भोलि देशभर हेलिकोप्टरबाट गस्ती हुने

भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकोप्टर गस्ती गर्ने भएको छ ।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।

सेनाको हेलिकोप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकोप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले जानकारी दिइन ।

साथै हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने निर्णय पनि भएको छ ।

युएईबाट नेपाल फर्किन चाहने नेपालीका लागि आबुधाबी दूतावासको नयाँ सूचना

काठमाडौँ- नेपाल फर्किन चाहने नेपालीका लागि युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार नयाँ सूचना दिएको छ। मंगलबार बनाएको गुगल लिंकमा समस्या भएको भन्दै दूतावासले नयाँ सूचना सार्वजनिक गरेको हो।

मंगलबार सार्वजनिक गरिएको गुगल लिंकमा विवरण भरेका नेपालीले भने नयाँ लिंकमा विवरण उपलब्ध गराउनु नपर्ने जानकारी गराउँदै नयाँ व्यक्तिका लागि सूचना सार्वजनिक गरेको हो।

दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘यसअघि प्रकाशन गरिएको गुगल फारमको लिंकमा प्राविधिक समस्या आएकोले तलको लिंक उपलब्ध गराइएको हो। गुगल फारममा आफ्नो विवरण उपलब्ध गराइसक्नु भएका व्यक्तिले पुनः यो फाराम भरिरहनु नपर्ने व्ययहोरा अनुरोध छ।’

पर्यटक भिसा तथा ट्रान्जिट रहेका, भिसा समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई कन्सुलर सेवा विभागको लिंकमा विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको छ।

सुदूरपश्चिममा भोलिको मतदानका लागि अन्तिम तयारी : बुथ निर्माण कार्य तीव्र

यशोदा शर्मा,

कैलाली। सुदूरपश्चिमका विभिन्न मतदान स्थलहरूमा भोलि बिहान हुने मतदानका लागि बुथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कतिपय स्थानमा निर्माण सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा अन्तिम तयारी भइरहेको छ। मतदान कार्यलाई व्यवस्थित बनाउन कर्मचारीहरू आ९आफ्नो मतदान स्थलमा पुगेर सबै आवश्यक प्रबन्ध मिलाइरहेका छन्।

कैलालीको क्षेत्र नम्बर ५ अन्तर्गत त्रिनगर माध्यमिक विद्यालयमा ८ वटा मतदान केन्द्रहरू रहेका छन्। त्यहाँ भइरहेको तयारीबारे जानकारी दिँदै मतदान अधिकृत जगदिश जोशीले भन्छन्, “हामीले मंगलवार सर्वदलीय बैठक आह्वान गरी मतदान कार्यलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा केही महत्वपूर्ण निर्णयहरू गरेका छौँ। यहाँ हिजोदेखि नै बुथ निर्माणको काम सुरु भएको हो। अहिले मतदान केन्द्रमा बेन्च राख्ने, बाँस गाड्ने र डोरी बाँध्ने जस्ता भौतिक व्यवस्थापनका कामहरू भइरहेका छन्। ”

उनका अनुसार अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको सहजताका लागि विशेष बुथको समेत व्यवस्था भइसकेको छ । त्यसैगरी, निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आजै मतदान प्रतिनिधिहरूलाई परिचय पत्र वितरण गरिँदैछ। मतदान अधिकृत दानवहादुर सुनारले परिचय पत्र वितरण पश्चात् भोलि बिहानैदेखि कर्मचारीहरू आ९आफ्नो बुथमा खटिने बताए। स्वयंसेवकहरू पनि परिचालन भएर भोलि बिहान ७ बजेदेखि नै मतदानको काम सुचारु गरिनेछ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा तयारीहरू लगभग पूरा भएको जानकारी दिए। उनका अनुसार प्रदेशभर रहेका कुल १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रहरूमा बुथ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये कैलाली सबैभन्दा बढी ५ वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो। कैलालीमा मात्र २ सय ३७ मतदान स्थल र ६ सय ४५ मतदान केन्द्रहरू रहेका छन्ज । जहाँ ५ लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन्। समग्र प्रदेशको कुरा गर्दा कुल १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन्।

अघिल्लो निर्वाचनको तुलनामा यस पटक प्रदेशभर ४६ हजार नयाँ मतदाताहरू थपिएका छन्। भोलि बिहानैबाट सुरु हुने मतदानका लागि कर्मचारी र सुरक्षाकर्मीहरूले सुरक्षा र व्यवस्थापनका सम्पूर्ण कामहरूलाई अन्तिम रूप दिइरहेका छन्।

कैलालीको स्वास्थ्य सूचकांकमा प्रगति, संकटमा बिमा कार्यक्रम

कैलाली- सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा स्वास्थ्यका सूचकहरूमा लोभलाग्दो प्रगति देखिएको छ । तर विगतमा हैजा, झाडापखाला, औलोजस्ता सरुवा रोगको प्रकोपले आक्रान्त हुने यो जिल्ला अचेल नसर्ने रोगको नयाँ भारी बोक्न विवश छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार अहिले रोगको प्रकृतिमा आएको परिवर्तन जिल्लाका लागि नयाँ चुनौती बनेको छ । ‘हिजोका दिनमा सरुवा रोगको भार धेरै थियो । तर अहिले मुटु, मधुमेह र क्यान्सरजस्ता जीवनशैलीसँग जोडिएका नसर्ने रोगको भार बढ्दो क्रममा देखिएको छ,’ उनले भने । साथै खुला सिमानाका कारण भारतबाट भित्रिन सक्ने विभिन्न सङ्क्रमणहरूको जोखिम पनि उत्तिकै छ ।

