गौरीफन्टा नाकामा रोकिएका यात्रुलाई आउन दिइयो

धनगढी: कैलालीसँग जोडिएको गौरीफन्टा नाकामा आज बिहान आइपुगेका नेपाली नागरिक नेपाल भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरूलाई भित्र्याइएको हो।

निर्वाचन सुरक्षाका कारण सोमबार राति १२ बजेदेखि नेपाल-भारत सिमा नाका सिल गरिएको छ। तर विभिन्न समस्याका कारण घर फर्किनु परेका २५ जनालाई सशस्त्र प्रहरी बल नेपाल र भारतीय सिमा सुरक्षा बलले माथिल्लो निकायसँग समन्वय गरेर नेपाल आउन दिइएको हो। भारतको विभिन्न स्थानबाट बिरामीसहित आएका तथा घरमा आफन्तको मृत्यु भएकाले आउनु परेका उनीहरूलाई आवश्यक कागजपत्र जाँच गरेर आउन दिइएको हो।

२५ जना मध्ये, केही बिरामी, कोही बिरामीको कुरुवा तथा केहीको घरमा आफन्तको मृत्यु भएको प्रमाणित भएपछि उनीहरूको सिमा क्षेत्रबाट उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले निर्वाचनका कारण नेपाल-भारत सिमा सिल भएकाले भारतबाट नेपाल नआउन आग्रह गरेका छन्। उनले फागुन २१ गते निर्वाचन हुने भएकाले २२ गते बिहान पुग्ने गरी मात्रै भारतबाट घर फर्किन आग्रह गरेका छन्।

गौरीफन्टा पुगेकाहरूको विशेष अवस्था हेरेर आउन दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सरकारी सूचनाको ख्याल गरेर यात्रा तय गर्न आग्रह गरिएको छ।

बाजुरामा निर्वाचन उच्च सुरक्षा घेरामा, ड्रोन र हेलिकप्टर तयारी अवस्थामा

धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा मा यसपटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ। विगतमा झडप, बुथ कब्जा र हिंसात्मक घटना दोहोरिँदै आएकाले स्थानीय प्रशासनले जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखेको जनाएको छ।

सुरक्षा निकायले विगतका कमजोरीबाट पाठ सिक्दै जनशक्ति बढाउनुका साथै आधुनिक प्रविधिको प्रयोग गरेर मतदानस्थलको निगरानी गर्ने रणनीति तयार पारेको छ। २०४८ सालयता अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति देखिएको बाजुरामा दलगत पकडका आधारमा मतदान केन्द्र कब्जा गर्ने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने तथा कर्मचारीकै सामुन्ने फर्जी मत खसाल्ने प्रवृत्ति मुख्य चुनौती रहँदै आएको छ।

निर्वाचनमा खटिएका कर्मचारीका अनुसार विगतमा खुला धाँधली हुँदा पनि सुरक्षाकर्मी र कर्मचारी निरीह बन्नुपर्ने अवस्था थियो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाजुरामा दुई युवाको ज्यान गएको थियो। छिमेकी जिल्ला बझाङ मा समेत फर्जी मतदानका घटना देखिँदै आएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय का अनुसार यसपटक पहाडी जिल्लामा हुनसक्ने अराजक गतिविधि रोक्न विशेष सुरक्षा योजना लागू गरिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले बाजुरालाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको बताए।

ड्रोन र सीसीटीभी फुटेजमार्फत शंकास्पद गतिविधि पहिचान गरी तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। आवश्यक परेमा तत्काल सहयोग पुर्‍याउन हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा वा बिगार गरे ६ महिना कैद

काठमाडौ- मतदानका लागि मतदाता नामावलीमा नाम हुनु आवश्यक छ ।

निर्वाचन आयोगका अनुसार, सकेसम्म मतदाता परिचय पत्र लिएर मतदान गर्न जानुपर्छ । मतदाता परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा अन्य सरकारी कागजपत्र देखाएर पनि मतदान गर्न पाइन्छ ।

तर, कसैले अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा गर्ने वा बिगार्ने कार्य गरेको रहेछ भने त्यस्तो कार्य दण्डनीय हुनेछ ।

निर्वाचन आचासंहिता अनुसार मतदातालाई मतदानबाट बञ्चित गर्न हुँदैन । आयोगका अनुसार, कसैले पनि मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न , बिगार्न वा खरिद गर्न हुँदैन ।

यस्तो कार्य गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई ६ महिना कैद वा २५ हजार जरिबाना वा दुवै सजाय हुन सक्दछ ।

आगामी बिहीबार मतदान हुँदैछ । कूल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ जना रहेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभा सदस्यहरू १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

प्रत्यक्षतर्फ खसेको मतमा बहुमत ल्याउने उम्मेदवार निर्वाचित हुन्छन् । समानुपातिकतर्फ राजनीतिक दलले पाएको मतको आधारमा सांसदहरू चुनिन्छन् ।

‘आ बाट आमा’ले १२ करोडको आंकडा पार गर्यो

काठ्माण्डौ- चलचित्र विकास बोर्डले फागुन १६ गतेसम्मको बक्स अफिस कलेक्शन सार्वजनिक गरेको छ।

माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ले ३० दिन सफल व्यापार गर्न सफल भएको छ। चन्द्र पन्तले निर्देशनमा बनेको यस चलचित्रले फागुन १६ सम्म १२ करोड २३ लाख ३८ हजारको व्यापार गरेको चलचित्र बिकास बोर्डले जनाएको छ। यस्तै, चलचित्रले चार लाख ६१ हजार पाँच सय ७२ वटा टिकेट बिक्री गरेको छ।

यस्तै, दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ले पनि बक्स अफिसमा राम्रो कमाई गरेको देखिएको छ। गत माघ २३ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘कुमारी’ ले हालसम्म कुल ६४ लाख ४६ हजार १२६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। युवा–युवतीको प्रेम कथामा आधारित यस चलचित्रले यो अवधिमा १९ हजार ९ सय ५९ वटा टिकट बिक्री गरेको छ।

चलचित्र ‘रमिताको पिरती’ ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। ८ हजार ७ सय ३७ जना दर्शकले हलमा पुगेर यो चलचित्र हेरेका छन्। सुदिप्ता अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आना शर्मा र विनय श्रेष्ठको मुख्य भूमिका छ।

चलचित्र ‘बिगुल’ ले भने अपेक्षीत व्यापार गर्न सकेन। सोही अवधिमा चलचित्रले ९ लाख २८ हजार ८६० रुपैयाँ ग्रस कलेक्सन गर्दा २ हजार ७ सय २२ वटा टिकट बिक्री भएको छ। चलचित्रको प्रदर्शनको केही दिनमै निर्माता तथा कांग्रेस नेता दिनेश कोइरालाले चुनावको कारण देखाउँदै प्रदर्शन स्थगित गरेका थिए।

निर्वाचन आचारसंहिताले खुम्चिएको रानाथारु ‘होरी’

 कैलाली ।  सुदूरपश्चिमको तराई जिल्ला कैलाली यतिबेला रङ र उमङ्गले रङ्गिएको हुनुपर्ने हो । चोक चोकमा होलीमा कार्यक्रम, मेला कहोत्सव हुनु पर्ने हो । तर यसपटक सुनसान छ । विशेष गरी यहाँका रानाथारु समुदायमा फागु पूर्णिमाभन्दा एक महिना अघिदेखि नै सुरु हुने ‘होरी’ (होली) को रौनक यसपटक भने निर्वाचनका कारण रूपमा खुम्चिएको छ ।

निर्वाचनको ‘मौन अवधि’ र आचारसंहिताको पालना गदर्ए रानाथारु बस्ती र धनगढीका मुख्य बजारहरू होरीमा शान्त देखिएका छन् । रानाथारु समुदायमा होली एक दिनको पर्व मात्र होइन । यो ३८ दिनसम्म मनाइने एउटा लामो उत्सव हो । माघ पूर्णिमाको दिनदेखि सुरु हुने यो पर्वमा राति–राति जाग्राम बसेर होरी गाउने र नाच्ने परम्परा छ ।  तर, यसपालि निर्वाचनको सुरक्षा संवेदनशीलता र भीडभाडमा लगाइएको प्रतिबन्धले गर्दा यो ऐतिहासिक परम्परामा सुन्यता छाएको छ । धनगढीका स्थानीय सेभि सिंह राना यस वर्षको होलीको सुनसान अवस्था देखेर अचम्मित छन् । आफ्नो समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमा पनि सुनसान हुँदा उनलाई खल्लो लागेको छ ।

‘हाम्रो होरी त झण्डै एक महिना अघिदेखि नै सुरु हुन्छ । सुरुमा राति राति मात्रै खेले पनि फागु पूर्णिमाको भोलिपल्टबाट दिउँसो पनि धुमधामका साथ खेल्न सुरु हुन्थ्यो,’ रानाले भनछन्, ‘यसपटक निर्वाचनको मौन अवधि सुरु भएकाले न राति खेल्न पाइयो, न त दिउँसो नै ।’  यस्तै अनुभव धनगढीकी रेखा चौधरीको पनि छ । विगतका वर्षहरूमा होलीको समयमा सडकमा खुट्टा राख्ने ठाउँ नहुने गरेको सम्झिँदै उनले भनिन्, ‘अघिल्ला वर्षहरूमा होलीको बेला अर्कै उल्लास हुन्थ्यो, बजारदेखि गाउँसम्म मान्छेहरूको चहलपहल हुन्थ्यो । तर यसपालि त होली जस्तो नै भइरहेको छैन । बजार मात्र होइन, गाउँघर पनि पूरै सुनसान छ ।’

उनका अनुसार निर्वाचनको माहोलले गर्दा मानिसहरू उत्सव मनाउनु भन्दा पनि निर्वाचनकै चर्चामा व्यस्त छन् । सामूहिक रूपमा बाहिर निस्किएका छैनन् । धेरै मान्छेहरू कतै जमघट भएको देखिदैन । होरी आफ्नो ठूलो पर्व भए पनि निर्वाचनको नियम र सुन्य समयलाई रानाथारु समुदायले जिम्मेवारीका साथ पालना गरेका छन् ।
परम्परागत रूपमा होरीका लागि महिनौँदेखि ना“चको तयारी गर्ने युवाहरू पनि यसपटक सान्त छन् । स्थानीय रामलखन राना भन्छन्, ‘हामीले यो वर्ष नयाँ पोसाक सहित सबै तयारी गरेका थियौँ । तर निर्वाचनको सुरक्षाका कारण समूहमा हिँड्न र चर्को आवाजमा गीत गाउन रोक लगाइएपछि पहिला जस्तो रमाइलो गर्न पाइएन ।’ उनले लोकतन्त्रको उत्सव निर्वाचन भएपनि त्यसका कारण आफ्नो संस्कृतिक उत्सवमा असर परेको बताए ।

बिक्री भएनन् होलीमा सामान
होलीको समयमा व्यापारिक कारोबार पनि ह्वात्तै बढ्ने गर्दथ्यो । तर धनगढी बजारमा व्यापार गर्दै आएका किराना व्यवसायीहरू पनि यसपटक निराश छन् । बजारमा रङ, पिचकारी र नयाँ कपडाको माग विगतको तुलनामा १० प्रतिशत पनि नभएको व्यवसायीहरूको भनाइ छ । धनगढीको रातोपुलमा कपडा व्यापार गरिरहेका सन्तोष थापा भन्छन, ‘बजारमा मान्छे नै छैनन् । एक–दुई जना मात्र फाट्टफुट्ट होली खेलिरहेका छन् । अरु वर्ष जस्तो होलि नै नमनाए पछि होलिको व्यापार कसरी हुनु ।’

जिल्ला प्रशासन कार्यालयले निर्वाचनको समयमा कुनै पनि प्रकारका ¥याली, भीडभाड वा तडकभडक गर्न रोक लगाएको छ । निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवारहरूले  घरदैलोमा पनि रोक लगाएको छ । यहि समयमा होलि जस्तो ठुलो सांस्कृतिक पर्व परेपछि सुरक्षा चुनौती थपिने भन्दै सरकारले मेला महोत्सव गर्न पनि रोक लगाएको थियो । जसका कारण रानाथारु बस्तीमा परम्परागत रूपमा नाचिने ‘होरी नाच’ उल्लासका साथ मनाउन पाइरहेका छैनन् ।

पहाडी भेगमा होली मनाएको भोलिपल्ट तराईमा मनाइने यो पर्व कैलालीको रानाथारु समुदायको पहिचान हो । तर, यसपटक निर्वाचनको ‘मौन अवधि’ ले कैलालीको सांस्कृतिक पर्व होलीको रौनक छाएन । यद्यपी राना थारु होरी भने आजबाट सकिने छैन । ३८ दिन सम्म मनाइने यो पर्व आगामी मंगलबार खख्डेहरा पर्व सम्म मनाइने छ ।
त्यसैले स्थानीय होली जस्तै मतदान गर्नको लागि पनि उत्साहित रहेको बताउँछन् । धनगढीको देवरीयाका भल्मन्सा जगन्नाथ रानाले निर्वाचन पछि उल्लासका साथ होरी सम्पन्न गर्ने बताए ।

चुनाव हुँदैन भनेर अफवाह फैलाएको आरोपमा ज्योतिष पक्राउ

फागुन २१ गते निर्वाचन नहुने भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले एक जना ज्योतिषलाई पक्राउ गरेको छ।

ज्योतिष पण्डित रूद्रनाथ अधिकारीलाई प्रहरीले अफवाह फैलाएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सन्जालमा भिडिओ सन्देश सार्वजनिक गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर परिसरमा बुझाएको थियो।

प्रहरीले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको एसपी भट्टराईले जानकारी दिए।

युद्ध चर्किरहेको इरानमा भूकम्पको झट्का

इरानको गेराश क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी भू-वैज्ञानिक सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार यो भूकम्प करिब १० किलोमिटरको सानो गहिराइमा रेकर्ड गरिएको थियो ।

भूकम्पको मुख्य प्रभाव क्षेत्र दक्षिणी इरानको फार्स प्रान्त रहेको छ, जहाँ हल्का कम्पन महसुस गरिएको अल जजिराले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

वैज्ञानिकहरूका अनुसार इरान विशेषगरी जाग्रोस पर्वतीय क्षेत्रमा धेरै भूकम्पीय गतिविधि हुने गर्छ, र न्यून स्केलका भूकम्पलाई सामान्य मानिन्छन् ।

यी ६ किसिमका परिचयपत्रबाट पाइन्छ मतदान गर्न

काठमाडौं । बिहीबार (फागुन २१) प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ ।

मतदान गर्न जाँदा मतदाताहरूले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

उनका अनुसार, निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ । उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

