कुवेतमा अमेरिकी सैन्य विमानहरू खसालियो

अमेरिका- इरान र इजरायलबीचको बढ्दो सैन्य मुठभेडले खाडी क्षेत्रको सुरक्षा अवस्था गम्भिर बन्दै गएको छ ।   शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको भीषण आक्रमणपछि यस क्षेत्रमा युद्धको बादल मडारिएको छ । विशेष गरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्युको खबरले क्षेत्रीय शक्ति सन्तुलनमा हलचल पैदा गरेको छ ।

कुवेतको रक्षा मन्त्रालयले सोमबार ‘धेरै’ अमेरिकी सैन्य विमानहरू दुर्घटनाग्रस्त भएको जनाएको छ र ‘सबै चालकदल सुरक्षित’ रहेको बताएको छ । सीएनएनद्वारा भौगोलिक रूपमा पुष्टि गरिएका भिडियोहरूमा कुवेतमा एक लडाकु विमान खसिरहेको र एक पाइलट प्यारासुटमार्फत जमिनमा झर्दै गरेको देखिएको छ ।

इरानका उच्च अधिकारीले तेहरानले अमेरिकासँग ‘वार्ता नगर्ने’ बताएका छन् । दुबई, अबुधाबी र दोहा जस्ता खाडी सहरहरूमा विष्फोटको आवाज सुनिएको छ, जबकि इजरायल र हिज्बुल्लाहबीच आक्रमण–प्रत्याक्रमण जारी छ र द्वन्द्व फैलिँदै गएको छ ।

यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले कुवेतमा तीन अमेरिकी सैनिकको मृत्यु भइसकेको पुष्टि गर्दै अझ धेरै अमेरिकी हताहती हुन सक्ने बताएका छन् । युद्धका कारण हवाई यात्रा अवरुद्ध भएको छ, सामान्यतया सुरक्षित मानिने अमेरिकामैत्री खाडी राष्ट्रहरू प्रभावित भएका छन् र तेल आपूर्ति प्रभावित भएको छ । आफ्ना नागरिकलाई उद्धार गर्न खोजिरहेका देशहरूले पनि ठूलो चुनौती सामना गरिरहेका छन्।

साउदी अरेबियाले शीर्ष तेल रिफाइनरीमा लक्षित दुई ड्रोन खसाल्यो
यस्तै साउदी अरेबियाको रक्षा मन्त्रालयका प्रवक्ता तुर्की अल–माल्कीका अनुसार रस तनुरा तेल रिफाइनरीलाई लक्षित गरी पठाइएका दुई ड्रोनलाई अवरोध गरी नष्ट गरिएको छ । रस तनुरा रिफाइनरी साउदी अरेबियाको सबैभन्दा ठूलोमध्ये एक हो, जसको दैनिक उत्पादन क्षमता पाँच लाख ५० हजार ब्यारेल छ ।

इरानमा सयौंको मृत्यु भएको रेड क्रिसेन्टको दाबी
शनिबारदेखि सुरु भएका संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि इरानमा कम्तीमा ५५५ जनाको मृत्यु भएको इरानी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले रेड क्रिसेन्टलाई उद्धृत गर्दै १३१ सहरमा आक्रमण भएको बताएका छन् । इरानी संसद सदस्य मोहम्मद बेइगीले नौं वटा अस्पताल गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी गरेका छन् । आइतबारका आक्रमणमा केही बिरामीहरू घाइते भएको उनले बताएका छन् ।

यूएईमा इरानी आक्रमणबाट ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।

दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको घटनास्थलमै निधन भएको जनाइएको छ।

घटनाबारे संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ।

परिस्थिति सहज भएपछि स्वर्गीय श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण प्रक्रियामा आवश्यक सहजीकरण गर्न दूतावास तत्पर रहेको पनि जनाइएको छ।

सुदूरपश्चिमबाट एक उपप्रधानसहित १४ पूर्वमन्त्री उम्मेदवार

धनगढी- सुदूरपश्चिम प्रदेशमका विभिन्न निर्वाचन क्षेत्रबाट एक जना पूर्वउपप्रधानमन्त्रीसहित १४ जना मन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा होमिएकामध्ये पूर्वउप्रधानमन्त्री, पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री छन् ।

उपप्रधान, रक्षा तथा गृहसहितका मन्त्रालय समाल्नुभएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन् । लेखराज भट्ट कैलाली क्षेत्र नं. ४ बाट, एनपी साउद कञ्चनपुर क्षेत्र नं. ३ बाट, दामोदर भण्डारीलाई बैतडीबाट, दार्चुलाबाट गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी कैलाली क्षेत्र नं. ३ बाट, बीना मगर कञ्चनपुर क्षेत्र नं। १ बाट, प्रेम आलेमगर कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन् । नेपाल सरकारका राज्यमन्त्री जनकराज गिरी बाजुरा र जनकराज चौधरी कैलाली क्षेत्र नंं. १ बाट उम्मेदवार बनेका छन् ।

सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिलामन्त्री भइसक्नुभएका तारा लामा तामाङ कञ्चनपुर क्षेत्र नं. १ बाट र आन्तरिक मामिला तथा आर्थिक मामिला मन्त्रालय समाल्नु भएका प्रकाशबहादुर शाह बाजुराबाट उम्मेदवार छन्।

यस्तै मानबहादुर सुनार कञ्चनपुर क्षेत्र नंं. ३ बाट उम्मेदवार बनेका छन् ।

चार पटक नेकपा (एमाले) बाट चुनाव जित्नुभएका डा। भीमबहादुर रावल अछाम क्षेत्र नं. १ बाट नेकपाको उम्मेदवार भएका छन् । उनी २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य पनि थिए। उनी नेपाली कांग्रेसका भरत स्वाँर, एमालेका दीपक साउदसँगै चुनावी मैदानमा छन्। सो क्षेत्रमा रावल, स्वाँर र साउदबिच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

यस्तै कैलाली क्षेत्र नं. ४ बाट लेखराज भट्ट एमालेका उम्मेदवार बन्नु भएका लेखराज भट्ट २०६४ र २०७४ मा तत्कालीन माओवादीका उम्मेदवारका रूपमा विजयी भएका थिए । उनलाई कांग्रेसका गोरख विष्ट आनन्द र नेकपाका हरि चौधरी उत्सवले कडा टक्कर दिने बताइन्छ ।

तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएर पटक पटक सरकारमा पुग्नु भएका कांग्रेसका एनपी साउद कञ्चनपुर क्षेत्र नं. २ बाट उम्मेदवार छन्। उनलाई एमालेका वचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहोराले टक्कर दिने अनुमान छ ।

एमालेबाट लगातार तीन पटक चुनाव जितेका पूर्वमन्त्री दामोदर भण्डारीलाई बैतडीमा कांग्रेसका चतुरबहादुर चन्दले कडा टक्कर दिने अनुमान छ । एमालेबाटै प्रतिनिधि सभा सदस्य भएर मन्त्री बनिसक्नु भएका दार्चुलाबाट गणेश ठगुन्नाको पनि कांग्रेसकै धर्मानन्द जोशीसँग प्रतिस्पर्धा रहेको छ ।

तराईको जिल्ला कैलाली क्षेत्र नं. ३ बाट एमालेका पूर्वमन्त्री गौरीशङ्कर चौधरी, नेकपाका वीरमान चौधरी, कांग्रेसका भीम बडुवालसित चुनावी मैदानमा छन्। तराईकै अर्को जिल्ला कञ्चनपुर–१ बाट नेकपाकी नेतृ पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन्। उनी २०७९ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता तारा लामा तामाङ र कांग्रेसका गोपीप्रसाद उपाध्यायसँग चुनावी मैदानमा छन्।

डोटीबाट लगातार तीन पटक चुनाव जित्नु भएका पूर्वमन्त्री प्रेम आलेमगर कैलाली क्षेत्र नंं. ५ बाट उम्मेदवार बनेका छन् । नेकपाका आले, कांग्रेसका नरनारायण शाह मनु, एमालेका यज्ञराज ढुङ्गाना र रास्वपाका डा. आनन्द चन्दसित चुनावी मैदानमा छन्।

यसै गरी कैलाली क्षेत्र नं. १ बाट नेपाल सरकारका राज्यमन्त्री भइसक्नु भएका कांग्रेसका जनकराज चौधरी नेकपाका रामलाल डगौरा थारू, एमालेका द्वारिकाप्रसाद न्यौपाने र उज्यालो नेपालका प्रदीप चौधरीसित चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसै गरी सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट उम्मेदवार बनेका छन् । नेकपाका नेता भट्टसँग कांग्रेसका भरतबहादुर खड्का र एमालेका दीपक धामी चुनावी मैदानमा छन्।

आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय समाल्नुभएका प्रकाशबहादुर शाह बाजुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार  भएका छन्। उनले एमालेका लालबहादुर थापा र कांग्रेसका नेपाल सरकारका पूर्वराज्यमन्त्री जनकराज गिरीसित प्रतिस्पर्धा गर्नु परेको छ ।

प्रदेशको भूमि व्यवस्था र कृषि राज्यमन्त्री भइसक्नु भएका मानबहादुर सुनार कञ्चनपुर क्षेत्र नंं. ३ बाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका डा. दीपकप्रसाद भट्ट र कांग्रेसका हरिप्रसाद बोहोरा चुनावी मैदानमा छन्।

उम्मेदवार नआउँदा दोधारा चाँदनीको बादी बस्तीमा निराशा

दोधारा चाँदनीः मुलुकभर चुनावी चहलपहल बढिरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती भने सुनसान बनेको छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउन व्यस्त देखिए पनि गरिबी, अशिक्षा र बेरोजगारीजस्ता समस्याले ग्रस्त बडुवाल टोलको सीमान्तकृत समुदायलाई कसैले प्राथमिकतामा राखेको छैन।

झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यस बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सयभन्दा बढी घरधुरी छन्। भारततर्फ रोजगारी र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दाले चुनावका बेला आफ्ना समस्या सम्बोधन हुने आशा गरेका थिए। तर उम्मेदवारहरू भोट माग्नसमेत बस्तीमा नपुगेपछि उनीहरू निराश बनेका छन्।

स्थानीय बिरभाने वादी भन्छन्, “अहिलेसम्म हाम्रो बस्तीमा कोही नेता भोट माग्न आएका छैनन्। जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ, तर नेता नआउँदा हाम्रो माग राख्नै पाएनौँ।” भारतसँग सीमा जोडिएको यस बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतंक, बाढी र कटान, सुकुम्बासी समस्या, अवैध तस्करी तथा सीमा विवादजस्ता समस्या प्रमुख छन्। स्थानीय सीता बादीका अनुसार उम्मेदवारहरू बस्तीमा आएको भए आफ्ना पीडा सुनाउने अवसर मिल्थ्यो। “हाम्रो समस्या धेरै छन्, तर भोट माग्न कोही आएनन्,” उनले भनिन्, “सीमामा बसेर अनेक समस्या सहनुपरेको छ।”

स्थानीय रेशम बादीले आर्थिक अभावका कारण बालबालिका पढाइ छोडेर भारत रोजगारीका लागि जान बाध्य भएको बताए। “नेताहरू आउलान् र आफ्ना माग राखौँला भन्ने थियो, तर कोही आएनन्,” उनले गुनासो गरे। राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा बादी समुदायको जनसंख्या २ हजार ५८० जना छ भने कञ्चनपुरमा मात्र ४५८ जना छन्। गरिबी, भूमिहीनता र अशिक्षाका कारण यस समुदायको अवस्था अझै दयनीय बनेको छ।

