धनगढीमा पानी सङ्कट बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी सङ्कट बढ्दै गएको छ । सुक्खायाम लम्बिँदा र जलभण्डार क्षेत्र चुरे दोहनका कारण पानी सङ्कट बढ्न थालेको हो ।  भूमिगत पानीको जलस्रोत सुक्न थालेपछि यहाँका नल्का (चापाकल), बोरिङ, डिप बोरिङमा पनि पानी कम आउन थालेका छन् ।

सुक्खा यामका कारण नल्का नै सुकेपछि खानेपानी समस्या झेल्नु परिरहेको धनगढी उपमहानगरपालिका–८ का नीराजन गिरीले बताउनुभयो । उहाँले आफ्नो नल्का सुकेपछि छिमेकीको नल्काबाट पानी बोकेर गुजारा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकीको नल्कामा अलि अलि पानी आइरहेको त्यहीँबाट बोकेर गुजारा गर्दै आएका छौँ ।” सोही वडाकै विष्णु चौधरीको समस्या पनि उस्तै छ । उहाँ पानी समस्याले गर्दा दैनिकी नै मुस्किल भएको बताउनुहुन्छ ।

मध्य असार हुन लाग्दा पनि यस वर्ष वर्षा भएको छैन । पानी नपरेपछि भूमिगत जलस्रोत धमाधम सुक्दै गएपछि किसानले रोपाइँ गर्न सकिरहेका छैनन् । रोपाइँ गरिएको खेतमा रोपो पनि पानी नपाएर सुक्न थालेको छ । धनगढी उपमहानगरपालिका–१४, स्याउले क्षेत्रमा पानी सङ्कट गहिरिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले ट्याङ्कर र दमकलमार्फत खानेपानी पु¥याउने कार्य गरिरहेको छ ।  चैतदेखि नै पानी समस्या झेलिरहेकोमा अहिले समस्या झन् बढेको फूलबारीकी उर्मिला पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी आए पनि धमिलो पानी आउँछ । हामीले छानेर पिउने गरेका छौँ ।  उपमहानगरपालिकाले पानी वितरण गरेको पानीले जसोतसो चलेको छ ।”

२०७९ सालमा भएको एक अध्ययनले धनगढी उपमहानगरपालिकामा पानीको हाहाकार हुन सक्ने निक्र्योल निकालेको थियो । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. मोती रिजालको सो अध्ययनले जथाभाबी वनविनाश, मानवबस्ती निर्माणलगायतका कारणले खानेपानी समस्या निम्तिन सक्ने भन्दै सचेत गराएको थियो ।

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडमाथिको कारोबार

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसदिन परिसूचक २ अंकले घटेर २६४९।५१ विन्दुमा अडिएको छ। सो दिन परिसूचक ८।५० अंकले घटेर २६५१।५२ विन्दुमा झरेको पुगेको थियो। सो दिन २ अर्ब  ८३ करोड बराबरको कारोबार भएको थियो।

नेप्से घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५९ वटा स्क्रिप्सको ७७ लाख २७ हजार  ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख  ४ हजार ५५२ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन स्नो रिभर्स,तस्कर पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १०।७६ प्रतिशतले घट्यो।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो। २० वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

होटल्स एण्ड टुरिजम,हाइड्रोपावर,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स र  ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा छैटौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमार्फत शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान तथा प्रविधि गरी ६ वटा संकायका २ हजार ४ सय ८९ जना स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ।

दीक्षान्तका लागि ठुलो सङ्ख्यामा विद्यार्थी योग्य भए पनि समारोहमा ७ सय ६७ जना विद्यार्थी मात्र भौतिक रूपमा सहभागी भएका थिए। विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार शिक्षा संकायबाट २४२, व्यवस्थापनबाट २३९, मानविकीबाट १८२, इन्जिनियरिङबाट ५३, कृषि विज्ञानबाट ३३ तथा विज्ञान तथा प्रविधिबाट १८ जना विद्यार्थी समारोहमा प्रत्यक्ष सहभागी भएका थिए। समारोहमा उत्कृष्ट विद्यार्थीलाई स्वर्ण तथा डिन पदक प्रदान गरिएको छ ।

यस वर्ष ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउँद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्ट स्वर्ण पदकबाट सम्मानित भएका छन्। त्यस्तै, मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउँदले डिन पदक प्राप्त गरेका छन्।

व्यवस्थापन संकायका निशान्त चन्दलाई प्रदान गरिने भनिएको चान्सलर पदक भने उच्च अदालतमा परेको रिटका कारण वितरण गरिएन। छात्रा रेखा भट्टले पदक छनोट प्रक्रियामा असहमति जनाउँदै रिट दायर गरेपछि चान्सलर पदक वितरण स्थगित गरिएको हो। कृषि विज्ञान संकायका कैलाशराज भट्टलाई प्रदान गरिने भनिएको भाइस चान्सलर पदकसम्बन्धी विषयमा पनि विश्वविद्यालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।

यस वर्षको दीक्षान्त समारोहको अर्को विशेष आकर्षण डा.तुलसीकुमारी शर्मा रहिन्। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने पहिलो महिला बनेकी छन्।

विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। जसमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पूर्वमन्त्री तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

विश्वविद्यालयका निर्देशक हरिश भट्टले दीक्षान्त समारोह विद्यार्थीहरूको उत्सव भएकाले अभिभावकसहित उत्साहजनक रूपमा मनाइएको बताए। कार्यक्रममा संस्कृतविद् तथा साहित्यकार प्राडा.तुलसीप्रसाद जोशी प्रमुख अतिथिका रूपमा सहभागी भए।

रास्वपा सुदूरपश्चिम भूगोलबाट निर्वाचित ५ जना यी हुन्

धनगढी, १२ असार /  रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट ५ जना निर्वाचित भएका छन । बिहिबार साँभ सम्पन्न मत परिणाम अनुसार सबैभन्दा बढी मत बाजुराका हेमराज थापाले पाएका हुन् । उनले २०३० मत पाएका छन् ।

यस्तै सांसद केपी खनालले १८४६ मत पाएका छन् । उनी प्रदेशबाट सर्वाधिक मत पाउनेमा दोस्रोमा छन् । तेस्रोमा दीपक बोहरा छन् । उनले १४५० मत पाएका छन् ।

जानिका जोशीले ११४८ र चन्द्रा ऐरले ११२६ मत पाएकी छिन् ।

सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथि छलफल अझै सुरु हुन सकेन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरूले तीव्र असन्तुष्टि जनाएपछि प्रदेश सभामा बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन। बजेट प्रस्तुत भएको १२ दिन बितिसक्दा पनि प्रदेश सभामा औपचारिक रूपमा टेबल हुन नसक्दा बजेट पारित प्रक्रिया नै अन्योलमा परेको छ। आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले असार १ गते प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। तर बजेट निर्माण प्रक्रिया, योजनाको वितरण तथा प्राथमिकता निर्धारणप्रति सत्तारुढ दल नेकपा एमालेले नै असन्तुष्टि जनाएपछि बजेट प्रस्तुतिको सुरुवातदेखि नै विवाद उत्पन्न भएको थियो।

एमालेको असन्तुष्टिकै कारण बजेट असार १ गते राति साढे ११ बजे मात्रै प्रदेश सभामा प्रस्तुत गरिएको थियो। त्यसबेला मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमा आवश्यक संशोधन गर्ने सहमति जनाएपछि एमालेले बजेट प्रस्तुत गर्न सहमति दिएको थियो। तर बजेट प्रस्तुत भएको लामो समय बितिसक्दा पनि सरकारले दलहरूसँग औपचारिक छलफल नगरेको र संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै सरकारको आलोचना बढ्दै गएको छ। सत्तारुढ गठबन्धनभित्रै बजेटप्रति असन्तुष्टि कायम रहेकाले प्रदेश सभाको कार्यसूची प्रभावित हुँदै आएको छ। नेकपा एमालेका सांसदहरूले बजेट पुनर्लेखन गर्नुपर्ने माग राख्दै आएका छन् भने नेपाली कांग्रेसका केही सांसदहरूले समेत बजेटमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बजेट प्रस्तुत भएको यति लामो समयसम्म पनि प्रदेश सभामा टेबल हुन नसक्नु दुःखद अवस्था भएको बताउनुभयो। उहाँले बजेटप्रति सांसदहरू सन्तुष्ट हुन नसकेको भन्दै यसलाई सुधार नगरी अगाडि बढ्न नसकिने धारणा राख्नुभयो। त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले बजेटप्रति जनता, सत्तापक्ष र प्रतिपक्ष कसैको पनि समर्थन नदेखिएको बताउनुभयो। उहाँले प्रदेशको आवश्यकता र जनताको अपेक्षा सम्बोधन हुने गरी बजेट सच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उता प्रमुख प्रतिपक्षी दल नेकपाले भने बजेट नसच्चिएसम्म प्रदेश सभा सञ्चालन हुन नदिने चेतावनी दिएको छ। बजेट निर्माण र प्रस्तुतिकरण प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै प्रतिपक्षले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। नेकपा संसदीय दलका नेता खगराज भट्टले बजेट प्रस्तुत भएको ११ दिनसम्म पनि छलफल सुरु हुन नसक्नुले सरकारको कमजोर तयारी र सदनप्रतिको गैरजिम्मेवारीपन झल्किएको बताउनुभयो। उहाँले सरकारले तत्काल सबै पक्षसँग छलफल गरी बजेट सुधार गरेर सदन सञ्चालनको वातावरण बनाउनुपर्ने माग गर्नुभयो।

प्रदेश सरकार भने दलहरूबीच सहमति खोज्ने प्रयासमा रहेको बताइए पनि हालसम्म कुनै ठोस निष्कर्ष ननिस्कँदा राजनीतिक अन्योल बढ्दै गएको छ। समयमै बजेटमाथि छलफल र पारित प्रक्रिया अगाडि बढ्न नसके प्रदेश सरकारका आगामी आर्थिक वर्षका कार्यक्रम तथा विकास निर्माणका योजना प्रभावित हुन सक्ने चिन्ता समेत बढेको छ।

सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षको असन्तुष्टि कायमै रहेका कारण सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल कहिले सुरु हुन्छ भन्ने अझै टुंगो लागेको छैन। बजेट टेबल हुन नसकेको वर्तमान अवस्थाले प्रदेशको बजेट पारित प्रक्रिया थप जटिल र अन्योलपूर्ण बन्दै गएको छ।

रास्वपाका सहमहामन्त्रीमा २ पदको लागि ११ जनाको भिडन्त

चितवन : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी परेको छ । पार्टीको निर्वाचन आयोगका अनुसार ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपाको सहमहामन्त्री खुलातर्फ २ जना निर्वाचित हुने व्यवस्था छ ।

अब ट्राफिक नियम तोड्नेलाई १ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउन कडा कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ । प्रस्तावित नयाँ कानुनअनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारी धनीलाई ५०० रुपियाँदेखि १ लाख रुपियाँसम्म जरिवाना गर्न सकिनेछ भने यातायात निरीक्षक तथा सहायक निरीक्षकलाई घटनास्थलमै ‘स्पट फाइन’ गर्ने अधिकार दिइने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायातसम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक हाल राय–सुझावका लागि कानुन मन्त्रालयमा पठाइएको छ । विधेयकको दफा ६२ मा ट्राफिक तथा यातायात प्रशासनलाई नियम उल्लंघन गर्ने सवारी चालकलाई तत्काल कारबाही गर्ने अधिकार प्रस्ताव गरिएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार सवारी साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी ९कालो० सिसा प्रयोग गरेमा १ लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । यो प्रस्तावित विधेयकमा समावेश सबैभन्दा ठूलो आर्थिक दण्ड हो ।
त्यस्तै, मादक पदार्थ सेवन ९मापसे० वा लागु पदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने तथा तोकिएको गति सीमाभन्दा अत्यधिक गतिमा सवारी सञ्चालन गर्ने चालकलाई सवारीको वर्गअनुसार २५ हजारदेखि ५० हजार रुपियाँसम्म जरिवाना गरिने व्यवस्था प्रस्ताव गरिएको छ । गति सीमा उल्लंघनको गम्भीरताका आधारमा जरिवानाको दर निर्धारण गरिने जनाइएको छ ।

लाइसेन्सबिना सवारी चलाउने, जाँचपास नगराई सवारी सञ्चालन गर्ने, प्रदूषण परीक्षणमा असफल सवारी प्रयोग गर्ने वा दर्ता प्रयोजनविपरीत सवारी चलाउने कार्यमा दुईपांग्रे सवारीलाई ५ हजार रुपियाँ, साना सवारीलाई १० हजार रुपियाँ तथा मझौला र ठूला सवारीलाई १५ हजार रुपियाँसम्म जरिवाना लाग्नेछ ।

मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने, लेन अनुशासन उल्लंघन गर्ने, फुटपाथमा सवारी चलाउने, वान–वे सडकमा विपरीत दिशाबाट सवारी गुडाउने, रुट परमिट नलिई सवारी सञ्चालन गर्ने वा बिमा नगराई सवारी चलाउनेलाई १० हजार रुपियाँसम्म जरिवाना गरिने व्यवस्था प्रस्ताव गरिएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएको तौलभन्दा बढी मालसामान ढुवानी गर्ने, अनुमति नलिई विदेशी नम्बर प्लेटका सवारी सञ्चालन गर्ने तथा सडकमा अवरोध सिर्जना गर्ने कार्यमा ५ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना लाग्नेछ ।

सामान्य प्रकृतिका ट्राफिक उल्लंघनमा पनि दण्ड बढाइएको छ । हेल्मेट वा सिट बेल्ट नलगाई सवारी चलाउँदा ३ हजार रुपियाँ, ट्राफिक संकेत अवज्ञा गर्दा ३ हजारदेखि ५ हजार रुपियाँ, निषेधित क्षेत्रमा ओभरटेक गर्दा २ हजार रुपियाँ तथा हर्न बजाउन निषेध गरिएको क्षेत्रमा हर्न बजाएमा ५०० रुपियाँ जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।
विधेयकले दोहोरिने गल्तीमा थप कडाइ गरेको छ ।

एउटै कसुर दोस्रो पटक दोहोरिएमा जरिवानामा ५० प्रतिशत थप गरिनेछ भने तेस्रो पटक वा सोभन्दा बढी दोहोरिएमा जरिवाना दोब्बर बनाइने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसै गरी जरिवाना तत्काल नतिरेमा ट्राफिक प्रहरीले चालक अनुमतिपत्र ९लाइसेन्स०, सवारी दर्ता प्रमाणपत्र ९ब्लुबुक० वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ । यद्यपि, नागरिक एप वा अन्य विद्युतीय माध्यमबाट लाइसेन्स तथा ब्लुबुक देखाउन सक्ने चालकलाई कागजात साथमा नराखेको कसुरमा कारबाही नहुने व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले सडक सुरक्षा सुधार, दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन कायम तथा यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो कानुनी व्यवस्था अघि बढाएको जनाएको छ । विधेयक पारित भएमा नेपालमा ट्राफिक नियम उल्लंघनसम्बन्धी दण्ड व्यवस्थामा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।