उनले भने, “मतदान गर्न जानुभन्दा अगाडि मतदाताले केही कुरामा विचार गर्नुपर्ने हुन्छ । आफ्नो मतदान केन्द्र थाहा भइसके पछाडि आफ्नो परिचय खुल्ने कागजात बोकेर जानुपर्ने हुन्छ । ती कागजातमा सबैभन्दा पहिले निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र छ भने त्यही बोक्नुपर्ने हुन्छ, यदि त्यो छैन भने आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जाँदा हुन्छ ।”

उनले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे । आयोगका अनुसार, मतदानमा सहभागी हुनुअघि मतदाताले आफ्नो मतदान केन्द्र सुनिश्चित गरी परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

यस्तै, मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो पालोअनुसार मतदान गर्नुपर्नेछ ।

आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष व्यवस्था गरेको छ । यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै सहजीकरणको प्रबन्ध मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन् ।

मतदान कार्यमा खटिएका कर्मचारीहरूलाई आयोगले पनि अशक्त तथा विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउने व्यवस्था मिलाउन निर्देशन दिएको घिमिरेले बताए ।

निर्वाचन आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ । –न्युज एजेन्सी नेपाल

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर- कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।

सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए

यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो।

बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । दुवै जनाको धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

कैलालीसँग जोडिएको नेपाल भारत-सीमा नाका बन्द

धनगढी- प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर कैलालीसँग जोडिएको नेपाल-भारत सीमा नाका बन्द गरिएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुई देशको सीमा नाका बन्द गरिएको हो ।

मङ्लबारराति १२ बजेबाट बन्द गरिएको सीमा नाका निर्वाचन सम्पन्न भएपछिमात्रै खुल्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कैलालीमा नेपाल-भारत खुला सिमाना १०१ किलोमिटर रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण सीमा नाका सिल गरिएको छ ।

बिरामी बोकेको एम्बुलेन्स भने जान दिइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मध्यपूर्वमा हवाई क्षेत्र बन्द, वेस्ट इन्डिज र जिम्बावेको क्रिकेट टोली भारतबाट फर्कन ढिलाइ

काठमाण्डौ- मध्यपूर्वमा हवाई क्षेत्र बन्द हुँदा आईसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएका वेस्ट इन्डिज र जिम्बावेको टोली भारतबाट फर्कन ढिलाइ भएको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वमा हवाई क्षेत्र बन्द हुँदा वेस्ट इन्डिज र जिम्बावेको टोलीले भारतबाट फर्कन ढिलाइ भएको बताएका छन् ।

अस्ति आइतवार आयोजक भारतसँग ५ विकेटले हारेपछि वेस्ट इन्डिज सेमिफाइनलमा पुग्न असफल भएको थियो भने जिम्बावे ‘सुपर–एट’ का तीनवटै खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

आफ्नो टोली भारतमा सुरक्षित र राम्रो अवस्थामा रहेको जिम्बावे क्रिकेटले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । क्रिकेट वेस्ट इन्डिजले खेलाडी र कर्मचारीहरूका लागि सुरक्षित यात्रा व्यवस्था गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग काम गरिरहेको बताएको छ ।

 

मौन अवधिको समयमा गलत काम भए कारबाही हुन्छ : निर्वाचन आयोग

काठमाडौं- निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने बताउँछन् निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ।

‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’, उनी भन्छन्, ‘त्यस्ता अनियमित काम गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरु पहिचान गरेर कारबाहीको प्रक्रियामा जान्छौं ।’

उनका अनुसार आयोगले पटकपटक सरोकारवाला सबैमा आचारसंहिता पालना गर्नका लागि आग्रह गर्दै आएको छ । उनी भन्छन्, ‘कुनै कानूनले निषेध गरेको कुरा भयो र वस्तुगत प्रमाणले ठहर गर्‍यो भने उहाँको मनोनयनपत्र खारेज गछौं । विजयी, पराजयी जे भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौं र त्योभन्दा पछाडि ६ वर्ष कुनै पनि चुनिने प्रक्रियामा उहाँ सहभागी हुन नपाउनेगरि हामी व्यवस्था गर्छौं ।’

सबै सरोकारवालाहरु आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनी थप्छन्, ‘यदि त्यस्तो कुनै गलत काम भयो भने त्यसमा शून्य शहनशिलता हुन्छ । सबै सरोकारवालाहरुले जहाँ, जस्तो जे पाउनुहुन्छ, सूचना निर्वाचन आयोगलाई दिनुस् । त्यस्ता विषयमा कारबाही गर्न निर्वाचन आयोग पछि हट्दैन ।’

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दल र दलका उम्मेदवारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसारप्रसारका सामग्री राखेको छ भने त्यसलाई हटाउनुपर्ने हुन्छ ।

उनी भन्छन्, ‘ कुनै पनि निर्वाचन प्रचारप्रसारको सामग्रीहरू तुल, पोष्टरहरु राखेको छ भने त्यो पनि हटाइदिनुपर्छ । सामाजिक सञ्जालमा कुनै उम्मेदवारलाई सर्मथन गर्ने, कुनै उम्मेद्वारलाई मत माग्ने, कुनै उम्मेदवार चाहिँ ठीक छैन भनेर उसलाई तिरस्कार गर्नेलगायतका विषयवस्तु प्रकाशित गरिएको छ भने त्यो सबै हटाउनुपर्छ ।’

अमेरिकी दूतावासमाथि हमलाको ‘छिट्टै’ प्रतिकार हुन्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादस्थित अमेरिकी दूतावासमा भएको हमलापछि अमेरिका छिट्टै प्रतिकारमा उत्रिन सक्ने बताएका छन् । ट्रम्पले केबल नेटवर्क न्यूजनेशनसँग कुरा गर्दै दूतावासमाथिको आक्रमण र अमेरिकी सैनिकहरूको मृत्युका कारण प्रतिक्रिया आउन सक्ने सङ्केत दिएका हुन् ।

अमेरिकाले सोमबार राति दिएको जानकारीअनुसार हालसम्म इरानी हमलामा छ जना अमेरिकी सेवा सदस्यको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जमिनमा सेना उतार्नु आवश्यक नपर्ने विश्वास रहेको ट्रम्पले आफूलाई बताएको न्यूजनेशनकी राजनीतिक संवाददाता केल्ली मेयरले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश

बेरुत- इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै दक्षिण लेबनानका थप दर्जनौँ बस्ती र गाउँहरू खाली गर्न कडा आदेश जारी गरेको छ।

इजरायली सैन्य प्रवक्ता अविचाय अद्राईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप ५० वटा गाउँ र बस्तीका बासिन्दाहरूलाई तत्काल घर छोड्न आग्रह गरेका हुन् । यसअघि सोमबार पनि इजरायलले ५२ वटा बस्ती खाली गर्न यस्तै आदेश दिएको थियो।

इजरायली सेनाले हिजबुल्लाहका गतिविधिहरूका कारण आफूहरू बलपूर्वक कारबाही गर्न बाध्य भएको बताएको छ।’हाम्रो उद्देश्य तपाईँहरूलाई हानि पुऱ्याउने होइन, तर हिजबुल्लाहका अखडा नजिक बस्नु भनेको आफ्नो ज्यान जोखिममा राख्नु हो,’ आईडीएफले भनेको छ। बासिन्दाहरूलाई आ-आफ्नो गाउँबाट कम्तीमा १,००० मिटर (करिब ३,२८० फिट) टाढा रहन निर्देशन दिइएको छ।

