सुदुपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन

काठमाडौं– आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र र कर्णालीको ६ वटा मतदान केन्द्रमा भने मतदान हुन सकेको छैन ।

निर्वाचन आयोगले बैतडी र दार्चुलाका दुईवटा मतदान केन्द्रका मतदाताले नो भोट भनेर अहिलेसम्म मतदान नगरेको जनाएको हो ।

त्यस्तै, कर्णालीका विभिन्न ६ वटा मतदान केन्द्रमा मतदान नभएको कारण भने आयोगले खुलाएको छैन ।

खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन

काठमाण्डौ- खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म झन्डै १६ हजार नेपालीहरूले आफ्नो विवरण दर्ता गराएका छन् ।

परराष्ट्र मन्त्रालयले आपतकालीन उद्धार टोली समेत गठन गरेको छ । यसका लागि २४ सै आकस्मिक कन्ट्रोल कक्ष सञ्चालन, विमानस्थलमा ट्रान्जिटमा रहेकाहरूको व्यवस्थापन, भिसा सहजीकरण, तथा कामदारहरूको सुरक्षासम्बन्धी समन्वयका काम हुनेछन् ।

सरकारले खाडी देश तथा पश्चिम एशिया क्षेत्रमा झन्डै १८ लाख नेपालीको सुरक्षा, संरक्षण र हितप्रति पूर्ण संवेदनशीलता र प्रतिबद्धता व्यक्त गर्दै सबैलाई आधिकारिक सूचनामा मात्रै विश्वास गर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

अमेरिका र इजरायलले इरानमाथि गएको शनिवार गरेको संयुक्त सैन्य आक्रमण र त्यसविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण बनेको हो । मन्त्रालयले खाडी क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ । यो पोर्टलमा त्यहाँ रहेका नेपालीले आफूलाई परेको अप्ठेरो र जिज्ञासाबारे जानकारी गराउन सक्नेछन् ।

 

बिहान १० बजेसम्म खस्यो १० लाख ६५ हजार मत

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज सबै केन्द्रमा निर्बाध मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत (करिब ६ प्रतिशत) मत खसेको छ।

आयोगका अनुसार अपराह्न पाँच बजेसम्म मतदान गर्न पाइने छ।

बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु

बाजुरा- बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजे देखि यहाँका ७७ मतदानस्थल ११८ स्थायी र १ अस्थायी गरी ११९ मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सुरु भएको हो ।

विगतका निर्वाचनमा धादली हुने बाजुरामा यसपटक भने एकदमै शान्तिपुर्णपूर्वक निर्वाचन सुरु भएको हो जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले, “बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्वक मतदान कार्य सुरु भएको बताए ।

उनले भने, “ बिहान सात बजे देखि यहाँका सबै मतदान केन्द्रमा मतदान कार्य राम्रो सँग सुरु भएको छ । ”

मतदान कार्यलाई स्वच्छ निष्पक्ष भयरहित र शान्तिपुर्णरुपमा सम्पन्न गर्ने गरी हिजो जिल्लाका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरेसँगै आज शान्तिपुर्वक रुपमा मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य गरी ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

 

बालेन्द्र चढेको हेलिकोप्टर झापा अवतरण नगरी काठमाण्डौं फर्कियो

काठमाडौँ,
काठमाण्डौंमा मतदानपछि झापाका लागि उडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह चढेको हेलिकोप्टर झापामा अवतरण नगरी काठमाण्डौं फर्किएको छ ।

बिहीबार बिहान ९ बजे काठमाण्डौंबाट झापा ५ का उम्मेदवार बालेन्द्र सहित पाँच जना यात्रु बोकेर उडेको हेलि एभरेष्ट को 9N-AOB  कलसाइन भएको हेलिकोप्टर झापामा अवतरण नगरी काठमाण्डौं फिर्ता भएको बताईएको छ ।