सरुवा रोगको नियन्त्रणमा भने जिल्लाले प्रशंसनीय सुधार ल्याएको छ । ०७९/८० मा २८ हजार ४ सय २० जनामा देखिएको झाडापखालाको संक्रमण पछिल्लो समय ९ हजार १ सय ४९ मा झरेको छ । डेंगु संक्रमण पनि १ हजार ८१ बाट घटेर २ सय २४ मा झरेको तथ्यांकले देखाउँछ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर हाल कुल १ सय ८३ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । जसमा ५ वटा सरकारी र ३४ वटा निजी अस्पतालहरूले मात्रै विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् । ८१ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २४ वटा सामुदायिक स्वास्थ्य एकाइहरूको उपस्थितिले गाउँ–गाउँसम्म पहुँच विस्तार गर्ने प्रयास गरेको छ । तर भौगोलिक विकटता र स्रोतको अभावले सेवाको गुणस्तरमा भने ठूलो खाडल छ ।

भौगोलिक रूपमा हेर्दा धनगढी र टीकापुरजस्ता सहरी क्षेत्रमा विशेषज्ञ सेवाको पहुँच बढ्दै जाँदा चुरे र मोहन्यालजस्ता पहाडी भेगका नागरिकले अझै पनि आधारभूत सेवासमेत पाएका छैनन् । यी दुई गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राथमिक अस्पताल छैन । जसले गर्दा सामान्य चिकित्सकीय सेवाका लागि त्यहाँका बासिन्दा घण्टौंको यात्रा गरेर धनगढी पुग्न बाध्य छन् ।

जिल्लाकाका गोदावरी, लम्की र बर्दगोरियाजस्ता पालिकाहरूमा विशेषज्ञ चिकित्सकको उपस्थिति बढ्दै गएको छ । जसले स्वास्थ्य सेवामा सहजता आएको देखिन्छ । तर आपतकालीन सेवाका लागि जिल्लाभर एम्बुलेन्स सेवा पुगे पनि पहाडी र दुर्गम क्षेत्रमा ‘गोल्डेन आवर’ मा सेवा दिन अझै चुनौतीपूर्ण छ । तराईमा आधा घण्टाको दूरीमा स्वास्थ्य पहुँच पुगे पनि चुरे र मोहन्यालजस्ता ठाउँमा आकस्मिक अवस्थाका बिरामीलाई समयमै उपचार पाउन समस्या छ ।

कैलालीको स्वास्थ्य सेवामा देखिएको सबैभन्दा सकारात्मक पक्ष भनेको मातृ तथा नवजात शिशु मृत्युदरमा आएको उल्लेख्य कमी हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा १५ जना रहेको मातृ मृत्यु संख्या आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा घटेर ४ मा सीमित भएको छ ।

त्यसैगरी, नवजात शिशु मृत्युदरमा पनि ठूलो सुधार आएको देखिन्छ । ०७९/८० मा १५३ जना नवजात शिशुको मृत्यु भएकोमा पछिल्लो समय यो संख्या घटेर ३४ मा झरेको छ । यसले जिल्लाको प्रसूति सेवा र शिशु स्याहारको आएको सुधारलाई पुष्टि गर्छ ।

प्रसुति सेवामा पनि सुधार आएको छ । विशेषगरी धनगढी उप–महानगरपालिका जिल्लाकै प्रसूति सेवाको केन्द्र बनेको छ । जहाँ वार्षिक ९ हजारभन्दा बढी महिलाहरूले संस्थागत सुत्केरी सेवा लिएका छन् ।

जिल्लाको स्वास्थ्य सूचक सुधार्न निजी अस्पतालहरूको भूमिका पनि महत्त्वपूर्ण छ । धनगढी र अत्तरिया क्षेत्रमा निजी क्षेत्रले दिएको विशेषज्ञ सेवाले गर्दा धेरै बिरामीहरू भारत वा काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । तर, निजी क्षेत्रमाथि चर्को शुल्क, अनावश्यक प्रयोगशाला परीक्षण र भुर्णको लिङ्ग पहिचानजस्ता गैरकानुनी काम हुने गरेको गुनासो आउने गरेको स्वास्थ्य कार्यालय प्रमुख कुँवर बताउँछन् ।

उनका अनुसार औषधि आपूर्तिको सन्दर्भमा सरकारले ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराउने नीति लिएको भए पनि सेवाग्राहीको अपेक्षा र सरकारी सूचीबीचको तालमेल मिल्दैन । सूचीमा नपर्ने तर निजी क्लिनिकहरूले चलाउने सामान्य औषधिको माग बिरामीबाट आउँदा स्वास्थ्य संस्थाहरूमा तनाव उत्पन्न हुने गरेको छ ।

कैलालीको स्वास्थ्य अवस्था तथ्याङ्कमा बलियो देखिए पनि व्यावहारिक रूपमा यहाँका नागरिकले औषधिको अभाव, भौगोलिक विकटता र जनशक्ति अभावले पूर्ण सुधारको अनुभूति गरेका छैनन् ।

