डा. गोविन्द केसीविरुद्ध लोकराज पाण्डे अनशन बस्ने
धनगढी : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयको विरोध फिर्ता नलिए आफूहरू पनि प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन् । भिडियो सन्देशमार्फत पाण्डेले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको भन्दै यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
उनले विश्वविद्यालयको नियुक्ति खारेजीसम्बन्धी माग र अनशन तत्काल फिर्ता लिन डा. केसीलाई आग्रह गर्दै त्यसो नगरे सरकार र डा। केसीविरुद्ध नै अनशन बस्ने चेतावनी दिए । पाण्डेले सुदूरपश्चिमका नागरिकको भावना र अधिकारमाथि प्रहार हुने कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गर्दै विश्वविद्यालय सञ्चालनको प्रक्रियालाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरे ।
यता, डा.गोविन्द केसी धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन् । उनले चिकित्सा शिक्षा सुधारका साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी माग पनि उठाएका छन् । उनले गेटामा विश्वविद्यालय उपयुक्त नभएको र हतारमा मेडिकल माफियालाई पोस्ने गरी ऐन ल्याइएको बताएका छन् ।