दोलखामा मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

दोलखा, २१ फागुन ।
दोलखामा मतदान कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका ४ मालु मतदानस्थलमा उम्मेदवारको एजेन्ट बसेका व्यक्तिले मतदान कर्मचारी माथि हातपत गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

मतदान कर्मचारी र एजेण्टबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको हो ।

काँग्रेस सभापति थापाले गरे मतदान

काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

उनले काठमाडौं–४ अन्तर्गत रहेको मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापाले मतदान भने आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौं–४ मा गरेका हुन् ।

उनी सर्लाहीमा उम्मेदवार बनेपछि काँग्रेसले उनको स्थानमा काठमाडौं–४ मा युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

काठमाडौं–४ बाट थापा तीन पटक निर्वाचित भएका थिए ।

 

काँग्रेसका आनन्दले गरे मतदान

अत्तरिया(कैलाली) २१ फागुन ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले आज गोदावरी नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बासकोटामा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

बिहानै मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण वातावरणमा मतदान गरेका उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुदृढीकरणका लागि आम मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।

निर्वाचन क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ भने मतदाताहरू उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।

एमालेका तारा लामा तामाङले गरे मतदान

कञ्चनपुर, २१ फागुन ।
नेकपा एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ का उम्मेदवार तारा लामा तामाङले मतदान गरेका छन् ।

उनले ती कञ्चनपुरको पुनर्वास नगरपालिका ३ स्थित रामबस्तीस्थित गोर्खा आधारभूत बिद्यालयको मतदान केन्द्र ‘क’ मा मतदान गरेका हुन् ।

तामाङ यसअघि २०७९ मा सोही निर्वाचन क्षेत्रमा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

रास्वपा सभापति लामिछानेले गरे मतदान

काठमाण्डौं, २१ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंबाट मतदान गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेले काठमाण्डौंमा मतदान गरेका हुन् ।

माधव नेपालले गरे मतदान

रौतहट, २१ फागुन ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार माधव कुमार नेपालले मतदान गरेका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रलोपाका धितालले गरे मतदान

जुम्ला, २१ फागुन ।
प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का जुम्लाका उम्मेदवार मनऋषि धितालले मतदान गरेका छन् ।

धितालले जुम्लाको नराकोटस्थित भैरव माविमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार सिवाकोटीले गरे मतदान

दोलखा, २१ फागुन ।
नेपाली काँग्रेसका तर्फबाट दोलखाबाट प्रतिनिधि सभाका उम्मेदवार अजयबाबु सिवाकोटीले मतदान गरेका छन् ।

सिवाकोटीले भीमेश्वर नगरपालिका १ स्थित क्षमावती उच्च माविमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार तिमिल्सेनाले गरे मतदान

काठमाण्डौं, २१ फागुन ।
नेपाली काँग्रेसका तर्फबाट काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमिल्सेनाले मतदान गरेका छन् ।

उनले बिहीवार बिहान काठमाण्डौंको ज्ञानेश्वरको नारायणचौरस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसअघि यो निर्वाचनमा लगातार तीन पटक नेपाली काँग्रेसका सभापति गगन थापाले जितेका थिए ।

एमाले महासचिव पोखरेलले गरे मतदान

दाङ,२१ फागुन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले बिजौरीस्थित विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बालेन्द्रले गरे मतदान

काठमाण्डौं, २१ फागुन ।
काठमाडौं महानगरका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बिहीवार बिहान मतदान गरेका छन् ।

झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्रले काठमाडौँको सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

चितवन, २१ फागुन ।

प्रतिनिधि सभाको निर्वाचनको मतदान शुरु भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुधवार बिहान चितवनको क्षेत्र नम्बर ३ अन्तर्गत रहेको भरतपुर महानगरपालिका- १४ शान्तिपुरको नेपाल पुलिस स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