टिकटकमा बालेन शाहमाथि गोली प्रहारको झुटो हल्ला फैलाउने युवक पक्राउ

काठमाडौँः काठमाडौँमा सामाजिक सञ्जाल टिकटकमार्फत बालेन शाहमाथि झापामा गोली प्रहार भएको भन्दै झुटो र भ्रामक सूचना फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भई हाल काठमाडौँ बस्दै आएका २३ वर्षीय प्रकाश भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ। भट्टले टिकटकमा आक्रमणसम्बन्धी भ्रामक पोस्ट सार्वजनिक गरी समाजमा नकारात्मक सन्देश फैलाएको र सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको प्रहरीको ठहर छ। उनीलाई फागुन १५ गते दिउँसो काठमाडौँ महानगरपालिका–५ स्थित डबली चोकबाट प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका भट्टमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ।

अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा

इरानले अमेरिकासँग वार्ता नगर्ने घोषणा गरेको छ। इरानका सुरक्षा प्रमुख अली लारिजानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘देशले अमेरिकासँग वार्ता गर्ने छैन।’

इरानी अधिकारीहरूले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने योजना बनाएका छन् कि छैनन् भन्ने प्रश्नको जवाफमा लारिजानीले यो कुरा बताएका हुन्।

लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन् र उनले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको सल्लाहकारको रूपमा पनि काम गरिसकेका छन्।

आइतबार इजरायली र अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ।

चुनावमा सहभागी हुन मतदातालाई प्रधानमन्त्री कार्कीको अपील ( पूर्णपाठ)

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा सहभागी हुनका लागि सबै मतदातालाई आग्रह गरेकी छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि फागुन २१ गते बिहीवार हुने चुनावमा सहभागी हुन आग्रह गरेकी हुन्।

एक दिनका अरू कामै छोडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न प्रधानमन्त्री कार्कीकाे आग्रह छ । उनले चुनाव सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी छन् ।

प्रधानमन्त्रीकाे सम्बोधनको पूर्णपाठ–

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार !
आज म एउटा विशेष घडीमा तपाईँहरूसँग मनका केही कुरा राख्न चाहन्छु।
हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ।
आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ।
तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन्।
मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ।
जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो।
त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।
आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।
अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ:
देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्।
भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।
तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।
दोस्रो कुरा- निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो।
चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।
म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो।
साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु।
यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।
निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन्।
प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्।
नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन्।
सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।
छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौँ।
निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ।
सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईँहरुलाई जानकारी गराउँदछु।
साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु।
आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन।कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।
तेस्रो, हाम्रो उत्सवको कुरा ।
निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु।
यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ।
निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस्।
तर, म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।
चौथो- एक गम्भीर विषय।
आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ।
विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।
त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।
हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।
अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु।
मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ।
आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।
धन्यवाद।
२०८२ फागुन १८ गते सोमबार ।

निर्वाचनमा बालअधिकार उल्लङ्घनका १५० बढी घटना, घटना रोक्न सिजपको आग्रह

काठमाडौं- बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचनका क्रममा बालबालिकाको अधिकार संरक्षण र सम्मान गर्दै बालमैत्री वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

अभियानले निर्वाचनको समयमा बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक गतिविधि, प्रचारप्रसार, जुलुस, आमसभा तथा दलगत कार्यक्रममा प्रयोग नगर्न विगतदेखि नै अभियान सञ्चालन गर्दै आएको जनाएको छ। सिजपले निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा निर्वाचन पर्यवेक्षणमा संलग्न संघसंस्थासँग सहकार्य गर्दै राष्ट्रिय, प्रदेश र स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेको छ।

सिजपका अनुसार निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भए पनि यस क्रममा बालबालिकाको जबरजस्ती सहभागिता, दुरुपयोग तथा राजनीतिक स्वार्थका लागि प्रयोग हुनु गम्भीर बालअधिकार उल्लङ्घन भएको सिजपको ठम्याइ छ। नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५ र निर्वाचन आचारसंहिता, २०८२ मा बालबालिकालाई राजनीतिक दुरुपयोगबाट सुरक्षित राख्ने स्पष्ट व्यवस्था भए पनि व्यवहारमा भने उल्लङ्घनका घटना देखिएको अभियानको भनाइ छ।

सिजपले हालसम्म निर्वाचनसँग सम्बन्धित बालअधिकार उल्लङ्घनका १५० भन्दा बढी घटना अभिलेखीकरण गरेको जनाएको छ। तीमध्ये ७५ भन्दा बढी घटनामा आवश्यक कानुनी कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। सामाजिक सञ्जालमार्फत बालबालिकालाई पक्ष–विपक्षमा उभ्याई रिल, भिडियो, टिकटक आदिमा एआई प्रयोग गरी भोट माग्ने, विद्यालयमै शिक्षकबाट कुनै दललाई भोट दिन संकेत गर्ने, विद्यालय पोशाकमै जुलुस र ¥यालीमा सहभागी गराउने, झण्डा–ब्यानर तथा पार्टीका सामग्री प्रयोग गराउने, मतदान केन्द्र रहेका विद्यालय क्षेत्रमा हातहतियारसहित सुरक्षाकर्मीको प्रवेश जस्ता घटनाहरू अभिलेख गरिएको सिजपले जनाएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका, वैकल्पिक स्याहारमा रहेका तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिका थप असुरक्षित हुनसक्ने भन्दै सिजपले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ।

आगामी निर्वाचनलाई पूर्ण रूपमा बालमैत्री र सुरक्षित बनाउन अभियानले राजनीतिक दल तथा उम्मेदवारलाई बालबालिकालाई प्रचारप्रसारमा सहभागी नगराउने प्रतिबद्धता कार्यान्वयन गर्न, विद्यालय र शिक्षकलाई विद्यार्थीलाई निर्वाचन गतिविधिबाट टाढा राख्न, स्थानीय तह र सुरक्षा निकायलाई निगरानी र कारबाही कडाइ गर्न आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग गरी बनाइएका राजनीतिक सामग्री सेयर, लाइक वा कमेन्ट नगर्न र यस्ता सामग्री हटाउन सम्बन्धित निकायमा उजुरी दिन अपिल गरिएको छ।