मझगाउँ विमानस्थल निर्माणः ७५ प्रतिशत काम सकियो

महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ सालमा ठेक्का सम्झौता भएको उक्त विमानस्थलको निर्माण हालसम्म ७५ प्रतिशत सकिएको छ। पहिलो चरणको निर्माण अवधिको म्याद सकिएपछि एक वर्ष समयावधि बढाएर काम अघि बढाइएको छ।

मझगाउँ विमानस्थलका कार्यालय प्रमुख मीनराज ओझाले एक हजार ५२५ मिटर रन्वे कालोपत्र गर्नुपर्नेमा एक हजार ४५० मिटर बनिसकेको जानकारी दिए। लामो समय जग्गा अधिग्रहणको विवादले निर्माण प्रभावित हुँदै आएकामा विमानस्थलको रन्वेका लागि गत वर्ष नेपाली सेनाले जग्गा दिएपछि कामले गति पाएको उनले बताए।

“अब ७५ मिटर रन्वे निर्माणका लागि नेपाली सेनाको जग्गा अधिग्रहण प्रक्रियामा छ। त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए०को काम चलिरहेको छ”, विमानस्थल प्रमुख ओझाले भने, “सेनाबाट कुनै रोकावट नरहेपछि इआइए सकेर थप रन्वे निर्माण सक्न योजनामा छौँ।” विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमा सङ्घीय सरकार, प्रदेश र स्थानीयमा भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाबाट समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा(चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहेको विमानस्थल प्रमुख ओझाले जानकारी दिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको मझगाउँ विमानस्थल विस्तारमा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको छ।

विमानस्थलका प्रमुख ओझाले सम्झौतापत्रअनुसार सुदूरपश्चिम प्रदेश सरकारले दिनुपर्ने १२ करोडमध्ये आठ करोड ७५ लाख रकम मात्रै दिएको बताए। भीमदत्त नगरपालिकाले सम्झौता अनुसार रकम उपलब्ध गराएपछि दोधारा(चाँदनीले ६६ लाख दिएको छ। “दोधारा(चाँदनीबाट सम्झौताअनुसार चार करोड ५० लाख आउनुपर्ने हो”, ओझाले भने, “प्रदेश र स्थानीय तहबाट आउनुपर्ने रकम आए काम गर्न सहज हुन्थ्यो।”

त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणले मझगाउँ विमानस्थलको टर्मिनल भवनका लागि १० करोडको प्रस्ताव पेस गरेको ओझाले जानकारी दिए। “टर्मिनल भवनको डिजाइन पनि यही असार महिनाभित्र बनिसक्छ”, उनले भने, “आगामी वर्षका लागि बजेट व्यवस्थापन भए हामी ठेक्का आह्वान गर्छौं।”

पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण पनि निर्माणले गति लिन नसकेको विमानस्थल प्रमुख ओझाको बुझाइ छ। “ससाना काम भइरहेका छन्”, उनले भने, “गुरुयोजनाअनुसार विमानस्थलको काम अघि बढाउँदै जान्छौँ।” उहाँले सम्झौतापत्रअनुसार तिनै तहका सरकारले निर्माण सम्पन्न शीघ्र गराउन बजेट व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताए।

“यसअघि टर्मिनल भवनका लागि केन्द्रबाट विनियोजन भएको पाँच करोड प्रदेश र स्थानीय तहले विनियोजन नगर्दा कार्यान्वयन भएन”, ओझाले भने, “समझदारीपत्रअनुसार अग्रसर हुनुपर्‍यो होइन भने खारेजी प्रक्रियामा गए पनि हुन्छ।” उनका अनुसार ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता विमानस्थल अवलोकनका लागि मन्त्रीदेखि नेतासम्म आउने गरेका छन्। विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो। सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाका कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो।

कक्षा १२ को उत्तरपुस्तिका र डेटा प्रमाणीकरण गर्न समिति गठन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे । विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा त्रुटि रहेको भन्दै प्रभावकारी मूल्यांकन गर्न माग गरेका थिए ।

नतिजा प्रकाशन प्रक्रिया पारदर्शी नभएको, उत्तरपुस्तिका मूल्यांकनमा समस्या देखिएको र विद्यार्थीको गुनासो सम्बोधन गर्ने प्रभावकारी संयन्त्र नभएको उनीहरूको आरोप छ ।

विद्यार्थीको विरोधपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बोर्डको प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको बताएका छन् ।

उनले नतिजा समयमै प्रकाशन गर्न हतार नगरिएको बताए । शिक्षामन्त्रीले आवश्यक जनशक्ति थप गरी अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमा नै नतिजा सार्वजनिक गरिएको दाबी गरेका छन् ।

मन्त्री पोखरेलले विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्ने अधिकार लोकतान्त्रिक समाजको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै आन्दोलनप्रति सम्मान व्यक्त गरेका छन् ।  साथै, आन्दोलनरत विद्यार्थीहरूमाथि सामाजिक सञ्जालमा गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

नतिजासम्बन्धी विवाद समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमुना परीक्षण  र डेटा इन्ट्री प्रमाणीकरणका लागि समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिएका छन् ।

विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा, कारण देखाउ आदेश जारी

काठ्माण्डौ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सर्वोच्च अदालतले तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चले बिहीबार कारण देखाउ आदेश जारी गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको हो ।

पूर्वअर्थमन्त्री पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा असार ८ गते पक्राउ परेका थिए। विशेष अदालतले उनलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ९ गते अनुमति दिएको थियो।

त्यसपछि पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नी दोमाया पौडेल बन्दी प्रत्यक्षीकरणको रिट लिएर बुधबार सर्वोच्च अदालत पुगेकी थिइन्।

तर न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ।

कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट छ, कुनै हतार गरिएको होइन : शिक्षामन्त्री

काठ्माण्डौ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्।

बिहीबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरूले गरेको प्रदर्शनपछि सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताए।

उनले आवश्यक जनशक्ति थपेर र अनावश्यक प्रशासनिक झन्झट छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको दाबी गरे।

यसअघि बिहीबार नै कक्षा १२ को नतिजा र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए।

पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको आरोप लगाउँदै विद्यार्थीहरूले ‘१२ वर्षको मिहिनेत खेर फाल्ने जिम्मेवार को ?’ भन्दै प्रश्न गरेका थिए।

विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक अधिकारको सम्मान गर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा विद्यार्थीहरू लक्षित नकारात्मक टिप्पणीप्रति भने असन्तुष्टि जनाए।

मन्त्री पोखरेलले लेखेका छन्, ‘यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु।’

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेस

काठमाडौं ।  सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेस स्थापना गरेको छ ।

सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेस स्थापना गरिएको हो ।

त्यसअनुसार कोशी प्रदेशमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ८ वटा अस्थायी वेस स्थापना भएका छन् ।

सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेको छ ।

धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

‘यी स्थायी कार्यालय हुन्, जुन वर्षैभरि रहन्छन्’, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, ‘उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।’

यसवर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकल गरिए पनि मनसुनजन्य विपद्‌बाट देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाएको छ ।

प्राधिकरणका अनुसार कोशीमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

बाढी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका ८२ वटा ‘र्‍याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तथा विशिष्टकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी र १३४ गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभर ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

एक लाख ६८ हजार रहेको विपद् सूचक सञ्जाल तयार 

सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ ।

ती सूचकले आफू नजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् ।

सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपीएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपीएफ–सीएएस) प्रणाली सञ्चालनमा ल्याएको छ ।

सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

दार्चुलाका सबै पालिकामा बजेट सार्वजनिक

दार्चुला- जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन्। बुधबारसम्म नाै वटै स्थानीय तहको गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको आयव्ययसहितको बजेट सार्वजनिक गरिएको हो ।

जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६९ करोड ७४ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार उपप्रमुख दुर्गा खत्रीले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६० करोड ७४ लाख १० हजार र पूजीगततर्फ ७ करोड ८० हजार र वित्तीय हस्तान्तरण ९६ लाख ३२ हजार बजेट विनियोजन गरिएको जनाए ।

यसअघि नगरसभामा पालिका प्रमुख नरसिंह चैसिरले नगरपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै उनले विगतमा नगरपालिकाले सञ्चालनमा ल्याएका कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेका थिए ।

शैल्यशिखर नगरपालिकाले ८१ करोड ३३ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति खडायतले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४२ करोड ८३ लाख ७५ हजार र पूजीगततर्फ ३८ करोड  २९ लाख ४४ हजारको बजेट विनियोजन गरिएको जनाए । यसअघि नगरसभामा पालिका प्रमुख विजयसिंह धामीले पेश गरेको नीति तथा कार्यक्रममा विगतकै कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेका थिए ।

मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ६९ लाख ३४ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष कल्यान सिंह धामीले चालुतर्फ ४९ करोड ९० लाख १७ हजार र पूजीगततर्फ १८ करोड ७९ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको जनाए । त्यसअघि गाउसभामा पालिका प्रमुख हिरासिंह धामीले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड २३ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंहले चालुतर्फ ३७ करोड ३५ लाख ५ हजार र पूजीगततर्फ १३ करोड ८८ लाख ७ हजार विनियोजन गरिएको जनाएका छन् । पालिका प्रमुख जमनसिंह धामीले नीति तथा कार्यक्रममा विगतमा सञ्चालनमा ल्याएका कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेका थिए ।

अपि हिमाल गाउँपालिकाले ४४ करोड ३५ लाख ४४ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष देवकी बोहराले बजेट प्रस्तुत गर्दै चालुतर्फ २४ करोड ६२ लाख ८२ हजार र पूजीगततर्फ १८ करोड ६९ लाख ५९ हजार विनियोजन गरिएको बताइन् । पालिका प्रमुख भगतसिंह ठेकरे बोहराले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको बताए ।

दुहुँ गाउँपालिकाले ३७ करोड ७० लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष शान्ति बमले चालुतर्फ २८ करोड ७ लाख ४२ हजार र पूजीगततर्फ ९ करोड ६३ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको बताइन् ।