अस्तव्यस्त स्वास्थ्य बिमा कार्यक्रम

सरकारी क्षेत्रमा सेती प्रादेशिक अस्पताल जस्तो ठूलो संस्था क्षमताभन्दा बढी भारमा थिचिएको छ । यो अस्पतालमा ५० देखि एक सय शैयाको जनशक्तिले तीन सयदेखि चार सय शैया बराबरको सेवा दिनुपर्ने बाध्यता छ । जसले सरकारी स्वास्थ्य संयन्त्रलाई अस्थव्यस्त बनाएको देखिन्छ ।

कैलाली जिल्ला नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको जिल्ला हो । तर विडम्बना ! अहिले कैलालीमै यो कार्यक्रम संकटमा परेको छ । स्वास्थ्य बिमाप्रति सर्वसाधारणको आकर्षण घट्नु र सेवा प्रदायक संस्थाहरूले समयमै शोधभर्ना नपाउनुले बिमाको भविष्यमाथि प्रश्न खडा गरेको छ । बिमा बोर्डको २०८१ को प्रतिवेदनले सुदूरपश्चिममबाट हालसम्म ११ प्रतिशत मात्रै स्वास्थ्य बिमामा आबद्ध भएको देखाउँछ ।

स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरका अनुसार अहिले जिल्लामा प्रत्येक सय घरमध्ये २० घरपरिवार मात्र बिमाको पहुँचमा छन् । सेवाग्राहीहरूले अस्पतालमा लामो लाइन लाग्नुपर्ने र औषधि नपाउने गुनासो गर्छन् भने अस्पतालहरूले बिमा बोर्डबाट भुक्तानी नपाएको गुनासो गर्छन् । विशेष गरी सेती प्रादेशिक अस्पतालले मात्रै स्वास्थ्य बिमाबापत उपलब्ध गराएको सेवाको ५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

बिमा बोर्डले पैसा किस्ता–किस्तामा दिए पनि त्यो रकम निकै कम हुने गरेकाले सेवा सञ्चालनमा गम्भीर असर परेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ भुक्तानी पाउनुपर्ने रकम रोकिँदा बिमाले तोकेका औषधि बिरामीलाई उपलब्ध गराउन समस्या भइरहेको बताउँछन् ।

‘हामीले तीन महिनाका लागि दिनुपर्ने औषधि एक महिनाको मात्र दिन बाध्य छौं । अस्पतालसँग औषधि स्टक हुँदैन । भुक्तानी नपाएपछि थप औषधि कहाँबाट किन्ने ?,’ श्रेष्ठले भने । बोर्डले समयमै रकम भुक्तानी नगर्दा त्यसको प्रत्यक्ष असर बिमामा आबद्ध बिरामीलाई परेको छ । जो बिमाकै भरमा उपचार गर्न अस्पताल आउँछन् ।

अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१/८२ मा ८२ हजार ३ सय ९५ जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका थिए । चालू आर्थिक वर्षको ६ महिनामै ५५ हजार १ सय ७१ जनाले सेवा लिइसकेका छन् । यसरी बिरामीको चाप बढ्दै जाने तर स्रोतको अभावमा औषधि र सेवा खुम्चिँदै जाँदा बिमा नवीकरण गर्नेहरूको संख्या पनि न्यून हुँदै गएको छ ।

तेहरानमा खामेनीको अन्त्येष्टि गरिँदै, मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने

काठमाडौं- इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार, गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज बुधबार तेहरानमा हुँदैछ ।

यो बिदाइ समारोह नेपाली समय अनुसार राति करिब पौने १२ बजे (१८:३० जीएमटी) सुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ।

यसैबीच, ‘न्युयोर्क टाइम्स’ले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीका छोरा, मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै यसको घोषणा हुन सक्ने उल्लेख गरेको छ।

इजरायलले भने इरानको नयाँ नेतृत्वका सम्बन्धमा कडा चेतावनी दिएको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको जोसुकै नयाँ उत्तराधिकारी भए पनि यदि उसले ‘इजरायल विनाशको योजना’ र ‘अमेरिकाविरुद्धको धम्की’ लाई निरन्तरता दिएमा उसलाई विनाशको मुख्य लक्ष्य बनाइने घोषणा गरेका छन् ।

मन्त्री काट्जले नयाँ नेताको नाम वा लुक्ने स्थान जस्तोसुकै भए पनि इजरायलले त्यसलाई नछोड्ने चेतावनी दिएका छन् ।

बाजुरामा सवारी साधन सञ्चालनमा रोक

बाजुरा- बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको सुरक्षा व्यवस्था गर्ने गरी फागुन २० गते राती १२ बजे देखि निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि बाजुरामा सञ्चालन हुने सार्वजनिक तथा निजी सबै सवारी साधनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशसान कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले, “ निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बाजुराका फागुन २० गते राती बाह्र बजे देखि निर्वाचन सम्पन्न नहुँदा सम्म सवारी साधन सञ्चालनमा रोक लगाएको बताए ।

