दुई गोल गरेपछि रोनाल्डोले भने : ‘आई एम ब्याक’

काठ्माण्डौ- क्रिस्टियानो रोनाल्डोले अन्ततः उज्बेकिस्तानविरुद्ध पोर्चुगलका लागि दुई गोल गरेर विश्वकपमा गोल गर्ने क्लबमा सामेल भएका छन्।

आफ्नो कठिन हप्तालाई पछाडि पार्दै र ट्रोलको शिकारबिच उनले शानदार कमब्याक गरेका हुन्।

पहिलो हाफमा रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले मंगलबार ५–० को जित हासिल गर्‍यो। यसले खेलाडी र टोली दुवैलाई राहत दियो। टोलीले आफ्नो पहिलो खेलमा कंगोसँग १–१ को निराशाजनक बराबरी खेलेपछि ठूलो आलोचना खेपेको थियो।

लियोनेल मेस्सी, एर्लिङ हालान्ड र केलियन एमबाप्पेले गोल गरेपछि रोनाल्डो दबाबमा परेका थिए। उज्बेकिस्तानविरुद्ध दुई गोल गरेसँगै उनी छ विश्वकपमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

दुई गोलपछि मैदानबाट बाहिर निस्कँदा रोनाल्डोले टेलिभिजन क्यामेरामा ‘म फर्किएँ !’ (आई एम ब्याक) भनेर चिच्याएको देखिन्थ्यो।

यसबारे पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई पनि भावना राख्न अनुमति रहेको बताए। ‘उनी एक मानव हुन् र उनलाई भावना राख्न अनुमति छ,’ उनले भने, ‘मैले कहिल्यै त्यस्तो खेलाडीसँग काम गरेको छैन जसले भन्छ, आज जे भएपनि भोलि उनी फेरि काम गर्न भोका छन्।’

प्रशिक्षक मार्टिनेजले मेस्सी जस्ता खेलाडीहरूसँग रोनाल्डोको प्रतिस्पर्धा दुवै खेलाडीका लागि महत्त्वपूर्ण भएको बताए। उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने बताए।

‘मलाई विश्वास छ कि दुबै खेलाडीहरूले वर्षौंको दौडान फुटबलमा सुधार गरेका छन्। उनीहरूको प्रतिद्वन्द्विता बढ्नको लागि महत्त्वपूर्ण छ,’उनले भने, ‘रोनाल्डोे राष्ट्रिय टोलीमा एक आइकन र रोल मोडेल हुन्। मैदान र ड्रेसिङ रुममा उनको मनोवृत्ति राम्रो छ।’

उज्बेकिस्तानका प्रशिक्षक फाबियो क्यानाभारोले रोनाल्डोको प्रशंसा बाहेक अरू केही नभएको बताए। उनले भने,‘जब तपाईं रोनाल्डो विरुद्ध खेल्नुहुन्छ, तपाईं उसको लागि केहि पनि छोड्न सक्नुहुन्न। यदि तपाईंले उसलाई एक सेन्टिमिटर पनि दिनुभयो भने, उसले गोल गर्नेछ।’

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि रोनाल्डोलाई उनको ‘अविश्वसनीय उपलब्धि’ को लागि बधाई दिए र प्रतियोगिताको बाँकी खेलको लागि शुभकामना दिए।

रास्वपा महाधिवेशन : एकजनालाई भोट हाल्न १० मिनेट लाग्ने, मतपरिणाम दुई घण्टामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा केन्द्रीय सदस्यमा ३७० भन्दा धेरै उमेदवारी परेको छ । ९९ केन्दीय सदस्यका लागि ३७० भन्दा धेरैको उमेदवारी परेको हो ।

केहीमा ‘डुब्लिकेसन’ देखिएको निर्वाचन आयोगले जनाएको छ । “डुप्लिकेसन हटाउने काम चलिरहेको छ । त्योसँगै दाबी विरोधको काम चलिरहेको छ,” निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार एकजना प्रतिनिधिलाई भोट हाल्न १० मिनेट लाग्नेछ । मतपरिणाम आउन दुई घण्टा लाग्ने उनले जानकारी दिए ।

कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत प्रतिनिधि खटाएको हो ।

३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ प्रतिनिधि खटाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार ७ देखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्ने दुलालको भनाइ छ । कांग्रेसका पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले परिचयपत्र प्राप्त गरिसकेका छन् ।

एक लाख ४९ हजार ३०९ क्रियाशील सदस्यले पेस गरेको फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत् अद्यावधिकको प्रक्रियामा रहेको जनाएको थियो । कार्यवाहक मुख्यसचिव दुलालले अद्यावधिकको समय थप भएसँगै संख्या पनि बढ्ने बताए ।

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन्।

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । उनले भने, ‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु। पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु’, मन्त्री पोखरेलले भने।

प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीमा रहेका पोखरेल रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्।

मेसीको खेल हेर्न अमेरिका जाँदै अनमोल

काठमाडौं । नायक अनमोल केसी वर्ल्डकप फुटबलको म्याच हेर्न अमेरिका जाने भएका छन् । असार १४ (जुन २८) मा हुने अर्जेन्टिना र जोर्डनको खेल हर्न अनमोल भोलि (बिहीबार) अमेरिका जान लागेका हुन् ।

यो खेल असार १४ गते बिहान डलास रंगशालामा ७ः४५ बजे हुनेछ । १६ सय डलरमा उनले टिकट लिएको अनमोलनिकट स्रोतले बताएको छ ।

यही म्याचका लागि उनले ‘बाटुलो जुन’को छायांकन सकेर मंगलबार काठमाडौं फर्किएका थिए । अनमोल लियोनल मेसीको ठूलो फ्यान हुन् ।

मेसीले अर्को वर्ल्डकप खेल्ने सम्भावना न्यून रहेकाले अनमोल उनको खेल हेर्न सिनेमाको छायांकन छिटो सक्न लगाएर अमेरिका जान लागेका हुन् ।

शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ ।

गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोप चराको गणना हुँदै आएको  ।

“सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उनले भने, “यस चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) को रातो सूचीमा सङ्कटापन्न अवस्थामा राखिएको छ, यसको प्रजनन अवधि मेदेखि सेप्टेम्बर महिनासम्म रहने गर्दछ ।”

नेपालमा तोपचराका नेपाल छातीकाले तोप चरा, धर्के तोप चरा, बया तोप चरा र सुनौलो तोप चरा गरी चार प्रजाति पाइन्छन् । तीमध्ये सुनौलो तोप चरा संरक्षणका दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ । यस चराको मुख्य बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसेमैदान हो । तराईका प्राकृतिक घाँसेमैदानको विनाश, वासस्थानको सङ्कुचन तथा मानवीय गतिविधिका कारण यसको सङ्ख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौरा बताउँछन् ।

निकुञ्जमा गणनाका क्रममा सन् २०२२ मा २४८, सन् २०२३ मा २११ र सन् २०२५ मा १८४ वटा सुनौलो तोप चरा फेला परेका थिए । यसले पछिल्ला वर्षहरूमा यसको सङ्ख्या घट्दो क्रममा रहेको देखाउँछ ।

सुनौलो तोप चराको दीर्घकालीन संरक्षणका लागि प्राकृतिक घाँसेमैदानको संरक्षण, वासस्थानको उचित व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको निकुञ्जका सहायक मुख्य संरक्षण अधिकत विनयकुमार झाले बताए ।

उनका अनुसार हरेक वर्ष गरिने गणनाले यस दुर्लभ चराको अवस्था बुझ्न तथा प्रभावकारी संरक्षण योजना बनाउन महत्त्वपूर्ण आधार प्रदान गर्छ । रासस

औषधि व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

यशोदा शर्मा,

कैलाली। नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा कैलालीको ५३ औँ वार्षिकाेत्सवकाे अवसरमा सरकारी निकाय र औषधि व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा ११३ पटक रक्तदान गरिसकेका समाजसेवी दीपक उपाध्याय (नेपाल) लाई विशेष सम्मान समेत गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम बिसीले व्यवसायलाई मर्यादित बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। तर, औषधि व्यवस्था विभागले सामान्य औषधिहरूमा पनि झन्झटिलो मापदण्ड राखेर व्यवसायीलाई मारमा पारेको उनको भनाइ छ । खुला सिमानाबाट भित्रने औषधिले पनि व्यवसायीहरू मारमा पर्ने हुँदा यसको नियमन गर्न उनको माग छ । उनले भने, “खुला सिमानाबाट भित्रिने गुणस्तरहीन औषधिको नियमनमा सम्बन्धित निकायले विशेष पहल गर्नुपर्छ । यसले पनि औषधि व्यवसाय लाई प्रभावित पारेको छ ।”

कैलालीमा करिब २५० औषधि व्यवसायी रहेको उनले जानकारी दिए । सहभागी औषधि व्यवसायी र सम्बन्धित निकायबीच अन्तरक्रिया गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उनले बताए ।

औषधि व्यवस्था विभाग नेपालगन्जका निरीक्षक दिनेश न्यौपानेले सम्बन्धित ऐन कानुनको पालना नगरे मुद्दा दर्ता तथा कारबाही गर्न बाध्य हुने बताए ।औषधि जस्तो संवेदनशील क्षेत्रमा केही व्यवसायीबाट अमर्यादित काम हुनु दुःखद रहेको उनको भनाइ छ। उनले भने, “कानुनबाट भागेर कतै जान सकिँदैन। औषधी ऐनको पालना अनिवार्य हुनुपर्छ। कतिपय व्यवसाय सिलबन्दी वा निलम्बन गर्नुको उद्देश्य व्यवसायीलाई सतर्क बनाउनु मात्रै हो।”

यस्तै, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले स्वास्थ्य क्षेत्रमा व्यवसाय गर्दा ऐन कानुन पढेर तोकिएको मापदण्ड र इजाजतपत्रको अनिवार्य परिपालना गर्नुपर्नेमा जोड दिए।

आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख भीम प्रसाद काफ्लेले विगतदेखि करमा अपडेट नभएका वा करको दायरामा नआएका व्यवसायीका लागिसमेत सरकारले विशेष छुट र सहुलियतको व्यवस्था गरेको जानकारी दिए । यो सहुलियत पुष मसान्त सम्म मात्रै भएको हुँदा छुटको सदुपयोग गर्न सम्बन्धित सबैसँग समन्वय गरेर काम गर्ने उनले बताए । करछुटको सेवा पाउन सहज हुने हुँदा व्यवसायीहरूलाई ६ वर्षसम्मका व्यावसायिक कागजातहरू सुरक्षित राख्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो।

कोपेनहेगनमा सुन्दर सुदूरपश्चिम कल्याण समाजको ग्रिल कार्यक्रम सम्पन्न

कोपेनहेगन
सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको आयोजनामा ग्रिल कार्यक्रम शनिवार कोपेनहेगनको भ्याल्बी पार्कमा सम्पन्न भएको छ ।

समाजका सदस्यहरुको उल्लेख्य सहभागितामा ग्रिल कार्यक्रम अत्यन्त सौहार्दपूर्ण तथा उत्साहपूर्ण सम्पन्न भएको हो ।

समाजका अध्यक्ष निरज कठायतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण पनेरुले गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले विभिन्न प्रकारका स्वादिष्ट परिकारको स्वादसंगै आपसी भेटघाट र मनोरञ्जनको भरपुर आनन्द लिए ।
बालबालिकाहरूका आयोजना गरिएका विभिन्न खेलकुद तथा रमाइला गतिविधिहरूले थप आकर्षक बनायो ।

समाजका पूर्व अध्यक्ष कृष्ण धानुकले यस्ता कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध, एकता र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