सेनाले बेरुतको दक्षिणी उपनगर ‘हरेट ह्रेइक’का लागि जारी गरिएको खाली गर्ने आदेशलाई पुनः दोहोऱ्याएको छ भने नजिकैको अर्को उपनगरका लागि पनि नयाँ चेतावनी जारी गरेको छ।

सन् २०२४ को नोभेम्बरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएको भए तापनि, इजरायलले हिजबुल्लाहले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै निरन्तर आक्रमण गरिरहेको छ। यद्यपि, हिजबुल्लाहले भने यी आरोपहरूको खण्डन गर्दै आएको छ।

विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई ५० लाख जरिवाना

आइसिसी पुरुष टी– २० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आफ्नो खेलाडीलाई जरिवाना गराएको छ ।

भारत र श्रीलंकामा जारी विश्वकपमा पाकिस्तान सुपर–८ बाटै बाहिरिएको थियो । पिसिबीले विश्वकप खेलेका खेलाडीलाई जनही ५० लाख पाकिस्तानी रुपैयाँ जारिवाना गराएको जनाएको छ ।

पिसिबीले जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको बताएको छ ।

विश्वकपको समूह ‘ए’ मा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो । यही खेलपछि खेलाडीलाई जरिवाना  लगाउने निर्णय भएको बताइएको छ ।

पिसिबीले खेलाडीकाे पारिश्रमिकबाट जरिवना काटिने छ । श्रेणी ‘ए’ का खेलाडीले प्रतिमहिना ६५ लाख, ‘बी’का खेलाडीले ४५ लाख, ‘सी’ मा रहेका खेलाडीले २० लाख र ‘डी’ का खेलाडीले १२ लाख ५० हजार पाकिस्तानी रुपैयाँ पाउँदै आएका छन् ।

बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाृ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Genese Solution and Kimber announce strategic partnership 

Dublin  — Kimber, an AI engineering partner specialising in architecture-led software delivery, has announced a strategic partnership with Genese Solution, the UK-based AWS Premier Tier Services Partner and ISO 27001:2022-certified cloud and cybersecurity consulting firm. The alliance will deliver secure, scalable AI-native platforms for organisations across Ireland navigating accelerated digital transformation.

As enterprises increasingly adopt AI-driven systems, the challenge is no longer experimentation — it is deploying production-grade AI platforms that are secure, compliant, and architected for long-term scale. This partnership directly addresses that gap by combining advanced AI engineering with enterprise-grade cloud infrastructure and embedded cybersecurity.

Kimber brings deep expertise in AI-native architecture, platform engineering, and production system design. Genese contributes robust multi-cloud capabilities, DevSecOps integration, managed security services, and regulatory-aligned cybersecurity frameworks. Together, the companies will provide organisations with a secure-by-design foundation for modern software platforms.

Unlike traditional system integrator models, the partnership embeds security, compliance, and operational resilience at the architectural level — ensuring AI innovation does not outpace governance or risk management.

Through this collaboration, clients will benefit from:

  • Architecture-first AI and platform engineering
  • Secure, scalable multi-cloud infrastructure (AWS, Azure, GCP)
  • DevSecOps and compliance-integrated delivery models
  • Enterprise-grade cybersecurity strategy and managed security services
  • End-to-end partnership — from architecture and MVP to production deployment and scale
  • Global engineering depth with strong Irish market engagement

The partnership responds to rising enterprise demand for trusted engineering partners capable of delivering AI systems that meet performance, security, and regulatory expectations simultaneously – particularly within financial services, regulated industries, and high-growth technology companies.

Anjani Phuyal, CEO of Genese, said, “AI adoption is accelerating, but secure AI adoption is where the real opportunity lies. Organisations require more than innovation — they require resilient, compliant, and scalable foundations. Kimber’s strength in AI-native platform architecture, combined with Genese’s enterprise cloud and cybersecurity capabilities, creates a powerful proposition for the Irish market. Together, we are enabling businesses to build AI systems that are production-ready, secure by design, and engineered for sustainable scale.”

Dipeche Kumar, CEO of Kimber, said, “This partnership allows us to combine Kimber’s strengths in AI engineering and platform delivery with Genese’s deep expertise in cloud and cybersecurity. Together, we can provide clients with a complete, enterprise-grade technology foundation while maintaining the speed and flexibility that growing companies need.”

The alliance will initially focus on the Irish market, with plans to expand collaboration across broader European markets as demand for secure AI-native infrastructure continues to grow.

सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर पनि ‘स्टाण्ड बाई’

धनगढी । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमको चुनावी सुरक्षाबारे अनुगमन-निरीक्षण गरे । सो क्रममा उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा निर्देशन पनि दिए । अनुगमनका क्रममा उनले विगतमा सुदूरपश्चिममा निर्वाचन विरोधी गतिविधि भएको र अब हुन नदिने बताए ।

`विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका निर्वाचन विरोधी गतिविधि भएका उदाहरण छन्,´ उनले भने, `यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं । रोकथाम गर्दागर्दै पनि निर्वाचन विरोधी काम भए कानुनी कारबाही हुन्छ ।´

गृहमन्त्री अर्यालले भने जस्तै विगतका निर्वाचनमा सुदूरपश्चिमका केही जिल्लामा बुथ कब्जा, फर्जी मत, झडप र धाँधलीका घटना भएका छन् । बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो । बाजुरासंगै बझाङमा पनि फर्जी मत खसाल्ने प्रवृत्ति छ । विगतमा यी जिल्लाका कतिपय मतदान केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

प्रदेश प्रहरी कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमबहादुर रानाले एकीकृत सुरक्षा योजनाअनुसार काम भइरहेको बताउँदै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी पनि परिचालन गरिएको जानकारी दिए ।

मतदान स्थलमा नै सुरक्षाकर्मी परिचालनको कार्य भइरहेको डीआईजी रानाले बताए । `सात हजार बढी नेपाल प्रहरी, १३ हजार पाँच सय निर्वाचन प्रहरी र अन्य सशस्त्र र सेना गरेर ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरिरहेका छौं,´ डीआईजी रानाले भने । उनका अनुसार आज मध्यरातदेखि सुरु हुने मौन अवधिलाई लक्षित गर्दै थप सतर्कता अपनाइएको उनले बताए ।

डीआईजी रानाले प्रदेशमा एसएसपीसम्मलाई फिल्डमा खटाइएको जानकारी दिदै १७७ मोबाइल टोली र २० रिजर्भ टोली तयारी अवस्थामा राखिएको जानकारी दिए ।

अतिसंवेदनशील मतदान केन्द्रमा सिसी क्यामेरा पनि जडान भइरहेको र आवश्यक परे हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । १७ लाख बढी मतदाता र १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । यस्तै, ३०० सामान्य र ३९५ संवेदनशील मतदानस्थल छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील छन् ।

 

 

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौँ  । तराईका जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली र पहाडी भेगमा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार नवलपरासी, झापा, मोरङ, सुनसरी, धनुषा, रुपन्देही, कैलाली र कञ्चनपुरसहितका तराई तथा भित्री मधेसका जिल्लाहरू आज रङमय बनेका छन्। सबै प्रकारका भेदभाव त्यागेर एक-अर्कालाई रङ लगाउँदै आपसी भ्रातृत्व र सद्भाव साटासाट गर्ने यो पर्वलाई उल्लास र उमङ्गको प्रतीक मानिन्छ।