उनले भने,“जिल्लामा अत्यावश्यकका सवारी साधन एम्बुलेन्स दमकल रक्त सञ्चार शब बहन सुरक्षा निकायका सवारी साधन विद्युत मर्मत, खानेपानी, ढलमर्मत, दुरसञ्चार मर्मतका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।”

फागुन २० गते राती १२ बजे देखि निर्वाचन सम्पन्न नहुँदा सम्म यदि कोही कसैले यो नियमको उलङ्घन गरी गाडी चलाएको पाइएमा निजलाई आवश्यक अनुसारको कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ ।

 

मतदानको दिन भोलि देशभरको मौसम सफा रहने

काठमाण्डाै- जल तथा मौसम विज्ञान विभागले मतदानको दिन भोलि देशभरको मौसम सफा रहने बताएको छ ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन्। उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र त्यहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए ।

उनका अनुसार लामो समयसम्म पानी नपरेका कारण देशका पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल वर्षा तथा हिमपातको सम्भावना छैन । भोलि बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरूमा आशिंक बादल लाग्न सक्ने देखिन्छ । पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । आउँदो शनिवारसम्मको मौसम सफा रहने पौडेलको भनाइ छ ।

निर्वाचन आयोगकाअनुसार पर्सि शुक्रवारसम्मै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइसक्छ । त्यसैले मतदान र मतपेटिका सङ्कलन दुवै कार्यमा मौसमले असर नगर्ने देखिएको छ ।

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ- आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।

कोलकातास्थित इडेन गार्डेन्स मैदानमा राति ७:१५ बजे सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।

यता न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्णविराम लगाउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका सुपर आठको समूह–१ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । न्युजिल्यान्ड समूह–२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ । यसअघि न्युजिल्यान्ड सन् २०२१ को विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित भएको थियो ।

यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ । अघिल्लो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले भारतलाई नतिजा सुम्पिएको थियो ।

यी दुई टोलीबिचको विगतको नतिजा भने दक्षिण अफ्रिकाको पक्षमा छ । यसअघि दुई टोलीबिच पाँच वटा टी–२० भिडन्त भएको छ । जसमा दक्षिण अफ्रिकाले सबै खेल जितेको छ ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार साविक विजेता भारत र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । फाइनल भिडन्त आइतबार हुनेछ ।

निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठ्माण्डौ- प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ।

बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता एवं रमा आचार्यले जानकारी दिइन्।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो।

आचार्यका अनुसार बैठकले हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।

त्यसैगरी निर्वाचनको समयमा गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको उनले बताइन्।

कैलाली र कञ्चनपुरमा बाख्रामा ‘पीपीआर’ रोगको सङ्क्रमण पुष्टि

काठमाण्डौ- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा ‘बाख्राको हैजा’ भनेर चिनिने पीपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ । पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनाको नतिजा ‘पोजेटिभ’ आएको हो ।

प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा पीपीआरको सङ्क्रमण देखिएको छ । अनुसन्धानका क्रममा भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा भित्र्याएका बोकाबाट सङ्क्रमण फैलिएको पुष्टि भएको छ ।

वरिष्ठ पशु चिकित्सक जोशीले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गर्नुभएको छ । पीपीआर सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै ठूलो सङ्ख्यामा फैलिन सक्ने हुँदा सम्भव भएसम्मका उपाय अपनाउन किसानलाई सल्लाह छ ।

खोरमा रहेका बाख्रामा कडा ज्वरो आउने, मुखमा घाउ देखिने, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्नेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भोलि हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना सहभागी हुनेछन् ।

अमेरिकालाई सैन्य बेस प्रयोग गर्न नदिएपछि स्पेनलाई ट्रम्पको धम्की

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने धम्की दिएका छन्।

स्पेनले इरानमा चलिरहेको सैन्य कारबाहीका लागि अमेरिकालाई आफ्नो सैन्य बेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेसँगै ट्रम्पले स्पेनलाई धम्की दिएका हुन् ।

ह्वाइट हाउसमा कुराकानीका क्रममा ट्रम्पले स्पेनको कडा आलोचना गर्दै स्पेनको रवैया ‘धेरै खराब’ रहेको बताए।

उनले भने, ‘हामी स्पेनसँगको सबै व्यापार बन्द गर्न सक्छौँ। हामी स्पेनसँग कुनै सरोकार राख्न चाहँदैनौँ।’

ट्रम्प प्रशासनको यो धम्की कार्यान्वयन हुने नहुने भने निश्चित छैन । ट्रम्पले युरोपेली संघको सदस्य राष्ट्र स्पेनसँग व्यापार रोक्न कस्ता कदमहरू चालिनेछन् भन्ने खुलाएका छैनन् ।

ट्रम्पको यो भनाइले दुई देशबीच पहिलेदेखि चलिरहेको तनावलाई थप बढाउने संकेत गरेको छ। स्पेनले यसअघि पनि नेटो सहयोगी राष्ट्रहरूले रक्षा खर्च बढाउनुपर्ने ट्रम्पको मागको विरोध गर्दै आएको छ ।

मध्यपूर्वमा बढ्दो तनावको असर विश्वव्यापी रूपमा देखिन थालेको छ । यसले तेलको मूल्यमा वृद्धिका साथै सेयर बजारमा पनि तीव्र गिरावट देखिएको छ ।