साथै, मतदान केन्द्र रहेका विद्यालयमा निर्वाचन सम्पन्न भएपछि सरसफाइ र भौतिक संरचना व्यवस्थित गर्न तथा बालअधिकार उल्लङ्घनका घटना भएमा बाल हेल्पलाइन १०९८, नेपाल प्रहरी १०० लगायत सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

सिजपले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी आगामी निर्वाचन पूर्ण रूपमा बालअधिकारको सम्मान गर्दै सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला पक्षसँग   आग्रह गरेको छ।

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअघि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताए।

अहिलेसम्म समय भने तय भइनसकेको उनले बताए।

उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनलगायत समसामयिक विषयमा प्रधानमन्त्रीको सम्बोधन आज दिउँसो हुन्छ। तयारी हुँदै छ। तर अहिलेसम्म समय तय भएको छैन।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

मतदान स्थलमा सीमित व्यक्तिलाई मात्र प्रवेश

काठ्माण्डौ- फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थलमा प्रवेशसम्बन्धी कडा व्यवस्था गरेको छ। आयोगले मतदान केन्द्रको सुरक्षा, गोपनीयता र व्यवस्थापनलाई ध्यानमा राख्दै निश्चित व्यक्तिलाई मात्र प्रवेशको अनुमति दिने जनाएको छ।

आयोगका अनुसार मतदान केन्द्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि र मतदान प्रतिनिधि जान पाउनेछन्। त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचनमा भाग लिने दलका निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले प्रवेश पाउने छन्।

त्यसैगरी मतदान स्थलमा जानको लागी आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति प्राप्त व्यक्ति, मतदाताको साथमा रहेको बढीमा पाँच वर्ष उमेरको बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताको सहयोगका लागि साथमा आएको घरको परिवारको एक सदस्य जान पाउने आयोगले जनाएको छ।

मतदान अधिकृतले कुनै दल वा उम्मेदवारको तर्फबाट मतदान केन्द्रमा एक पटकमा एक जना मात्र प्रतिनिधिलाई प्रवेशको व्यवस्था मिलाउनुपर्ने र मतदान कार्यका लागि अत्यावश्यक ठहरिएपछि मात्र अन्य व्यक्तिलाई अनुमति दिन सकिने आयोगले जनाएको छ।

साथै मतदान केन्द्रभित्र प्रवेश गर्ने व्यक्तिले सलाई, लाइटर, एसिडजस्ता प्रज्वलनशील पदार्थ, फोटो खिच्ने क्यामरा, मोबाइल फोन लगायत मतदान अधिकृतले निषेध गरेका अन्य कुनै सामग्री लैजान नपाइने व्यवस्था गरिएको छ।

मध्यपूर्वमा रहेका नेपालीहरुलाई नआत्तिन र सरकारी सूचनाहरुको पालना गर्न आग्रह

काठमाण्डौ- सरकारले मध्यपूर्वका रहेका नेपालीलाई नआत्तिन र सम्बन्धित देशका सरकारी सूचनाहरुको पालना गर्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा तनाव बढेको छ ।

अमेरिकी सैन्य अखडाहरुमा इरानले गरेको हमलामा यूएईमा एक नेपालीको ज्यान गएको छ । यसले नेपालीहरुमा त्रास थप बढेको छ । परराष्ट्र मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आह्वान गरेको छ ।

मन्त्रालयले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्न र परराष्ट्र मन्त्रालय वा सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुमा नियमित सम्पर्कमा रहन भनेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले पनि स्थानीय कानून पालना गर्न र सुरक्षा निर्देशन मान्न आग्रह गरेका छन् । द्वन्द्व प्रभावित देशमा रहेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने सरकारले निर्णय गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा करिब सात लाख नेपाली रहेको परराष्ट्रको तथ्याङ्क छ । साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५ तथा कतारमा तीन लाख ५७ हजार ९ सय १३ जना नेपाली कार्यरत छन् ।  कुवेतमा १ लाख ७५ हजार नेपाली रहेकामा ७५ प्रतिशत महिला घरेलु कामदारका रूपमा कार्यरत छन् जोर्डनमा रहेका तीन हजार नेपाली घरेलु कामदार र गार्मेन्ट उद्योगमा कार्यरत छन् ।

बहराइनमा २८ हजार तथा ओमानमा २५ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । लेबनानमा १५ सय र इराकमा ३० हजार नेपाली रहेका छन् । साइप्रसको घरेलु कामदार र सेवा क्षेत्रमा १७ हजार नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । इजिप्टमा मेडिकल अध्ययन र रोजगारीका लागि ५ सय विद्यार्थी रहेका छन् ।

इजिप्टमा घरेलु कामदार र औद्योगिक मजदुरका रूपमा पनि केही कार्यरत छन् । १३ देशमा रहेका नेपालीहरूलाई मध्यपूर्वका १० नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्न भनिएको छ । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरू गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए ।  मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

मध्यपूर्वका देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका मन्त्रालयको विवरण छ । मन्त्रालयका अनुसार अहिले भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् । यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ । कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाइक्षेत्र बन्द गरेका हुन् ।

हवाई क्षेत्र बन्दको प्रभावका कारण काठमाण्डौबाट खाडी तथा क्षेत्रीय गन्तव्यहरूमा सञ्चालन हुने उडानहरू प्रभावित भएका हुन् । यस्तै सरकारले खाडी सहित मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ ।

मध्यपूर्वी क्षेत्रकमा विकसित विषम परिस्थितिका कारण नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो । श्रम स्वीकृति अस्थायीरुपमा स्थगित गरेका देशहरुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल छन् ।

सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

 

सुनको मूल्यमा उच्च वृद्धि

काठ्माण्डौ- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मध्यपूर्वमा देखिएको लडाँइका कारण अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ९८५ रुपैयाँ रहेको थियो ।

मध्यपूर्व तनावका कारण २७ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं- मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने २७ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। विमानस्थल कार्यालयका अनुसार यो कदम यात्रु सुरक्षा सुनिश्चित गर्न उठाइएको हो।