धार्मिक र सांस्कृतिक रूपमा विशेष महत्त्व बोकेको होलीलाई समानता र सद्भावको प्रेरणा स्रोतका रूपमा लिने गरिन्छ। पण्डित त्रिलोचन भुर्तेलका अनुसार असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा यो पर्वले अनेकतामा एकता कायम गर्दै आएको छ। प्राचीनकालमा वसन्तोत्सवका रूपमा सुरु भएको यो पर्व फागु, फगुवा वा होरीका नामले चिनिन्छ। यस अवसरमा ढोल, डम्फु र मृदङ्ग बजाउँदै नाचगान गर्ने र मनमुटाव त्यागेर खुसी साट्ने मौलिक परम्परा रहिआएको छ।

होलीको अवसरमा तराईका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिइएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) सहितका जिल्लाहरूमा पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले अनुमतिबिना रङ दल्ने, लोला हान्ने, होहल्ला गर्ने वा अभद्र व्यवहार गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

प्रहरीले सर्वसाधारणलाई अपरिचित व्यक्तिसँग होली नखेल्न, इच्छाविपरीत रङ नलगाउन र आँखा वा छालामा असर गर्ने रासायनिक रङको प्रयोग नगर्न आग्रह गरेको छ। साथै, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न समेत अनुरोध गरिएको छ। कुनै पनि उच्छृङ्खल वा आपराधिक गतिविधि भएको पाइएमा तुरुन्त प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

 

इरानले गर्‍यो होर्मुज समुद्री जलमार्ग बन्द, यो मार्ग भएर जाने जहाज नष्ट गर्ने चेतावनी

काठमाडौं । इरानले होर्मुज समुद्री जलमार्ग अहिले बन्द गरिएको दाबी गरेको छ । इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ ।

एक इरानी अधिकारीले होर्मुज समुद्री जलमार्ग भएर जाने प्रयास गर्ने जोसुकैलाई इरानले आगो लगाइदिने बताएका छन् ।

इरानी राज्य टेलिभिजनमा बोल्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का कमान्डर–इन–चिफका सल्लाहकार इब्राहिम जब्बारीले यस्तो चेतावनी दिएका हुन् ।

“होर्मुज समुद्री जलमार्ग बन्द गरिएको छ । यदि, कसैले पार गर्ने प्रयास गरेमा, रिभोलुसनरी गार्डका वीरहरू र नियमित नौसेनाले ती जहाजहरूलाई जलाएर भष्म पारिदिनेछन्,” अर्धसैनिक बलका कमान्डर–इन–चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जब्बारीले भने ।

उनले उक्त जलमार्ग बन्द गरिएको उल्लेख गर्दै जहाजहरूलाई चेतावनी दिँदै भने, “उनीहरू यस क्षेत्रमा आउनु हुँदैन । उनीहरूले निश्चित रूपमा हामीबाट गम्भीर प्रतिक्रियाको सामना गर्नेछन् ।”

जब्बारीले अमेरिकीहरू यस क्षेत्रको तेलका लागि प्यासी रहेको आरोप लगाउँदै इरानले यस क्षेत्रमा रहेका उनीहरूका पाइपलाइनहरूमा प्रहार गर्ने र यस क्षेत्रबाट तेल निर्यात हुन नदिने समेत बताएका छन् ।

होर्मुज जलमार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण ढुवानी मार्गहरूमध्ये एक र तेल पारवहनको प्रमुख केन्द्र हो । विश्वको करिब पाँच भागमध्ये एक भाग तेल र ग्यास यही जलमार्ग ओसारपसार हुने गर्छ ।

इरान र ओमानको बीचमा अवस्थित यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा पारवहन हुने गर्छ ।

त्यहाँ हुने कुनै पनि अवरोधले कच्चा तेलको मूल्यलाई तीव्र रूपमा बढाउने र क्षेत्रीय तनाव अझ फैलिने जोखिम पैदा गर्ने निश्चित छ । बीबीसी

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ।कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ।

दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति  तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी  प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

खप्तड के हैन ?

डा. भोज बहादुर बलायर

झिक्कै झिक्कै माया भनी फकाउने ठाउँ हैन ।
आफ्नै मन जलाएर मन पोल्ने ठाउँ हैन ।।
पापीहरूको पाप पखाल्ने दोषी ठाउँ हैन ।
अरूको बसमा मन चलाउने लोभी ठाउँ हैन ।।

सत्ता शक्ति पाउनलाई झुट बोल्ने ठाउँ हैन ।
काखमा बसी आमालाई नै धम्काउने ठाउँ हैन ।।
खप्तड खाली तमासा र झुटको ठाउँ हैन ।
चेतनाको आगो निभाई बोल्ने ठाँउ हैन ।।

विचार विहीन मानवको मन खोल्ने ठाउँ हैन ।
कालोमनको झिक्कै माया ओकल्ने ठाउँ हैन ।।
राति राति चोरी चोरी मन रुवाउने ठाउँ हैन ।
असत्य र अत्याचारी मन राख्ने ठाउँ हैन ।।

यो त मनलाई साँची राखी सत्य बोल्ने ठाउँ हो ।
विचार सफा गरिकन आत्मा खोल्ने ठाउँ हो ।।
लोभ, रिसका बादल हटाई उज्यालो भर्ने ठाउँ हो ।
भित्री मनको मैलो धोई जीवन जीउने ठाउँ हो ।।

खप्तड बाबा सधै हिड्ने बिश्व चिन्ने ठाउँ हो ।
विचार नै कर्मको फल भनि बोल्ने ठाउँ हो ।।
विचार बिग्र्यो जीवन बिग्र्यो भन्दै बोल्ने ठाँउ हो ।
मन सुधारी जगतलाई नै ज्योती छर्ने ठाँउ हो ।।

जंगल र पाटन भित्र साधनाको ठाउँ हो
।
मनभित्रको मैलो फाली ज्योती बाल्ने ठाउँ हो ।।
खप्तड हाम्रो तिर्थ भूमि ज्ञान बाँड्ने ठाउँ हो ।
साँचो विचार राख्नेहरूको धर्म बाँड्ने ठाउँ हो ।।

झुटा, पापी, ठगहरुको नास गर्ने ठाउँ हो ।
सत्य मन र धर्मलाई चिनाउने ठाउँ हो ।।
कुकर्मीलाई सदबुद्धीको बिचार बाँड्ने ठाउँ हो ।
विचार विज्ञान शक्ति भनी चिनाई दिने ठाउँ हो ।।

डोटी, हाल:टेक्सास, अमेरिका ।

नेपालमा भूराजनीतिको अपब्याख्या र बौद्धिक पराधीनता

टीका पौडेल ।

भूराजनीति भनेको कुनै देशको भौगोलिक अवस्थिति, छिमेकी राष्ट्र, प्राकृतिक स्रोतसाधन, सामरिक महत्व र अन्तर्राष्ट्रिय सम्बन्धले त्यस देशको राजनीति, अर्थतन्त्र र कूटनीतिमा पार्ने प्रभावको अध्ययन हो। सरल शब्दमा भन्नुपर्दा, कुनै देश कहाँ अवस्थित छ, त्यसका वरिपरि कस्ता शक्तिशाली देश छन्, समुद्रसम्म पहुँच छ कि छैन, व्यापार मार्ग कस्ता छन्, सुरक्षा चुनौती के–के छन् भन्ने कुराले त्यस देशको नीति, रणनीति र भविष्य निर्धारण गर्छ—त्यसैलाई भूराजनीति भनिन्छ।

