भारतबाट हसिना फर्किने तयारीबीच बंगलादेशका राष्ट्रपतिले दिने भए राजीनामा
बंगलादेश : बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले आफ्नो कार्यकाल सकिनुअघि नै शुक्रबार पदबाट राजीनामा दिने भएका छन् । उनका प्रेस सचिव सरवार आलमका अनुसार स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले उनी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न नसक्ने निष्कर्षमा पुगेका हुन् ।
शाहाबुद्दीनको कार्यकाल सन् २०२८ को अप्रिलसम्म रहने भए पनि उनले बीचमै पद त्याग्ने निर्णय गरेका हुन् । उनको राजीनामाको निर्णय पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किएर अदालतको सजाय स्वीकार गर्ने घोषणा गरेपछि आएको हो ।
हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने घोषणा गरेको केही दिनअघि गरेकी थिइन् । त्यसलगत्तै शाहाबुद्दिनको राजीनामाको निर्णय सार्वजनिक भएको हो । प्रेस सचिव आलमले राष्ट्रपतिको स्वास्थ्य उपचार र आराम आवश्यक भएकाले राजीनामाको निर्णय गरिएको बताए । यद्यपि सरकारनिकट स्रोतहरूले भने शेख हसिनासँग रहेको लामो राजनीतिक सम्बन्धका कारण सरकारले शाहाबुद्दीनलाई पद छोड्न दबाब दिएको दाबी गरेका छन् ।
शेख हसिना सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी थिइन् । त्यसपछि शाहाबुद्दीनले संक्रमणकालीन राजनीतिक प्रक्रिया सम्हालेका थिए, जसको अन्त्य यस वर्षको निर्वाचनपछि तारिक रहमान प्रधानमन्त्री बनेसँग भएको थियो ।
बंगलादेशको संविधानअनुसार राष्ट्रपतिले संसदका सभामुखलाई लिखित राजीनामा बुझाउनुपर्छ । सभामुख थाइल्यान्ड भ्रमणबाट फर्किएपछि शाहाबुद्दीनले औपचारिक रूपमा राजीनामा बुझाउने जनाइएको छ । राजीनामापछि संविधानअनुसार नयाँ राष्ट्रपति निर्वाचित नहुँदासम्म सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।
गत नोभेम्बरमा बंगलादेशको अदालतले शेख हसिनालाई आन्दोलन दमनको आदेश दिएको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनमा करिब १४ सय मानिसको मृत्यु भएको थियो । हसिनाले भने आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।
हाल शेख हसिनाको आवामी लिग पार्टी प्रतिबन्धित अवस्थामा छ । पार्टीका धेरै नेता तथा कार्यकर्ता जेलमा छन् वा भूमिगत भएका छन् । यस्तो अवस्थामा हसिनाको सम्भावित स्वदेश फिर्ता र राष्ट्रपतिको राजीनामाले बंगलादेशको राजनीतिक अवस्था थप चासोको विषय बनेको छ ।