नौगाड गाउँपालिकाले ५२ करोड ७० लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष जगतसिंह ठगुन्नाले चालुतर्फ ३३ करोड ६० लाख २२ हजार र पूजीगत १९ करोड १० लाख ७६ हजारको बजेट सार्वजनिक गरेका हुन् । गाउँसभामा पालिका अध्यक्ष दलजितसिंह धामीले पेश गरेको नीति तथा कार्यक्रममा विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य रहेको जनाएका थिए ।

ब्यास गाउँपालिकाले आगामी २०८३/८४ का लागि ५५ करोड ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिका अध्यक्ष मंगलसिंह धामीले पेश गरेको नीति तथा कार्यक्रममा विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

लेकम गाउँपालिकाले ५३ करोड ९४ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । पालिका अध्यक्ष रामदत्त जोशीले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी बजेट ल्याइएको बताए ।

कैलालीमा टीकापुरबाहेक सबै स्थानीय तहले बजेट ल्याए

कैलाली कैलालीको टीकापुर नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

१३ स्थानीय तह रहेको कैलालीमा १२ वटा स्थानीय तहले नगर/गाउँ सभामा बजेट प्रस्तुत गरेका हुन् । असार १० गतेभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था छ । टीकापुर नगरपालिकामा नगर प्रमुख/उपप्रमुख पदमुक्त रहेको अवस्थामा कार्यबाहक नगरप्रमुखको विषयमा विवाद छ । त्यही कारण टीकापुर नगरपालिकाले बजेट ल्याउन नसकेको हो ।

त्यस बाहेक घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले बुधबार सभामा बजेट प्रस्तुत गरे भने धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाले यसअघि नै बजेट ल्याइसकेका हुन् ।

गोदावरी नगरपालिकाले बुधबार बसेको नगरसभामा उपप्रमुख शारदादेवी रोकायाले एक अर्ब ३० करोड ५ लाख ८२ हजारको बजेट प्रस्तुत गरिन् । रोकायाले कुल विनियोजन मध्ये ६७.४ प्रतिशत रकम चालुतर्फ र ३२.६ प्रतिशत पुाजीगत खर्चतर्फ विनियोजन गरिएको उल्लेख गरेकि छिन् । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा अन्य आधारभूत पूर्वाधार विकासका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको उनको भनाइ छ ।

यसैगरी, घोडाघोडी नगरपालिकाले एक अर्ब चार करोड ४७ लाख आठ हजार ८६८ को बजेट प्रस्तुत गर्दै उपप्रमुख गुलियाकुमारी चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी प्रबर्द्धन र उद्यम विकासलाई प्राथमिकतामा राखिएको बताइन् । बर्दगोरिया गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले एक अर्ब ९ करोड २१ लाख १५ हजारको बजेट गाउँसभामा प्रस्तुत गरेका छन् । उपाध्यक्ष गणेशराज गिरी अनुपस्थित भएकाले वडाध्यक्ष गौतमले बजेट प्रस्तुत गरेका हुन् । उनले स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाए ।

यसैगरी, चुरे गाउँपालिकाकि उपाध्यक्ष धनादेवी थापाले ५९ करोड ८२ लाख ५९ हजार ८५० को बजेट प्रस्तुत गरिन् । जसअन्तर्गत चालुतर्फ ३९ करोड नौ लाख ६२ हजार ८१० र पुँजीगततर्फ २० करोड ७२ लाख ९७ हजार ४० विनियोजन गरिएको छ ।

रास्वपाको निर्वाचनमा ८९० प्रतिनिधिले भोट हालेनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचनमा ८९० प्रतिनिधिले मतदान नगरेको पाइएको छ । चितवनको भरतपुरमा उपस्थित तीन हजार ८४९ प्रतिनिधिमध्ये दुई हजार ९५९ जनाले मात्र मतदान गरेका रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

९९ केन्द्रीय सदस्य पदका निम्ति बुधबार (असार १०) राति १२ बजेपछि मतदान सुरु गरिएको थियो । उक्त मतदान सम्पन्न भइसकेको छ ।

प्रवासमा रहेका १७० जनाका निम्ति मतदान जारी छ । बिहीबार अपराह्न ४ बजेसम्म उनीहरूलाई मतदानको समय तोकिएको आयोगले जनाएको छ ।

प्रवासका १७० प्रतिनिधिले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारीका निम्ति भने बिहीबारै अपराह्न ४ बजेदेखि मतदान थालिने नेता मनिष झाले जानकारी दिए ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मेस्सीको जन्मदिनमा ८५ फिटको सबैभन्दा ठूलो मूर्ति

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको ३९ औं जन्मदिनको अवसरमा उनको सबैभन्दा ठूलो मूर्ति निर्माण गरिएको छ। जुन २४ बुधबार अर्जेन्टिनाको पाटागोनियाको क्याट्राल शहरमा मेस्सीको ८५ फिट अग्लो मूर्ति अनावरण गरिएको छ। यो विश्वकै सबैभन्दा ठूलो मेस्सीको मूर्ति हो।