रविले भने– मतभेद भए कोठामा मिलाऔं, सडकमा तमासा देखाउने होइन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र देखिने मतभेद र जिज्ञासाहरूलाई सार्वजनिक विवादको विषय नबनाउ निर्देशन दिएका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले परिपक्व राजनीतिक दलका रूपमा रास्वपाले आफ्ना ‘परिपक्व राजनीतिक दलका रूपमा हामीबीच भएका मनमुटाव, जिज्ञासा र प्रश्नहरूलाई आन्तरिक रूपमा छलफल गरेर टुंग्याउनुपर्छ। त्यसलाई सडकको तमासा बनाउने होइन’, उनले भने । असहमति र प्रश्नहरूलाई स्वस्थ ढंगले व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले पार्टीभित्रका मतभेदलाई सडक वा सार्वजनिक तमासाको विषय बनाउनुको सट्टा कोठाभित्र बसेर छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । लामिछानेले पार्टीभित्र रहेका मतभेद समाधान गर्ने विशिष्ट क्षमता रास्वपासँग रहेको दाबी गर्दै त्यसको उदाहरण स्वयं कार्यकर्ताले प्रस्तुत गर्नुपर्ने बताए ।

महाधिवेशनको निर्वाचन प्रक्रियाबारे बोल्दै उनले आफू कुनै उम्मेदवारको पक्ष वा विपक्षमा उभिने पक्षमा नरहेको स्पष्ट पारे। प्रतिस्पर्धा पदका लागि हुने भए पनि अन्तत: जित्ने व्यक्ति ‘घन्टी’ चिन्हको प्रतिनिधि र ‘निलो क्रान्ति’को योद्धा नै हुने उनको भनाइ थियो ।

‘कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस् । फोन–फोनमा नाम पठाउने र भित्रभित्रै समूह बनाउने काम नहोस् । एक रास्वपा, एकढिक्का रास्वपा भन्ने भावनाका साथ अघि बढौँ,’ उनले भने ।

लामिछानेले अनुशासन आयोग र निर्वाचन आयोगले महाधिवेशनका गतिविधिमाथि निगरानी गरिरहेको उल्लेख गर्दै रास्वपालाई मत दिएका ५२ लाख नागरिकले पनि पार्टीको व्यवहारलाई नियालिरहेको बताए ।

महाधिवेशनले पार्टीभित्र एकता, अनुशासन र लोकतान्त्रिक संस्कृतिको सन्देश दिने विश्वास व्यक्त गर्दै उनले प्रतिनिधिहरूले इतिहास रच्ने अवसरलाई सदुपयोग गर्ने अपेक्षा समेत राखे ।

सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन

काठमाडौँ । शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ ।  सिंहदरबारमा मङ्गलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।

उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे । उनले नजिता प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए ।

त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया सम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिब १४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिँदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने विषयमा गृहमन्त्रालयसँग छलफल अघि बढाइएको धारणा राखे । चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ।

उनले स्वदेशमा अध्ययनपछि रोजगारीको पर्याप्त व्यवस्था हुन नसक्दा नेपाली विद्यार्थीहरू अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए।

स्वदेशमा नै रोजगारीको पर्याप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरूलाई स्वदेशमा नै रोक्न सकिने आफूहरूको विश्वास रहेको उनले बताए ।

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३ / ८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति शत्तरुढ दल नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ ।

यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय नै गरेको छ ।

नेकपा एमले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट एक लौटी भएको र शत्तारुढ अर्को दललाई पुर्णरुपमा वेवासता गरेको निष्कर्ष निकालेको हो । यथा स्थितिमा सरकारको समर्थन गर्न नसकिने भन्दै प्रदेश कमिटिले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको नेकपा एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश कार्यालय धनगढीमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ । उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।  उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो । उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा पनि छापा मारेको थियो ।

कीर्तिमान तोडिएपछि क्लोस भन्छन् : मेस्सी इतिहासकै सर्वाेत्कृष्ट फुटबलर हुन्

काठमाडौं । फिफा विश्वकपमा आफ्नो कीर्तिमान तोडिएपछि जर्मनीका पूर्वफुटबलर मिरोस्लाभ क्लोसले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन् ।