‘७७ वटै जिल्लामा निर्वाचनको सबै तयारी सकियो’

काठमाडौं : गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार विहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

गृह मन्त्रालयमा करिब तीनघण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पुरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ ।

गृह सचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका छन् ।

आज सुनको मूल्य तोलामै ११ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

बिदाको दिनमा पनि सर्वोच्च अदालत खुल्ने

काठमाण्डौ- सरकारले चुनावका लागि घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पनि सर्वोच्च अदालत खुला रहने भएको छ । विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि  दिउँसो ३ बजेसम्म अदालत खुला रहने जनाएको छ ।

आजदेखि यही २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिनसम्म बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि अदालत खुला रहने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

 

बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो

बाजुरा। बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका ७७ स्थल र ११८ मतदान केन्द्र र एक अस्थायी गरेर ११९ मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मीसहित सुरक्षा सामग्रीसमेत पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ  ।

बुढीनन्दा नगरपालिका–४, देवडाँडा मावि मतदान अधिकृत राजबहादुर भण्डारीले मतपेटिका बाकस, मसी, स्ट्याम्प प्याड, मतपत्र, स्केल, कलमलगायतका निवार्चन सामग्री बुझेर मतदान केन्द्रमा पुगिसकेको बताए । उनले भने, “हामीले मतदान केन्द्रमा पुगेर अहिले निर्वाचनका लागि आवश्यक काम गरिरहेका छौँ । अहिले अनुसूची ३, ४ , ५ , ६ र ७ समेत टाँस गरेका छौँ ।”

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी अहिले यहाँ सर्वपक्षीय बैठकसमेत बसिसकेको छ । यहाँ दुई वटा मतदान केन्द्र छन् ।(क) मा ५६० र (ख) मा ६११ मतदाता सङ्ख्या रहेको भण्डारीले बताए ।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जिल्लाका ११९ मतदान केन्द्रमध्ये ११६ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको र यहाँको नजिकमा रहेको बडीमालिकामा रहेका दुई स्थायी र एक अस्थायी केन्द्रको सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेको बताए ।

उनले भने, “बाजुराको निर्वाचनको सबै प्रकिया पूरा भएको छ । यहाँका सबै मतदान केन्द्रमा निर्वाचनका लागि चाहिने आवश्यक कर्मचारी सुरक्षाकर्मीसमेत मतदान केन्द्रमा खटिएका छन् ।”

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरेर यहाँका धेरै ठाउँमा आजदेखि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका संयोजक पोखरेलले बताए । बाजुरामा मतदाता सङ्ख्या ८७ हजार ८६१ रहेको छ  ।

नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि `र्‍यापिड एक्सन टिम’ गठन

काठमाण्डौ- सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम शुरु गरेको छ ।नेपालीको अवस्थाबारे नियमित जानकारी लिन, अन्तरसरकारी निकायसँग समन्वय गर्न तथा उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्ने प्रयोजनले टिम गठन गरिएको हो ।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्रसचिवको संयोजकत्वमा गठन भएको टिमले विभिन्न देश तथा अन्य अन्तरराष्ट्रिय संघसंस्थासँग समन्वय गर्नेछ । टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा विज्ञान प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायललगायत निकायका प्रतिनिधि रहने व्यवस्था छ ।

पराराष्ट्र मन्त्रालयको मध्यएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले टिमले कार्यादेशानुसार काम गर्न शुरु गरिसकेको जानकारी दिए । उनले ट्रान्जिट विमानस्थलमा रहेका नेपालीलाई खान बस्नको प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरी समन्वय भइरहेको बताए ।

अमेरिका र इजरायलले इरानमाथि गएको शनिबार गरेको संयुक्त सैन्य आक्रमण र त्यसविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण भएको छ । इरानले पछिल्ला दिनमा विभिन्न देशका विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत अतिसंवेदनशील स्थानमा आक्रमण गरेको छ ।

खाडी क्षेत्रमा रहेका १९ लाखभन्दा धेरै नेपाली नागरिकको सुरक्षा र रोजगारीको चिन्ता बढेको छ । दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने तयारी अवस्थामा रहेका नेपाली नागरिक पनि अलपत्र परेका छन् ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको र त्यसैअनुसार मन्त्रालयले काम गरिरहेको बताए। नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि सो क्षेत्रका मुलुकमा अवस्थित नेपालका आठ दूतावास र दुई महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय भइरहेको उनले बताए ।

यसैगरी मन्त्रालयले एड्भाइजरी जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको प्रवक्ता पौडेलको भनाइ छ । मन्त्रालयले खाडी क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ ।

पोर्टलमा त्यहाँ रहेका नेपालीले आफूलाई परेको अप्ठेरो र जिज्ञासाबारेमा जानकारी गराउने काम शुरु भइसकेको कन्सुलर सेवा विभागका महानिर्देशक दुर्पदा सापकोटाले बताए । त्यस सूचना र जानकारीले सहायता गर्न तथा आगामी दिनमा सम्भावित उद्धारका लागि योगदान पुग्ने उनको विश्वास छ ।

 

आज मध्यरातिदेखि भोलि बेलुका मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ- भोलि हुने मतदानलाई ध्यानमा राखेर आज मध्यराति १२ बजेदेखि अतिआवश्यक सेवाका बाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । भोलि बेलुका मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सार्वजनिक गाडी चल्ने छैनन् ।