आइतबार कुल ७१ वटा अन्तर्राष्ट्रिय उडान प्रस्थान र आगमन सहित हुँदै थिए। रद्द भएका उडानमा कतारको हमाद, संयुक्त अरब इमिरेट्सको दुबई र शारजाह, साउदी अरेबियाको किङ खालिद र किङ फहद, कुवेत र ओमानको मस्कट विमानस्थल जाने उडानहरू समावेश छन्।

विमानस्थलले यात्रुहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्न वैकल्पिक व्यवस्था मिलाउने बताएको छ। यसले नेपालबाट मध्यपूर्व जाने र फर्किने यात्रुहरूमा प्रभाव पारेको छ।

युएईमा एक नेपालीको मृत्यु, १७ लाख नेपाली त्रासमा, सरकारद्वारा १२ देशमा नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगन

काठमाडौं ।  मध्यपूर्व (पश्चिम–एसिया) मा बढ्दो सैन्य तनावका बिच युएईको राजधानी अबुधावीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक नेपालीको ज्यान गएको छ । इरानले शनिबार राति गरेको ड्रोन प्रहारमा ड्युटीमा रहेका नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको हो । मृतकको पहिचान भने अझै खुलाइएको छैन ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ड्रोन प्रहारमा एक नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै युएई सरकारसँग विस्तृत विवरण मागिएको बताए । ‘ड्रोन आक्रमणमा एयरपोर्टमा ड्युटीमा रहेका एक नेपालीको दुःखद निधन भएको खबर आएको छ । हामीले युएई सरकारसँग विस्तृत विवरण मागेका छौँ,’ उनले टेलिफोनमा भने, ‘व्यक्तिको पहिचान र अन्य विवरण संकलन गर्ने काम भइरहेको छ ।’

अमेरिका–इजरायल र इरान युद्धका कारण मध्यपूर्व (पश्चिम एसिया)का १६ मध्ये १३ देशमा १७ लाख २९ हजार २८८ नेपाली नागरिक प्रभावित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार युद्धका दुई पक्ष मुलुक इजरायलमा ६ हजार ५ सय र इरानमा ६ जना नेपाली छन् । युद्धका दुई पक्षधर इरान र इजरायलमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार जोखिमपूर्ण मुलुक इरानमा ६ जना र इजरायलमा ६ हजार पाँच सयजना नेपाली कार्यरत छन् ।

१२ देशमा श्रम स्वीकृति स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति रोकेको छ । मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण प्रभावित बनेका साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति रोक्ने निर्णय भएको हो । श्रम स्वीकृति रोकिएका अधिकांश देशहरू प्रमुख श्रम गन्तव्य मुलुकहरू हुन् । वैदेशिक रोजगार विभागका उप–महानिर्देशक चन्द्रबहादुर सिवाकोटीले मध्यपूर्वमा देखिएको तनावअनुसार निर्णय लिइएको बताए । ‘मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा नै अहिलेको प्रमुख चिन्ताको विषय हो । त्यसैले थप कामदार ती देशहरूमा पठाउनु उचित नहुने देखेर श्रम स्वीकृति रोकिएको हो,’ उनले भने ।

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, किन लागु हुन्छ मौन अवधि ? 

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।

मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन् ।

मौन अवधि आज मध्यराति १२ बजेदेखि सुरु भएभएर मतदानको नसकिएसम्म लागु हुन्छ ।

किन लागु हुन्छ मौन अवधि ? 

मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ ।

यदि मौन अवधिको व्यवस्था नराख्ने र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ ।

निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।

के गर्न हुन्छ के गर्न हुँदैन ?

मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सामाजिक सन्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

यस्तै,  कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।

 

धनगढी शैक्षिक हब बनिरहेको छ- उपकुलपति डा.जोशी

धनगढी १८ फागुन ।  धनगढीमा अवस्थित सिसिएस क्रिसेन्ट सिटी +2 कलेजको वार्षिकोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहको समुदघाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा शिक्षाविद् डा.टीएन जोशीले गरेका हुन्।

सो अवसरमा बोल्दै उपकुलपति डा.जोशीले पछिल्लो समय धनगढी शैक्षिक हब भैरहेको उल्लेख गर्दे निजी विद्यालयहरूले गुणस्तरीय र सीपमूलक शिक्षा दिइरहेको बताए।
उनले सिसिएस विद्यालयले संस्कारयुक्त शिक्षामा जोड दिएकोमा खुशी ब्यक्त गर्दे सञ्चालकहरूको लगनशीलता र सामाजिक उत्तरदायित्वका कारण विद्यालयले फड्को मारेको बताए।

समारोहमा शिक्षा क्षेत्रमा योगदान पुर्याए बाफत जेसिज एभरेष्टका कार्यकारी निर्देशक करूणाकर पाण्डेय, एरिष्टो माविका प्रअ हरि क्षेत्री, त्रिभुवन माविका प्रअ सीताराम अवस्थीलगायतलाई सम्मानित गरिएको थियो। प्रमुख अतिथि उपकुलपति जोशीले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।


कार्यक्रममा अभिभावक र विद्यार्थीहरूलाई पनि सम्मानित गरिएको थियो। विद्यालयका प्रअ अर्जुन नाथले स्वागत मन्तव्यसहित विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ शिक्षासेवी करूणाकर पाण्डेय, सीताराम अवस्थीलगायतले शुभेच्छा प्रकट गरेका थिए।


समारोहमा विद्यार्थीहरूले मौलिकता झल्किने आकर्षक नृत्य प्रस्तुत समेत प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक तथा अधिवक्ता शेरबहादुर बिष्टले गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक, समाजसेवी, विद्यार्थी, पत्रकारलगायतको उल्लेख्य उपस्थिति थियो। सिसिएसमा हाल माध्यमिक तहसम्म गरी झण्डै अढाइ हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष हरि रेग्मीले बताए।

पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग राखी अख्तियार गयो सर्वोच्च

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ ।

अख्तियारले रञ्जितालाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गरेको हो ।