क्लोसले विश्वकपमा बनाएको सर्वाधिक (१६) गोलको कीर्तिमान मेस्सीले गएराति भएकाे खेलमा तोडेका थिए । मेस्सीले विश्वकपमा १८ गोल गरिसकेका छन् । ‘मैले सधैं भन्ने गरेको छु कि मेस्सी सामान्य खेलाडी होइनन्’ रेकर्ड तोकिएपछि क्लोसले भने, ‘मेरो लागि लियोनेल मेस्सी इतिहासकै सर्वाेत्कृष्ट फुटबलर हुन् । बधाई छ, च्याम्पियन ।’

क्लोसले १२ वर्षसम्म विश्वकपको सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाममा सुरक्षित राखेका थिए । उनले सन् २००२ देखि २०१४ बीचका प्रत्येक विश्वकपमा गोल गरेका थिए ।

२००२ र २००६ को विश्वकपमा समान ५–५ गोल गरेका क्लोसले २०१० मा चार र २०१४ मा दुई गोल गरेका थिए ।

बन्द सत्र अझै बस्न नसकेको रास्वपामा चुनावको कडा नीति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो ।

त्यसैगरी, कुनै पनि पदका उम्मेद्वारका एक समर्थकले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेद्वारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ ।

त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ ।

केसीले नियमविपरीत उम्मेद्वार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेद्वारी फारम स्वतः अमान्य ठहर हुने बताए ।

यसैगरी कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थकले पार्टीको पदाधिकारी एवं सदस्य पदमा उम्मेदवारी दिन नपाउने आयोगले स्पष्ट गरेको छ ।

महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । बन्दसत्रपछि निर्वाचन प्रक्रियाअघि बढ्ने रास्वपाले जनाएको छ ।

हिजो बिहान साढे ८ बजे हुने भनेर सरेको बन्द सत्र अझै बस्न सकेको छैन ।

शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु।’

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

पूर्वपरराष्ट्रमन्त्री आरजुसहित १८ जनविरुद्ध मुद्दा दायर: आठ अर्ब हिनामिनाको दाबी

काठ्माण्डौ- राहदानी छपाइ तथा प्रणाली व्यवस्थापन ठेक्का प्रक्रियासम्बन्धी अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सोमबार अनुसन्धान सम्पन्न गरी अभियोगपत्रसहित अदालतमा मुद्दा दर्ता गरेको हो।

विशेष अदालत स्रोतका अनुसार यस प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री राणासहित कुल १८ जनालाई प्रतिवादी बनाइएको छ।

आयोगले हाल न्यायिक हिरासतमा रहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागका सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य तथा जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जनालाई अभियोगपत्रसहित अदालतमा उपस्थित गराएको छ।

अख्तियारको अनुसन्धानबाट राहदानी छपाइ प्रकरणमा करिब ८ अर्ब रुपैयाँ बराबरको हिनामिनाको निष्कर्ष निकालिएको बताइएको छ।

राहदानी विभागले २०८१ मङ्सिरमा पाँच वर्ष अवधिका लागि ६४ लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। त्यसक्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ फागुन ९ गते विभागका महानिर्देशक तीर्थराज अर्यालको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन गरेकी थिइन्।

उक्त दिन विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार दुवै समितिले तत्कालीन मन्त्रीको निर्देशनअनुसार निश्चित कम्पनीलाई ठेक्का स्वीकृत गरेको दाबी गरिएको छ।

छपाइ ठेक्का जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले प्राप्त गरेका थिए। जसमध्ये मुल्हबाउरले १ अर्ब ५५ करोड रुपैयाँको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोड रुपैयाँको ठेक्का पाएका थिए। भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा तथा मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल रहेको उल्लेख गरिएको छ।

यद्यपि, सम्झौताअनुसार राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनको काम भने अझै सुरु भएको छैन। ठेक्का प्रक्रिया र सम्झौतामा सार्वजनिक खरिद नियमावली उल्लङ्घन भएको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारलाई अनुसन्धानका लागि पहल गरेको थियो। उक्त प्रक्रियाबाट फ्रेन्च कम्पनी आइडिमिया बाहिरिएको विषय पनि अनुसन्धानको दायरामा परेको जनाइएको छ।

अनिश्चित बन्दसत्रले महाधिवेशन लम्बिने संकेत, घुमघाममा प्रधानमन्त्री

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र अनिश्चित बनेको छ। पहिलो महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन। पार्टी प्रवक्ता मनिष झाले बन्दसत्र सुरु हुन अझै एकाध घण्टा लाग्ने जानकारी दिए।

पार्टी उच्च स्रोतका अनुसार, मधेश प्रदेशका ८ मध्ये पर्साबाहेकका अन्य जिल्लाबाट प्रतिनिधि छनोट भइनसकेकाले बन्दसत्र प्रभावित भएको हो। ती जिल्लामा विवादलगायत कारण अधिवेशन हुन सकेको थिएन। सभापति रवि लामिछानेसहितले अधिवेशन पछि गर्ने गरी भरतपुरबाटै ती जिल्लाबाट प्रतिनिधि छनोटको प्रयास गरिरहेका छन्। यद्यपि सहमति हुन बाँकी रहेको ती नेताको भनाइ छ।

पहिलो महाधिवेशन भएकाले शीर्ष नेताहरु सहमतिको सन्देश दिन नेतृत्व छनोट सर्वसम्मत गराउने प्रयासमा लागेपछि पनि बन्दसत्रको कार्यतालिका प्रभावित भएको हो। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह निर्विरोध हुने लगभग पक्का भएपनि अन्य लपदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी बढी भएपछि सहमतिको प्रयास निष्कर्षमा पुग्न नसकेको हो। महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने सहमतिमा नेताहरु पुगिसकेका छन्, तर सो संख्याभन्दा बढी आकांक्षी देखिएका छन्।

बन्दसत्र अनिश्चित बनेपछि महाधिवेशन स्थलमा रहेका आकांक्षीहरु तितरबितर हुन थालेका छन्। भरतपुरको चर्को गर्मीमा अझै कति दिनसम्म रहनु पर्ने हो भन्ने अनिश्चितताका बीच उनीहरुमा अन्योल छाएको हो। इलामबाट आएका एक प्रतिनिधिले सम्पूर्ण खर्च आफैं ब्यहोरेर कहिलेसम्म भरतपुरमा बस्न सकिन्छ भन्ने यकिन गर्न नसकिएको बताए।

सहमतिको प्रयास जारी रहेकाले आजै निर्वाचन कार्यक्रम सुरु गर्ने तालिकासमेत प्रभावित हुने देखिएको छ। निर्वाचन समितिले सोमबार मनोनयनसहितका कार्यक्रम तय गर्दै मंगलबार मतदानको समय छुट्याएको थियो। तर सोमबार बन्दसत्र सुरु हुन नसके मंगलबार बन्दसत्र र मनोनयनसहितको निर्वाचन कार्यक्रम सुरु गर्ने तथा बुधबार मतदान गराउने तयारी गर्नेछ। यसले आइतबारदेखि मंगलबारसम्मका लागि तय महाधिवेशन बुधबारसम्म लम्बिनेछ।

करिब ४५ सयको हाराहारीमा अहिले पनि महाधिवेशन प्रतिनिधिहरु भरतपुरलगायत आसपासका क्षेत्रमा रहेका छन्।  तीमध्ये पनि केहीको नामावलीमा त्रुटि भेटिएपछि सच्याउन समय लागेको छ।

घुमघाममा प्रधानमन्त्री 

रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र साह महाधिवेशनमा सहमतिको प्रयास छाडेर चितवनका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा रहेका छन्। महाधिवेशनको उद्घाटन सत्रपछि कालिका नगरपालिकामा रात बिताएका उनी सोमबार बिहानै सौराहा पुगेका थिए।

परिवारसहित चितवन पुगेका उनी दिउँसो भने चितवनको अर्को पर्यटकीय क्षेत्र कसरा गएका छन्। प्रधानमन्त्री शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका थिए।

महाधिवेशनको समय लम्बिने संकेतका बीच प्रधानमन्त्री शाह सोमबार साँझ वा मंगलबार बिहान काठमाडौं फर्कने तयारीमा रहेका छन्। नागरिक दैनिकबाट 

घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको छ।

यसदिन ३५३ वटा स्क्रिप्सको ८१ लाख ३८ हजार ४३३ वटा कित्ता सेयर ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ११६ वटा स्टक्सको मूल्य मूल्य बढ्दा १४३ वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

नेप्से घटे पनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सोपान पर्माक्युटिकल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३७ करोड  मूल्य बराबरको कारोबार गर्यो। एनआएर इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ३० करोडको कारोबार गर्दा स्वाबलम्वन लघुवित्त वित्तिय संस्थाले २० करोड र आँखु खोला जलविद्युत कम्पनीले १७ करोडको कारोबार गरे।

तीनवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिए।

महामन्त्रीमा उमेदवारी दिन्छु : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारसँग उनले महामन्त्रीमा उमेदवारी दिने बताएका छन् । झा हाल कुनै पनि लाभको पदमा छैनन् ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ । भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बन्द

कैलाली । धनगढीमा अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गर्नुपरेको जनाएका छन् ।

सूचनामा असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको उल्लेख छ ।

‘बढ्दो अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकूल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ’, उपमहानगरपालिकाको सूचनामा भनिएको छ ।

धनगढी लगायतका आसपासका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको बताइएको छ ।

724589018_1676297683487133_8661224035886459636_n

फिफा विश्वकप : अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने हुँदै

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज राति समूह ‘जे’ का अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन् । यो खेल अमेरिकाको डालास रङ्गशालामा राति पौने ११ बजे शुरू हुनेछ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए । अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३–० ले हराएको थियो । यस्तै अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हराएको थियो ।

विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि यी दुई टोलीबीच दुई वटा मैत्रीपूर्ण खेल भएको थियो । सन् १९८० मा डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई ५–१ गोलले हराएको थियो । यस्तै सन् १९९० मा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएका थिए ।

अर्जेन्टिनाका मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । मेसी र जर्मनीका मिरोस्लाभ क्लोसले समान १६ गोल गरेका छन् । आजको खेलमा मेसीलाई विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ । फिफा वरीयतामा साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया २१औँ स्थानमा छन् ।

विश्वकपमा भोलि बिहान पौने ३ बजे समूह ‘आई’ का फ्रान्स र इराक खेल्दैछन् । यो खेल अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा हुनेछ । आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदा इरान नर्वेसँग ४–१ ले पराजित भएको थियो । फिफा वरीयतामा फ्रान्स दोस्रो र इराक ६०औँ स्थानमा छन् ।

विश्वकपमा बिहान पौने ६ बजे नर्वे र सेनेगल खेल्दैछन् । यो खेल अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा हुनेछ । फिफा वरीयतामा नर्वे २७औँ र सेनेगल १७औँ स्थानमा छन् ।

विश्वकपमा बिहान पौने ९ बजे समूह ‘जी’ का जोर्डन र अल्जेरिया खेल्दैछन् । यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा हुनेछ । फिफा वरीयतामा जोर्डन ६८औँ र अल्जेरिया २९औँ स्थानमा छन् ।

रास्वपा महाधिवेशन : वरिष्ठ नेताको चुनाव नहुने

काठमाडौं– रास्वपाले वरिष्ठ नेता पदमा निर्वाचन नगर्ने भएको छ। नयाँ विधानमा वरिष्ठ नेताको पद सिर्जना गरिएको छ र वालेन्द्र शाहको समूह पार्टीमा समाहित भएपछि विशेषतः उनकै लागि यो पद सिर्जना गरिएको हो।

त्यसैकारण पनि विधानमा यो पदमा निर्वाचन नहुने व्यवस्था गरिएको छ, जसलाई महाधिवेशनले अनुमोदन गर्नेछ।
चुनावका बेला बालेन समाहित हुँदा विधानमा वरिष्ठ नेता पद नभए पनि महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो।

वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने भए पनि यो पदमा चुनाव भने नहुने पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए। वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि उनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन।

खोज्नुहोस