यो अवधिमा अत्यावश्यक र आयोगबाट पास प्राप्त गाडी सञ्चालन हुनेछन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी गाडी चलाउन रोक छैन ।

साथै कुटनीतिक नियोगका निलो प्लेट भएका र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त गाडी चलाउन सकिन्छ । सम्पूर्ण मतदाता तथा यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने भए गाडी चल्न रोक लगाएको भन्दा अगावै पुगिसक्न सूचना अधिकारी घिमिरेको आग्रह छ ।

आयोगले कुनै समस्या वा अवरोध भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

 

मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।

सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो ।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “च्भउयचत” गर्न अपिल गरेका छन्। उनले विशेष गरी ँबअभदययप, त्ष्पत्यप, थ्यगत्गदभ लगायत माध्यमहरूमा फैलाइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरे।

“कुनै पनि सामग्री शेयर गर्नु अघि एक छिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,” थापाको आग्रह छ । उनका अनुसार अत्यधिक भडकाउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्छ र यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको हुन्छ ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिक सचेतनाले मात्र यस्ता भ्रमलाई परास्त गर्न सकिने बताएका छन् ।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै समर्थक तथा शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत सत्यको पक्षमा उभिन आह्वान गरेका छन् ।

 

इजरायलद्वारा हिजबुल्लाहका ६० अखडामा आक्रमण, पश्चिम एसियामा तनाव बढ्दै

एजेन्सी : इजरायली सेना (आईडीएफ)ले इरानको समर्थन रहेको सशस्त्र समूह हिजबुल्लाहका करिब ६० वटा अखडामा आक्रमण गरेको बताएको छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार, आक्रमण गरिएका ठाउँहरूमा हतियार राख्ने गोदाम, कमाण्ड सेन्टर, मिसाइल लन्चर र अन्य आतङ्कवादी संरचनाहरू रहेका थिए। विगत केही समययता हिजबुल्लाह र इजरायलबीच निरन्तर जसो दोहोरो आक्रमण भइरहेको छ।

अर्कोतर्फ, हिजबुल्लाहले पनि स्थानीय समय अनुसार राति ८ बजे उत्तरी इजरायलको हाइफास्थित नौसेना (समुद्री सेना) को बेसक्याम्पमा आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनाका अनुसार हिजबुल्लाहले धेरै मिसाइलहरू प्रहार गरेको थियो, तर तीमध्ये अधिकांशलाई आकाशमै नष्ट गरिएको थियो।

समाचार एजेन्सी एएफपीका एक पत्रकारका अनुसार, यी घटनाहरू भएको केही घण्टापछि लेबनानको राजधानी बेरुतमा निकै ठूलो विष्फोटको आवाज सुनिएको थियो।

यसअघि शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए। त्यसयता सम्पूर्ण पश्चिम एसियाको अवस्था निकै तनावपूर्ण बनेको छ।

आकासियो तेलको मूल्य

काठमाडौं । अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीपछि विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र इरानका आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ ।

घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा देखिन थालेको छ, जसले नेपाल र भारतजस्ता तेल आयातमा निर्भर देशहरूको अर्थतन्त्र झकझक्याउने संकेत गरेको छ ।

युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ । केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर ८४ डलर बिन्दु नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई क्रूड पनि ७७ डलर नाघेको छ ।

बीबीसीका अनुसार एक इरानी अधिकारीले ‘स्ट्रेट अफ हर्मुज’ मा देखिने जुनसुकै पानीजहाजमा पनि ‘आगो लगाइदिने’ धम्की दिएका छन् । स्ट्रेट अफ हर्मुज पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग गरिने एउटा महत्त्वपूर्ण मार्ग हो ।

विश्वको २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना भए तेलको मूल्यले १ सय डलर आँकडा पार गर्ने र विश्वव्यापी आपूर्ति शृङ्खला नै ध्वस्त हुन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

युद्ध क्षेत्रबाट गुज्रने जहाजहरूको बीमा शुल्क आकासिएकाले अब तेलमात्र होइन, समुद्री मार्गबाट हुने सम्पूर्ण आयात–निर्यात महँगो पर्ने निश्चित जस्तै भएको छ ।

मध्यपूर्वमा बढ्दो तनावबीच आफ्नो ऊर्जा केन्द्रमा भएको ड्रोन हमलापछि विश्वको दोस्रो ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातक देश कतारले उत्पादन रोकेको छ । जसले युरोप र एसियामा ग्यास मूल्यमा एकैदिन ५० प्रतिशतसम्मको ऐतिहासिक वृद्धि गराएको छ ।

सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीले विज्ञप्ति जारी गर्दै रास लफान र मेसाइद औद्योगिक सहरमा रहेका आफ्ना उत्पादन केन्द्रहरूमा भएको सैन्य हमलाका कारण एलएनजी र अन्य सम्बन्धित उत्पादन अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति गर्ने कतारको यो कदमले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा गम्भीर संकट निम्त्याएको छ ।

भारत हुँदै नेपालमा पर्ने ‘दोहोरो मार’