विशेष अदालतले त्रुटिपूर्ण रूपमा आदेश जारी गरी श्रेष्ठलाई धरौटीमा छाडेको भन्दै अख्तियारले उनलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गरेको हो ।

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मध्यपूर्वका क्लबहरूले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ । यस निर्णयले च्याम्पियन्स लिग एलिटसहित एएफसीका तीनवटै मुख्य क्लब प्रतियोगिताका खेलहरू पुनः तालिका बनाउने वातावरण सिर्जना गरेको छ ।

मलेसियामा मुख्यालय रहेको एएफसीले जारी विज्ञप्तिमा भनेको छ, ‘मध्यपूर्वको बढ्दो तनावलाई ध्यानमा राख्दै मार्च २–३, २०२६ का लागि तय पश्चिम क्षेत्रका खेलहरू अब पुनः निर्धारण गरिनेछ ।’ बोर्डले खेलाडी, टोली, अधिकारी र दर्शकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता कायम रहेको बताएको छ ।

स्थगित खेलहरूमा कतारको अल–दुहैल र साउदी पावरहाउस अल–अहलीबीचको नकआउट खेल समावेश छ । दुबईमा आधारित शबाब अल–अहली र इरानको ट्र्याक्टर क्लबबीचको खेल तथा अबु धाबी क्लब अल वाहदा बनाम अल–इत्तिहादको खेल पनि प्रभावित भएका छन् ।

एएफसीले भने कि एसियाली क्षेत्रका अन्य स्थानमा हुने खेलहरू पूर्वनिर्धारित रूपमा जारी रहने तर मध्यपूर्वको सुरक्षा चुनौतीका कारण तालिका फेरबदल अपरिहार्य भएको जनाएको छ । यस कदमले खेलकुदमा पनि अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव देखाएको छ र क्षेत्रीय अस्थिरताका बीच फुटबल खेलाडी, क्लब र प्रशंसकको सुरक्षामा थप प्राथमिकता दिएको छ ।

मध्यपूर्व तनाव : कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान

काठमाण्डौ – नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर कूटनीति र संवादमार्फत समस्याको समाधान गर्न आह्वान गरेको हो ।

मध्यपूर्वमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै नेपालले संयुक्त राष्ट्रसंघ चार्टर र अन्तर्राष्ट्रिय कानून अनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ ।

हिजो अमेरिका र इजराइलले इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित रक्षामन्त्री, सेना प्रमुख लगायतको हत्या गरेपछि इरानले प्रत्याक्रमण शुरू गर्दा मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ ।

 

खाडीसहित मध्यपूर्वका १२ देशका लागि श्रम स्वीकृति स्थगित

काठमाण्डौ – सरकारले खाडी सहित मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगीत गरेको छ । मध्यपूर्वी क्षेत्रकमा विकसित विषम परिस्थितिका कारण नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो ।

श्रम स्वीकृति अस्थायीरुपमा स्थगीत गरेका देशहरुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित विभाग तथा मातहतका कार्यालयबाट प्रदान गर्ने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन निर्देशन दिएको छ ।

मन्त्रालयले अहिलेको परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यो निर्णय गरेको र अवस्था सामान्य भएपछि पुनः निर्णय गर्ने जनाएको छ ।

 

पाकिस्तानको अमेरिकी कन्सुलेट बाहिर हिंसात्मक प्रदर्शन, कम्तीमा नौं जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानको कराची शहरमा अमेरिकी कन्सुलेट बाहिर आयतुल्लाह अली खामेनेईको मृत्युपछि हिंसात्मक प्रदर्शन भएको छ । उक्त घटनामा कम्तीमा नौं जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा केही प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको गेट तोडेको र रिसेप्शन नजिक रहेको सुरक्षा कक्षको झ्याल फुटाएको देखिन्छ । मजलिस–ए–वहादत मुस्लिमीनका प्रवक्ताले यो आयतुल्लाह अली खामेनेईको मृत्यु पश्चात् गरिएको सार्वजनिक प्रदर्शन भएको बताएका छन् । उनले कन्सुलेट भित्रबाट समेत प्रदर्शनकारीमाथि गोली चलाइएको दाबी गरेका छन् ।

कराची प्रहरीका अधिकारी डा. समी सैयदका अनुसार प्रदर्शनका क्रममा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएका छन् । पाकिस्तानको सिन्ध प्रान्तका गृहमन्त्री जियाउल हसन लांजरले घटनाबारे कराचीका अतिरिक्त आईजीसँग प्रतिवेदन मागेका छन् । उनले कानुन हातमा लिन नदिने र कानुन व्यवस्था बिगार्नेहरूविरुद्ध कडा कारबाही गरिने बताएका छन् ।  संवेदनशील स्थानहरूको सुरक्षा अझ कडा बनाउन प्रहरीलाई निर्देशन दिइएको छ ।

समाचार संस्था एएफपीका एक पत्रकारका अनुसार आइतबार सयौं इरान समर्थक प्रदर्शनकारीहरूले कराचीस्थित अमेरिकी कन्सुलेटमा प्रवेश गर्ने प्रयास गरेका थिए । केही युवा मुख्य गेट चढेर भित्रको ड्राइभवे क्षेत्रमा प्रवेश गरेका थिए, जसका कारण केही झ्यालहरू फुटेका थिए । प्रहरीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न आँसु ग्यास प्रहार गरेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा कन्सुलेट भवनको झ्याल फुटाउँदै गरेका युवाहरू देखिन्छन्, जहाँ कम्पाउन्डमाथि अमेरिकी झण्डा फहराइरहेको थियो र वरिपरि काँडेदार तार लगाइएको थियो । इरानमाथि अमेरिका र इसराइलले संयुक्त रूपमा गरेको आक्रमणमा शनिबार आयतुल्लाह अली खामेनेईको मृत्यु भएको बताइएको छ, जसको पुष्टि इरानको सरकारी टेलिभिजनले आइतबार बिहान गरेको थियो ।