जेन–जी विद्रोहले बिघटन गरेको छ महिनापछि प्रतिनिधि सभाको निर्वाचन भएको हो । यस पटक प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् ।

इरानमा मृत्यु हुनेको संख्या १,००० नाघ्यो, इजरायल र अमेरिकाको हवाई आक्रमण जारी

तेहरान । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ। यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ। जवाफमा इरानले पनि प्रतिशोधात्मक आक्रमण सुरु गर्दै मध्यपूर्वका सैन्य र आर्थिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ।

इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार बुधबार इजरायलले राजधानी तेहरान, पवित्र सहर कोम, पश्चिमी इरान र इसफाहान प्रान्तमा बमबारी गरेको छ। यी आक्रमणहरूमा आवासीय भवनहरूमा समेत क्षति पुगेको बताइएको छ। इजरायलले विशेष गरी इरानको रिभोलुसनरी गार्ड्सअन्तर्गतको स्वयंसेवक बल बसिज र आन्तरिक सुरक्षा कमाण्डसँग सम्बन्धित भवनहरूलाई निशाना बनाएको दाबी गरेको छ।

इरानी नागरिकहरू यो युद्धको सबैभन्दा ठूलो मारमा परेका छन्। हालसम्म ६,००० भन्दा बढी मानिस घाइते भएका छन् भने ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरीहरू अस्पताल भर्ना भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार युद्धका कारण फेब्रुअरी २८ देखि मार्च १ को बिचमा मात्रै करिब १ लाख मानिसले तेहरान छोडेका छन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इसफाहान आणविक केन्द्र नजिकैका दुईवटा भवनमा क्षति देखिए पनि आणविक सामग्री रहेका केन्द्रहरू सुरक्षित रहेको र रेडियोधर्मी चुहावटको जोखिम नरहेको पुष्टि गरेको छ।

यसैबिच, गत शनिबारको पहिलो चरणको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र रक्षामन्त्री अमिर नासिरजादेह मारिएका थिए। उनीहरूको अन्त्येष्टि समारोहमा लाखौँको उपस्थिति हुने अपेक्षा गरिएको छ, जसले गर्दा थप सुरक्षा चुनौती बढेको छ।

नयाँ नेतृत्वको खोजी

इरानले नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया तीव्र पारेको छ। एसेम्बली अफ एक्सपर्ट्सका सदस्य अहमद खातमीले देश युद्धको स्थितिमा रहे पनि चाँडै नयाँ नेता चयन गरिने बताएका छन्। पश्चिमी सञ्चारमाध्यमहरूले मोज्ताबा खामेनीलाई नयाँ नेताको मुख्य दाबेदारका रूपमा हेरेका छन्।

इजरायली रक्षामन्त्री इजरायल काट्जले चेतावनी दिँदै भनेका छन्, ‘इजरायल र स्वतन्त्र विश्वलाई धम्काउने जोसुकै नयाँ नेता पनि हाम्रो निसानामा हुनेछन्।’

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व भताभुंग भएको टिप्पणी गरेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले भने ट्रम्पले कूटनीतिलाई धोका दिएको र वार्ताको टेबलमा बमबारी गरेको आरोप लगाएका छन्। -एजेन्सी

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा

काठमाडौं : प्रतियोगिता अवधिभर अपराजित रहेको दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

आइसिसी टी२० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा प्रतियोगिता अवधिभर अपराजित रहेको दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्ड दोस्रोपटक टी २० विश्वकपको फाइनलमा पुगेको हो। सन् २०२१ मा न्युजिल्याण्डले टी २० विश्वकपको फाइनल खेलेको थियो। सन् २०२४ को विश्वकपको फाइनल खेलेको टोली दक्षिण अफ्रिका भने सेमीफाइनलबाट आफ्नो यात्रा टुङ्ग्याएको छ।

कोलकाताको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। दक्षिण अफ्रिकाले दिएको १७० रनको विजय लक्ष्य पछाएको न्युजिल्यान्डले १२।५ ओभरमा एक विकेटको क्षतिमा १७३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

