मतदान गर्न उत्साहित छन् कैलालीका मतदाता

द एभरेष्ट पोष्ट
२० फागुन २०८२ १७:३७
मतदान गर्न उत्साहित छन् कैलालीका मतदाता

यशोदा शर्मा,

कैलाली। नेपालको राजनीतिक क्यालेन्डर अनुसार २०८४ मा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन विशेष परिस्थितिका कारण भोलि हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा कैलाली जिल्लाभरि उत्साह छाएको छ । कैलालीका बजारदेखि गाउँका चोकहरूसम्म अहिले एउटै चर्चा छ– ‘भोलिको मतदान र त्यसले दिने परिणाम ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता सुरत खड्काका लागि यो निर्वाचन  एक विशेष अवसर हो । बुधबार आफ्नो कपडा पसलमा भेटिएका खड्का भोलि बिहान कति बेला मतदान केन्द्र पुगौँला भन्ने व्यग्र प्रतीक्षामा छन् । ‘०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अगावै हुन लागेको छ । यसलाई मैले एक अवशरका रूपमा लिएका छु,’ उनले भने ।
खड्काका अनुसार उनका धेरै व्यवसायी साथीहरू मतदानकै लागि आ–आफ्नो टाढाको निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
मतदाताहरूमा देखिएको यो उत्साह मतदानका लागि मात्र नभई, देशमा स्थिरता र विकासको नयाँ मार्ग हुने आशाको पनि छ । कैलालीकै चक्रदेव भट्टले हालसम्म छ पटक मतदान गरिसकेका छन् । उनलाई यो निर्वाचन पछि देशले नयाँ दिशाा पाउने  बिस्वास छ । यसै बिस्वासले उनलाई मतदान केन्द्रसम्म डो¥याउँदैछ ।
उनी भन्छन्, ‘देशको अवस्था नाजुक छ, अबको जिम्मेवारी नयाँ र युवा पुस्ताको काँधमा आउनुपर्छ ।’ भ्रष्टाचार नगर्ने, सार्वभौम सत्ताको रक्षा गर्ने र देशलाई विकासको बाटोमा लैजाने नेतृत्व चयन गर्न उनी अब केही घण्टाको पर्खाइमा छन् ।
कैलाली क्षेत्र नम्बर ४ गोदावरीका तिलक चौधरी पनि भोलि घण्टेश्वरी माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्दैछन् । आफ्नो जीवनमा धेरै पटक भोट हालेका चौधरीका लागि यो निर्वाचन विगतका तुलनामा निकै खास छ ।  यद्यपि, उनले मतदाता शिक्षाबारे गाउँमा कसैलाई जानकारी नदिएको बताए ।
‘मलाई त भोट हाल्न आउँछ, तर अरु कसैले पनि गाउँमा सिकाउन आएका छैनन् । यसले गर्दा मत बदर हुने सम्भावना भने छ ।’
उता क्षेत्र नम्बर २ की मतदाता रेखा चौधरी पनि उत्तिकै उत्साहित छिन् । धनगढीबाट आफ्नो मतदान क्षेत्रतर्फ लाग्दै गर्दा भेटिएकी रेखाले यस पटकको चुनावमा युवा उम्मेदवारहरूको उपस्थिति बढ्नुुलाई सकारात्मक पक्ष मानेकी छन् । ‘विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचनको नतिजा कस्तो आउला भनेर हामी झन् बढी उत्साहित छौँ,’ उनले थपिन् ।
देशभर भोलि बिहानैदेखि सुरु हुने मतदानले कैलालीको मात्र नभई मुलुकले नै नयाँ राजनीतिक नक्सा कोर्ने अपेक्षा गरेएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस