ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

द एभरेष्ट पोष्ट
८ साउन २०८३ १७:३१
ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा करीब दुई घण्टा लामो वार्ता सम्पन्न भएको छ । बैठकमा ककरोच पार्टीका तर्फबाट प्रवक्ता सौरभ दास र आशुतोष राङ्का सहभागी थिए भने सरकारको प्रतिनिधित्व केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले गरेका थिए ।

छलफलका क्रममा ककरोच पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि सारेका छन् । जसमा प्रश्नपत्र लिकका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १-१ करोड रुपैयाँ क्षतिपूर्ति, आन्दोलनका क्रममा दर्ता भएका उजुरी दर्ता फिर्ता र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सामेल छन् ।

वार्ता पछि मन्त्री जेपी नड्डाले आन्दोलनकारीका मागहरूबारे भोलि दिउँसो पुनः बैठक बसेर छलफल गरिने जानकारी दिएका छन्। यसैबीच ककरोच पार्टीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले प्रदर्शनकारीलाई बिनाकारण धरपकड गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा मन्त्री नड्डाले त्यस्तो कार्य नभएको तर यदि भइरहेको भए पुलिसलाई रोक्न निर्देशन दिने आश्वासन दिएका छन् । शिक्षा मन्त्रीको राजीनामालाई गैर-सम्झौताहीन अडान बनाएको ककरोच पार्टीले जुनको अन्तिम सातादेखि जन्तर-मन्तरमा निरन्तर प्रदर्शन गर्दै आएको छ।

जुलाई २० मा छात्रहरूले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गर्दा प्रदर्शन उग्र बनेको थियो। ककरोच पार्टीले मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएको छ । उता आन्दोलनकारी युवाहरूलाई शान्त पार्न र भरोसा दिलाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देश जारी गर्दै देशका युवाहरूको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले प्रश्नपत्र लिक प्रकरणका दोषीहरूलाई कडा सजाय दिन फास्ट-ट्र्याक अदालतहरू गठन गर्ने मसौदा तयार भइसकेको र आगामी संसद् अधिवेशनमा यससम्बन्धी विधेयक पेस गरिने घोषणा गरेका छन्।

साथै, प्रभावित २२ लाख विद्यार्थीहरूको पुनः परीक्षा छोटो समयमै सम्पन्न गराएर नतिजा समेत सार्वजनिक गरिसकिएको उल्लेख गर्दै उनले सरकारले दोषीहरूलाई जेल पठाउन कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। यद्यपि ककरोच पार्टीले भने प्रधानमन्त्रीको यो आश्वासनलाई केवल ‘झुक्याउने प्रयास’ भन्दै शिक्षा मन्त्रीको राजीनामा नआएसम्म प्रदर्शन जारी राख्ने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस