इरानले गर्यो होर्मुज समुद्री जलमार्ग बन्द, यो मार्ग भएर जाने जहाज नष्ट गर्ने चेतावनी
काठमाडौं । इरानले होर्मुज समुद्री जलमार्ग अहिले बन्द गरिएको दाबी गरेको छ । इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ ।
एक इरानी अधिकारीले होर्मुज समुद्री जलमार्ग भएर जाने प्रयास गर्ने जोसुकैलाई इरानले आगो लगाइदिने बताएका छन् ।
इरानी राज्य टेलिभिजनमा बोल्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का कमान्डर–इन–चिफका सल्लाहकार इब्राहिम जब्बारीले यस्तो चेतावनी दिएका हुन् ।
“होर्मुज समुद्री जलमार्ग बन्द गरिएको छ । यदि, कसैले पार गर्ने प्रयास गरेमा, रिभोलुसनरी गार्डका वीरहरू र नियमित नौसेनाले ती जहाजहरूलाई जलाएर भष्म पारिदिनेछन्,” अर्धसैनिक बलका कमान्डर–इन–चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जब्बारीले भने ।
उनले उक्त जलमार्ग बन्द गरिएको उल्लेख गर्दै जहाजहरूलाई चेतावनी दिँदै भने, “उनीहरू यस क्षेत्रमा आउनु हुँदैन । उनीहरूले निश्चित रूपमा हामीबाट गम्भीर प्रतिक्रियाको सामना गर्नेछन् ।”
जब्बारीले अमेरिकीहरू यस क्षेत्रको तेलका लागि प्यासी रहेको आरोप लगाउँदै इरानले यस क्षेत्रमा रहेका उनीहरूका पाइपलाइनहरूमा प्रहार गर्ने र यस क्षेत्रबाट तेल निर्यात हुन नदिने समेत बताएका छन् ।
होर्मुज जलमार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण ढुवानी मार्गहरूमध्ये एक र तेल पारवहनको प्रमुख केन्द्र हो । विश्वको करिब पाँच भागमध्ये एक भाग तेल र ग्यास यही जलमार्ग ओसारपसार हुने गर्छ ।
इरान र ओमानको बीचमा अवस्थित यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा पारवहन हुने गर्छ ।
त्यहाँ हुने कुनै पनि अवरोधले कच्चा तेलको मूल्यलाई तीव्र रूपमा बढाउने र क्षेत्रीय तनाव अझ फैलिने जोखिम पैदा गर्ने निश्चित छ । बीबीसी