यो मूर्ति बनाउन ७० हजार किलोग्राम (७० टन) स्टील प्रयोग गरिएको थियो। यो पूरा हुन १८ महिना लागेको थियो। यो सम्मान मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बनेको दुई दिनपछि प्राप्त भएको हो। सोमबार अस्ट्रियाविरुद्ध दुई गोल गरेर मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्ड तोडेका छन्। अब उनको विश्वकपमा १८ गोल भएका छन्।

उक्त मूर्तिमा कतार विश्वकप २०२२ को फाइनल खेलपछि मेस्सीले घुँडा टेकेको चित्रण गरिएको छ, जसमा फ्रान्सविरुद्ध गोन्जालो मोन्टिएलले पेनाल्टी प्रहार गरेपछि अर्जेन्टिनालाई विश्व च्याम्पियनको ताज पहिराइएको थियो।

मूर्तिमा मेस्सीले एक हातमा अर्जेन्टिनाको जर्सी समातेको र अर्को औंला आकाशतिर उठाएको चित्रण गरिएको छ। मेस्सीले आफ्नी हजुरआमालाई श्रद्धाञ्जली दिन गोल गरेपछि प्रायः उत्सव मनाउँछन्।

यो मूर्ति ६१ वर्षीय स्थानीय मूर्तिकार एल्डो बेरोइसाले बनाएका हुन्। उनले पहिले डायनासोर र अर्जेन्टिनाका स्वतन्त्रता सेनानीहरूको ठूला मूर्तिहरू बनाएका छन्।

कैलालीमा ग्रिनेड विस्फोट : एक नेपाली सेनाको मृत्यु

धनगढी । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हुँदा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । सोही घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिकलाई ३–० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो ।

मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरे । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै ३–० जित शुनिश्चित गरे ।

यस्तै अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गरेकाे हाे । दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पु¥याएका हुन् ।  समूह तालिकामा चार अंक बटुल्दै उसले विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश सुनिश्चित गरेको हो ।

यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्ल्किसँगको खेल बराबरी गरेको थियो । दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा चार अंक जोडेको छ ।

दक्षिण कोरियाले एक खेलमा मात्रै जित हातपार्दा उसले तीन अंक बटुल्यो ।  एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ । बिहान भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको छ । यस्तै मोरक्कोले हैटीमाथि ४–२ को जित निकालेको छ । स्विट्जरल्यान्डले क्यानडालाई २–१ ले पराजित गरेको छ । यस्तै, बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले हरायो ।

तराईमा ‘हिटवेभ’ कायमै, दिउँसो घर बाहिर ननिस्कन आग्रह

काठ्माण्डौ- देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव बिहीबार पनि कायमै रहने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह समेत गरे।विभागको मौसम पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौं उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसेल्सियस रहने पूर्वानुमान गरिएको छ।

विभागले अत्यधिक गर्मीको समयमा बासिन्दालाई दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ। जलवायुविद्का अनुसार, जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा नेपालका तराई क्षेत्रमा तातो लहरको अवधि र तीव्रता बढ्दै गएको छ।

त्यसबाट स्वास्थ्य, कृषि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव देखिएको छ।

रास्वपाको पहिलो चरणको मतदान सकियो, ३ हजार मत खस्यो

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनको पहिलो चरणको मतदान सकिएको छ।

बुधबार राति १२ः ३५ बजेदेखि सुरु भएको निर्वाचन भर्खरै सकिएको हो।

९९ जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा ३ हजारको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

मतदान सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

प्रदीप पौडेलको प्रश्न– अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा नेपालमा किन घटेन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३० प्रतिशतले घट्दा पनि नेपाली उपभोक्ताले महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहेको बताएका छन् ।

ठूलो मात्रामा मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुःखद् रहेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आयल निगमले प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन भन्ने जस्ता बहाना देखाउने गरेको उनको भनाइ छ । “कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ,” पौडेलले भनेका छन्,  “तर, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ ।”

मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेको पौडेलले बताएका छन् । यसले सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लंग पारेको उनको भनाइ छ ।

जता पनि दुःख पाउने भुइँ मान्छे जनता नै रहेछ भन्ने महाधिवेशनबाट बुझेँ : आशिका

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले जता पनि दुःख पाउने भुइँ मान्छे जनता नै रहेको रास्वपा महाधिवेशनबाट आफूले बुझेको बताएकी छन्।

फागुन २१ जस्तै चुनाव आफूले सोचेको भन्दै उनले यस्तो बताएकी हुन्। उनले आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान आफूमा नभएको बताइन्।

‘मैले सोचे फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो, पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो राजनीतिकमा जन्म भाको दुई महिना राम्रो भएको छैन, न मेरो बाउ राजनीतिज्ञ के थियो न आमा न स्वयं आफू हु! मान्छे सिक्दै जाने हो बुज्दै जाने हो! तर मैले महाधिवेशनबाट के बुझे भने दुःख पाउने त उही भुइँ मान्छे जनता नै रहेछ जता पनि!’