न्युजिल्यान्डको जितमा ओपनर ब्याटर फिन एलनले ऐतिहासिक शतकीय पारी खेले। फिनले टी२० विश्वकपकै सबैभन्दा छिटो शतक बनाउने खेलाडी बने। उनले ३३ बलमा १० चौका र आठ छक्का सहित शतक पूरा गर्दै अविजित रहे। उनले बपहिलो विकेटका लागि ओपनर ब्याटर टिम सेफर्ड सँग ११७ रनको शतकीय साझेदारी सहित न्युजिल्यान्डको जितको धरोहर तय गरेका थिए। सेफर्डले ३३ बलमा सात चौका र दुई छक्का सहित ५८ रनको अर्धशतकीय पारी खेलेका थिए। रचिन रविन्द्र ११ बलमा दुई चौका सहित १३ रनमा अविजित रहे। दक्षिण अफ्रिकाको लागि बलिङतर्फ एकमात्र विकेट कागिसो रावडाले लिए।

त्यसअघि,ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि मार्को ज्यानसनले सर्वाधिक ५५ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ३० बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। उनले छैठौँ विकेटका लागि त्रिस्टन स्टुप्ससँग ७३ को साझेदारी गर्दै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ सम्हाले। ७७ मा ५ विकेट गुमाएको दक्षिण अफ्रिकाको लागि ओपनरद्वय यही कप्तान एडन मक्रम र क्विन्टन डि ककले क्रमश १८ र १० रन बनाए। डेवाल्ड ब्रेभिसले ३४ रन बनाए।  त्रिस्टन स्टुप्सले २९ रनमा पेभेलियन फर्किए।

न्युजिल्यान्डका लागि बलिङतर्फ म्याट हेन्री र कोल एमसीकोन्ची र रचिन रविन्द्रले समान २-२ विकेट लिए। लोकी फर्गुसन र जिम्मी नीसमले १-१ विकेट लिए।

विश्वकप २०२६ को दोस्रो सेमीफाइनल खेलमा ५ मार्चमा भारत र इङ्ल्यान्डले खेल्दैछन्। दोस्रो सेमीफाइनल खेल मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।यो खेलको विजयी टोलीले न्युजिल्यान्डसँग टी २० विश्वकप २०२६ को उपाधिका लागि खेल्नेछ। फाइनल खेल गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा फागुनको २४ गते हुनेछ।

चुनाव बिथोल्ने गतिविधि भए गोली प्रहार गर्ने अधिकार छ : आईजीपी कार्की

काठमाडौं- सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको हो।  यसैबीच, केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।  सुरक्षा अधिकारीहरूले निर्वाचन बिथोल्ने गतिविधि भएमा गोलीसमेत प्रहार हुने चेतावनी बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केन्द्रीय सुरक्षा समिति बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको थियो। यसक्रममा ७७ वटै जिल्लमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। निर्वाचन गराउनका लागि  नेपाली सेनाबाट ७९ हजार ७ सय २७ सुरक्षाकर्मी, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४ हजार ५ सय ७६, गुप्तचरबाट १ हजार ९ सय २१ जना परिचालन गरिएको छ । त्यस्तै, निर्वाचन प्रहरी पनि १ लाख ४९ हजार ९० जना खटिएका छन्। झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहट, महोत्तरीलगायत संवेदनशील जिल्लामा थप सुरक्षाकर्मी खटाइएको छ।  दोलखामा यसपटक माग भएभन्दा पनि बढी सुरक्षाकर्मी परिचालन भएका छन्।  झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको छ। झापा र सर्लाहीमा सादा पोसाकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ।

