अनिश्चित बन्दसत्रले महाधिवेशन लम्बिने संकेत, घुमघाममा प्रधानमन्त्री
काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र अनिश्चित बनेको छ। पहिलो महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन। पार्टी प्रवक्ता मनिष झाले बन्दसत्र सुरु हुन अझै एकाध घण्टा लाग्ने जानकारी दिए।
पार्टी उच्च स्रोतका अनुसार, मधेश प्रदेशका ८ मध्ये पर्साबाहेकका अन्य जिल्लाबाट प्रतिनिधि छनोट भइनसकेकाले बन्दसत्र प्रभावित भएको हो। ती जिल्लामा विवादलगायत कारण अधिवेशन हुन सकेको थिएन। सभापति रवि लामिछानेसहितले अधिवेशन पछि गर्ने गरी भरतपुरबाटै ती जिल्लाबाट प्रतिनिधि छनोटको प्रयास गरिरहेका छन्। यद्यपि सहमति हुन बाँकी रहेको ती नेताको भनाइ छ।
पहिलो महाधिवेशन भएकाले शीर्ष नेताहरु सहमतिको सन्देश दिन नेतृत्व छनोट सर्वसम्मत गराउने प्रयासमा लागेपछि पनि बन्दसत्रको कार्यतालिका प्रभावित भएको हो। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह निर्विरोध हुने लगभग पक्का भएपनि अन्य लपदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी बढी भएपछि सहमतिको प्रयास निष्कर्षमा पुग्न नसकेको हो। महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने सहमतिमा नेताहरु पुगिसकेका छन्, तर सो संख्याभन्दा बढी आकांक्षी देखिएका छन्।
बन्दसत्र अनिश्चित बनेपछि महाधिवेशन स्थलमा रहेका आकांक्षीहरु तितरबितर हुन थालेका छन्। भरतपुरको चर्को गर्मीमा अझै कति दिनसम्म रहनु पर्ने हो भन्ने अनिश्चितताका बीच उनीहरुमा अन्योल छाएको हो। इलामबाट आएका एक प्रतिनिधिले सम्पूर्ण खर्च आफैं ब्यहोरेर कहिलेसम्म भरतपुरमा बस्न सकिन्छ भन्ने यकिन गर्न नसकिएको बताए।
सहमतिको प्रयास जारी रहेकाले आजै निर्वाचन कार्यक्रम सुरु गर्ने तालिकासमेत प्रभावित हुने देखिएको छ। निर्वाचन समितिले सोमबार मनोनयनसहितका कार्यक्रम तय गर्दै मंगलबार मतदानको समय छुट्याएको थियो। तर सोमबार बन्दसत्र सुरु हुन नसके मंगलबार बन्दसत्र र मनोनयनसहितको निर्वाचन कार्यक्रम सुरु गर्ने तथा बुधबार मतदान गराउने तयारी गर्नेछ। यसले आइतबारदेखि मंगलबारसम्मका लागि तय महाधिवेशन बुधबारसम्म लम्बिनेछ।
करिब ४५ सयको हाराहारीमा अहिले पनि महाधिवेशन प्रतिनिधिहरु भरतपुरलगायत आसपासका क्षेत्रमा रहेका छन्। तीमध्ये पनि केहीको नामावलीमा त्रुटि भेटिएपछि सच्याउन समय लागेको छ।
घुमघाममा प्रधानमन्त्री
रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र साह महाधिवेशनमा सहमतिको प्रयास छाडेर चितवनका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा रहेका छन्। महाधिवेशनको उद्घाटन सत्रपछि कालिका नगरपालिकामा रात बिताएका उनी सोमबार बिहानै सौराहा पुगेका थिए।
परिवारसहित चितवन पुगेका उनी दिउँसो भने चितवनको अर्को पर्यटकीय क्षेत्र कसरा गएका छन्। प्रधानमन्त्री शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका थिए।
महाधिवेशनको समय लम्बिने संकेतका बीच प्रधानमन्त्री शाह सोमबार साँझ वा मंगलबार बिहान काठमाडौं फर्कने तयारीमा रहेका छन्। नागरिक दैनिकबाट