विश्वको तेस्रो ठूलो तेल आयातकर्ता राष्ट्र भारतमा यसको गहिरो प्रभाव पर्ने देखिए पनि आम उपभोक्ताका लागि भने तत्कालै मूल्य बढाइएको छैन ।

यद्यपि, भारतले आफ्नो आवश्यकताको ८८ प्रतिशत तेल आयात गर्ने हुँदा विश्व बजारमा बढेको कच्चा तेलको मूल्यले भारतको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा ठूलो चाप पार्ने छ ।

आफ्नो विशाल बजारको माग धान्न दैनिक ५५ देखि ५६ लाख ब्यारेल तेल खपत गर्ने भारतले मुख्यगरी रुस, इराक र साउदी अरबबाट कच्चा तेल भित्र्याउँछ । पछिल्लो समय भारतको कुल आयातमा रुसको हिस्सा मात्रै ३५ देखि ४० प्रतिशत पुगेको छ ।

भारत ‘मध्यपूर्वको पासो’ बाट पूर्णत: मुक्त भइसकेको छैन । भारतले भित्र्याउने कुल कच्चा तेलमा मध्यपूर्व (विशेषगरी इराक, साउदी अरब र यूएई) को हिस्सा अहिले पनि ४४ देखि ४६ प्रतिशत हाराहारी छ, जुन कुल आयातको झन्डै आधा हो ।

इरान–इजरायल युद्धको केन्द्रबिन्दु र इरानले बन्द गर्ने चेतावनी दिएको स्ट्रेट अफ हर्मुज नाका यही ४५ प्रतिशत तेल आउने मुख्य बाटो हो । रुसको आडमा भारत सुरक्षित देखिए पनि युद्ध चर्किएर मध्यपूर्वको आपूर्ति शृङ्खला टुट्दा भारतको आधा इन्धन रोकिने खतरा जीवितै छ ।

भारत केवल तेलको उपभोक्ता मात्र होइन, यो एसियाकै एक शक्तिशाली ‘तेल प्रशोधन केन्द्र’ पनि हो । जामनगरस्थित रिलायन्स जस्ता विश्वकै ठूला रिफाइनरीहरूको बलमा भारतले कच्चा तेल प्रशोधन गरी डिजेल, पेट्रोल र हवाई इन्धन विश्व बजारमा बेच्दै आएको छ ।

सन् २०२५ मा मात्रै भारतले दैनिक १२ लाख ८० हजार (१.२८ मिलियन) ब्यारेल प्रशोधित तेल निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको थियो । भारतबाट निर्यात हुने यो तेलको ठूलो हिस्सा नेदरल्यान्ड्स हुँदै युरोपभरि पुग्छ भने सिंगापुर र यूएईलाई ‘रि–एक्स्पोर्ट’ हबका रूपमा प्रयोग गरिन्छ । साथै, अमेरिका र अस्ट्रेलिया जस्ता शक्तिराष्ट्रहरूले समेत भारतबाटै डिजेल र हवाई इन्धन खरिद गर्ने गरेका छन् ।

टी२० विश्वकप: सेमिफाइनलमा भिड्दैछन् दक्षिण अफ्रिका र न्युजिल्यान्ड

काठमाडौँ- आईसीसी टी२० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल आज हुँदैछ। सेमिफाइनलको पहिलो खेलमा बुधबार (आज) दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन्। कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरु हुनेछ। दक्षिण अफ्रिका सुपर ८ बाट समूह ‘ए’को विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो।

सुपर ८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको थियो। भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो। न्युजिल्यान्ड सुपर ८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो। सुपर ८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्यान्डसँग ४ विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो।
वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ। आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ।

धनगढी झडपः घाईते इन्सपेक्टर र असईको सेती अस्पतालमा उपचार हुँदै

धनगढीः मंगलबार साँझ धनगढी-१३ कैलाली गाउँमा दुई समूहबीच भएको झडपमा घाइते भएका इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।  असई साउदको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनिहरु सिभिल पोषाकमा भएका कारण झडपमा संलग्न व्यक्तिहरुले आक्रमण गर्दा घाईते भएका हुन्।

केटाहरुबीच भएको ‘ग्याङ फाईट’ नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर समेत गरेको थियो। कैलालीका एसपी नरेन्द्र चन्दले दिएको जानकारी अनुसार प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरि हिरासतमा राखेको छ। सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको हो।

उनका अनुसार झडपमा केही अन्य व्यक्तिहरू पनि घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।

झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ । हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ ।

निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडाैं ।   सरकारले निर्वाचन सुरक्षाका सबै प्रबन्ध तयार भएको जनाएको छ । मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको र उनीहरूले तोकिएको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयले जनाएको हो ।

गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षाकर्मीहरू आफू खटिएको मतदानस्थलमा बुथ निर्माणमा जुटिरहेका छन् । ‘मुलुकभरका सम्पूर्ण निर्वाचनस्थलमा सुरक्षाकर्मी पुगेका छन् । उनीहरू सम्बन्धित निर्वाचनस्थलका बुथ निर्माणदेखि सुरक्षाका आवश्यक प्रबन्ध मिलाउने काम गरिरहेका छन् । समग्रमा भन्नुपर्दा अब मतदाताले मत हाल्न मात्रै बाँकी छ, निर्वाचनका लागि आवश्यक सुरक्षाका सबै प्रबन्ध पूरा भएको छ,’ उनले भने । निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिएका छन् ।