यसअघि कराचीस्थित अमेरिकी कन्सुलेटले आफ्ना नागरिकहरूका लागि सुरक्षा सतर्कता सूचना पनि जारी गरेको थियो । सूचनामा भनिएको छ कि क्षेत्रको वर्तमान तनावलाई मध्यनजर गर्दै अमेरिकी सरकारी कर्मचारीहरूको आवागमन सोमबार, २ मार्च २०२६, स्थानीय समय अनुसार साँझ ५ बजेसम्मका लागि रोकिएको छ । अमेरिकी नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि थप सावधानी अपनाउन आग्रह गरिएको छ ।

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षामन्त्रीको पनि मृत्यु

काठमाडौं- इरानका प्रमुख सेनापति अब्दुलरहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको पुष्टि भएको छ। अमेरिका र इजरायलको आक्रमणमा अन्य धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि मारिएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बीबीसी फारसीका अनुसार ,इरानको संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोन्युमेन्ट्स एन्ड डिस्सेमिनेसन अफ सेक्रेड डिफेन्स भ्यालुज’ ले मौसावीको मृत्युको पुष्टि गरेको छ। ‘शनिबारको आक्रमणमा मौसावीसँगै रक्षामन्त्री अजिज नासिरजादेह,क्रान्तिकारी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुर र सर्वोच्च रक्षा परिषद्का अध्यक्ष अली शामखानी पनि मारिएका छन्,’ इरानी संगठनले आफ्नो विज्ञप्तिमा भनेको छ।

‘रक्षा परिषद्को बैठकको क्रममा उनीहरू मारिएको र बाँकी पीडितहरूको नाम पछि सार्वनजिक गरिनेछ,’विज्ञप्तिमा भनिएको छ।

आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी निधन भएको छ। शनिबार अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी खामेनीसहित उनकी छोरी,ज्वाइँ र नातिको मृत्यु भएको इरानी राज्य सञ्चारमाध्यम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्।

सेयर बजार १९.२७ अंकले बढ्यो

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढेर ४५९.७३ विन्दुमा अडिएको छ।

यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३१ लाख  ९३ हजार  ४६२ कित्ता सेयर ५ अर्ब ६४ करोड  ८३ लाख १९ हजार ४१ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले  बढेको सेयर बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। साल्पा विकास बैंक र  रियलायन्स स्पिनिङ मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बराही हाइड्रोपावर पब्लिकको सेयर ६.७४ अंकले बढ्दा एनआईबीएल ग्रोथ फण्डको ६ प्रतिशत र गुडविल फाइनान्सको ३.६२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। अपी पावरले ३३ करोडको सेयर कारोबार गर्दा मञ्जुश्री फाइनान्सको २८ करोड सेयर कारोबार हुँदा आँखु खोला जलविद्युतले २६ करोड र एसवाइ प्यानल नेपालले २२ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १८७ वटा स्टक्सको मूल्य बढ्दा ६४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिए।  फाइनान्स समूहको उपसूचक सर्वाधिक २.२२ प्रतिशतले बढ्यो।

चुनावको सम्पूर्ण तयारी पूरा, हिमाली भेगका दुर्गम बस्तीसम्म पुग्यो सामग्री

काठमाण्डौ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् ।

आज काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी उनले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (चुनाव सम्पन्न हुने) विश्वास व्यक्त गरे । ।जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उनको भनाइ छ ।

रास्वपा छाडेका पूर्णबहादुर बुढा के भन्छन् ?

बाजुरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी परित्याग गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखैमा उनले नेकपा एमालेमा प्रवेश गरेका हुन्। बुढालाई एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र नरेश रोकायाले स्वागत गरेका छन्।

एमालेमा पुनः आबद्ध हुँदै बुढाले आफ्नो राजनीतिक यात्राको नयाँ मोड सुरू गरेको घोषणा गरेका छन्। स्थानीय तहदेखि जिल्ला तहसम्म पार्टी संगठनमा सक्रिय रहेका बुढा पछिल्लो दुई वर्षदेखि रास्वपामा आवद्ध भई जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनको एमाले प्रवेशले जिल्लाको राजनीतिक गतिविधिमा नयाँ तरंग ल्याएको छ। एमाले केन्द्रीय सदस्य थापाले बुढाको अनुभव र संगठनात्मक क्षमताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

बुढाले मुलुकको समग्र विकास,स्थायित्व र समृद्धिको यात्राका लागि एमाले उपयुक्त विकल्प भएको उल्लेख गर्दै पार्टीमा फर्किएको बताए। रास्वपामा देश परिवर्तनका लागि स्पष्ट नीति–विधि नदेखिएकाले आफू पुनः एमालेमै फर्किएको उनको भनाइ छ।

राजस्व परामर्श समितिले माग्यो आगामी बजेटलाई सुझाव

काठमाडौं- राजस्व परामर्श समितिले आगामी बजेटका लागि सुझाव मागेको छ । समितिले ३० चैतसम्म आइपुग्ने गरी सुझाव पठाउन सर्वसाधारणसँग आह्वान गरेको हो ।

सरकारले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति बनाएको छ । समिति अन्तर्गत आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान उपसमिति गठन गरिएको छ ।

यसैगरी कृषि, ऊर्जा तथा पर्यटन क्षेत्र उपसमिति, बैंक तथा वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजीबजार उपसमिति, गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ ।

यसबाहेक समष्टिगत आर्थिक उपसमिति र सम्पत्ति शुद्धीकरण निवारण तथा अनुसन्धान उपसमिति गठन गरेर राजस्व परामर्श समितिले काम सुरु गरेको छ ।

समितिका अनुसार सुझाव यी उपसमिति तथा अर्थ  मन्त्रालय अन्तर्गतका सम्बन्धित विभाग र कार्यालयमा पठाउन सकिने छ । सरकारले अहिले आगामी आवको बजेट तयारीको काम सुरु गरेको छ ।

समितिले आयकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई–कमर्समा लागाइने कर तथा आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक करसम्बन्धी नीतिगत र कानुनी सुधारका विषय, कर तथा गैरकरका दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार, समग्र राजस्व प्रशासन र संगठन संरचनामा गरिनुपर्ने सुधारका विषयमा सुझाव प्रदान गर्ने जिम्मेवारी पाएको छ ।