रास्वपा महाधिवेशन : मतदान मध्याह्न १२ बजेसम्म जारी रहने

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ। गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो। आज मध्याह्न १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

हालसम्म करिब एक हजार ६०० भन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ। एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन्। सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता  हो।

प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ।

उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो। मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ। पहिलो चरणको मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने छ। मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुने छ। दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन्।

एकैदिन ५२ सयले घट्यो सुनको मूल्य

काठ्माण्डौ- नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ।

बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कायम भएको थियो। एक तोला चाँदीको मूल्य रु चार हजार ४८५  मा कारोबार भएको थियो।

मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

बाजुरा । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् ।

उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३/८४ का लागि रु ५१ करोड ६९ लाख १९ हजारको बजेट सभामा प्रस्तुत गरेकी छन् ।

बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३/८४ का लागि रु ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरिन् ।

त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गरेकाे छ । सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ रु ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट जाहेर गरेकी हुन् ।

त्यस्तै, बुढीनन्दा नगरपालिकाले पनि रु ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गरेकाे छ । नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ रु ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ रु १९ करोड, आठ लाख ४८ हजार विनियोजन गरेका हुन् ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि रु ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरिन् । उनले पुँजीगततर्फ रु १८ करोड एक हजार र चालुतर्फ रु २५ करोड ६८ लाख २१ हजार प्रस्तुत गरेकी हुन् ।

यता, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले रु ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गरेकी छन् ।

जगन्नाथ गाउँपालिकाले रु ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५०० विनियोजन गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३/८४ का लागि सभामा रु ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी छन् ।

त्यस्तै, गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आव २०८३/८४ का लागि रु ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गरिन् । थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख दुई हजारको बजेट पेस गरेकी हुन् ।

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ । रासस

चुनाव २०८२ : जित्नेभन्दा हार्ने उम्मेदवारको खर्च धेरै

काठमाण्डाै- निर्वाचन पर्यवेक्षण समिति (ईओसी) नेपालले गएकाे फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले धेरै खर्च गरेको पाइएको जनाएको छ ।

ईओसीले देशभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका ३ हजार ४०६ उम्मेदवारमध्ये १४४ नमूना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो । संस्थाका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले चुनाव प्रचारप्रसारमा औसत ८८ लाख र हार्नेले त्यसकाे झन्डै ३ गुणा धेरै औसत २ करोड ८३ लाख रुपैयाँ खर्च गरेका पाइएको छ । चुनाव खर्चको झन्डै ६७ प्रतिशत रकम हार्ने उम्मेदवारले खर्च गरेका छन् ।

नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारका लागि २५ देखि ३३ लाखसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेदवारले ७२ लाख अर्थात् कानूनी सीमाभन्दा ११८ प्रतिशत धेरै खर्च गरेको पाइएको छ ।

उम्मेदवारले खर्च देखिने ब्यानर, र्‍याली, कोणसभा, भोजभतेर आदिको साटो नदेखिने च्यानल (अदृश्य तर प्रभावशाली सूचना तथा सञ्चार प्रणाली, डिजिटल प्रचार, सामाजिक सञ्जाल, अनौपचारिक परिचालन) तर्फ सरेको देखियो । यसले अनुगमनलाई थप कठिन बनाउँछ र बनाएको देखियो । मित्थ्या सूचना, दुष्प्रचार, चरित्रहत्याजस्ता प्रणालीगत दुष्प्रचार तथा प्रयोग रोकथाम तथा नियन्त्रणमा आवश्यक कानूनी प्रबन्धको अभाव देखियो, प्रतिवेदनमा भनिएको छ ।

कुल खर्चको ८२ प्रतिशत प्रचार अभियान अवधिमा भएको र ४ प्रतिशत खर्च चुनावको दिन (प्रचार निषेधको अवधि) मै भएको देखिएको प्रतिवेदनले जनाएको छ ।

उम्मेदवारको आम्दानीको स्रोत सार्वजनिक र अनिवार्यरूपमा खुलासा गरिनुपर्ने, डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन पत्ता लगाउन प्रविधिमैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेश गर्ने अहिलेको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचारसंहिता उल्लङ्घकर्तालाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावहरू दिइएको ईओसीका अध्यक्ष सुवेदीले बताए ।

यसैगरी छुट्टै बैंक खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यावहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखापरीक्षणलाई सहायक संरचनाका रूपमा अनुमति दिइनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

 

देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ

काठ्माण्डौ-  देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ।

कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ।

मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ। यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२.८ प्रतिशत र बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ भएको छ।

मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ।

सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।

विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाइँका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन।

मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ।

कृषि सूचना केन्द्रले कृषि उत्पादन बढाउन पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि प्रयोग, मनसुनका अवस्थासम्बन्धी जानकारी दिँदै आएको छ।

रास्वपा महाधिवेशन : बेलुका ७:३० बजेबाट मतदान सुरु गरिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । बुधबार दिउँसो रास्वपा निर्वाचन आयोगले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार, बेलुका ५ बजेसम्म उमेदवारविरुद्ध दाबीविरोध गर्न सकिनेछ । बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

७ः३० मा मतदान सुरु हुने जनाइएको छ । चार घण्टामा मतदान सकिने आकलन गरिएको छ । बिहीबार बिहान ९ बजे पदाधिकारीको मतदान गर्ने तयारी गरिएको छ ।

खोज्नुहोस