कक्षा १२ को उत्तरपुस्तिका र डेटा प्रमाणीकरण गर्न समिति गठन
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे । विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा त्रुटि रहेको भन्दै प्रभावकारी मूल्यांकन गर्न माग गरेका थिए ।
नतिजा प्रकाशन प्रक्रिया पारदर्शी नभएको, उत्तरपुस्तिका मूल्यांकनमा समस्या देखिएको र विद्यार्थीको गुनासो सम्बोधन गर्ने प्रभावकारी संयन्त्र नभएको उनीहरूको आरोप छ ।
विद्यार्थीको विरोधपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बोर्डको प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको बताएका छन् ।
उनले नतिजा समयमै प्रकाशन गर्न हतार नगरिएको बताए । शिक्षामन्त्रीले आवश्यक जनशक्ति थप गरी अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमा नै नतिजा सार्वजनिक गरिएको दाबी गरेका छन् ।
मन्त्री पोखरेलले विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्ने अधिकार लोकतान्त्रिक समाजको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै आन्दोलनप्रति सम्मान व्यक्त गरेका छन् । साथै, आन्दोलनरत विद्यार्थीहरूमाथि सामाजिक सञ्जालमा गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
नतिजासम्बन्धी विवाद समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमुना परीक्षण र डेटा इन्ट्री प्रमाणीकरणका लागि समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिएका छन् ।