७७ वटै जिल्लाको शान्ति सुरक्षाको अवलोकन गर्नका लागि बिहीबार (मतदानको दिन) बिहानैदेखि हवाई गस्ती गरिनेछ।  हवाई गस्ती, हेलिकोप्टर स्ट्यान्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी तयारी पूरा भएको छ। बैठकले संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुन सक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानुनविपरीतका गतिविधि भए÷गरेको पाइएका कानुनबमोजिम तुरुन्त कारबाही गर्नेलगायत निर्णय गरेको छ। यस्तै, बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्तदुरुस्त बनाइएकाले सबैलाई निर्वाचनमा ढुक्क भएर मतदानमासहभागी हुन आह्वान गरेको छ।

गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम)को बुधबार निरीक्षण गरेका छन् । गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार  श्रेष्ठ, मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनसम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो।

सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ। यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ।

मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरको विकास गरिएको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरू, गृह मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रणालीबारे जानकारी दिए । उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगे÷नपुगे, मतदान प्रक्रिया सुरु भएनभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्थादेखि विजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ। अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबै, मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

देशभरि बढ्दो अराजक गतिविधि
निर्वाचन हुने अन्तिम समयमा देशैभरि केही हिंसात्मक गतिविधि देखिएका छन्। निर्वाचन विरोधी समूहले निर्वाचन बिथोल्नका लागि धार्मिक साम्प्रदायिकता भड्काउने गतिविधि पनि बढाएका छन्। पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावका बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरूलाई पक्राउ परेका छन्।

धार्मिक सद्भाव भड्काउने गतिविधि गरेका थिए। प्रहरीका अनुसार उनीहरूको साथबाट ९ थान सुतली बम, केही तारलगायत सामग्री पनि बरामद भएका छन्।
यस्तै, काठमाडौंको बूढानीलकण्ठमा शंकास्पद बस्तु फेला परेको छ। कोही उम्मेदवार नगदसहित पक्राउ परेका छन् भने केही मतदान कर्मचारीको जिम्मेवारी खोसिएको छ। विभिन्न ठाउँमा बम राखिएको हल्ला फैलाइएको थियो। यस्तै केही ठाउँमा झडप पनि भएको छ।

निर्वाचन बिथोल्नेलाई गोली
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले निर्वाचन गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका छन्। मतपत्र च्यात्ने, खोस्ने, मतपेटीका खोस्नेलगायतका गतिविधि गर्ने व्यक्तिविरुद्ध कडा बल प्रयोग हुने उनले जानकारी गराएका छन्। उनका अनुसार निर्वाचन आचारसंहिताविपरीत काम गर्नेहरू कानुनी कारबाहीमा पर्नेछन्।

‘निर्वाचन हातमा लिने, धम्क्याउने, आफ्नो पक्षमा पार्न उत्तेजित बनाउने गतिविधिहरू गरेको अवस्थामा कानुनले दिएको अधिकार प्रयोग गर्दै बल प्रयोग हुन्छ,’ आईजीपी कार्कीले भने,‘ नेपाल प्रहरी निर्वाचन स्थलको क्लोज क्षेत्रमा  छ। शंकास्पद गतिविधि भएमा, बुथ कब्जा भयो भन्ने लागेमा उक्त बुथमा निर्वाचन रोकिनेछ। केन्द्रीय सुरक्षा योजनाअन्तर्गत नै ४ वटै सुरक्षाकर्मी खटिएका छन्।’ आवश्यक पर्दा एक अर्को संगठनलाई सघाउने गरी सबै सुरक्षाकर्मी स्टान्डवाई अवस्थामा रहेको आईजीपी कार्कीले बताए।

प्रहरी प्रधान कार्यालयबाट एकै पटक ४१ वटा मतदानस्थल हेर्न सकिने
प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) बाट एकैपटक ४१ वटा मतदान केन्द्र निरीक्षण गर्न सकिनेछ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रणालीको निरिक्षण गरेका थिए। उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ। जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमन गरिन्छ।

