डा. गोबिन्द केसीलाई धर्मशाला छाड्न आग्रह
कैलाली । स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २४औँ अनसन सुरु गरेका डा. गोविन्द केसीलाई उनी बसिरहेको स्थान छोड्न कृष्ण मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ । बिहीबारदेखि मन्दिर परिसरको धर्मशालामा सत्याग्रह थालेका डा। केसीलाई समितिले औपचारिक पत्र नै काटेर ठाउँ खाली गर्न भनेको हो ।
धर्मशाला व्यवस्थापन समितिले धार्मिक स्थलमा अनसन बस्दा सुरक्षा संवेदनशीलता बढेको र विभिन्न पक्षबाट दबाब आएकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ । केसीले सुरुमा बस्नका लागि मात्र अनुमति मागेको तर पछि जानकारी नै नदिई अनसन थालेको समितिको दाबी छ ।
यता डा। केसीका सहयोगी डा। अमृत जैसीले भने व्यवस्थापन समितिको यो कदमप्रति आश्चर्य प्रकट गरेका छन् । उनले पूर्वजानकारी गराएरै सत्याग्रह सुरु गरिएको दाबी गर्दै अहिले आएर ठाउँ छोड्न दबाब दिनुको पछाडि बाह्य प्रभाव हुनसक्ने बताए ।’व्यवस्थापन समितिबाट धर्मशाला खाली गर्न पत्र आएको छ । डा। केसी अहिले यतै हुनुहुन्छ । अर्को बिकल्पबारे अहिले केहि सोचेका छैनौ,’ उनले भने ।
उनका अनुसार डा. केसीले व्यवस्थापनले हटाउन नै चाहेको भए आफु हट्न तयार रहेको बताएका छन् ।
केसी शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नियुक्ती खोरेजी सहितका ५ बुदे माग राख्दै बिहिबार अनसन बसेका थिए । अनिश्चितकालीन अनसन सुरु गरेका केसीको अनसन अब कहाँ सर्छ भन्ने विषय अन्योलमा परेको छ । अनसन सुरु गर्ने जानकारी गरे सँगै सुदूरपश्चिमका डा.केसीको आलोचना सुरु भएको थियो ।