नेपालको सन्दर्भमा भूराजनीति विशेष महत्व राख्छ। दुई विशाल राष्ट्र—भारत र चीन—को बीचमा अवस्थित नेपाल भौगोलिक रूपमा संवेदनशील मात्र होइन, सामरिक दृष्टिले पनि महत्वपूर्ण स्थानमा छ। उत्तरमा हिमालय, दक्षिणमा खुला सिमाना, पूर्व–पश्चिम जोड्ने भू–मार्ग, नदी–नाला र जलस्रोत, यी सबैले नेपाललाई एक प्रकारको ‘सङ्क्रमण क्षेत्र’ बनाएका छन्। यही वास्तविकता नै नेपालको भूराजनीतिक आधार हो।

तर विडम्बना के छ भने, नेपालमा भूराजनीति शब्दको प्रयोग प्रायः अपब्याख्याका साथ हुने गरेको छ। कुनै सरकार परिवर्तन भयो भने “भूराजनीतिक चलखेल” भयो भनिन्छ। कुनै कूटनीतिक भेटघाट भयो भने “विदेशी हस्तक्षेप” को हल्ला चलाइन्छ। कुनै विकास परियोजना अगाडि बढ्यो भने “अन्तर्राष्ट्रिय शक्तिको षड्यन्त्र” भनिन्छ। यसरी भूराजनीति जस्तो गम्भीर विषयलाई राजनीतिक नाराबाजीको उपकरण बनाउने प्रवृत्ति बढ्दो छ। यही प्रवृत्तिलाई यहाँ “भूराजनीतिको अपब्याख्या” र “बौद्धिक पराधीनता” का रूपमा विश्लेषण गर्न आवश्यक छ।

भूराजनीति र आन्तरिक राजनीति बीचको भिन्नता

पहिलो कुरा स्पष्ट हुनुपर्छ—आन्तरिक राजनीतिक अस्थिरता र भूराजनीतिक प्रभाव एउटै कुरा होइनन्। नेपालमा विगत सात दशकको इतिहास हेर्दा सरकार परिवर्तन, संविधान संशोधन, आन्दोलन, गठबन्धन, विभाजन—यी सबै मुख्यतः आन्तरिक शक्ति सन्तुलन, दलगत स्वार्थ, नेतृत्व संघर्ष र संस्थागत कमजोरीका परिणाम हुन्।

हो, छिमेकी राष्ट्रहरूको चासो हुन्छ। त्यो स्वाभाविक पनि हो। कुनै पनि देशले आफ्नो सीमाना वरिपरि हुने राजनीतिक गतिविधिलाई नजिकबाट नियाल्छ। उदाहरणका लागि, यदि कुनै देशमा अस्थिरता बढ्यो भने त्यसको प्रभाव सिमाना, व्यापार, सुरक्षा र शरणार्थी प्रवाहमा पर्न सक्छ। त्यसैले चासो हुनु स्वाभाविक हो। तर चासो हुनु र प्रत्यक्ष हस्तक्षेप हुनु फरक कुरा हो। नेपालमा यी दुईलाई एउटै ठान्ने बौद्धिक प्रवृत्ति देखिन्छ।

जब–जब कुनै निर्णय जनअपेक्षाअनुसार सफल हुँदैन, दोष “विदेशी शक्तिलाई” थोपर्ने सजिलो उपाय अपनाइन्छ। यसले जिम्मेवारीबाट पन्छिने संस्कारलाई बलियो बनाउँछ। आन्तरिक कमजोरी स्वीकार्न नसक्ने प्रवृत्ति नै भूराजनीतिक अपब्याख्याको जड हो।

सन्तुलनको राजनीति र अतिशयोक्तिको रोग

नेपालले ऐतिहासिक रूपमा सन्तुलनको नीति अपनाउँदै आएको छ। दुई ठूला राष्ट्रबीच अस्तित्व जोगाउन र फाइदा लिन सन्तुलन, संवाद र कूटनीतिक लचकता अनिवार्य हुन्छ। यही सन्तुलनलाई कतिपयले “ढुलमुले नीति” भनेर आलोचना गर्छन् भने अर्कोतर्फ सानो निर्णयलाई पनि “एक पक्षतर्फ झुकाव” भनेर हल्ला चलाइन्छ।

सन्तुलन भनेको पराधीनता होइन। सन्तुलन भनेको अस्तित्वको रणनीति हो। सानो राष्ट्रले आफ्नो सार्वभौमिकता जोगाउन, आर्थिक लाभ बढाउन र सुरक्षा सुनिश्चित गर्न सन्तुलित कूटनीति अपनाउनु स्वाभाविक हुन्छ। तर नेपालमा सन्तुलनलाई पनि शंकाको दृष्टिले हेर्ने प्रवृत्ति छ। यसले बौद्धिक पराधीनताको झल्को दिन्छ—जहाँ आफ्नै निर्णयमा आत्मविश्वास हुँदैन र सधैं बाहिरी शक्तिलाई निर्णायक ठानिन्छ।

बौद्धिक पराधीनता के हो ?

बौद्धिक पराधीनता भन्नाले आफ्नै समाज, इतिहास र वास्तविकताको विश्लेषण गर्न नसक्ने, सधैं बाहिरी व्याख्यामा निर्भर हुने, र आफ्नै निर्णयमा भरोसा नगर्ने मानसिक अवस्था बुझिन्छ। नेपालमा केही शिक्षित वर्गले भूराजनीति शब्दलाई यति धेरै प्रयोग गरेका छन् कि त्यो शब्द नै भय, भ्रम र आरोपको माध्यम बनेको छ।

ग्रामिण र सामान्य नागरिकलाई “विदेशी चलखेल” को कथा सुनाएर राजनीतिक लाभ लिनु बौद्धिक इमानदारी होइन। जब हरेक समस्या—बेरोजगारी, भ्रष्टाचार, संस्थागत अक्षमता, शिक्षा र स्वास्थ्यको कमजोरी—लाई भूराजनीतिक षड्यन्त्रको परिणाम भनेर व्याख्या गरिन्छ, तब वास्तविक समस्याको समाधान खोज्ने प्रक्रिया कमजोर हुन्छ।

षड्यन्त्र सिद्धान्त र राजनीतिक लाभ

नेपालमा षड्यन्त्र सिद्धान्त लोकप्रिय छन्। किनभने तिनीहरूले जटिल समस्याको सरल उत्तर दिन्छन्। “हामी कमजोर होइनौं, कसैले हामीलाई कमजोर बनायो” भन्ने तर्क जनमानसमा छिटो फैलिन्छ। यसले भावनात्मक समर्थन त दिन्छ, तर नीति निर्माणमा सहयोग गर्दैन।

राजनीतिक दलहरूले आफ्नो असफलता ढाकछोप गर्न भूराजनीतिक तर्क प्रयोग गर्ने गरेको देखिन्छ। सरकार ढल्यो भने “विदेशी हस्तक्षेप”, गठबन्धन टुट्यो भने “बाह्य दबाब”, परियोजना रोकिनु भने “अन्तर्राष्ट्रिय खेल”—यस्ता कथनले जनतालाई अल्पकालीन उत्तेजना दिन सक्छ, तर दीर्घकालीन संस्थागत सुधारमा बाधा पुर्‍याउँछ।

ऐतिहासिक पृष्ठभूमि र मानसिकता

नेपालको इतिहासमा बाह्य प्रभावको अनुभव अवश्य छ। तर इतिहासलाई वर्तमानको सबै घटनामा लागू गर्नु गलत हो। कुनै समयको असमान सन्धि, शक्ति सन्तुलन वा निर्भरता अहिलेको सन्दर्भसँग सधैं मिल्दैन।

आजको विश्व परस्पर निर्भर छ। आर्थिक साझेदारी, विकास सहायता, व्यापार सम्झौता, कूटनीतिक साझेदारी—यी सबै सामान्य अन्तर्राष्ट्रिय व्यवहार हुन्। हरेक सम्झौतालाई पराधीनताको चश्माबाट हेर्नु बौद्धिक अतिशयोक्ति हो।

आत्मनिर्भरता र यथार्थवाद

साँचो भूराजनीतिक चेतना भनेको भावनात्मक प्रतिक्रिया होइन, यथार्थवादी विश्लेषण हो। नेपालले आफ्नो भौगोलिक अवस्थालाई कमजोरी होइन, अवसरका रूपमा बुझ्नुपर्छ। दुई विशाल बजारबीच रहेको देशले पारवहन, ऊर्जा, पर्यटन र क्षेत्रीय सहकार्यमा फाइदा लिन सक्छ। तर त्यसका लागि स्थिर नीति, पारदर्शी प्रशासन र दीर्घकालीन दृष्टि आवश्यक हुन्छ।

यदि नीति अस्थिर छ भने दोष भूराजनीतिलाई दिन मिल्दैन। यदि प्रशासनिक भ्रष्टाचार छ भने त्यो आन्तरिक समस्या हो। यदि योजना कार्यान्वयनमा ढिलासुस्ती छ भने त्यो व्यवस्थापकीय कमजोरी हो। यी समस्यालाई बाह्य षड्यन्त्रको कथा बनाएर समाधान हुँदैन।

बौद्धिक जिम्मेवारी

बौद्धिक वर्गको जिम्मेवारी जनतालाई भ्रमित गर्नु होइन, स्पष्टता दिनु हो। भूराजनीति जस्तो विषयलाई सरल तर यथार्थपरक रूपमा बुझाउनु आवश्यक छ। “विदेशी हस्तक्षेप” को आरोप लगाउनु अघि प्रमाण, सन्दर्भ र विश्लेषण चाहिन्छ।

शिक्षित वर्गले भावनात्मक भाषणभन्दा तथ्यमा आधारित बहस गर्नुपर्छ। विश्वविद्यालय, अनुसन्धान संस्था र नीति विश्लेषकहरूले गहिरो अध्ययन प्रस्तुत गर्नुपर्छ। अन्यथा भूराजनीति शब्द नाराबाजीमा सीमित हुन्छ।

निष्कर्ष
नेपालमा भूराजनीतिको अपब्याख्या र बौद्धिक पराधीनता एक गम्भीर समस्या बन्दै गएको छ। कुनै पनि आन्तरिक राजनीतिक परिवर्तनलाई बाह्य षड्यन्त्रको परिणाम ठान्नु सजिलो उपाय हो, तर यो राष्ट्र निर्माणको बाटो होइन।

भूराजनीति भनेको वास्तविकता हो—तर त्यो सर्वव्यापी बहाना होइन। चासो हुनु स्वाभाविक हो, हस्तक्षेप प्रमाणित हुनुपर्छ। सन्तुलन रणनीति हो, पराधीनता होइन।

नेपालले आफ्नो भौगोलिक अवस्थालाई सही ढंगले बुझ्दै, आन्तरिक सुधारलाई प्राथमिकता दिँदै, तथ्यमा आधारित कूटनीति र नीति निर्माण गर्न सके मात्र भूराजनीतिक अवसरलाई उपयोग गर्न सक्छ। अन्यथा भूराजनीति शब्द केवल राजनीतिक आरोप–प्रत्यारोपको माध्यममै सीमित हुनेछ।

बौद्धिक स्वतन्त्रता भनेको आफ्नै कमजोरी स्वीकार्ने साहस हो। जबसम्म हामी हरेक समस्याको कारण बाहिर खोजिरहन्छौं, तबसम्म भूराजनीतिको अपब्याख्या र बौद्धिक पराधीनता कायम रहन्छ। राष्ट्र निर्माणका लागि आवश्यक छ—यथार्थवादी सोच, आत्मविश्वास, र जिम्मेवार बौद्धिकता।

राति १२ बजेपछि के-के गर्न पाइँदैन ?

काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु हुँदैछ ।

मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ ।

निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

भोज भतेर, हुलहुज्जत गर्न नहुने

बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ञ्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

सामाजिक सञ्जालमा कडाइ

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।

कुनै पनि तरिकाबाट मत माग्न नपाउने

निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

मतदानमा बाधा पुर्‍याउन नहुने

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्नु हुँदैन ।

विज्ञापन हटाउनु पर्ने

राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

मतदान केन्द्रमा शान्ति कायम राख्नु पर्ने

मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।

प्रचारप्रसार सामग्री हटाउनु पर्ने

मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि युद्धविराम र कूटनीतिक पहल गर्न चीनको आह्वान

चीनले मध्यपूर्वमा भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक पहल गर्न आह्वान गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आज पत्रकार सम्मेलन गरेर द्वन्द्व अन्त्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नुपर्ने बताए । वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न उनको आग्रह छ ।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि द्वन्द्वको असर छिमेकी देशहरूसम्म फैलिएको छ । इरानमाथि आक्रमण भएको तेस्रो दिन अहिले पनि इजरायल र इरानमा आक्रमण भइरहेका छन् भने इरानले इजरायलसहित अमेरिका र इजरायलका सैन्य क्याम्प रहेका मध्यपूर्वका देशहरूमा आक्रमण गरिरहेको छ ।

यसैबीच लेबनानमा इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहबीच गोली हानाहान भएको छ । बेरुत र दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको र १ सय ४९ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि इजरायलले लेबनानका ५० भन्दा धेरै शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको थियो ।

अमेरिका र इजरायली आक्रमणबाट आफ्नो नातान्ज आणविक केन्द्रमा क्षति पुगेको इरानले बताएको छ । संयुक्त राष्ट्रसङ्घ आणविक निगरानी संस्थाका लागि इरानका राजदूत रेजा नजाफीले देशकै विशाल आणविक केन्द्रमा क्षति पुगेको बताएका हुन् । इरानले तीन दिनदेखिको आक्रमणका कारण आफ्नो देशमा ५ सय ५५ जनाको ज्यान गएको बताएको छ ।

कुबेतमा अमेरिकी सैन्य अखडा नजिकै अमेरिकी फाइटर जेट दुर्घटना भएको छ । चालक दलका सबै सदस्य सुरक्षित रहेका र घटनाको कारणबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यसैबीच फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले इरानविरुद्ध खाडी देशहरू र जोर्डनको रक्षा गर्न आफूहरू तयार रहेको बताएका छन् ।

बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले इरानविरुद्धको आक्रमणमा अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिने तर अहिले आक्रामक कारबाहीमा सामेल नहुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भिडियो सम्बोधन गर्दै आफ्ना सबै उद्देश्य पूरा नभएसम्म इरानविरुद्ध सैन्य कारबाही जारी रहने बताएका छन् ।

 

रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते

काठमाडौं : रामेछाप नगरपालिका-२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या छैन : निगम

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री/वितरण भइरहेको बताएको छ । पेट्रोल पम्पहरूमा लामो लाइन लागिरहेको अवस्थामा निगमले आयात नियमित भइरहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले चुनावको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने भएकोले भण्डारण गर्न आवश्यक नरहेको बताए ।

घरमा पेट्रोलियम पदार्थ भण्डारण गर्दा जोखिम बढ्ने भन्दै उनले सचेत गराएका छन् । सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम घटाउन आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ ।