सो अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको बताउँदै यो प्रणालीले निर्वाचनलाई महŒवपूर्ण सहयोग पुग्ने जानकारी दिए। प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्ने उनको जोड थियो।  उक्त सूचना प्रणालीमार्फत निर्वाचनसम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रूपमा मनिटरिङ गर्न सकिन्छ।

मतदान केन्द्र प्रदेश कमान्ड पोस्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको मनिटरिङ गर्न सूचणा प्रणालीको विकास गरिएको हो। मोबाइल टिम, सीसी क्यामेराबाट लाइभ मनिटरिङ गर्न सकिन्छ। मतगणना केन्द्रको विवरण कल सेन्टर र अनलाइनको माध्यमबाट सूचना संकलन गरिन्छ। सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन उपयोगी हुनेछ। साथै गृहमन्त्री अर्यालले सात वटा प्रदेशका लागि कार्यरत सुरक्षाकर्मीको डेस्कको पनि जानकारी लिएका थिए।

सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ। यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ। मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेयरको विकास गरिएको हो। -अन्नपुर्णबाट

अत्यावश्यकबाहेक सबै गाडी सञ्चालनमा रोक

काठमाण्डौ- प्रतिनिधि सभा चुनावलाई ध्यानमा राखी गएराति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगको सिफारिसमा सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान नहुन्जेलसम्म गाडी सञ्चालनमा रोक लगाइएको हो । आयोगले अत्यावश्यक सेवा, कूटनीतिक नियोग र पास भएका गाडीलाई भने सञ्चालन अनुमति दिएको छ ।

कस्ता गाडी चलाउन पाइन्छ ? 

अत्यावश्यक सेवा : दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूरसञ्चार, विद्युत् र ढल मर्मतका गाडीहरू ।

दैनिक उपभोग्य वस्तु :  दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका गाडीहरु ।

स्वास्थ्य सेवा : अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन–जान प्रयोग हुने गाडी ।

हवाई यात्रु : अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका गाडी (विमानस्थलसम्म वा घररहोटलसम्म जान) ।

अशक्त तथा बिरामी :  हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजको एक जना सहयोगी बोकेका गाडी ।

कूटनीतिक र अन्य :  नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका गाडी, आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक र प्रेस पास भएका सञ्चारकर्मीका गाडी ।

 

आज प्रतिनिधि सभा निर्वाचन, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं- जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ ।

नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो ।

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना र निर्वाचन प्रहरीहरु एक लाख ४९ हजार ९० जना खटाइएको छ ।

निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकेको छ ।

यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

निर्वाचन लोकन्तको सबैभन्दा ठूलो अनुष्ठान

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् ।

आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि भएको उनको भनाइ छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल?

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बिहीबारको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रृटिरहित ढंगबाट सम्पन्न गर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले राष्ट्रिय सुरक्षामा पार्नसक्ने चुनौतीका विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री सचिवालयका अनुसार राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनुपर्ने भावी रणनीतिका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिइन्।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उपस्थिति थिए।

कञ्चनपुरमा उम्मेदवार विरुद्ध उजुरी

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै एक उम्मेदवार विरुद्ध उजुरी परेको छ । बिहिबार कञ्चनपुर निर्वाचन क्षेत्र २ का उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका योगेन्द्र बहादुर साउद विरुद्ध उजुरी परेको हो ।

मौन अवधि सुरु भए पश्चात् निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका साउद विरुद्ध उजुरी परेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका साउदले मौन अवधि सुरु भए पश्चात् सो पार्टी परित्याग गर्दे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन जनाएका थिए ।

बुधबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गर्दे उनले रास्वपाका उम्मेदवारलाई समर्थन जनाएको उल्लेख गरेका थिए । मौन अवधि सुरु भएपश्चात् निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै नेपाली काँग्रेशका नेताहरुले उजुरी दिएका जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक-सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए ।

यसैगरी जिल्लामा हाल सम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका ५ उजुरी परेको जोशीले बताए । आचारसंहिता विपरीत परेका उजुरीमाथि छानबिन गरिने उनले बताए ।

मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयाेगकाे दाबी

काठमाण्डौ– निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्‍याएको छ ।

चुनावको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले गरेको वाचा पूरा गर्ने जिकिर गरे । यस्तै उनले मतपेटिका सङ्कलन पनि छिटोभन्दा छिटो गर्न प्रयास गर्ने बताए ।

सडक पुगेको ठाउँमा गाडीबाटै मतपेटिका ढुवानी हुन्छ । छोटो दुरीका लागि बोकेर पनि ढुवानी हुन्छ । हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ ठाउँबाट भने हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने भन्दै भण्डारीले हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारेका छन् ।

मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अङ्कित लाहाछाप लगाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उनले बताए । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए ।

दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उहाँले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे ।


कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी’ जडान

कञ्चनपुर- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका एक सय ३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिए ।
त्यसैगरी यहाँका ६६ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । एक सय ३२ मतदान स्थलमध्ये ६६ वटा मतदान स्थललाई अतिसंवेदनशील, ४० वटा मतदान स्थल संवेदनशील र २६ मतदान स्थललाई सामान्यको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ ।
कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण पनि अतिसंवेदनशील मतदानस्थलको सङ्ख्या बढी छ । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा ३४ अतिसंवेदनशील मतदान स्थल छन् भने १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा १७ अतिसंवेदनशील मतदान स्थल छन् । तेह्र वटा संवेदनशील र १३ सामान्य मतदान स्थल छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा १५ अतिसंवेदनशील,१३ संवेदनशील र नौ वटा सामान्य मतदान स्थल रहेका जनाइएको छ ।

मतदान गर्न उत्साहित छन् कैलालीका मतदाता

यशोदा शर्मा,

कैलाली। नेपालको राजनीतिक क्यालेन्डर अनुसार २०८४ मा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन विशेष परिस्थितिका कारण भोलि हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा कैलाली जिल्लाभरि उत्साह छाएको छ । कैलालीका बजारदेखि गाउँका चोकहरूसम्म अहिले एउटै चर्चा छ– ‘भोलिको मतदान र त्यसले दिने परिणाम ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता सुरत खड्काका लागि यो निर्वाचन  एक विशेष अवसर हो । बुधबार आफ्नो कपडा पसलमा भेटिएका खड्का भोलि बिहान कति बेला मतदान केन्द्र पुगौँला भन्ने व्यग्र प्रतीक्षामा छन् । ‘०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अगावै हुन लागेको छ । यसलाई मैले एक अवशरका रूपमा लिएका छु,’ उनले भने ।
खड्काका अनुसार उनका धेरै व्यवसायी साथीहरू मतदानकै लागि आ–आफ्नो टाढाको निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
मतदाताहरूमा देखिएको यो उत्साह मतदानका लागि मात्र नभई, देशमा स्थिरता र विकासको नयाँ मार्ग हुने आशाको पनि छ । कैलालीकै चक्रदेव भट्टले हालसम्म छ पटक मतदान गरिसकेका छन् । उनलाई यो निर्वाचन पछि देशले नयाँ दिशाा पाउने  बिस्वास छ । यसै बिस्वासले उनलाई मतदान केन्द्रसम्म डो¥याउँदैछ ।
उनी भन्छन्, ‘देशको अवस्था नाजुक छ, अबको जिम्मेवारी नयाँ र युवा पुस्ताको काँधमा आउनुपर्छ ।’ भ्रष्टाचार नगर्ने, सार्वभौम सत्ताको रक्षा गर्ने र देशलाई विकासको बाटोमा लैजाने नेतृत्व चयन गर्न उनी अब केही घण्टाको पर्खाइमा छन् ।
कैलाली क्षेत्र नम्बर ४ गोदावरीका तिलक चौधरी पनि भोलि घण्टेश्वरी माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्दैछन् । आफ्नो जीवनमा धेरै पटक भोट हालेका चौधरीका लागि यो निर्वाचन विगतका तुलनामा निकै खास छ ।  यद्यपि, उनले मतदाता शिक्षाबारे गाउँमा कसैलाई जानकारी नदिएको बताए ।
‘मलाई त भोट हाल्न आउँछ, तर अरु कसैले पनि गाउँमा सिकाउन आएका छैनन् । यसले गर्दा मत बदर हुने सम्भावना भने छ ।’
उता क्षेत्र नम्बर २ की मतदाता रेखा चौधरी पनि उत्तिकै उत्साहित छिन् । धनगढीबाट आफ्नो मतदान क्षेत्रतर्फ लाग्दै गर्दा भेटिएकी रेखाले यस पटकको चुनावमा युवा उम्मेदवारहरूको उपस्थिति बढ्नुुलाई सकारात्मक पक्ष मानेकी छन् । ‘विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचनको नतिजा कस्तो आउला भनेर हामी झन् बढी उत्साहित छौँ,’ उनले थपिन् ।
देशभर भोलि बिहानैदेखि सुरु हुने मतदानले कैलालीको मात्र नभई मुलुकले नै नयाँ राजनीतिक नक्सा कोर्ने अपेक्षा गरेएको छ ।