सरकारले सुरक्षालाई थप प्रभावकारी बनाउन केन्द्रसहित प्रदेश, जिल्ला र स्थानीय तहलाई समेत सक्रिय पार्ने रणनीति लिएको छ । त्यसका लागि प्रदेशदेखि वडा तहसम्म सर्वदलीय बैठक गरेको छ । गृहप्रवक्ता काफ्लेले मंगलबार साँझसम्म प्रदेश, जिल्ला, पालिका र वडासम्म सबै तहमा सर्वदलीय बैठक बसिसकेको बताए ।

‘यसपटकको निर्वाचनमा हामीले प्रदेश, जिल्ला र स्थानीय तह मात्रै होइन, वडा तहलाई पनि सक्रिय बनायौँ । सबैलाई आ–आफ्नो तहमा सर्वदलीय बैठक राख्न भन्यौँ । सोहीअनुसार सबैले बैठक राखेका छन्,’ उनले भने, ‘प्रदेशदेखि वडासम्मको सर्वदलीय बैठकका कारण राजनीतिक सौहार्दता बढाएको छ । यसले समग्र सुरक्षा प्रबन्ध थप मजबुत भएको छ । अब मतदानका लागि मैदान तयार भएको छ ।’ गृहले प्रदेशस्तरका नेताबिच सर्वदलीय बैठक राख्न प्रदेश सरकारलाई र जिल्लास्तरका नेताबिच सर्वदलीय बैठक राख्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको थियो ।

२४ स्थानमा हेलिकोप्टरमार्फत मतदान सामग्री ढुवानी 
सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगेका छन् । हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका चार गरी २४ दुर्गम मतदानस्थलमा हेलिकोप्टरबाट ढुवानी गरिएको छ । १० हजार ९६७ मतदानस्थलमै कर्मचारी र सुरक्षाकर्मी खटिएर मतदानको तयारी गरिरहेका छन् ।

कैलाली गाउँमा दुई समूहबीच झडप, १२ जना नियन्त्रणमा

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ। मङ्गलबार साँझ केटाहरूको समूहबीच भएको झडपमा केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडपको कारणबारे हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन। झडप नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सो क्रममा झडपमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएका छन् भने प्रहरीको एक गाडीमा सामान्य क्षति पुगेको छ। हाल घटनास्थलमा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

यात्रा प्रतिबन्धका कारण आबुधाबीमा रोकिएका पर्यटकको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

काठमाण्डाै- यात्रा प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्स (यूएई) काे आबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको होटल खर्च त्यहाँको सरकारले बेहोर्ने भएको छ ।

आबुधाबीको संस्कृति तथा पर्यटन विभागले परिपत्र जारी गर्दै आबुधाबी क्षेत्रमा काबुबाहिरको परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ ।

विभागले होटलका महाप्रबन्धकहरूलाई पठाएको पत्रमा चेक–आउट मिति पुगे पनि काबुबाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च आबुधाबी संस्कृति तथा पर्यटन विभागले व्यहोर्ने भएको छ ।

आबुधाबीमा नेपाली नागरिक पनि धेरै प्रभावित हुने भएकोले यो निर्णयबाट राहत मिलेको छ ।

मौन अवधिमा निर्वाचन आयोगले सामाजिक सञ्जालको निगरानी बढायो

काठमाण्डाै- मौन अवधि शुरू भएसँगै निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी बढाएको छ । यस पटक चुनावको प्रचारको समयदेखि नै सामाजिक सञ्जालको निगरानी  र आचारसंहिता विपरीत भएमा कारबाहीलाई तीव्र बनाएको आयोगले मौन अवधिमा सामाजिक सञ्जालको निगरानी बढाएको हो ।

अघिल्ला चुनावहरूमा मौन अवधिका बेला भोजभतेर तथा पैसाको लेनदेन, दबाव जस्ता गतिविधि बढी निगरानीमा पर्ने गरेकामा यस पटक सामाजिक सञ्जालको दुरुपयोग सबैभन्दा मुख्य विषय बनेको छ ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी अन्तिम समयमा उम्मेदवारहरूले विभिन्न हल्लाहरू पनि चलाउन सक्ने, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपयोग गर्ने सम्भावना धेरै रहेकोले त्यसतर्फ निगरानी बढाएको बताउनुभयो । यदि त्यस्तो दुरुपयोग भएको पाइएमा उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्ने उहाँको चेतावनी छ ।

पर्सि बिहीवार हुने चुनावका लागि गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको छ । मौन अवधिमा दल तथा उम्मेदवारले कुनै पनि प्रचारप्रसार, छलफल, सभा, भोजभतेर वा मत माग्ने गतिविधि गर्न पाइँदैन ।

मौन अवधिको पालना नगरी मतदातालाई प्रभावित पार्ने, प्रलोभन दिने वा निषेधित गतिविधि गर्ने प्रवृत्तिले चुनावको मर्यादा र स्वच्छता खल्बल्याउने खतरा रहने भएकोले यसको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ । निगरानी कडा पारेको र आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने आयोगको चेतावनी छ ।

 

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो ।

सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादव सहित ४२ जना उम्मेदवार रहेका छन् ।

जसमध्ये रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको हो ।

खोज्नुहोस