यस्तै कतिपयले मध्यपूर्वको सङ्कटका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउने अनुमान गरेका छन् । तर अहिले नै त्यो अवस्था नरहेको निगमको भनाइ छ ।

नेपाल पेट्रोलिम पदार्थमा भारतमा पूर्ण निर्भर छ । नेपालको वार्षिक खपत भारतको एक दिनको खपत बराबर मात्रै रहेकोले भारतको आपूर्ति शृङ्खलामा तत्काल समस्या देखिँदैन । यस्तै भारतले हरेक १४ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अबको १५ दिनको मूल्यसूची आइसकेकोले तत्काल मूल्यवृद्धि हुने पनि देखिँदैन ।

विश्व बजारमा भने द्वन्द्व शुरुआतपछि कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ ।

 

सुदूरपश्चिममा होलीः अनुहारमा रङ, मनमा अपनत्व र विपतमा सहारा

चाडपर्वहरू केवल तिथिमितिमा मनाइने परम्परा मात्र नभई समाजलाई जोड्ने, सम्बन्धहरूलाई बलियो बनाउने र सुख-दुःख साटासाट गर्ने माध्यम पनि हुन्।

रङहरूको पर्व होली अर्थात् फागु पूर्णिमाले पनि यही सन्देश दिन्छ। तर, नेपालको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा मनाइने होलीको रौनक र अर्थ भने अन्य स्थानको तुलनामा नितान्त फरक र विशिष्ट छ।

जहाँ देशका अधिकांश भाग र तराईमा एक दिन उल्लासका साथ होली मनाएर टुंग्याइन्छ, त्यहीँ सुदूरपश्चिमका पहाडी भेगमा भने यो पर्व तीन दिनसम्म लामो उत्सवका रूपमा मनाइने गरिन्छ।

सुदूरपश्चिमका विशेषगरी दार्चुला, बैतडी, डोटी र बझाङ जस्ता पहाडी जिल्लाहरूमा होलीले सामाजिक एकताको महाउत्सवको रूप लिन्छ। यहाँ फागुन १६ गतेदेखि सुरु भएर १८ गतेसम्म लगातार तीन दिन होली मनाउने परम्परागत चलन छ।

दार्चुलाका स्थानीय बासिन्दा करणसिंह ठगुन्नाका अनुसार होली यहाँका लागि वसन्त ऋतुको आगमनको सूचक मात्र नभएर खुसीको पर्याय हो। उनी भन्छन्, ‘होली रङ्गहरूको चाड हो, तर सुदूरपश्चिममा यसको गहिराइ फरक छ। यहाँ तीन दिनसम्म मानिसहरूले विभिन्न प्रकारका रङ्गहरू लगाएर एक-अर्कालाई रङ्गिन बनाउँदै आत्मीयता साटासाट गर्छन्। यहाँ होली आउनु भनेकै गाउँमा खुसी छाउनु हो।’

सुदूरपश्चिमको होलीको सबैभन्दा सुन्दर र अनुकरणीय पक्ष भनेको यसको सामाजिक उत्तरदायित्व हो। यहाँ होली खेल्नु भनेको रङ दलेर रमाइलो गर्नु मात्र होइन, गाउँको विकास र आपतकालीन सहयोगका लागि स्रोत जुटाउनु पनि हो।

स्थानीय ठगुन्नाका अनुसार होलीमा घर–घर गएर पैसा र चामल संकलन गर्ने चलन छ। तर, यसरी संकलन भएको रकम कुनै व्यक्तिगत प्रयोजन वा रक्सी-मासुमा मात्र खर्च गरिँदैन।

‘घर-घर पुगेर संकलन गरिएको सहयोग रकम गाउँकै साझा आवश्यकतामा खर्च गरिन्छ,’ ठगुन्नाले भने। उनका अनुसार होली खेलेर उठेको पैसाले गाउँका विवाह-भोजका लागि आवश्यक पर्ने ठूला भाँडाकुँडा किन्ने, सार्वजनिक शौचालय बनाउने वा खानेपानीको व्यवस्था गर्ने जस्ता काम गरिन्छ।

अझ महत्त्वपूर्ण कुरा त, अस्पताल टाढा भएका पहाडी भूगोलमा बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर जस्ता अत्यावश्यक सामग्री किन्न पनि यही कोषको प्रयोग गरिन्छ।

बाँकी रहेको रकमलाई गाउँलेहरूले ‘इमर्जेन्सी खाता’ वा सामाजिक कोषमा जम्मा गर्ने गरेका छन्। कुनै विपत्ति पर्दा वा कसैलाई आपतकालीन सहयोग चाहिएको खण्डमा यो रकम प्रयोगमा आउँछ।

केही रकम र संकलित अन्नको सदुपयोग गर्दै गाउँका सम्पूर्ण मानिसहरू वनभोज गएर सामूहिक भोजन गर्ने र रमाइलो गर्ने चलनले गाउँको एकतालाई थप मजबुत बनाएको छ। यस अर्थमा सुदूरपश्चिमको होली मनोरञ्जन मात्र नभएर स्थानीय स्तरको अनौपचारिक सहकारी वा बिमा जस्तै प्रभावकारी बनेको देखिन्छ।

सुदूरपश्चिमको होलीमा गीत, संगीत र नृत्यको विशेष स्थान रहन्छ। यहाँको होलीमा बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसहरू नाचगानमा व्यस्त हुन्छन्।

विशेषगरी महिलाहरूको सहभागिताले यो पर्वलाई अझ आकर्षक बनाउँछ। महिलाहरू एउटै रङको साडी लगाएर सामूहिक रूपमा बाजागाजाको तालमा परम्परागत नृत्य गर्दै होली खेल्ने परम्परा यहाँ अझै जीवित छ।

स्थानीय बाजाहरू, ढोल र दमाहाको तालमा गाइने होली गीत र खेलिने देउडाले यहाँको वातावरण गुञ्जायमान हुन्छ। हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ धुमधामले पर्व मनाइन्छ।

ठगुन्ना भन्छन्, ‘सुदूरपश्चिममा होलीको अर्थ झनै व्यापक छ। रङसँगै यहाँ सहयोगको भावना पनि मिसिएको हुन्छ। यसले हाम्रो मौलिक संस्कृति र देउडा शैलीको जगेर्ना गर्न पनि मद्दत गरेको छ।’

धार्मिक दृष्टिकोणले हेर्दा होली असत्यमाथि सत्यको विजयको प्रतीक हो। पौराणिक कथाअनुसार भक्त प्रह्लादको रक्षा र होलिकाको दहनसँग जोडिएको यो पर्वले सदाचार, विश्वास र सकारात्मकताको सन्देश दिन्छ।

भौगोलिक रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशभित्रै पनि होली मनाउने शैलीमा विविधता पाइन्छ। कैलाली र कञ्चनपुर जस्ता तराईका जिल्लाहरूमा मधेशी समुदायको बाहुल्यता र प्रभावका कारण प्रायः एक दिन विशेष उत्साहका साथ रङ र अबिर खेलेर होली मनाइन्छ। तर, पहाडी जिल्लाहरूमा भने गीत, ढोल र देउडा शैलीका सांस्कृतिक कार्यक्रम र सामूहिक भेला नै यसको मुख्य विशेषता हो।

‘यहाँ होलीले गाउँलाई एकै ठाउँमा उभ्याउने अवसर दिन्छ,’ ठगुन्ना भन्छन्, ‘होली मनाउनकै लागि सहरबाट गाउँ फर्कनेहरूको लर्को लाग्छ। यो गाउँको आत्मीयता जोगाउने परम्परा हो।’

खोज्नुहोस