मतदाता घर पर्किएपछि सुनसान धनगढी

यशोदा शर्मा,

कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानि धनगढी प्रदेशकै व्यस्त बजार हो । झन चुनाव नजिकिए सँगै त धनगढीका चोक चोकमा भिडभाड देखिन्थ्यो । चिया नास्ता पसलका व्यापारी व्यस्त देखिन्थे ।
तर मौन अवधि सुरु भएपछि धनगढी सुनसान छ । बजारका कुनै ठाउँमा पनि मानिसको जमघट देखिदैन । पहाडी जिल्लाका मतदाता घर फर्किएका छन् भने कैलालीकै अन्य ठाउका मतदातले पनि धनगढी छोडेका छन् ।
कैलालीको कैलारी गाउँपालिकाकी धना चौधरी मतदान गर्न घर फर्किएकी छिन् । क्षेत्र नम्बर ३ की मतदाता उनले धनगढी बस्ने धेरै साथिहरु घर फर्किएको बताइन् ।
यस्तै कैलालीको क्षेत्र नम्वर २ की मतदाता रेखा चौधरी पनि उत्साहित भएर धनगढीबाट घर फर्किंदै छिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा यस पटक युवा उम्मेदवार उठेकाले भोट हाल्न आफु उत्साहित भएको बताइन् ।
‘म मात्र होइन सबै मतदाताहरु भोली भोट हाल्न खुसी छन्, विशेष निर्वाचन हो, कस्तो नतिजा आउँछ नतिजा हेर्न झन् उत्साहित छौ,” उनले भनिन् ।
कैलाली भित्रका मात्र होइनन् जिल्लाबाट बाहिरिनेको संख्या पनि ठुलो छ । बझाङका बिष्णु बोहरा हिजो मात्रै मतदान गर्न गृह जिल्ला फर्किए । अध्यनका लागि धनगढी बस्ने उनी सँगै ७ जना घर फर्किएका हुन् ।
टा«फिक प्रहरी कार्यालय कैलालीका प्रमुख चक्र बहादुर देउवाले जिल्लाबाट कति बाहिरिए भन्ने एकिन तथ्यांक नभएको बताए । तर जिल्लाबाट पहाडी जिल्लाहरुमा जानेको संख्या धेरै रहेको उनको भनाइ छ ।
‘पछिल्लो ३/४ दिनमा कैलालीबाट बाहिरिएको प्रत्यक बसहरु प्याक देखिन्थे । जिल्लाबाट बाहिरिनेको संख्या बढी छ,” उनले भने ।

खोज्नुहोस