यसैगरी औद्योगिक प्रवर्द्धन तथा संरक्षण, वाणिज्य, आयात निर्यात तथा वैदेशिक व्यापार, सेवा व्यापार, आपूर्ति व्यवस्थापन तथा लगानी प्रवर्द्धनका लागि गर्नुपर्ने नीतिगत र कानुनी सुधार, प्रक्रियागत सरलीकरण र कर तथा गैरकर प्रोत्साहन समेतका विषयमा सुझाव प्रदान गर्ने छ ।

भन्सार दर पुनरावलोकन, आन्तरिक उत्पादनलाई भन्सारका दरमार्फत संरक्षण गर्नुपर्ने देखिए त्यसको विश्लेषण, मूल्यांकन प्रणालीमा सुधार, प्रक्रिया सरलीकरण, व्यापार सहजीकरण, भन्सार सम्बन्धी ऐन नियममा गर्नुपर्ने सुधार, भन्सार सम्बन्धी प्रशासन र संगठन संरचनामा सुधार, सीमा व्यवस्थापन समेतका विषयमा सुझाव प्रदान गर्ने छ ।

समितिले राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान, विदेशी विनिमय नियमन तथा आर्थिक अपराध नियन्त्रणका लागि गर्नुपर्ने कानुनी एवं संगठनात्मक सुधार समेतका विषयमा सुझाव प्रदान गर्ने जिम्मेवारी पाएको छ ।

त्यसैगरी कृषि, कृषि उत्पादन तथा व्यावसायीकरण, विद्युत् तथा ऊर्जा, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन र प्राकृतिक स्रोतसाधन संरक्षण एवं व्यवस्थापन सम्बन्धमा गरिनुपर्ने सुधार समेतका विषयमा सुझाव प्रदान गर्ने  जिम्मेवारी पाएको छ ।

बैंक, वित्तीय संस्था, बीमा, रेमिट्यान्स, पूँजीबजार, सहकारी, आर्थिक नीति तथा घरजग्गा कारोबार देखिएका समस्या एवं समाधानका उपाय समेतका विषयमा सुझाव प्रदान गर्ने जिम्मेवारी पाएको छ ।

नेपाल सरकारका विभिन्न निकायबाट उठाइने गैरकर राजस्वको क्षेत्र पहिचान, दर निर्धारण तथा पुनरावलोकन सम्बन्धी विषय र संघ, प्रदेश तथा स्थानीय तहको कर प्रणाली, त्यसमा देखिएको दोहोरोपना, अन्तरसरकारी कर प्रणाली व्यवस्थापन गर्ने विषय, राजस्व वाँडफाँट सम्बन्धी व्यवस्थामा गर्नुपर्ने सुधार र यस क्षेत्रमा भएका समस्या तथा समस्या समाधानका उपाय समेतका विषयमा सुझाव प्रदान गर्ने छ ।

विभिन्न स्रोतबाट उपलब्ध सूचना तथा अध्ययनका आधारमा आर्थिक विकाससँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय अर्थतन्त्रको अवस्थाको तुलनात्मक विश्लेषण गरी सुझाव प्रदान गर्ने समेत समितिको जिम्मेवारीमा छ ।

करको दायरा विस्तार, राजस्व संकलन प्रक्रियामा गरिनुपर्ने समसामयिक सुधार, नयाँ कर लागु गर्ने तथा कुनै कर खारेज गर्नुपर्ने भए अध्ययन अनुसन्धान एवं सम्बन्धित क्षेत्रका विशेषज्ञ, उद्योगी, व्यवसायीसँग समेत छलफल गरी आवश्यक सुझाव प्रदान गर्ने छ ।

समिति अन्तर्गत रहेका उपसमितिहरूको परिचालन तथा सहजीकरण गर्ने जिम्मेवारी समितिको हुनेछ । राजस्व प्रशासनका सम्बन्धमा विभिन्न क्षेत्रमा पेस भएका अन्य प्रतिवेदन अध्ययन गरी सुझाव प्रदान गर्ने छ ।

मध्यपूर्वमा रहेका नेपालीलाई सरकारको आग्रह : सुरक्षा सल्लाह र स्थानीय कानूनको पालना गर्नु

काठमाण्डौ- सरकारले मध्यपूर्वको पछिल्लो अवस्थालाई ख्याल गरेर सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले मध्यपूर्वका देशमा गरेको प्रत्याक्रमणका कारण उत्पन्न अवस्थाप्रति सचेत रहन सरकारले आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वका देशमा बस्ने नेपालीहरू सुरक्षित रहेका र अब पनि सुरक्षाका उपाय अपनाउन आह्वान गरेको बताए । उनका अनुसार मन्त्रालयले सकेसम्म घरभित्रै बस्ने, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आ–आफ्नो ठाउँमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।

इरान र इजरायलसँगै खाडी क्षेत्रमा पनि सुरक्षा जोखिम बढेको छ । इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि ती देशमा पनि सुरक्षा जोखिम बढेको हो । ती देशमा रहेका नेपाली दूतावासहरूले सूचना निकालेर स्थानीय कानूनको ख्याल गरेर गतिविधि गर्न तथा सुरक्षा सल्लाह र निर्देशनहरू पालना गर्न आह्वान गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले दोस्रो एडभाइजरी जारी गर्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ । अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्दै दूतावासले पछिल्लो परिस्थितिबारेको फोटो तथा भिडियो खिचेर पोस्ट गर्दासमेत जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ ।

ती देशमा रहेका नेपालीहरू अहिलेसम्म सुरक्षित रहेका र अवस्था साम्य नहुञ्जेल सुरक्षा सल्लाहको पूर्ण पालना गर्न दूतावासहरूको आग्रह छ । खाडी क्षेत्रमा झन्डै १९ लाख नेपाली कार्यरत छन् ।

सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।

 

खोज्नुहोस